Wednesday, April 9, 2014

दुरा जातिको संक्षिप्त परिचय

–यमबहादुर दुरा

गोलो अनुहार, थेप्चो नाक, तुलनात्मक रूपमा चिम्सो आँखा र होंचो शरीर । दुरा जातिको शारीरिक रूपरेखा सामान्यता यही हो । दुरा  समुदाय नेपालका अल्पसंख्यक जनजातिमध्ये एक पर्छन् । दुरा समुदाय सामाजिक, आर्थिक, शैक्षिक एवम् राजनीतिक तवरले तुलनात्मक रूपमा पछि परेकोले विकासको दौडमा पनि तुलनात्मक रूपमा पछि परेको देखिन्छ  । नेपाल सरकारले दुरा जातिलाई नेपालका ५९ जनजातिहरूको सूचीमा सूचीकृत गर्नुका साथै सीमन्तीकृत जनजाति भनेर वर्गीकरणसमेत गरेको छ । 'नेपाली बृहत् शब्दकोश'  ले दुरा जातिको परिचय यसरी दिएको छ :
'नेपाल अधिराज्यभित्रको लमजुङ जिल्लाको दुराडाँडामा  आदिकालदेखि नै बसोबास गर्दै आएको, आफ्नै भाषा र संस्कृति भएको र त्यसलाई बिस्तारै भुल्दै गएको एक जाति, नेपालको एक अल्पसंख्यक जाति' (पृ.६१८) ।

दुरा जातिको उदगम कसरी भयो भन्ने विषयमा कुनै भरपर्दो आधार भेटिएको छैन । जनश्रुति र किम्वदन्तीका आधारमा दुरा जातिको उदगमबारे विद्वानहरूले विभिन्न तर्क पेश गर्नुभएको छ । यस्ता कतिपय तर्कहरू तर्कसंगत देखिँदैनन् । दुरा जातिको उदगमबारे नगेन्द्र शर्मा लेख्नुहुन्छ  :
'कसै कसैको भनाइमा यो जातिका पुर्खाहरू भारतका राजपूत दरबारमा नोकरी गर्दथे र पछि भारततिर मुसलमान आक्रमण बढेपछि भागेर यता पसेका राजपूत महिलाहरू र तिनका र तिनका नोकरहरूबाट जन्मेका सन्तान दुरा भएका हुन् । तर नेपालका कैयौँ जातजातिले पनि आफ्ना पुर्ख्यौलीलाई राजपूतहरू जोड्ने एक ‘फेसन’ जस्तै भइसकेकोले अरू अध्ययन नगरी यस्तो किंवदन्तीमाथि विश्वास हम्मेसि गरिहाल्न सकिँदैन' (पृ. ५६)।
थारू जातिको उत्पत्तिको सम्बन्धमा यस्तै किंवदन्ती रहेको नगेन्द्र शर्मा उल्लेख गर्नुभएको छ ।  राजपूतहरूको दरबारबाट भागेर 'दुर' अर्थात् टाढा गएको भन्ने अर्थमा दुराहरू यसप्रकारको लख काटिएको हुनसक्छ तर यसलाई पुष्टि गर्ने कुनै भरपर्दो आधार भेटिन्न । यो तर्क वास्तविकताभन्दा निकै पर देखिन्छ ।
जीवनशैली : दुरा समुदायमा प्रचलित बाह्रमासे घाँटु ।


डा. राजेश गौतम र अशोक कुमार थापा मगरले पनि दुरा गाउँबस्तीमा यसप्रकारको भनाइ चलेको उल्लेख गर्नुभएको छ । उहाँहरूले एकजना विद्वान (नाम उल्लेख गरिएको छैन) को भनाइ उद्ध्रृत गर्दै दुरा जातिलाई गुरुङ र मगरबीचको अन्तरजातीय विवाहबाट जन्मेको सन्तानको रूपमा चित्रण गर्नुभएको छ । 

डा. गौतम र थापा मगरले  दुराहरू पहिले दुलाल भएको र उनीहरू पर्वतको दुरानकोट आइपुगेपछि दुरा भएको उल्लेख गर्नुभएको छ  (पृ. १९३–१९४)। तर,  दुराहरू कहाँबाट कुन परिस्थितिमा त्यहाँ आए र पर्वतको दुरानकोटमा अहिले दुरा जातिको बसोबास भए–नभएकोबारे केही पनि बोलेका छैनन् ।

