Saturday, May 9, 2015

भूकम्पका सामाजिक प्रकम्पनहरू


–यमबहादुर दुरा

ग्राफिक्स् :  गुगल


लोकतन्त्र दिवसको सुन्दर क्षणमा रमाएका नेपालीहरूका खुसीयाली एक दिन बित्न नपाउँदै पानीको फोका फुटेजस्तै भयो । २०७२ साल वैशाख १२ गते बिहान ११ः५६ बजे नेपाली भूगोलको गर्भमा भएको हलचलले नेपालीजनका सारा खुसीयाली क्षणभरमै हरेर लग्यो ।

त्यस निष्ठुर भौगर्भिक घटनाले के के मात्र गरेन ! नेपाली परिवारका हजारौं प्रियजनलाई खोसेर कालको मुखमा पुर्याइदियो, थुप्रै कर्मजीवीलाई बैशाखीको साहराले हिँड्ने अवस्थामा पुर्यायो, घरलगायतका भौतिक संरचनामाथि रीस पोख्यो, धराहरालगायतका ऐतिहासिक धरोहरहरूलाई धुलिसात बनाइदियो । अन्ततः नेपालीलाई गहिरो मानसिक चोट उपहार दिएर गयो ।

नेपाली भूगोलमा सहसा विनाशलीला मच्चाउन सफल त्यस भौगर्भिक घटनाले भौगोलिक प्रकम्पनमात्र ल्याएन, सामाजिक जीवनमा पनि प्रकम्पन र तरङ्गहरू ल्याएरै छाड्यो । नेपाली समाज फेरि एक अभूतपूर्व रूपमा तरङ्गित हुन पुग्यो । हरेक घर, चोक, गल्ली र चिया पसलमा भूकम्पबाट पैदा भएका कारुणिक र विस्मातपूर्ण अवस्थाबारे कुरा खापाखाप भए । भूकम्पबाट सिर्जित परिस्थितिबारे  ‘फेसबुक’ जस्ता सामाजिक सञ्जालहरूमा थुप्रै चर्चा–परिचर्चा भए, थुप्रै विचार र जवाफी विचार आए ।

भूकम्पले जनजीवनलाई दुःखित, त्रस्त र आतङ्कित तुल्याएको बेलामा सामाजिक परिदृश्यमा मानवीय र दानवीय दुवै प्रवृत्ति देखा परे । कोही आफन्तजन गुमाएका र सम्पत्ति सर्वनाश भएकालाई माया–ममता र सदभावरूपी भुवादार रुमालले आँसु पुछिदिनतिर लागे भने कोहीचाहिँ तिनै प्रकृतिबाट ठगिएका निरीह नेपालीजनको विवशतालाई माध्यम बनाएर नाजायज फाइदा उठाउन पनि पछि हटेनन् ।

सामाजिक परिदृश्यमा देखापरेका यी दुवै प्रवृत्तिको सेरोफेरोमा सामाजिक सञ्जालका बहस केन्द्रित थिए ।


***

मौकाको फाइदा उठाएर व्यापारीहरूले तेब्बर–चौबर दाममा उपभोग्य वस्तु बेचेको खबर अनलाइन समाचार पोर्टलहरूमा आए । व्यापारीहरूका यस्ता अनैतिक र सम्वेदनाहीन कार्यशैलीप्रति जनस्तरमा चर्को आक्रोश देखापरे । १९९० सालमा आएको भूकम्पको बेलामा पनि व्यापारीहरूले यस्तै व्यवहार देखाएका रहेछन् ।
तत्कालीन प्रधानमन्त्री जुद्ध शमसेरले नाजायज फाइदा उठाउने त्यस्ता व्यापारीहरूलाई पाँचजनालाई साक्षी राखेर काटिदिए हुन्छ भनेका रहेछन् । उनको त्यस्तो भनाइलाई धेरैले ‘फेसबुक’ मा सेयर गरे । हुकुमी शासनकालका प्रधानमन्त्री जुद्ध शमसेरको भनाइलाई लोकतान्त्रिक नेपालका कतिपय नागरिकले एकदमै जायज ठहयाए भने कतिले क्रुर व्यवहार भनेर टिप्पणी गरे ।

भूकम्पछिको राजधानी शहर काठमाडौं कोलाहल, आतङ्क र अनिश्चयको राजाधानीझैं बन्नपुग्यो ।  न बिजुली, न यातायात, न दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता । थियो त केवल त्रास, आतङ्क र अनिश्चतता । धेरै मानिस संकटग्रस्त राजधानीको उकुसमुकुसपूर्ण वातावरण उम्किन खोजिरहेका थिए । उनीहरू राजधानीबाट बाहिरिन हतारिँदै थिए ।

