Sunday, July 29, 2018

संघीयताले दिएको शुरुवाती सन्देश

—यमबहादुर दुरा

लामो वादविवाद र राजनीतिक प्रक्रिया पार गरेपछि नेपालमा संघीय प्रणाली लागू भइसकेको छ । एकात्मक व्यवस्थाले थोपरेका तमाम विकृतिले थिचिएका बेला राजनीतिक दल र बुद्धिजीवीहरूले संघीय प्रणालीका फाइदाबारे व्यक्त गरेका धारणाले धेरैलाई आकर्षित तुल्याएको थियो । केन्द्रीकृत व्यवस्थाले लामो समयदेखि विकेन्द्रीकरणको मर्मलाई कुल्चिएको पृष्ठभूमिमा संघीय व्यवस्थालाई रामवाणको रूपमा अघि सारिएको  थियो । हिजो धेरैले मुक्तकण्ठले प्रशंसा गरेको संघीय व्यवस्था विस्तारै हाम्रो जीवनपद्धति बन्ने क्रममा छ ।

नेपालको संविधान, २०७२ ले परिकल्पना गरेअनुसार अहिले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार अस्तित्वमा छ । संघीय व्यवस्थालाई चलयमान् र जनहितकारी बनाउन यी तीनवटै सरकारको गहन जिम्मेवारी छ । यतिबेला नेपालको संघीयता प्रयोग र परीक्षणकै क्रममा रहेको छ । त्यसैले, अहिले नै यसको पूरापुर मूल्याङ्कन नै गर्न सकिने अवस्था छैन । तर यतिसम्म भन्न सकिन्छ, संघीयताको शुरुवाती लक्षण उत्साहजनक देखिँदैनन् ।
 ग्राफिक्स: अन्नपूर्ण पोष्ट


कतिपय अवस्थामा तीन तहको सरकारले जनअपेक्षा विपरीतका व्यवहार देखाएका छन् । नागरिकले संघीयताबाट राखेका मूलभूत अपेक्षा हुन् — गाउँमै सिंहदबार र आर्थिक समृद्धि । स्थानीय तहको समायोजनपछि हिजोका गाविसहरू वडा बनेको छन् । परिणामस्वरूप आवश्यक सेवा पाउन सेवाग्रही झन टाढा पुग्नुपर्ने अवस्था आएको छ । नगरमा हुने कुनै पनि विशेषता नभएका सुविधाविहीन गाउँ अहिले नगरपालिका भएका छन् । गाउँ रातारात नगर भएपछि नागरिकले पाएको उपहार हो, चर्को स्थानीय कर । कर तिरेबापत नागरिकले पाउनुपर्ने अपेक्षित सुविधा पाएका छैनन् ।

अहिलेको गाउँदेखि शहरसम्म कर चर्चित विषय बनेको छ । संघीय सरकार हुँदै स्थानीय सरकारले करको दायरा निकै फराकिलो पारेका छन् । स्थानीय तहले सरकारी सेवा—शुल्कको दर ज्यामितीय रूपमा बढाएको खबरले अखबारका पाना भरिएका छन् । विगतमा ५० रूपैयाँ तिरे पुग्ने ठाउँमा अहिले तीन सय रूपैयाँ तिनुपर्ने अवस्था आएको छ ।

यहाँनेर, अर्थमन्त्री डा. युवराज खतिवडाले करबारे व्यक्त गर्नुभएको विचार उध्रृत गर्नु सान्दर्भिक हुन आउँछ । उहाँले भन्नुभएको छ, गण्डकी प्रदेशबाहेक सबै प्रदेशले संविधान विपरीत कर उठाउने गरेका छन् । नागरिकको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हाँसिल गर्ने धेरैजसो अजेण्डा नारामै सीमित छन् । तर करको भारी बोकाउने काममा चाहिँ उल्लेखनीय प्रगति भएको छ । यसप्रकारको गैरजिम्मेवारीपनले शुरुवाती घडीमै संघीयताको विकृत तस्बिर प्रस्तुत गरेको छ ।

एकतिर नागरिकलाई करको बोझ बोकाइँदै छ भने अर्कोतिर संघीयता कार्यान्वयन भएपछि सत्तारोहण गरेको वर्तमान सरकारले पनि पूर्ववर्ती सरकारको पदचाप पछ्याउदै पहुँचवाल नेता, कार्यकर्ता तथा संस्थालाई औषधोपचार तथा आर्थिक सहयोगको नाउँमा मनपरी किसिमले राज्यकोषबाट रकम बाँडेको समाचार आएका छन् । नागरिकले खाइनखाई तिरेको करमा सुविधाभोगीहरूले रजाइँ गर्ने चलनमा वृद्धि भएको छ ।

यसबाट राज्यका सञ्चालकहरू संघीयताको नाम नागरिकलाई सबल बनाउन छाडेर आफ्नो स्वार्थको झोली भर्न आतुर र लालयित भएका हुन् कि भन्ने आशंका जन्मिएको छ । राज्यको ढुकुटीको अन्तिम लेखापरीक्षण गर्ने जिम्मेवारी पाएको महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको पचपन्नौं प्रतिवेदनमा बेरुजु २६.२० प्रतिशतले बढेको उल्लिखित छ । यसले देशको आर्थिक बेथितिलाई दर्साउँछ । यसप्रकारको बेथिति संघीय व्यवस्था लागू भएपछि मात्र आएको हो भन्ने आशय होइन, अब यसलाई सच्याउनुपर्छ भन्ने हो ।

नागरिकको ढाड सेकिने गरी करको दायरा बढाउँदै गर्दा सरकारी स्तरमा आर्थिक बेथिति घटेको छैनन्, बरू बढेको छ । यसबाट प्रत्यक्ष वा परोक्ष रूपमा नागरिकमाथि थप बोझ थपिँदैछ । विकासका लागि विनियोजित रकमलाई मनोमानी ढङ्गले प्रशासनिक खर्चमा रकमान्तर गरिएका र बजेटमै नभएका शीर्षकमा राजनीतिक पहुँचवाल व्यक्तिका स्वार्थ पृष्ठपोषणका लागि रकम विनियोजन गरिएका खबर बरोबर बाहिर आउँछन् । यस्ता गतिविधिले संघीय व्यवस्थाको मर्म र धर्मलाई निरन्तर लत्याइरहेका छन् । यसबाट देश संघीय भए पनि राज्यका सञ्चालकहरू एकात्मक सोचभन्दा पर पुग्न सकेका छैनन् भन्ने अनुभूति मिल्छ ।

नेपाल संघीय व्यवस्थामा प्रवेश गरिसक्दा सार्वजनिक वित्त व्यवस्थापन, कर निर्धारण र आयस्रोत बाँडफाँडसँग सम्बन्धित कतिपय मामिला विवादमा परेका छन् । हाल विचाराधीन अवस्थमा रहेको अन्तरसरकारी वित्तीय व्यवस्थापनसम्बन्धी विधेयकका कतिपय प्रावधान एकात्मक व्यवस्थाले जारी गरेको स्थानीय स्वायत्त शासन ऐन, २०५५ भन्दा पनि कम प्रगतिशील छन् ।