वि.सं. २०३३ मा लमजङ भ्रमणको क्रममा लमजङको दुराबस्ती ठूलोस्वाँरा पुगेका जनकवि केशरी धर्मराज थापाले दुरा जातिबारे केही हदसम्म स्पष्ट चित्र कोर्ने प्रयास गर्नुभएको छ ।  थापाले  ‘लोकसंस्कृतिको घेरामा लमजुङ्ग’ (पृ.४२२–४२४) मा दुरा जातिबारे ऐतिहासिक सन्दर्भ पस्कनुभएको छ । उहाँले दुराबस्ती ठूलोस्वाँरा पुग्दा वि.सं. १८७० मा तयार पारिएको दुरा जातिको वंशावली भेटिएको  उल्लेख गरेका छन् । 

उहाँले   उक्त वंशावलीलाई उध्रृत गर्दै दुराहरू पुर्खा दुलाल भएको र उनीहरू उचै नगरी धौलागिरी मलुदेश छयणीगढ, दुलबासिनधरा, जाजरकोट, रुकुम, अर्घौं (कास्की) हुँदै लमजुङ आइपुगेको उल्लेख गरेका छन् । यद्यपि यसमा स्पष्ट हुन नसेकेको पक्षहरू पनि छन् । वंशावलीमा उल्लिखित उचै नगरी धौलागिरी मलुदेश छयणीगढ र दुलबासिनधरामध्ये धौलागिरी भन्ने स्थान अहिले परिचित भए पनि बाँकी स्थानबारे कुनै भेउ पाउन सकिएको छैन । थप अध्ययन नगरी यी स्थानबारे यसै भन्न सकिने अवस्था छैन ।

दुरा जातिबारे लेखिएका पुराना कागजात गाउँघरमा भए पनि तिनको संरक्षण र अभिलेखीकरण हुन नसक्दा ऐतिहासिक प्रमाणहरू गुम्दै गएका छन् । दुरा जातिका सम्बन्धमा लेखिएका ताम्रपत्र र लाललोमहर ठूलोस्वाँरा (लमजुङ) का चन्द्रसिङ् दुराको घरमा भएको तर २०१४ सालमा ठूलोस्वाँरा (गैरीगाउँ) मा आगलागी हुँदा ती कागजात जलेर नष्ट भएको कुरा बूढापाकाबाट अझै पनि सुन्न पाइन्छ । 

धर्मराज थापाले पनि ‘लोकसंस्कृतिको घेरामा लमजुङ्ग’ मा यही कुरा उल्लेख गर्नुभएको छ  (पृ.४२५) । समाजसेवी  क्याप्टेन बखानसिंह दुरा (वि.सं. १९७१-२०७०) ले इतिहासकार नरहरिनाथलाई उद्ध्रृत गर्दै दुरा जातिसम्बन्धी लालमोहरलगायतका कागजात हनुमान ढोका संग्रहालय (छ नम्बर पट्टी)  मा रहेको जानकारी दिनुभएको थियो । तर, त्यहाँ गएर खोज-अनुसन्धान  र जाँचपडताल गर्ने काम अझै पनि हुन सकेको छैन ।

खेतीपाती गर्नु एवम् शिकार गर्नु दुरा जातिको परम्परागत पेशा मानिन्छ । 'सुगौली सन्धि' पछिको कालखण्डमा अरु जातिका जवानहरूजस्तै दुराहरू पनि विदेशी सेवा भर्ती हुने गरेको पाइन्छ, जुन आजपर्यान्त कायमै छ । प्रथम तथा दोस्रो विश्वयुद्धमा देशका अन्य जातिका सैनिकहरूजस्तै दुराहरू बेलायती सेनाको तर्फबाट लडेको देखिन्छ । 

प्राप्त अभिलेख अनुसार दलभीम दुरा त्यस्ता दुराहरूमध्ये एक हुन्, जसले प्रथम विश्वयुद्धमा लडेर बहादुरी प्राप्त गर्नुभएको थियो । विदेशी सेवा भर्ती हुनुभन्दा अघि दुराहरू भारतका मुगल सम्राटका दरबारमा काम गर्थे भन्ने जनश्रुति छ तर यसलाई पुष्टि गर्ने कुनै दरिलो आधार भेटिँदैन । 

दुरा जातिको उदगमबारे हालसम्म आएका विचार तथा दृष्टिकोणहरू नितान्त अपूरो र एकाङ्गी देखिन्छ । त्यसकारण यस सम्बन्धमा  समाजशास्त्रीय एवम् मानवशास्त्रीय कोणबाट गहन अध्ययन हुन आवश्यक देखिन्छ ।

