Monday, June 19, 2017

पञ्चायतको आत्मरञ्जन


–यमबहादुर दुरा

वि.सं. २००४ मा उर्लिएको ‘जयतु संस्कृतम्’ आन्दोलनमा सरिक एकजना युवक हुकुमी शासन–व्यवस्थाको गिद्धेदृष्टि परेपछि निर्वासित जीवन बिताउन भारत पुग्छन् । त्यहाँ उनी ‘नेपाली राष्ट्रिय कांग्रेस’ सँग आबद्ध हुन्छन् । समयक्रममा त्यस पार्टीप्रति उनको मोहभङ्ग हुन्छ । त्यसपछि केदारमान व्यथित, बालचन्द्र शर्मालगायतका व्यक्तिहरूसँग मिलेर ‘नेपाली कांग्रेस बामपन्थी दल’ खडा गर्न पुग्छन् । त्यो दल मातृकाप्रसाद कोइरालाको पार्टीमा बिलय हुन्छ ।

उनको दलबदलको क्रम यत्तिमै रोकिन्न । उनकै अग्रसरतामा टंकप्रसाद आचार्यको ‘प्रजापरिषद’, भद्रकाली मिश्रको ‘जनकांग्रेस’ र ‘नेपाली कांग्रेस बामपन्थी दल’ एउटै झण्डामुनि गोलबन्द हुने निर्णय हुन्छ ।

यतिञ्जेलसम्म देशमा राणशासन ढलिसक्छ, राजा त्रिभुवनको निधन भइसक्छ, राजा महेन्द्रको राजनीतिक सक्रियताको ग्राफ उकालो लाग्छ र देशको राजनीतिले कोल्टो फेर्छ ।

दलीय राजनीतिभित्रै ओहोरदोहोर गरिरहेका ती युवा राजेश्वर देवकोटा (वि.सं.१९८६–२०७२) कालान्तरमा महेन्द्रद्वारा स्थापित निर्दलीय व्यवस्थाको खम्बा बन्न पुग्छन् । देवकोटाको आत्मपरक कृति ‘आत्मकथा’ आफ्नो राजनीतिक जीवनका आरोह अवरोहहरूमा केन्द्रित छ ।

आत्मकथामा देवकोटाले कांग्रेस पार्टीका नेताहरू भारतद्वारा सञ्चालित रहेको र स्वतन्त्र देश अरुको अधीन रहनु ठीक नलागेकोले उक्त पार्टी छोडेको अभिव्यक्ति दिएका छन् । २००७ सालपछिको बढेको भारतीय हस्तक्षेप र त्यही पृष्ठभूमिमा आफूले गरेको पार्टी त्यागबारे उनी लेख्छन्, ‘नेपालमा भारतीय मिलिटरी मिसन पनि आइसकेको थियो, उत्तरी सीमाहरूमा भारतीयहरूले आफ्नो चेकपोस्ट पनि कायम गर्ने भए ।... मलाई कांग्रेसमा बसिरहन मन मानेको थिएन, २००९ सालको जेठ महिनामा विद्रोह गरी निस्किहालेँ’ (पृ.९८) ।

देवकोटाले आफू कम्युनिष्ट नबन्नुको कारण पनि खोलेका छन् । ‘म किन कम्युनिस्ट बनिनँ’ शीर्षकको लेखमा उनले वर्गविहीन समाजको परिकल्पना उत्तम र आदर्शमय भए पनि सभ्यताको विकास हुँदैमा वर्गभेदको बीजारोपण भइसकेकोले त्यसलाई मास्न सम्भव नहुने तर्क दिएका छन् (पृ.१६४) । यद्यपि उनले मार्क्सवादले गरेको समतामूलक समाजको परिकल्पनालाई नकार्न भने सकेको देखिन्न ।

नेपालको आन्तरिक मामिलामा २००७ सालको क्रान्तिदेखि २०६२/०६३ जनआन्दोलनसम्म भारतीय हस्तक्षेप रहेको दलिल पेश गर्ने उनले राणा शासनको अन्त्यका लागि भएको ‘दिल्ली सम्झौता’ ले नेपालको स्वाधीनतामाथि भारतीय हस्तक्षेपको बाटो खोलेको टिप्पणी गर्छन् ।

सम्झौताबारे हालसम्म कुनै लिखत नभेटिनुले यसको वैधतामाथि नै प्रश्न उठेको उनको दाबी छ ।
विगतमा ‘दिल्ली सम्झौता’ धोका हो भन्दै कुर्लिएका कम्युनिस्टहरूको स्वर पनि २०६३ सालपछि मत्थर हुँदै गएको देवकोटाको तर्क छ (पृ.९४)  । उनले विगतमा कम्युनिस्टहरूले राजनीतिक नारा बनाएको र अहिले उच्चारण गर्न छाडेको ‘गोर्खा भर्ती केन्द्र’ को पनि विरोध गरेका छन् ।

नेपालको राजनीतिक तथा साहित्यिक वृत्तका ‘सेलिब्रेटेड’ व्यक्तित्व वीपी कोइरालाप्रति उनी आलोचक देखिन्छन् र उनलाई जटिल मनस्थिति भएको व्यक्ति भनेर टिप्पणी गर्न पनि पछि पर्दैनन् । उनले वीपीले मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा भएको राष्टहितविपरीतको कोशी सम्झौताको स्वागत गरेको र वीपीले आफैं प्रधानमन्त्री छँदा असमान गण्डक सम्झौता गरेको भन्दै आलोचना गरेका छन् ।

