Saturday, July 5, 2014

एक लोकनायक

–यमबहादुर दुरा

‘यदि तिमी तिम्रो बच्चालाई बुद्धिमान बनाउन चाहन्छौ भने उनलाई परीकथा पढ्न देऊ । उनलाई अझ बुद्धिमान बनाउन चाहन्छौ भने अझ बढी परिकथा पढ्न देऊ ।’ सापेक्षतावाद सिद्धान्तका प्रतिपादक भौतिकशास्त्री अल्वर्ट आइन्सटाइनको यो भनाइ अमेरिकी लोकसाहित्यविद एलन डन्सका अभिभावकले व्यवहार लागू गरे वा गरेनन्, थाहा छैन । तर उनले जीवनमा बौद्धिक उचाइ प्राप्त गरेरै छाडे । समाजमा लोकसाहित्यको आलोक फैलाउने काममा उनको महत्वपूर्ण भूमिका रह्यो ।

अमेरिकाको न्युयोर्क शहरमा सन् १९३४ सेप्टेम्बर ८ तारिखमा जन्मेका एलन डन्स् लोकसाहित्यका ‘आइकन’ मानिन्छन् । न्युयोर्क शहरकोे चकमधमकपूर्ण परिवेशमा हुर्केका उनको मन शहरको रुमानी दुनियाँमा भन्दा अन्तै रमायो । उनले बहुसंख्यक मानिसले लत्याएका लोकसाहित्यमा दिलचस्पी देखाए । विकासको लहर र आधुनिकताको छालले लोकसाहित्यको साम्राज्यलाई निरन्तर धक्का मारिरहेको घडीमा एलन डन्स् त्यही लोकसाहित्यको उपासक बनेर देखा परे । अहिले उनी लोकसाहित्यका अध्येताहरूबीच एउटा ‘शिखर व्यक्तित्व’ ठहरिन्छन् ।

उनका पिता वकिल तथा संगीतकार थिए । उनलाई आर्थिक समस्या थिएन । यल विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातक र स्नातकोत्तर गरेपछि उनले सन् १९६२ मा इन्डियाना विश्वविद्यालयबाट लोकसाहित्यमा विद्यावारिधि गरे । विद्यावारिधि  पूरा गरेलगत्तै युनिभर्सिटी अफ कन्सासमा एक वर्ष अङ्ग्रेजी पढाए । सन् १९६३ देखि युनिभर्सिटी अफ क्यालिफोर्निया (बर्कले) को मानवशास्त्र विभागमा लोकसाहित्य पढाउन शुरु गरे । लोकसाहित्यको अध्ययन–अध्यापनमा उनको यति दिल बस्यो, मृत्युपर्यन्त त्यही विश्वविद्यालयमा लोकसाहित्य पढाए । उनी लोकसाहित्यमा अध्ययन–अध्यापनमा अन्तर्राष्ट्रिय अनुभवहरूको आदन–प्रदान हुनुपर्छ, यसले लोकसाहित्यको अन्तर्राष्ट्रिय बुझाइ र समझदारी बढाउँछ भन्ने मान्यता राख्थे । यसअनुरूप उनले देश–विदेशका लोकसाहित्यविदहरूलाई ‘गेष्ट लेक्चर’ बोलाउँथे ।

लोकसाहित्य अपरिष्कृत र हल्काफुल्का विषयको अभिव्यक्ति हो भन्ने गलत बुझाइको एलन डन्स् सधैँ प्रतिवाद गर्थे । सामाजिक अस्तित्वका लागि लोकसाहित्य व्यापक, अभिन्न र महत्वपूर्ण विषय हो भन्नेमा उनी गहिरो विश्वास राख्थे । उनी भन्थे, लोकसाहित्यको अध्ययन तथा अभिलेखीकरणबाट संस्कृति र मानवीय व्यवहारको गतिशीलताबारे आभ्यन्तरिक ज्ञान पाउन सकिन्छ । त्यसैले उनी लोकसाहित्यलाई समाज र संस्कृतिको ऐना भन्थे । त्यतिमात्र होइन, उनी लोकसाहित्यलाई सामाजिक अन्याय र हैकमवादविरुद्ध आवाज उठाउने माध्यमको रूपमा चित्रण गर्थे । उनको दृष्टिमा मानिसका अवचेतन मनमा रहेका ताप–सुर्ताहरूलाई विम्बको माध्यमबाट निकास दिने माध्यम पनि लोकसाहित्य नै हो ।

