Sunday, August 9, 2015

अमूर्त सांस्कृतिक सम्पदा संरक्षणको सवाल

–यमबहादुर दुरा

संस्कृति व्यापक र गहन विषय हो । संस्कृतिको अर्थ हामीले सामान्य अर्थमा बुझ्ने  गरेको नाँचगान तथा झाँकीभन्दा बृहत छ । त्यसैले संस्कृतिलाई परिभाषित गर्न पनि त्यति सजिलो छैन । संस्कृतिको परिभाषालाई लिएर मानवशास्त्रीहरूबीच पर्याप्त मदभेद छन् । तर पनि मानिसले सिकेका तमाम मानवीय व्यवहारलाई संस्कृति भनेर धेरैले परिभाषा दिएका छन् ।

समाजशास्त्री एडवार्ड वी टेलर (सन् १८३२–१९१७) ले सन् १८७१ मा प्रकाशित पुस्तक ‘प्रिमिटिभ कल्चर’ मा संस्कृतिलाई साङ्गोपाङ्गो रूपमा परिभाषित गरेका छन् । उनका अनुसार मानिसले समाजको सदस्यको नाताले आर्जन गर्ने ज्ञान, विश्वास, कला, कानुन, नैतिकता, प्रथा, सामर्थ्य र बानी–व्यहोराको समग्रता नै संस्कृति हो । उनले संस्कृतिलाई एउटा जटिल विषय ठानेका छन् ।

ज्ञान, अनुभव, मूल्य–मान्यता, मनोवृत्ति, धर्म, समयसम्बन्धी अवधारण, सामाजिक सम्बन्ध, व्रह्माण्डसम्बन्धी अवधारणा, व्यक्ति तथा समूहको स्वामित्वमा रहेको भौतिक वस्तु आदिको गठजोडलाई धेरैले संस्कृति मान्ने गरेका छन् ।

सभ्यताको लामो यात्रासँगै मानव संस्कृतिले सम्पदाको रूपधारण गरिसकेको छ । विश्व सांस्कृतिक सम्पदा संरक्षणबारे भएका प्रयासको ऐतिहासिक पृष्ठभूमिलाई नियाल्दा खासगरी प्रथम विश्वयुद्धको विभीषिका पछि यससम्बन्धी अवधारणा अस्तित्वमा आएको देखिन्छ । धिमाल (सन् २०१४) का अनुसार सांस्कृतिक सम्पदासम्बन्धी बहस सन् १९२०/१९३० को दशकदेखि नै चलेको थियो ।

सन् १९६५ मा वासिङटन डीसीमा ‘विश्वसम्पदा ट्रष्ट’ स्थापना भयो । सन् १९७२ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को सहयोगमा विश्व सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि पारित भयो ।

सांस्कृतिक सम्पदालाई मूर्त र अमूर्त गरी दुई भागमा वर्गीकरण गरिएको पाइन्छ । कुनै कुनै सन्दर्भमा यसलाई भौतिक र अभौतिक सम्पदा भनेर पनि विभाजन गरेको पाइन्छ । डीबी आङबुङ लिम्बूले मानवशास्त्री डा. क्रिष्टिना अमेस्कुवालाई उध्रृत गर्दै मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको परिभाषा दिएका छन् ।

उनले भनेका छन् : ‘मूर्त सम्पदाले मानव सिर्जनाका भौतिक उत्पादनहरूलाई नै जनाउँछ, जुन एकपटक सिर्जना गरेपछि केही समयमात्र रहन्छ वा हस्तान्तरित हुँदैन । तिनीहरूलाई वर्तमान तथा भविष्यका सन्ततिहरूले उपयोग र आनन्दका लागि... बचाउन सकिन्छ । ती... विशेष सामाजिक–ऐतिहासिक चिनोहरू हुन् । यसले समयको प्रवाहसँगै हामीलाई अघि बढाउँछ ।... तर, यो अनन्तसम्म रहन सक्दैन ।’

डीबी आङबुङ लिम्बू लेख्छन्, ‘तुलनात्मक रूपमा अमूर्त सांस्कृतिक सम्पदा गतिशील हुन्छ र निरन्तर चलिरहन्छ । यो धेरै सन्ततिहरूसँगै विगतमा रहेजस्तै अहिले पनि जीवित रहन्छ । यो एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित भइरहन्छ । यसको आफ्नै हस्तान्तरित हुने क्षमता वा गुण हुन्छ ।’ उनका अनुसार समय र परिस्थितिअनुसार यसमा परिवर्तन आइरहन्छ ।

