Saturday, October 26, 2019

जनकपुर डायरी : ‘रामायण सर्किट’ देखि सांस्कृतिक सम्पदासम्म

-यमबहादुर दुरा

जनकपुरधाम — प्रस्तावित ‘रामायण सर्किट’ ले जोडिएको नेपालको गौरवयोग्य धार्मिक स्थल । रहस्यले भरिएको आध्यात्मिक पर्यटन केन्द्र । पुरातात्विक महत्वले भरिपूर्ण गन्तव्य । प्रदेश नं. २ को अस्थायी राजधानी ।

यस्ता थुप्रै सुन्दर विशेषताले भरिपूर्ण शहर जनकपुरधामको भ्रमण गर्ने अवसर जुरेको थियो, असोज महिना निख्रिँदै गर्दा । आध्यात्मिक ग्रन्थ ‘रामायण’ वर्णित थुप्रै प्रसंगहरूको साक्षी बन्न पाइने यो थलो आध्यात्मिक, पौराणिक तथा पुरातात्विक दृष्टिले अर्थपूर्ण छ । हस्तरेखाझैं  फैलिएका यहाँका अनगिन्ती गन्तव्य र तिनले बुनेका पौराणिक कथाले हरेक जिज्ञासु मनलाई उद्धेलित तुल्याउँछ ।

प्रसिद्ध जानकी मन्दिर, सुन्दर तलाउ, कुटीजस्ता सांस्कृतिक सम्पदामा आँखा डुलाउँदा गौरवानुभूति हुन्छ । सँगसँगै प्राचीन वैभवबारे अनेकन् जिज्ञासा मनमा तँछाडमछाड आउँछन् । गङ्गासागरमा हुने सन्ध्याकालीन आरतीले त मनमा शान्ति र सकारात्मक सोचका तरङगहरू ल्याउँछन् ।

यति हुँदाहुँदै पनि कतिपय कुराले मनलाई नमीठो पाररै छाड्छ । जस्तै : यहाँका सडक अव्यवस्थित देखिन्छन् । कतिपय सडक पूर्ववत रूपमा साँगुरा छन् । ठाउँ ठाउँमा सडक विस्तार योजना अघि बढेको देखिन्छ । कतिपय सडक विस्तारको अलपत्र अवस्थामा छन् । सडक छेउछाउमा फोहरका डङ्गुर भेटिन्छन् । ल्याण्डफिल साइटको अभावमा यस्तो अवस्था आएको स्थानीय भुक्तभोगीहरूको भनाइ छ ।

जनकपुरधाम पोखरीका दृष्टिले पनि चर्चित छ । त्यहाँका पोखरीको अवस्था पनि नाजुक छ । ऐतिहासिक अभिलेखहरूमा वर्णन भए अनुसार जनकपुरमा ऐतिहासिक तथा पौराणिक महत्वका ७२ वटा पोखरी छन् । बिहार कुण्ड, अग्नि कुण्ड, रत्नसागर, सूर्य कुण्ड, गङ्गासागर, धनुषसागर, दशरथ तलाउ, परशुराम कुण्ड, जनक सरोवर आदि जनकपुरधाममा रहेका पोखरी हुन् ।

गंगासागरलगायत केही पोखरीको सरसफाइ र जीर्णोद्धार गरिए पनि केही पोखरी फोहर फाल्ने थलो बनेको पाइन्छ । कतिपय साना पोखरीमा पुरिएर निजी घर ठडिएका प्रसंग जनकपुरधामवासीहरू सुनाउँछन् । यो क्रम बढ्दो रहेको उनीहरूको बुझाइ छ । माछा उत्पादनको स्रोत, जलवायुको अनुकूलन एवम् मनोविनोदमा महत्वपूर्ण भूमिका खेल्ने यस्ता पोखरीहरूको खोजी, सरसफाइ र जीर्णोद्धार त्यहाँको ‘टप अजेण्डा’ मा पर्नैपर्छ ।

