Sunday, March 4, 2012

दुराडाँडामा आशाको त्यान्द्रो

 -यमबहादुर दुरा

गाउँघर रित्तिँदै गएको बेलामा मेरो जन्मथलो दुराडाँडा पुग्दा यसपटक मलाई बेग्लै अनुभूति भयो । गाउँघरमा चहलपहल बढेको पाएँ । गाउँमा पाखुरामा तागत भएका तन्नेरीहरु त खासै भेटिएनन् । तर त्यहाँ बचेखुचेका जे जति जनशक्ति थिए, तिनमा एकप्रकारको उत्साह भेटियो । गाउँघरको हराउँदै गएको कान्ति फेरि फर्किएजस्तो लाग्यो । उनीहरुको ओंठमा मुस्कान फक्रिएको देख्दा कोइलाखानीमा हीरा भेटिएजस्तो लाग्यो ।

लमजुङमा हालसालै शुरु भएको नयाँ पदमार्गको उद्घाटन समारोहमा भाग लिन दुराडाँडा पुग्दा मेरो मनमा उत्साहको सञ्चार  भयो । ठाउँ-ठाउँमा स्वागतद्वार उभ्याइएका थिए । गाउँ छाडेर सुखको खोजीमा देशका अन्य भागमा पुगेका गाम्ले दाजुभाइहरु त्यतिबेला गाउँमै भेटिएका थिए । उनीहरु लागीमिली काम गरिरहेका थिए । उनीहरुको उपस्थितिले गाउँघरको सहकाल फर्किएर आएजस्तो लाग्यो ।

काठमाडौंबाट बाटो लाग्दा मेरो साथमा तीनजना पत्रकार थिए-किशोर पौडेल (एबीसी टेलिभिजन), उद्धव थापा (आर्थिक अभियान)  र अनुप ओझा (द काठमाण्डू पोष्ट) । बाटोमा खाजा खान र भात खान पृथ्वीराजमार्गका होटलहरुमा पस्दा पुरानै अव्यवस्था र महङ्गी कायमै देखियो । त्यहाँ हामीबीच ठट्टा पनि चल्यो -' बाबुरामले अनुगमन टोली खटाउन छाडे, क्यारे ।' 

काठमाडौंबाट खत्रीठाँटी पुगेपछि दुराडाँडाका लागि अर्को बस समात्नुपर्ने थियो । चितवन बन्दले हामी मुग्लिनमा डेड घण्टा जाममा परेका थियौँ। परिणामस्वरुप खत्रीठाँटीबाट दुराडाँडाका लागि बस छुट्ने समय टरिसकेको थियो । भाग्यवश, त्यस दिन दुराडाँडा जाने बस निर्धारित समयमा छुटेको रहेनछ । हामीले बस भेट्टायौं । सिट प्याक भएकोले छतमा बस्यौँ ।  किशोर पौडेल भिडियो क्यामेरा नै लिएर छतमा बसे । अप्ठेरो बाटो । त्यसमा पनि  भिडियो क्यामरा लिएर छतमा बस्नुपर्ने अवस्था । क्यामरा फुट्ने हो कि भनेर चिन्ता लाग्न थाल्यो । मैले उनीतिर फर्केर भनें, 'क्यामरा फुट्ने हो कि?'  तर उनले मलाई उल्टै ढाडस दिए 'केही हुँदैन ।'

छतमा यात्रा गर्दा रुखका हाँगाबिंगाले हामीलाई थुप्रैपटक झापड लगायो । एकपटक रुखका हाँगाले मेरो टोपी नै खसालिदियो । भूइँ चुम्न पुगेको मेरो टोपी किशोर पौडेलले ल्याइदियो । यात्राका यिनै अनुभवहरु मनमा सजाउँदै घरमा पुग्यौँ  । हामीलाई देखेपछि आमा-बा निकै खुसी हुनुभयो । नहोस् पनि किन ! आधुनिकताले निम्त्याएको शहरबास र व्यस्तताले  वर्षमा मुस्किलले तीन चार पटकमात्र उहाँहरुसँग भेट हुने गरेको छ । बहिनीले ढिँडोरोटो पकाएकी थिइन् । भोक र थकाइले चुर भएकोले बेला त्यही ढिँडोरोटो पनि हाम्रा लागि   मिष्टान्न भोजनमा परिणत भयो । घरैमा उत्पादित बिदाइ बिजुलीपानीले करामत देखाउँदै थियो । साथीहरुका बोली लरबराउँदै थियो । उनीहरु छिट्टै निन्द्रादेवीको शरणमा परे ।

= = =

भोलिपल्ट विहान हामी पुरानकोटतिर लाग्यौँ  । घरबाट एक घण्टा जति हिँडेपछि पुरानकोट गाउँमा पुग्यौँ  । पुरानकोट थाप्लोतिर पाइला नाप्दै गर्दा विदेशी पर्यटकहरु पनि भेटिए । थकाइका सुस्केरा फ्याँक्दै करिब १ हजार ९ सय मिटर पुरानकोटको थाप्लोमा पुगेपछि आँखाले मनोरम भूदृश्य तनतनी पिउन थाल्यो । उत्तरतिर दन्तलहर खोलेर मुस्काएका हिमश्रृखला, पूर्वतिर गोर्खा,  दक्षिणतिर तनहूँ र नवलपरासी र पश्चिमतिर कास्कीका मनमोहक भूतरेलीहरु सिनेमाका 'लो सट एंगल' र 'हाइ सट एंगल' का दृश्यहरुझैं आँखा वरिपरि देखिन थाले । यद्यपि तुँवालोको घुम्टो ओढेकी प्रकृति खुल्नुपर्ने जति खुलेकी थिइनन् ।

पुरानकोट थाप्लोमा भग्नावशेषको रुपमा रहेको यशोब्रह्म शाह र उनकी रानीको बेग्लाबेग्लै दरबारलबारे गुरुप्रसाद ढुङ्गाना, दामोदर अधिकारीलगायतका स्थानीय जानकारहरुले दिएको जानकारीले हामीलाई इतिहाससित रुबरु गरायो । त्यस घडीले मलाई मेरा गुरुजनसँग पनि रुबरु गरायो । वर्षौंदेखि अलगथलग हुन पुगेका मेरा गुरुहरु लालबीर गुरुङ र बुद्धिबहादुर गुरुङ भेटिए, त्यहाँ । गुरुहरुसँगको भेटघाटले मन फुरुङ्ग भयो । उहाँहरु मलाई बाल्यकालमा शिक्षा दिने गुरु हुनुहुन्छ । उता पुरानकोटका गुरुङसेनी चेलीबेटीहरुले प्रेमपूर्वक दिएको भुटेको मकै, लट्टे, मह र अचारले तन र मन दुवै पुष्टिँदै थियो ।

