Friday, June 16, 2017

‘डेटा जर्नलिजम’ को युग

–यमबहादुर दुरा

कुनै समय यस्तो थियो, पत्रकारिताका गुरु र प्रशिक्षकहरूले समाचार लेख्दा सकेसम्म कम आँकडा प्रयोग गर्नुपर्छ भनेर गुरुमन्त्र सिकाउँथे । समाचारमा धेरै आँकडा (डेटा) प्रयोग गर्दा सर्वसाधारण अडियन्स (पाठक, दर्शक तथा स्रोता) अल्मलिन्छन् भन्ने मान्यताले कम आँकडा प्रयोग गर्न सिकाइन्थ्यो । त्यो गुरुमन्त्र आफ्नो ठाउँमा जायज नै थियो । अडियन्स नै दिग्भ्रमित हुने गरी आँकडाको अनावश्यक भारी बोकाउनु उचित पनि होइन ।

हिजोका गुरुमन्त्र अब धेरै हदसम्म असान्दर्भिक र अव्यवहारिक हुन थालेको छ । प्रविधिको तीव्रतर विकासले पत्रकारिताका मूल्य–मान्यताहरूमा छिटो छिटो परिवर्तन आइरहेका छन् ।  अहिलेको पत्रकारितामा आवश्यकताअनुसार जति पनि आँकडा प्रयोग गर्न प्रोत्साहित गरिन्छ, तर भिन्न किसिमले । अहिले कम्प्युटर प्रविधिको ‘डेटा प्रेजेन्टेसन टेक्निक’ मार्फत् हरप्रकारका आँकडा प्रयोग गर्न गर्न सकिने युगको सूत्रपात भइसेको छ । यसले जटिलभन्दा जटिल आँकडालाई सरल र बोधगम्य तरिकाले प्रस्तुतीकरण गर्ने अवसर दिएको छ ।

परम्परागत मान्यताअनुसार पत्रकार शब्दजीवी (वर्डस्मिथ) हो, ऊ शब्दसँग खेल्ने  प्राणी हो । उसले शब्दमार्फत् वास्तविक जीवनको वास्ताविकत कहानी प्रस्तुत गर्छ । तर  अब यो पुरानो कुरा हुन गएको छ । अब शब्दले मात्र कथा भन्ने परिपाटीको अन्त्य हुँदैछ । पत्रकारले आँकडामार्फत पनि कथा भन्नुपर्ने समय आएको छ । शब्दसँग मात्र खेल्ने पत्रकार अब एकलकाँटे सावित हुँदैछ । पत्रकारितामा शब्द, उद्धरण, ग्राफिक्स एवम् तस्बिर अधिक प्रयोग हुन्छन्, जुन पत्रकारिताको औजारका रूपमा चिनिन्छन् । अब पत्रकारले यस्ता औजारका साथमा ‘डेटा प्रेजेन्टेसन टेक्निक’ लाई पनि उपयोगमा ल्याउने खुबी  विकास गर्नुपर्ने भएको छ ।

अहिले समाचार, फिचर तथा अन्य खोजमूलक सामग्रीहरूमा आवश्यकताअनुसार आँकडा समावेश गर्ने प्रचलन बढ्दो छ । आधुनिक प्रविधिको उपयोग गरेर आँकडाको बुद्धिमत्तापूर्ण प्रयोगले लेखाइलाई आधिकारिक र तथ्यपूर्णमात्र बनाउँदैन, आकर्षक र अर्थपूर्ण पनि बनाउँछ । यसले शब्द र तथ्याङ्कबीचको खाडल पुर्न पनि सहयोग गर्छ ।

यस किसिमको पत्रकारिता ‘डेटा जर्नलिजम’ नामले परिचित छ, जुन सन् १९७० तिर प्रचलनमा आएको ‘प्रिसिशन जर्नलिजम’ को परिमार्जित संस्करण मानिन्छ । ‘डेटा जर्नलिजम’ ले निरस र झर्कोलाग्दो आँकडाको तालिकाहरूलाई कसरी रुचिकर र बोधगम्य तरिकाले प्रस्तुत गर्ने भन्ने उपाय पनि सुझाउँछ ।  'कम्प्युटर असिस्टेड रिपोर्टिङ', 'कम्प्युटेसनल जर्नलिजम्', 'डेटा ड्रिभन जर्नलिजम्' अदिजस्ता पत्रकारिताका विधा यसका नातेदार हुन् । तर यिनीहरूबीच लक्ष्मणरेखा कोर्न भने सहज छैन ।

‘डेटा जर्नलिजम’ परम्परागत पत्रकारिताको विकल्प होइन, परिपूरकमात्र हो । यसले भइरहेको अभ्यासलाई अझ बढी आकर्षक, प्रभावकारी र अर्थपूर्ण बनाउन सहयोग गर्छ । एबीसी, बीबीसी, सिकागो ट्रिव्युन, द गार्जियन, जाइट अनलाइनजस्ता सञ्चारमाध्यमहरू ‘डेटा जर्नलिजम’ मा अगाडि देखिएका छन् ।

