Saturday, January 13, 2018

कर्खा युगका स्वरजीवी


–यमबहादुर दुरा

जनस्तरमा सारङ्गीको लोकप्रियताको ग्राफ पत्याइनसक्नुको उच्च छ । सारङ्गीको धूनले नेपाली मन र मुटुहरूलाई जोड्ने काम गरिरहेको छ, निरन्तर । सारङ्गीवादकहरूले नेपालीपनको विस्तारमा योगदान दिइरहेका छन् । तीर्थबहादुर गन्धर्व (वि.सं.२०१०–२०७०) तिनै सारङ्गीवादक स्वरजीवीमध्ये एक हुन्, जो जीवनभर सारङ्गीको धूनमिश्रित लोकगीतमार्फत् नेपालीत्व जोगाउने र नेपाली मनहरूलाई झङ्कृत तुल्याउने कार्यमा सरिक भइरहे । 

नेपालमा छापा तथा विद्युतीय सञ्चार माध्यमहरूको विष्फोटक उपस्थिति हुनुभन्दा अघि नेपाली समाजमा सार्वजनिक सूचना प्रवाहकोे अवस्था नाजुक थियो । एकतिर लोकतान्त्रिक परिपाटीको अभाव, अर्कोतिर ‘सूचना संस्कृति’ को खरेडी । सही सूचनाको अभावमा अफवाहले राज गर्‍थ्यो ।

गन्धर्वहरू सारङ्गी भिरेर गाउँ–गाउँ डुल्थे । सूचना र मर्मले भरिएका कर्खा (घटनाप्रधान गीत) गाएर जीविकोपार्जनको प्रयासमा जुट्थे । समाजमा विद्यमान सूचनाको ‘भ्याकुम’ हटाउने काम गर्थे । कर्खामार्फत समाजका नवीनतम् घटनाक्रमहरू उजागर हुन्थे । यसरी गन्धर्व समुदायले सञ्चारकर्मको अनौपचारिक ‘कमाण्ड’ सम्हालेको थियो । त्यतिबेला यो समुदायले ‘जिउँदो समाचारपत्र’ र ‘जिउँदो रेडियो’ को रूपमा सूचना प्रवाह गर्‍थ्यो । यसबाट समसामयिक सूचनाको प्यास मेटाउन भरथेग सहयोग पुग्थ्यो । 

तीर्थबहादुर गन्धर्व रेडियो नेपालमा जागिरे हुनुभन्दा अघि यही प्रकृतिको सञ्चारकर्ममा संलग्न थिए । उनी आफ्नो घर दूधेकुना (तनहूँ) बाट सारङ्गी भिरेर तनहूँ तथा लमजुङका गाउँबस्तीहरू डुल्थे । सानै उमेरदेखि कर्खा गाउँथे । मायामोह र विरह–व्यथाका गीत पनि गाउँथे । उनको गीतमा गाउँबस्ती झङ्कृत र तरङ्गित हुन्थ्यो । गीत सुन्दासुन्दै कतिको आँखामा आँसु टल्पलाउँथ्यो त कतिको ओठमा मुस्कान फक्रन्थ्यो ।

उनले आफ्नोे सांगीतिक यात्राले लाहुरे समुदायसँग जोडेको नातालाई पनि बिर्सन मिल्दैन । छुट्टीमा घर आएका लाहुरेहरूले आफ्ना टेप रेकर्डरमा गन्धर्व गीत भर्थे । तीर्थबहादुर गन्धर्वले लाहुरे ल्याएका ठूला ठूला टेप रेकर्डरमा उनका गीत घन्कन्थे । स्थानीय जात्रा तथा सामाजिक जमघटहरू गुञ्जयमान हुन्थे । ती गीत लाहुरेसँगै जहाज चढेर हङकङ, बेलायत तथा बु्रनाइसम्म पुग्थे । विदेशी छाउनीमा स्वदेशी गीत घन्कन्थे । यहाँनेर, उनीको प्रतिभा विस्तारमा लाहुरेको समुदायले अप्रत्यक्ष रूपमा लाएको गुनलाई बिर्सन मिल्दैन । 

गाउँबस्तीहरूमा नेपालीपनले ओतप्रोत भएका गीत गाउँदै हिँडदा उनको जीवनले अचानक नयाँ मोड लियो । लमजुङ घुम्न निस्केका रेडियो नेपालका एक हुल कलाकारसँग लमजुङको सुन्दरबजारमा उनको जम्काभेट भयो । त्यस हुलमा पाण्डव सुनुवार (वि.सं.२००९–२०६३), राम थापा (वि.सं.२०१५–२०६५), बमहादुर कार्कीलगायतका कलाकारहरू थिए । 