मूर्त र अमूर्त संस्कृतिको एक सिक्काका दुई पाटाजस्तै हुन् । एउटाको अनुपस्थितिमा अर्कोको अस्तित्व असम्भवप्राय छ । अमूर्त सांस्कृतिक सम्पदाको संरक्षक र वहाक मानव मस्तिष्क र शरीर नै हु्न् ।
युनेस्कोले कुनै जाति वा समुदायका अमूर्त सांस्कृतिक सम्पदाका दायरा निर्धारण गरेका छन् ।

युनेस्कोका अनुसार मौखिक परम्परा तथा अभिव्यक्ति; अभिनय कला; सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वका उत्सव; प्रकृति तथा व्रह्माण्डसँग सम्बन्धित ज्ञान तथा व्यवहार; र परम्परागत कलाकौशलहरू अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत पर्दछन् ।

युनेस्कोद्वारा जारी ‘अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि, २००३’ ले अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी प्रावधान अघि सारेको छ । ‘नेपालको राष्ट्रिय सास्कृति नीति, २०६७’ ले पनि अमूर्त सांस्कृतिक सम्पदा संरक्षणको दिशामा बोलेको पाइन्छ । ‘नेपालको अन्तरिम संविधान, २०६३’ को धारा १७ मा शिक्षा र संस्कृति सम्बन्धी हकको व्यवस्था गरिएको छ ।

नेपाल कृषि युगबाट आधुनिकतातिर विस्तारै बामे सर्दै गरेको लोकजीवनप्रधान समाज हो । त्यसैले नेपाली समाजमा प्रकृति, कृषि र लोकजीवनका झलकहरू पर्याप्त भेटिन्छन्, जुन आफैंमा मूर्त तथा अमूर्त संस्कृतिका खानी हुन् ।

त्यसैगरी, नेपाल सांस्कृतिक हिसाबले धनी मानिने जनजातिहरूको घर पनि हो । विविध सांस्कृतिक एवम् सामाजिक पृष्ठभूमि भएका जनजातिका संस्कृति र जीवनशैली असंख्य मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाबाट सिंगारिएका छन् । यी विविध सांस्कृतिक सम्पदाहरूको सम्मिश्रण तथा गठजोडबाट नेपालको साझा संस्कृति बनेको छ । प्रत्येक जात वा समुदायमा विद्यमान सांस्कृतिक सम्पदाको संरक्षण नभई नेपालको साझा संस्कृति मजबुद हुन सक्दैन ।

सांस्कृतिक दृष्टिले विविधतापूर्ण मुलुक भएकोले नेपालको अमूर्त सांस्कृतिक सम्पदा वैभवशाली छ । यहाँका विविध भाषाभाषी, भौगोलिक क्षेत्र र सामाजिक पृष्ठभूमिका नागरिकका श्रुतिपरम्परा, चाडवाड, गीतसंगीत, अनुष्ठान एवम् कलाकौशलहरू बेहिसाब छन् । नेपालको हिमालदेखि तराइसम्मका प्रत्येक समुदायमा विद्यमान लोकविश्वास, रीतिरिवाज, चाडवाड, लोकगाथा, लोककथा, लोककथन, लोकधर्म, लोकमनोविज्ञान तथा लोकप्रहसन अमूर्त सांस्कृतिक सम्पदा हुन् ।

यसैगरी लोककला, लोकसंगीत, लोकनाटक, लोकमन्त्र, लोकपद्य, श्रुतिपरम्परा, परम्परागत खेल, परम्परागत ओखतीमूलो तथा उपचार विधि एवम् परम्परागत ज्ञान–सीप पनि अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत पर्छन् । सामान्यतया, यस्ता सम्पदाहरू एउटा पुस्ताबाट अर्को पुस्तामा स्वस्फूर्त रूपमा हस्तान्तरण हुन्छन् । तर बढ्दो विश्वव्यापीकरणले अमूर्त सांस्कृतिक सम्पदा नयाँ पुस्तामा हस्तान्तरण हुने क्रममा क्रमभङ्गता पैदा भएको छ ।

