Wednesday, March 25, 2015

विकास सञ्चार

–यमबहादुर दुरा

‘विकास सञ्चार’ । शुरुवाती घडीमा पश्चिमी गोलार्द्धका विकास योजनाकारहरूले प्रयोग गरेका प्राविधिक शब्दावली । समयक्रममा यो शब्दावली सञ्चारशास्त्रको एउटा महत्वपूर्ण विधा बन्न पुग्यो । अहिले विश्वका सबैजसो विश्वविद्यालयमा कुनै न कुनै रूपमा ‘विकास सञ्चार’ सम्बन्धी पढाइ भइरहेका छन् । आर्थिक विकासविद, सञ्चारविद तथा समाजशास्त्रीहरूले ‘विकास सञ्चार’ लाई विभिन्न किसिमबाट परिभाषित गरेका छन्,  जसमा एकमतीय र एक सूत्रीय दृष्टिकोणचाहिँ पाइँदैन ।
ग्राफिक्स्: गुगल

सञ्चार क्षेत्रका अमेरिकी विद्वानत्रय विरबल स्राम (सन् १९०७–१९८७), ड्यानियल लर्नर (सन् १९१७–१९८०) र एभेरट रोगर्स् (सन् १९३१–२००४) को नाम ‘विकास सञ्चार’ को क्षेत्र मा विशेष श्रद्धापूर्वक लिइने गरिन्छ । यी विद्वानले ‘विकास सञ्चार’ को अवधारणालाई मूर्त रूप दिन महत्वपूर्ण भूमिका खेलेका छन् ।

‘विकास सञ्चार’ को सन्दर्भमा एशियामा नोरा कोब्रलको नाम पनि अगाडि आउँछ । ‘विकास सञ्चारको आमा’ को रूपमा परिचित कोब्रलले सन् १९७५ मा  ‘मिडिया एशिया’ जर्नलमा ‘डिभलपमन्ट कम्युनिकेशन, ह्वेयर डज इट स्ट्यान्ड टुडे’ शीर्षकमा लेख लेखिन् । उनले त्यसमा व्यक्त गरेको ‘विकास सञ्चार’ सम्बन्धी धारणा निकै चर्चित हुन पुग्यो । उनले त्यतिबेला व्यक्त गरेको धारणा अहिले पनि उत्तिकै महत्वका साथ उध्रृत भएको छ ।

‘युनिभर्सिटी अफ द फिलिपिन्स’ मा विकास सञ्चार पढाएका नोरा कोब्रलले ‘विकास सञ्चार’ लाई  देशलाई गरिबीको अवस्थाबाट  गतिशील आर्थिक वृद्धितर्फ उन्मुख गर्न उपयोग गरिएको मानव सञ्चारको कला र विज्ञान भनेर अथ्याएकी छिन् । उनले भनेकी छिन्, ‘विकास सञ्चारले बृहत्तर आर्थिक विकास र सामाजिक समानता सम्भव तुल्याउन र मानवीय उन्नतिका सम्भावनाहरूलाई साकार पार्न सहयोग गर्छ ।’

विश्व बैंकद्वारा सन् २००८ मा प्रकाशित पुस्तक ‘डिभलपमन्ट कम्युनिकेशन सोर्सबुक : ब्रोडेनिङ बाउन्डरिज् अफ कम्युनिकेशन’ ले ‘विकास सञ्चार’ लाई धेरै क्षेत्र (बहुविधा) को ज्ञान र अनुभवलाई समेट्दै विकासका प्रयासमा सकारात्मक परिवर्तन ल्याउन सहजीकरण गर्ने विधाको रूपमा परिभाषित गरेको पाइन्छ । उक्त पुस्तकमा ‘विकास सञ्चार’ लाई समाजमा समानता, सहमति र समभाव विकास गर्ने अभिप्रायले ज्ञान र सूचना प्रवाह गर्ने विधाको रूपमा पनि चित्रण गरिएको छ । यसले स्थानीय आवश्यकतालाई स्थलगत अनुसन्धानमा आधारित सूचना तयार पारेर प्रभावकारी प्रवाहमा मात्र जोड दिँदैन, विकासका सरोकारवाला (साझेदार) हरूबीच दोहोरो सञ्चार प्रणाली स्थापित हुनुपर्नेमा पनि उत्तिकै जोड दिएको छ (पृ.८) ।

