Saturday, July 18, 2015

त्यो साउने संक्रान्ति

–यमबहादुर दुरा

जिम्मेवारीको चाङ र शहरको कोलाहलबाट आफूलाई एकैछिन अलग राखेर अतीतलाई चियाउँदा आँखासामु कहिलेकाँही अतीतका दृश्य हाँजिर हुन आइपुग्छन् । जिन्दगीको आँखीझ्यालबाट अतीतलाई चियाउँदा आँखामा झलझली आउने अनेकौं दृश्यमध्ये एक हो, साउने संक्रान्ति ।

नेपाली समाजमा एउटा भनाइ प्रचलित छ, ‘माघे संक्रान्ति मनाइन्छ मरिन्छ कि भनेर, साउन संक्रान्ति मनाइन्छ बाँचियो भनेर ।’

साउने संक्रान्तिपछि समयले हिउँदे पय लिन थाल्छ । खेतमा रोपिएको धान विस्तारै सप्रिँदै जान्छ । खेतबारीमा बर्खे अन्नबाली लहलहलाउन थाल्छ । केही अपवादबाहेकका अवस्थामा खोलानाला विस्तारै सङ्लिँदै जान्छ । बर्खायाम र त्यसले निम्त्याउने त्रासपूर्ण वातावरण विस्तारै ओझेल पर्दै जान्छ । विस्तारै हिउँद -उन्मुख रुमानी पलहरू मौलाउँदै जान्छ ।
तस्बिर: गुगल

हामी सानो छँदा असारको बेफुर्सदिला पलहरूले साउने संक्रान्तिको महत्वलाई उँचो तुल्याउँथ्यो । असारको पहिलो सातादेखि नै हिलोमा पसिन्थ्यो । असार महिना हदैसम्मको व्यस्ततामा व्यतित हुन्थ्यो । महिनाजस्तो लामो दिन, क्षणभरमै तुरिने छोटो रात । थकित परेला नउघ्रिंदै पूर्वी क्षिजितमा घाम उदाउने तरखर भइसक्थ्यो । रातमा देखेको सपना पनि पूरा हुन नपाउँदै ओछ्यानबाट उठ्नुपर्‍थ्यो ।

ज्यानले नमान्दा नमान्दै पनि झिसमिसेमै आँखा मिच्दै उठ्नु, गाइवस्तुको धन्दा गर्नु, घाँस काट्नु र हल गोरु लिएर खेततिर जानु दिनचर्या हुन्थ्यो । रातको चार पहर मात्र ज्यानले विश्राम पाउँथ्यो । बाँकी समय कामै काम । काम धेरै, विश्राम कम । ज्यान हुनसम्म शिथिल हुन पुग्थ्यो । अत्यास लागेर आउँथ्यो ।

एक महिनासम्म पाखुरा बजाएपछि असारको मसान्ततिर धान रोप्ने काम सामान्यतया मैजारो हुन्थ्यो । साउने संक्रान्तिको आगमनले असारको व्यस्तता र हैरानीबाट मुक्ति दिन्थ्यो । एक अर्थमा साउने संक्रान्ति समयको एउटा मीठो बिसौनी थियो, जहाँ असारको थकाइ मेट्ने अवसर जुट्थ्यो । हिलोबाट छुटकारा मिल्दा ज्यान चङ्गा भएको अनुभूति हुन्थ्यो । हिलोले खाएका हातगोडाले विस्तारै जुनी फेर्दै जान्थे । सँगसँगै समयले नयाँ राग अलाप्थ्यो । झयाउँकिरीहरूले भाका फेर्थे ।

दिनभरिमा साउने संक्रान्ति पर्वको तयारी पूरा हुन्थ्यो । भन्सामा मीठो–मसिनो पाक्थ्यो । दिन ढलेपछि साँझमा सन्ध्या लुटपुटिन आउँदा–नआउँदै गाउँको वातावरणमा रौनक थपिन्थ्यो । दिदीबहिनीहरू तिउरीको जोहो गर्न थाल्थे । दिउँसो नै खोजेर तयार पारिएको कुकुर डाहिनु, कुरिलो, सिरु, पानीसरा, काँढे लहरा, सिउँडीजस्ता वनस्पतिहरूका मुठा दैलोनेर झुन्ड्याउने काम हुन्थ्यो । बर्खाले ओसिएको मादलमा खरी लाएर बेजोडसँग घन्किने अवस्थामा राखिन्थ्यो । यो काममा तन्नेरीहरू फुर्तीका व्यस्त हुन्थे ।

