Saturday, August 1, 2015

कस्तो लेखाइ राम्रो ?

–यमबहादुर दुरा

‘लेखन कठिन काम हो । पाठकको ध्यान खिच्ने गरी  लेख्नु र त्यसलाई पछिसम्म कायम राखिराख्नु गाह्रो काम हो ।’ सन् १९३४ मा जन्मिएका चर्चित अमेरिकी अभिनेता तथा निर्देशक डेभिड स्टाइर्जको यो भनाइले मसीजीवीहरूले भोगिरहेका जटिलतालाई धेरै हदसम्म उजागर गरेको छ । राम्रो लेख्ने काम साँच्चै असजिलो र चुनौतीपूर्ण छ । यो सबैले स्वीकारेको कुरा हो ।

राम्रो कसरी लेख्ने ? यो लेख्न चाहनेहरूका मनमा उब्जिरहने प्रश्न हो । यसको कुनै सहज उत्तर छैन । राम्रो कसरी लेख्ने भन्नेबारे धेरैले धेरैथरि राय–सुझाव दिन सक्छन् । यसबारे धेरै राम्रा र अनुभवी लेखकहरूले आफ्नै अनुभवहरू पोख्न सक्छन् ।

कसैले भन्लान्, ‘अध्ययनशील बन्नुपर्छ ।’ कसैको मत हुनसक्छ, ‘नियमित लेख्ने अभ्यास गर्नुपर्छ ।’ कसैले सुझाउलान्, ‘कहलिएका लेखकहरूका शैली अनुशरण गर्नुपर्छ ।’ कसैको राय हुनसक्छ, ‘लेखाइ सरल र बोधगम्य हुनुपर्छ ।’

कुरा सही हुँदाहुँदै पनि यी राय–सुझाव हरेक व्यक्तिका लागि अचुक अस्त्र बन्छ भनेर भन्न सकिँदैन । राम्रो लेख्ने त्यति सहज छैन । लेखनका धेरै आयाम र पाटा भएकाले तिनको विवेचना नगरी कसरी राम्रो लेख्ने भन्नेबारे गणितीय सूत्रजस्तो गरी सुझाउन कठिन छ ।

राम्रो लेखनबारे व्यक्त भएका राय–सुझावबारे एकपटक विचार–विमर्श गरौं ।

राम्रो लेखनका लागि अध्ययन आवश्यक छ । त्यसमा विवाद छैन । त्यसैले लेख्न चाहने व्यक्ति अध्ययनशील बन्न आवश्यक छ । तर हरेक अध्ययनशील व्यक्ति राम्रो लेखक बन्छ नै भन्न सकिन्न । अध्ययनशील व्यक्ति कुशल वक्ता वा व्याख्याता बन्न सक्ला । तर एउटा कुशल व्याख्याता कलमबाज बन्छ भनेर घोषणा गर्न सकिन्न । भाषणबाज् हुनु र कलमबाज हुनु एक अर्थमा फरक कुरा हुन् । न सबै भाषणबाज कलमबाज हुन सक्छन्, न त सबै कलमबाज भाषणबाज भएर निस्कन्छन् ।

लेखनलाई धारिलो बनाउन नियमित अभ्यास आवश्यक छ । तर पनि दिनहुँजसो लेख्ने हरेक व्यक्ति राम्रो लेखक बन्छ भनेर किटान गर्न सकिन्न । दिनहुँ लेख्ने व्यक्ति राम्रो टिपोटकर्ता वा अभिलेखकर्ता बन्नसक्ला । दुनियाँमा हरेक दिन केही केही  न लेख्ने व्यक्ति छन् । कतिले दिनहुँ कलात्मक किसिमले डायरी लेख्छन् । पत्रकारहरूले दिनहुँ समाचार लेख्छन् । तर पनि उनीहरू लेखक बनिहाल्छ भन्न गाह्रो छ । नियमित अभ्यासबाट कुनै व्यक्ति लेखाइको प्राविधक पक्षबारे जानकार हुनसक्छ तर यत्तिमै उसमा तिलस्मी लेखकीय गुणले बास गर्छ गरिहाल्छ भन्न सकिन्न । लेखन नितान्त प्राविधिक कुरा मात्र होइन, यो त लेख्ने व्यक्तिको शिल्प र शैलीबाट जन्मने करामत पनि हो ।

