Saturday, October 19, 2019

चिनौँ लोकसाहित्य

-यमबहादुर दुरा

साहित्य, कला र सङ्गीत मानव जीवनलाई रसिलो र भरिलो बनाउने अभौतिक तत्व हुन् । मानव जीवनको यिनको आवश्यकता अन्न–पानीजस्ता जत्तिकै अपरिहार्य छ । साक्षर होस् वा निरक्षर, सबैका लागि साहित्य, कला र सङ्गीत प्रिय विषय हुन् । सबैजना यिनीहरूको वशमा पर्छन् । यिनीहरूको चामत्कारिक उपस्थितिप्रति नतमस्तक हुन्छन् ।

लोकसाहित्य एउटा यस्तै विषय हो । यसमा साहित्य, कला र सङ्गीतका सबै तत्व समाविष्ट छन् । लोकसाहित्य मौखिक साहित्य हो, जुन लिखित वा परिष्कृत साहित्यको पूर्वरूप मानिन्छ । लोकसाहित्यलाई अंग्रेजीमा ‘फोकलोर’ वा ‘फोक लिटरेचर’ भन्ने गरिन्छ । यसलाई नेपालीमा लोकवार्ता पनि भन्ने गरिएको पाइन्छ ।

दुनियाँमा साक्षर परम्पराको विकाससँगै लिखित साहित्यको विकास भएको हो । लिखित साहित्यको आगमन भएको पनि हजारौं वर्ष भइसकेको छ । अहिले लिखित साहित्यको दरिलो उपस्थिति छ । यति हुँदाहुँदै पनि लोकसाहित्यको महत्व र गरिमा हराएको छैन । सुमधुर वाग्धारा र उच्चतम् कल्पनाशीलतालाई लोकसाहित्यको सबल पक्षको रूपमा लिइन्छन् ।

अनलाइन इन्साक्लोपिडिया ‘ब्रिटानिका’ का अनुसार इसापूर्व ४ हजार वर्षअघि सबै साहित्य मौखिक थिए । सोही इन्साक्लोपिडियालाई आधार मान्दा इसापूर्व ४ हजार र ३ हजारबीच इजिप्ट र मेसोपोटामियामा लेख्य परम्पराको विकास भयो । त्यस समयदेखि लिखित साहित्यको उदय भयो  । इजिप्ट र मेसोपोटामियामा शुरु भएको लेख्य परम्परा एशिया, उत्तर अफ्रिका, भूमध्यरेखीय क्षेत्र हुँदै संसारभर फैलियो । यद्यपि, लिखित साहित्य कहिलेदेखि शुरु भयो भन्नेबारे कालक्रमगत मतभिन्नताहरू छन् ।

लोकसाहित्यलाई कसरी परिभाषित गर्ने ? संक्षेपमा भन्ने हो भने एउटा पुस्ताबाट अर्को पुस्तामा मुखैमुख सर्दै आएको मौखिक साहित्यिक परम्परा नै लोकसाहित्य हो । डा. रामनाथ ओझा र मसूधन गिरीद्वारा लिखित पुस्तक ‘लोकसाहित्य, पूर्वआधुनिक नेपाली साहित्य र आधुनिक नेपाली निबन्ध’ नामक पुस्तकमा लोकसाहित्यलाई यसरी परिभाषित गरिएको छ : ‘मानव सभ्यताको इतिहासमा अभिव्यक्तिको प्रथम सोपानका रूपमा जन्मेका जेठो साहित्य नै लोकसाहित्य हो । आदिम अपठित मानवको सहज, स्वाभाविक र अकृत्रिम साहित्य नै लोकसाहित्य हो’ (पृ.१) ।

यसैगरी, डा. मोलीलाल पराजुलीले  आफ्नो कृति ‘सोरठी नृत्यनाटिका सैद्धान्तिक अध्ययन’ मा लोकसाहित्यलाई यसरी अथ्र्‍याउनुभएको छ : ‘लोकजीवनका अस्था, विश्वास, व्यवहार, चिन्तन र अनुभूतिलाई कल्पनाको आवरण दिएर रोमाञ्चक तत्वहरूको मिश्रण गरी लोकसमुदायद्वारा रचना गरिएको मौखिक साहित्य नै लोकसाहित्य हो । लोकसाहित्य समुदायद्वारा रचना गरिन्छ र लोकसमुदायमै प्रचलनमा रहेको हुन्छ’ (पृ.४०) ।