पुष्टिएको  तन र मन लिएर पुरानकोटको थाप्लोबाट तलतिर झर्यौँ , 'रक क्लाइम्बिङ वाल' को उद्घाटन कार्यक्रममा सहभागी हुन । 'रक क्लाइम्बिङ वाल' उद्घाटन स्थलमा थुप्रै स्थानीय बासिन्दाहरुले अघि नै भरिभराउ भएको रहेछ । सूचना आयोगका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ, नेपाल सरकारका सहसचिव कृष्ण रानादेखिका गन्यमान्य व्यक्ति र विदेशी पाहुनाहरु 'रक क्लाइम्बिङ' को रोमान्चक दृश्यमा रमाउन ढुङ्गे पहरामा आँखा जोतेर बसिरहेका थिए । 'च्वाइस इन्टरनेसन' का निर्देशक क्रिस जोन्सनले रक क्लाइम्बिङ वालको उद्घाटन गरेपछि त्यहाँ बेजोडसँग  सिठी बज्न थाल्यो । लगभग १ सय ६० फिटमाथिको ढुङ्गे पहराको टुप्पोबाट दुई युवा तुलबहादुर गुरुङ र राजकुमार गुरुङ डोरीको साहराबाट तलतिर झर्न थाले । त्यस क्षणलाई जीवन्त बनाउन भिडियो क्यामरादेखि मोबाइलसम्मको प्रयोग फोटो खिच्नेहरुको भीड नै उर्लियो ।

त्यतिबेला नै पुरानकोट एक युवा निकै हर्षित हुँदै पत्रकार अमृत भादगाउँलेलाई फोन गर्न थाले । केही वर्षअघि पुरानकोट पुग्दा अमृत भादगाउँलेले 'रक क्लाइम्बिङ' लाई सपना भनेका थिए रे । त्यस सपना पूरा भएको जानकारी दिन अमृतजीलाई फोन गरेर उनी भावुक मनोभावमा वायुतरङ्गमार्फत छताछुल्ल पोख्दै थिए । हुन पनि पुरानकोटको रक क्लाइम्बिङ तान्द्राङकोट-पुरानकोट पदमार्गको मात्र नभई नेपालभरिकै पदमार्गहरु गहना ठहरिन पुगेको छ ।
= = =
पुरानकोटको भव्य कार्यक्रमपछि बिदाइका हात हल्लाउँदै हामी तुर्लुङकोटतिर लाग्यौँ । झमक्कै साँझपरेपछि तुर्लुङकोट आइपुग्दा जाडोको जवानी बेजोड ढङ्गले बढिरहेको थियो । जाडोले हामीलाई सेक्नुसम्म सेक्यो । तर हामी जाडोसँग डराएनौँ । ठाउँ ठाउँमा मुढा जोतिएका थिए । आधुनिक भाषामा भन्नुपर्दा त्यहाँ गाउँले शैलीको 'क्याम्प फायर' गरिएका थिए । त्यतिमात्र कहाँ हो र!  कोदाकॊ खाँट्टी बिजुलीपानीले पाहुनाहरुको भित्री कम्मल बनेर जाडोको दोहोलो काढ्न तम्तयार थियो । त्यहाँ उपलब्ध तातो-तातो चिया र तातो पानी पनि जाडोलाई निस्तेज बनाउन प्रयासरत थिए । खानपिनपछि चलेको नाचगानले त जाडोलाई झनै पर धपाइदिएको थियो । 

विहान खाजा खाएपछि पर्यटक र पत्रकारहरु फोटो खिच्न र गाउँघर डुल्न व्यस्त देखिए । दुराडाँडामा जन्मेकी प्रसिद्ध लोकगायिका बीमाकुमारी दुराको गीतमा उल्लिखित तुर्लुङकोटको लाँकुरीबोटको तस्बिर खिच्नमा व्यस्त थिए,पत्रकार किशोर पौडेल । बिडम्बना नै भन्नुपर्ने हुन्छ, इतिहास रच्न सफल त्यो लाँकुरीबोट रहेको चौतारी बाटो खन्ने बुल्डोजरको निर्मम आक्रमणको निसाना बनिसकेको छ । त्यो चौतारी थोते र कुरुप बनेको छ । 

लमजुङ तुर्लुङकोट
सरर हावा चल्यो लाँकुरीको बोट

बीमाकुमारी दुराको कोइलीजस्तो स्वरले चित्रण गरेको त्यो लाँकुरीबोटको भौतिक अवस्था गीतजस्तो सुन्दर छैन, अहिले । बीमाकुमारी दुरा, कृष्ण गुरुङ, कृष्णसुधा ढुङ्गानाजस्ता लोकप्रतिभा र पाखुरामा जाँगर भएका गाउँले युवाहरुको अनुपस्थितिमा त्यो लाँकुरीको बोट एक्लो छँदैथियो, त्यसमा पनि भत्कन लागेका लाँकुरी चौतारीको दुरावस्था देखेर भित्री मन गहिरो गरी दु:ख्न थाल्यो । हामी खिन्न भएको मन लिएर 'तुर्लुङकोट गढी' हुँदै तुर्लुङकोटकोटको थाप्लोतिर लाग्यौँ  । उकालो लाग्दा देखिएका आँखाको अघिल्तिर नाँच्न आएका मनोरम प्राकृतिक भूदृश्यहरुले दु:खेको मनलाई विस्तारै ओखतीमूलो गर्न थाल्यो । चौतारीको बेहाल देखेर चिमोटिएको मन विस्तारै निको हुँदै गयो । तुर्लुङकोटकोटको थाप्लोमा बाह्रमासे घाँटु, सोरठी, भजन र ठाडो भाकाका खालहरु जमेका थिए । तान्द्राङकोट-पुरानकोट पदमार्ग उद्घाटनको अवसरमा यसप्रकारको सांस्कृतिक एवम् सांगीतिक जनमघट आयोजना गरिएको थियो । यसप्रकारको जमघटमा मिसिन पाउँदा मन फुरुङ्ग भयो । बाल्यकालका सम्झनाहरु ताजा भए । पानी परेपछि  फूलहरु ताजा भएजस्तै ।

= = =

शहरप्रतिको बढ्दो मोह गाउँमा अवसरहरुको अभाव आदि कारणले दुराडाँडा प्रतिपल खाली  बन्दै गएको छ । अहिले मणि हराएको सर्पजस्तै कान्तिहीन बनेको छ, दुराडाँडा । हुन त  दुराडाँडाको यो अवस्था नेपालका अधिकांश गाउँबस्तीहरुको साझा कथा पनि हो । थुप्रै सामाजिक सांस्कृतिक एवम् ऐतिहासिक निधिहरुबाट सजिँदै वैभवशाली विगत बोकेको यो ठाउँ विसर्जित हुनु र बिरानो बन्दै जानु दुर्भाग्यपूर्ण अवस्था हो । यस्तो लाग्छ, हामीले ममतामयी भूगोल र वैभवशाली इतिहासलाई सनैसनै बिर्सदै गइरहेका छौं ।

दुराडाँडा शाहवंशीय राजसंस्थाको उद्गम विन्दु हो । खजे दुरा र उनका तत्कालीन सहकर्मीहरुले दुराडाँडामा शाहवंशीय राजसंस्था स्थापना गरेको इतिहास छ