कहलिएका लेखकहरूका शैली अनुशरण गरेर त्यसलाई आफ्नो मौलिकताले सिंगार्नु नराम्रो होइन । भनाइ नै छ, ‘साहित्य नक्कलको पनि नक्कल हो’ । हाम्रो लेखाइ कुनै न कुनै रूपमा अरूबाट प्रभावित भएकै हुन्छ ।
यस प्रसंगमा समीक्षक हरि अधिकारी लेख्छन्, ‘...साहित्य र कलामा सर्वथा मौलिक भन्ने कुरा केही हुँदैन । कला र साहित्य लगातार दोहोरिइरहन्छ । तर, प्रतिभाशाली लेखक कलाकारहरूले आफ्ना कृतिलाई यस्तो ढङ्गमा चिरिच्याँट पारेर प्रस्तुत गरेका हुन्छन्, पारखी पाठकका मनमा  ती कृति, नूतन, नवीन, मौलिक अदभूत हुन् भन्ने भ्रम पर्छ । त्यस्ता छली जादुगरहरू ठूला कलाकार वा लेखक मानिन्छन्’ (अन्नपूर्ण पोष्ट, असोज १२, २०७०, पृ.६) ।

यसको अर्थ निर्लज्ज किसिमले अरूका कृतिको अन्तरवस्तुलाई आफ्नो बनाउने वा अरूको कृतिको शीर्षकलाई यताउति पारेर आफ्नो कृतिको शीर्षक बनाउने भन्नेचाहिँ कदापि होइन । ‘नक्कल गर्न पनि अक्कल चाहिन्छ’ भन्ने भनाइ यस मामलामा सतप्रतिशत लागू हुन्छ । अरूबाट प्रभावित हुँदै आफ्नो लेखाइमा मौलिकताको पाइन चढाउने काम सहज छैन ।

धेरैको सुझाव हुन्छ, ‘लेखाइ सरल र बोधगम्य हुनुपर्छ ।’ कुरा हो पनि । लेखाइ सरल र बोधगम्य भएमा पाठकले लेखकले भन्न खोजेका कुरा सहजै र छर्लङ्ग बुझ्न सक्छन् । यही भएर पत्रकारिताका विद्यार्थीहरूलाई सरल लेख्न सिकाइन्छ । तर सरल किसिमले लेख्नु नितान्त कठिन काम हो । अमेरिकी उपन्यासकार नथाइलन हथोन  (सन् १८०४–१८६४) ले भनेका छन्, ‘इजी रिडिङ एज ड्याम हार्ड राइटिङ’  (सजिलै पढ्न सकिने गरी लेख्नु नितान्त कठिन काम हो ) । अर्को कुरा, सरल लेखाइको आफ्नै ‘साइड इफेक्ट’ पनि छ । सरल लेखाइ बोधगम्य हुन्छ तर यसले पाठकलाई लालित्य र मादकता दिन्छ भन्न सकिन्न । लालित्य खोज्नेहरूले सरल लेखाइ मन नपराउन सक्छन् ।

माथि चर्चा गरिएका सबै गुणको गठजोड लेखकमा भरिएमा ऊ लेखक बन्नसक्छ । तर यति हुँदाहुँदै पनि ऊ राम्रो र लोकप्रिय लेखक बन्न सक्छ भनेर अझै पनि भन्न सकिन्न । त्यसमा पनि ऊ सर्वग्राह्य लेखक बन्छ भन्न त अझ कठिन हुन्छ ।

