Sunday, December 22, 2013

नेपाली लोकगीतको मर्म

–यमबहादुर दुरा

 लेक–बेंसी, भरा–पर्म, ढिकी–जाँतो, उकाली–ओराली, देउराली–भञ्ज्याङ, पाखा–पखेरा, गोठ आदिबाट ग्रामीण जीवन परिवेशित हुन्छ । यही व्यापक परिवेश र पृष्ठभूमिमा लोकगीतको जन्म हुन्छ । लोकगीत बहुप्रचलित एवम् प्राचीन  कर्णप्रिय संगीत हो । यसले ग्रामीण जनजीवनको प्रतिनिधित्व गर्छ । त्यसैले लोकगीतलाई ग्रामीण जनजीवनको ढुकढुकी भन्ने गरिन्छ । आधुनिक गीतमा जस्तो लोकगीतमा रचनाकार हुँदैन । सिङ्गो लोक वा समाज नै लोकगीतको रचनाकार मानिन्छ । लोकगीत कहिलेदेखि प्रचलनमा आयो भन्ने विषयमा विद्वानहरू एकमत देखिँदैनन् । तैपनि मानव सभ्यताको उत्पत्तिसँगसँगै लोकगीतको जन्म भएको मानिन्छ ।
लोकगीत जति मार्मिक छ, त्यति नै सरल, सरस र बोधगम्य पनि छ । निरक्षर मानिसले पनि लोकगीतको भावना र छनक सजिलै बुझ्न सक्छन् । गाउँघरका लोकगायक तथा लोकगायिकाहरूले नदी बगेभैmँ अबिराम गीत गाउँछन् । लोकगीतको खाल जमेको ठाउँमा बालकदेखि बृद्धसम्मका मानिसहरू झुम्मिन्छन् र आफूलाई भावनामा चुर्लुम्म डुबाउँछन् ।
विवाह, ब्रतबन्ध, न्वारान, पूजाआजाजस्ता सामाजिक तथा धार्मिक उत्सव  एवम् चाडपर्वहरूमा लोकगीत गाइन्छ । कुनै कुनै लोकगीत सदावहार रूपमा गाइन्छ भने कुनैचाहिँ विशेष चाडपर्व र अवसरहरूमा गाइन्छ । अर्कोतिर रोदी, मेलापात, वनपात, आदिलाई लोकगीतको उर्वरभूमि मानिन्छ । ठाउँअनुसार लोकगीतमा भिन्नता आउँछ । नेपालको पूर्वी, मध्य र पश्चिमी भागमा विद्यमान लोकलयको भिन्नतालाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । नेपालमा हाल मालाश्री, यानीमाया, चुनीमाया, कौरा,देउडा, यानीहो, झयउरे, ठाडो भाका,  लैबरी, देहरादूने, आदि लोकलयहरू प्रचलित छन् । सारङ्गी, मादल, खैंजडी, मजुरा, डम्फू, आदि लोकलयसँग गाँसिएका वाद्यसामग्रीहरू हुन् ।
लोकगीत मानवीय अभिव्यक्ति हो । यसमा सुख–दुःख र हाँसो आँशुका कुराहरू समाहित हुन्छन् । यसमा समाजमा भएगरेका कुराहरू प्रतिविम्बित हुन्छन् ।  लोकगीतको माध्यमबाट व्यक्त भएका केही लोकभावनाहरू यहाँ प्रस्तुत छन् ।
हाम्रो समाजमा छोराले मात्र अंश पाउने प्रचलनलाई तीखो व्यङ्ग्य गर्दै अंशमा ठगिएकी एकजना चेलीले वनको कोइलीको विरही स्वरमा आफ्नो स्वर मिलाउँदै यसो भन्छिन् –
दाजु तिमी अंशको धनी
म बहिनी धुरीको बलेनी ।

हाम्रो समाजलाई गरिबीको क्रूर पञ्जाले गाँजेको छ । एकसरो लुगा लाउन र एकपेट खानका लागि मुग्लान पस्ने युवाहरूको यहाँ कुनै कमी छैन । मन नलाग्दा नलाग्दै पनि मुग्लान पस्न विवश एकजना युवक आमालाई नरुन आग्रह गर्दै यस्तो लोकलय गुञ्जाउँछ–
आमा तिमी नरुनू मेलैमा
मैले डाँडो काटने बेलैमा ।
नेपालबाट भारतीय तथा ब्रिटिश सैनिक सेवामा भर्ती भएर जीवनयापन गर्ने वीर गोर्खाली दाजुभाइहरूको जमात सानो छैन । रेडियोले विदेशमा लडाइँ हुँदा थुप्रै मानिसहरू हताहत भएको समाचार दिँदा सैनिकका प्रियाहरू चिन्तित बन्नु स्वभाविक हो । यस्तो समाचार सुन्दा कतै आफ्नो हृदयको राजालाई गोला–बारुदले निशाना त बनाएन भन्ने आशंकाले उनीहरूलाई हरदम सताइरहेको हुन्छ । यतिखेर उनीहरूको गलाबाट अचानक पीडा मिश्रित स्वर गुञ्जन्छ–
सञ्चै छौ कि विसञ्चो भयौ कि
तातो गोली छातीमा लाग्यो कि ।
उता, युद्धभूमिमा जीवन र मृत्युको दोसाँधमा  रहेर प्रिया र परिवारको यादमा छटपटाइरहेका सैनिक आफ्नो पीडा यसरी पोख्दछ–
हिँड्दैछु नागा हिलैमा
राइफल छ काँधमा पीर शिरैमा ।
काम र मामको खोजीमा मुग्लान पस्ने कतिपय युवाहरू त्यतै हराउने, परदेशमा एकलाशे मरण हुने, यता घर परिवारले दुःख पाउने तथ्य कुनै नयाँ कुरा होइन । यही तीतो यथार्थलाई चिन्तन–मनन गरेर गाउँको बाला आफ्नो प्रेमीलाई विदेश नजान तथा यहीँ दुःखजेलो गरेर जीवन बिताउन आग्रह गर्दछिन्–
यहीँ खनौँला गैची र कोदाली
खाउँला बरु खोलेमा नून हाली ।
लोकगीतमा ऐतिहासिक घटनाक्रमको पनि वर्णन भएको पाइन्छ । यसबाट लोकगीतको मधुर धुनसँगै ऐतिहासिक तथ्य पनि हाँसिल गर्न सक्छौं । विसं १९९० को विष्मयकारी भूइँचालोबारे यस्तो गीत प्रचलित छ–
घुरुमा घुरु परेवा घुर्यो बार्दली कौशीमा
नब्बे है सालमा भूइँचालो गयो सोमबारे औँशीमा
हाम्रो सांस्कृतिको परिचायक मानिने लोकगीतहरू अहिले लोपोन्मुख अवस्थामा छ । यतिखेर हामीकहाँ कोठामा सिर्जना गरिएका नक्कली लोकगीतहरूको बाढी आउन थालेको छ, जसलाई कतिपय हिसाबले जायज भन्न सकिन्न । । समाजलाई सकारात्मक दिशातिर उन्मुख गराउने लोकगीतको भण्डार घट्दो छ । यस्ता विकृतिहरूबाट छुटकारा पाउन तथा लोकगीतको गौरवमय परम्परालाई कायम राख्नका लागि यथार्थपरक लोकगीत खोज, अनुसन्धान र संरक्षण गर्नुपर्ने देखिन्छ ।

[साभार: कान्तिपुर कोसेली (चैत १०, २०५२)]

No comments:

Post a Comment