स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले प्राकृतिक स्रोत र जलविद्युत हुने आम्दानीको ५० प्रतिशत हिस्सा स्थानीय निकायले पाउने व्यवस्था गरेको थियो । प्रस्तावित अन्तरसरकारी वित्तीय व्यवस्थापनसम्बन्धी विधेयकले यस्ता आम्दानीको ८५, १० र ५ प्रतिशत हिस्सा क्रमशः संघीय, प्रादेशिक तथा स्थानीय सरकारको पोल्टामा जाने व्यवस्था गरेको छ । यहाँनेर तथ्य नै बोल्छ, यसले स्थानीय तहलाई स्रोत—साधनले भरिपूर्ण बनाउने परिकल्पना गरेको पाइँदैन ।

अधिकारको बाँडफाँड, कर्मचारी समायोजन एवम् स्रोत साधनको न्यायोचित वितरणका कतिपय मामलामा केन्द्रीय सरकार र प्रदेश सरकारबीच मनोमालिन्य छ । हाम्रो छिमेकी मुलुक भारतमा पनि यस्तो समस्या बरोबर बल्झिरहन्छ । त्यसैले संघीय व्यवस्थालाई कतिपयले झगडालु व्यवस्था पनि भन्ने गरेका छन् । प्रदेश सरकार र स्थानीय सरकारलाई अधिकार नदिने विषयमा केन्द्रका राजनीतिक वृत्त र कर्मचारीतन्त्र एकजुट भएको आरोप पनि लाग्दै आएको छ । यसबारे प्रदेश सरकारका मन्त्रीहरूले औपचारिक तथा अनौपचारिक रूपमा असंतुष्टि पोखेका छन् । शासन—सत्ताको बागडोर सम्हाल्नेहरूमा यसप्रकारको केन्द्रीयतावादी सोच कायम रहिरहेमा संघीय व्यवस्था अफापशिद्ध हुन बेर लाग्दैन ।

संघीय प्रणालीलाई सही किसिमले व्यवस्थापन गर्न नसक्दा यसको कुप्रभावले सार्वजनिक जीवनका अन्य आयामहरूमा देखापरेको छ । सरकारी कार्यालय समायोजनको नाममा नागरिकसँग सीधा सरोकार राख्ने जिल्लाका कृषि, भेटेरिनरीजस्ता कार्यालय विघटन हुँदा कर्मचारी र सेवाग्राहीहरू अन्योलमा परेका छन् । हुन त, यो संक्रमणकालीन घडी पनि हो । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा जाँदा यस्तो अलमल हुनु एक अर्थमा स्वाभाविकै हो । तर यो संक्रमणकालीन अलमल लामो समयसम्म रहनुहुँदैन । यो राज्यका सञ्चालकहरूले मनन गर्नुपर्ने पक्ष हो । नागरिकलाई थप पीडा दिने काम यथासम्भव छिटो अन्त्य गरिनुपर्छ ।

संघीय व्यवस्थाबाट नागरिकले अपेक्षा राखेको अर्को पक्ष हो, सांस्कृतिक अधिकारको सम्मान । तर स्थिति निराशाजनक छ । संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी पाएको सरकारले नागरिकको सांस्कृतिक अधिकारमाथि धावा बोलेको छ । यसको ज्वलन्त प्रमाण हो, सार्वजनिक बिदा कटौतीे । नेपाल सरकारले २०७४ साल चैत १४ गते १२ दिन सार्वजनिक बिदा कटौती गर्‍यो ।

कटौती गरिएका अधिकांश बिदा देशका जनजाति, मुस्लिमलगायतका विभिन्न सम्प्रदाय र समुदायका चाडपर्वसँग सम्बन्धित छन् । अचम्म लाग्दो पक्ष के भने दशैं—तिहारका बिदामा केही दिन केही कटौती गरिए पनि हिन्दु धर्माम्लम्बीका अधिकांश बिदा यथावत छन् । संघीय सरकारको यो कदम नेपालको संविधानले परिकल्पना गरेको बहुलवादी समाजको मर्मविपरीत छ ।

अर्कोतर्फ, विगतमा भाषिक तथा सांस्कृतिक उत्पीडनमा परेका समुदायको नाममा प्रदेशको नामकरण गर्ने तत्कालीन माओवादीको नाराले हावा खाइसकेको छ । यसलाई देश टुक्र्याउने विचार भनेर दुत्कारिँदैछ । विगतमा जनजाति तथा उत्पीडित समुदायलाई विभिन्न आश्वासन दिएर बन्दुक बोक्न लाउने राजनीतिक घटक सरकारमा छ । आफू सत्तासीन भइसकेपछि हिजोका आश्वासनबारे ऊ एकदमै मौन छ । अन्ततः बचन र अण्डा तोड्नका लागि नै सिर्जना भएका हुन्छन् उखान चरितार्थ भएको छ ।

नेपालमा संघीय व्यवस्था लागू भएपछि देखापरेका अव्यवस्था र बेथितिको फेहरिस्त लामो छ । यो लेखको आशय यो व्यवस्था काम लाग्दैन भन्ने होइन, बरू यसलाई मजबुद र प्रभावकारी बनाउनुपर्छ भन्ने हो । लोकतन्त्रमा स्थानीय समुदायलाई सक्षम र समृद्धशाली बनाउनुको विकल्प छैन । स्थानीय समुदायलाई अधिकार—सम्पन्न र समृद्ध बनाउने दिशामा एकात्मक प्रणाली असफल भइसकेको  छ । यस घडीमा संघीय व्यवस्थाको विकल्प देखिन्न ।

संघीय व्यवस्थालाई जनमैत्री बनाउन राज्यका सञ्चालकरू विवेक र जनहितकारी सोचले भरिपूर्ण हुन जरुरी छ । यसो भएमा मात्र उनीहरू संघीय व्यवस्थामा देखापरेका तमामा अव्यवस्थालाई हटाएर देशलाई सही ट्र्याकमा अघि बढाउन सक्षम हुन्छन् ।

साभार : अन्नपूर्ण पोष्ट । २०७५ साल साउन १३ गते ।

Monday, July 16, 2018

लाहुरेले देखेको मुगलान

—यमबहादुर दुरा

नेपाली जनजीवनमा भिजेको शब्द हो, मुगलान । अहिले आएर मुगलानको दायरा झन फराकिलो भएको छ । हिजो भारत, बर्मा, भुटानको सरहदमा मुगलान सीमित थियो । आज मुगलान विस्तार भएको छ—छिमेकी मुलुक भारतदेखि दुनियाँको सबै कुना—कन्दरासम्म ।

हिजो छोरामात्रै परदेश जान्थे, आज छोरी पनि मुगलानको बाटो तताएका छन् । यसबाट रेमिट्यान्स अर्थतन्त्र, विछोड र वेदनाको दायरा पनि अझ फराकिलो भएको छ । मुगलानले जनमनमा थोपरेको विछोड र वेदनाको पसारोले नेपाली मुगलान साहित्यलाई समृद्ध बनाउन सघाएको छ ।

मुगलानी जीवनधाराको पृष्ठभूमिमा ‘मुलुकबाहिर’, ‘बसाइँ’,  ‘मुगलान’, ‘चपाइएका अनुहार’ जस्ता आख्यानात्मक कृति जन्मिए । लैनसिङ वाङ्देलकृत उपन्यास ‘मुलुकबाहिर’ मा दोस्रो विश्वयुद्धमा भेडाबाख्रा सरी भर्ती गराइएका गोर्खालीलाई युद्ध थामिएपछि खाली खुट्टा घर फर्काइएको प्रसंग छ । दौलतविक्रम विष्टको उपन्यास ‘चपाइएका अनुहार’ मा  बेलायतको तर्फबाट विश्वयुद्धमा होम्मिएका लाहुरेको कथा छ ।