अनिश्चयपूर्ण वातावरण । तुलनात्मक रूपमा सवारी साधानको न्यून उपलब्धता । त्यसमा पनि एकैचोटि भनायक ठूलो जनसमूह राजधानीबाट बाहिरिन खोज्दा सवारी साधानको अभाव हुनु स्वाभाविकै थियो । अनि त मौकाको ताकमा बसेका केही यातायातकर्मीहरूका दिन खुलिहाल्यो । अनिश्चिय र विवशताको पहाडले थिचिएका यात्रुहरू । त्यतिबेला पाँच सय भाडा लाग्नेमा २५०० सय रूपैयाँसम्म भाडा तिर्न उनीहरू बाध्य भएको समाचार आयो ।

त्यही समयमा केही उदारमना व्यक्ति, संस्था र यातायात व्यवसायीहरूले काठमाडौंदेखि पोखरासम्म निःशुल्क बससेवा सञ्चालन गरे । यो काम लोभीपापी र बैगुनीहरूका कार्यशैलीलाई निःशब्द जवाफ बन्यो । निःशुल्क बससेवा समाजसेवाको आफैंमा एउटा सुन्दर उदाहरण बन्यो । यसपछि बढी भाडा असुल्ने यातायातकर्मीले सामाजिक सञ्चालहरूमा कटु आलोचना भेटे भने निःशुल्क बससेवा सञ्चालन गर्नेहरूले वाहवाही पाए ।

भूकम्पले धुलिसात पारिदिएको ऐतिहासिक धरोहरहरूमध्ये भीमसेन थापाकालीन धरहरा धेरैको चासोको विषय बन्यो । कतिपयले ढलेको धरहरा परिपरि घुम्ने, पोज दिएर सेल्फीे खिच्ने र त्यसलाई ‘फेसबुक’ मा पोष्ट गर्ने काम गरे । यसलाई कतिपयले टेढो नजरले हेर्न थाले । राष्ट्रिय स्मारक धुलिसात भएकोमा खुसियाली मनाएको सम्झे । धराहरामा 'सेल्फी' खिच्नेहरूमाथि सम्वदेनाहीन बनेको आरोप लाग्यो । उनीहरूका अगाडि नैतिक प्रश्न खडा गर्ने गर्ने काम भयो ।

धरहरा प्रकरण यतिमै अन्त्य भएन । एउटा अनलाइन न्युज पोर्टलले धरहराका इटा चोरी भइरहेको समाचार पोष्ट गर्‍यो । त्यस पोर्टलले इटा चोरी गर्ने काममा एकजना उच्चपदस्थ सरकारी अधिकृतको समेत संलग्नता रहेको समाचार विवरण भिडियो सहित प्रकाशन गर्यो । समाचार कति यथार्थपरक हो, त्यो थप अनुसन्धानको विषय हुनसक्छ । जेहोस्, यसले राष्ट्रिय सम्पत्तिको उचित संरक्षण र पहरेदारी नभएकोतर्फ ध्यानाकर्षण गरेर गुन लगायो ।

***

भूकम्पपछि मदिराको व्यवसायी व्यवहार पनि चर्चाको विषय बन्यो । मदिरा व्यवसायीको संस्थाले भूकम्पबाट क्षति हुन पुगेको मदिराको क्षतिपूर्तिबारे दैनिक अखबारमा सूचना प्रकाशन गर्‍यो  । यो सूचना सर्वत्र आलोचनाको विषय बन्यो । राष्ट्रिय विपत्तिको घडीमा मदिराको क्षतिपूर्ति माग्ने हो कि प्राकृतिक विपत्तिबाट बेहाल हुन पुगेका असहायहरूका सेवामा जुट्ने हो भनेर धेरैले सामाजिक सञ्जालमा प्रश्न राखे । एकजनाले मदिरा व्यवसायीको व्यवहारप्रति टिप्पणी गर्दै ‘फेसबुक’ मा लेखे, ‘कसैलाई के धन्धा, घरज्वाइँलाई खानको धन्दा भनेको यही हो ।’

यही समयमा केही लेखकहरू पनि सामाजिक सञ्जालहरूमा तिखा आलोचनाको निसाना बने । आलोचनाको विषय थियो, देश विपतको बेलामा राहत र उद्धार कार्यमा लाग्नुको सट्टा धर्नामा बस्नु । लेखकहरूको एक झुण्ड २०७२ साल वैशाख १५ गते प्रधानमन्त्री निवास नजिक धर्ना बसेका थिए । धेरैको आरोप थियो,  सधैभरि चर्चामा आउन चाहने यी लेखकहरू भूकम्पलाई माध्यम बनाएर चर्चा बटुल्ने नाजायज प्रयास गरिरहेका छन् ।