सांगीतिक निधिको कुरा गर्दा प्रख्यात ठाडोभाका देउबहादुर दुराको जन्मथलो पनि यतै  हो ।  २००६ साल भएको हलो क्रान्ति र त्यसको लगत्तै शुरु भएको शैक्षिक एवम् सामाजिक क्रान्तिका दुराडाँडाले थुप्रै चर्चा र प्रशंसा बटुल्यो । एक समयमा  दुराडाँडा एउटा राम्रो शैक्षिक गन्तव्य बनेको थियो । त्यहाँ छिमेकी जिल्ला र लमजुङकै अन्य भागबाट विद्यार्थी झुत्तिने गर्थे । आज शून्य बन्दै गएको दुराडाँडा त्यही थलो हो, जहाँ वि.सं. २००९ र २०१० सालमा क्रमशः 'राजनीतिक सम्मलेन' र 'शैक्षिक सम्मेलन' आयोजना गरिएका थिए । ती सम्मेलनमा देश सुधारका निम्ति घोषणपत्रहरु जारी गरिएका थिए । सामाजिक एवम् राजनीतिक चेतनाको दीयो बाल्ने दुराडाँडा कुनै समयमा आकर्षणको केन्द्रविन्दु थियो ।

क्रमिक रुपमा बिरानो र शून्य बन्दै गएको दुराडाँडामा अहिले आशाको त्यान्द्रो पलाएको छ । दुराडाँडाकै मेधावी व्यक्तित्व विष्णुहरि अधिकारीले अघि सारेको पर्यटन, समाज कल्याण र समाज विकाससम्बन्धी अवधारणाले हालको रिक्ततालाई  चिर्न  सहयोग गर्छ भन्ने आशा पलाएको छ । उनले अघि 'तान्द्राङकोट-पुरानकोट पदमार्ग', 'होम स्टे' विद्यालय सुधार र समाज सुधारका अन्य कार्यक्रमले विस्तारै गति लिँदै गएको छ ।  यसमा अरुको पनि सहयोग र समर्थन मिल्यो भने यो ठाउँ पुनः गुल्जार बन्नसक्छ । आशा गरौँ, यसले दुराडाँडाको हराएको सहकाललाई फेरि फर्काएर ल्याउनेछ । यहाँबाट बसाइँ सरेर जानेहरु फेरि यतै फर्किउन् । दुराडाँडाको माटोले यही पुकारा गरिहरेको छ ।


[साभार : नागरिक (फागुन २०, २०६८ ) । सामान्य परिमार्जनसहित । तस्बिर: किरण न्यौपाने ]
 

[अद्यावधिक: २०६९ ।०२ ।०३, २०७१।०३।१०, २०७१।०३।११, २०७५।०७।१४ ]

Thursday, January 26, 2012

चाँदनी र दोधारालाई मुटुमा सजाउँदा...

-यमबहादुर दुरा
सानो छँदा सामान्य ज्ञानसम्बन्धी पुस्तकमा पढेको थिएँ, महाकाली नदी नेपाल र भारतबीचको सीमाना हो । साथसाथै मैले यो पनि पढेको थिएँ, चाँदनी र दोधारा महाकालीपरिको नेपाली बस्ती हुन् । नेपालको भौगोलिक अवस्थितिबारेको यसप्रकारको विरोधाभाषपूर्ण जानकारीले म आश्चर्यचकित भएको थिएँ । महाकाली नदीलाई नेपाल र भारत बीचको सीमाना मानिएको अवस्थामा महाकाली नदी पारि कसरी नेपाली बस्ती कायम हुनसक्छ ? मेरो मनमा यही जिज्ञासा थियो । यद्यपि यो सीमाना सन् १८१६ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच भएको "सुगौली सन्धि " पछि निर्धारण भएको हो  र यो नेपालको खुम्चिएको भूगोल हो भन्ने तथ्य पनि मनमै छ ।

समयक्रममा दोधारा र चाँदनीको बारेमा थप चर्चा-परिचर्चा सुन्ने मौका पाएँ । एकतिर मिडिया र अर्कोतिर अनौपचारिक माध्यमहरुमार्फत थप जानकारी बाहिरहरु आए । यस्ता चर्चा-परिचर्चाले पुराना जिज्ञासा मेट्दै गयो र नयाँ जिज्ञासाहरु थप्दै गयो । मैले बेला बखतमा सुन्ने गर्थें - दोधारा र चाँदनीमा नेपाली पैसा चल्दैन, त्यहाँ भारतीय रुपियाँमा कारोबार हुन्छ, त्यहाँ नेपाल सरकारको उपस्थिति छैन, त्यहाँका जनता प्राविधिक रुपमा मात्रै नेपाली हुन्, त्यहाँको जनजीवन भारतीय जीवनशैलीसित गाँसिएको छ, महाकाली नदीमा पुल नहुँदा दोधारा र चाँदनी नेपालको मूलभूमिबाट अलगथलग हुन पुगेका छन् । यी र यस्ता कुराहरु थाहा पाउँदा मभित्रको राष्ट्रियता नराम्ररी छट्पटाउँथ्यो । मन नमिठो गरी दुख्थ्यो ।
चाँदनी र दोधारालाई नेपालसंग जोड़ने पुल । तस्बिर: बीपी अनमोल
मलाई मनमनै लाग्थ्यो, चाँदनी र दोधारामा पुगेर त्यस भेगका नागरिकले भोग्नुपरेका पीरमर्कालाई नजिकबाट अनुभव गर्न पाए हुन्थ्यो । तर समय मिलिरहेको थिएन । लामो समयको प्रतीक्षापछि २०६२ सालतिर चाँदनी गाविसमा पाइला टेक्ने साइत जुर्‍यो । नेपाल प्रेस इस्टिच्यूट/क्षेत्रीय सञ्चार स्रोत केन्द्र (नेपालगञ्ज) ले आयोजना गरेको पत्रकारितासम्बन्धी तालिमको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने क्रममा महेन्द्रनगर पुगेको थिएँ । त्यतिबेला समय निकालेर चाँदनी गाविसको जमिनमा पाइला टेक्ने काम गरें। लामो र आकर्षक झोलुङ्गे पुल पार गरेर महाकाली पारिको चाँदनी गाविसमा पाइला टेक्न पाउँदा मन प्रफुल्लित थियो ।

त्यतिबेला नै महाकाली नदीपारिको भारतीय बजार वनबासा घुम्ने समय पनि निकालें । त्यसबेला नेपाल पत्रकार महासंघ (बाँके) का तत्कालीन सभापति निरज गौतमले आफ्नो मोटरमा राखेर वनबासा बजार घुमाइदिनुभएको थियो । वनबासातिर अघि बढ्ने क्रममा महेन्द्रनगरबाट लगभग ६ किलोमिटर पश्चिममा रहेको गड्डा चौकीनेरै भारतीय चेकपोष्ट देख्दा म छक्क परेको थिएँ । महाकाली नदी वारि नै भारतीय चौकी र भारतीय सीमा सुरक्षा बलको उपस्थिति देख्दा मलाई अनौठो अनुभूति भएको थियो ।