समयले कोल्टो फेरेको छ । अहिले लाहुरे नै मुगलानको भोगाइ लिपिबद्ध गर्न तम्सिएका छन् । यसका दृष्टान्त हुन्, लेखनकर्ममा अनवरत जुटिरहेका पूर्वलाहुरे टिम गुरुङ । उनी आफ्ना आख्यानात्मक कृति ‘अ ट्रि कल्ड टेनल्पा’ लिएर पाठकमाझ झुल्किसकेका छन् ।

सन् १९८० को कुरा हो । टिम गुरुङ गोर्खा सैनिक बनेर उमेरमा हङकङ पुगे । त्यसबेला उनी १७ वर्षका थिए । उनले बेलायती सेनामा १३ वर्ष सेवा गरेपछि उनलाई फौजी जिन्दगानी मन परेन । सेनाबाट स्वेच्छिक अवकाश लिए । तर हङकङ छाडेनन् । त्यही बसेर लेखन कार्य अघि बढाए । अहिले लेखनकर्म नै उनको पूर्णकालीन जागिर भएको छ ।

‘द कस्र्ड नेसन’, ‘अ सेलिब्रेसन अफ उमन’, ‘ओल्ड म्यान डोन्ट क्राई’, ‘अ नेसन फर रेफुजिज’, ‘आफ्टरलाइफ’, ‘मिसनरी अर मर्सिनरी’, ‘फाइभ स्टेप्स’, ‘माइ फर्गटन पाथ होम’, ‘द ब्रोकन पिपुल फ्रम द गड्स ल्याण्ड’, ‘द नमस्ते क्लब’ आदि उनले जन्माएका कृति हुन् । अंग्रेजीमा मात्र लेख्ने उनका अधिकांश कृति आख्यानात्मक छन् ।

अहिले उनी आफ्नो पन्ध्रौं कृति ‘द गुर्खाज्’ काम गरिरहेका छन् । सन् २०१९ मा पाठकमाझ ल्याउने उनको तयारी छ । दर्जनभन्दा बढी पठनीय कृति जन्माएर पनि उनी चर्चाविहीन छन् । पश्चिमी गोलाद्र्धमा बसेर अंग्रेजीमा लेख्ने चुनिन्दा लेखकहरूले राम्रै चर्चा कमाएका छन् । लेखनकर्ममै समर्पित भएर पनि समकालीन नेपाली साहित्यिक वृत्तमा उनले अपेक्षित चर्चा बटुल्न सकेका छैनन् ।

‘अ ट्रि कल्ड टेनल्पा’ मा मुगलानको कथा छ । यसले छजना हतभागी मुगलानीको भुक्तमान समेटेको छ । एक हिसाबले यसलाई पराइभूमिमा जिजीविषाले निम्त्याएका हण्डरहरूको दस्ताबेज मान्न सकिन्छ । विस्थापन, बसाइँ सराइ, जातीय भेदभाव, मातृभूमिको माया, परचक्री पाउ, मुगलानले थोपरेको मानसिक तथा शारीरिक यातनाकै सेरोफेरोमा कथावस्तु घुमिरहन्छ । कृति पढ्दै जाँदा रोटो र भोटो जुटाउन अरबको खाडीदेखि अमेरिकासम्म पुगेका नेपालीको अनुहार आँखासामु आउँछ ।

कृतिमा वर्णित प्रसंग परदेशको हो भन्ने थाहा हुन्छ तर ठाउँको नाउँ कतै उल्लेख हुँदैन । कथामा पात्रले अनाम ठाउँमा भोगेका सास्ती र हैरानीका एकएक हिसाब भेटिन्छ । भाषाशैली स्तरीय र मिठासपूर्ण छ । लेखाइमा वाग्धारात्मक अभिव्यक्तिको छेलखेलो भेटिन्छ । वर्णन दृश्यात्मक छ । प्रत्येक घटनाक्रमको सपाट र सविस्तार वर्णन छ ।

एक अर्थमा लेखाइ अनौठो लाग्ने किसिमको छ । कृतिका सबै पात्र चरा हुन् । कालो, पहेँलो, सेतो, खैरो रङका चरालाई पात्रका रूपमा खडा गरेका छन् । मानिस चराजस्तै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने प्राणी भएकाले चरालाई पत्रको रूपमा खडा गरिएको अनुमान गर्न सकिन्छ । यस अर्थमा लेखाइ प्रतीकात्मक छ ।

यद्यपि, यहीँनेर प्रश्न गर्ने ठाउँ पनि तयार हुन्छ । साहित्यमा पशुपञ्छीलाई पात्रको रूपमा उभ्याउने चलन नयाँ होइन । मानिसलाई नै पात्र बनाएर कथावस्तुलाई सहज किसिमले अघि बढाउन सकिने ठाउँमा चरालाई पात्र बनाउन कति आवश्यक र सान्दर्भिक थियो भन्ने प्रश्न पाठकको मनमा उब्जिरहन्छ । गुरुङको यसप्रकारको पृथक लेखनशैलीलाई हेर्दा कताकता असहज अनुभूति हुन्छ  ।

नेपाली मुगलान साहित्यको दायरा फराकिलो हुँदै गइरहेको बेलामा ‘अ ट्रि कल्ड टेनल्पा’ ले आफ्नोे बेग्लै उपस्थिति जनाएको छ । प्रवासी लेखनले मुगलान साहित्यको अर्को क्षितिज पनि उघार्दै लगेको छ । त्यो हो, डायस्पोरिक साहित्य । समयक्रममा नेपाली  डायस्पोरिक साहित्य पनि समृद्ध हुँदै गइरहेको छ ।

नेपालीजन संसारभर फैलिने र लेखनकर्म सरिक हुने बढ्दो परिपाटीले डायस्पोरिक साहित्यका लागि उर्वरभूमि तयार  भएको छ । टिम गुरुङले प्रवासमा बसेर अघि बढाएको लेखनकर्मले पनि यही परिपाटीको निरन्तरता हो ।

पुस्तकः अ ट्रि कल्ड टेनल्पा (उपन्यास)
लेखकः टिम गुरुङ
प्रकाशकः आइएसएसएल एण्ड कम्पनी लिमिटेड, हङकङ
पृष्ठः २९६ं२,
मूल्यः २.९९ अमेरिकी डलर

[साभार: हिमाल । २०७५ साल असार ३१ गते ।]

Sunday, July 1, 2018

खोसिएको सांस्कृतिक बहुलवाद

—यमबहादुर दुरा

समय नितन्तर बदलिरहेको छ तर समयको गतिसँगै हाम्रो मनस्थिति  बदलिन सकेको छैन । त्यसमा पनि शासक वर्गको मनस्थिति झनै बदलिएको छैन । शासक वर्गले आज पनि ध्वाँसो लागेको चस्माले देश र दुनियाँलाई हेरिरहेका प्रतीत हुन्छ । यसको ज्वलन्त दृष्टान्त हो, सार्वजनिक बिदा कतौटी । नेपाल सरकारले २०७४ साल चैत १४ गते १२ दिन सार्वजनिक बिदा कटौती गर्‍यो । कटौती गरिएका अधिकांश बिदा देशका मुस्लिमलगायतका विभिन्न  जाति र समुदायका चाडपर्वसँग सम्बन्धित छन् । 