भूकम्प आएपछिका दिनहरूमा हल्लाको खेती पनि राम्रैसँग सप्रियो । भूकम्पले सिङ्गो देशलाई कम्पयमान बनाएको बेलामा फैलिएको हल्लाले नेपाली जनजीवनलाई अर्कै किसिमले कम्पयमान बन्यो । भूकम्पले विनाशलीलाले मच्चाएर जनजीवन त्रस्त भएको बेलामा अझ ठूलो भूकम्प आउँदैछ भन्ने हल्ला मच्चियो । हल्ला डढेलोको आगोसरी फैलियो । हल्ला  ‘भाइरल’ बन्यो । यसलाई निस्तेज पार्न जिम्मेवार निकायले हल्लाको पछि नलाग्न सूचना प्रवाह गर्नुपर्ने अवस्था आयो ।

पीडाको आहलमा डुबेका नागरिकलाई सान्त्वना दिनुपर्नेमा थप आतङ्क थप्नेहरूप्रति जनआक्रोश चुलिँदै गयो । जनआक्रोश बढ्दै गएपछि त्यस्तो कुकृत्य मच्चाउने व्यक्तिहरूको खोजी हुन थाल्यो । तीमध्ये केही समातिए । एकजनाले त आक्रोशित नागरिकबाट रामधुलाई भेटेछन् । रोचक कुरा के थियो भने समातिनेमध्येमा अनलाइन पत्रकारहरू पनि थिए । सही समयमा सही सूचना प्रवाह गरेर नागरिकलाई सुसूचित तुल्याउने जिम्मेवारी पाएका पत्रकारबाटै यस्तो हुनु आफैंमा लज्जास्पद कार्य थियो । प्रहरीले सार्वजनिक गरेको दुईजना आरोपीको तस्बिर एकजना रेडियो पत्रकारले ‘ट्वीटर’ मा पोष्ट गरिन् । उनले ‘ट्वीटर’ मा आक्रोश पोखिन्, ‘फाँसी दिनुपर्ने यी दुष्टलाई ।’

लोभीपापी मनस्थितिबाट निर्देशितहरूका आचरण नै बेग्लै । समाचार आयो, भारतबाट आएको राहत सामग्री व्यापारीको गोदाममा पुग्यो । त्यस्तै अर्को समाचार आयो, राहतस्वरूप आएको त्रिपाल व्यापारीको हातमा पुग्यो र त्यसलाई लाजै नमानी बिक्री गरियो । इमानजमान नै स्वार्थको बन्धक बनेपछि यस्तै निर्लज्ज देख्नुपर्ने र सुन्नुपर्ने हुन्छ । भूकम्पले इमानजमान हराएको समाचार सतहमा ल्याइदियो ।

***

सञ्चार माध्यमले नेपालको भूकम्पबारेका थुप्रै समाचार प्रकाशन/प्रसारण गरे । ती समाचारमाध्ये एउटा थियो, भूकम्प आएको तीन दिनपछि घरको भग्नावशेषबाट एक महिलाबारे । घरको गर्भबाट निकालिएकी ती महिलाले आफ्नो गर्भबाट एक बालिकालाई जन्म दिइन् । उनको नाम राखियो, भुइँचालो । हालका दिनहरूमा नयाँ घटनाक्रमलाई समेटेर नाम चलन बढेको छ । यही चलनको नवीनतम् दृष्टान्त बनिन्, नवजात शिशु ‘भुइँचालो’ ।

भूकम्पको समयमा ‘नागरिक पत्रकारिता’ ले अतुलनीय भूमिका खेल्यो । भूकम्प पीडितहरूको तस्बिर सार्वजनिक गर्ने, पल पलमा क्षतिको विवरण जनसमक्ष ल्याउने, पीडितले राहत पाए–नपाएकोबारे रखबारी र पहरेदारी गर्ने, बढी भाडा लिने सवारी साधनको नम्बर प्लेट देखिने तस्बिर गरी तस्बिर पोष्ट गर्ने, महङ्गोमा सामान बेच्ने व्यापारीको कर्तुत सार्वजनिक गर्नेजस्ता लोकहितैषी काम ‘नागरिक पत्रकारिता’ ले गर्यो ।

कतिपय अवस्थामा त मूलधारका सञ्चार माध्यमभन्दा अगाडि देखियो, ‘नागरिक पत्रकारिता’ । विपतको घडीमा मूलतः ‘फेसबुक’ र ‘ट्वीटर’ मार्फत भएका ‘नागरिक पत्रकारिता’ ले लगाएको गुन प्रशंसायोग्य ठहरियो । धन्य छ, चौबीसै घण्टा आँखा झिमिक्कसम्म नगरी पहरेदारी गर्ने 'सोसल मिडिया' ।

