Saturday, July 4, 2015

सडक सभ्यता

–यमबहादुर दुरा

सडक निख्लो सडकमात्र नभएर जीवनशैली, संस्कृति र सभ्यतको परिचायक पनि हो । विश्वप्रख्यात रोम सभ्यताको वैभवमा त्यहाँका सडकले बान्की थपेको इतिहास छ । सफा र सुन्दर सडक तथा सभ्य नागरिक रोम सभ्यताको अभिन्न हिस्सा मानिन्थे । रोमको सभ्यता र सडक एक सिक्का दुई पाटाजस्तै थिए । भनाइ नै छ, ‘अल द रोड्स लिड टु रोम’ । यसले रोमको वैभव सबैको चिरपोषित अभिलाषा हो र मीठो गन्तव्य पनि हो भन्ने आभ्यान्तरिक भाव दिन्छ । यसबाट रोमको सभ्यता र साम्राज्य विस्तारमा सडकले अतुलनीय भूमिका खेलेको तथ्यसम्म पुग्न कठिन छैन ।

सडकले जीवनशैली, संस्कृति र सभ्यतालाई जोड्छ । त्यसमा पनि आधुनिक जीवनशैलीमा सडक ‘लाइफलाइन’ नै हो । सडक बिना आधुनिक जीवनशैलीको प्राणवायु सञ्चार हुन सक्दैन । सडकको प्रसंग नझिक्दा आधुनिक र प्रगतिमुखी समाजको अध्याय झनै अपूरो हुन्छ ।

त्यसो भए, एक्काइसौं शतव्दीको आभामा आलोकित र लोकतन्त्रको परिष्कृत मूल्य–मान्यताहरूबाट सिंगारिएका तपार्इँ-हाम्रो सडक सभ्यता कस्तो छ ? हामीले जीवनदायिनी सडक सभ्यताको इज्जत राख्न सकेका छौं कि छैनौं ? बदलामा सडक सभ्यताले हाम्रो इज्जत जोगाएको छ कि छैन ? हामीले सडकमा प्रदर्शन गर्ने व्यवहार कस्तो छ ? प्रत्येक सडक प्रयोगकर्ताले आफैंसँग सोध्नुपर्ने यी प्रश्नका उत्तरले हामीलाई निकै हदसम्म लज्जित तुल्याउने छ ।

देशको साक्षरता दर उत्साहजनक रूपमा दरमा बढेको छ । लोकतन्त्र, मानव अधिकार र नागरिक हकका विषयमा व्याख्यान दिने सचेत नागरिकको संख्या बढ्दो छ । तर पनि हाम्रो ‘सिभिक सेन्स’ को ग्राफ अपेक्षित रूपमा उकालो लागेको छैन । हामीले सडकमा देखाउने गैरजिम्मेवारपूर्ण व्यवहारले हाम्रो ‘सिभिक सेन्स’ कमजोर छ भन्ने तथ्य पुष्टि हुन्छ । हामीले सडकमा प्रदर्शन गर्ने व्यवहारले हाम्रो सोंचाइको स्तर र सभ्यताको स्तर पनि निर्धारण गर्छ ।

राजधानीको व्यस्त सडकको ‘जेब्रा क्रसिङ’ मा उभिएर बाटो पार क्रममा हुनुहुन्छ भने हाम्रो सडक सभ्यताको स्तरबारे क्षणभरमै भेउ पाउनुहुनेछ । ‘जेब्रा क्रसिङ’ पैदलयात्रुका लागि हो र सवारी चालकले ‘जेब्रा क्रसिङ’ रहेकालाई उच्च प्राथमिकता दिनुपर्छ भन्ने सामान्य नियम पनि पालना भएको पाइँदैन । उल्टै सवारी चालकले बाटो छोड्न चेतावनी दिँदै चर्को हर्न बजाएर ‘जेब्रा क्रसिङ’ मा उभिएकालाई त्रस्त पार्ने प्रवृत्ति चलनको रूप ग्रहण गरेको छ ।

सडकमा बेपर्वाहसँग थुक्ने; केराको बोक्रा, गाडीबाट चकलेट, बिस्कुट आदिको खोल निर्धक्कसँग सडकमा किसिमले फाल्ने; अकारण हर्न बजाउने; यातायातकर्मीबाट हुने अभद्र व्यवहार, ठाउँ–कुठाउँ ‘ओभरटेक’ गर्ने, सडक पेटीमै बिनाहिच्किचाहट मोटरबाइक कुदाउने, ‘लेन डिस्प्लिन’ मिच्ने, जथाभावी बाटो काट्नेजस्ता अशोभनीय व्यवहार आमप्रवृत्ति नै बनेको छ ।