रोचक पक्ष के भने दशैं—तिहारका बिदामा केही दिन केही कटौती गरिए पनि हिन्दु धर्माम्लम्बीका अधिकांश बिदा यथावत छन् । यहाँनेर लोकतान्त्रिक आन्दोलनको जगमा खडा भएको सरकारले बहुलवादी समाजको मर्मविपरीत विभेदकारी नीति अपनाएको प्रष्ट देखिन्छ । हिजोका दिनमा बहुलवाद र सांस्कृतिक अधिकारको चर्को नारा दिने कम्युनिष्टहरूको एकमना सरकारले नागरिकको सांस्कृतिक अधिकार हनन गरेको छ । यससँगै, सरकारले जनअपेक्षाविपरीत आफ्नो अनुदार चरित्र प्रदर्शन गरेको छ । 

सरकारले कार्यदिवस बढाउँदै आर्थिक समृद्धि हाँसिल गर्नका बिदा कतौटी गरिएको दलिल दिएको छ । तर सरकारको यो दलिल एकाङ्की छ । नितान्त प्राविधिक कारणलाई मात्र आधार मानेर बिदा निर्धारण मिल्दैन । देशका सबै समुदाय र वर्ग देश विकास लागि असली जनशक्ति, धनशक्ति र मनशक्ति हुन् । उनीहरूले सम्मानित भएको अनुभूति गर्न पाउनुपर्छ । आर्थिक समृद्धिको नाउँमा नागरिकको सांस्कृतिक अधिकार छिन्न मिल्दैन । उनीहरूको हृदय खुसी नभएसम्म देशले आर्थिक समृद्धि हाँसिल गर्न सक्दैन, भइहाले पनि त्यसले अर्थ राख्दैन । 

आर्थिक विकास नितान्त प्राविधिक विषयमात्र होइन, यसमा जनभावना र जनहृदयको कुरा पनि जोडिन आउँछ । हिसाब—किताब प्रष्ट छ, अपमानित अनुभव गरेका नागरिक उच्च मनोबलका साथ देश विकासमा सरिक हुन सक्दैनन् । बरू, यही  विन्दुबाट  विद्रोही भावनाको बीजारोपण पनि हुन्छ ।

आर्थिक समृद्धि हाँसिल गर्ने नाममा सरकारले ल्होसार (पुसे पन्ध्र), माघे संक्रान्ति, उधौली—उभौलीजस्ता जनजातिका जीवनशैलीसँग गाँसिएका रैथाने पर्वको बिदा कटौती गरिएको छ । बिदा कटौती गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ । गृहमन्त्रीले नै यससम्बन्धी प्रस्ताव क्याबिनेटमा लगेको हुनुपर्छ । जगजाहेर नै छ, गृहमन्त्रीको पार्टीले विगतमा जातीय (सांस्कृतिक) पहिचानको आधारमा  प्रान्त (प्रदेश) को नामकरण गर्ने सपना बाँडेको थियो । तर अहिले नागरिकले हकभोग गरिआएको सांस्कृतिक अधिकार पनि खोसिएको छ । शासकको बोली र व्यवहारमा अन्तर थाहा पाउन यही दृष्टान्त काफी छ ।

सरसर्ती हेर्दा बिदा कटौतीको सामान्य निर्णयजस्तो मात्र लागे पनि यसको असर धेरै गहिरो छ । यसले नेपालको सांस्कृतिक विविधतालाई नराम्ररी धक्का पुर्‍यएको छ । सरकारले आर्थिक समृद्धिको दुहाई दिँदै अन्तरिम संविधानले दिएको सांस्कृतिक अधिकारसमेत खोसेको छ । यस अर्थमा यो सरकार नाममा लोकतान्त्रिक भए पनि व्यवहारमा प्रतिगामी देखिएको छ । भनिरहन पर्दैन, सरकारको व्यवहार समावेशी लोकतन्त्रको मर्म र भावनाविपरीत छ । कर्मचारीलाई कर्मशील बनाउने नाममा नागरिकको सांस्कृतिक अधिकार खोस्ने काम भएको छ, जुन अधिनायकवादी चरित्रको द्योतक हो ।

यद्यपि, देशको कानुनी तथा नीतिगत दस्ताबेजहरूमा देशको सांस्कृतिक बहुलवादलाई राम्रै स्थान दिइएको छ । ‘नेपालको संविधान, २०७२’ को प्रस्तावनामै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैङ्गिक विभेद अन्त्य गर्ने परिकल्पना गरिएको छ । संविधानको धारा ३२ मा भाषा तथा सांस्कृतिसम्बन्धी अधिकार दिइएको छ । यही धाराको उपधारा ३ मा भनिएको छ, ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वर्धन र संरक्षण गर्ने हक हुनेछ ।’ 

यसैगरी, ‘राष्ट्रिय संस्कृति नीति, २०६७’ मा पनि देशको सांस्कृतिक बहुलवादलाई स्थान दिइएको छ ।  नेपालको संविधान, भाग ५, धारा ५६ को उपधारा (५) मा भएको व्यवस्थाअनुरूप सङ्घीय कानुनबमोजिम सामाजिक, सांस्कृतिक, संरक्षण वा आर्थिक विकासको लागि विशेष, स्वायत वा संरक्षित क्षेत्र कायम गर्न सकिने प्रावधान राखिएको छ । 

कागजमा कोरिएका यी हरफ राम्रा भए पनि व्यवहारमा सही अर्थमा अनुवाद हुन सकेका छैनन् । कुरा बढी र काम कम भएको छ । यसलाई बुझाउने एउटा अंग्रेजी शब्दावली छ, ‘ओभर प्रमिस, अण्डर डेलिभरर’ (धेरै प्रतीज्ञा गर्ने तर कम दिने) । सरकारको व्यवहार ठीक यस्तै देखिन्छ । नागरिकको सांस्कृतिक अधिकारको सम्मान गर्न सरकारले  राज्यकोषको धेरै धन खर्च गर्न पर्दैन । केवल उदार भइदिए पुग्छ । देशको बागडोर सम्हाल्नेहरू विवेकशील र उदार नभएसम्म संविधानका हरफहरू अक्षरमै सीमित हुन्छन् । 

‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६’ को २०४८ सालमै नेपाल पक्षराष्ट्र बनिसकेको छ । यसको धारा २७ ले अल्पसंख्यक समुदायको सांस्कृतिक अधिकार रक्षा गर्न राज्यपक्षले आवश्यक व्यवस्था मिलाउनुपर्ने पक्षमा बोलेको छ । यही अभिसन्धिको वैकल्पिक प्रलेख भाग २, दफा २ (१) ले राज्यपक्षले सबै जाति, समुदाय र वर्गका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्छ भनेको छ ।

नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तबेजहरूमा सांस्कृतिक विविधता सम्मान गर्नेबारे यतिविधि प्रतिबद्धता जनाए पनि बिदा कतौतीसम्बन्धी सरकारको निर्णयले अविश्वास र निराशाको वातावरण पैदा गरेको छ । सरकारले मुस्लिम तथा जनजाति समुदायको सांस्कृतिक अधिकारको ख्यालै नगरी बिदा कटौती गरेकोमा नेपालका आदिवासी जनजातिहरूको छाता संगठन ‘नेपाल आदिवासी जनजाति महसंघ’ ले प्रेस विज्ञप्ति तथा धर्नामार्फत दुःख र रोष प्रकट गरिसकेको छ । 

