Saturday, July 26, 2014

‘हलो क्रान्ति’ को सन्देश


–यमबहादुर दुरा

वि.सं. २००७ को राजनीतिक क्रान्तिको पूर्वसन्ध्यमा लमजुङको दुराडाँडामा तत्कालीन नेपाली समाजलाई चकित तुल्याउने एउटा घटना घट्यो । घटना थियो, व्राह्मणले हलो जोत्नु । अहिलेको आँखाले हेर्दा त्यो सामान्य घटना थियो तर तत्कालीन समयमा त्यो असामान्य घटना थियो । व्राह्मणले हलो जोत्नु परम्परागत मान्यतासँग मेल नखाने कुरा थियो । यद्यपि व्राह्मणले हलो जोत्न हुँदैन भन्ने कुरा कुनै पनि शास्त्रमा लेखिएको थिएन । यही तर्कलाई अघि सारेर २७ जना व्राह्मणले २००६ साल साउन ११ गते दुराडाँडामा अर्चल्यानी भन्ने ठाउँमा हलो जोतेको इतिहास छ । यस कार्यको अगुवाइ गर्नेहरूमा लेप्टेन शेषकान्त अधिकारी (वि.सं. १९५१–२०५१), पण्डित तोयनाथ अधिकारी (वि.सं. १९६५–२०२१), श्रीकान्त अधिकारी (वि.सं. १९८४–२०६९) लगायतका व्यक्तिहरू हुनुहुन्थ्यो ।

आजभन्दा ६५ वर्षअघिको ग्रामीण समाज । त्यतिबेलाको सामाजिक र राजनीतिक परिवेश निश्चय नै आजको जस्तो  थिएन । शताव्दीऔं अघिदेखि कतिपय गुरुपुरोहितद्वारा स्वार्थवश प्रवाहित भाग्यवादी चिन्तनधाराका कारण समाज राजनीतिक हिसाबले जुझारु बन्न सकेको थिएन । सर्वसाधारण नागरिकले भाग्यवादलाई जीवनको मार्गदर्शक सिद्धान्त ठानिरहेका थिए । उनीहरू भाग्यवाद र अशिक्षाले निम्त्याएको वैचारिक अन्धकारमा रुमल्लिरहेका थिए र शासकका प्रत्येक राम्रा–नराम्रा कामहरूलाई चुपचाप शिरोपर बाध्य थिए ।

अज्ञानताबाट मलजल मिलेको भाग्यवादमा आधारित त्यसबेलाको समाज राणा शासकका लागि एकप्रकारले उर्वरभूमि थियो । समाजमा समसामयिक सामाजिक तथा राजनीतिक परिवेशलाई रौंचिरा गर्नसक्ने पढेलेखेका नागरिकको संख्या तुलनात्मक रूपमा न्यून थियो । पढालेखा नागरिक राणा शासकको अत्याचारपूर्ण शासनपद्धति विरुद्ध भित्रभित्रै क्रुद्ध थिए तर तत्कालीन तानाशाही शासनसत्ताको हाकाहाकी विरोध गर्ने तागत कमैमा थियो ।

त्यसबेलाको राजनीतिक परिवेशबारे ‘हलो क्रान्ति’ का अभियन्तामध्येका श्रीकान्त अधिकारीले शब्दचित्र तयार पार्नुभएको छ । उहाँले हंसपुरे सुवेदीले लेख्नुभएको पुस्तक ‘सांस्कृतिक परिवेशमा नेपालको हलोक्रान्ति’ को पृष्ठभूमिमा लेख्नुभएको छ, ‘माथि हुकुमी राणाशाहीको क्रूरसत्ता थियो भने तलतिर...जिम्मावाल, तालुकदार...र तथाकथित पुरोहित पण्डितको छिचोलिनसक्नुको हैकम थियो । बीचमा स्थानीय हाकिम र बडाहाकिमहरूको यस्तै प्रशासन थियो, जसले गर्दा... नयाँ चेतनको हिसाबमा कसैले चूँसम्म गर्ने सामर्थ्य हुँदैनथ्यो’ (पृ.क) ।

