Tuesday, March 18, 2014

जनस्तरका नेताको इतिहास अभिलेखीकरण

–यमबहादुर दुरा

लमजुङका पञ्चायतकालीन नेता लेखनाथ अधिकारीसँग धित मर्ने गरी मेरो उठबस हुन पाएन । उहाँको लोककल्याणकारी व्यवहार र राजनीतिक  जीवनको उहापोहबारे थुप्रै किस्सा–कहानीहरू सुनिए पनि उहाँसँग मेरो त्यतिविधि अन्तरक्रिया हुन पाएन, एकदुई पटकको क्षणिक भेटघाटबाहेक । मलाई सम्झना भएसम्म उहाँसँग मेरो जम्माजम्मी दुईपटक मात्र भेट भएको थियो ।

पहिलो भेट २०५१ सालको मध्यावधि चुनावमा लमजुङको बाख्रेजगतनेर भेट भएको थियो । उहाँ त्यतिबेला नेपाली कांग्रेस आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बन्नुभएको थियो । त्यस भेटमा उहाँको उम्मेदवारीबारे सामान्य भलाकुसरीबाहेक अरु कुरा गर्ने अवसर जुटेन । दोस्रो भेट उहाँ नर्भिक अस्पतालको ‘बेड’ मा जिन्दगीको अन्तिम पलहरूबाट गुज्रिरहनुभएको बेलामा भएको थियो ।
 लेखनाथ अधिकारी । फोटो साभार : विनोद अधिकारी।

उहाँसँग त्यतिविधि संगत गर्न पनि नपाएकोले उहाँको  राजनीतिक तथा सामाजिक आयामबारे विश्लेषणात्मक धारणा राख्नका लागि म आफूलाई उपयुक्त व्यक्ति ठान्दिनँ । यति हुँदाहुँदै पनि लेखनाथ अधिकारीबारे मलाई भित्रैदेखि लागेको कुरा के हो भने उहाँ लमजुङको राजनीतिक तथा सामाजिक इतिहासमा अभिलेखीकरण हुनुपर्ने व्यक्तिहरूमध्ये एक हो ।

 उहाँले पञ्चायती शासनदेखि बहुदलीय राजनीतिक प्रणालीसम्म भोग्नुभएका राजनीतिक उहापोह र समाजको सकारात्मक परिवर्तनका लागि उहाँबाट भएका प्रयासहरूको गतिलो अभिलेखीकरण जनस्तरबाटै हुनुपर्छ भन्ने लाग्छ । यसो भएमा जनस्तरका नेताको सम्मान पनि हुन्छ र जनस्तरबाटै इतिहास लेखनको परिपाटी बस्छ भन्ने मेरो बुझाइ छ ।

हरेक व्यक्तिले भोगेको वर्तमान इतिहासको निरन्तरता भएकोले वर्तमानलाई बुझ्न इतिहास जान्नैपर्छ । बितेको एक दशक यता मैले यो यथार्थलाई गहिरोसँग अनुभूत गरेको छु । मेरो दिमागमा इतिहासको चेत हालिदिने काममा समाजसेवी  तथा राजनीतिज्ञ श्रीकान्त अधिकारीको योगदान छ ।

यसका अतिरिक्त साथीभाइसँगको संगत तथा भुमरी पर्दै गएका स्थानीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय घटनाक्रमहरूले इतिहासप्रति भोहभाव जगाउन थप सहयोग गरेका छन् । श्रीकान्त अधिकारीले हलो क्रान्ति, २००७ सालको राणाविरोधी आन्दोलन, शाहवंशीय राजसंस्था स्थापनामा खजे दुरालगायतका पूर्खाहरूले खेलेको भूमिका, एक समयका चर्चित गायक देउबहादुर दुराले चन्द्र शमसेरको दरबारमा गीत गाएर नाँचेको  आदिजस्ता प्रसंगहरू सुनाउनुहुन्थ्यो ।

यस्ता ऐतिहासिक प्रसंगहरू सुन्दा मलाई लाग्न थाल्यो,  इतिहास नजानी नहुने विषय रहेछ । वर्तमानको जरा इतिहासमा गडेको हुँदो रहेछ भन्ने पनि थाहा पाएँ । मेरो वरिपरि देखापरेका यिनै दृष्टान्तहरूले मलाई के अनुभूत गरायो भने हाम्रो नाता इतिहाससँग गाँसिएको हुन्छ र इतिहास नजान्दा हामी धागो चुँडेको चङ्गाजस्तै हुन्छौं । मलाई लाग्यो, हामीले आफू बाँचेको वर्तमानको पनि अभिलेखीकरण गर्दै जानुपर्छ र वर्तमानबाट पछाडि फर्केर इतिहासलाई चियाउनुपर्छ । यो हरेक सचेत नागरिकको जिम्मेवारी भन्ने मान्यताले मेरो मनमा राज गरेको छ ।