कतै कतै लोकसाहित्य र जनसाहित्य पनि भन्ने गरिएको पाइन्छ । दुवैलाई एउटै अर्थमा लिने गरिएको पाइन्छ । तर, विशेषज्ञहरू यी दुई शब्दमा भिन्नता देख्छन् । यस सन्दर्भमा ‘नेपाली साहित्य र संस्कृतिका केही पाटाहरू’ नामक पुस्तकमा डा. रविलाल अधिकारीको भनाइलाई उध्रृत गर्दै मनोहर लामिछाने लेख्नुहुन्छ : जनसाहित्य र लोकसाहित्यका बीचमा स्पष्ट रेखा खिच्न कठिन भए पनि यति कुरा स्पष्ट भन्न सकिन्छ – जनसाहित्य औधोगिक क्रान्तिबाट उत्पन्न समाजव्यवस्थाका भूमिमा प्रवेश गरेका सामान्य जनको साहित्य हो र यो व्यक्तिविशेषको रचना हो तर लोकसाहित्य जनताका निमित्त जनताद्वारा नै रचित साहित्य हो (पृ.४) ।


लोकसाहित्यका अनेकन् आयाम र पक्षहरू छन्, जुन आफैंमा एउटा विशाल संसार हो । उखान–टुक्का, गाउँखाने कथा, तन्त्रमन्त्र, श्लोक, लोकगीत, लोकपद्य, सवाई, मिथक, लोककथा (आहान), लोकनाटक, लोकगाथा, विश्वास प्रणाली आदि लोकसाहित्यमा पर्छन् । लोकसाहित्यको लोकसंस्कृतिसँग बलियो नाता हुन्छ । लोकसाहित्य र लोकसंस्कृति शरीर जोडिएका सन्तानजस्तै हुन् ।

हेर्दा स्वच्छन्दझैं लागे पनि लोकसाहित्यका आफ्नै किसिमका विधिविधान छन् । उदाहरणका लागि आहान (कथा) सुत्ने बेलामा भनिन्छ, दिनमा भनिँदैन । बेलुकीको खाना खाइसकेपछि अगेनाको वरिपरि भेला भइन्छ । सामान्यतया घरका बृद्ध व्यक्तिले आहान भन्ने गर्छन् । दिनमा आहान भन्न हुँदैन भन्ने मान्यता छ । जानकारहरूका अनुसार यस मान्यतामा लुकेको रहस्य के हो भने दिनमा आहान भनिदिँदा मानिसले कामकाज छाडेर आहान सुन्न थाल्छन् । यसबाट कामकाजमा बाधा पुग्छ । यही मान्यता अनुुुुसार दिनमा आहान भन्न हुँदैन भनिएको हो ।

लोकसाहित्यका अरू पनि यस्ता अलिखित विधिविधान छन् ।  कतिपय मन्त्र वा श्लोक निश्चित समयमा मात्र उच्चारण गरिन्छ । दुवाली छेक्ने बेलामा उच्चारण गरिने श्लोक अरू बेला भनिँदैन । कुनै गीत निश्चित ऋतुमा मात्र गाइन्छ । मालसिरी गीत दशैंँमा मात्र गाइन्छ । मूलतः गण्डकी भेगमा प्रचलित सती घाटु वैशाख कृष्णपक्षदेखि शुक्लपक्षको अवधिमा मात्र नचाइन्छ ।

लोकसाहित्य मूलतः अपठितहरूको साहित्य हो । यसो भन्दैमा यसका विषयवस्तु सामान्य र हल्काफुल्का भन्ने कदापि होइन । लोकसाहित्यमा अभिव्यक्त जीवन–दर्शन, लोकभावना र मर्महरू भयानक गहिरा र गहन् हुन्छन् । यसमा सत्यम्, शिवम्, सुन्दरम् छचल्किएका हुन्छन्, जसप्रति पठित र सुसंस्कृत भनिएका मानिसहरू पनि चकित हुन्छन् ।

 यिनै गहतम् पक्षको रहस्योद्घाटनका लागि कहलिएका विद्वानहरूले लोकसाहित्य अध्ययनको विशाल फाँटको विचरणमा सिङ्गो जीवन अर्पिएका हुन्छन् । तर पनि उनीहरूले लोकसाहित्यको पूरापुर विचरण गर्न भ्याएका हुँदैनन् । यो गहन र व्यापक विषय हो ।

लोकसाहित्य ज्ञान र विवेकको भण्डार हो, जसले बालबालिकाको शिक्षादीक्षामा रचनात्मक भूमिका खेल्छ । यसले बालबालिकामा विद्यमान कल्पनाशीलताको दायरा अझ फराकिलो पारिदिन्छ । मानिस जति कल्पनाशील हुन्छ, त्यति नै नयाँ नयाँ विषयवस्तुको खोजअनुसन्धान गर्ने र आविष्कार गर्ने काम गर्छ । बालबालिकामा कल्पनाशीलता विकास हुँदा उसले जीवनमा धेरै प्रगति गर्न सक्छ ।

