Saturday, January 19, 2019

नेपाली लोकगीतमा रेल

—यमबहादुर दुरा

यतिबेला रेलको प्रसंग चर्चाको चुलीमा पुगेको छ । चिनियाँ रेल, भारतीय रेल एवम् पूर्व-पश्चिम रेलको चर्चाले सार्वजनिक वृत्त रनक्क तातेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको देश विकासको अजेण्डामध्ये रेललाई पनि शीर्षअजेण्डाको रूपमा चित्रण गरिँदैछ । यतिबेला रेल देश विकासको विम्ब र मानक दुवै बनेको प्रतीत हुन्छ ।

अहिलेको नेपालमा ‘बजवर्ड’ बनेको छ, रेल । यद्यपि, नेपालीजनका लागि यो नयाँ विषय भने पटक्कै होइन । नेपालमा रेलको प्रसंग एक हिसाबले अचम्मलाग्दो पनि छ । देशको सरहद काटेर अन्यत्र पाइला नटेकेका नेपालीजन अझै पनि धेरै छन् । कतिपयले रेलको तस्बिर वा बढीमा टेलिभिजनमा मात्र रेल देख्न पाएका छन् । र पनि, रेलसँग अपरिचित नेपाली कोही नहोलान् । नेपालीजन र रेलबीच निकै पुरानो चिनजान छ । एक हिसाबले उनीहरूबीच पुस्तैनी नाता छ ।
तस्बिर साभार:  गुगल

रेल र नेपालीजनको नाता गाँसिदिने कामको श्रेय धेरै हदसम्म लोकगीतलाई जान्छ । नेपाली लोकगीतहरूमा वर्णित सवारी साधन रेलले सामान्यजनमा मोहभाव र कल्पनाशीलता बढाइदियो । यसबाट रेलै नदेखे पनि रेलमा दिल बस्न पुग्यो, नेपालीजनको । कोइलाले चल्ने दार्जिलिङको छुक्छुके रेल होस् वा गोरखपुरको रेल, धेरै नेपालीको मन रेलमा रमाएको छ ।

नेपालजनको मनमा रेल कसरी भित्रियो ? यो प्रश्नको उत्तर खोज्दै जाँदा मुगलान यात्रा र लाहुरे परम्परासम्म पुग्न सकिन्छ । परदेश जाने क्रममा मुगलानी र लाहुरेहरूले रेल देखे, रेल यात्राको अनुभव सङ्गाले । उनीहरूले घर फर्केपछि तिलस्मी शैलीमा रेलको वर्णन गरे । रोदीघर, मेलापात र सामाजिक जमघटमा रेलको वर्णन गरेर गीत गाए । त्यो वर्णन सुनेर रेलै नदेखेका गाउँघरका कल्पनाशील ढाक्रेहरूले पनि रेलको गीत रचे होलान् । त्यसलाई जनजिब्रोले टिप्यो । अनि हाम्रो पहाडी जनजीवनमा पनि रेल सर्वव्यापक बन्न पुग्यो ।

इष्ट इण्डिया कम्पनी सरकारले सन् १८१५ मा नै गोर्खा पल्टन खोलिसकेका थिए । यस दृष्टिले लाहुरे संस्कृतिको इतिहास दुई सय वर्षभन्दा पुरानो छ । यो भन्दा पनि पुरानो इतिहास छ, मुगलानीहरूको । भारतका मुगल राजाहरूका दरबारमा सेवा गर्न पुग्नेहरू मुगलानी भनेर चिनिए । यस हिसाबले मुगलानीहरूको इतिहास थोरैमा पनि तीन सय वर्षको छ । अहिले पनि रोजगारीका लागि विदेश जानुलाई मुगलान जाने भनिन्छ । यद्यपि, मुगलान र मुगलानी शब्द प्रयोगबाट हराउँदै छ ।

पानीजहाज चढेर भारतमा शासन गर्न आइपुगेका अंग्रेजहरूले त्यहाँ सन् १८५३ देखि मालबहाक रेल चलाउन थालेको इतिहास भेटिन्छ । नेपालमा पनि सन् १९२७ मा रेल यातायात शुरु भएको अभिलेख भेटिन्छ । त्यतिबेला इष्ट इन्डिया कम्पनीले रक्सौल—अमलेखगञ्ज रेलवे निर्माण गरिदिएको थियो । यस हिसाबले नेपालमा रेलको इतिहास ९२ वर्ष पुरानो छ । साहित्यकार ध.च. गोतामेले ‘घामका पाइलाहरू’ मा नेपालमा रेलवे निर्माणको कथाव्यथा रोचक शैलीमा वर्णन गरेका छन् ।

धेरैजसो नेपालीले भारतमै रेल यात्राको अनुभव लिए । त्यसपछि उनीहरूको त्यो भोगाइलाई गीतमार्फत व्यक्त गर्न थाले । अनि शुरु भयो, रेलको गीत । पहिलो पटक कुन नेपालीले रेलको गीत गुनगुनाए ? यसको उत्तर समयको गर्तमा हराइसकेको छ । कतिपयले मेलवादेवी गुरुङ (वि.सं. १९५९—२०१२) ले पहिलो पटक रेलसम्बन्धी गीत गाइन् भनेका छन् । उनले ‘सवारी मेरो रेलैमा’ बोलको गीत गाएकी थिइन् । उनले रेलमा कलकत्ता आउजाउ गर्दाको अनुभव समेटेर कलकत्ताकै ‘हिज मास्टर भ्वाइस’ रेकर्डिङ कम्पनीमा गीत रेकर्ड गराएको भनिन्छ ।