यद्यपि समय प्रवाहमय छ । तत्कालीन विश्व परिदृश्य बदलिँदै थियो । विश्व जनमानसलाई राजनीतिक आँधीहुण्डरीले ब्युँझाइसकेको थियो । दोस्रो विश्वयुद्धले विचारहरूको विरोधाभासपूर्ण अवस्थालाई सतहमा ल्यादिएको थियो । छिमेकी मुलुक भारतमा राजनीतिक चेतनाको ज्वारभाटा चर्कै रूपमा चलिसकेको थियो । भारतीय नागरिकले अङ्ग्रेजविरुद्ध ‘भारत छोडो’ आन्दोलन छेडिसकेका थिए । उनीहरूले अङ्ग्रेजविरुद्ध  ‘इन्क्लाब’ गरेर भारतलाई स्वाधीन  बनाइसकेका थिए । नेपालीहरूको शिक्षा आर्जन गर्ने र राजनीतिक आश्रय लिने थलो छँदै थियो, भारत । यसको प्रभाव नेपालमा नपर्ने कुरै भएन ।

यही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पृष्ठभूमिमा ‘हलो क्रान्ति’ भएको थियो । यसको स्थानीय पृष्ठभूमि केही हदसम्म आध्यात्यिक पाटोसँग पनि गाँसिएको देखिन्छ । २००३ सालमा डोटेली व्रह्मचारी चन्द्रप्रसाद र स्वामी कर्पुरानन्दको सत्सङ्गमा दुराडाँडामा महाभारत पुराण लगाइएको, त्यहाँ समाज सुधारका पक्षमा ठोस काम गर्ने सरसल्लाह भएको र त्यही आध्यात्मिक अनुष्ठानको गर्भमा ‘हलो क्रान्ति’ को बीजारोपण भएको प्रसंग श्रीकान्त अधिकारीले कोट्याउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘वास्तवमा हलो क्रान्ति कोरा क्रान्ति नभई...आध्यात्मिक मलजलको माध्यमद्वारा निस्केको जागरण र विकासको.. सामाजिक क्रान्ति थियो’ (ऐ.ऐ. पृ.ख)।

यिनै उत्प्रेरक तत्वबाट मिलेको मनोबलले दुराडाँडामा व्राह्मणले हलो जोत्ने काम शुरु भयो । व्राह्मणले जोतेको कुरा डढेलोको आगोजस्तै जताततै फैलियो । यो कुरा झुपडीदेखि महलसम्म पुग्यो । यसबारे झुपडी र महल दुवैमा बस्नेले आ–आफ्नै तरिकाले प्रतिक्रिया जनाए । झुपडीमा बस्ने सर्वसाधारण नागरिकले परम्परागत मान्यताको विरुद्धमा गएको बात लगाए भने महलमा बस्ने शासकहरूले पनि उही बात लगाए तर भिन्दै अभीष्ट पूरा गर्ने उद्देश्यका साथ ।

राणाहरूले व्राह्मणले हलो जोतेको घटनालाई आफ्नो शासन–सत्ताको प्रतीकात्मक विरोधको रूपमा बुझे । लेप्टेन शेषकान्त अधिकारी, तोयनाथ अधिकारी र श्रीकान्त अधिकारीलाई पक्रेर पोखरास्थित कारागारमा राखियो । उहाँहरू आफूले गरेका कामप्रति अटल रहनुभयो । लोकहितका पक्षमा गरिएका काम भएकोले उहाँहरूमा कुनै हीनताबोध भएन । उहाँहरू आफ्नो उद्देश्यप्रति टसको मस हुनुभएन, बाहुनले हलो जोत्न हुन्न भन्ने कतै नलेखिएको तर्क निडर भई अघि रारिरहनुभयो । आफूहरूलाई बिना पक्राउपुर्जी कारागारमा राखिएकोमा अन्नपानी नखाने घोषणा गर्नुभयो । उहाँहरू ४८ घण्टासम्म अनसन बस्नुभयो ।

‘हलो क्रान्ति’ को प्रभाव जनस्तरमा पनि चर्कै किसिम पर्न थाल्यो । हलो जोतेर परम्परागत मान्यतालाई तोडेको आरोपमा दुराडाँडामा व्राह्मणहरू सामाजिक बहिष्करणमा पर्ने अवस्था आयो । छिमेकी गाउँबस्तीका मानिसहरूले हलो जोत्ने  व्राह्मणहरूसँग सोलीडोली नचलाउने घोषण गर्न थाले । विवाह, ब्रतबन्ध, भोजभतेरजस्ता सामाजिक जमघटहरूमा श्लोकमार्फत व्यङ्ग्य वाण प्रहार हुन थाल्यो । ‘शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोती बिग्रे’ जस्ता श्लोकहरू यत्रतत्र सुनिन थाल्यो ।