एकतिर महाकाली नदी पारिको नेपाली बस्ती र अर्कोतिर महाकाली नदीवारि नै भारतीय चेकपोष्ट । यी विरोधाभाषजस्ता लाग्ने दृश्य देखेर मेरो दिमाग रन्थनाएको थियो । यी परस्पर विरोधाभाषपूर्ण दृश्यले नेपाल र भारतबीचको भूराजनीतिक सम्बन्ध निकै जटिल छ भन्ने तथ्य राम्ररी अनुभूति भयो ।

अब फेरि चाँदनी र दोधारातर्फ नै जाउँ, जुन नेपालको मूल भूमिबाट टाढिएको नेपाली बस्ती हुन् । यसपटक म क्याम्पसको जाडो बिदामा मेची-महाकाली यात्रामा निस्केको थिएँ । यस क्रममा २०६८ साल माघ ३ गते लगभग ६ वर्षको अन्तरालमा चाँदनी गाविसमा पुगेको थिएँ । महाकालीपारि रहेका यी बस्तीको जीवनशैली र जनजीवनका अरु आयामहरु थाहा पाउने हेतुले म त्यता पुगेको थिएँ । महेन्द्रनगरस्थित महाकाली एफएममा कार्यरत बीपी अनमोलले मोटरबाइकमा राखेर चाँदनी गाविसको  पूर्वी भागमा पुर्‍याइदिनुभएको थियो । समयको सीमाबन्दीले त्यस  ठाउँभन्दा अघि बढ्न सकिएन ।

महाकाली नदीमाथि हालिएको पुलको पश्चिमी मुख (छेउ) मा दोधारा गाविसका बासिन्दा पप्पु गुरुङसंग चिनजान भयो । उहाँको पुख्र्यौली घर लमजुङ रहेछ । उहाँको पिता भारतीय सेनामा कार्यरत रहँदाको समयमा दोधारामा बसोबास गर्नुभएको रहेछ । उहाँबाट चाँदनी र दोधाराको बारेमा केही जानकारी प्राप्त भयो । उहाँका अनुसार बाटोघाटो र बजारको अभावमा चाँदनी र दोधारा गाविसका कृषि उत्पादन कि त मूल्य घटाघटमा बिक्री हुने गरेको छ कि त सडेर जाने गरेको छ ।

काठमाडौंबाट प्रकाशन हुने एक अंग्रेजी दैनिकले करिब २ वर्षघि दोधारा र चाँदनी गाविसका किसानले भोग्नुपरेको समस्याबारे समाचार छापेको थियो । समाचारअनुसार दोधारा र चाँदनी गाविसमा दैनिक ३ हजार ५ सयदेखि ४ हजार लिटरसम्म दूध उत्पादन हुने गरेको तर बाटोघाटो र बजारको अभावमा सदरमुकाम महेन्द्रनगरमा बिक्री हुने मूल्यभन्दा आधाभन्दा पनि कम मूल्यमा बेच्न बाध्यतामा त्यहाँका नागरिकहरु फसिसकेका छन् ।

यसैगरी, धनगढीबाट प्रकाशन हुने अनुमोदन दैनिकले २०६८ साल माघ ४ गतेको अंकमा चाँदनी गाविसको 'बेलबन्द सामुदायिक वन' मा उत्पादन हुने बेलले बजार नपाएको समाचार छापेको छ । १० बिघा क्षेत्रफलमा लगाइएको वनबाट वार्षिक रुपमा करिब ७ क्विन्टल बेल उत्पादन हुने गरेको भए पनि त्यसले बजार नपाउँदा स्थानीय किसान मर्कामा परेको कुरा पनि सो दैनिकले उठाएको छ ।

यी समस्याहरु त उदाहरणमात्रै हुन् । यहाँका नागरिकहरुले जनजीविका, जीवन रक्षा एवम् राष्ट्रियतासँग गाँसिएका असंख्य समस्या भोग्दै आएका छन् । भारतमा अपराध गरेर यस क्षेत्रमा लुक्न आउने अपराधी प्रवृत्तिका मानिसको खोजीमा भारतीय प्रहरी गर्ने ’रेड’, भारतीय सीमा सुरक्षा बलले बेलाबखतमा दिने यातना, आदिका दुःखद अध्याय यहाँका नागरिकको मनमस्तिष्कमा कम्प्युटरको ’मेमोरी चिप्स’ मा रहेजस्तै गरी साँचिएका छन् । प्रकारको दुःखदायी अवस्थाले मूल भूमिबाट टाढिएका दोधारा र चाँदनी गाविसका नागरिकहरुले उचित एवम् मर्यादित जीवन बिताउन नपाउने अवस्था पनि पैदा गरेको छ । यसबाट देशसँग अपनत्वको भावना टुट्ने खतरा रहन्छ । यस्तो अवस्थाले उनीहरुको मनमा रहेको राष्ट्रियताको भावना मेट्न  सहयोग गर्छ, जुन राष्ट्रियताको दृष्टिले घातक हुनसक्छ ।

चाँदनी र दोधारा गाविसले कञ्चनपुर जिल्लाको चुनावी राजनीतिमा महत्व पनि गहकिलो गरी बोकेको छ । त्यस जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा यी दुई गाविसको मत निर्णायक  हुन्छ । यस क्षेत्रका नागरिकको मत जसको पक्षमा गयो, उसैले चुनाव जित्ने अवस्था रहेछ । यति हुँदाहुदै पनि चाँदनी र दोधारा धेरै अर्थमा अपहेलित अवस्थामा छ ।

दोधारा गाविसको सीमावर्ती क्षेत्रका बालबालिकाहरु भारतीय स्कुलमा पढ्ने रहेछन् । अर्को कुरा, त्यस भेगका बासिन्दा बिरामी पर्दा भारतीय अस्पताल नै धाउने रहेछन् । दैनिक उपभोग्य वस्तुहरुको खरिद पनि भारतीय बजारमा नै हुने गरेको पाइन्छ । यहाँनेर, टाढाको आरनभन्दा नजिकको आँसी उध्याउने ढुँगा बढी लाभदायी हुन्छ भन्ने लोकोक्ति चरितार्थ भएको पाइन्छ ।

आउजाउ भएमा टाढाको साइनो पनि नजिकको साइनो बन्छ, आउजाउ नभएमा नजिकको साइनो पनि टाढाको साइनो बन्छ भन्ने भनाइ पनि यहाँ उत्तिकै शिरोधार्य देखिन्छ ।

नेपाली भूमि र नेपाली नागरिकलाई मूलथलोबाट टाढिन नदिन सरकारले विशेष कार्यक्रमहरु अघि सार्नुपर्छ । सन् २००५ अप्रिलमा निर्माण कार्य सम्पन्न भएको महाकाली नदीमाथिको १ हजार ४ सय ५४ मिटर लम्वाइ भएको झोलुङ्गे पुलले चाँदनी र दोधाराका बासिन्दालाई कन्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरसंग जोड्ने काम गरेको छ । अब त्यस पुलको रेखदेख गर्ने र मर्मत सम्भार गर्ने निकाय पनि हुन जरुरी छ । यतिले मात्र पुग्दैन । अब त्यस झोलुङ्गे पुलको सट्टामा मोटर नै गुड्न सक्ने पक्की पुल बन्न पनि आवश्यक छ ।

कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरबाट त्यस झोलुङ्गे पुलसम्मको दूरी १० दशमलव ५ किलोमिटर छ । त्यो बाटो कालोपत्रे भएमा त्यस भेगका नागरिकलाई आवतजावत गर्न सहज हुने देखिन्छ । उक्त बाटो कालोपत्रे गर्न माग गरेर स्थानीय नागरिकले विरोध कार्यक्रम अघि सार्दा पनि जनप्रतिनिधि र सरोकारलवाला निकायबाट यथोचित सुनुवाइ नभएको जानकारी पाइयो । त्यस बाटो पक्की भएमा महाकाली नदीमाथि बनेकोको झोलुङ्गे पुल हेर्न आउने पर्यटकको संख्या बृद्धि भई त्यस क्षेत्रमा सुविधासम्पन्न होटल र रेष्टुराँहरु बन्ने ठहर पत्रकार बीपी अनमोलको छ ।

बाटो कच्ची भएको कारणले सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण नागरिक महंगा वैकल्पिक माध्यम रोज्न बाध्य भएका छन् । त्यो बाटोमा मोटरबाइकले यात्रु ओसार्ने धन्दा फस्टाएको रहेछ । त्यस भेगका सर्वसाधारण नागरिक मोटरबाइक चालकलाई प्रतिव्यक्ति एक सय रुपियाँ तिरेर महेन्द्रनगर र महाकालीमाथिको पुलसम्म आउजाउ गर्न बाध्य भएका रहेछन् । उनीहरुले भोग्नुपरेको हैरानी र सास्तीप्रति सरकारको ध्यान जान आवश्यक छ ।

मूलभूमि  (Mainland)  बाट छुटिट्एको अवस्थामा रहेको भूखण्ड (Break-away land) को भूराजनीतिक र सामाजिक प्रभाव संधै गम्भीर र सम्वेदनशील हुने गर्छ । मुख्य भूमिबाट टाढिएका भूखण्डको नागरिकमा राष्ट्रि्रय भावना जागृत गर्न र त्यस भूखण्डलाई सुरक्षित तुल्याउन विश्वका कतिपय मुलुकका विशेष व्यवस्था अपनाएको पाइन्छ । नेपाल सरकार पनि विषयमा गम्भीर हुन आवश्यक छ । चाँदनी र दोधाराका नागरिकमा राष्ट्रिय भावना जागृत गराउन उनीहरुको जीवनवृत्ति (जनजीविका) र आत्मबललाई टेवा मिल्ने गरी विशेष कार्यक्रम अघि सार्नु आवश्यक छ । यसले चाँदनी र दोधारालाई नेपालको भूगोलसंग मात्र होइन, नेपाली मन र मुटुहरुसंग पनि जोड्ने काम गर्नुपर्छ । अनि मात्र संकटमा परेको राष्ट्र र राष्ट्रियतको जगेर्ना हुनसक्छ ।

[साभार : नेपाली पोष्ट  (जनवरी २५, २०१२)]

[अद्यावधिक : २०६८ ।१० ।१३, ०६८ ।१० ।१५, ०६८।१०।२९, ०६८।११।१९, २०६९।०१।०७, २०६९।०८।०६]

Friday, January 20, 2012

नेता रामचन्द्र पौडेललाई प्रश्न

 -यमबहादुर दुरा
गाउँघर निरन्तर रित्तो बन्दै गइरहेको घडीमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले गाउँघरप्रति माया पोख्दै एक दैनिक अखबारमा लेख लेख्नुभयो । केही महिनाअघि प्रकाशित त्यस लेखको केन्द्रीय भावभूमि थियो, गाउँमा कृषि क्रान्ति हुनुपर्छ र गाउँ छाडेर गएकाहरु गाउँमै फर्कनुपर्छ । 

सैद्धान्तिक रुपमा तपाईँको लेख चित्ताकर्षक थियो । लेखको सैद्धान्तिक पक्षमा असहमति जनाउने कुनै आधार थिएन । तर पनि लेख पढेर सक्दानसक्दै मेरो मनमा तपाईँप्रति थुप्रै प्रश्नहरु उब्जिए ।

जगजाहेर नै छ, रामचन्द्र पौडेल वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको राजनीतिक परिदृश्यमा निरन्तर दृष्टिगोचर भइरहेको पात्र हुनुहुन्छ । तपाईँ नेपाली कांग्रेसको शीर्षस्थ नेतामध्ये हुनुहुन्छ । वि.सं. २०४६ सालपछि तपाईँले निरन्तर रुपमा चुवाव जित्दै आउनुभएको छ । राजनीतिक सफलताका सिंढीहरु उक्लदै जाँदा तपाईँ सांसद, मन्त्री, सभामुख एवम् उपप्रधानमन्त्रीको ओहोदामा पुगिसक्नुभएको छ । भाग्यले साथ दिएमा भविष्यमा प्रधानमन्त्री पनि बन्नुहोला ।  तपाईँलाई शुभकामना छ ।

एकपटक पुरानै प्रसंगतिर जाऔं । वि.सं. २०४८ सालको चुनावी अभियानको क्रममा तनहूँको बरभाज्याङ गाविसस्थित बिचारी चौतारीमा तपाईँले भन्नुभएको थियो रे - "गाउँबाट विस्थापित मनलाई आधुनिक सेवा र सुविधा दिएर गाउँमै बसौं बसौं बनाउने ।"  कति सुन्दर भावना ! तर  भावनाले मात्र कहाँ पुग्ने रहेछ र ?  त्यसको व्यवहारिक पक्ष कस्तो रह्यो भन्ने कुरा महत्वपूर्ण हुने रहेछ ।

"गाउँबाट विस्थापित मनलाई आधुनिक सेवा र सुविधा दिएर गाउँमै बसौं बसौं बनाउने" नारा दिएर तपाईँले चुनाव जित्नुभयो । यसपछि तपाईँको सत्तारोहरणको क्रम शुरु भयो । त्यसपछि गाउँघरको हालत के भयो ? यता तपाईँको सत्तारोहरणको क्रममा तीव्रता आयो, उता गाउँबस्ती उजाडिंदै गयो । तपाईँले अघि सार्नुभएको नारा मार्मिक र तर्कसंगत हुँदाहुँदै पनि व्यवहारिक पक्ष कमजोर भएकोले त्यसले मूर्त रुप लिन पाएन ।  नाराले मूर्त रुप पाउनु त कता हो कता,  तपाईँको नाराविपरीत गाउँघर उल्टै हरघडी बिरानो बन्दै गयो ।