लोकतन्त्रको जगमा उभिएको सरकारले देशका विविध समुदायले आफ्ना सांस्कृतिक अधिकारबारे मुख बाउनै नपर्ने स्थिति तयार पार्नुपर्ने हो तर जनआक्रोश सतहमा आइसक्दा पनि सरकार मौन छ । लोकतान्त्रिक मूल्य—मान्यतालाई आत्मासात गरेर सत्तारोहण गरेका शासक वर्गसँग नागरिकले सांस्कृतिक अधिकारको भिक्षा माग्नुपर्ने अवस्था आउनु भनेको लोकतन्त्रको उपहास हुनु हो ।  

वि.सं. १९१० मा जङ्गबहादुर राणाले पूर्ण रूपमा जातभातमा आधारित ‘मुलुकी ऐन’ जारी गरे । त्यही विन्दुबाट मुस्लिम, दलित तथा जनजाति समुदायमाथि भेदभावको औपचारिक अध्याय शुरु भयो । त्यसले नेपाली समाजलाई जातभातको आधारमा भेदभाव गर्ने कानुनी आधार खडा गर्‍यो । वर्तमान सरकारको कदमलाई  जङ्गबहादुरकालीन भेदभावको नयाँ संस्करण मान्न सकिन्छ । सरकारको यसप्रकारको रवैया हेर्दा सांस्कृतिक बहुलवादप्रतिको उसको दृष्टि नै त्रुटिपूर्ण छ भन्न कर लाग्छ ।

सरकारले देशको सांस्कृतिक विविधतालाई सम्पत्ति मान्नुपर्नेमा समस्या ठानेको प्रतीत हुन्छ । लोकतान्त्रिक व्यवस्थामा देशका सबै वर्ग र समुदायले सम्मानित अनुभूत गर्न पाउनुपर्छ । ‘राष्ट्रिय संस्कृति नीति, २०६७’ ले विभिन्न जाति र समूदायका सांस्कृतिक मान्यता र लोकपरम्पराप्रति एक अर्कामा सम्मान र सहिष्णुताको भावना जागृत गराई राष्ट्रिय एकतालाई बलियो बनाउने राख्न उद्देश्य लिएको छ । सरकारले देशको सांस्कृतिक विविधतालाई राष्ट्रिय सम्पत्ति ठानेर त्यही अनुसारको त्यसको संरक्षण र सम्वर्धन गर्न जानेमात्र देशको भावनात्मक एकता रहन्छ, विविधतामा एकता कायम हुन्छ ।

नेपालले नेपालीभाषी भुटानीमाथि त्यहाँको राज्यसंयन्त्रले गरेको श्रङ्खलाबद्ध दमनप्रति समय—समयमा गोहीको आँसु चुहाउने गर्छ । नेपालीभाषी भुटानीमाथि भएको मूल यन्त्रणा भनेको उनीहरूको सांस्कृतिक अधिकार हनन नै हो । त्यसलाई मानव अधिकार हनन वा लोकतन्त्रमाथिको प्रहार जे भनेर बुझे पनि त्यो नेपालीभाषी भुटानीको सांस्कृतिक अधिकारमाथिको दमन हो । 

आफ्ना नागरिकको सांस्कृतिक अधिकारको सम्मान गर्न नजान्ने नेपालले देशको सरहदभन्दा बाहिरका नेपालीभाषी भुटानीमाथि भएको अत्याचारबारे दुःख पोख्ने कुनै नैतिक धरातल नै बाँकी रहँदैन । मात्रा घटीबढी भए पनि नेपालले पनि भुटानी शैलीमा नागरिकमाथि सांस्कृतिक हिंसा गरेको छ । बिदा कटौती यसैको एउटा रूप हो । 

समय बदलिएको छ । जनमनमा नयाँ सोचाइ र भावना सञ्चारित भएका छन् । नगारिक जागेका छन् । तिनले आफूमाथि भएका हरप्रकारका भेदभावको हिसाब—किताब राख्ने हैसियत राख्छन् । नागरिक जागेको बेलामा सरकारले गरेको सांस्कृतिक हिंसा स्वाभाविक रूपमा अशोभनीय र अलोकतान्त्रिक छ । यसको मूल्य उसका लागि महङ्गो पर्नसक्छ । यसबारे बेलैमा विचार पुर्‍याएको राम्रो ।

साभार: परिसंवाद डट कम । २०७५ साल असार १७ गते । परिमार्जित संस्करण । ग्राफिक्स: गुगल ।

अद्यावधिक : २०७९।०३।२४

Wednesday, June 6, 2018

‘नीतिशतकम्’ का व्याख्याता


–यमबहादुर दुरा

गौतम बुद्धले जीवन र जगतबारे दिएका सन्देशप्रति कमैले असहमति जनाउलान् । उनका सन्देशहरू आज पनि उत्तिकै उद्धरणीय र मननीय छन् । यसबारे विगतदेखि वर्तमानसम्म धेरैले व्याख्या गर्दै आएका छन् । ती व्याख्याताका सूचीमा ओशो रजनिशको नाम पनि चहकिलो रूपमा देखा पर्छ । उनले गौतम बुद्धका सन्देशहरूलाई मिहिन पाराले विश्लेषण गरी जनजनसम्म विस्तार गर्न सहयोग गरे । यस दृष्टिले आशोको योगदान प्रशंसनीय छ ।


कवि तीर्थराज अधिकारी (वि.सं. १९८२–२०७२) ले पनि सानै ‘स्केल’ मा भए पनि एउटा यस्तै लोकहितैषी काम गर्नुभएको छ । उहाँले संस्कृत वाङ्मयको ‘नीतिशतकम’ लाई नेपालीमा छायाँनुवाद गर्नुभयो । हरेक दृष्टिले महत्वपूर्ण ठहरिएको संस्कृत वाङ्मय समयक्रमसँगै दुरूह बन्दै गएको छ ।

अधिकारीले यस्ता दुरूह कृतिलाई नेपालीमा अनुवाद गरी जनस्तरमा  पुर्‍याउने काम गर्नुभयो । उहाँ संस्कृत वाङ्मयको रुझानबाट साहित्यिक कर्मभूमिमा उत्रिएका व्यक्तित्व हुनुहुन्थ्यो । परिणमस्वरूप उहाँलाई ‘नीतिशतकम’ को अनुवाद गर्ने काम सहज भयो ।

जीवन र जगतको रीतलाई साहित्यिक भावधारामा प्रवाहमय बनाउन अधिकारी सक्षम व्यक्ति हुनुहुन्थ्यो । ‘भूगोल सूत्र’ (२०१६), ‘आफ्नै बाँसुरीको धुन’ (२०५२), ‘तीनतारा एक आकाश’, ‘निर्वाचन’, ‘सत्य कथा’ आदि उहाँका केही साहित्यिक विरासत हुन् । मूल रूपमा कविको छविबाट परिचित अधिकारीका काव्यकृतिमा भेटिने संस्कृत शब्दको छेलोखेलो र छन्दोबद्धताले उहाँ संस्कृत वाङ्मयबाट प्रभावित हुनुभएको प्रष्ट संकेत मिल्छ ।