एलन डन्स् लोकसाहित्यलाई सर्वाधिक महत्वको विषय ठान्थे । लोकसाहित्यलाई महत्वहीन विषय ठानेर हल्का टिप्पणी गर्नेहरूलाई उनी गतिलो जवाफ दिन्थे । अमेरिकी समाचारपत्र ‘द न्युयोर्क टाइम्स’ मा सन् १९८५ मा प्रकाशित उनको भनाइलार्ई उद्ध्रृत गर्दै अमेरिकी लेखिका मार्गलिट फक्सले सोही समाचारपत्र (अप्रिल २, २००५) को अनलाइन संस्करणमा लेखेकी छिन्, ‘लोकसाहित्य कुनै मामुली विषय होइन । यो एउटा गम्भीर विषय हो, जसमा जीवनको सारतत्व भेटिन्छ ।’

उनले लोकसाहित्यबारेको त्रुटिपूर्ण सामाजिक दृष्टिकोण सच्याउन थुप्रै प्रयत्न गरे । एशिया र युरोपका कतिपय लोकसाहित्यविदहरूले लोकसाहित्यलाई नितान्त साँगुरो दायरामा राखेकाले त्यसको दायरा फराकिलो पार्न उनले मिहेनत गरे ।

लोकसाहित्य अलिखित हुन्छ भन्ने सोंचलाई भत्काउन उनले लोकसाहित्य लिखित पनि हुन्छ भन्ने दृष्टान्त बुद्धिमत्तापूर्ण लेखहरूमार्फत पेश गरे । लोकसाहित्यमा सुदूर अतीतका विषयवस्तुमात्र हुन्छन् भन्ने मान्यतालाई चुनौती दिन समसामयिक लोकसाहित्यको अवधारणा अघि सारे । लोकसाहित्यमा खेत–खलिहान र गाउँबस्तीका मात्र प्रसंग समेटिन्छन् भन्ने आमबुझाइलाई चिर्न शहरी लोकसाहित्य, कार्यालय लोकसाहित्यदेखि  ‘जुडिसियल जोक्स’ (न्यायिक क्षेत्रमा विद्यमान ठट्टा) सम्मका प्रसंग जनसमक्ष ल्याए ।

विश्वविद्यालयमा हरेक वर्ष हुने लोकसाहित्यको अनुशिक्षण (ओरिएन्टेसन) कार्यक्रममा उनी आकर्षणको केन्द्रविन्दु बन्थे । उनी रमाइला किस्सा र ठट्टा भनेर उद्घाटन भाषण गर्थे । यस्तो शैली उनकोे ‘ब्रान्ड’ नै बनेको थियो । उनको चुम्वकीय व्यक्तित्वबाट विद्यार्थीहरू मोहित हुन्थे । उनी आफ्ना विद्यार्थीहरू समक्ष लोकसाहित्यको इतिहास, लोकसाहित्यको सिद्धान्त, लोकसाहित्यबारे अन्तर्राष्ट्रिय दृष्टिकोणजस्ता विषयमा विशद ज्ञान पस्कन्थे । अध्यापनको क्रममा लोककथा, उखान, गाउँखाने कथा,  मिथक, रैथाने ठट्टा, लोकविश्वास, अनुश्रुति, आहार पद्धति, खेलजस्ता लोकसाहित्यसँग गाँसिएका विषयको पित्र बुझउँथे ।

उनी आफ्ना विद्यार्थीहरूलाई लोकसाहित्य अध्ययन र खोजखनिज गर्ने काममा जोताउनुसम्म जोताउँथे । काममा निर्घातसँग जोतिएका आफ्ना विद्यार्थीहरू देखेरमा उनमा दया पलाउँथ्यो र केही समय कामबाट छुटकारा लिएर बिन्दास बन्न उनीहरूलाई उस्काउन पनि पछि पदैनथे । उनी आफ्ना चेलाचेलीलाई मायालु किसिमले सम्झाउँथे, ‘वर्तमानमा रमाउनका लागि समय निकाल । वर्तमानको मजा लिऊ । मृत्युको चिन्ता नगर । अमेरिकी संस्कृतिले भविष्य बनाउनका लागि भनेर वर्तमानको उत्पात अवहेलना गरेको छ । भोलि  आउँछ वा आउँदैन, के भर छ र !’

लोकसाहित्यको ‘ग्र्याजुएट कोर्स’ हुञ्जेलसम्म प्रत्येक विद्यार्थीले अन्तिम ‘प्रजेक्ट वर्क’ स्वरूप लोकसाहित्यका ४० ‘आइटम’ संकलन, पहिचान र विश्लेषण गर्नुपर्दथ्यो । विद्यार्थीले संकलन गरी पेश गरेका लोकसाहित्यका विविधतापूर्ण विषयवस्तु (‘आइटम’) हरू अन्ततः विश्वविद्यालयको सम्पत्ति बन्थे । ती ‘आइटम’ भण्डारण गर्नका लागि एउटा अभिलेखालय नै खडा गरिएको थियो । ‘बर्केली फोकलोर अर्काइभ’ नामले परिचित उक्त अभिलेखालयमा लोकसाहित्यका विविध पक्षसँग गाँसिएका करिब पाँच लाख ‘आइटम’ जम्मा भइसकेका छन् । संकलित ‘आइटम’ हरूको ‘क्याटलग’ पनि तयार भइसकेको विश्वविद्यालयको वेबसाइटमा उल्लिखित छ ।