यिनै मान्यताहरूबाट निर्देशित भएर इतिहास अभिलेखीकरणको आवश्यकताबारे दुराडाँडाका बन्धुबान्धवहरूसँग पनि मेरो विचार–विमर्श हुन थाल्यो । यस विषयमा पत्रकार विजय अधिकारीसँग पनि थुपै पटक कुराकानी भयो ।

 यस्तैमा २०६८ साल मङ्सिरमा देशबन्धु अधिकारी,  डा. जीवन अधिकारी र मबीच समाजसेवी तथा राजनीतिज्ञ श्रीकान्त अधिकारीको जीवनीबारे श्रव्यदृश्य सामग्री तयार पार्ने सल्लाह भयो । यसमा विजय अधिकारी छुट्नुभयो । सल्लाहबमोजिम २०६८ साल पुस १६ र १७ गते श्रीकान्त अधिकारीको धापसीस्थित निवासमा पुगेर भिडियो र श्रव्यमाध्यममा उहाँको जीवनी उतार्ने प्रयास गर्‌यौं

कुराकानीको क्रममा श्रीकान्त अधिकारी द्रवीभूत हुनुभयो र विगतलाई सम्झेर उहाँको गला पटक पटक अवरुद्ध भयो । त्यतिबेला हामीले उहाँको जीवनबारे मात्र होइन, नेपालको राजनीतिक तथा सामाजिक वृत्तबारे घतलाग्दा कुराहरू थाहा पायौँ । त्यसको लगभग एक वर्षपछि २०६९ साल कात्तिक ३० गते श्रीकान्त अधिकारीको निधन भयो । कसैले पनि टार्न नसक्ने विधिको विधानले राज गरेको यो दुनियाँमा ‘धन्न, हामीले बेलैमा उहाँबाट इतिहासका खजना लिएछौं’ भन्ने लागेको छ ।

श्रीकान्त अधिकारीको जीवनी उतारिसकेपछि लेखनाथ अधिकारीको जीवनी उतार्नुपर्छ भन्ने सोंच मनमनै बनाएको थिएँ । त्यतिबेला पनि ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो । लमजुङका उर्जाशील मित्र नवीनचन्द्र घिमिरेसँग  २०६९ सालको पुसतिर भेट भयो । त्यसपछि पनि उहाँसँग लेखनाथ अधिकारबारै थुप्रै पटक भेटवार्ता र फोनवार्ता भयो । लेखनाथ अधिकारी बेंसीशहरमा बस्नुहुन्छ भन्ने कुरा नवीनजीबाट थाहा पाएको थिएँ ।

नवीनजी पनि बेंसीशहरमै नोकरी गर्ने भएकोले उहाँमार्फत लेखनाथ अधिकारीबारे धेरै जानकारी लिन सकिन्छ भन्ने विश्वास मभित्र पलाएको थियो । यसअनुरूप नवीनजी र मबीच लेखनाथ अधिकारीको जीवनीबारे श्रव्यसामग्री तयार पार्ने र त्यसलाई ‘ट्रान्सक्राइब’ गरेर पुस्तकाकार कृतिको रूपमा निकाल्ने सहमति भयो ।

यसबारे लेखनाथ अधिकारीसँग अनुमति लिने र 'अडियो रेकर्ड' गर्ने जिम्मा नवीनजीले लिनुभयो । यस प्रयोजनका लागि नवीनजीले मसँग भएको अडियो रेकर्डर लैजानुभयो । उहाँले लेखनाथ अधिकारीको राजनीतिक तथा सामाजिक जीवनका आयामहरू रेकर्ड गर्न थाल्नुभयो । त्यतिबेला नै लेखनाथ अधिकारीको स्वास्थ्य बिग्रिसकेको रहेछ ।

यस्तैमा २०६९ साल फागुन २२ गते नवीनचन्द्र घिमिरेको फोन आयो । उहाँले लेखनाथ अधिकारी बिरामी हुनुभएकोले उपचारका लागि काठमाडौं लगिएको जानकारी दिंदै यथाशक्य छिटो उहाँलाई भेट्न आग्रह गर्नुभयो । केही दिनपछि समयम मिलाएर लेखनाथ अधिकारीलाई भेट्न नर्भिक अस्पतालमा गएँ । उहाँको वाक्य बसिसकेको रहेछ तर उहाँ पूरै होशमा हुनुहुन्थ्यो ।

