Sunday, March 8, 2015

संगीत भूगोल


–यमबहादुर दुरा

  पश्चिमी गोलार्द्धमा सांस्कृतिक भूगोलको सूक्ष्मतम् अध्ययन भएको छ । यस सिलसिलामा सांस्कृतिक भूगोलको एउटा अर्को उपविधा देखापरेको छ । त्यो हो, ‘संगीत भूगोल’ (‘म्युजिक जियोग्रफी’) ।

सन् १९६० पछि ‘संगीत भूगोल’ सांस्कृतिक भूगोलको नवीनतम् विधाको रूपमा जुर्मुराउन थाल्यो । यसबारे खोज अनुसन्धान हुन थाल्यो । यसबारे कार्यपत्र लेख्ने क्रम शुरु भयो । सन् १९८० को दशकमा आइपुग्दा ‘जर्नल अफ कल्चरल जियोग्रफी’  मा यसबारे खोजमूलक लेखहरू छापिन थाले । अनि त के, मानव भूगोल तथा सांस्कृतिक भूगोलका पुस्तकहरूमा ‘संगीत भूगोल’ ले स्थान पाउन थाल्यो । अहिले यो प्राज्ञिक अध्ययनको घच्चीको विषय बनेको छ ।

‘संगीत भूगोल’ अध्येताहरूले अक्षांश र देशान्तरसँग गीतको सम्बन्ध रहने निष्कर्ष निकालेका छन् । उनीहरूले अक्षांश र देशान्तरसँग गीतको अत्यानुप्रास र ताल–सुरको सम्बन्धबारे रोचक तथ्य पत्ता लगाएका छन् । उनीहरूका अनुसार देशान्तरसँग अन्त्यानुप्रास र अक्षांशसँग ताल, सुर र आवाजको नाता गाँसिएको हुन्छ  ।

‘संगीत भूगोल’ ले भूगोल र संगीतबीचको यावत सम्बन्धबारे अध्ययन गर्छ । ‘सङ्गीत भूगोल’ भित्र पनि भूगोल र लोकगीतको अध्ययन गर्ने हो भने समाजका अप्रकाशित तथा नजरअन्दाज गरिएका तथ्यहरू उद्घाटन हुन पुग्छन् ।

अमेरिकी भूगोलविद सउर कार्ल (सन् १८८९–१९७५) ले सन् १९२५ मा  ‘मोर्फोलोजी अफ ल्याण्डस्केप’ (भूस्वरूपको रूपविधान) नामक पुस्तक प्रकाशन गरे । त्यस पुस्तकमा उनले भनेका छन्, ‘प्राकृतिक  भूस्वरूप र मानिसबीचको अन्तरक्रियाले सांस्कृतिक भूस्वरूप सिर्जना गर्छ ।’

त्यही सांस्कृतिक भूस्वरूपमा फक्रिएको एउटा थुँगा हो, लोकगीत । यो बसाइमा भूगोल र लोकगीतबीचको साइनोपात थोरै केलाउने मन  छ ।

नेपाली जनजीवनको आधार ग्राम्यपन हो । ग्राम्यपन र लोकगीतबीचको नाता अत्यन्त्यै  गहिरो छ । यही कारणले उत्तरआधुनिककाल छिप्पिएको र विश्वव्यापीकरण मौलाएको वर्तमान घडीमा पनि नेपाली जनजीवनमा लोकगीतले आफ्नो महत्व गुमाएको छैन । नेपाली जनजीवनलाई केन्द्रमा राखेर भूगोल र लोकगीतको साइनोपात केलाउने हो भन्दै यसमा नेपाली जनजीवनको स्पन्दन भेटिन्छ ।

भूगोल र लोकगीत दोभानमा मिसिँदा एउटा विशाल भावभूमि तयार हुन्छ । त्यसमा इतिहास, संस्कृति, सामाजिक मनोविज्ञान, जीवनशैलीजस्ता पक्ष बेजोडसँग मिसिन आइपुग्छन्, मस्र्याङ्दीमा उसका सहायक नदीहरू हतारिँदै मिसिन आए जसरी ।