नेपालको भूकम्पबारे रिपोर्टिङ गर्न भारतीय टेलिभिजन च्यानलका संवाददाताहरू नेपाल भित्रिए । भूकम्पले पारेको प्रभावबारे रिपोर्टिङ गरेर उनीहरूले राम्रै गुन लाए भन्नुपर्छ । यति हुँदाहुँदै पनि ‘प्यारासुट जर्नलिष्ट’ का रूपमा नेपाल भित्रिएका उनीहरूको रिपोर्टिङमा अफवाह फैलाउन काम पनि गरे । उनीहरू पाकिस्तानले नेपाललाई पठाएको राहत सामग्रीमा ‘बिफ मसला’ पनि समावेश थियो भनेर उनीहरूले रिपोर्टिङ गरे ।
यसबारे पाकिस्तानले तत्कालै प्रेस विज्ञप्ति जारी गरेर आफूविरुद्ध अफवाह फैलाएर बद्नाम गर्ने प्रयास भनी समाचारको खण्डन गर्‍यो । रिपोर्टिङका क्रममा भारतीय समाचार च्यानलहरूले मानवीय सम्वेदनालाई ख्याल नगरेको र विषयवस्तुलाई अतिरञ्जनापूर्ण ढङ्गले प्रस्तुत गरेको आरोप पनि लाग्यो ।

 नेपाली बुद्धिजीवीहरूले भारतीय सञ्चार माध्यमको यसप्रकारको रवैयाको विरोध गरे । यसमा कलाकारहरू पनि मिसिए । ती कलाकारले साङ्केतिक रूपमा विरोध प्रदर्शन नै गरे । सामाजिक सञ्जालहरू भारतीय समाचार च्यानलहरू आलोचनाको विषय बने । नेपाली नागरिक भारतीय समाचार च्यानलहरूप्रति आक्रोशित भएको समाचार बीबीसी र सीएनएनका वेबसाइटमा पनि आए ।

त्यही बेला नेपालीहरू उग्रराष्ट्रवादी बनेको र भारतीय समाचार च्यानलको विरोध गरिरहँदा नेपाली सञ्चार माध्यमको कमजोरीबारे आँखा चिम्लिएको आवाज केही नेपालीले  झिनो स्वरमा भए पनि उठाए । यद्यपि मिडिया सधैँभरि निरपेक्ष र निर्विवाद रहन सक्दैन । मिडियाको मर्म र धर्मबारेको बहस अनन्त रूपमा चलिरहन सक्छ ।

***

विपत्तिमा मानिसको सही पहिचान हुन्छ । यस राष्ट्रिय विपतको घडीमा कसले नायकको भूमिका खेल्यो, कसले खलनायकको व्यवहार देखायो भन्ने प्रष्ट भयो । कसले मानवीय व्यवहार देखायो र कसले दानवीय प्रवृत्ति अपनायो, त्यो पनि प्रष्ट भयो । समग्रमा भन्दा भूकम्पले नेपाली समाजमा विद्यमान तीतो र मीठो दुवै पक्षलाई उजागर गरिदियो ।

पृष्ठभूमिमा जेजस्ता दृश्य देखा परे पनि नेपाली मनको मानवीय भावनाले समाजलाई सर्लक्कै छोप्यो । समाजलाई विपत्तिले घेरा हालेको बेलामा नेपालीे भाइचारा फेरि एकपटक जुर्मुरायो । ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्ने भनाइको व्यवहारिक रूप देखापर्‍यो ।

स्वदेश तथा विदेशमा रहेका मनकारी नेपालीहरू भूकम्पपीडितका लागि राहत संकलनमा जुटे ।  उनीहरू मर्माहत मनहरूमा आशा र भरोसा पुनर्बहाली गर्न तल्लीन रहे । कतिपय अस्पतालले औषधोपचारको निःशुल्क व्यवस्था मिलाए । कतिपय होटलले बिचल्लीमा परेकाहरूलाई निःशुल्क दाल–भात उपलब्ध गराए । यही हो, हाम्रो भाइचाराको मर्म ।

यिनै हुन्, भूकम्पले नेपालमा ल्याएको केही सामाजिक प्रकम्पन र तरङ्गहरू । यसबाट नेपाली भाइचाराको परीक्षण गर्ने मौका मिल्यो । भूकम्पपछि देखापरेका यी सामाजिक प्रकम्पन र तरङ्गहरूले नेपाली जनजीवनको बदलिँदो तस्बिर प्रस्तुत गर्नुका साथै नेपालको सामाजिक नक्शा बदलिँदै गइरहेको छ भन्ने सन्देश पनि दिएका छन् ।

[साभार : राजधानी  (वैशाख २६, २०७२) पृ.९ । सामान्य परिमार्जन सहित ।]

No comments:

Post a Comment