Saturday, April 5, 2014

सम्झनामा एक स्वप्नदर्शी

 -यमबहादुर दुरा

एकतन्त्रीय राणा शासनबाट मुक्ति पाएर नागरिक अधिकारका लागि जुर्मुराएको अवस्थामा नेपालमा २०१२ सालमा नागरिक अधिकार ऐन आयो। त्यही समयको सेरोफेरोमा विश्वको शक्तिशाली र लोकतान्त्रिक भनिएको मुलुक अमेरिकामा पनि नागरिक अधिकार प्राप्तिमा नागरिक आन्दोलनको मोर्चामा थिए। खासगरी अफ्रिकन-अमेरिकनहरू माथि भएको वर्णभेदी व्यवस्थाविरुद्ध आन्दोलन चकिँदै थियो।  त्यस आन्दोलनको अग्रदस्तामा रहेका अभियन्तामध्ये एक थिए, मार्टिन लुथर किङ । उनको आन्दोलन अहिंसात्मक थियो। नागरिक अवज्ञा आन्दोलनको अर्को स्वरूप थियो।

भनिन्छ, उनी महात्मा गान्धीको अंग्रेजविरुद्धको अहिंसात्मक आन्दोलनबाट प्रभावित थिए। त्यसो त, उनको आन्दोलन क्रिस्चियन धर्मको अहिंसात्मक आदर्शबाट पनि प्रेरित थियो भन्नेहरू पनि छन्। सन् १९५५ मा एक १५ वर्षीया अश्वेत बालिकाले एकजना श्वेत व्यक्तिलाई बसमा सिट नछोडिएकोले घटनाले आन्दोलनको माहोल तताउने काम गर्‍यो। सिट नछोड्ने व्यक्ति र तिनका समर्थकहरूलाई सरकारबाट कानुनको दायरामा ल्याउने प्रयास भयो।

आफूहरूमाथि रंगभेदी अनुदार व्यवहार अफ्रिकन-अमेरिकनहरूले बस चढ्नै छाडिदिए। बस बहिष्कार आन्दोलनको नेतृत्व पंक्तिमा मार्टिन लुथर किङ पनि थिए। यसले उनको नागरिक अधिकारमुखी छविलाई अरू चम्किलो बनायो।

रंगभेदी नीतिविरुद्ध एकपछि अर्को गरी आन्दोलनहरू हुन थाले। सन् १९६३ अगस्ट २७ तारिखमा ‘मार्च अन वासिङ्टन’ आयोजना गरियो। यस आन्दोलनले अफ्रिकन-अमेरिकनहरूको नागरिक तथा आर्थिक अधिकारलाई केन्द्रमा राखेको थियो।

आन्दोलनलाई मूर्तरूप दिन दुई लाखदेखि तीन लाख नागरिक वासिङ्टनतर्फ अघि बढे, जसमा ७५ देखि ८० प्रतिशत मानिसहरू अफ्रिकन-अमेरिकन थिए। यसलाई अमेरिकी इतिहासमा मानव अधिकार प्राप्तिका लागि आयोजित ठूला राजनीति र्‍यालीमध्ये एक मानिन्छ।












रोजगार स्वतन्त्रताका लागि वासिङ्टन जाऔंनाराका साथ अघि बढेको र्यालीमा आकर्षण केन्द्रमा थिए, मार्टिन लुथर किङ। रङ्गभेदको चपेटामा परेका नागरिकहरू मुक्तिको सपना मुटुभरि सजाएका उनले अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको स्मृति भवनको अग्रभागबाट हजारौं समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘आई ह्याभ ड्रिम’ (मेरो एउटा सपना ) यो भाषण निकै चर्चित बन्यो।


उनको यो भाषणले रंगभेदविरुद्ध धावामात्र बोलेन, अमेरिकी इतिहासमा उनी स्वयम्लाई महान् वक्ताको  रूपमा स्थापित पनि गर्‍यो। यसपछि उनको थुप्रै ‘फ्यान’ तयार भए। उनलाई मानसम्मानले पछ्याउन थाल्यो। उनले अमेरिकी विश्वविद्यालयहरूबाट ५० भन्दा बढी मानार्थ डिग्री प्राप्त गरे। रंगभेदविरुद्ध अहिंसात्मक आन्दोलन चलाएकोमा उनले सन् १९६४ नोबेल शान्ति पुरस्कार पाए। त्यतिबेला उनी नोबेल पुरस्कार पाउने कान्छा व्यक्ति थिए।

असल वक्ताले समाज परिवर्तनमा भूमिका खेल्छ भनेझैं उनको भाषणले रंगभेदविरुद्ध गोलबन्द भएका मुक्ति कामी नागरिकको आन्दोलन झन् सघन बन्दै गयो। त्यति नै खेर अमेरिकी राज्य संयन्त्र उनको विरुद्धमा खनिन थाल्यो। अमेरिकी अपराध अनुसन्धान निकाय (एफबीआई) ले उनको पिछा गर्न थाल्यो।
उनको कम्युनिस्टहरूसँग साँठगाँठ भएको शंका गरियो। उनीमाथि गोप्य निगरानी हुन थाल्यो। उनलाई मनोवैज्ञानिक यातना दिने काम अभियानकै रूपमा अघि बढाउन थालियो।