लगभग साढे तीनदशक शिक्षण पेशामा संलग्न अधिकारीले नयाँ पुस्तालाई तेस्रो आँखा दिने काममात्र गर्नुभएन, अविरल रूपमा साहित्य–साधनामा पनि जुटिरहनुभयो । भारतवर्षमा सुपरिचित राजर्षि भर्तृहरिको कृति ‘नीतिशतकम’ लाई उहाँले नेपाली भाषामा छायाँनुवाद गर्नुभयो । यो काम उहाँले गर्नुभएका अनेक साहित्य कर्ममध्ये एउटा स्मरणीय योगदान हो ।

प्राचीन सन्दर्भ–ग्रन्थहरूका अनुसार भर्तृहरि उज्जैन (वर्तमान भारतको मध्यप्रदेश) का राजा थिए । उनी संस्कृत वाङ्मयका धुरन्धर रचनाकार मानिन्छन् । उनका कृति ‘नीतिशतकम्’ भारतवर्षमा प्रख्यात नीतिप्रबन्धहरूमध्ये उच्चतम् मानिन्छ । भर्तृहरिको जीवनकालको अनुमान विवादास्पद मानिन्छ । उनी राजा विक्रमादित्यका दाइ मानिन्छन् ।

भर्तृहरिले आफ्ना जीवन भोगाइका आधारमा तयार पारेका लोकव्यवहार तथा नीतिसम्बन्धी श्लोकहरूको संग्रह हो, ‘नीतिशतकम्’ । तीर्थराज अधिकारीले ‘नीतिशतकम्’ को छायाँनुवादलाई मूर्ख पद्धति, विद्वत्पद्धति, मानशौर्य पद्धति, अर्थ पद्धति, दुर्जन पद्धति, सुजन पद्धति, परोपकार पद्धति, धैर्य पद्धति, दैव पद्धति र कर्म पद्धति गरी दश खण्डमा विभक्त गर्नुभएको छ ।

भाषिक दृष्टिले धेरैका लागि दुरूह ठहरिएका संस्कृत वाङ्मयको बहुचर्चित कृति ‘नीतिशतकम्’ लाई छायाँनुवाद गरेर नेपाली पाठकमाझ पस्कने काम उहाँको साहित्यिक ‘करिअर’ र सामाजिक योगदान दुवै हिसाबले वन्दनीय छ ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य डा. टीकाराम पन्थीले कृतिको भूमिकामा कृतिबारे भन्नुभएको छ, ‘सामाजिक जीवनको संयमन, नियन्त्रण, सञ्चालन र व्यवस्थापन यस नीतिशतकका प्रत्येक श्लोक पठनीय, मननीय र धारणीय छन् ।’

डा. पन्थीले आजको अर्थमुखी (पैसामुखी) युगमा भ्रष्टाचार र गैरजिम्मेवारी बढिरहेको सामाजिक पृष्ठभूमिमा यस कृतिले सदाचारपूर्ण मानवीय व्यवहार अभिवृद्धि गर्न योगदानदिने राय दिनुभएको छ ।

कृतिलाई नेपालीमा छायाँनुवाद गर्ने क्रममा अधिकारीले जटिल ठहरिएका केही शब्दहरूको ‘फुटनोट’ दिएर थप प्रष्ट पार्ने प्रयास गर्नुभएको छ । यति हुँदाहुँदै पनि कतिपय ठाउँमा मूल पाठसँग मेल नखाएजस्तो वा अर्थान्तरण भए पाठकलाई लाग्नसक्छ ।

यस प्रसंगमा डा. पन्थीले संस्कृतका श्लोकहरू नेपालीमा अनुवाद गर्दा कतै कतै भावान्तरित भएजस्तो, अर्थ छुटेजस्तो वा अर्थ पूरा गर्न शब्द थपिएजस्तो देखिनु स्वाभाविकै हो भन्नुएको छ ।  छायाँनुवादमा देखिने यी स्वाभाविक कमजोरीबाहेक कृतिपठनीय र मननीय छ ।

मनिसमा राज गरिरहेको घमण्ड, द्वेष, रीस–राग, अप्रिय बाणीजस्ता दुर्गुणबारे कविको उद्घोष यस्तो छ (मूर्ख पद्धति, पृ.१):

ठूला बडा, घमण्डी छन् विज्ञ ईर्ष्यालु छन् सदा ।
अज्ञानी छन् अरु सारा प्रियवाक्य छ बेपता ।।

विद्याको महत्व अपम्पार छ । ‘नीतिशतकम्’ मा वर्णित विद्या–महिमाबारे उहाँको कलम बेजोड किसिमले दौडिएको छ (विदत्पद्धति, पृ.८):

विद्या सुन्दर रूप हो मनुजको विद्या ठुलो संपदा
विद्यावन्धु विदेशमा, बुझिलिएविद्या ठुलो देवता ।
विद्याभोग र कृति हो सुख दिने विद्यागुरुको गुरुं
विद्यापूज्य छ, भूपमा धन के ? विद्याविनको पशु ।।

भनिरहनु पर्दैन, जीवनमा असल संगतले धेरै महत्व राख्छ नै । यसबारे अधिकारीको कलम उज्यालो जीवन–दृष्टि छर्न सक्षम छ (विदत्पद्धति, पृ.९) :

पारी प्रसन्न मन, पाप समस्त फाली
अज्ञान हर्दछ, बहाउँछ सत्य बोली ।
पैmलाइदिन्छ यश, उन्नति, मान चैन
सत्संगले पुरुषमाभन के हुँदैन ? ।।

जन्म र मरणबीच अडेको मानव–चोलामा जन्मनुको सार्थकताबारे अधिकारी लेख्नुहुन्छ (मान–शौर्य पद्धति, पृ.११) :
को जन्मदैन, मर्दैन फेरिने दुनिया बिच ।
जन्मेको त्यहि हो, जसले लान्छ उन्नतिमा कुल ।।

यो भौतिकवादीदुनियाँमा धेरैको आँखा धनमाथि नै छ । धन आर्जनका लागि दुनियाँव्यग्र छ । धनको गति, दिशा र दशाबारे ‘नीतिशतकम्’ को सार यस्तो छ (अर्थ पद्धति, पृ.१५) :

दान, भोग अनि नाश यी तीन गति हुन्छन् धन तीन सदा ।
जो दिइन्न, भोगिन, उसको तृतीय गति हुन्छ सदा ।।

पठित व्यक्तिमा पनि दुष्ट व्यावहार कायमै छ । यी त्याज्य व्यावहार हुन् । यस सम्बन्धमा ‘नीतिशतकम्’ ले दिएको राय मर्मस्पर्शी छ (दुर्जन पद्धति, पृ.१८) :

पढेको नै छ त पनि त्याग्नू त्यो दुष्ट दुष्चर ।
मणिशोभित त्यो सर्प भयंकर हुँदैन र ! ।।

यी र यस्ता श्लोकहरूले कृतिलाई पठनीय बनाएका छन् । ‘नीतिशतकम्’ ले सम्प्रेषण गरेका गहकिला र गहन सन्देशहरूलाई चिन्तन–मनन गरेर छायाँनुवादमा उत्रँदा कवि तीर्थराजअधिकारीले धेरै मानसिक श्रम खर्चनुभएको प्रष्ट देखिन्छ ।  भौतिक वैभवका लागि नैतिकता गुमाउँदै गएको वर्तमान सामाजिक परिवेशमा यो कृतिको सन्देश एकदमै सान्दर्भिक ठहरिन्छ ।