आजभन्दा बीस वर्ष अघि तपाईँले सार्नुभएको गाउँघरलाई हराभरा बनाउने नारा केबल नारामा सीमित भएको छ । आज गाउँघर हरपल बिरानो बन्दै गएको छ । गाउँबाट विस्थापित मनहरु गाउँमा पुनस्थापित हुन सकेको छैन । बरु ती मन प्रतिपल तीव्र गतिमा गाउँबाट विस्थापित भइरहेका छन् । निरन्तर रित्तिदै गएको गाउँघरका लागि एउटा नमीठो व्यंग बनेको छ, गाउँबाट विस्थापित मनलाई आधुनिक सेवा र सुविधा दिएर गाउँमै बसौं बसौं बनाउने भन्ने तपाईँको नारा । बच्चा हुर्किएपछिको चराको गुँडजस्तो उजाड बनेको छ, गाउँघर ।

यही पृष्ठभूमिमा नेता रामचन्द्र पौडेलतिर मेरा प्रश्नहरु सोझिएका छन् ।  तपाईँले देशको बागडोर सम्हालिसक्नुभएको छ । डाडू-पन्यू चलाउनुभएको छ । समयको विभिन्न कालखण्ड देशको बागडोर सम्हालेको बेलामा तपाईँले गाउँको विकासका लागि के कस्ता कार्ययोजनाहरु अघि सार्नुभयो ? योजनाकार र नीति निर्माताहरुसंग गाउँको विकासका लागि के कस्ता छलफल भए ? तपाईँबाट गाउँको विकासका लागि के कस्ता सत्प्रयास भए ?  यी प्रश्नको उत्तर पाउने हक नागरिकलाई छ । जवाफ दिनु तपाईँको नैतिक दायित्व पनि हो ।

गाउँलाई गुल्जार बनाउने सत्प्रयास असफल भएका  भने तिनलाई के कस्ता तत्वहरुले बाधा पुर् याए ? तपाईँको लेखमा यस्ता प्रश्नहरुको जवाफ आउनुपथ्र्यो । तर तपाईँ यी विषयहरुमा मौन देखिनुभयो । नागरिकले तपाईँबाट जे कुरा जान्न चाहेका थिए, त्यही कुरामा मौन रहनुभयो ।

राजनीति गर्नुको साँचो उद्देश्य हो, आफूलाई देश र जनताको सेवामा समर्पित तुल्याउनु । देश र जनताको सेवाका लागि रामचन्द्र पौडेल थुप्रैपटक सिंहदबार पुग्नुभयो । तपाईँले गाउँघरको गाह्रोसाह्रो र सिंहदरबारको गाह्रोसाह्रो र कमीकमजोरी दुबै देख्नुभएको छ । 

जनस्तरको समस्या र शासकीय सत्ताको भोगाइबाट गुजि्रसक्नुभएका तपाईँले अहिले आएर पनि उही सुगारटाइजस्तो गरेर गाउँको विकास हुनुपर्छ भनेर अभिव्यक्ति दिनु सामयिक ठहरिंदैन । देशको बागडोर सम्हालिसक्नुभएका तपाईँजस्तो व्यक्तित्वले स्पष्ट भाषा जनतालाई भन्नुपर्छ,  गाउँको मुहार उज्यालो बनाउने दिशामा हामी कहाँनेर चुकेका छौं ? यस दिशामा राजनीतिक नेतृत्व र नीतिनिर्माताहरु कहाँनेर चुकेका छन् ?  तपाईँको लेखाइमा यस्ता प्रश्नको उत्तर आउनुपथ्र्यो । तपाईँको लेखाइमा देशको परिस्थितिलाई रौंचिरा गरिएको विश्लेषणात्मक धारणा आउनुपथ्र्यो । अहिले आएर गाउँमा बस्नुपर्छ र गाउँमा कृषि क्रान्ति गरिनुपर्छ भनिरहनुमा कुनै तुक छैन । तपाईँले बीस वर्षअघि दिनुभएको मीठो नारा बीस वर्षपछि पनि किन नारामै सीमित हुनपुग्यो ?  लेखमा यसको उत्तर स्पष्ट रुपमा आउनुपथ्र्यो ।

गाउँको महिमा गाएर भाषण गर्ने र लेख लेख्ने कति नेताहरुको शहरमा घर बने ? उहाँहरुमध्ये कतिजना आफै गाउँ फर्केर उदाहरण बन्नुभयो ?  यस्ता कुराहरुको चिरफार हुन आवश्यक छ । देशको मूलधारे राजनीतिमा रहेर सत्ता र शक्तिको खेलमा बीस वर्ष बिताइसक्नुभएका तपाईँजस्ता शीर्षस्थ नेताले आत्मसमीक्षा गर्ने बेला आइसक्यो । गाउँको विकास हुनुपर्छ भन्ने सबैलाई थाहा छ । कसरी गर्ने भन्ने मुख्य कुरा हो ।  गाउँको विकासका लागि तपाईँले के के गर्नुभयो ?  गाउँको विकासका लागि के कस्ता पक्षहरु वाधक रहेको पाउनुभयो ? तपाईँबाट यस्ता कुराहरुको फेहरिस्त आउन आवश्यक छ । 

तपाईँजस्ता सत्ता र शक्तिको अभ्यास गरिसक्नुभएका नेताप्रति नागरिकका मनमा यस्तै जिज्ञासाहरु उब्जिएका छन् । नागरिकले तपाईँजस्ता नेताको आत्ममूल्यांकन खोजेको छ, आत्मप्रकाशन खोजेको छ । देशको भावी प्रधानमन्त्री हुने लाइनमा उभिनुभएका तपाईँजस्ता नेताले एकपटक आफैंतिर फर्किएर हेर्ने आएको छ । गाउँको मुहार फेरिने आशामा बसेका तमाम सर्वसाधारण नागरिकले हेर्न चाहेका छन्, तपाईँको छातीभित्र गाउँको तस्बिर छ कि छैन ?

[साभार:  अनलाइन अखबार नेपाली पोष्ट   (जनवरी ०२, २०१२ )]

[अद्यावधिक : २०६८१००९, ०६८१०११, ०६८१०१३, ०६८१०१५, ०६८११२३, २०६९।०८।०६]

Sunday, November 6, 2011

खजे दुराः राष्ट्र र राष्ट्रियताका सन्दर्भमा सम्झनलायक व्यक्तित्व

-यमबहादुर दुरा

पृष्ठभूमि

विश्व मानचित्रमा नेपालको विशिष्ट स्थान नेपालका थुप्रै विशिष्टताहरुमध्ये चङ्गुलबाट साम्राज्यवादीहरुको बँच्न सक्नु पनि एक हो विश्वका धेरैजसो मुलुक साम्राज्यवादीहरुको कब्जामा परेर पराधीन बनेको अवस्थामा पनि नेपालको सार्वभौमिकता अक्षुण्ण रह्यो नेपाल भौगोलिक हिसाबले सानो भए पनि सामरिक सांगठनिक हिसाबले बलियो भएकोले नै साम्राज्यवादीहरुको हस्तक्षेपको शिकार हुनु परेन  

यसको अर्थ हो-हाम्रो राष्ट्रियताको जग बलियो थियो, जुन हामी सबै नेपालीका लागि गौरवको विषय हो हाम्रो राष्ट्रियताको जग त्यसै बलियो भएको थिएन थुप्रै अग्रजहरुको योगदानबाट हाम्रो राष्ट्रियताको आधार बलियो बनेको थियो यो तथ्य हरेक राष्ट्रप्रेमीले भुल्नै नहुने पक्ष हो