 उहाँसँग मुक भाषामा केही कुराकानी भयो । उहाँले अस्पतालमा भेट्न जाने शुभेच्छुकहरूसँग मेरो चिनजान होस् भन्ने चाहना राख्नुभएको मैले पाएको थिएँ । उहाँको स्वास्थ्य अवस्था निकै नाजुक देखिन्थ्यो । यो धर्तीमा उहाँ केही दिनको मात्र पाहुनाजस्तो हुनुभएको रहेछ । यस्तैमा चैत ४ गते उहाँको निधन भएको खबर आयो ।

हाम्रो प्रयास अलि ढिलो भएछ । नवीनचन्द्र घिमिरले लेखनाथ अधिकारीको २०४६ सालसम्मका विकासक्रमहरू मात्र रेकर्ड गर्न भ्याउनुभएछ । त्यति भए पनि हाम्रा लागि लाख भएको छ । २०४६ सालसम्मको जानकारीहरूको आधारमा थप खोजखनिज गर्न सकिने ठाउँ छ । उहाँका डायरी र उहाँले राष्ट्रिय पञ्चायतमा दिनुभएका भाषणहरूको अभिलेखका आधारमा पनि अध्ययन र विश्लेषण गर्ने बाटो खुलेको छ । उहाँको स्मृति ग्रन्थमा छापिएका खोजमूलक संस्मरणात्मक लेखहरूबाट खोज–अनुसन्धानको क्षितिज अरु उघ्रिने देखिन्छ ।

लेखनाथ अधिकारीको निधनपछि उहाँको स्मृति ग्रन्थ निकाल्ने कुरा उठ्यो । सम्पादक मण्डलमा रहेर काम गर्ने प्रस्ताव मलाई आयो । लेखनाथ अधिकारीको इतिहाससँग साक्षात्कार गर्ने लोभ मभित्र भएकोले त्यस प्रस्तावलाई सहर्ष स्वीकारेँ । यो प्रस्तावको आवरणभित्र इतिहाससँग नाता गाँस्ने सुनौलो अवसर लुकेर आएको थियो ।

लेखनाथ अधिकारीको  स्मृतिमा विभिन्न लेखकद्वारा लेखिएका लेखहरू सम्पादन गर्ने क्रममा उहाँको सामाजिक तथा राजनीतिक जीवनबारे धेरै तीतामीठा जानकारी हाँसिल गर्ने मौका पाएँ अनि निकट अतीतमा समयले कोरलेका घटनाक्रमहरूसँग परिचित बन्ने मौका पाएँ । यस आधारमा लेखनाथ अधिकारीको सम्झनामा तयार पारिएको यो स्मृति ग्रन्थ लमजुङको सामाजिक तथा राजनीतिक इतिहासका लागि प्रवेशद्वार बन्नेछ भन्ने लागेको छ ।
जानेर वा नजानेर लेखनाथ अधिकारीको इतिहास अभिलेखीकरण गर्ने अभियानको एक हिस्सा बन्न पाएकोमा मलाई गर्वानुभूति भएको छ । लेखनाथ अधिकारीको जीवनी तथा स्मृतिग्रन्थमा उहाँको निजी जीवनको प्रतिविम्बमात्र आउने छैन, लमजुङको सामाजिक तथा राजनीतिक इतिहास पनि आउने छ । नयाँ पुस्ताका लागि यो एउटा अमूल्य उपहार बन्नेछ, जुन शिरफूलजस्तै शोभायमान हुनेछ भन्ने मलाई लाग्छ ।

[साभार: लेखनाथ अधिकारी स्मृति ग्रन्थ, २०७० । पृ. ५६७-६००। सामान्य परिमार्जनसहित]

2 comments:

  1. यमजी, तपाई र नविनजीको प्रयासबाट मेरो बाबा लेखनाथ अधिकारीको अडियो रेकर्ड प्राप्त नभएको भए सायद उहाँको स्मृति ग्रन्थ अपुरो हुने थियो । तपाईंहरुको योगदानको म सधैं ऋणी हुनेछु ।

    ReplyDelete
  2. खुशी लाग्यो दाई, तपाइहरुलेले थोरै भए पनि उहाको बारेमा रेकर्ड गर्न सक्नु भएछ . स्मृति ग्रन्थ हात परे पछी उहाको बारेमा धेरै कुरा जान्न पाइएला .

    ReplyDelete