Saturday, May 11, 2019

सङ्गीतमा चन्द्रमा दाहिने हुने आशा

-यमबहादुर दुरा

दोलखाको ग्रामीण परिवेश । त्यहाँका वनपाखा र मेलापातमा स्वाभाविक रूपमा लोकभाकाहरू गुञ्जन्थे । त्यहाँ प्रतिध्वनित हुने लोकभाकाहरूमा उनकै आमाको स्वर पनि मिसिन्थ्यो । उनी आमाको कला र गलाबाट प्रभावित थिइन् । उनलाई आफ्नै आमाले हालेको भाका बिछट्टै मनमोहक लाग्थ्यो ।

लक्ष्मी बस्नेत लोकगीतको क्षेत्रमा एक किसिमको पहिचान बनाएकी प्रतिभा हुन् । आमाले वनपात र ढिकीजाँतो गर्दा गुनगुनाएका गीतका भाका र शब्दले उनको मनमस्तिष्कमा बसेका थिए । यसबाट नजानिँदो किसिमले लोकगीतप्रति उनको मोहभाव बढ्दै गयो । यस्तैमा उनी मुटुभरि अनेकन् सपना सजाएर राजधानी भित्रिइन् । उनको सपनाहरूको चाङमा गीत गाउने सपना पनि थियो । लोकगीतप्रति मोहभाव भए पनि यस क्षेत्रमा उत्पात गरिहाल्छु भन्ने उनलाई लागेको थिएन ।

तर पनि लोकप्रतिको मोहभाव प्रकट भरहन्थ्यो । लोकगीतप्रतिको उनको रुचि देखेर उनका अग्रज डीबी गुरुङले रेडियो नेपालमा गीत गाउने चाँजोपाँजो मिलाइदिए । उनी रेडियो नेपालले २०५० सालमा आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रतिस्पर्धी बनिन् । उनी प्रतियोगितामा दोस्रो भइन् । उनले त्यतिबेला गीतको बोल थियो : ‘मखमली फूल दाजु मखमली फूल...’। त्यस समयममा त्यो गीत धेरैको जिब्रोमा झुण्डियो ।

यससँगै उनको लोकप्रियता पारो चढ्दै गयो । चिनजानको दायरा बढ्दै गयो । छोटो समयमै ज्यामितीय दरमा उनको साङ्गीतिक उन्नयन भयो । गीत गाउने अफरको आउन थाल्यो । पछि पछि त चलचित्रमा खेल्ने अफर पनि आयो । उनले राम थापा, कृष्णसुधा ढुङ्गाना, शम्भु राईलगायतका अग्रज कलाकारहरूसँग गीत गाएर गाउँबस्तीका लोकभाकाहरूलाई जन–जनसम्म विस्तार गर्न सघाइन् । उनले २०५० देखि २०५३ सालम्म राष्ट्रिय नाचघरमा गायिकाको रूपमा काम गरिन् । त्यस समयमा उनी साङ्गीतिक गतिविधिहरूमा व्यस्त भइन् । उनका लागि त्यो समय निकै उर्वर थियो । उनको साङ्गीतिक सिर्जना मौलाउँदै गए ।

दोहोरीगीत प्रतियोगिताहरूमा पनि फटाफट विजयी बन्दै गइन् । सरगम केन्द्र, नेपाल अपाङ्ग व्यवसायिक महासंघ र लाइन्स क्लब अफ काठमाडौंले क्रमशः २०५०, २०५० र २०५२ सालमा आयोजना गरेका दोहोरीगीत प्रतियोगितामा प्रथम  भइन् । अफिसको काम, रेकर्डिङ र स्टेज कार्यक्रमहरूमा व्यस्त हुन थालिन् । चन्द्रमा दाहिने परेको बेला थियो । उनलाई भ्यान–नभ्याई थियो ।

यस्तैमा कताकता उनको दिल–दिमागमा विदेश जाने भूत सवार भयो । विदेश जाने साइत पनि जुरिहाल्यो । उनी आफ्ना सारा साङ्गीतिक गतिविधिहरू थाती राखेर जापानतिर लागिन् । राष्ट्रिय नाचघरमा कार्यरत रहेको अवस्थामा उनको पाइला विदेशी भूमितिर बढ्यो । त्यसपछि केही वर्ष बेलायततिर भुलिन् । परदेश पलायनले निरन्तर प्रगतिततर्फ उन्मुख भइरहेको उनको साङ्गीतिक यात्रामा ब्रेक लगाउने काम गर्‍यो  ।

