Monday, May 4, 2015

दुई दिनको रैछ र ...

-यमबहादुर दुरा

गिरी सर अर्थात् गिरीबहादुर दुरा । शिक्षक, संगीतका पारखी, खेलकुदप्रेमी । हाँसोठट्टा गर्न रुचाउने विनोदी  स्वभावका व्यक्ति । यिनै सुकर्मको आलोकमा उहाँको परिचय चम्केको थियो । उहाँको परिचय यतिमा सीमित छैन । उहाँ हाँसोठट्टा गर्न रुचाउने, जोकोहीसँग सजिलै घुलमिल हुनसक्ने अनि सुखदुःखका क्षणहरूमा दिलोज्यान दिएर साथ दिने एउटा दिलदार व्यक्ति हुनुहुन्थ्यो । हृदयमा गाँठो पारेर भन्नु परिरहेको छ, यस्ता दिलदार व्यक्ति तथा बहुआयमिक व्यक्तित्वका धनी हामीबीच हुनुहुन्न ।

धेरै भुक्तभोगीहरू भन्ने गर्छन्, कसैको अभाव उसको अनुपस्थितिमा मात्र प्रष्ट रूपमा अनुभूत हुन्छ । यतिबेला म यस्तै अनुभूतिबाट गुज्रिरहेको छु । उहाँको अनुपस्थितिले एकप्रकारको शून्यता छाएको अनुभूति भइरहेको छ । उहाँ जीवनका तीतामीठा सम्झनाहरू हामीलाई छाडेर एउट बेग्लै यात्रामा निस्कनुभयो । अब उहाँसँग भेट हुने छैन ।

उहाँसँग मेरा बग्रेल्ती  सम्झनाहरू गाँसिएका छन् । समय क्रममा उहाँसँग मेरो नाता गाँसिन पुग्यो । उहाँ मेरो कान्छो ससुरो बन्न पुग्नुभयो । नाताले ससुरा–ज्वाइँ भए पनि हाम्रो सम्बन्ध औपचारिकताको साँगुरो घेराभित्र सीमित रहेन । हाँसोठट्टा गर्न पर्ने स्वभावको मान्छे । कतिपय अवस्थामा मलाई नै ठट्टाको विषय बनाएर रमाइलो गर्नुहुन्थ्यो ।
अब सम्झनामात्रै : गिरीबहादुुर दरा ( वि.सं. २०१३-२०७२) भारतको नैनीतालमा खिचिएको भनिएको यो तस्बिरको खास मिति थाहा छैन,  लगभग एक दशक अगाडि खिचिएको अनुमान छ ।

एकपटक हामी पाउँदीको ढिकमा थियौंँ । डुम्रे आउँदा हो कि डुम्रे जाँदा हो, सम्झना छैन । एउटा पसलमा रेडियोमा लोकगीत बजिरहेको थियो । गीतमा कोठीको प्रसंग थियो  : ‘फूल खसेको, गालैको कोठीमा दिल बसेको’ । यो गीत सुनेर उहाँ मतिर फर्किएर स्वाइयाँ हाँस्नुभयो । त्यतिबेला मेरो देब्रे गालानिर कोठी थियो ।

उहाँ रहर भनेपछि पासोमै पर्ने खालको मान्छे हुनुहुन्थ्यो । जसरी भए पनि 'रहरेको खहरे' धाएरै छाड्ने स्वभाव । नाँचेर, गाएर कहिल्यै नथाक्ने । हार्मोनियम, मादल र अन्य वाद्ययन्त्र बजाउन निपूर्ण । गाउँमा हुने विहाबटोल, पञ्चबलिजस्ता सामाजिक जमघटमा पञ्चैबाजा टोलीमा मिसिन पनि पछि नपर्ने ।

उहाँ कहिले दमाहा बजाएर, कहिले ढलकीमा मस्त भएर त कहिले सनाह फुकेर रामरमिताको हिस्सा बन्नुहुन्थ्यो । न कुनै लाज, न त कसैको टीका–टिप्पणीको निसाना बनिएला भन्ने डर । उहाँले एउटा निष्फिक्री जिन्दगी जिउनुभयो ।

आफूलाई सांगीतिक दुनियाँमा समाहित गर्ने सुर चढेमा घरैमा 'सांगीतिक महफिल' जमाउन पनि पछि नपर्ने उहाँको स्वभाव थियो । साथीभाइ जम्मा गर्ने, उनीहरूसँगै जानी–नजानी गीतको भाका उराल्ने, गीतको तालमा कम्मर मर्काउने । बीचबीचमा हास्यरस थपेर सांगीतिक माहोललाई थप रोचक र घोचक बनाउने उहाँको बानी थियो ।