त्यो जम्काभेटले रेडियो नेपालमा लोकसङ्गीतको फाँट सम्हालेर बसेका ती कलाकारलाई तीर्थबहादुर गन्धर्वको प्रतिभासँग परिचित हुने मौका दियो । गन्धर्वको कला र गलाबाट उनीहरू प्रभावित पनि भए । यही जौमेसोमा उनी २०४२ सालमा रेडियो नेपालमा प्रवेश गरे, वाद्यवादकको रूपमा । गाउँबेंसीको सीमित दायरामा सुनिने उनका गीतहरू अबचाहिँ रेडियो नेपालबाट पनि घन्कन थाले । 

शुरुवाती चरणमा उनले पाण्डव सुनुवारले सञ्चालन गर्ने लोकगीतसम्बन्धी ‘चौतारी’ कार्यक्रममा सारङ्गी बजाउने र गीत गाउने गरेपछि उनी थप चर्चामा आए । उनको परिचयको घेरा फराकिलो हुँदै गयो । त्यस समयमा उनी साङ्गीतिक यात्राको शिखर आरोहणको क्रममा थिए ।

तीर्थबहादुर गन्धर्वको साङ्गीतिक यात्राको उभारले एउटा विरोधाभाषपूर्ण समयको प्रतिनिधित्व गर्छ । त्यस कालखण्डमा गन्धर्व सङ्गीतले विडम्बनापूर्ण नियति भोग्दै थियो । जतिबेला उनीजस्ता ‘ग्रासरूट्स’ का ‘नाङ्गेपाउ गायक’ राष्ट्रिय प्रसारण संस्थामा प्रवेश गर्दै थिए, त्यही समयमा गन्धर्व संस्कृतिको जीवन्त पाटोको रूपमा रहेको कर्खा हराउँदै थियो । शायद, समयको हावा नै त्यसरी बहेको थियो । 

यो विडम्बनालाई एकछिन बिर्सिएर उनको योगदानलाई सम्झने हो भने उनले प्रशंसायोग्य काम छन् । गाउँघरका मौलिक भाकाहरू विस्तारमा उनको उल्लेखनीय योगदान रह्यो । उनले तुकबन्दी गीतमात्र गाउँदैनथे, बीच–बीचमा भट्टयाएर गीतलाई रोचक,  घोचक र सुललित बनाउँथे । यो नै उनको गायनकलाको विशेषता थियो ।  

गीत भट्टयाउने क्रममा दुई मिनेटमा नेपालका नयाँ–पुराना सबै ब्रान्डका चुरोटको नाम लिन भ्याउँथे । उनको गीत भट्टयाइले सासू–बुहारी बीचको किचलो, श्रीमतीले लाहुरे श्रीमान्लाई पठाएको घुर्कीपूर्ण पत्र, जिन्दगीको पत्झडपनजस्ता तमाम सामाजिक परिवेशलाई समेट्थ्यो । उनको गीत बज्दा ग्रामीणजन रेडियोमा कान थापेर सुन्थे र अल्हादित हुन्थे । 

उनले गाउँबस्तीका विरह–वेदनाले भरिएका भाकाहरू सारङ्गीको झङ्कारसँगै गाए । पसिनाले पैसा साटेर ल्याउने मुगलानी, साहू–महाजनको थिचोमिचो सहन विवश सीधासाधा ग्रामीणजन, छोरीबुहारीले भोग्नुपर्ने हेँलाहोचोबारे मर्मभेदी गीत गाए, जुन गाउँबस्ती बेहद लोकप्रिय रहे । धेरैले मेलापात र वनपातमा उनको गीत गुनगुनाए र गुनगुनाइरहेका छन् ।

छोरीचेलीको कुरा गर्दा उनीहरूले दुर्भाग्यपूर्ण नियतिबारे चर्चा गर्नुपर्ने हुन्छ । कुनै जमाना यस्तो थियो – छोरीलाई केटा मन पर्न पर्दैनथ्यो, आमा–बाउलाई मन परे पुग्थ्यो । सबैलाई जगजाहेर नै छ, छोरीचेलीले कुनै सहमति र पूर्वजानकारी बिना जन्मघर छाडेर पराइघर जानुपर्‍थ्यो । यही नियतिले निर्माण गरेको छोरीचेलीको मनोविज्ञानबारे उनले गीत गाएका छन् : ‘म छोरीको हारेको कर्म, जन्मे यहाँ मर्नु छ कुन घरमा, पारि वन रुन्छ मेरो मन’ ।