उनको थुप्रै महिलासँग गैरवैवाहिक सम्बन्ध रहेको कुरा एकपछि अर्को गरी बाहिर आउन थाल्यो। एफबीआईले उनको भए नभएको गैरवैवाहिक सम्बन्धबारेको जानकारी सरकारी अधिकारीहरूलाई पठाइदियो। उनको नाम अज्ञात प्रेषकले पठाएको धम्कीपूर्ण पत्रहरू आउन थाले।

अधिकार प्राप्तिको उनको अभियानलाई निस्तेज पार्न थुप्रै नाजायज उपाय रचियो। तर 'कुकुर भुक्दैमा हात्तीको यात्रा रोकिँदैन' भनेझैं उनको अभियानले निरन्तर गति लिइरह्यो। उनले उठाएका अधिकारका कुरा पुरातानपन्थी सोंच भएका कतिपय व्यक्तिहरूलाई मन परेको थिएन।

यस्तैमा अप्रिल ४, १९६८ मा उनीमाथि बन्दुकको निशाना दागियो। ३९ वर्षको उमेरमा उनले संसार छाड्नुपर्‍यो। उनले मृत्युवरण गरे पनि उनको अभियान निष्फल भएन। उनको हत्यापछि केही दिन पछि नै अमेरिकी कंग्रेसले नागरिक अधिकार ऐन पारित गर्‍यो, जुनको उनको महत्त्वपूर्ण विरासत बन्यो। नागरिक अधिकार ऐन पारित भएपछि धेरै हिसाबले अपहेलित बनेका अफ्रिकन-अमेरिकनहरूको अधिकार प्राप्तिको बाटो खुल्यो।

मार्टिन लुथर किङको मृत्युपछि उनलाई अमेरिकी जनताले हृदयमा सजाएर राखे। उनको सम्मानार्थ अमेरिकाका सात सय ३० भन्दा बढी सहरका सडक उनको नामबाट राखियो। सन् १९७१ मा मरणोपरान्त उनले प्रतिष्ठित पुरस्कार ‘प्रेसिडेन्सियल अवार्ड अफ फ्रिडम’ प्राप्त गरे। त्यतिबेला दिइएको प्रशंसापत्रमा भनिएको छ, ‘मार्टिन लुथर किङ आफ्नो पुस्ताको विवेकी व्यक्ति हुन्। उनले देशमा विद्यमान भेदभावको ठूलो पर्खालमा आँखा लगाए र त्यसलाई माया-ममताको शक्तिले ढाल्न सकिन्छ भन्ने थाहा पाए। पुर्खाहरूले हाम्रा विनयशील नागरिकको पक्षमा गरेको वाचा पूरा गर्न उनले गरेको लडाइँको पीडा र थकानबाट माथि उठेर समृद्ध अमेरिकाको सपना पूरा गर्न जोडदार मन्तव्य दिए। उनको सपना आज हाम्रो आँखा पनि छचल्किएको छ।’

सन् १९७१ मै मरणोपरान्त ‘नेसनल अक्याडमी अफ रेकर्डिङ आर्ट एन्ड साइन्सेस’ ले दिएको ‘ग्र्यामी अवार्ड फर बेस्ट स्पोकन ओर्ड अल्बम’ पुरस्कार प्राप्त गरे। मार्टिन लुथर किङ भियतनाम युद्धको विपक्षमा थिए।
‘किन म भियतनाम युद्धको विपक्षमा उभिएँ’ शीर्षकमा उनले दिएको भाषणलाई उत्कृष्ट ठहर्‍याउँदै उनलाई सो पुरस्कार दिइएको थियो। सन् २००० मा अमेरिकामा गरिएको अनलाइन सर्वेक्षणमा उनी शताब्दीका उत्कृष्ट व्यक्तिहरूको सूचीमा छैटौं स्थानमा परेका थिए।

सन् १९२९ जनवरी १५ तारिखमा जन्मेका उनी क्रिस्चियन पारिवारिक पृष्ठभूमिमा हुर्केका थिए। उनी पास्टर थिए। पछि अफ्रिकन-अमेरिकन नागरिक अधिकारसम्बन्धी अभियानको नेता र मानवतावादी अभियानकर्ताको रूपमा चिनिँदै गए। उनको नामको पनि सानो किस्सा छ। कानुनी माइकल किङ थियो। उनको पिताको नाम पनि यही नै थियो। उनको पिताले जर्मनीका महान् सुधारक मार्टिन लुथरको सम्मानमा आफ्नो छोराको नाम मार्टिन लुथर किङ राखे।

मानवीय स्वतन्त्रताको सर्वोच्च मूल्य र मयार्दा स्थापित तुल्याउन मार्टिन लुथर किङले खेलेको भूमिका अतुलनीय छ। धेरै बोल्ने र थोरै काम गर्ने हामीहरूलाई बोलेबमोजिम काम पनि फत्ते गर्नुपर्छ भन्ने नि:शब्द सन्देश दिएको छ। सहअस्तित्वपूर्ण समाज निर्माणमा उनको देन उदाहरणीय छ।

[साभार: अन्नपूर्ण पोस्ट 'फुर्सद' (चैत २२, २०७०)। इन्टरनेटमा उपलब्ध सूचनामा आधरित । तस्बिर : इन्टरनेट]


No comments:

Post a Comment