‘युनिभर्सिटी अफ द फिलिपिन्स’ मा सूचना तथा सञ्चार विषयका प्राध्यापक अलेक्जेण्डर फ्लोरले ‘लिङ्कइन’ नामक बेटसाइट (अगष्ट २८, २०१४) मा पोष्ट गरेको लेखमा समृद्धि, जीवनस्तर र मानवीय सम्भावनाहरूलाई उचाइमा पुर्‍याउन  सघाउने जुनसुकै सूचनाको आदानप्रदानलाई ‘विकास सञ्चार’ भनिएको छ ।

समग्रमा भन्दा विकासका दृष्टिले बञ्चितीकरणमा परेका नागरिकहरूको समग्र विकासका लागि सञ्चारका रणनीति र तथा सिद्धान्तहरूको प्रयोग गरेर उनीहरूको सामाजिक तथा आर्थिक विकासमा सहयोग गर्ने कार्य नै विकास सञ्चार हो । यसले पछौटेपना र सीमान्तीकरणमा नागरिकको जीवनस्तर सुधार्ने लक्ष्य राख्छ ।

अर्को शब्दमा भन्दा विकास प्रक्रियामा विशेष गरी अधिकारविहीन तथा अवसरविहीन नागरिकको सहभागिता बढाउन तथा उनीहरूको चौतर्फी उन्नतिका लागि सञ्चारको माध्यम र विधिको प्रयोग गर्ने कार्य नै ‘विकास सञ्चार’ हो ।

‘विकास सञ्चार’ विभिन्न नामले चिनिन्छ । जस्तै :  विकास सहयोग सञ्चार (Development Support Communication),  विकासका लागि सञ्चार (Communication for Development), सामाजिक व्यवहार परिवर्तनसम्बन्धी सञ्चार (Social Behavior Change Communication) र व्यवहार परिवर्तनसम्बन्धी सञ्चार (Behavior Change Communication) । यद्यपि यी शब्दावली र तिनले दिने सन्दर्भगत भिन्न अर्थ र विषयगत विविधताबारे बहस पनि जारी नै छ ।

यी परिभाषाले प्रत्यक्ष वा परोक्ष रूपमा मानिसको आर्थिक तथा सामाजिक समृद्धिमा सहयोग पुर्‍याउने  सञ्चारकर्मलाई ‘विकास सञ्चार’ को रूपमा चित्रण गरेको पाइन्छ । ‘विकास सञ्चार’ ले समाजका सबै तह र तप्काका वर्गको उन्नति चाहे पनि मूल रूपमा सीमान्तकृत वर्ग र अवसरहरूबाट बञ्चित समुदायको उन्नतिमा विशेष रूपमा जोड दिएको पाइन्छ ।

विकास सञ्चारले सामाजिक श्रेणीमा तल्लोस्तरमा रहेका नागरिकको आर्थिक तथा सामाजिक विकासको अतिरिक्त धनी तथा गरिबबीच सम्पत्तिको न्यायोचित वितरण, सामाजिक न्याय एवम् मानव विकास अर्थात् मानिसको सोंचाइमा सकारात्मक परिवर्तनमा पनि जोड दिन्छ ।

अहिले ‘विकास सञ्चार’ को क्षेत्र व्यापक र अपरिमित हुँदै गएको देखिन्छ । शुरुका दिनमा यो विधा समाजको भौतिक विकासमा बढी केन्द्रित भएको देखिन्थ्यो । भौतिक उन्नतिले मात्र समाजको विकास हुन नसक्ने कुरा अनुभवसिद्ध भएपछि अहिले ‘विकास सञ्चार’ ले समाजको भौतिक तथा अभौतिक (मानिसको मनस्थिति) दुवै विकासमा जोड दिएको देखिन्छ ।