सडकको दायाँवायाँ लगाइएका विरुवा शहरको शोभा हो । तिनलाई जोगाउनु हुर्काउनु सबैको जिम्मेवारी हो । विडम्बना नै भन्नुपर्छ, भर्खरै सारिएका विरुवाहरुलाई चिमोट्ने तथा हाँगा भाँच्ने काम हामीबाटै भइरहेका छन् । हामीले आफ्ना आनीबानी र आचार विचार सुधार्न नसक्दा आफैं देखेर लज्जित हुनुपर्ने अवस्था छ ।

यी कुकृत्यको साक्षी बन्नुपर्दा यस्तो लाग्छ – सडक मनमस्ती साँध्ने ठाउँ हो, जहाँ जे गरे पनि हुन्छ, जसो गरे पनि हुन्छ । मानौं, हाम्रो कुकृत्यको अगाडि लाचार बनेको थलो हो सडक, जहाँ हामीभित्र मौलाएको गैरजिम्मेवारीपनको कुरूप दृष्टान्त देख्न पाइन्छ ।

‘जेब्रा क्रसिङ’ पैदलयात्रुका लागि सुरक्षित क्षेत्र मानिन्छ । तर ‘जेब्रा क्रसिङ’ मै गाडीले  पैदलयात्रुलाई ठक्कर दिएको थुपैै्र दृष्टान्त छ । ट्राफिक नियम उल्लङ्घन गर्दा भोग्नुपर्ने परिणाम पनि कम भयावह छैन । विश्व स्वास्थ्य सङ्गठनले सन् २०११ मा सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालमा सडक दुर्घटनाबाट प्रतिवर्ष दुई हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ, जुन कुल मृत्युको १ं.७० प्रतिशत हुन आउँछ । अर्को आँकडा अनुसार नेपालमा हुने कुल सवारी दुर्घटनामध्ये ५० प्रतिशत हिस्सा राजधानी शहर काठमाडौंले ओगट्छ ।

 विश्वमा सडक दुर्घटनाबाट हुने कुल मृत्युमध्ये ७० प्रतिशत हिस्सा विकासोन्मुख मुलुकहरूले ओगट्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले सडक दुर्घटनालाई तीव्र गतिमा बढ्दै गएको महामारीको रूपमा चित्रण गरेको छ ।

सडक सुरक्षासम्बन्धी विश्व प्रतिवेदन ‘ग्लोबल स्ट्याटस रिपोर्ट अन रोड सेफ्टी २०१३’ का अनुसार नेपालमा सडक दुर्घटनाबाट प्रति एक लाखमा १६ जनाको मृत्यु हुन्छ । सोही प्रतिवेदनका अनुसार बेलायत, स्वडेनजस्ता विकसित मुलुकमा प्रति एक लाखमा तीन जनाभन्दा कमको मृत्यु हुन्छ । यस हिसाबले सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशहरूको सूचीमा नेपाल पनि पर्छ  । मानिसलाई शारीरिक रूपमा अपाङ्ग बनाउने मूल स्रोतमध्ये सडक दुर्घटना अग्रपक्तिमा आउँछ ।

सडकमा हामीले प्रदर्शन गर्ने अधैर्य र गैरजिम्मेवार व्यवहारले मानवीय क्षति र सभ्यताको क्षयीकरण भइरहेका छन् । लोकतन्त्र बोली र भाषणमात्र होइन, त्यो भन्दा ठूलो त व्यवहार हो । देश सप्रिन नसकेकोमा गोष्ठी र अन्य जमघटमा भयानक गम्भीर चिन्ता व्यक्त गर्ने हामीले आफ्नै बानी–व्यहोरामा सामान्य भन्दा सामान्य सुधार गर्न नसक्दा हाम्रो बोली र व्यवहारमा फराकिलो अन्तर देखिएको छ ।

हामीले नागरिक अधिकारका कुरा धेरै गर्‍ यौँ। अधिकारका कुरा गर्दा धेरै कर्तव्य भुल्न थाल्यौँ । हामीले सडक सभ्यता जोगाउने हो भने प्रत्येक सडक प्रयोगकर्ताले आफ्नो कर्तव्यलाई बढी ध्यान दिनुपर्ने अवस्था आएको छ । सबैले सचेत मनले कर्तव्य पालना गर्ने हो भने कमजोर सडक सभ्यता छोटो समयमै हराभरा हुनसक्छ ।

सडकमा हुनेखानेदेखि हुँदाखानेसम्मका नागरिकका जीवनशैली र व्यवहार प्रतिविम्बित हुन्छ । सडक सभ्यताको प्रदर्शनी स्थल  हो । अझ भनौं, सडक सभ्यताको ‘सो केस’ हो । हामीले सडकमा कस्तो सभ्यता प्रदर्शन गरिरहेका छौंँ ? प्रश्नको उत्तर हामीभित्रै खोज्नुपर्ने हुन्छ ।

[साभार : नेपालपाटी (असार १९, २०७२) ]

[अद्यावधिक:  २०७२।०४।१४ ]
 

No comments:

Post a Comment