Friday, May 24, 2019

शिष्टाताको बाटो बिराउँदै लोकगीत

यमबहादुर दुरा

लोकगीत मानव अभिव्यक्तिको एउटा सुन्दरतम् माध्यम हो । असली लोकगीतको शब्द, लय र भावमा सुन्दरताको भुमरी भेटिन्छन् । यहीँनेर लोकगीतको सुन्दरता र भव्यता जोडिएको छ ।

लोकगीतले दिने यस किसिमको सौन्दर्यात्मक आनन्द  (Aesthetic joy) का कारण आमनागरिक लोकगीतप्रति हुरुक्क हुन्छन् ।

लोकगीतको परम्परागत प्रवृत्तिलाई हेर्ने हो भने लोकगीत शिष्टता, मर्यादा र विनयशीलताको खानी हो । ‘मै गीत गाउँ कि सुनखानीमा पितलु मिसाउँ कि’, ‘म त हजूर डढेलोको ठूटोजस्तो, मेरो माया पूर्नेको जूनजस्तो’ । यी लोकगीतका त्यस्ता हरफ हुन्, जसमा शिष्टता, मर्यादा र विनयशीलता छचल्किन्छन् । नेपाली लोकगीतको मूल प्रवृत्ति यही हो ।

तर, समयको यो विन्दुमा आइपुग्दा नेपाली लोकगीतको स्वाभावमा अपत्यारिला परिवर्तनहरू आएका छन् । विगतमा लोकगीत मूलतः आत्मिक सुख र शान्तिको सुन्दर माध्यम बनेको थियो । लोकगीत अहिले व्यापारिक वस्तु बन्न थालिसकेको छ । यससँगै लोकगीतमा शिष्टता, मर्यादा र विनयशीलता क्षयीकरण हुँदै गएको छ, जुन लोकगीतका बहुसंख्यक अनुरागीहरूले अनुभूत गर्दै आएका छन् ।

यतिबेला, नेपाली लोकगीत प्रश्नहरूको घेरमा छ । लोकगीत प्रश्नहरूको घेराबन्दीमा रहेको बेला यसबारे अनेकन् टीका–टिप्पणी सुनिन थालेको छ : लोकगीत विकृतिग्रस्त हुन थाल्यो, लोकगीतमा अश्लीलता बढ्न थाल्यो, लोकगीत व्यापारिक वस्तु बन्न थाल्यो, लोकगीतले बाटो बिरायो, आदि ।

यद्यपि, नेपाली लोकगीत हिजोको आजै विकृतिग्रस्त बनेको भने पक्कै होइन । यो कालखण्डसम्म आइपुग्दा लोकगीतले धेरै उतारचढाव भोगेको छ । लोकगीतको मुहान विगतदेखि नै विकृत बन्दै आएको देखिन्छ ।

उदाहरणका लागि देशको राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालबाट बज्ने लोकगीतहरूलाई लिन सकिन्छ । रेडियो नेपालले एकतिर देशको कुना–कन्दरामा प्रचलित मौलिक लोकभाकाहरूलाई उजागर गर्ने गर्‍यो भने अर्कोतिर सुन्न असहज लाग्ने गीतहरू लोकगीतका नाममा प्रसारण गरेर विकृतिलाई प्रश्रय पनि दियो ।

यसभन्दा अघिका कालखण्डहरूलाई हेर्ने हो भने लोकगीतमा उतारचढाव आएका छन् । सन् १८१६ मा इष्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिबाट नेपालको राष्ट्रिय स्वाभिमानमा ठूलो चोट लाग्यो । त्यसपछि लोककविहरूको रचनाकारिता भक्तिमार्गतिर मोडिएको देखिन्छ ।

राणाकालमा चेतनाका गीत र कवितामा प्रतिबन्ध लागेपछि त्यस समयका रचनाहरू श्रङ्गारिक धारतिर प्रवाहित भएको देखिन्छ । यद्यपि, सबै श्रङ्गारिक गीत वा रचनाहरू विकृतिग्रस्त हुन्छन् भन्ने कदापि होइन ।

अहिलेको सूचना क्रान्तिको युगमा दुनियाँले धेरै ठूलो फड्को मारेको छ । मानिसका अभिव्यक्ति शैली र प्रवृत्तिहरूमा व्यापक परिवर्तन आएको छ । अहिलेका दोहोरीगीत सुन्दा र लोकगीतसम्बन्धी म्युजिक भिडियोहरू हेर्दा लोकगीतले ठूलै वेग हानेको अनुभूति हुन्छ ।

अहिलेका दोहोरीगीतको शैली हेर्दा सीधै जोरी खोज्ने, सोझै लान्छु–लैजान्छु भन्ने, सीधै दागा धर्ने, खसालेर बोल्ने, अश्लील र अशिष्ट शब्दावली प्रयोग गर्नेजस्ता प्रवृत्तिको बाढी देखिन्छ । यसबाट सामाजिक शिष्टता, मर्यादा र विनयशीलतामा तीव्र क्षयीकरण भइरहेको छ ।