तर, मेलवादेवी नै रेलबारे गीत गाउने पहिलो नेपाली हुन् भनेर दाबी गर्न कठिन छ । भारतमा यात्रुबहाक रेल अस्तित्वमा आउनुभन्दा धेरै अघिदेखि असंख्य मुगलानी र लाहुरेहरूले रेल यात्रा गरिसकेका थिए । त्यो अनुभवलाई लिएर उनीहरूका कल्पनाशील दिमागले केही कल्पेन वा कथेन भन्न सकिन्न । तर पनि रेलबारे गीत रेकर्ड गराउने चाहिँ मेलवादेवी पहिलो नै नेपाली हुन सक्छिन् ।

घरको दुःखले मुगलान पस्ने असंख्य स्वप्नजीवी नेपाली युवाको कहानीलाई पनि रेलको इञ्जिनले तानेर सँगसँगै अघि बढउँछ । ‘आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’, ‘आज त गुँदरीमाथि भोलि त छे बजे रेलैमा’, ‘गयो माया लाहुरे हुनलाई, रेलको झ्यालमा बसेर रुनलाई’ जस्ता गीतहरूले मुगलानसँग जोडिएको नेपालीजनका दारुण कहानी पस्किएका छन् ।

कतिपय लोकगीतले मातृभूमिको जीवन भोगाइ र पराइभूमिसँगको अपेक्षा, शंशय, कौतुहलता र विरोधाभाषका कहानी ओकल्छन् । यस्ता गीतको गीतको एउटा हरफले स्वदेश विचरण गर्छ भने अर्को हरफले विदेश । ‘यो मायाले जाऊँ भन्थ्यो रेलैमा, धान काटेर दाइँ  हाल्ने बेलैमा’, ‘यो मायाले जाउँमात्रै भन्छ, रेलले तान्छ काँ लान्छ काँ लान्छ’, ‘यो गाउँमा बसेर म दिक्कै, जान्छु म त रेलको लिकलिकै’ जस्ता लोकअभिव्यक्तिमा आधा स्वदेश र आधा विदेशका जीवन भोगाइ प्रतिविम्बित छन् ।

माया-मोहब्बत, प्रेमालाप, प्रेमिल निष्फिक्रीपनजस्ता सर्वजनीन प्रसंग लोकगीतमा नआउने कुरै भएन । झन, त्यसमा रेल जोडिन आइपुग्दा भावनाको गंगा सलल बग्न थाल्छ । ‘रेललाई तान्यो रेलैको माउले, मलाई तान्यो हितैको मायाले’, ‘आजैको रात मायाको काख, भोलि त रेलैमा’, ‘लाको खेती जो खाला खाला, जाऊँ हिँड रेलैमा सलल’ जस्ता गीतले हरेकलाई भावगंगाको नौकाबिहार नगराई छाड्दैन ।

यता, गीतको थेगोको रूपमा रेल अनायसै जोडिन आइपुगिहाल्छ  । ‘रेलको टेसनैमा’, ‘जाऊँ रेलमा सलल’, ‘फूलमाया रेलैमा ', ‘जाउँला रेलैमा’, 'जाउँ जाउँ रेलैमा'  जस्ता थेगोले नेपाली लोकगीतले पाइला-पाइलामा रेललाई पछ्याइरहेको अनुभूति मिल्छ । यी थेगोले लोकगीतलाई रेलजस्तै सलल बग्न सघाएका छन् ।

पूर्वोल्लिखित प्रसंग विशाल पृथ्वीको सानो कणजस्तो मात्रै हो । लोकगीतको अथाह भण्डारमा रेलको स्थान एक हिसाबले सानो हिस्साजस्तो देखिए पनि यो विषय सानो वा चनचुने होइन । त्यसमा पनि समयको लामो कालखण्डमा एकपछि अर्को गरी थुप्रिँदै आएका अनुभूतिको भकारी एक धक्कामा फोर्न सकिँदैन । समयान्तरमा पत्रे-चट्टानझैं थुप्रिएका पुस्तौं-पुस्ताका अनुभूतिका पत्रहरू एक चुड्कीमा उजागर हुने कुरै भएन । यसले धैर्यवान् प्रयत्नहरू माग गर्छ ।

नेपाली लोकगीतमा रेलको प्रवेश र यसले लोकअभिव्यक्तिमा पारेको प्रभाव अनुभूतिका पत्रे-चट्टान हुन् । यसबारे व्यापक खोज–अनुसन्धान अपेक्षित छ । अथक प्रयत्न रहेमा नेपाली लोकगीत र रेलबीचको अन्तरसम्बन्धका धेरै आयाम र पाटा खोतल्न र सहयोग पुग्छ, जसबाट सार्वजनिक सम्पत्तिको रूपमा रहेको लोकगीतलाई थप समृद्ध बनाउन सहयोग पुग्नेछ ।

[साभार : गोरखापत्र । २०७५ साल माघ ५ गते ।(सामान्य परिमार्जनसहित) ।]

No comments:

Post a Comment