नेपाल र भारतबीच विद्यमान भूराजीतिक अवस्था तथा सांस्कृतिक सम्बन्धबाट सिर्जित परिस्थिति जनकपुरको अर्को अजेण्डा हो । नेपाली न्यारेटिभमा जनकपुर सीताको जन्मथलो हो तर छिमेकी मुलुक भारतको न्यारेटिभमा बिहारको सीतामडी सीताको जन्मथलो हो । लामो कालखण्डा पार गरिसकेको बृहत मिथिला सभ्यतामा पौराणिक प्रसंगहरू के कसरी छिरल्लिएका छन्, यकिन गर्न गाह्रो छ ।

जसले जे भने पनि मार्केटिङको जमाना हो । वास्तविकता जे भए पनि मार्केटिङले कुरा फरक पार्छ । भारतले बिहारको सीतामडीलाई सीताको जन्मस्थानको रूपमा प्रचार–पसार गरिरहेको छ । नेपालले जनकपुरलाई साँचो अर्थमा चम्काउन चाहेको हो भने भारतीय न्यारेटिभलाई प्रतिवाद गर्ने गरी रणनीति अघि सार्नुपर्छ ।

नेपालले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थान मानिरहेकै बेला भारतले आफ्नो भूमिलाई गौतम बुद्धको जन्मस्थान भनेर प्रचार गरिरहेको तथ्य छिपेको छैन । यसबारे सङ्घीय सरकार र प्रदेश सरकारले केही सोचेकै होलान् । यहाँनेर कसको मार्केटिङले जित्ने भन्ने कुरा महत्वपूर्ण छ ।

यही मेहरोमा ‘रामायण सर्किट’ को प्रसंग उठाउनु पनि सान्दर्भिक हुन आउँछ । २०७५ साल वैशाख २५ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्त रूपमा उदघाटन भएको ‘रामायण सर्किट’ कहाँ पुग्यो ? जनकपुरको आध्यात्मिक पर्यटन चम्काउन यस किसिमको अवधारणाले राम्रो भूमिका खेल्छ । तर, यसको प्रगतिबारे प्रेसले निरन्तर खोजखबर गर्न आवश्यक देखिन्छ ।

त्रेता युगमा राम र सीताले यात्रा गरेको रुटलाई ‘रामायण सर्किट’ भन्ने गरिएको छ । स्थानीय अखबार ‘जनकपुर टुडे’ का अनुसार ६ सय ५० किलोमिटर लामो यस सर्किटले भारतको उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर, चित्रकुट, नेपालको जनकपुर, बिहारको सीतामढी, बक्सर र दरभङ्गा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलङ्गानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई जोडछ ।

जनकपुरको माछा नेपालमै प्रख्यात छ । त्यहाँ स्वादिष्ट माछा पाइन्छन् भन्ने भनाइ छ । तर, रैथाने  प्रकृतिका स्वादिष्ट माछा जनकपुरमै अभाव रहेको स्थानीयहरूको भनाइ छ । त्यहाँका तलाउ र जलस्रोतको बढ्दो अतिक्रमण र प्रदूषणले यस्तो अवस्था आएको देखिन्छ ।

जनकपुरधाममा रहँदा सङ्घीय राजधानीका र तराईका मिडियाको 'टोन' मा फरकपन भेटियो । राजधानीका मिडिया र तराई मिडियामा भारतलाई हेर्ने दृष्टिकोणमा भिन्नता पाइयो । राजधानीका मिडियाले तराईमा हरेक वर्ष हुने डुबानमा भारतलाई जिम्मेवार देख्छ । तर, तराईका कतिपय पत्रकार सीधै भारतलाई दोष दिने पक्षमा छैनन् । तराईमा कार्यरत कतिपय पत्रकारका दृष्टिमा राजधानीका मिडियाले तराइको वास्तविकता नबुझेकाले भारतलाई बढी दोष दिएका हुन् ।