कसै कसैले आडम्बरपूर्ण शब्दको प्रयोग र शब्दचातुर्यलाई राम्रो लेखाइ ठान्छन् । यो पनि मसीजीवीमा रहेको एउटा ठूलो भ्रम हो । उसलाई लाग्ला, ‘मैले के के न लेखेँ ।’ तर त्यो लेखकभित्र चुलिएको आत्मारतिको पहाडभन्दा बढी केही होइन । यसबारे महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि. सं.१९६६–२०१६) ले ‘लक्ष्मी निबन्धसंग्रह’ मार्फत् मुख खोलिसकेका छन् : ‘शब्दचातुर्य नै साहित्य हो भन्नेलाई म जवाफ दिन सक्तिनँ’ (पृ.४) । उनको आशय छ, आफूलाई ‘म पनि कम्तिको लेखक होइन’ भन्ने भावका साथ कृत्रिम प्रयासबाट चमत्कार निकाल्न खोज्दा सचेत प्रयास पग्लिएर जान्छ ।

लेखाइमा सहज भाव अभिव्यक्तिमाथि जोड दिँदै देवकोटा लेख्छन्, ‘राम्रो बनाउने सचेत भावले मनुष्यको कला बिग्रन्छ । म नै तीन मासाको छैन; तीन तोलाको अलङ्गकारले के भनूँ ! अलङ्गकार चन्द्रोदयका नियमानुसार कविता लेखी, सिंगारी–पटारी राम्रो बन्ने सचेत अनुकरणबाट सौन्दर्य निकाल्ने मेरो निमित्त रद्दी लेखनदास हुन् ।...मैले आफ्नो व्यक्तित्व प्रदर्शन गर्न खुर्सानीको माला लाउनु पर्दैन; प्राकृतिक भावले चले मेरो सच्चा रूप निक्लिहाल्छ ।...अप्राकृतिक भएर कुरा गर्नेभन्दा सोझो सफा दिल मजाको हो’ (पृ.४–५) । यहाँनेर पनि प्रश्न उठ्छ, के त्यसो भए लालित्य र अलङ्कार बिना नै साहित्य जम्छ त ?

कसैले ‘शैली’ लाई राम्रो लेखाइको कारक तत्व मानेका छन् । यो कुरा धेरै हदसम्म सही हो पनि । तर यसमा पनि महाकवि देवकोटा सहमत देखिन्नन् । उनले शैलीलाई भन्दा पनि लेखकीय स्वच्छन्दतालाई प्राथमिकता दिएका छन् । देवकोटा लेख्छन्, ‘शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति कि म कुनै शैलीका निमित्त लेख्तिनँ, लेख्तछु त केवल लेख्नका निम्ति र विचार भावहरूलाई सकभर सच्चा प्रकाशन गर्नका निमित्त प्राकृतिक तबरले जस्तो विषयमा जसरी मन डुल्यो, जस्तो झल्काझल्की फेला पर्‍यो, उस्तै लेखिदिन्छु (पृ.४) ।

लेखाइमा प्रभाव पार्ने अर्को कुरा पनि छ । त्यो हो, समय । यसबारे त्यतिविधि चर्चा सुनिँदैन । तर पनि समयको उर्वरतामा पनि लेखाइ निर्भर रहन्छ । उर्वर समयमा लेखिएका कृति लेखक र पाठक दुवैलाई चित्तबुझ्दो हुन्छ भने रुखो समयमा लेखिएका कृति लेखक र पाठकका लागि मनमोहिनी नहुन सक्छ । रुखो समयमा लेखिएका कृतिमा लेखक स्वयंले चित्त नबुझाएर फोहोरको टोकरीमा फालिएका दृष्टान्त पनि छन् । राष्ट्रकवि माधव घिमिरे, लेखक नारायण ढकाललगायतका नाम चलेका साहित्यकारले आफ्ना केही कृतिहरू आफैंलाई चित्त नबुझेकाले च्यातेर फ्याँकेका प्रसंग पनि साहित्यिक यदाकदा वृत्तमा सुन्न पाइन्छ ।