अमूर्त सांस्कृतिक सम्पदालाई देख्न वा छुन सकिँदैन । एकप्रकारले यिनीहरू कम्प्युटरका ‘सफ्टवेयर’ जस्तै हुन् । ‘सफ्टवेयर’ को अभावमा कम्प्युटर चल्न नसकेजस्तै अमूर्त सांस्कृतिक सम्पदाबिना हाम्रो सामाजिक जीवन चल्दैन । चले पनि निरस र एकलकाँटे हुन पुग्छ । त्यसले यिनीहरूको उचित संरक्षण  हुन आवश्यक छ । बढ्दो विश्वव्यापीकरणसँगै अमेरिकी तथा पश्चिमा संस्कृति मौलाउँदै गएको वर्तमान पृष्ठभूमिमा हाम्रा रैथाने अमूर्त सांस्कृतिक सम्पदाहरू दिनानु दिन जोखिममा पर्दै गएका छन् ।

हुन त, अमूर्त सांस्कृतिक सम्पदा सधैँ तरल र गतिशील हुन्छ । यिनीहरू समयसँगै परिवर्तन भइरहन्छन् । यही कारण यिनीहरूको मौलिकता जोगाउन सहज छैन । तर यसो भन्दैमा संरक्षण  कार्यलाई बेवास्ता गर्न मिल्दैन । सांस्कृतिक सम्पदाहरूसँग कुनै पनि समुदायको पहिचान जोडिएको हुन्छ । सांस्कृतिक सम्पदा हराउँदा त्यससँगै हाम्रो पहिचान पनि हराउँछ । पहिचान हराएपछि सम्बन्धित समुदायको अस्तित्व संकटमा पर्छ ।

दुनियाँ एक्काइसौं शताब्दीमा प्रवेश गरिसकेको छ । देशमा लोकतन्त्रको बिहानी झुल्किसकेको छ । तर पनि शासन–सत्ताको बागडोर सम्हाल्नेहरूको सांस्कृतिक चेत राम्रोसँग खुलिसकेको छैन । उनीहरूले नेपालको सांस्कृतिक विविधतालाई दिलदार बनेर कख्याउन सकेका छैनन् । यसबाट विविधतापूर्ण नेपाली समाजको अमूर्त सांस्कृतिक सम्पदाले नजानिँदो किसिमले अभिभावकत्व गुमाइरहेका छन् ।

अमूर्त सांस्कृतिक सम्पदामा समयको पदचाप भेटिने, स्थानीय जीवनशैलीको छायाँछवि देखिने र समाजको सामाजिक तथा सांस्कृतिक इतिहास पाइने भएकाले यिनीहरूको संरक्षण आवश्यक हुन्छ ।

देशको सांस्कृतिक सम्पदा संरक्षण  गर्ने दिशामा शासन–सत्ताको बागडोर सम्हाल्नेहरू उदार बन्नैपर्छ । देशको सांस्कृतिक विविधता सबैको साझा सम्पत्ति हुन् भन्ने तथ्यलाई सत्तासीन र नीतिनिर्माताहरुले आत्मासात नगरेसम्म सांस्कृतिक सम्पदाको उचित संरक्षण हुन सक्दैन ।

देशको सांस्कृतिक  विविधताप्रति उनीहरूको दृष्टिकोण सफा हुनैपर्छ । यसप्रति उनीहरू उदार हुनेबित्तिकै समाजको ‘सफ्टवेयर’ मानिएको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणको ढोका खुल्दछ  । सत्तामा रहेकाहरू उदारमना भएमा र ‘ग्रासरूट’ मा रहेका नागरिक सक्रिय भएमा यसलाई धेरै हदसम्म जोगाउन सम्भव छ ।

सन्दर्भ सामग्री 

धिमाल, सोम । २०१४ (अक्टोबर २४) । अभौतिक सांस्कृतिक सम्पदा र आदिवासी जनजातिका सवालहरू ।   ब्लग पोष्ट । अगष्ट २, २०१५ मा अध्ययन गरिएको ।

http://dhimaljatiofnepal.blogspot.com/2014/10/intangible-cultural-heritages-ich-of.html

लिम्बू आङ्बुङ, डीबी । (२०७१) । लिम्बू जातिको अर्मूत सांस्कृतिक सम्पदा संरक्षण । तान्छोप्पा २० (३) ।     ललितपुर : किरात याक्थुम चुम्लुङ । 

What is Culture? (n.d.). Retrieved on August 2, 2015, from 
 http://anthro.palomar.edu/culture/culture_1.htm

What is Intangible Cultural Heritage? (n.d.). Retrieved on August 2, 2015, form UNESCO, http://www.unesco.org/services/documentation/archives/multimedia/?id_page=13&PHPSESSID=cdf1c1b605ebc498950fa399d2ed8658   


[साभार : हिमाली आवाज (साउन २१, २०७२, पृ.२, वर्ष ३३, अंक ३) ]
 

No comments:

Post a Comment