थुप्रै पुस्तक तथा जर्नलमार्फत दुनियाँसामु लोकसाहित्यको मर्म र धर्मबारे गहन विचारहरू पोख्न सफल एलन डन्सका कृतिहरू संसारभर रुचिपूर्वक पढिन्छन् । उनले लोकसाहित्यबारे २५० भन्दा बढी विद्वतापूर्ण लेख लेखेका छन् । उनको सम्पादन तथा सहलेखनमा २० वटाभन्दा बढी पुस्तक प्रकाशित छन् । सबै गरेर उनका चालीसवटा पुस्तक प्रकाशन भइसकेका छन् । ‘द स्टडी अफ फोकलोर’ (१९६५), ‘इन्टरप्रेटिङ फोकलोर’ (१९८०), ‘फोकलोर म्याटर्स्’ (१९९३), ‘द भ्याम्पायर : अ केस स्टडी’ (१९९८), ‘द मिनिङ अफ फोकलोर’ (२००७) आदि उनका अत्याधिक मन पराइएका कृति मानिन्छन् । यिनीहरूमध्ये शीर्षस्थान ओगट्न सफल कृति हो, ‘द स्टडी अफ फोकलोर’ (१९६५) । अहिलेसम्म २६ पटक पुनःमुद्रिण यो पुस्तकलाई लोकसाहित्यका अध्येताहरू एउटा विशिष्ट मानक ग्रन्थ मान्छन् ।

उनी युनिभर्सिटी अफ क्यालिफोर्निया (बर्केली) को मानवशास्त्र विभागमा लोकसाहित्य पढाउने फ्याकल्टीको रूपमा प्रवेश गरेपछि ‘अम्यारिकन फोकलोर सोसाइटी’ (अमेरिकी लोकसाहित्य समाज) को सदस्य हुँदै अध्यक्षसम्म बने । त्यहाँ रहेर उनले लोकसाहित्यको प्राज्ञिक उन्नयनका पक्षमा धेरै रचनात्मक काम गरे । उनको योगदानको एकप्रकारले विश्वभरि नै प्रशंसा हुन थाल्यो । यस क्रममा उनले सन् १९९३ मा विश्व  ‘पिप्रे प्राइज’ प्राप्त गरे । इटालीका चर्चित लोकसाहित्यविद जुसेपे पिप्रे (सन् १८४१–१९१६) को नाममा स्थापित ‘पिप्रे प्राइज’ विश्व लोकसाहित्यमा विशिष्ट योगदान दिने व्यक्तिलाई प्रदान गरिन्छ ।  पिप्रे पुरस्कार पाएपछि उनको प्रतिष्ठा र चिनारीले थप उचाइ लियो । उनी सन् २००१ मा सार्वजनिक नीतिबारे ‘रिसर्च’ गर्ने संस्था ‘अम्यारिकन अक्याडमी अफ आर्टस् एण्ड साइन्सेस’ मा चुनिए । सो संस्थामा चुनिने उनी लोकसाहित्य क्षेत्रका पहिलो व्यक्ति हुन् ।

७० वर्षको जीवनकालमा उनले ४२ वर्ष लोकसाहित्यको श्रीवद्धिमा बिताए । उनले जर्मन, इटालियन, अफ्रिकन एवम् लिथुवानियन लोकसाहित्यको अध्ययन गरेर त्यहाँको लोकजीवनको ढुकढुकी सुन्ने प्रयास गरे । उनी अमेरिकी आदिवासी, यहुदी एवम् मुसलमान समुदायमा प्रचलित लोकसाहित्यमा डुबुल्की मार्न पुगे र मानवीय साइनोलाई अझ दरिलो बनाए । जीवनको अन्तिम घडीतिर उनले जापानको राष्ट्रिय चरित्रलाई लोकसाहित्यको कसीमा राखेर अध्ययन गरे । उनले लोकसाहित्यको सैद्धान्तिक, मनोविश्लेणात्मक, संरचनागत तथा ऐतिहासिक पक्षको गहन अध्ययन र विश्लेषण गरे । विषयवस्तुको विपुल विश्लेषण तथा  विचार पस्काइमा मौलिकता उनको प्राज्ञिक विशेषता थियो । यी सबै गुनिलो काम देख्दा उनको जन्म लोकसाहित्यको श्रीवृद्धिकै लागि भएको हो जस्तो लाग्छ ।