उनी २०५९ सालमा नेपाल फर्किइन् । त्यतिञ्जेलसम्म धेरै क्यालेन्डरका पानाहरू पल्टिसकेका थिए । समयले भाका फेरिसकेको थियो । नेपाल फर्कँदा उनी आफैंलाई बिरानो जस्तो पाइन् । साङ्गीतिक रङ्गमञ्च थुप्रै नयाँ प्रतिभाहरूले भरिभराउ भइसकेको थियो । उनलाई लाग्यो, ‘मेरो साङ्गीतिक परिचान संकटमा पर्दैछ ।’ वास्तविकता पनि त्यही थियो ।

एफएम रेडियोलगायत सञ्चार माध्यमहरूको उभार, पहिल्लो समयमा यु ट्युवजस्ता सोसल मिडियाहरूको दरिलो उपस्थिति, यस्ता मिडियामा नयाँ पुस्ताको उत्साहजनक उपस्थिति र समयसँग बदलिएको अडियन्सको टेस्टले साङ्गीतिक क्षेत्र अरू क्षेत्रजस्तै प्रतिस्पर्धात्मक बनिरहेको छ । लक्ष्मी बस्नेत यो वास्तविकतासँग पूरापुर जानकार छिन् । उनी कसैसँग प्रतिस्पर्धा गर्ने मुडमा छैनन् । न त यो कुनै बुद्धिमत्तापूर्ण व्यवाहार हो । तर, उनी समयले मधुरो बनाउँदै गएको आफ्नो साङ्गीतिक पहिचानलाई चहकिलो बनाउने सोचमा छिन् । यसअनुसार उनी केही हदसम्म अगाडि पनि बढिसकेकी छिन् ।

उनले लगातार दुई वर्ष तीजसम्बन्धी गीत निकालिन् ।  २०७४ र २०७५ साल क्रमशः मा ‘हे शिव भगवान’  र ‘भाइरल भुन्टी’ शीर्षकमा म्युजिक भिडियो निकालिन् । उनले घमेस दुलालसँग अल्बम निकालिन् । उनले गाएको गीतको एउटा लाइन यस्तो थियो : ‘गाईवस्तु बाँधेको किला, माया लाउन मिल्ला कि नमिल्ला’ । यी रमाइलो प्रकृतिका गीत हुन् । उनले विक्रमबाबु विश्वकर्मासँग मिलेर ‘आसुको विजेता’ शीर्षकमा गम्भीर प्रकृतिका साङ्गीतिक कोसेली अडियन्स समक्ष पस्किइन् । यसैगरी, तिहारको सांस्कृतिक पक्ष झल्कने गरी ‘देउसी–भैली’ म्युजिक भिडियो ल्याइन् । नरहरि प्रेमीसँग सहकार्य गरेर उनले यो सांस्कृतिक कोसेली  ल्याएकी थिइन् । साङ्गीतिक क्षेत्रमा उनको पुनरागमन भइसकेको छ ।

एकाग्र भएर लोकसङ्गीत साधनामा तल्लीन समयले अनुमति दिइरहेको छैन । अब उनी विशुद्ध कलाकारमात्र रहिनन् । उनी एक गैरसरकारी संस्थामा पूर्णकालीन कर्मचारी हुन् । उनको अधिकांश समय कार्यालयका गतिविधिले खाइदिन्छ । कहिले अफिसको डेक्स वर्क त कहिले स्थलगत भ्रमण । बचेको समयमा उनले कलासाधना गर्ने हो ।  यस्तो अवस्थामा उनका अगाडि चुनौतीको पहाड खडा भएको छ । तर, उनीसँग हिम्मत छ । ‘वर्षमा एउटा गीत निकाल्ने योजना छ’, उनी कार्ययोजना सुनाउँछिन् । आशा गरौं, उनको फेरि पनि चन्द्रामा दाहिने हुनेछ ।

[साभार: लोकसंवाद ।२०७६ वैशाख २७ गते ।]

No comments:

Post a Comment