यसबाट ‘विकास सञ्चार’ को दायरा झन झन फराकिलो हुँदै गएको देखिन्छ । पछिल्लो घडीमा ‘विकास सञ्चार’ ले मानव विकास (Human Development) मा जोड दिएको पाइन्छ । मानव विकासमा नपर्ने कुरा शायदै कुनै होला । प्राध्यापक अलेक्जेण्डर फ्लोरले (पूर्वोल्लिखित) लेखमा भनेका छन्, ‘विकास सञ्चार प्रक्रिया हो, सञ्चार बहुआयमिक विषय हो,  त्यसैले विकास सञ्चार सीमित घेरामा अडिन सक्दैन ।’

‘विकास सञ्चार’ बारे उपलब्धसन्दर्भ सामग्री अध्ययन गर्दा यसको अवधारणा दोसो विश्वयुद्धपछि विकास अस्तित्वमा आएको पाइन्छ । दोसो विश्वयुद्धले थुप्रै मुलुकका भौतिक सडक, पुल, मानव बस्ती, विमानास्थललगायत भौतिक संरचनाहरू ध्वस्त बनायो । यसले विकासको बहसलाई अभूतपूर्व रूपमा अघि बढायो । युद्ध थामिएपछि विश्वशक्ति राष्ट्र मानिएका बेलायत तथा अमेरिकाले युद्ध, गरिबी, भोकमरीजस्ता समस्याबाट ग्रस्त बनेका ‘तेस्रो मुलुक’ को भौतिक पूर्वाधार पुनःनिर्माण गर्न र उनीहरूको जीवनस्तर सुधार्नका लागि भनेर ठूलो मात्रामा आर्थिक सहयोग उपलब्ध गराउन थाले । यसलाई ‘विकास सहयोग’ (Development Aid) भन्न थालियो । तर उक्त ‘विकास सहयोग’ को नाममा उपलब्ध गराइएको आर्थिक सहयोग अपेक्षित रूपमा नतिजामुखी बन्न सकेन ।

यसपछि दाता राष्ट्रहरू सोंच्न बाध्य भए । उनीहरूले यसको कारण खोतल्न थाले । आर्थिक सहयोग किन प्रभावकारी हुन भन्नेबारे उनीहरूले थुप्रै चिन्तन–मनन गरे । अन्त्यमा उनीहरूलाई लाग्यो— विकासको नाममा आर्थिक सहयोग उपलब्ध गराएरमात्र हुँदैन, आर्थिक सहयोग कसरी सदुपयोग गर्ने भन्नेबारे ‘सञ्चार रणनीति’ पनि तयार पार्नुपर्छ । त्यसपछि उनीहरूले ‘सञ्चार रणनीति’ तयार पारेर सोही अनुसार आर्थिक सहयोग परिचालन गर्ने नीति बनाए । उक्त ‘सञ्चार रणनीति’ कालान्तरमा ‘विकास सञ्चार’ नामले परिचित हुन थाल्यो ।

‘विकास सञ्चार’ को उदगमबारे नोरा कोब्रलले अलि बेग्लै धारणा अघि सारेकी छिन् । उनले उक्त शब्दावली पहिलो पटक एशियामा (त्यसमा पनि ‘कृषि सञ्चार’ बाट) अस्तित्वमा आएको बताएकी छिन् । कृषिको विकासको साथमा राष्ट्रिय विकासका अन्य आयामहरू (पोषण, स्वास्थ्य, शिक्षा, आवास एवम् रोजगार) को विकास पनि उत्तिकै महत्वपूर्ण ठानियो । यी सबै पक्षलाई समेट्न एउटा छाता शब्दावलीको खाँचो महसूस गरियो, जुन खाँचो ‘विकास सञ्चार’ ले पूरा गर्‍यो । भारतीय सञ्चारविद उमा नरूलाले आफ्नो पुस्तक ‘डिभलपमन्ट कम्युनिकेशन : थिअरी एण्ड प्राक्टिस्’ मा नोरा कोब्रलको भनाइ उधृत गर्दै यो प्रसंग अघि सारेकी छिन् (पृ.१८) ।