लेटर प्रेस तथा अफसेट प्रेस हुँदै डिजिटल पब्लिकेसनको चरणमा आइपुग्दा सञ्चार उद्योगमा क्रान्तिकारी परिवर्तन आइसकेको छ । सूचना सम्प्रेषण गर्ने कला र शैलीमा तात्विक भिन्नता आइसकेको छ । शब्द र अंङ्कमा व्यक्त गर्दा भर्को लाग्ने किसिमका आँकडाहरूलाई पनि चित्रात्मक सन्देश (‘पिक्टोरियल मेसेज’) का रूपमा प्रस्तुत गर्दा आकर्षक र प्रभावकारी हुन  पुग्छन् । अहिलेको प्रविधिले यस्तो अवसर दिएको छ ।

‘पिक्टोरियल मेसेज’ रुचिकर र आकर्षक हुन्छन् । यसबाट अडियन्समा सन्देशप्रतिको आकर्षण र ग्रहणशीलता बढेर जान्छ । विगतमा ‘पिक्टोरियल मेसेज’ तयार पार्न हातैले काम गर्नुपथ्यो, जुन नितान्त झन्झटिलो र बढी समय लाग्ने खालका हुन्थे । प्रविधिको विकाससँगै यस्ता समस्या हटिसेकेका छन् ।

समयको प्रवाहसँगै सबैमा व्यस्तता बढेको छ । झर्कोलाग्दो आँकडामा आँखा गाडेर हेर्ने र त्यसलाई अथ्र्याएर बस्ने धैयता र समय अडियन्ससँग छैन । उनीहरू एकै झलकमा मूल सन्देश थाहा पाउन चाहन्छ । ‘डेटा जर्नलिजम’ ले अडियन्सको यही आवश्यकता पूरा गर्न सहयोग गर्छ । थोरै शब्दको प्रयोग गरेर धेरै कुरा बुझाउन सफल हुनु नै ‘डेटा जर्नलिजम’ को सुन्दर पक्ष हो । ‘डेटा भिजुअलाइजेसन’ विधि उपयोग गरेर भर्कोलाग्दा आँकडाहरूलाई सरल, सहज सुपाच्य किसिमले प्रस्तुत गर्न सकिन्छ ।

एउटा दृष्टान्त : एक महिनाभित्र राजधानीमा वायुप्रदूषण कति बढ्यो, सेयरको कारोबार कस्तो रह्यो, के कस्ता आपराधिक घट्ना घटे, तरकारीको खपत कति भयो, सवारी दुर्घटना अवस्था कस्तो रह्यो, बजार भाउको अवस्था कस्तो रह्यो भन्नेजस्ता जनसरोकारका कुराहरूलाई ‘डेटा भिजुअलाइजेसन’ को माध्यमबाट अडियन्स समक्ष प्रस्तुत गर्न सकिन्छ । यसो गर्न सके अडियन्सको ध्यान खिचिन्छ । उनीहरूले थोरै समय खर्च गरेर कुरोको चुरो थाहा पाउन सक्छन् । परिणामस्वरूप सम्बन्धित मिडिया र पत्रकारको लोकप्रियताको ग्राफ उकालो लाग्छ ।

नेपालमा ‘डेटा जर्नलिजम’ को प्रयोग भइसकेको छ । २०७४ साल वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपालका केही अखबार र अनलाइनहरूले ‘डेटा भिजुअलाइजेसन’ लाई उपयोगमा ल्याए । अडियन्सले थोरै समय खर्च गरेर जटिल प्रकृतिका सूचना सरल र सहज किसिमबाट प्राप्त गर्न सके । यसबाट निर्वाचनको परिणाम जान्न आतुर सर्वसाधारणलाई ठूलो गुन लाग्यो । ‘डेटा भिजुअलाइजेसन’ गर्ने अनलाइन समाचार पोर्टलको भिजिटर पनि ह्वात्तै बढेर गयो ।

अडियन्सको सूचनाप्रतिको भोकलाई ‘डेटा जर्नलिजम’ मार्फत शान्त पार्न सजिलो भने छैन । ‘डेटा जर्नलिजम’  गर्न पत्रकारले धेरै कष्ट उठाउनैपर्छ । अहिलेको प्रतिस्पर्धात्मक  युगमा यो अनिवार्य सर्त हो । जटिल प्रकृतिका आँकडा संकलन, परीक्षण, संश्लेषण, शुद्धीकरण, विश्लेषण र व्याख्या गर्ने क्षमता पत्रकारसँग हुनैपर्छ । कम्प्युटरको सफ्टवेयर चलाउने क्षमता पनि ऊसँँग हुनैपर्छ ।

पत्रकारमा निहित खुबी, इच्छाशक्ति, पेशागत ज्ञानको धरातल, सीपजस्ता पक्षहरूले ‘डेटा जर्नलिजम’ को स्तर निर्धारण गर्दछ । ‘डेटा जर्नलिजम’ को उभारले पत्रकारलाई थप परिश्रमी र ज्ञानशाली बन्न चुनौती दिएको छ ।

[साभार: अन्नपूर्ण टुडे  ।असार २, २०७४  । ग्राफिक्स : गुगल ]

No comments:

Post a Comment