उनले ती असमान सम्झौताहरूलाई राजा महेन्द्रले धेरै हदसम्म सच्याएको पनि बताएका छन् (पृ.१३०) । तर महेन्द्रले कहिले र कसरी सच्याए भन्नेबारे देवकोटाले केही उल्लेख गरेका छैनन् ।

राजा महेन्द्रप्रतिको उनको अगाध आस्था र सामीप्य ठाउँ ठाउँमा झल्कन्छ । उनले महेन्द्रलाई राष्ट्रवादी राजाको रूपमा प्रस्तुत गरेका छन् । महेन्द्रमथि लाग्दै आएको प्रजातन्त्रको हत्याराको आरोपप्रति दुःखमनाउ गर्दै उनले यसलाई नेपालको स्थिरता नचाहने र राष्ट्रवादी धारलाई निस्तेज पार्न चाहने स्वदेशी तथा विदेशी शक्तिहरूको चाल भनेका छन् (पृ.१३४) ।

रोचक कुरा के छ भने महेन्द्रभक्त वीरेन्द्र र ज्ञानेन्द्रप्रति उनी एक रति पनि सकारात्मक देखिन्नन् । उनले एक ठाउँमा भनेका छन्, ‘राजा महेन्दले मलाई लेखनबाटै चिनेका हुन् । उनको निधनपछि पनि म अन्त्यसम्म राजतन्त्रकै परिधिभित्र रहेँ तर उनका छोराहरूले चिन्दै चिनेनन्’ पृ.१४६) ।

उनले राजा वीरेन्द्रसँगको वैरभाव ठाउँ ठाउँमा पोखेका छन् । वीरेन्द्र राजा भएपछि उनका आफन्त र  कर्मचारीतन्त्र उच्छृङ्खल भएको, राजाले आफ्नो कुरा सुन्न छाडेको र उनको भलो ठान्दा पनि कुभलो गरेको ठानेकाले आफूले राष्ट्रिय पञ्चायतको अध्यक्ष पदबाट राजीनामा दिएको उनले प्रसंग कोट्याएका छन् (पृ.१०८)।

वि.सं. २०२८ सालमा लागू भएको ‘नयाँ शिक्षा प्रणाली’ वीरेन्द्रको ‘ब्रेन चाइल्ड’ भएको, उनी युवराज छँदै यससम्बन्धी अवधारणा अघि सारिएको, यसबाट पर्नसक्ने नकारात्मक असरबारे आफूले राजा महेन्द्रलाई बेलैमा सचेत गराएको तर शासनसत्ता आफ्नो हातमा आएपछि वीरेन्द्रले देशलाई अहित हुने शिक्षा प्रणाली लागू गरिछाडेको प्रसंग पनि देवकोटाले कोट्याएका छन् (पृ.१३३)।


उनले आफूलाई वीरेन्द्र र ज्ञानेन्द्रले प्रधानमन्त्री बन्न नदिएको गुनासो घुमाउरो किसिमले पोखेका छन् । उनले भनेकै छन्, ‘राजा महेन्द्रले मलाई प्रधानमन्त्री बनाउने संकेत गरेका थिए तर त्यसको केही दिनभित्रै उनी स्वर्गे भए । त्यसपछि उनका छोराहरूले मलाई लखेटी नै रहे तर म उनीहरूको भलो नै चिताइरहेँ’ (पृ.१३३)।

उनले तत्कालीन राजा ज्ञानेन्द्रमा बढ्दो महत्वकाङ्क्षा र हठकै कारण राजतन्त्र अन्त्य भएको उनको विश्लेषण भने धेरै हदसम्म सही लाग्छ (पृ.११६–११७)।

उनले यी राजनीतिक उहापोहहरूका अतिरिक्त आफ्ना बाल्यकाल, शिक्षाराम्भ, पारिवारिक प्रसंग, आफू जन्मेहुर्केको गोरखाको लिगलिगकोटको सामाजिक तथा सांस्कृतिक परिवेश, स्वदेश तथा विदेश भ्रमण, लेखनयात्रालगायत विविध विषयमा सम्झनाको पोको फुकाएका छन् । तर, कतिपय विषयवस्तु गम्भीर र सान्दर्भिक भए पनि प्रस्तुतीकरणको दृष्टिले उनका यसअघिका साहित्यिक कृतिहरू नै अब्बल लाग्छन् ।

कतिपय ठाउँमा उनी तथ्यगत रूपमा पनि चिप्लिएका छन् । पश्चिमाञ्चल क्षेत्रमा प्रचलित घाँटु नाचलाई ‘रोमान्स’ को संज्ञा दिनु उनको अध्ययनको सीमिततालाई बुझाउँछ  (पृ.३९)। पुस्तकमा उनी जन्मेको साल वि.सं. १९८६ हुनुपर्नेमा वि.सं. १८८६ भएको छ । यद्यपि, यी कमजोरीले २००७ सालपछि गणतन्त्र स्थापनासम्मको  राजनीतिक खिचातानीको एउटा पाटो बुझाउन पुस्तकको क्षमतामा प्रश्न गर्न मिल्दैन ।

पुस्तक : आत्मकथा
लेखक : राजेश्वर देवकोटा
प्रकाशक : ईश्वर चन्द्र देवकोटा
पृष्ठ : १८८
मूल्य : रु २५०

[साभार : हिमाल  । (माघ ९-१५, २०७३)  । परिमार्जित संस्करण]

No comments:

Post a Comment