समयको बदलिँदो प्रवाहसँगै दुराहरूले नयाँ नयाँ पेशा अपनाउन थालेका छन् । यसबाट एकतिर दुरा जातिको जीवनशैलीमा क्रमिक रूपमा आधुनिकताको पाइन चढ्न थालेको छ भने अर्कोतिर गाउँ छाडेर शहरी क्षेत्रमा बसाइँ सर्ने क्रममा पनि तीव्रता आएकोले मौलिक थातथलो रित्तिन थालेका छन् ।

विद्या आर्जनको क्षेत्रमा दुरा समुदायले क्रमिक रूपमा प्रगति गरेको पाइन्छ । आजभन्दा दुई दशक अघिसम्म दुरा समुदायमा स्नातक  तह उत्तीर्ण गर्ने व्यक्ति पाउन हम्मेहम्मे पर्दथ्यो तर अहिले आएर स्नातकोत्तर तह उत्तीर्ण गर्नेहरूका संख्या ३० को हाराहारीमा पुगिसकेको छ । हालसम्म एकजना दुराले मात्र विद्यावारिधि गरेका छन् । लमजुङ जिल्लाको कुन्छा निवासी दुर्गाबहादुर दुरा विद्यावारिधिको उपाधि पाउने दुरा समुदायको पहिलो र हालसम्म एक्लो व्यक्ति हुनुहुन्छ । 

लमजुङमा शाहवंशीय राजसंस्था स्थापना गर्न भूमिका खेल्ने खजे दुरा र ठाडो भाकाका सुप्रसिद्ध गायक देउबहादुर दुराले दुरा जातिको परिचयलाई उँचो बनाउनुभएको छ। साथै, मखमली स्वरका धनी लोकगायिका बीमाकुमारी दुराले हालका दिनहरूमा दुरा जातिको परिचयात्मक क्षितिजलाई अरू उघार्नुभएको छ । 

दुरा जातिको थातथलो

दुरा जातिको मुख्य बस्ती लमजुङ हो । दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ ले २०५४ सालमा दुरा जातिको जनसांख्यिक अवस्थाबारे गरेको अध्ययनअनुसार लमजुङमा दुराहरूको कुल जनसंख्यामध्ये लगभग ७२ प्रतिशत  बसोबास  बस्छन् । वि.सं. २०६८ को राष्ट्रिय जनगणनाअनुसार लमजुङ जिल्लामा दुरा समुदायको जनसंख्या तीन हजार एक सय ७० रहेको छ । 

जिल्ला विकास समिति (लमजङ) ले प्रकाशन गरको जिल्लागत प्रोफाइलका अनुसार लमजुङ जिल्लाको कुल जनसंख्यामा दुरा जातिको जनसंख्याले १.८९ प्रतिशत हिस्सा ओगटेको छ । लमजुङको खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, ठूलोस्वाँरा, कानेश्वाँरा, बासपानी, नेटा, कुन्छा, तान्द्राङ, बर्धान, हाँडीखोला, नास्के, लाङ्दी, पतरी, सिस्ठानी, सम्ले, सानोस्वाँरा, भदौरे, रामबजार, मादीपार (कास्की), भोर्लेटार आदि गाउँहरुमा दुराहरुको बसोबास रहेको छ ।

२०५४ सालकै अध्ययन अनुसार दुरा जातिको दोस्रो ठूलो बस्ती तनहूँ  हो, जहाँ दुराहरूको कुल जनसंख्याको मोटमोटी १६ प्रतिशत दुराहरू बसोबास गर्छन् । राम्चे गाउँ तनहूँको पुरानो दुरा बस्ती मानिन्छ । यसबाहेक शिसाघाट,  धरमपानी, सत्रसय, चिसापानी, तनहूँसुर, रामथुम्की, क्यामिन, फरकचौर आदि ठाउँमा दुरा बस्ती रहेको छ ।

समयको परिवर्तनसँगै दुरा समुदायका मानिसहरू मौलिक थातथालो  छाडेर काठमाडौं, पोखराजस्ता शहर वा नजिकको बजार क्षेत्रमा बसाइँ सर्ने परिपाटीको विकास भएको देखिन्छ । यस्तो परिपाटीको शुरुवात मूलतः लाहुरे परिवारबाटै भएको देखिन्छ । 

उदाहरणका लागि,  तनहूँको सदरमुकाम दमौली लमजुङको सुन्दरबजार, भोर्लेटार, आदि  यस्ता बस्तीहरू हुन्, जहाँ बसाइँ सरेर जाने अन्य समुदायका मानिसहरूको भीडमा दुरा समुदायका लाहुरे परिवारका मानिसहरू पनि मिसिन पुगेको देखिन्छ । 