म आफू केटाकेटी छँदाको क्षणहरू सम्झन्छु । उहाँको नेतृत्वमा गाउँमा नाँचगानका कार्यक्रम हुन्थे । सिंदुरे ढुङ्गाको बजार, सर्वोदय माविको वार्षिकोत्सवजस्ता जमघटहरूमा उहाँको नेतृत्वमा आधुनिक शैलीका नाँचगानका कार्यक्रम भएको हुन्थे । स्थानीय जनजिब्रोमा 'थेटर' भनेर चिनिने यसप्रकारका नाँचगानको श्रीवृद्धिमा उहाँको उल्लेखनीय योगदान छ ।

उहाँ संगीतका साथै खेलकुदमा पनि उत्तिकै कहलिएको व्यक्ति हुनुहुन्थ्यो । फुटबल र भलिबलमा उहाँको राम्रो पकड थियो । भलिबलमा त उहाँले राष्ट्रिय खेलाडीको हैसियत पाउने अवस्था थियो । तर निरन्तरता र अवसरको अभावमा त्यो सुन्दर सम्भावना त्यसै टरेर गयो । उहाँले २०३९ सालदेखि ३० वर्षभन्दा बढी समय दुराडाँडास्थित सर्वोदय माविमा सेवारत रहनुभयो । उहाँले आफ्नो सेवाकालको ठूलो हिस्सा विद्यार्थीहरूको खेलकुदको उन्नतिमा व्यतित गर्नुभयो ।

उहाँ साथीसंगी र इष्टमित्रको बीचमा असाध्यै प्यारो व्यक्ति हुनुहुन्थ्यो । मनको कुबेर हुनुहुन्थ्यो ।  नपाउँदो व्यक्ति  । घरमा पुगेको जोकोहीलाई बिमुख पठाउनुहुन्नथ्यो । अरुले हजारको सत्कार गरेको ठाउँमा लाखको स्वागत-सत्कार गर्नुहुन्थ्यो । स्वागत-सत्कारमा कसैले जित्नै नसक्ने । अरुबाट लिएर होइन, अरुलाई दिन पाउँदा खुसी हुने उहाँको स्वभाव थियो ।

उहाँको जिन्दगीलाई एउटा विडम्बनाले अन्तिम घडीसम्म पछ्याइरह्यो । उहाँ एउटा शिक्षक । शिक्षक र नशापानी बीच त्यति घनिष्ट नाता नजोडिनुपर्ने हो । तर उहाँले  नशासँग गहिरो नाता जोड्नुभयो । उहाँले नशामुक्त जीवन जिएर भावी पुस्तालाई असल बाटोमा डोर्‍याउनुपर्ने हो । तर त्यसो हुन सकेन । विडम्बनावश, उहाँ आफैं  नशामा डुब्नुुभयो ।  अन्तत: नशाले नै उहाँको जीवन चुँडेर लग्यो ।

बितेको दुई–तीन वर्षयता नशाप्रतिको उहाँको मोह हदैसम्म बढेर गएको थियो । उहाँ पूरापुर नशाकै शरणमा पुग्नुभएको थियो । उहाँ बेला–कुबेला नशामै झुमिरहेको देखिन्थ्यो । हामीले थुप्रै पटक नशामुक्त हुन आग्रह गर्यौं । चाँडै छोड्छु भनेर ‘लिप सर्भिस’ पनि थुप्रै पटक दिनुभयो । उहाँलाई नशाले यतिसम्म गाँजेको थियो, उहाँको बुद्धि–विवेक पनि नशाकै बन्धक बनिसकेको थियो ।

रोचक कुरा के छ भने उहाँले १२ वर्ष जति नशापानी छाड्नुभयो । त्यतिबेला उहाँको स्वास्थ्य निकै राम्रो भएको थियो । एउटा वनभोजले नशापानीसित छुटेको नातालाई फेरि जोडिदिएछ । त्यसपछि त उहाँ नशापानीको चक्रव्यूहमा नराम्ररी फस्नुभयो । त्यसबाट जीवनभर उम्कन सक्नुभएन ।

वर्षमा दुई तीन पटकमात्र गाउँमा पुग्ने भएकोले उहाँसँग मेरो भेटघाट निकै पातलो थियो । २०७१ सालमा पोखरामा सम्पन्न ‘दुरा सेवा समाज’ को एक्काइसौं वार्षिकोत्सवमा उहाँसँग भेट भएको थियो । त्यतिबेला नै उहाँको ज्यान मक्किसकेको थियो । अनुहारमा कुनै चमक थिएन । त्यतिबेला पनि मैले नशापानी छोड्न अनुरोध गरेको थिएँ । उहाँले छिट्टै छाड्ने बचन पनि दिनुभएको थियो । उहाँको बचन बनावटी हो भन्ने कुरा मलाई पनि थाहा थियो, उहाँलाई पनि थाहा थियो ।