अफ्रिकी अमेरिकी समुदायमा प्रचलित लोकगीतसम्बन्धी  पुस्तक ‘इन सर्च अफ द ब्जुज’ का लेखिका इतिहासविद मेरीबेथ ह्यामिल्टन लोकगीतको महत्वबारे बोलेर थाक्दिनन् । ‘युनिभर्सिटी अफ लण्डन’ मा इतिहास पढाउने उनी इतिहासको अध्ययनमा लोकगीतको महत्वपूर्ण स्थान हुन्छ भन्ने मान्यता राख्छिन् । लोकगीतको महत्वमाथि प्रकाश पार्दै भनेकी छिन्, ‘इतिहासका अध्येताहरूका लागि लोकगीत महत्वपूर्ण स्रोत हो ।’

उनको भनाइमाथि सही थाप्दा लोकगीतले इतिहास बोल्छ । केटाकेटी छँदा एउटा लोकगीत सुनेको थिएँ  : ‘बन्दीपुरमा मट्टीतेल टिनको टिन, मनमा भए हुन्छ भेट दिनको दिन’ । यसले मानव जातिलाई मानव बन्न सघाउने माया–महब्बतबारे बोलेको छ त नै, बन्दीपुरे व्यापारिक परम्पराको विरासत पनि बोलेको छ । बन्दीपुरको व्यापारिक इतिहासको साक्षी बकेको छ ।

बन्दीपुर । कुनै जमानाको वैभवशाली व्यापारिक नाका । दक्षिणमा भारत र उत्तरमा भोटसम्म व्यापारिक मालसामान ओहोरदोहोर हुने ठाउँ । तनहूँ जिल्लाको पुरानो सदरमुकाम । बन्दीपुरमा पाइने मट्टीतेलले टुकी युगको इतिहासमात्र बोलेको छैन, बन्दीपुरको व्यापारिक वैभवमाथि पनि उज्यालो छरेको छ ।

मखमली स्वरकी धनी हीरादेवी वाइबाले एउटा जीवन्त गीत गाएका छिन् :  ‘धनकुटाको डाँडैडाँडा चल्यो हुलाकी, सासूलाई चाबी सालोलाई जाबी सालीमाज्यूलाई झुम्के बुलाकी’ । यस लोकथुँगामा पूर्वी पहाडको जनजीवनको सानो झलक देख्न सकिन्छ, ४०–५० वर्ष अघिको रैथाने जीवनशैली । यसले तत्कालीन हुलाकी सञ्चार प्रणालीलाई छोएको छ, ससुराली जाने भिजानुले सासू, सालो र सालीलाई लगिदिने उपहार उपहारको दुर्लभ सूची पेश गरेको छ । समयको छायाँले यो दृश्यलाई पूरै ओझेल परेको छ । तर पनि यो लोकथुँगा पूर्वी पहाडको रैथान जीवनशैली चियाउने आँखीभ्झ्याल बनेको छ ।

संगीतका अध्येता  डा. लिन्डा डिजुरसले भनेकी छिन्, ‘हरेक गीतको आफ्नै कथा हुन्छ ।’ उनको भनाइलाई मनमा राख्दा नेपाली लोकगीतहरूमा कथैकथा भेटिन्छ जस्तो लाग्छ । कहीँ लाहुरेका कथा, कहीँ बसाइँ सराइको कथा त कही ढाकाटोपीको कथा ।

गाउँघरको एउटा गीत निकै सुनिन्थ्यो  :  ‘राम्दी पुल तरने बित्तिकै, बाँचे भेट मरे त यत्तिकै ।’ स्याङ्जा र पाल्पा जिल्लालाई जोड्ने राम्दी पुल । यही बाटो भएर पछि गण्डकी र यस वरिपरिका लाहुरेहरू बुटवल झर्थे । त्यसपछि सुनौली हुँदै पल्टनमा हाँजिर हुन जान्थे ।

यस गीतमा लाहुरेहरूको कथा लुकेको छ । प्रथम तथा दोस्रो विश्वयुद्धमा थुप्रै गोर्खालीहरू  भर्ती गराइए । उनीहरूको अवस्थामा ‘बलिको बोको’ भन्दा कम थिएन । सन् १९६२ मा भएको भारत र चीनबीचको लडाइँमा पनि गोर्खालीहरू हताहत भए । भर्ती भएर लाहुर गएका थुप्रै लाहुरेहरू घर फर्केनन् । उनीहरूको शरीर युद्धभूमिमै सेलायो । लडाइँबाट बँचेर आएका भाग्यमानीहरूले मात्र साथीसंगी र आफन्तजनसँग पुनर्मिलनको मौका पाए । राम्दी पुलको गीत ‘गोर्खा भर्ती केन्द्र’ ले जन्माएको भने पनि हुन्छ ।