यो क्रम धेरथोर अघिदेखि नै शुरु भए पनि सन् १९९० पछि यसले गति लिएको देखिन्छ । पछिल्लो समयमा विदेशमा कमाइ गर्ने तथा स्वदेशमा रोजगारी गर्ने गैरलाहुरे परिवारका सदस्यहरू देशका शहरी क्षेत्र वा स्थानीय बजारमा बस्ने चलन बढेर गएको देखिन्छ ।

पछिल्लो चरणमा आएर दुराहरू अन्तर्राष्ट्रिय बसाइँ सराइमा पनि सहभागी भएका छन् । यसमा मूल रूपमा लाहुरे परिवारका सदस्यहरू सामेल छन् । उनीहरू हङकङ,  बेलायत र अमेरिकामा पनि बसोबास गर्न थालेका छन् ।

बितेको आधा शताव्दीभन्दा लामो समयदेखि दुराहरू आफ्नो मौलिक थलो छाडेर देशको विभिन्न भागमा बसाइँ सरेको पाइन्छ । खासगरी तराइमा औलो नियन्त्रण हुन थालेपछि बसाइँ सराइको  गति तीव्रता आएको पाइन्छ । यो क्रम अहिले पनि जारी नै छ । 

दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ ले २०५४ सालमा लिएको जनगणनाअनुसार अहिले दुराहरू कास्की, चितवन, नवलपरासी, ओखलढुङ्गा, डोटी, काठमाडौं, ललितपुर, कैलाली, रौतहट, रामेछापलगायत देशका १२ जिल्लामा छरिएर बसेका छन् । 

डोटीको दिपालय नगरपालिकामा बसोबास गर्ने जनजातिहरूको सूचीमा दुरा जाति पनि रहेको सो नगरपालिकाको वेबसाइटमा उल्लिखित छ । यसबाहेक देशका अन्य भागमा पनि दुरा बस्तीहरू अस्तित्वमा रहेको जानकारी प्राप्त भएका छन्, तर तिनको उचित खोज–अनुसन्धान हुन सकेको छैन ।

अर्कोतिर, विगतमा दुरा समुदायको बस्ती रहेको तर हालका दिनमा त्यहाँ उनीहरूको बसोबास नभएको दृष्टान्तहरू पनि भेटिएका छन् ।   लमजुङको इशानेश्वर गाविसस्थित  चिसङ्कुमा ‘दुरा थोक’ भन्ने ठाउँ रहेको छ । त्यस्तै, रामेछाप जिल्लाको विभिन्न गाविसमध्ये एउटाको नाम हो, ‘दुरागाउँ गाविस’ । ती स्थानमा आजकल दुराहरू भेटिँदैनन् तर पनि हामी सहजै अनुमान गर्न सक्छौं, ‘दुरा थोक’ र ‘दुरागाउँ गाविस’ सँग दुरा जातिका कुनै न कुनै रूपमा नाता थियो । यस्ता स्थानहरूको इतिवृत्तबारे थप खोजअध्ययन अनुसन्धान हुन आवश्यक छ।

जनसंख्या

दुरा जातिको जनसंख्या निरन्तर रूपमा घट्दै गएको देखिन्छ । बूढापाकाको अनुमान थियो, लमजुङमा मात्र दुराहरूको जनसंख्या १० हजारभन्दा बढी छ । तथ्याङ्कले बूढापाकाको अनुमानलाई गलत  साबितमात्र गरेन, दुरा जातिको जनसंख्या निरन्तर रूपमा घट्दै गएको डरलाग्दो तस्बिर पनि अगाडि राखिदिएको छ ।

दुरा समुदायको छाता संगठन 'दुरा सेवा समाज' ले २०५४ सालमा लिएको जनगणना अनुसार दुरा जातिको कुल जनसंख्या ५ हजार ६ सय ७६ मात्र रहेको पाइयो । नेपाल सरकारले २०५८ सालमा जनगणनामा यो संख्या घटेर ५ हजार १ सय ६९ मात्र कायम रह्यो । नेपाल सरकारले पछिल्लो पटक अर्थात् २०६८ सालमा लिएको जनगणनामा दुरा जातिको जनसंख्या केही बढेर ५ हजार ३ सय ९४ पुगेको देखिन्छ  ।

दुरा समुदायको जनसंख्या निरन्तर रूपमा घट्नुका पछाडि केही कारण छन् । विगतमा कतिपय दुरा आफ्नो वास्तविक परिचय लुकाएर गुरुङ वा मगर जातिमा आफ्नो परिचय बदल्ने चलनले दुरा जातिको जनसंख्या घट्दो क्रममा रहेको छ ।