लेखनको अर्को महत्वपूर्ण पाटो पाठक हो । सन्तान थरि थरिका भनेझैं पाठक थरि थरिका छन्, जुन स्वभाविक हो । एउटै शैलीको लेखाइ सबै पाठकका लागि उत्तिकै रुचिकर नहुन सक्छ । फरक फरक पाठकले फरक फरक उद्देश्य परिपूर्तिका पढ्छन् । कसैले जानकारी प्राप्तिका लागि पढ्छन् भने कसैले अलङकार र लालित्यको रसास्वादनका लागि पढ्छन् ।

जानकारीका लागि मात्र पढ्नेले अलङकार र लालित्य मन नपराउन सक्छन् भने अलङकार र लालित्यमा डुब्ने पाठकले जानकारीमूलक सरल लेखाइ मन नपराउन सक्छन् । तर सबै सरल लेखाइ रुचिकर हुन्न भन्न पनि सकिन्न । अमेरिकी लेखक तथा पत्रकार अर्निष्ट हेमिङवे (सन् १८९९–१९६१) को उपन्यास ‘द ओल्ड म्यान एण्ड द सी’ सरल भाषामा लेखिएको विश्वको उत्कृष्ट कृतिमध्ये एक मानिन्छ ।
अर्निष्ट हेमिङवे

 एक अर्थमा राम्रो लेखाइ असजिलो ओछ्यानजस्तै हो, जता कोल्टो फेरे पनि ज्यानले सुख नपाउने ।
के लेख्ने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ । समाचार, लेख, कथा, कविता, उपन्यास, हाइकु, संस्मरण, गैरआख्यानमूलक पुस्तक, ‘रिसर्च आर्टिकल’ के लेख्ने ? यी विविध विषय र विधाले लेखाइको शैली र विधि निर्धारण गर्छन् । यी सबैमा एउटै व्यक्तिको पकड र दक्षता नहुन पनि सक्छ ।

माथि नै भनियो, राम्रो लेख्नका लागि कुनै गणितीय सूत्र  छैन । तर पनि अध्ययनशील हुनु, भाषामा राम्रो पकड राख्नु, आफूले लेख्न लागेको विषयमा गहिरो अनुशीलन गर्नु, नियमित लेख्ने अभ्यास गर्नु एवम् राम्रा लेखकको शैलीलाई रचनात्मक ढङ्गले अनुकरण गर्नु राम्रो लेख्नका लागि आवश्यक पक्षहरू हुन् । लेखकको नशामा दौडिरहेको जन्मजात लेखकीय गुण अर्को महत्वपूर्ण पक्ष हो, जुन सबैमा हँदैन । लेखाइलाई अझ जादुमय र सुस्वादु बनाउन अरू अलौकिक तागत पनि चाहिन्छ, जुन लेखकहरू निरन्तर खोजीमा छन् तर सजिलै भेटिरहेका छैनन् ।
टोनी मोरिसन

सन् १९३१ मा जन्मेकी अमेरिकी उपन्यासकार, सम्पादक तथा प्राध्यापक टोनी मोरिसनले भनेकी छिन्, ‘यदि तिमीलाई कुनै किताब पढ्न मन छ तर त्यस्तो किताब अहिलेसम्म लेखिएको छैन भन्ने लाग्छ भने लेख्न शुरु गर।’ उनको यो भनाइ राम्रो लेख्न चाहनेहरूका लागि प्रेरणास्रोत बन्नसक्छ । पहरा रसाएजस्तै गरी शिर्जनशीलता रसाएका लेखकहरूका लागि टोनी मोरिसनको भनाइले गुरुमन्त्रको काम गर्नसक्छ ।

[साभार : राजधानी (साउन १६, २०७२)। ग्राफिक्स : गुगल ।]

No comments:

Post a Comment