सत्ता र जनस्तरबाट ‘हलो क्रान्ति’ विरुद्ध वैरभावपूर्ण प्रतिक्रिया आए पनि यसको गति रोकिएन । दुराडाँडामा भएको ‘हलो क्रान्ति’ को पदचाप पछ्याउँदै लमजुङ (चिसङकु) का श्रीप्रसाद घिमिरे, बलभद्र घिमिरे, चन्द्रशेखर घिमिरे र चन्द्रकान्त घिमिरेले हलो जोत्न थाल्नुभयो । यसैगरी तनहूँ, गोरखा, धादिङ, कास्की, स्याङ्जा, अर्घाखाँची, आदि जिल्लाका व्राह्मणहरूले पनि हलो जोत्ने काम गरे । श्रीकान्त अधिकारीका अनुसार धादिङका देवीप्रसाद पौडेल ‘केबलपुरे किसान’; गोरखाका पूर्णप्रसाद व्राह्मण; तनहूँका रामप्रसाद खनाल, उमाभद्र खनाल, भुवनेश्वर ढकाल र विष्णुहरि खनाल; कास्कीका पण्डित मुक्तिनाथ शर्मा, पण्डित ऋषिकेशव पराजुली र दिलबहादुर भारी तथा अर्घाखाँचीका काशीनाथ गौतमले हलोको अनौ समात्नुभयो ।

व्राह्मणले हलो जोत्ने कामले सामाजिक समयक्रमसँगै वैधता प्राप्त गर्न थाल्यो । शुरुमा सामाजिक बहिष्करण निम्त्याएको त्यो घटना विस्तारै वन्दनीय सामाजिक कार्य बन्न थाल्यो । समयले काँचुली फेर्दै जाँदा हिजो आलोचनाका पात्र बनेकाहरूले प्रशंसक पाउन थाले । समाजको एउटा वर्गले हलो पनि जोत्न नहुने तर सर्वसाधारण जनताले भने ढाड भाँचिने गरी श्रममूलक काम गर्नुपर्छ भन्ने अव्यक्त सामाजिक मान्यतालाई सच्याउने काम ‘हलो क्रान्ति’ ले ग-यो ।  सहअस्तित्वपूर्ण समाज निर्माणको दिशामा ‘हलो क्रान्ति’ का अभियन्ताहरूले देखाउनुभएको साहस कदरयोग्य छ ।

‘हलो क्रान्ति’ को लगत्तै पछि अर्थात् २००७ सालमा राणाविरोधी क्रान्तिपछि देशमा युगान्तकारी राजनीतिक तथा सामाजिक परिवर्तन भए । त्यसबाट नागरिक तथा राजनीतिक अधिकारका क्षेत्रमा नेपाली समाजले थुप्रै उपलब्धिहरू हाँसिल गरिसकको छ । यस हिसाबले वर्तमान घडीमा ‘हलो क्रान्ति’ सन्दर्भहीन देखिन सक्छ । तर समाज विकासको क्रममा ‘हलो क्रान्ति’ एउटा महत्वपूर्ण खुड्किलो थियो भन्न सकिन्छ । स्थानीयस्तरमा भएका रैथाने प्रकृतिका यस्ता असल कार्यका इतिहास अभेलखीकरण हुन आवश्यक छ, जुन नयाँ पुस्तका लागि प्रेरणास्रोत बन्नसक्छ ।

समयले यथास्थितिवादलाई सकार्दैन । समय सधैँ परिवर्तनको पक्षमा रहन्छ ।  समाजको वृहत्तर हितका लागि असल आशयले शुरु गरिएका कतिपय परिवर्तनकामी राम्रा काम वर्तमानमा कताकता असहज देखिन सक्छ । ‘हलो क्रान्ति’ यसको राम्रो दृष्टान्त हो । वर्तमान असहज देखिएका कतिपय कार्यले भविष्यमा सुखी समाजको सुन्दर तस्बिर तयार गर्नसक्छ । आफूले थुप्रै गाह्रोसाह्रो सहेर भए पनि लोकहितैषी काममा लाग्नु हाम्रो लोकधर्म हो । यही नै ‘हलो क्रान्ति’ को केन्द्रीय सन्देश हो ।

[साभार : गोरखापत्र  (साउन १०, २०७१) । तस्बिर : इन्टरनेट]


No comments:

Post a Comment