विगतमा गाउँका गाउँ दुराहरूले आफ्नो परिचय बदलेर अन्य जातिमा परिणत भएको प्रसंग बूढापाकाहरुको मुखबाट प्रशस्त सुन्न पाइन्छ । विगतमा पाँच मोहर (दुई रुपैयाँ पचास पैसा) तिरेर दुराबाट गुरुङ बन्न पाउने प्रचलन रहेको थियो । यसरी परिचय बदल्ने दुराहरू आज पनि ‘पाँच मोहरे गुरुङ’ भनेर चिनिन्छन् । 

 आजकल यस्तो चलन भेटिँदैन । यो चलन कहिलेदेखि अन्त्य भयो भनेर कालक्रम निर्धारण गर्न गाह्रो छ । दुरा समुदायका कतिपय मानिसहरूको पाँच मोहर तिरेर गुरुङ बनेका परिवारजनहरूसँगको नातापाता कायमै छ र चाडवाड र भोजभतेरमा आउजाउ अझै पनि जारी नै छ ।

दुरा जातिको जनसंख्या घट्नुको अर्को कारण हो, घढ्दो जन्मदर । २०६८ सालको जनगणनाले  पनि राष्ट्रव्यापी रूपमै जन्मदर घटेको देखाएको छ । यसको प्रभाव दुरा समुदायमा पनि परेको देखिन्छ । धेरै सन्तान हुँदा आइपर्ने आर्थिक बोझप्रति नयाँ पुस्ताका जोडीहरू सचेत देखिन्छन् । यसबाट पनि अल्पसंख्यक दुरा जातिको जनसंख्या घट्दो छ, जुन चिन्ताको विषय हो । ।

दुरा भाषा

पहिले पहिले ‘दुरा कुरा’ भनेर चिनिने ‘दुरा भाषा’ को अवस्था नितान्त दयनीय छ । भोट–बर्मेली भाषा परिवारभित्रको एउटा बेग्लै शाखा मानिने यो भाषा बोलीचालीबाट हटिसकेको छ । त्यसैले दुरा समुदायका मानिसहरू ‘खस भाषा’ मै कुरा गर्छन् । यद्यपि दुरा भाषाको अवशेष बोलीचालीमा अभै पनि भेटिन्छ । दुरा समुदायका मानिसहरू एकआपसमा खस भाषामा बोल्दा दुरा भाषाका शब्द मिसिएर आउने गरेको पाइन्छ । जस्तै : गुमा (माइजू), छिम् (नेर), लाखु (बाँदर), माकुली (इन्द्रेणी), मूसी (सानी आमा), कोर्जे (सरसामान,दस्तुर), पाही (दूरी) आदि ।

दुरा भाषाको खोज–अनुसन्धानमा केही प्रयास भएका छन् । कानेस्वाँरा (लमजुङ) का वीरबहादुर दुरा र तुर्लुङकोट (लमजुङ) का केशबहादुर दुरा (जन्म: वि. सं.२००० ) ले दुरा भाषाको खोज–अनुसन्धानमा योगदान दिनुभएको छ । उहाँहरूले गाउँ गाउँ डुलेर दुरा भाषाका थुप्रै शब्द संकलन गर्नुभएको छ । केशबहादुर दुराले संकलन गर्नुभएको दुरा भाषाको २,२०० शब्दका आधारमा दुरा भाषको अध्ययन–अनुसन्धान कार्य अघि बढेको छ । 

मनका कुरा : २०७० सालमा काठमाडौंमा आयोजित 'दुरा भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम'  मा बोल्दै 'दुरा भाषा संरक्षण समिति' का संयोजक मिथुन दुरा ।


लमजुङको जीता निवासी मुक्तिनाथ घिमिरे (२००९ सालमा जन्म) ले २०४९ सालमा ‘दुरा भाषाको व्याकरणात्मक स्वरूप’ शीर्षकमा शोधपत्र तयार पार्नुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तहमा अध्ययनरत रहँदा त्यस शोधपत्र तयार पार्नुभएको थियो ।

यसैगरी २०५७ सालमा दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ ले ‘दुरा जातिको भाषा, परम्परा र संस्कृति’ नामक पुस्तक प्रकाशन भएको थियो । त्यस पुस्तकमा पनि दुरा भाषाका शब्दहरू समावेश गरिएका थिए । २०६० सालमा १ हजार ५ सय शब्द र २ सय ७७ वाक्य समावेश गरेर ‘दुरा भाषाको शब्दकोश’ निकालिएको थियो । विसं २०६८ सालमा डा. माधव पोखरेल र मुक्तिनाथ घिमिरेको प्राज्ञिक सहयोगमा दुरा भाषाको वर्ण निर्धारण गरिएको थियो । यी काम सम्पन्न गर्नका आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सहयोग गरेको थियो ।