बसाइँ सराइ नेपाली जनजीवनसँग गाँसिएको अर्काे पाटो हो । मधेशमा औलो उन्मुलन भएपछि सुखको खोजीमा तराई झर्ने क्रम शुरु भयो । यो क्रम अहिले पनि जारी छ । जनकवि केशरी धर्मराज थापाले पहाड छाडेर बसाइँ सर्नेहरूको मनोभावबारे मीठो विश्लेषण गरेका छन् ।

उनले आफ्नो पुस्तक ‘चितवन दर्पण’ मा लेखेका छन्, ‘अब त झरियो चितौन हाँसीखेली जिन्दगी बिताउन’ भन्दै लोकगीतको चरन उचालेर डोका डाला बोकी गोरू खेद्दै चितवन झरेकाहरूले गाएको लोकगीत गरिबी बोकेको जिन्दगीलाई उनीहरूको भित्री मनको भावनाले कति वसन्तको कोइली जस्तो कुर्रकुर्र पारेको छ ’ (पृ.घ) ।

कुनै समयमा रेडियो नेपालबाट एउटा गीत बज्थ्यो  : ‘ढाकाटोपी मायाले दिएको, कुन्छा जाने बाटैमा लिएको’ । अहिले यो गीत अर्थहीनजस्तै देखिन्छ । धेरैको शिरबाट टोपी हटिसकेको छ । लमजुङको कुनै समयको सदरमुकाम कुन्छा अहिले गुमनामजस्तै हुन पुगेको छ ।

समयको दौडमा पछि पर्दै गएका ढाकाटोपी र कुन्छाको महिमा कृष्णपक्षको चन्द्रकलाजस्तै घट्दै गएको देखिन्छ । दृश्यबाट ओझेलिँदै गएका यी दुई पक्षलाई इतिहास र सामाजिक रीतभाँतको दृष्टिले नियाल्ने हो भने त्यहाँ मर्मको खानी भेटिन्छ, समयले छाडेर गएको पदचाप भेटिन्छ ।

कुन्छा लमजुङको पुरानो सदरमुकामात्र नभई राणाकालीन नेपालको चमकधमकपूर्ण प्रशासकीय केन्द्र पनि हो । त्यसैगरी ढाकाटोपी नेपालीको शिरको शोभा त हुँदै हो, चेलीबेटी वा प्रियसीले माइती वा प्रियजनलाई प्रेमपूर्वक चढाउने मायाको चियो पनि हो । यसले नेपाली समाजको इतिहास र संस्कृति बोलेको छ ।

यी दृष्टान्तले भूगोल र लोकगीतको साइनो र त्यसले जोडेका इतिहास, संस्कृति र जीवनशैलीका पाटाहरूलाई उघारेका छन् । भूगोल र लोकगीतको साइनोपात केदाउँदा यस्ता अनगिन्ती विषयवस्तु आइपुग्छन्, एउटा बरेलो टिप्न झ्याल तान्दा अरू थुपै बरेलो हात लागेजस्तो गरी ।

 नेपालको विविधतापूर्ण भूगोलमा अनगिन्ती आञ्चलिकता छचल्कने लोकगीत भेटिन्छन् र लोकगीतमा भूगोलका पाखारेखा र सांस्कृतिक भूस्वरूपहरू भेटिन्छन् । पश्चिमी गोलार्द्धमा जस्तै हामीले पनि ‘संगीत भूगोल’ को सूक्ष्मतम् अध्ययन गर्ने हो भने यसमा नेपाली समाजको इन्द्रधनुषी रङ  भेटिन्छ । यही भएर होला, हृदयको धड्कन भेटिने हाम्रो लोकगीत र आफ्नो नाभी गाडिएको आफ्नो भूगोल हामीलाई हुनसम्म प्यारो लाग्छ ।

[साभार :  अन्नपूर्ण पोष्ट (फागुन २३,२०७१) पृ .७]


[अद्यावधिक: २०७१।११।२७ ]



No comments:

Post a Comment