एउटा संयोग के पर्‍यो भने त्यही समयमा मधेशमा आयोजित नेपाल–भारत मैत्री संघको एक कार्यक्रममा एकजना भारतीय सांसदले नेपाली समुदायले नेपालमा हुने डुबानमा भारत जिम्मेवार ठान्ने गरेको र भारतीयमा भारतमा हुने बाढीमा नेपाल जिम्मेवार रहेको परस्पर विरोधाभाषपूर्ण बुझाइ रहेको विचार व्यक्त गरेको समाचार स्थानीय अखबारमा छापिएको थियो । ती सांसदले यी दुवैथरी बुझाइलाई सच्याएर नेपाल र भारतले एकअर्काको साझा समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

पृष्ठभूमिमा यति धेरै तर्क–वितर्क चल्दाचल्दै पनि नेपालतर्फ हुने डुबानमा नेपाल नै जिम्मेवार छ भन्ने दलिलमा सहमति जनाउने ठाउँ देखिँदैन । सीमावर्ती क्षेत्रमा भारतद्वारा एकपक्षीय रूपमा निर्मित बाँध र सडकलाई हेर्दा नेपालतिर आक्षेपको सुई सोझ्याउनु तर्कसंगत देखिँदैन  ।

सङ्घीय नेपालमा भाषिक मामिलाले बेलाबखतमा स्थान पाउँछ । गएको जेठमा प्रदेश नं. २ मा भाषिक मामिला चर्किएको थियो । प्रदेश सरकारले हिन्दीलाई सम्पर्क भाषा बनाउने प्रस्ताव ल्याएपछि त्यहाँ हङ्गमा मच्चिएको थियो । यहाँनेर मुख्यमन्त्री लालबाबु राउतको प्रसंग पनि जोडिन्छ । उहाँको हिन्दीमोहलाई धेरै आश्चर्यको दृष्टिले हेर्छन् । उहाँको मातृभाषा भोजपुरी हो । तर, भोजपुरीप्रति उहाँको मोह देखिँदैन ।

त्यहाँका भाषिक परिदृश्यलाई हेर्दा पनि हिन्दी अग्रस्थानमा आउँदैन । आँकडालाई नियाल्ने हो भने  प्रदेश नं. २ मा मैथिली, भोजपुरी, बज्जिका र नेपाली क्रमशः ४५.३० प्रतिशत, १८.५८ प्रतिशत, १४.७ र ६.६७ प्रतिशत नागरिकले बोल्छन् । समग्रमा भन्दा मैथिली र भोजपुरी नै त्यहाँका मूल भाषा हुन् । भोजपुरी र मैथिली भाषीले एक अर्काले बुझ्ने भएकाले हिन्दीलाई सम्पर्क भाषा बनाउनुको तुक नरहेको विपक्षी दलको तर्क थियो । भाषिक मामिलालाई कसरी सल्टाउने भन्नेबारे जिम्मेवारीपूर्ण सुझबुझ आवश्यक छ ।

प्रदेश नं. २ मा सत्तापक्ष र प्रतिपक्षबीचको ‘केमिस्ट्री’ पनि रोचक नै देखिन्छ । जनकपुरधाममा भेटिएका पत्रकारहरूका अवलोकनमा त्यहाँ सत्तापक्ष र प्रतिपक्षबीच एकअर्कामा वैरभाव छैन । प्रदेशको चौतर्फी विकासका लागि यस्तो ‘केमिस्ट्री’ बनेको हो भने त्यो उदाहरणीय मित्रता हो । अरू विषयमा मिलभगत र एकता हो भने कुरा अर्कै हो ।

यी तमाम विषयका अतिरिक्त जनकपुरको ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धन एकदमै महत्वपूर्ण सवाल हो । जनकपुरलाई घच्चीको आध्यात्मिक केन्द्र बनाउन सकेमा सबैको हित हुने कुरा निर्विवाद छ । जनकपुरलाई चम्काउन सकेमा सङ्घीय सरकार र प्रदेश सरकारको शिर ठाडो हुन्छ । अनि हामी सबै गौरवभागी हुन्छौँ नै ।

साभार : लोकसंवाद । २०७६ साल कात्तिक ८ गते ।

No comments:

Post a Comment