विगतमा दुरा समुदायमा दुरा भाषा बोल्ने व्यक्तिहरू भेटिन्थे । लमजुङ ठुलोस्वाँराका चन्द्रसिंह दुरा, सन्तु दुरा (जिमु. भीमबहादुर दुराकी आमा), ल्हासाली दुरा, बुदुनीमाया दुरा (नास्के) जस्ता पुराना व्यक्तिहरूले दुरा भाषा बोल्नुहुन्थ्यो भन्ने जानकारी बूढापाकाबाट पाइन्छ । ल्हासाली दुराले त दुरा भाषाको अतिरिक्त, नेपाली, तिब्बती, नेवार एवम् गुरुङ भाषा पनि बोल्नुहुन्थ्यो भन्ने जानकारी उहाँका नाति लेफ्टिनेन्ट तुलबहादुर दुराबाट प्राप्त भएको छ । 

लमजुङको भाँगु गाउँ निवासी ८५ वर्षीय नरबहादुर दुरा आफ्नो आमा र बज्यै दुरा भाषा बोल्ने गरेको संस्मरण सुनाउनुहुन्छ  । उहाँ दुरा भाषाका केही शब्द वा वाक्य फाट्टफुट्ट बोल्न सक्नुहुन्छ । तर,  दुरा भाषा पूरापुर बोल्न सक्तैनन् । आफू जन्मनुभन्दा धेरै अघिदेखि नै ‘दुरा कुरा’ बोल्ने चलन हराइसकेकोले आफूले मातृभाषा बोल्न नजानेको उनको भनाइ छ ।

लमजुङको बर्धान गाउँ निवासी सोमामाया दुरा पनि दुरा भाषाको वक्ताको रूपमा चिनिन्छन्  । उनको उमेर नरबहादुर दुराकै हाराहारीमा छ ।  दुरा भाषाका अध्येताहरूले उनीबाट पनि दुरा भाषाका थुप्रै शब्द संकलन गर्नुभएको छ ।

हराउँदै गएको दुरा भाषालाई फेरि जगाएर बोलीचालीमा ल्याउनुपर्ने देखिन्छ तर सम्पर्क भाषा नेपाली (खस कुरा) र विश्व भाषा अङ्ग्रेजीले स्थान ओगटिसकेको बेलामा यो नितान्त चुनौतीपूर्ण बन्न गएको छ । दुरा भाषाको संरक्षण र सम्वर्धनका लागि प्राज्ञिक खोज–अनुसन्धान र व्यवहारिक प्रयोगका पयहरूलाई निरन्तरता दिनुपर्ने देखिन्छ । दुरा भाषाबारे केही जानकारी राख्ने व्यक्तिहरू दुरा समुदायमा अझै पनि हुनुहुन्छ । उहाँहरूको दक्षतालाई उपयोग गरेर दुरा भाषा जोगाउनतिर लाग्नु अत्यावश्यक भइसकेको छ ।


लोकसंस्कृति

लोकसंस्कृतिमा दुरा समुदाय निकै धनी मानिन्छ । सती घाँटु, कृष्ण चरित्र, सोरठी, ठाडो भाका, स्यार्गाजस्ता लोकसांस्कृतिक निधिहरू दुरा समुदायको परिचायक बनेका छन् । जन्म, विवाह एवम् मृत्यु संस्कार पनि आफ्नै किसिमको छ । भोजभतेर र रामरमितामा बढी समय खर्च गर्ने दुरा सुमदायको जीवनशैली लोकसांस्कृतिक निधिबाट सुसज्जित छ । 

पहिले पहिले दुरा समुदायका हरेक मानिस लोकसंस्कृतिको मर्मज्ञ मानिन्थ्यो । सात दिन, सात रातसम्म गीत गाउने र नाँच्ने गर्दा पनि नथाक्ने भनेर ख्याति कमाएका देउबहादुर दुराको चर्चा उहाँ यस धर्तीबाट अस्ताएको लगभग ७८ वर्ष बितिसक्दा पनि सेलाएको छैन ।