दन्त्यकथाले बालबालिकालाई नैतिक र आध्यात्मिक चेतना दिन्छ । यसले बौद्धिकस्तर उकास्न पनि सहयोग गर्छ । यहाँनेर, सापेक्षतावाद सिद्धान्तका प्रतिपादक विख्यात भौतिकशास्त्री अल्वर्ट आइन्सटाइनको भनाइ सान्दर्भिक हुन आउँछ । उनले एक प्रसंगमा भनेका छन्, ‘यदि तिमी तिम्रो बच्चालाई बुद्धिमान बनाउन चाहन्छौ भने उनलाई परीकथा पढ्न देऊ । उनलाई अझ बुद्धिमान बनाउन चाहन्छौ भने अझ बढी परिकथा पढ्न देऊ ।’

लोकसाहित्यले बालबालिकालाई कल्पनाशील बन्नमात्र सघाउँदैन, मौलिक संस्कृतिसँग परिचित पनि बनाउँछ । केटाकेटीले बाजे–बज्यैको काखमा बसेर लोकजीवनसँग गाँसिएका पुराना प्रसंग सुन्न पाउँदा उनीहरू लोकसाहित्य र लोसंस्कृतिका आयामहरूसँग परिचित हुन्छन् । नयाँ पुस्ताले यस्ता कुरा सुन्न पाउनु भनेको लोकसाहित्य र लोसंस्कृतिले प्रत्यक्ष वा परोक्ष रूपमा निरन्तरता पाउनु पनि हो ।

बाजेबज्यैको काखमा बसेर केटाकेटीले रसिला र तिलस्मी प्रकृतिका कथा सुन्ने परम्परा पनि लोकसाहित्यकै अभिन्न हिस्सा हो । तर, अहिले टेलिभिजन र यु ट्युबमा आउने कार्टुन र अन्य मनोरञ्नात्मक कार्यक्रमले बाजेबाजैको काखबाट नातिनातिनालाई खोसिसकेको छ । यससँगै परम्परागत शैलीमा कथा भन्ने र सुन्ने परम्परा लगभग अन्त्य भइसकेको छ ।

लोकसाहित्यमा बालसाहित्यको तत्व पर्याप्त भेटिन्छन् । ‘आउ निदरी आउ...’ जस्ता लोरी तथा बालबालिका लक्षित अनेकन् प्रेरणदायी आहानलाई ज्वलन्त दृष्टान्तको रूपमा लिन सकिन्छ । अर्कोतिर, लोकसाहित्य लिखित साहित्यको माउ हो । लिखित साहित्य लोकसाहित्यबाट धेरै हदसम्म प्रभावित छन् । साहित्यिक बजारमा भेटिने थुप्रै कृति लोकसाहित्यबाट प्रेरित छन्, जसका विवरण निकै लामो छ ।

इतिहासशिरोमणि बाबुराम आचार्यको भनाइमा काठमाडौंको काँठमा रोपाइँमा रसिया गीतमा जुवारी खेल्ने ठिटाठिटीहरू नै मोतीरामका काव्यगुरु हुन्। यिनको लोकगीत सुनेपछि नै नेपाली भाषामा राम्रा गजल लेख्न सकिन्छ भन्ने चेत मोतीरामलाई खुलेको बुझिन्छ (पदमसिंह कार्की, नेपाली साहित्यका ज्योति, अन्नपूर्ण पोष्ट, भदौ १४, २०७६) ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनमदन’ लोकलयमा आधरित छ ।  साङ्गीतिक बजारमा हिट भएका कतिपय आधुनिक तथा पप गीत पनि लोकगीतबाट प्रभावित छ । हामीले अनुभूत गर्न सक्ने हो भने आधुनिक युगमा पनि लोकसाहित्यको पर्याप्त प्रभाव पाइन्छ ।

नेपालमा लोकसाहित्यप्रतिको सचेतना कमजोर लेखिन्छ । पश्चिमी गोलार्द्धमा लोकसाहित्यप्रतिको सचेतना उच्च छ । त्यहाँ लोकसाहित्यले उच्च सम्मान पाएको छ । युरोपमा लोकसाहित्यको सङ्कलन, अन्वेषण तथा अध्ययनको परम्परा दुई सय वर्षभन्दा पुरानो देखिन्छ । त्यहाँ लोकसाहित्यसम्बन्धी अनेकन् शोधग्रन्थ तथा श्रव्यदृश्य सामग्री भेटिन्छन् ।