मुखियाको घरको बन्दुकमा बारुद भरेर तयारी अवस्थामा राखिन्थ्यो । अगुल्टो फाल्नका लागि भनेर हरेक घरको अगेनुमा बाक्लै मात्रामा दाउरा सल्काइन्थ्यो । साँझमा मुखियाको घरमा बन्दुक पड्किएपछि दक्षिणतिर अगुल्टो फालिन्थ्यो ।  त्यसलाई 'लुतो फाल्ने' भनिन्थ्यो । दक्षिणतिर रहेको गाउँको नाम लिएर अगुल्टो  फालिन्थ्यो ।

‘यो वर्षको लुतो-हैजा, सबै लैजा’ भन्दै नाभीदेखिकै  बल निकालेर अगुल्टो फालिन्थ्यो । अगुल्टो सकेसम्म पर फालेर बहादुरी देखाउने चेष्टा रहन्थ्यो । गाउँका हरेक घरधुरीले एकैचोटि अगुल्टो फाल्दा आकाशमा एकप्रकारको आतसबाजी नै हुन्थ्यो । ग्रामीणशैलीको आतसबाजी । बडो रमाइलो हुन्थ्यो ।

साउने संक्रान्तिको साँझमा रोदीघरमा मादल घन्कन्थ्यो । जेठको अन्तिम सातातिर घाँटुको ख्वाइ (भोज) समाप्त भएपछि असारको पूरै महिना मादल बजाउन अघोषित प्रतिबन्ध लाग्थ्यो । साउन लागेपछि मादल बजाउन अनुमति मिल्थ्यो । साउने संक्रान्तिको साँझमा रोदीघरमा मादल घन्कन थालेपछि ‘मादल फुक्थ्यो’ भनिन्थ्यो । यसले केही फुर्सदिला दिनहरू आगमनको संकेत गर्‍थ्यो । 

अगुल्टो फालेपछि साँझमा दिदीबहिनीसँग मिलेर तिउरी लाइन्थ्यो । सामन्तया छोरीचेलीले मात्र तिउरी चलन भए पनि हामी केटाहरूलाई कुनै थुनछेक थिएन । आँगनको छपनी ढुङ्गामा जाँतोको माने ढुङ्गाले मिहिन किसिमले पिसिन्थ्यो । त्यसमा मगरकाजी, भमटेको मुन्टो, कर्कलाकोे गुभो र परेवाको विष्टा मिसाएर पिसिन्थ्यो । यस्ता वस्तु मिसाउँदा तिउरी राम्रोसँग लाग्छ भन्ने अनुभवसिद्ध मान्यता छ ।

बूढापाकाले तिउरी लाउँदैनथे । तर साउने संक्रान्तिमा तिउरी छुनु राम्रो हुन्छ भन्ने मान्यता थियो । त्यस दिन बूढापाकाले पनि  तिउरी छुन्थे ।

तिउरी लाउने तरिका पनि गजबकै हुन्थ्यो । तिउरीको लेपलाई देब्रे हातको औंला र हत्केलामा राखेर मुठी बन्द गरिन्थ्यो । त्यसलाई पिँडालुको पातले छोपेर सुतिन्थ्यो । त्यसो गर्दा बक्सिङ खेल्दा पञ्जा लाएजस्तै देखिन्थ्यो, हात । चञ्चले केटाहरूका हातका औंलाले रात नछिप्पिँदै पिँडालुको पात छेँडेर आकाश ताकिसकेका हुन्थे । बेहोशी किसिमले सुत्दा हातमा तिउरी लाग्न पाउँदैनथ्यो ।

 बिहान उठ्दा हातमा तिउरीको रङ नलागेपछि मन खिन्न हुन्थ्यो । त्यसपछि रोइकराइ गर्न पनि पछि परिँदैनथ्यो । हत्केला जोगाएर सावधानीपूर्वक सुत्नेहरूको हातमात्र तिउरीको रङले शोभायमान हुन्थ्यो ।भोलिपल्ट पँधेरामा भेट हुँदा कुरा तिउरीकै विषयमा केन्द्रित हुन्थ्यो । कसको हातमा बढी तिउरी लाग्यो, कसको हातमा कम लाग्यो भनेर  साथीसंगीको हात पालैपालो हेरिन्थ्यो ।