यसै प्रसंगमा एकैछिन यसै क्षेत्रका एकजना प्रतिनिधि पात्रको कुरा गरौं । उहाँको नाम हो, मनिराम दुरा । उहाँ देउबहादुर दुरा पछि लोकसंस्कृतिको धरोहर मानिनुहुन्थ्यो । हाल परलोक भइसक्नुभएका मनिराम दुराको नाम ठाडो भाका गीतमा अग्रपङ्क्तिमा आउँछ । यसका अतिरिक्त दुरा एवम् गुरुङ समुदायको मृत्युसंस्कारमा प्रचलित स्यार्गा (अर्घौं) नाँच्न जान्ने शिल्पीको रूपमा पनि उहाँको नाम श्रद्धापूर्वक लिइन्छ । 

भनिन्छ, उहाँले स्यार्गामा १८ ताल (Beat) सम्म दिन सक्नुहुन्थ्यो । निकै प्रवीण मानिएको व्यक्तिले पनि अहिले ८–९ तालभन्दा बढी दिन नसक्ने अवस्था छ । बूढापाकाहरू भन्छन्, उनीजस्ता प्रतिभावान् व्यक्ति यस क्षेत्रमा आजसम्म जन्मेकै छैनन् ।

उहाँले  यस क्षेत्रमा प्रसिद्धि कमाएकोले नै स्यार्गाका नाँचका लागि उहाँलाई लमजुङका थुप्रै गाउँहरुबाट निम्ता आउँथे । । जनकवि केशरी धर्मराज थापाद्वारा लिखित पुस्तक ‘लोकसंस्कृतिको घेरामा लमजुङ’ मा स्यार्गा नाँचका लागि मनिराम दुरालाई निम्ता आउने ठाउँहरूको सूची दिइएको छ, जसमा लमजुङको जिता, तान्द्राङ, गिलुङ, डढुवा, मालिङ, तीन गाउँ, चौध खोलालगायतका ३० भन्दा बढी गाउँहरूको नाम उल्लिखित  छ  (पृ.४४१) ।

दुरा समुदायले लोकसंस्कृतिको क्षेत्रमा गौरवमय इतिहास रचेको भए पनि अब क्षयीकरण शुरु भएको छ । दुरा बस्तीहरूमा सांस्कृतिक अधपतनको युग शुरु भएको अनुभूति मिल्छ ।

समयको बदलिंदो प्रवाहसँगै यी सांस्कृतिक निधिमा तीव्र ह्रास शुरु भएको छ । पुराना पुस्ताका प्रतिभाहरू संसार छाडेर जाँदैछन् । नाँच र घाँटुका गुरुबाउ र पारखीहरू एकपछि अर्को गरी अस्ताउँदैछन् । उनीहरूको प्रतिभा र सीप नयाँ पुस्तामा राम्ररी हस्तान्तरण हुन पाएको छैन । नयाँ पुस्ता ‘पपसंस्कृति’ र ‘टेलिसंस्कृति’ मा मस्त हुने क्रम अपूर्व रूपमा बढेको छ । समयले ल्याएको यो स्वाभाविक परिवर्तनबाट अल्पसङ्ख्यक दुरा समुदायको अस्तित्व संकटमा परेको त छ नै, हाम्रा लोकसांस्कृतिकमा निधिमा घुनपुत्ला लाग्ने क्रममा तीव्रता आएको छ ।

प्रसिद्ध गायक देउबहादुर दुराको अवसानपछि ‘कहाँ गयौ देउबहादुर दुरा, शून्य भयो कर्पुटार बजार’ भन्ने गीत हरेक व्यक्तिको मुखमा झुण्डिन थाल्यो । यो गीत अहिले पनि गाउँबस्तीमा गुञ्जिन छाडेको छैन । हाम्रो लोकसंस्कृति अधपतनतर्फ गइरहेको घडीमा यो गीतको प्रतीकात्मक अर्थ झन प्रबल र सान्दर्भिक हुँदै गएको छ, जसले लोकसंस्कृतिप्रेमीहरूलाई आजभन्दा भोलि भोलिभन्दा पर्सि झन् झन् मर्माहत तुल्याउँदै लैजाने अवस्था छ ।

 उपसंहार

अहिले देशले एकतिर बहुलवादलाई  अङ्गालेको छ भने अर्कोतिर बहुलवादको परिचायक मानिने सांस्कृतिक  विविधता र निधिहरू हराउँदैछन् । यसप्रकारको विरोधाभासपूर्ण र विडम्बनापूर्ण अवस्थासँग जुध्नुपर्ने गरी समयले हाम्रो परीक्षा लिंदैछ ।