मार्मिक र भावुक गीतसँगसँगै उनले ठट्यौला र व्यङ्ग्यविनोदी प्रकृतिका गीत पनि गाएका छन् । उनको चर्चित गीत ‘आइ एम सरी...’ यही श्रेणीका गीत हो । यसमा आधुनिक महिलाको चरित्र–चित्रण गरिएको छ । गीतमा प्रयुक्त कतिपय शब्द र भावप्रति महिला अधिकारका दृष्टिले आपत्ति जनाउन सकिने ठाउँ छन् । 

तीर्थबहादुर गन्धर्व कर्खा गाउने अन्तिम पुस्ता हुन् । उनीभन्दा पछिका पुस्ताले कर्खालाई निरन्तरता दिन सकेनन् । उनी बाढी–पहिरोले पुर्‍याएको जनधनको क्षति, हत्या, कुनै व्यक्ति प्रदर्शन गरेको असामान्य बहादुरी आदिलाई घट्नाप्रधान गीतका रूपमा प्रस्तुत गर्न खप्पिस थिए । तत्कालीन समयमा गाउँठाउँमा यस्ता गीतले निकै ख्याति कमाएका थिए । उनको पुस्तापछि गाउँघरमा कर्खा सुनिन छाड्यो ।  

लोकगीत आफैंमा सञ्चार हो । उनी एक अर्थमा प्रभावोत्पादक सामाजिक सञ्चारकर्ता थिए । उनले जनमनमा हासिल गरेको लोकप्रियतालाई दृष्टिगत गरी उनको स्वरमा विभिन्न विषयमा ‘जनहितकारी विज्ञापन’ (पीएसए) तयार गरिएका छन्, जुन रेडियोहरूमा अझै गुञ्जन्छन् । सङ्गीतकर्ममा संलग्न हुँदा उनले धेरै लोकगीतमा सारङ्गीको धून भरे । चलचित्रका गीतमा सारङ्गीको धून भर्ने मौका पनि पाए ।

यही सिलसिलामा उनलाई अवसरको मधुमासले पछ््यायो । एकपटक उनलाई सङ्गीतकार शम्भुजीत बास्कोटाले सारङ्गी मुम्बई लगे । त्यही सिलसिलामा उनी बलिउडका चर्चित सङ्गीतकार आरडी बर्मन (सन् १९३९–१९९४) को सम्पर्कमा आए । सङ्गीतकार बर्मनले उनको सारङ्गीवादन मन पराए । बर्मनले उनलाई आफूसँगै बसेर काम गर्न भने तर घरमा छोरी बिरामी भएकाले उनी त्यहाँ बस्न सकेन । उनले यो कुरा एउटा भिडियो अन्तरवार्तामा बताएका थिए । 

‘ग्रासरूट्स’ बाट उठेर लोकगीतको क्षेत्रमा ख्याति कमाएका तीर्थबहादुर गन्धर्वको गलाबाट ‘कपालु कोरेर...’, ‘चरी बस्यो बरको डालीमा...’, ‘आइ एम सरी...’, ‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा’ गुञ्जिए, जुन बिछट्टै हिट भए । उनले ‘छड्के सलाम’, ‘चरी बस्यो’, ‘सानु’ जस्ता दर्जनौं अल्बममार्फत् लोकभाकाहरूको श्रीवृद्धि गरे । 

लोकगीतलाई जीवनधारा सम्झने उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । यस्तैमा २०७० साल भदौ २७ साँझमा उनलाई हृदयघात भयो । भोलिपल्ट सूर्यको पहिलो किरण धर्तीमा पर्नुभन्दा धेरै अघि नै उनी दुनियाँबाट अस्ताए ।

उनको निधनबाट नेपाली समाजले मौलिक स्वरका धनीलाई मात्र गुमाएन, कुशल सारङ्गीवादक पनि गुमायो । उनले नेपाली लोकसङगीतलाई अझै गुन लाउन बाँकी नै थियो तर यो आग्रह विधातालाई मञ्जुर भएन । उनले सिर्जना गरेका सारङ्गीका धुन र स्वराङकन गरेका गीतहरू नै उनले हामीलाई छाडेर गएका सम्झना कोसेली हुन् ।

[साभार : गोरखापत्र 'शनिबार' । पुस २९, २०७४ । सामान्य परिमार्जनसहित । तस्बिर : गुगल]

No comments:

Post a Comment