Saturday, May 4, 2019

पीपलसँगै बर

-यमबहादुर दुरा

समय प्रवाहमय छ । समयको सतत् प्रवाहमा लोकजीवनका धेरै पाटाहरू ओझेलमा पर्दैछन् । सँगसँगै जनजीवनका नवीनतम् पाटाहरू नयाँ रूपरङ्गमा दृष्टिगोचर हुँदैछन् । अहिले डिजिटल चौतारीहरूको उभार आएको छ । डिजिटल चौतारी (सोसल मिडिया) मा थकाइ मार्ने, गफगाफ गर्ने, नयाँ साथीसंगी–दौंतरीहरूसँग भेटघाट गर्ने क्रम बढ्दो छ ।

डिजिटल चौतारीले बलवान् समयको साथ पाएर स्वर्ण युगततर्फ उन्मुख छ । तर, हाम्रा बाउबाजेले बनाएका वास्ताविक चौतारी भने अधपतनतर्फ उन्मुख छ । माकुराको जालो जस्तो गरी बनेका मोटरको बाटोले चौतारीलाई बिरानो बनाउँदै लगेको छ । अब, नयाँ चौतारी बन्ने सिलसिला धेरै हदसम्म अन्त्य भएको छ । भएका  धेरैजसो चौतारीहरू मर्मत–सम्भारको अभावमा जीर्ण हुँदै गएका छन् । भए-गरेका चौतारी पनि बटुवा, खेतला–गोठाला र भरियाको अभावमा शून्य र निष्प्रण बन्दैछन् ।

विगतमा चौतारी लोकजीवनको अभिन्न अङ्ग थियो । हामीकहाँ एउटा उखान प्रचलित छ, ‘चोरलाई चौतारो साधुलाई सूली’ । यसले हाम्रो सामाजिक मनोविज्ञानलाई त इङ्गित गरेको छ नै, चौतारी न्याय निसाफ छिन्ने थलो पनि थियो भन्ने दर्साउँछ ।  हुन पनि, विगतमा चौतारीमै कहचरी बसिन्थ्यो, त्यही न्याय-निसाफ छिनिन्थ्यो । 

विगतमा चौतारी बहुउद्देश्यीय जमघटको थलो थियो । चौतारी भेटघाट र जमघटको उर्वर थलो थियो ।  बटुवा, खेतला–गोठाला र भरियाले चौतारीमा थकाइ मार्थे । उनीहरूबीच एकआपसमा वार्तालाप हुन्थ्यो । हुने जमघटले असंख्य रसिलो-भरिलो लोकगीत जन्माउन सघायो  । प्रस्तुत लोकगीत चौतारीले नै जन्माएको प्रतीत हुन्छ:
 यो मायाले गरेन वास्ता
 चौतारीको छेवैमा मै बस्दा

 चौतारीमा एकआपसमा मनको वह पोखिन्थ्यो । स्थानीय जनजीवनसँग जोडिएका घटनाक्रमबारे सूचना आदानप्रदान हुन्थ्यो । विगतमा चौतारी विश्रामस्थल वा आश्रयस्थलमात्र नभएर सूचना केन्द्र पनि थियो ।  अल्लो गाउँ पल्लो गाउँका बासिन्दा र चेलीबेटी-माइतीको सूचना आदान प्रदान गर्नमा चौतारीको भेटघाटले ठूलो भूमिका खेल्थ्यो ।

धर्मभीरु नेपाली समाजमा चौतारीको बेग्लै महत्व छ । चौतारी बनाउँदा पूण्य मिल्छ भन्ने आममान्यता छ । विगतमा पूण्यात्माहरूले ठाउँ ठाउँमा चौतारी बनाउथे । त्यसमा बरपीपलको बोट सार्थेे । बरलाई बेहुला र पीपललाई बेहुली बनाएर विवाह गरिदिन्थे । सानोतिनो भोजभतेरको चाँजोपाँजो मिलाइन्थ्यो । चैत–वैशाखको याममा बटुवाका तिर्खा मेट्न घैंटामा चिसो पानीको व्यवस्था गरिन्थ्यो ।

चौतारी संस्कृतिमा जोडिएको बरपीपलको प्रसङ्गलाई लिएर अनेकन् लोकगीत रचिएका छन् । धेरैले सुनेको एउटा गीत छ, जसले चौतारी र ग्रामीण जीवनको अन्तरसम्बन्धबारे जीवन्त तस्बिर उतारेको छ :
 
पीपलसँगै बर
पीपलुको छायाँमुनि मायालुको घर 

बर-पीपलको गाथा यत्तिमै सकिँदैन । हिन्दू धर्ममा बर-पीपलको निकै महत्व छ । पूजापाठमा बरपीपलको पात अनिवार्य मानिन्छ । देवात्मा, अश्वत्थ, वृक्षराज आदि नामले परिचित पीपलको वृक्षमा देवताको बास हुन्छ भन्ने मान्यताले गहिरोसँग जरो गाडेको छ ।