साउने संक्रान्तिको भोलिपल्ट अगुल्टो बारिन्थ्यो । त्यस दिनमा हल चल्दैनथ्यो । खेतबारीमा खनजोत हुँदैनथ्यो ।  खनजोत नभएपछि त्यस दिन कामबाट छुटकारा मिल्थ्यो । व्यग्र प्रतीक्षापछि मिलेको फुर्सदको समय हाटबजार गएर सदुपयोग गरिन्थ्यो । दुराडाँडा क्षेत्रको चर्चित व्यापारिक केन्द्र च्यानपाटा बजार हाम्रा लागि एकमात्र बिदा मनाउने थलो थियो । च्यानपाटा बजारमा टहलिँदा महिना दिनको थकाइ कता भाग्थ्यो, कता ।

बाल्यकालको साउने संक्रान्ति धेरै अर्थपूर्ण हुन्थे । यसले खुसीयालीका क्षणहरूलाई एकपछि अर्को गरी निम्ता दिन्थ्यो । यसपछि चाडवाडहरूको क्रमिक आगमन शुरु हुन्थ्यो । एक अर्थमा साउने संक्रान्ति वर्षातपछि आउने चाडवाडहरूको प्रवेशद्वार नै थियो ।

यति हुँदाहुँदै पनि साउने संक्रान्तिको सांस्कृतिक अर्थ र सन्दर्भहरू हाम्रा लागि अपरिचिति थिए, न त यसबारेका प्राज्ञिक व्याख्या–विश्लेषणहरू नै हाम्रो बुझाइमा समेटिएका थिए । यसले ल्याउने खुसी र रुमानी पलहरूमात्र हाम्रो सरोकारका विषय थिए ।

‘काण्डरक’ राक्षसको पूजा गरी असारको हिलोमैलोबाट लाग्नसक्ने लुतोजस्ता छालाको रोग निवारण गर्ने चाड भनेर गरिएको वर्णन हाम्रो बुझाइभन्दा बाहिर थियो । विद्यालयका पुस्तकमा लेखिएका हुन्थे, ‘साउने संक्रान्तिपछि सूर्य दक्षिणायन हुने र यतिबेला सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएकोले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।’

पुस्तकमा रहेका यस्ता पंक्ति हाम्रा लागि निख्लो ज्ञानमात्र थिए । संयोगवश, साउने संक्रान्ति सरकारी क्यालेण्डरमा आर्थिक वर्षको शुरुवात पनि हो । यसले पनि हाम्रो जीवनमा खासै अर्थ राख्दैनथ्यो । साउने संक्रान्तिले हाम्रो जीवनमा कोर्ने खुसीका धर्साहरूमात्र हाम्रा लागि अर्थपूर्ण हुन्थे ।

मेरो बुझाइमा साउने संक्रान्ति ‘बर्खाको मध्यान्तर’ थियो, जसले बर्खाका कष्टप्रद दिनहरूलाई निरन्तर पछि धकेल्थ्यो र हिउँदसँगको सुमधुर नातालाई निरन्तर गाढा बनाउँदै लान्थ्यो । यसले खुसीले भरिएका चाडवाडहरू आगमनको संकेत गर्‍थ्यो । साउने संक्रान्तिको तीन–चार महिनापछि आउने खुसीयालीपूर्ण चाड दशैं–तिहार मनको एउटा कुनमा बसिसकेको हुन्थ्यो । यसले मनको एउटा छेउमा पिल्पिलाएको आशा र खुसीको दियोलाई जगेर्ना गर्ने काम गर्‍थ्यो ।

आज शहरको आधुनिक जीवनशैलीको आँखीझ्यालबाट हिजोको कृषिप्रधान जीवनशैलीमा आधारित अतीतको साउने संक्रान्तिलाई सम्झँदा विगतका दृश्यहरू आँखासामु नाच्छन् । अनि थाहै नपाई मन समयको उल्टो यात्रामा निस्कन्छ । अतीतमोहको त्यो मोहपासमा परेर मनचरी पत्तै नपाई विगततिर वेग् हान्न पुग्छ ।


[साभार:   अन्नपूर्ण पोष्ट (साउन २, २०७२) । परिमार्जित संस्करण]

[अद्यावधिक : २०७२।०४।०६,२०७२।०४।०७, २०७२।०४।१४, २०७२।०६।२०, २०७७।०४।०१]

No comments:

Post a Comment