राष्ट्र राष्ट्रियताको प्रसंग कोट्याउँदा खजे दुराको नाम पनि उल्लेखनीय हुन आउँछ उनले राष्ट्र राष्ट्रियताका पक्षमा खेलेको भूमिका प्रशंसनीय देखिन्छ खजे दुराले शाहवंशीय राजसंस्था स्थापना गर्नमा अतुलनीय योगदान दिएको पाइन्छ यद्यपि, अहिले शाहवंशीय राजसंस्थाको विघटन भइसकेको हिजोका राजा आज जनता जनार्दन भइसकेका छन् विगतका क्रियाकलापहरुका कारण राजसंस्था धेरै हदसम्म आलोचित पनि यो कुरा एउटा बेग्लै विश्लेषणको पाटो हो

त्यतिबेलाका राजसंस्थाका संस्थापकहरुको नियत खोटो थियो भनेर आरोप लाउने कुनै आधार छैन त्यो कदम नितान्त असल मनासयका साथ आँटिएको राष्ट्रनिर्माण अभियान थियो कालान्तरमा राजसंस्था पथभ्रष्ट हुनुमा राष्ट्रनिर्माता खजे दुरा उनका सहकर्मीहरु दोषी छैनन्

यहाँनेर, विस्मृत बनिसकेको खजे दुराको योगदानलाई फेरि एकपटक पछाडि फर्केर चियाउने कोसिस गरौं इतिहासका पानाहरुमा उल्लेख भएअनुसार बाइसे चौबीसे राज्यकालको एक कालखण्डमा तत्कालीन लमजुङ आन्तरिक किचलोमा फसेको थियो परिणामस्वरुप राज्यको शक्ति क्षीण हुँदै थियो त्यतिबेला सत्तासीन शासकसित जनता खुसी थिएनन् जनता राजनीतिक नेतृत्वको विकल्पको खोजीमा थिए यसको नेतृत्व खजे दुरा उनका सहकर्मीहरुले गरे

खजे दुराले कास्कीका तत्तकालीन राजा कुलमण्डन शाहका छोरा  यशोव्रह्म शाह (जो जसभू शाह नामले पनि परिचित छन्) लाई ज्याबीमा बोकेर ल्याए यस क्रममा कुसुमाकर, चामु धिंगल, लक्ष्मण दुरा, नारान दुरालगायतका पूर्खाहरुले खजे दुरालाई दिलोज्यानले सघाएका थिए भन्ने तथ्य इतिहासमा पानामा भेटिन्छन्  

यति धामा गरेर ल्याएको राजालाई लमजुङको दुराडाँडास्थित भाँगु गाउँमा रहेको एक ढुङ्गामा सिंदुरजात्रा गरी राजगद्दीमा बसाएको थियो त्यो ढुङ्गा आजकल 'सिंदुरे ढुङ्गा' नामले परिचित  वि. सं. १५५० असार १५ गते यशोव्रह्म शाहलाई लमजुङको राजगद्दीमा बसालेको अभिलेख यसरी नेपालमा शाहवंशीय राजसंस्थाको जग बसेको मानिन्छ । 

हामीले गहिरिएर विचार गर्ने हो भने त्यतिबेलाको राजनीतिक घट्नाक्रमले राजसंस्थाको स्थापनाको सँगसँगै नेपाल राज्यको अटल जग पनि बसालेको देखिन्छ राज्यको मियोको रुपमा राजसंस्थालाई खडा गर्ने काम खजे दुरा उनका सहकर्मीहरुले गरे  

लमजुङमा स्थापना गरिएको राजसंस्थाका उत्तराधिकारीहरु गोरखासम्म विस्तारित भयो त्यहींबाट नेपाल एकीकरण अभियान शुरु भयो यद्यपि त्यस अभियानले नेपाललाई भौगोलिक रुपमा मात्र एकीकरण गर्यो, सांस्कृतिक रुपमा एकीकरण गर्न सकेन भन्ने विचार पनि उत्तिकै बलियो गरी आएको यसमा विचारविमर्श गर्न सकिने ठाउँ

त्यतिबेलाको राजनीतिक दाउपेच जेसुकै भएपनि त्यसले राज्यसंयन्त्रलाई कमजोर हुन नदिई राष्ट्र्र राष्ट्रियता बचाउने काम गरेका थिए, हाम्रा पूर्खाहरुले यसमा हामीले गौरव गर्नुपर्छ

खजे दुराको स्मारक

खजे दुराको गौरवगाथा जोगाउने दिशामा राजनीतिज्ञ एवम् अग्रज समाजसेवी श्रीकान्त अधिकारीले दिनुभएको योगदान वन्दनीय । उहाँकोअधिकारीको अगुवाइमा वि.सं.२०३३ मा स्थानीय सर्वोदय माविको रजत जयन्तीको क्रममा कार्तिक २१ गते खजे जयन्ती मनाउन थालिएको थियो । सोही समयमा खजे दुराको शालिक खडा गर्ने संकल्प पनि गरिएको थियो । यसको पहिलो कदमस्वरुप खजे दुराको काल्पनिक स्केच तयार गर्ने काम गरियो । मञ्ज्या निवासी चित्रकार चेतनाथ घिमिरेले खजे दुराको स्केच तयार पारेर बिर्सनै नसकिने गुण लाउनुभएको थियो । 

एक हिसाबले विस्मृत बनिसकेको इतिहासलाई खोजखनिज गरेर दुराडाँडास्थित च्यानपाटा बजारमा खजे दुराको शालिक उभ्याउने काम उहाँकै अगुवाइमा भएको थियो  सर्वोदय माविको स्थापना दिवसको अवसरमा वि.सं. २०३७* मा खजे दुराको पूर्ण कदको शालिक नेपाल सरकारका तत्कालीन परराष्ट्र सचिव यदुनाथ खनालले अनावरण गर्नुभएको थियो ।खजे दुराको शालिक खजे गाउँ निवासी मनबहादुर विश्वकर्माले बनाउनुभएको हो ।  

समयक्रममा खजे दुराको शालिक जीर्ण बन्दै गएकाले वि।सं।२०५५ शालिकको जीर्णोद्धार गरिएको थियो । दोस्रो पटक पनि मनबहादुर विश्वकर्माले नै शालिक बनाउनुभएको हो । यसैगरी, गण्डकी प्रदेशका तत्कालीन आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङको पहलमा खजे दुरा पार्क संरक्षण समिति अध्यक्ष देवीजङ्ग दुराको संयोजकत्वमा  खजे दुराको धातुको शालिक निर्माण २०८३ सालमा गरियो । मूर्तिकार श्री विष्णुप्रसाद बरालले खजे दुराको नयाँ शालिक निर्माण गर्नुभएको हो । 