नेपालमा लोकसाहित्यको खोज–अनुसन्धानको इतिहास त्यति लामो देखिँदैन । यसको समयरेखा किटेरै भन्न नसकिए पनि केहीले २००७ सालको राजनीतिक परिवर्तनपछि लोकसाहित्यको खोज–अध्ययन शुरु भएको पाइन्छ । तर, धेरैजसो अध्ययनचाहिँ नेपालमा विश्वविद्यालय खुलेपछि शुरु भएको देखिन्छ । अहिले कतिपय विश्वविद्यालय पूर्ण वा आंशिक पेपरको रूपमा लोकसाहित्यको अध्ययन भएका छन् । सगम्रमा भन्दा नेपालमा लोकसाहित्य अत्यन्तै कम दिलचस्पी भएको विषयको रूपमा देखापरेको छ, जुन विडम्बनाको विषय हो ।

सत्यमोहन जोशी, चूडामणि बन्धु, हंसपुरे सुवेदी, धर्मराज थापा, पूर्णप्रकाश नेपाल ‘यात्री’, तुलसी दिवस, कालीभक्त पन्त, देवीप्रसाद वनवासी, रत्नाकर देवकोटा, जीवेन्द्रदेव गिरी, कृष्णप्रसाद पराजुली, डा. मोतीलाल पराजुली, डा. रविलाल अधिकारी, डा. शम्भुप्रसाद कोइराला आदिले नेपाली लोकसाहित्यको फाँटमा अतुलनीय योगदान दिनुभएको छ ।

भारतमा पण्डित रामनरेश त्रिपाठी, राहुल सांकृत्यायन, देवेन्द्र सत्यार्थी, सत्येन्द्र, कृष्णदेव उपाध्याय, पीयुष दहिया, एके रामानुजन, विजयदान देथा, सत्यव्रत सिंह, आशुतोष भट्टाचार्यजस्ता विद्वानहरूले लोकसाहित्यको खोजअनुसन्धान गहकिलो योगदान दिएको छन् ।

विश्वमा लोकसाहित्यसम्बन्धी अनेकन् संस्थाहरू छन् । जस्तै : इन्टरनेसनल काउन्सिल अफ अर्गानाइजेसन्स् अफ फोकलोर फेस्टिभल्स् एण्ड आर्टस्, द फोरलोर सोसाइटी (बेलायत), अमेरिकन फोरलोर सोसाइटी आदि । भारतमा पनि लोकसाहित्यसम्बन्धी धेरै संस्था छन् । उदाहरणका लागि भारतीय लोककला मण्डल (उदयपुर), नेसनल फोकलोर सपोर्ट सेन्टर (चेन्नई), मैथिली लोकसाहित्य परिषद (कोलकता), लोकरंग सांस्कृतिक समिति (रायगढ), पश्चिम बंगगण सांस्कृतिक परिषद कोलकता) आदि भारत स्थापित लोकसाहित्यसम्बन्धी संस्था हुन् । नेपालमा पनि लोकवार्ता तथा संस्कृति समाज, नेपाल फोकलोर सोसाइटी जस्ता संस्था अस्तित्वमा छन् ।

हरेक वर्षको अगष्ट २२ तारिखमा विश्व लोकसाहित्य दिवस मनाइन्छ । सन् १८४६ देखि नै लोकसाहित्य दिवस मनाइएको पाइन्छ तर नेपालमा भने यो दिवस राष्ट्रियस्तरमा मनाइएको पाइँदैन । नेपालमा पनि लोकसाहित्य दिवस मनाइनुपर्छ । परम्परागत भेषभूषामा उपस्थित भएर लोकसाहित्यसम्बन्धी विविध गतिविधिमा सहभागी गरिनुपर्छ ।

यस्ता गतिविधिमा नयाँ पुस्तालाई सक्दो सहभागी गराउनुपर्छ यसो गर्न सके लोकसाहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुग्छ । लोकसाहित्यलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।  यसमा राज्य र नागरिक दुवैको ध्यान जान आवश्यक छ ।

लोकसाहित्यमा हाम्रो भाषा, परम्परागत ज्ञान, बौद्धिक परम्परा, जीवन–दर्शन, इतिहास र जीवनशैलीका तमाम आयाम र पाटाहरू समेटिन्छन्, जसमा लोकजीवन र लोकसंस्कृतिको ढुकढुकी  भेटिन्छन् । यिनीहरू हाम्रा चिनारी हुन्, जुन हाम्रो अस्तित्वसँग जोडिएको हुन्छ । यस्ता चीजलाई बेलैमा नजोगाउँदा भविष्यमा हामीसँग पछुतोबाहेक केही बाँकी रहँदैन । त्यसैले लोकसाहित्यको समयोचित संरक्षण र सम्वर्द्धन आवश्यक छ ।

[साभार: युवामञ्च । कात्तिक, २०७६ ]

No comments:

Post a Comment