यही मान्यतामा आधारित भएर कतिपय देवीदेवताका थान पीपलमुनि स्थापित छन् । पीपलको विरुवा सार्दा र पीपलको वृक्षलाई दाहिने पारेर घुम्दा शुभघडी आउँछ मान्यता पनि उत्तिकै बलियो छ । प्रस्तुत गीतले यही वास्तविकता उजागर गर्छ :
  डाँडैमा पीपल सारेर
 भेट हुन आउनू है मायालु त्यही पीपल दाहिने पारेर 

गुणी वृक्ष बर–पीपलसँग धेरैको सम्झना जोडिएका छन् । ग्रामीणजनहरूका कुराकानीमा लहरे पीपल, ढल्के बर आदि शब्दावली सुनिन्छन्, जुन गीतमा पनि प्रतिविम्बित हुन्छन् । नीता पुन मगरले यिनै शब्दावली प्रयोग भावुक गीत गाएकी छिन् :

‘लहरे पीपल ढल्के बरैको, 
कर्मघर जुन ठाउँमा भए नि झल्को आउँछ, माइतीघरैको 

चेतनशील प्राणी हुनुको नाताले मृत्युचेत मानिसमा प्रबल छ । उसका लागि मृत्यु सबैभन्दा ठूलो सत्य  पनि हो । हरेक व्यक्तिमा मृत्युचेत भए पनि कसै यो चेत धेरै नै बढी हुन्छ । हाम्रा बूढापाकाहरूले आफ्नो मृत्युको तिथिमिति मिलाउँथे भन्ने भनाइ पनि गाउँघरमा सुनिन्छ । चौतारीमा सारिने पीपलको पीपलको वृक्षलाई विम्ब र सूचक मानेर मृत्युचेतबारे गीत रचिएका छन् । त्यही भएर त बूढापाकाले भन्ने गर्थे: 
अहिले साल मरिन्छ क्यारे 
ओइलायो राम्दीमा पीपलु

चौतारी संस्कृति र यससँग जोडिएका विविध पक्षबारे असंख्य गीत भेटिन्छन् । तर, ती गीत सग्लो रूपमा छैनन् । चौतारी संस्कृतिलाई मात्र केन्द्रमा राखेर गीत रचिएको भने त्यति पाइँदैन । अहिलेसम्म भेटिएका गीतले आंशिक रूपमा मात्र चौतारी संस्कृतिलाई छोएको पाइन्छ । जस्तैः ‘देउरालीमा पीपलु चौतारी, पाइनँ मैले हितैको दौँतरी’ । यो गीतमा पीपलु चौतारीको प्रसङ्गलाई ‘पाइनँ मैले हितैको दौँतरी’ भन्ने सन्देश प्रवाह गर्नका लागि मात्र अघि सारिएको देखिन्छ । धेरैजसो नेपाली लोकगीत अन्त्यानुप्रासयुक्त हुनाले अन्त्यानुप्रास मिलाउनका लागि मात्र यहाँ ‘देउरालीमा पीपलु चौतारी’ को प्रसंग आएको छ ।

धेरैजसो अंग्रेजी गीत कुनै खास विषयमा मात्र केन्द्रित भएर बनाइएका हुन्छन् । उदाहरणका लागि कुनै हिमाल, नदी, ताल आदिमा सिङ्गो गीत समर्पित हुन्छन् । नेपाली लोकगीतमा यस्तो परम्परा नभएको होइन तर एकदम कम छ । कुनै निश्चित विषयमा केन्द्रित भएर गीत बनाउने परम्परामा वृद्धि हुन आवश्यक आवश्यक छ । यसो भएमा चौतारीलगायत असंख्यमा विषयमा गाथामूलक गीत तयार हुन सक्थे ।

चौतारी संस्कृति कति पुरानो हो, यसको लेखाजोखा गर्न सहज छैन । चौतारीसँग गाँसिएका तमाम लोकविश्वास र अनुष्ठानलाई अवलोकन गर्दा यो हजारौं वर्ष परम्परा हो भन्न सकिन्छ । यसलाई नेपाली लोकगीतले कति गहिराइका साथ समेटेको छ, यसबारे विशद अध्ययन हुन बाँकी नै छ । गहन खोज अनुसन्धानपछि मात्र लोकगीत र चौतारी संस्कृतिको अन्तरसम्बन्धबारे धेरै पक्ष पटाक्षेप हुन सक्छ । अहिलेलाई यति नै ।

लोकसंवाद । २०७६ साल वैशाख २० गते । ]

[अद्यावधिक : २०७७।०३।१५, २०७८।०७।१२, २०७८।१०।१७]

No comments:

Post a Comment