त्यस स्थानमा खजे दुराकै नाउँमा एउटा पार्क पनि निर्माण गरिएको , जुन खजेपार्क नामले परिचित , आजकल स्मरणीय , च्यानपाटा बजार खजे दुराको समाधिस्थल मानिन्छ स्थानीय गाउँको नाम खजेगाउँ रहेको सम्भवतः यो खजे दुरा बस्ने गाउँ थियो खजे गाउँमा कालिकाको मन्दिर त्यस मन्दिरमा खजे दुराले पूजाअर्चना गर्थे भन्ने भनाइ


राष्ट्रिय विभूति घोषणा गर्न माग 

यिनै पक्षहरुलाई मनन गर्दै सर्वोदय उमाविको राष्टपति डा. रामवरण यादव समक्ष दुरा समुदायको छाता संगठन 'दुरा सेवा समाज' ले एक स्मरणपत्र पेश गरेको सर्वोदय ६० औं वार्षिकोत्सव (हीरक महोत्सव) उद्घाटन समारोहमा दुराडाँडामा पुग्नुभएका राष्ट्रपतिसमक्ष पेश गरिएको स्मरणपत्रमा खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको  

समाजका तत्कालीन अध्यक्ष लोकबहादुर दुराले २०६९ साल कात्तिक २० गते पेश गर्नुभएको स्मरणपत्रमा  भनिएको : 'खजे दुरालाई हामीले राजसंस्थाको संस्थापकको रूपमा भन्दा पनि देशको राजनीतिक स्थितरता स्वाधीनताका लागि कर्मक्षेत्रमा होम्मिने योद्धाको रूपमा बुझिनुपर्छ यसैअनुरुप उनको चरित्रचित्रण गरिनुपर्छ भन्ने हाम्रो मान्यता '

यसैगरी, २०८२ सालमा देउबहादुर दुराको जन्मस्थान हाँडीखोला बर्धानमा आयोजित दुरा सेवा समाजको ३२ औ वार्षिकोत्सवका अवसरमा बोल्ने वक्ताहरुले खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका थिए । यसैगरी, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिकोत्सवका खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको समाचार अखबार तथा अनलाइनमा प्राकाशित थिए ।

घामछायाँ

वि.सं.२०३३ देखि प्रत्येक वर्ष कार्तिक २१ गते खजे जयन्ती का रुपमा भनी मनाइने गरेकोमा वि.सं. २०५४ मा दुरा सेवा समाज केन्द्रीय समितिको निर्णय अनुसार खजे दुरा स्मृति दिवसू नामकरण गरी कार्तिक २१ गते मनाइँदै आएको छ । २०५४ सालदेखि दुरा सेवा समाजकै संयोजकत्वमा खजे दुरा स्मृति दिवस मनाइँदै आएकोमा पछि खजे दुरा पार्क संरक्षण समितिको संयोजकत्वमा मनाउन थालिएको छ । २०५२ सालदेखि शुरु भएको सशस्त्र संघर्ष उत्कर्षतिर लम्कँदै गर्दा  खजे दुरा स्मृति दिवस  मनाउने क्रम रोकियो  

लोकतन्त्रको आगमनपछि सो दिवस मनाउन पुनः शुरु भएको तर राष्ट्रिय पर्वको रुपमा मनाइनुपर्ने सो दिवस स्थानीय रुपमा मात्र मनाइने गरिएको त्यो पनि नितान्त पातलो उपस्थिति तामझामरहित अवस्थामा यो एउटा दु:खद अध्याय हो  

बिसौनी

समयको प्रवाहसँगै देशमा थुप्रै 'साइबर फेष्टिबलहरु भित्रिएका छन् हामी हुलवादको पक्षधर भएकाले विविधतामा निम्त्याउने यस्तासाइबर फेष्टिबलहरु फूलबारीका रङ्गीचङ्गी फूलहरुजस्तै शोभायमान सुन्दर छन्, हाम्रा लागि तर बहिरी चाडबाडको मोहजालले हाम्रा मौलिक रैथाने चाडबाडहरुलाई बिरानो बनाउँदै लगेको  
 

दु:खको कुरा, खजे दुरा सबैको प्रेरणापुञ्ज हुनुपर्नेमा दुराहरुको मात्र प्रेरणापुञ्ज भएझैं देखिन्छ । यसमा सबैले अपनत्वको भावना विकास गर्नुपर्ने भएको छ ।  वास्तवमा खजे दुरा स्मृति दिवस देशभरि नै गौरवपूर्ण वातावरणमा मनाइनुपर्छ यसो भएमा मात्र राष्ट्र राष्ट्रियताका पक्षमा उनले दिएको योगदानको साँचो अर्थमा कदर भएको मानिनेछ खजे दुराका सम्बन्धमा हामी के कुरामा प्रष्ट हुन आवश्यक भने उनी दुराडाँडावासी दुराहरुका मात्र पूर्खा होइनन्, सगम्र नेपालीका पूर्खा हुन्

खासगरी हाम्रा राष्ट्रनिर्माताहरुका सम्झनामा मनाइने चाडबाड हरघडी बिरानो बन्दैछ योचाहिँ एउटा नमीठो पक्ष हो बाहिरका राम्रा कुरा पनि अनुशरण गरौं हाम्रा राम्रा कुराहरुलाई पनि नभुलौँ भन्ने मेरो आशय हो । विडम्बना नै भन्नुपर्छ - जसले तयार गरेको धरातलमा उभिएका छौं, उसैलाई सिध्याउने परिपाटी विकास भएको यसलाई 'माकुरे संस्कृति' को परिचायकको रुपमा चित्रण गर्दा अत्युक्ति नहोला खजे दुरालगायतका हाम्रा राष्ट्रनिर्माताहरुको सम्झनामा मनाइने स्मृति दिवसहरुलाई राष्ट्रिय चाडकै रुपमा मनाउनुपर्छ  

यसले हामीलाई एकतिर हाम्रा सङ्घर्षशील पूर्खाहरुलाई सम्मान गर्न प्रेरित गर्छ भने अर्कोतिर विस्मृत बन्ने तरखरमा रहेको गौरवपूर्ण इतिहाससँग अद्यावधिक हुन सघाउँछ यसर्थ हाम्रा राष्ट्रनिर्माताहरुलाई हामीले खोजिखोजी सम्झनुपर्छ तबमात्र खजे दुरालगायतका तमाम प्रातः स्मरणीय पूर्खाहरुप्रति सच्चा श्रद्धाभाव भल्किनेछ  


[साभार : नेपाली पोष्ट  (नोभेम्बर ०४, २०११) परिमार्जित संस्करण]

*खजे दुराको पूर्णकदको शालिक २०३७ सालमा अनावरण गरिएको हुनुपर्नेमा भूलवश अन्यथा हुन गएकोमा सच्याइएको छ ।

 [अद्यावधिक :  २०६८।०७।२८, ०६८।०८।०६, ०६८।०८।१४, ०६८।१०।०५, ०६८।१०।१३, ०६८।१०।१५, २०६९।०२।२९, २०६९।०७। १७, २०६९।०८। ०१, २०७०।०७।२०, २०७०।०७।२४, २०७०।१२।०४, २०७१।०३।०३, २०७१।०३।२२, २०७१।०३।२४, २०७४।०७।२१, २०८३।०४।१२, २०८३।०४।१३, २०८३।०३।१४]