उहाँले साहित्य कर्ममार्फत् समाजलाई दिनुभएको योगदान र उहाँका साहित्यिक कृतिमामार्फत् प्रवाहित जीवन–दर्शनसम्बन्धी सन्देश हाम्रा लागि एउटा गतिलो प्रेरणास्रोत बनेका छन् । अधिकारीले साहित्य साधनाको माध्यमबाट समाजलाई आलोकित तुल्याउनुभएको छ, जुन आफैंमा एउटा मीठो र प्रेरणादायी दृष्टान्त हो ।

[साभार: स्मृतिका पानामा साहिँला गुरु (तीर्थराज शर्मा अधिकारी स्मृतिग्रन्थ-२०७५) । तस्बिर: गोविन्दराज खनियाँ ।]

Saturday, February 3, 2018

चौतारीको छहारी


–यमबहादुर दुरा

कुनै समयमा ‘रेडियो नेपाल’ को चुम्वकीय आकर्षणले धेरैलाई तान्थ्यो ।  प्रसारण प्रविधिसँग अपरिचित जनसमुदायले राष्ट्रिय प्रसारण संस्था ‘रेडियो नेपाल’ लाई मिथकीय वस्तु ठान्थे । रेडियोको जादुगरी चमत्कारबाट आकर्षित हुनेमा गायक–गायिकाहरू पनि पर्थे ।

युक्त गुरुङ
एकैपटक  हजारौं स्रोतामाझ पुग्नसक्ने क्षमताले उनीहरू ‘रेडियो नेपाल’ प्रति मनमुग्ध  हुन्थे तर रेडियोमा गीत गाउन सहज थिएन । ‘एक्स्पोजर’ को अरू बाटो नभएको त्यो समयमा रेडियोमा गीत गाउन पाउनु कलाकारका लागि भाग्योदय चिठ्ठा पर्नु जत्तिकै हुन्थ्यो । त्यतिबेला स्वर परीक्षा पास गरेरमात्र रेडियोमा गीत गाउन पाउने प्रावधान थियो ।

दूरदराजमा मेलापातमा जीवनमा बिताउने कला अनुरागीहरूले राजधानी छिर्ने मौका कहिले पाउने ? छिरिहाले पनि ‘रेडियो नेपाल’ प्रवेशद्वारसम्म कसरी पुग्ने ? ‘रेडियो नेपाल’ मा पाइला हाल्ने मौका पाइहाले पनि स्वर परीक्षाको झञ्जटिलो प्रक्रिया कसरी पार गर्नेे ? यी तमाम जटिलताले कुना–कन्दराका कलाकारहरूको गीत गाउने धोको मनमै दबिएर बस्थ्यो । ‘रेडियो नेपाल’मा सहज पहुँच अभावले धेरैले आशा मार्थे ।

निराशाले राज गरेको त्यो घडीमा रेडियो नेपालको ‘चौतारी’ कार्यक्रमले कलाकारहरू गायक–गायिकाहरूमा आशा जगाउने काम गरेको थियो । ‘चौतारी’ मा गीत गाउन स्वर परीक्षा पास गर्नुपर्दैनथ्यो तर त्यहाँ गीत गाएपछि गाउँघरमा कुस्त चर्चा पनि भइहाल्थ्यो । त्यतिबेला चौतारीमार्फत धेरैको प्रतिभाले अङ्कुरित हुने मौका पायो । २०३० को दशकदेखि सञ्चालनमा आएको ‘चौतारी’ उदीयमान गायक–गायिकाहरूको आशा र भरोसाको केन्द्र बनेको थियो ।

पाण्डव सुनुवार (वि.सं. २००९–२०६३), हिरण्य भोजपुरे (जन्म : वि.सं. १९९९), युक्त गुरुङ (वि.सं. २०११–२०६४) जस्ता लोकसङ्गीतका उम्दा प्रतिभाहरूको सोचको उपज थियो, ‘चौतारी’ । शुरुमा पाण्डव सुनुवार र हिरण्य भोजपुरेले कार्यक्रम सञ्चालन गर्नुभयो । कार्यक्रममा युक्त गुरुङले सहयोगीको भूमिका गर्नुभयो । पछि, ‘चौतारी’ कार्यक्रमको जिम्मेवारी युक्त गुरुङले नै पाउनुभयो । उहाँले कार्यक्रम सञ्चालन गर्न थालेपछि कार्यक्रमको लोकप्रियताको ग्राफ झन उकालो  लाग्न थाल्यो ।

गुरुङले अग्रजहरूको पदचाप पछ्याउँदै ‘चौतारी’ लाई गायक–गायिकाहरूको साँच्चिकै साझा चौतारी बनाउनुभयो । कार्यक्रम सञ्चालन गर्दा उहाँको बोलीमा झल्कने आत्मीयता र मौलिकपनबाट प्रभावित धेरै स्वरजीवी आज पनि उहाँको सम्झना गर्छन् । त्यो भन्दा पनि महत्वपूर्ण कुरा, उहाँबाट धेरै स्वरजीवीहरूले साङ्गीतिक क्षेत्रमा अघि बढ्ने प्रेरणा पाए । चार दशक उमेर काटेका अधिकांश लोकगायक–गायिकाले आफूहरू ‘चौतारी’ बाट ‘ग्रुम’ भएको धारणा विभिन्न सन्दर्भमा व्यक्त गर्दै आएका छन् ।

युक्त गुरुङ गायन र वाद्यवादनमा पारङ्गत प्रतिभाका रूपमा हुनुहुन्थ्यो ।  कुशल सङ्गीत शिक्षक पनि । उहाँसँग लामो संगत गरेका लोकगायक कृष्ण गुरुङ उनलाई सबैखाले बाजा बजाउन जान्ने प्रतिभा र प्रेरणा–स्रोतको रूपमा चित्रण गर्नुहुन्छ । उहाँले हर्मोनियम वादन, सङ्गीतको स्केललगायत सङ्गीतको औपचारिक ज्ञान युक्त गुरुङबाटै पाउनुभएको थियो  ।

आजकल धेरैका लागि बिरानो र दुरूह विधा बनेको सोरठी नृत्यमामा कुशलतापूर्वक मादले र गायकको भूमिका निर्वाह गर्न पनि सक्षम रहेको प्रतिभा हुनुहुन्थ्यो  ।

युक्त गुरुङका सहकर्मी तथा लोकगीत अन्वेषक बुलु मुकारूङ उहाँलाई ‘लोकगीतको जीवित सम्पदा’ ठान्नुहुन्छ । मुकारूङले 'युक्त गुरुङ स्मृतिग्रन्थ' मा लेख्दै गण्डकी भेगका लोकभाकालाई रेडियोमार्फत आमनेपालीबीच पुर्‍याउने दिशामा गुरुङले  स्तुत्य भूमिका निर्वाह गरेको श्रेय दिनुहुन्छ ।