‘विकास सञ्चार’ उद्देश्यमूलक तथा नतिजामुखी सञ्चार मानिन्छ । यसले एकतर्फी सञ्चारलाई भन्दा दुइतर्फी र अन्तरक्रियात्मक सञ्चारलाई प्राथमिकता दिन्छ । यसैगरी, तहगत अर्थात् ठाडो (Vertical Communication) सञ्चार प्रणालीलाई भन्दा समतामूलक अर्थात् क्षैतिजीय (Horizontal) सञ्चार प्रणालीलाई बढी प्राथमिकता दिन्छ । तर यसमा ठाडो (Vertical) सञ्चार प्रणालीले स्थान नै पाउँदैन भन्नेचाहिँ होइन । ‘विकास सञ्चार’ का अग्रणीमध्येका एक विद्वान विलबर स्रामले ग्रामीणस्तरमा तहगत अर्थात् ठाडो सञ्चार प्रणाली अन्तरगत तलदेखि माथि (Bottom-Up)  तथा समतामूलक अर्थात् क्षैतिजीय सञ्चार प्रणाली उपयुक्त हुने धारणा राखेका छन् । उनले सरकार र ग्रामीण तहबीच माथिदेखि तल (Top-Down)  को सञ्चार प्रणाली राम्रो हुने मान्यता राखेका छन् ।

विभिन्न सन्दर्भमा ‘विकास सञ्चार’ आलोचना पनि हुने गरेको पाइन्छ । पश्चिमी मुलुकले विकासको आफ्ना वस्तु तथा सेवा गरिब मुलुकमा बेच्न र सहयोग दिने नाममा कवाडी गरिब मुलुकमा ‘डम्प’ गर्न ‘विकास सञ्चार’ को अवधारणा अघि सारेको भनाइ कतिपय आलोचकहरूको छ । विश्व बैंकजस्ता नाफामुखी संस्थामा निर्धन मुलुकहरूमा आफ्नो प्रभाव जमाउन पनि ‘विकास सञ्चार’ को अवधारणा ल्याइएको टिप्पणी हुने गरेको छ ।

नेपालमा ‘विकास सञ्चार’ को अवधारणा २०२८ सालतिर अस्तित्वमा आएको देखिन्छ । नेपाल सरकारले २०२८ सालमा ‘राष्ट्रिय सञ्चार नीति’ ल्यायो । त्यसमा ‘विकासका लागि सञ्चार’ भन्ने शब्दावली उल्लिखित थियो । यस अनुरूप जिल्ला–जिल्लामा  भएका विकासका गतिविधिबारे जानकारी दिनका लागि रेडियो नेपालबाट ‘जिल्ला समाचार’ प्रसारण हुन थालेको थियो ।

कृषकहरूलाई कृषिसम्बन्धी सूचना दिएर उनीहरूलाई सबल बनाउन २०३२ सालदेखि रेडियो नेपालले ‘कृषि कार्यक्रम’ प्रसारण गर्न थालेको देखिन्छ । गाउघरका गतिविधिबारे जानकारी दिनका लागि ‘गोरखापत्र’ दैनिकमा ‘गाउँघर’ स्तम्भ शुरु भएको पनि पाइन्छ । यसैगरी, नेपाल टेलिभिजनको प्रतीक चिन्ह (Logo) मा एउटा उक्ति देख्न सकिन्छ : ‘विकासका लागि सञ्चार’ ।

‘विकास सञ्चार’ को अवधारणा र सिद्धान्तहरू व्यवहारमा के कसरी लागू भइरहेका छन् ? यसबारे व्यापक खोजअनुसन्धान गर्न सकिने ठाउँ छ ।

[साभार : नवीन सन्देश मासिक (वर्ष ७, अङ्क ८, चैत, २०७१)]

No comments:

Post a Comment