२०७१ सालको दशैंमा घर पुग्दा उहाँको अवस्था झन् बिग्रिएको थियो । उहाँँ नशाको दुनियाँमा चुर्लुम्मै डुब्नुभएको थियो । यतिञ्जेलसम्म उहाँभित्र रक्तचाप र मधुमेह सप्रिदै गएको थियो । उहाँभित्रको रोग थप शक्तिशाली र उहाँ अझ कमजोर भएको प्रष्टै देखिन्थ्यो । नशापानी  छोड्ने मेरो बारम्बारको अनुरोधलाई ‘भोलि छोड्छु, पर्सि छोड्छु’ भनेर भाका राखेर टार्ने काममात्र गर्नुभयो । उहाँ कसै गरे पनि नशामुक्त हुन सक्नुभएन । कतिपय अवस्थामा त बहानाबाजीमा पनि उत्रनुभयो । लुकीलुकी नशापानी लिने तर हाम्रो अगाडि नशा त्यागेको देखाउन पनि पछि पर्नुभएन ।

उहाँ निकै रसिक र रहरिलो मान्छे । गीत गाउन र नाच्नु उहाँको लागि कुनै आइतबार थिएन । उहाँ लोकगीतका भाका झिकिरहनुहुन्थ्यो । पछिल्लो घडीमा  उहाँले बारम्बार एउटै गीत गाउनुहुन्थ्यो : ‘डाँडै घुम्यो चिल, दुई दिनको रैछ र ज्यादी बस्यो दिल ।’यो गीत सुन्दा मलाई कताकता ननिको लाग्थ्यो । एकतिर बढ्दो नशामोह र अर्कोतिर रोगले विस्तारै पासो हाल्दै लगेको अवस्था । उहाँको गीतबाट मेरो मनमा चिसो परेको थियो । त्यसमा मैले अनिष्ट स्थितिको आभास पाएको थिएँ । उहाँको जिन्दगीसित नाता टुट्दै जाने र मृत्युसितको नाता प्रगाढ बन्ने क्रममा तीव्रता आएको मेरो पापी मनले चुपचाप अनुभूति गरिरहेको थियो ।उहाँको बिरही भाका सुनेर मेरो पापी मन बेसरी कुर्लियो ।

किन हो कुन्नि, रोगले च्याप्दै ल्याए पनि उहाँलाई उपचार गर्ने मन पनि भएन । जिन्दगी देखेर किन हार खानुभयो, थाहा छैन । बिरामी भएको थाहा पाएर छोरी–ज्वाइँ पटक पटक लिन आउँदा जान्न भनेर अड्डी लिनुभयो । छोरी–ज्वाइसँग चरचर्ती बाझ्नुभयो तर उपचारका लागि अस्पताल जान तयार हुनुभएन ।

रोगले साह्रै भएपछि उपचारका लागि पोखरा पठाउने योजना बन्यो । त्यसमा पनि उहाँले हुनसम्म आनाकानी गर्नुभयो । उहाँ एउटा सर्तमा मात्र पोखरा जान तयार हुनुभयो । त्यो हो, उहाँको श्रीमती पनि साथैमा जानुपर्ने । तर यतिञ्जेलसम्म उपचारको चाँजोपाँजो निकै ढिलो भइसकेको थियो ।

आफ्नो गाउँ तुर्लुङकोटबाट गाडी चढ्दाको बेलामा उहाँले श्रीमतीलाई भन्नुभएको रहेछ, ‘सुमित्राको आमा,  अब म फर्किन्न । घर त तँ मात्रै फर्किने हो ।’

हुन पनि जस्तो भन्नुभएको  थियो, त्यस्तै भयो । उहाँ घर फर्कनुभएन । व्यथाले भात भएर पोखरा पुगेको एक हप्ता बित्दानबित्दै उहाँले  असंख्य साथीसँगी र शुभचिन्तकरूलाई चकित तुल्याएर  ५८ वर्षको उमेरमै २०७२ साल वैशाख ४ गते संसार छाड्नुभयो । मुढा भएको उहाँको शरीर आगोको मुस्लोले खरानीमा परिणत गर्दै गरेको अवस्थामा कर्णेल गोकुल दुरा र म पनि पोखराको रामघाट पुगेका थियौँ । दनदनी बलिरहेको चिता अगाडि हामी मूकदर्शक बनेर उभिरहेका थियौं ।

उहाँले सांसारिक मोहजालबाट उम्केर परलोक पुगेको तेस्रो दिनमा म तुर्लुङकोट पुग्दा त्यहाँ शोकको माहोल थियो । उहाँका साथीसँगी र समबैंशेको शिर ठाडो थिएन, आँखा ओबाएको थिएन । उनीहरू गहिरो शोकमा थिए । उहाँको ठट्यौलो स्वभाव सम्झेर उनीहरू घरीघरी रुञ्चे हाँसो हाँसिरहेका थिए, परेलीभित्रै आसु लुकाएर । उनीहरूले गिरी सरलाई सम्झेर उही गीत गुनगुनाइरहेका थिए : ‘डाँडै घुम्यो चिल, दुई दिनको रैछ र, ज्यादी बस्यो दिल ।’

[अद्यावधिक:  २०७२।०१।२२,२०७२।०१।२३, २०७२।०२।०५, २०७२।०३।२३,  २०७२।०५। २४ ]



No comments:

Post a Comment