Saturday, June 27, 2015

सञ्चार सिद्धान्त जन्माउने त्यो घटना

–यमबहादुर दुरा


अमेरिका । सन् १९३८ अक्टोबर ३० तारिखको साँझ । ‘हलोविन’ पर्वको पूर्वसन्ध्या । अर्थात् अमेरिकीहरूले धुमधामसँग मनाउने 'हलोविन'पर्वको अघिल्लो साँझ । अमेरिकीहरू स्वाभाविक ‘फेस्टिभ मूड’ मा थिए । सबै कुरा ठीकठाक चलिरहेको थियो । यस्तैमा त्यही साँझे बजे अमेरिकी रेडियो नेटर्वकमा गजबको रेडियो नाटक प्रसारण भयो । नाटक साँझ ८ बजे कोलम्बियन ब्रोडकाष्टिङ सिस्टम (सीबीएस) बाट एक घण्टासम्म प्रसारण भएको थियो, जसको  शीर्षक थियो,  ‘द वार अफ द वर्ल्ड्स्’ ।


नाटकमा मंगल ग्रहका प्राणीहरू पृथ्वीमा आएर हमला गरेको प्रसंग थियो, त्यो पनि अमेरिकाको न्यू जर्सी राज्यको गोभर्स् मिल
भन्ने ठाउँमा ।  नाटक प्रख्यात लेखक एच जी वेल्स (सन् १८६६–१९४६) ले सन् १८९८ मा प्रकाशन गरेको विज्ञान उपन्यास ‘द वार अफ द वर्ल्ड्स्’ मा आधारित थियो । नाटकको प्रस्तुति संवाददाताले कुनै घटनाको प्रत्यक्ष वर्णन (प्रसारण) शैलीमा थियो ।

त्यस नाटकले अमेरिकी समाजमा नचिताएको परिणाम ल्यायो । नाटकको विषयवस्तु नितान्त काल्पनिक थियो । तर पनि बीचमा नाटक सुन्नेहरूले त्यसलाई भ्रमवश सत्य ठाने । उक्त नाटकको प्रसारण अमेरिकाभरमा १ करोड २० लाख मानिसले सुनेकोमा १० लाखले त्यसमा वर्णित घटनालाई सत्य ठानेको विश्वास गरिन्छ ।

अमेरिकी क्यालेन्डरमा ‘हलोविन’ एउटा भुत्याहा पर्व हो । अमेरिकीहरू ‘हलोविन’ पर्वको पूर्वसन्ध्यामा आफ्ना मृत पूर्खाहरू पृथ्वीमा झर्छन् भन्ने विश्वास गर्छन् । यसप्रकारको विश्वासले पनि उनीहरूलाई नाटकको प्रसंग सत्य हो भन्ने लाग्यो ।

नाटक सुनेर अमेरिकीहरू हुनसम्म आतङ्तिक बने । गृहिणीहरू चिच्याउँदै घरबाहिर निस्कन थाले । मानिसहरू घर छाडेर सुरक्षित स्थानमा निस्कन थाले । कतिपयले पृथ्वीमा आक्रमण गर्न आउने मंगलग्रहका प्राणीलाई हान्न भनेर बन्दुकमा गोली लोड गर्न थाले । कोलाहाल मच्चियो । शहरमा अचम्मसँग ट्राफिक जाम हुन थाल्यो ।

भोलिपल्ट अमेरिकी समाचारपत्रहरूमा अघिल्लो दिनको साँझको नाटकले पारेको भ्रम र त्यसबाट भएको भागदौडबारे भंगेरे अक्षरमा हेडलाइन छापिए । नाटक निर्माता तथा उत्पादकरूले अमेरिकी नागरिकमा पर्न भ्रमप्रति माफी माग्नुपर्‍यो । अमेरिकी प्रसारण इतिहासमा यो घटना ज्यादै कुख्यात मानिन्छ ।


त्यो घटनाको प्रभाव सञ्चारशास्त्रीहरूमा पनि नपर्ने कुरै थिएन । यही घटनाको आधारमा उनीहरूले सञ्चारसम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरे । ‘द वार अफ द वल्र्डस्’ नाटकले स्रोतागणमा पारेको प्रत्यक्ष र सीधा असरका आधारमा उनीहरूले मिडियाको अडियन्समाथि सीधा, प्रत्यक्ष र शक्तिशाली असर रहन्छ भन्ने मान्यता अघि सारे ।

यो सिद्धान्त 'बुलेट थ्योरी', 'म्याजिक बुलेट थ्योरी', 'हाइपोडर्मिक निडल थ्योरी', 'प्यारासुट थ्योरी' आदि नामले चिनिन्छ । अमेरिकी समाजलाई आतङ्कित तुल्याउने त्यस घटनाले सञ्चारको एउटा नयाँ सिद्धान्तलाई जन्म थियो । यस सिद्धान्तले आमसञ्चार माध्यमबाट चाहेको सन्देश अडियन्स (स्रोता, दर्शक तथा पाठक) समक्ष अचुक रूपमा सम्प्रेषण गर्नसक्छ भन्ने मान्यता राख्छ । जस्तै : कुशल निसानाबाजले हानेको गोलीले ताकेकै ठाउँमा लागेझैं, सिरिञ्जमार्फत पठाइएको औषधि सीधै रक्तप्रवाहमा मिसाउन सकिएझैं, प्यारासुटबाट जम्प गर्दा अपेक्षित स्थानमा अवतरण गर्न सकिएझैं ।








त्यस सिद्धान्त प्रतिपादनको प्रतिपादनमा अरू घटनाक्रमहरूले पनि सहयोगी भूमिका खेलेको देखिन्छ । त्यतिबेला उकालो लाग्दै गरेको रेडियो र टेलिभिजनको लोकप्रियताको ग्राफ, जर्मनीमा हिटलरले सञ्चार माध्यममा कायम गरेको एकाधिकार (जुन 'गोयबल्स सिद्धान्त' नामबाट परिचित छ) , चलचित्रको चुलिँदो लोकप्रियता एवम् विज्ञापन र प्रोपगण्डा उद्योगले जनमनमा पारेको गहिरो प्रभावले त्यसमा योगदान दिएको देखिन्छ ।

आजभन्दा ७७ वर्षअघि भएको ‘द वार अफ द वर्ल्ड्स्’ नाटकको प्रसारणले निम्त्याएको आतङ्क र जन्माएको सञ्चार सिद्धान्त सञ्चार-अध्येताहरूबीच आज पनि उत्तिकै रोचक र प्रेरणादायी प्रसंग हुन पुगेको छ ।



[साभार : नेपालपाटी (असार १२, २०७२) । परिमार्जित संस्करण । इन्टरनेटमा उपलब्ध सामग्रीहरूमा आधारित । ग्राफिक्स : गुगल ।]

No comments:

Post a Comment