नेपालको विविधतापूर्ण जातजातिहरूमध्ये एक मानिने दुरा समुदायको जनसंख्या निरन्तर घढ्दो छ, मातृभाषा मृतप्रायः अवस्थामा छ, अवसरको खोजीमा दुराहरूले मौलिक थलो छाड्दैछन् र  भएगेरका लोकसंस्कृति छिटो छिटो गरी अधपतनको दिशातर्फ गइरहेको छ । यो एउटा जटिल र गम्भीर परिस्थिति हो । 

दुरा समुदायको यही परिस्थिति देखेर होला नगेन्द्र शर्माले दुरा समुदायको अवस्थाप्रति चिन्ता प्रकट गरेका छन् । उनी लेख्छन् :
'...दुराहरूको संख्या धेरै छैन र समयमा संरक्षण हुनुपर्ने अल्पसङ्ख्यक जातिहरूमध्ये यिनलाई पनि गणना गर्न सकिन्छ, नत्र यिनीहरूको विशिष्ट संस्कृति समयको गर्भमा आत्मसात् हुन बेर नलाग्ला भन्ने शङ्का उठ्नु स्वाभाविक छ' (पृ. ५६) ।

दुरा जातिको भविष्यबारे नगेन्द्र शर्माले प्रकट गरेको विचार नितान्त सान्दर्भिक देखिन्छ । दुरा जातिको भाषा, घट्दो जनसंख्या संस्कृति र जनजीवनका विविधतापूर्ण आयामलाई बचाउन समुदायस्तर र सरकारीस्तरबाट विशेष कार्यक्रमहरू ल्याउन आवश्यक छ ।  दुरा समुदायको उत्थानका लागि सरकारीस्तरबाट केही प्रयास नभएका होइनन् । यस दिशामा दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ ले पनि प्रयास नगरेको होइन । 

यी  प्रयासहरू पर्याप्त देखिँदैनन् । यसका लागि अभियानकै रूपमा विशेष कार्यक्रम ल्याइनु आवश्यक छ, जसले दुरा जातिको मृतप्राय भाषा, घट्दो जनसंख्या, पतनोन्मुख संस्कृति र विचलनको दिशातिर उन्मुख मौलिक जीवनशैलीलाई बचाउन सकोस् । यो उद्देश्य पूरा गर्नका लागि साझा अभियान र साझा प्रयास आवश्यक छ ।

सन्दर्भ सामग्री

गौतम, राजेश, थापा मगर, अशोककुमार । सन् १९९४ । ट्राइबल इथ्नोग्राफी अफ नेपाल (भोल्युम १) । पृ. १९२–२१६ । दिल्ली : बुक फेथ इन्डिया ।

थापा, धर्मराज । २०४१ । लोकसंस्कृतिको घेरामा लमजुङ्ग । पृ. ४१६–४४२ ।  काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठन ।

दुरा जातिको, भाषा परम्परा र संस्कृति । २०५७ । काठमाडौं : दुरा सेवा समाज ।

दुरा भाषाको शब्दकोश । २०६० । काठमाडौं : दुरा सेवा समाज ।

दुरा सेवा समाज :एक चिनारी (ब्रोसर) । सन् २००७ । काठमाडौं : दुरा सेवा समाज ।

पराजुली, कृष्णप्रसाद  (सं)। (२०५८ पाँचौ संस्करण) । नेपाली बृहत् शब्दकोश । काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

शर्मा, नगेन्द्र ।  २०६३ (चौथो संस्करण) । नेपाली जनजीवन । पृ.५६–५७ । काठमाडौं : साझा प्रकाशन ।

वेबसाइट

जिल्ला विकास समिति (लमजङ) । DDC Lamjung.
Retrieved from  http://www.ddclamjung.gov.np/index.php?option=com_content&view=... Accessed on Feb.11, 2014.

दिपायल सिलगढी नगरपालिका
Retrieved from  http://www.dipayalsilgadhimun.gov.np/index.php/content_pages/view/8  Accessed on Feb 5, 2014.


[साभार : लमजुङ महोत्सव-२०६८ (स्मारिका) । परिमार्जित संस्करण]

सूचना : लेखक अनुसन्धाताहरुले यस लेखमा प्रयोग भएका जानकारीलाई आवश्यकता अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।  जानकारी प्रयोग गर्दा स्रोत उल्लेख गरिदिनुहोला । कृपया,  विद्तपरम्परा र अनुसन्धान संस्कृतिलाई सम्मान गरौँ ।


[अद्यावधिक : २०७१।०३ ।०८, २०७१।०३।१२, २०७१।०३।२, २०७१।०३।२४, २०७१।०३।३१,२०७१।०१, २०७१।०३।०३, २०७७।०४।१५]

No comments:

Post a Comment