यसका पछाडि विभिन्न कारक तत्वहरू छन् । विश्वव्यापीकरणको लहरसँगै आएको खुलापनले यस्तो प्रवृत्तिलाई थप बल दिएको छ । त्यसमा पनि, हरेक कुरालाई बिकाउ वस्तु (Commodity goods) को रूपमा बेच्ने पूँजीवादी परिपाटीले लोकगीतलाई पनि बिकाउ वस्तुकै रूपमा देख्छ । सोही अनुसारको व्यवहार भइरहेको छ ।

शहरमा खुलेका दोहोरी रेष्टुरेष्टहरूले ग्राहक पल्काउन सस्तो मायाप्रेमका गीतलाई प्राथमिकता दिएका छन् । विभिन्न महोत्सवमा हुने दोहोरीगीत पनि विकृतिको स्रोत बनेको छ, जहाँ कलाकारहरूले भीडलाई तताउन र उत्तेजित पार्न सोही अनुसारका उत्ताउला गीत गाउँछन् । यसबाट पनि लोकगीतको शिष्टता र मर्यादामा नपत्याउँदो किसिमले धक्का पुगेको छ ।

यहाँनेर, फ्रयाक्फर्ट स्कुलका थिङ्क ट्याङ्क थियोडोर अडोर्नो (सन् १९०३–१९६९) र म्याक्स होर्खामर (सन् १८९५–१९७३) ले ‘कल्चर इन्डष्ट्री’ शीर्षकको लेखमा  हाम्रा सांस्कृतिक अवयवहरू कसरी व्यापारिक वस्तु बन्दैछन् भन्ने सम्बन्धमा दिएका व्याख्यान सान्दर्भिक हुन आउँछ ।

हाम्रा सांस्कृतिक अवयवहरू व्यापारिक वस्तु बनेका छन् र आमसञ्चार माध्यमले तिनीहरूलाई फराकिलो घेरामा विस्तार गर्नमा सहयोगी भूमिका खेलेका छन् भन्ने उनीहरूको निष्कर्ष छ । वास्तविकता पनि यही हो ।

अहिले हाम्रा लोकगीतहरू पनि निर्धक्क किसिमले व्यापारिक वस्तु बनिसकेका छन् । व्यापारको नियम नै हो-जसो गर्दा ती व्यापारिक वस्तु बिक्छन्, सोही अनुकूलका सूत्र अपनाएर वस्तु बेचिन्छ ।

यतिबेला, संस्कृतिलाई वस्तुको रूपमा बेच्ने काम व्यापक रूपमा भइरहेको छ । यसको नतिजा के भएको छ भने लोकगीतको अनुहारमा औद्योगिक पूँजीवादको प्रतिविम्ब स्पष्ट रूपमा देखिन थालेको छ  ।

परम्परागत रूपमा सीधा घोचपेच, अश्लील शब्द र अशिष्ट व्यवहार लोकगीतमा उचित मानिँदैनथ्यो । तर, अहिले त्यही उचित नमानिएको व्यवहारलाई नै अहिले अनुकरण गर्न थालिएको छ । यसले लोकगीतको मर्ममाथि सीधा प्रहार गरेको छ ।

विष्णुनारायण भातखण्डे (सन् १८६०–१९३६), पण्डित विष्ण दिगम्बर पलुस्कर (सन् १८७२–१८३१) जस्ता चर्चित भारतीय सङ्गीतज्ञ भारतको सङ्गीतिक परम्पराको गहिरो अध्ययन गरे । उनीहरूले भारतको विभिन्न भागको भ्रमण गरी आ–आफ्नै ढङ्गले लोकगीतका विभिन्न पक्षको अध्ययन गरे ।

उनीहरूले अध्ययनका क्रममा लोकगीतसँग जोडिएको एउटा रोचक तथ्य फेला पारे । उनीहरूले के पाए भने उच्चघरानाका मानिसहरूले लोकगीतका कलाकारसँग दूरी राख्थे । उनीहरूले आफ्ना छोराछोरीलाई लोकसङ्गीत सिक्न पनि दिँदैनथे ।

यसो हुनुको कारण थियो, तत्कालीन समयमा लोकगीतमा व्यक्त भएका सस्तो मायाप्रेमका प्रसंग र अश्लील गीतहरू । यो कुरा थाहा  पाएपछि ती अध्येताको ध्यान लोकगीतका विकृतिहरू मेट्नतिर केन्द्रित भयो ।

हाम्रा सांस्कृतिक पहिचानको रूपमा रहेको लोकगीतले पनि प्रत्यक्ष वा परोक्ष रूपमा यस्तै नियति भोगिरहेको छ । यस्तै विकृतिहरू मौलाइरहेका छन्, जुन दुःखद विषय हो ।

लोकगीत सार्वजनिक अभिव्यक्तिको माध्यम हो । सार्वजनिक अभिव्यक्तिमा शिष्टता, मर्यादा र विनयशीलता उच्च स्थान पाउनुपर्छ । लोकगीतमा यस्ता तत्वहरूको प्रचुरता रहेमा लोकगीत र सङ्गीत उद्योग दुवैका लागि हितकर हुनेमा द्विविधा छैन ।

[साभार: लोकसंवाद । २०७६ साल जेठ १० गते । परिमार्जित संस्करण ।]

No comments:

Post a Comment