एलन डन्स आफ्ना प्राज्ञिक अभिव्यक्तिका कारण विवादमा पनि तानिए । उनले बाइबलको ‘न्यु टेस्टामन्ट’ र इस्लाम धर्मग्रन्थ ‘कुरान’ बारे लेखेको लेख विवादास्पद ठहरिए । अमेरिकी फुटबल पद्धतिलाई समेटेर लेखिएको लेख ‘इनटु द एण्डजोन फर अ टचडाउन’ को अन्तरवस्तुलाई लिएर उनले ज्यानको धम्कीसमेत पाए । सन् १९८० मा अमेरिकी लोकसाहित्य समाजको सम्मलेनमा संस्थाको तत्कालीन अध्यक्षको नाताले भाषण गर्दा उनले जर्मनीको राष्ट्रिय चरित्रबारे प्राज्ञिक टिप्पणी गरे । उनको भाषण मनग्राफको रूपमा छापियो, ‘लाइफ इज लाइक अ चिकन कुप ल्याडर’ शीर्षक दिएर । यसका कारण उनी निकै आलोचित भए । त्यसपछि उनले अमेरिकी लोकसाहित्य समाजको सम्मेलनमा बीस वर्षसम्म भाग नलिने निधो गरे । लामो समयको अन्तरालपछि सन् २००४ मा उनले अमेरिकी लोकसाहित्य समाजको सम्मेलनमा भाग लिए ।

सन् २००० मा उनको जीवनमा एउटा अपत्यारिलो घटनाले ठाउँ ओगट्यो । उनको नाममा एउटा बेनामी खाम आयो । उनले त्यो खाम आफ्नी श्रीमती क्यारोलिनलाई खोल्न लगाए । उनले १ हजार डलरको चेक भनेर पढिन् । वास्तवमा त्यो दश लाख अमेरिकी डलरको चेक थियो ।  सन् १९६० को दशकमा उनीसँग पढेका पूर्वविद्यार्थीले अज्ञात रूपमा त्यो रकम उपलब्ध गराएको थियो ।

उनले त्यो रकम आफ्नो व्यक्तिगत स्वार्थमा नभई लोकसाहित्यको श्रीवृद्धिमा लगानी गर्ने निधो गरे । प्राप्त धनराशी विश्वविद्यालयलाई हस्तान्तरण गरे । त्यस धनराशीबाट लोकसाहित्यका प्राध्यापकलाई विद्वतवृत्ति र विद्यार्थीहरू छात्रवृत्ति प्रदान गरिँदै आएको छ । त्यसबाट विश्वविद्यालयको लोकसाहित्यसम्बन्धी अभिलेखालय व्यवस्थित बनाउने काम भएको छ ।

लोकसाहित्य र लोकसाहित्यका प्राध्यापकलाई माया गरेर त्यो धनराशी अर्पिने गुनी विद्यार्थी को थियो ? रहस्यकै गर्भममा लुकेको छ ।

एलन डन्स बौद्धिक क्षमताको उचाइमा रहेकाले समकालीन लोकसाहित्यको शीर्षव्यक्तित्व मानिन्थे । उनका तिलस्मीे प्रतिभा देखेर उनका प्रशंसक र अनुयायीहरू अचम्मित थिए । यी तिलस्मी व्यक्तिले मानव चोला पनि तिलस्मी ढङ्गमा फेरे ।

सन् २००५ मार्च ३० । अपरान्हको समय । उनी ‘ग्र्याजुएट सेमिनार’ मा लोकसाहित्यको सिद्धान्त र विधिबारे बोलिरहेका थिए । विद्यार्थीहरू उनका ‘लेक्चर’ रुचिपूर्वक सुनिरहेका थिए । तर अचम्म ! बोलेको वाक्य पनि पूरा गर्न नपाउँदै उनी फिल्मी शैलीमा ढले । उनलाई हतारहतार अस्पताल पुर्याइयो तर बचाउन सकिएन । दिन ढल्दानढल्दै उनको जीवन पनि ढल्यो । उनी भौतिक अनुपस्थिति यस दुनियाँमा छैन । तर पनि उनका घतलाग्दा पुस्तकाकार कृति, शोधप्रेमी र विनयशील विद्यार्थी एवम् विश्वविद्यालयमा रहेको लोकसाहित्यसम्बन्धी अभिलेखालयबाट उनको प्राज्ञिक विरासत धानिएको छ ।

[साभार: अन्नपूर्ण पोस्ट 'फुर्सद' पृ. 'ग', (असार २१, २०७१)। इन्टरनेटमा उपलब्ध सामग्रीहरूमा आधारित । तस्बिर : इन्टरनेट]

[अद्यावधिक: २०७१।०३।३०, २०७१।०३।३१]

No comments:

Post a Comment