युक्त गुरुङको सङ्गीतप्रतिको मोहभाव र लगावबारे उहाँका आफन्तजन र साथीसँगीहरूले बेलाबखतमा रोचक प्रसंग अघि सार्छन् । यस्तै दिलचस्पीपूर्ण सम्झना उहाँकी साइँली दिदी पीपलमाया गुरुङको मनमा खोपिएर बसेको छ  । भाइले आफूलाई  मादल बनाइदिन निरन्तर कर गरेपछि  केराको थम्मको मादल बनाइदिएको, त्यसपछि त्यही मादल भिरेर कित्लीको ढकनी र सिल्बरको कचौरा बजाई नाचेको र यसबाट छरछिमेक चकित भएको स्मरण गर्नुहुन्छ । उहाँले यो बाल्यकालीन सम्झना  'युक्त गुरुङ स्मृतिग्रन्थ' मा लिपिबद्ध गर्नुभएको छ ।

युक्त गुरुङले आञ्चलिक मिठासले भरिएका धेरै गीत गाउनुभएको छ, जसमा जीवनशैली झल्किन्छन् । गण्डकी भेगमा एउटा प्रचलन छ, जसमा सामाजिक जमघटहरूमा चेलीबेटी–माइती र सोल्टी–सोल्टिनीहरू भेट हुँदा चुरोट दिएर संवाद शुरु गरिन्थ्यो । यही चलनलाई टपक्क टिपेर युक्त गुरुङले गायिका शशी गुरुङसँग मिलेर २०३६ सालमा रेडियो नेपालमा गीत स्वराङ्कन गराउनुभयो । त्यो पनि गुरुङ भाषामा ।

सोल्टी र सोल्टिनीबीचको संवादमा आधारित गीत बोल थियो, (केटा)– आशामाया चुरोट थुँबरी खोसे ङोल्स्यो (आशामारा चुरोट खान आऊ सोल्टिनी), (केटी)– तै तै ङोलो भारा लइदिमु (भयो, भयो सोल्टी भारा लाग्छ) ।पछि आशामारा चुरोट नाम दिएर गुरुङ भाषाको अल्बम निकाल्नुभयो ।

स्थानीय जनजीवनको ढुकढुकी भेटिने यो गीत गण्डकी भेगका गुरुङ समुदाय र गुरुङ भाषा बुझ्नेहरूबीच बेहद लोकप्रिय भयो । यसले युक्त गुरुङको परिचयको क्षितिज फराकिलो गरी उघार्‍यो । उहाँले असंख्य ग्रामीणजनको हृदयमा बास पाउनुभयो ।

उहाँले मुग्लानी पस्ने परम्पराले ग्रामीणजनको हृदयमा लगाएको घाउलाई विषय बनाएर अर्को गीत गाउनुभयो । सुमधुर स्वरकी धनी सावित्री शाहले यसमा उहाँलाई साथ दिनुभयो । गीतको ‘ओपनिङ लाइन’ थियो, ‘दाइ त मेरो लाहुर जाने, म बैनी त सम्झेरै रोइरहने’ । गीतमा छचल्किएको मिठास र भावुकताबाट स्रोता द्रवीभूत भइरहे । यो गीतले उनलाई लोकप्रियताको शिखरमा पुर्‍यायो ।

उहाँले स्वरबद्ध गरेका १ सय ५० जति गीतमध्ये यी दुई गीतबाट नै उहाँ बढी चिनिनुहुन्छ । जनजीवनको ढुकढुकी स्पन्दित गीत नै कालजयी हुन्छन् भन्ने तथ्य उहाँको गीतबाट पुष्टि हुन्छ ।

उहाँ ब्रिटिश गोर्खाका लप्टन दीर्घसिंह गुरुङका छोरा हुनुहुन्थ्यो । एकप्रकारले हुनेखाने परिवारकै छोरा । उहाँ केही सिंगापुरमा बस्नुभयो । ‘भाञ्जाभाञ्जी’ भनेर चिनिने विदेशी संस्कारमा हुर्केका गोर्खा सैनिकका छोराछोरी र विदेशीहरूसँग पनि दोस्ती बढ्यो । यसबाट उहाँको सोचाइको दायरा र जीवनदृष्टिको क्षितिज फराकिलो हुन पुग्यो ।

उहाँको सोचाइ औसत व्यक्तिहरूको भन्दा फरक थियो । उहाँले 'रेडियो नेपाल' मा लामो समय (वि.सं. २०३२–२०६४) काम गर्नुभयो । त्यहाँ आठौं तहको अधिकृत भएर काम गर्दा उनले कार्यस्थललाई जागिरमात्र ठान्नुभएन, त्यसलाई अनुष्ठानको रूपमा पनि लिनुभयो । पुराना गीत संकलन, संरक्षण र सम्बद्र्धनमा उहाँले खेलेको भूमिका प्रशंसनीय छ । लोपोन्मुख ठाडो भाकाको श्रीवृद्धिमा पनि उहाँको योगदान रह्यो ।

२०६४ साल मंसिर १ गते मोटरसाइकल दुर्घटनामा परेर निधन हुँदाको घडीसम्म पनि उहाँ लोकसङ्गीतको खोज–अनुसन्धानमा जुटिरहनुभएको थियो । लोकसङ्गीतसम्बन्धी पुस्तक सङ्कलन गर्ने, पढ्ने र लोकस्रष्टाहरूसँग अन्तरक्रिया गर्ने काममा जुटेर उहाँले नयाँ बाटो देखाइरहनुभएको थियो ।

यहाँनेर अर्को प्रसंग सान्दर्भिक हुन आउँछ । फिनल्याण्डका ‘युनिभर्सिटी अफ द आर्टस् हेल्सिन्की’ अन्तरगत रहेको ‘साइबेलियस अक्याडमी’ का ‘इथ्नोम्युजिकोलजी’ विषयका तत्कालीन लेक्चरर (अहिले प्राध्यापक) पिर्को मोइजालाले लमजुङको गिलुङ गाउँमा प्रचलित घाँटु नृत्यको अध्ययन गर्नुभयो ।

मोइजलाले सन् १९७५–१९७६, १९८५ र १९९० को अवधिमा घाँटु नृत्यका कसरी परिवर्तन आइरहेको छ भन्ने अध्ययन गर्नुभयो । अध्ययनको क्रममा सहयोगीको रूपमा पत्याएको व्यक्ति हुनुहुन्थ्यो, युक्त गुरुङ । त्यस अध्ययन कार्यमा उहाँको रचनात्मक भूमिका रह्यो ।

पिर्को मोइजालाले अध्ययनको निष्कर्षस्वरूप सन् १९९१ मा ‘कल्चर कग्निसन इन म्युजिक : कन्टिन्युइटी एण्ड चेञ्ज इन द गुरुङ म्युजिक अफ नेपाल’ शीर्षकमा अध्ययन प्रतिवेदन प्रकाशन गर्नुभयो ।

युक्त गुरुङ जीवनभर लोकसङ्गीत श्रीवृद्धिमा डटिरहनुभयो, थुप्रै योजना फिजाएर । उहाँको जीवनको साङ्गीतिक आयाम र योगदानलाई उहाँका अनुज, आफन्तजन र सहयात्री र लोकगीत अनुरागीहरूले स्तुत्य ठानेका छन् । उहाँको बीचैमा विधाताले उहाँलाई ५३ वर्षकै अल्पायुमै खोसेर लग्यो, धेरै योजनाहरूलाई अलपत्रै पारेर । उहाँको पीडादायी प्रस्थानले लोकसङ्गीतका अध्येताहरूको काँधमा थप जिम्मेवारी थपिदिएको छ ।

[साभार : गोरखापत्र शनिबार । माघ २०, २०७४ । तस्बिर सौजन्य : शासन गुरुङ ।]