Wednesday, February 19, 2020

परम्परागत ज्ञानको दायरा

–यमबहादुर दुरा

‘अहिलेको सागमा न वास्ना छ, न त स्वाद छ । घिरौंलाको हालत पनि त्यस्तै छ - न वास्ना, न त स्वाद नै । पहिले पहिले घरमा साग पाकेको बाटोबाटै थाहा हुन्थ्यो । धारामा साग धुँदा रागले आँखा पोल्थ्यो । आजकल पुरानो वास्ना र स्वाद बाँकी नै छैन । के भएको यस्तो ?’ पुराना पुस्ताका मानिसबाट यस्ता टीका टिप्पणी बेलाबेला बखतमा सुनिन्छन् ।

साँच्चै, हिजोको स्वादिष्ट सागसब्जीको सुस्वादुपन कसले खोस्यो ? हाम्रो मनमा प्रश्न उब्जिन्छ । यसको सीधा गणित हाम्रो फेरिँदो जीवनशैली र अन्धाधुन्ध आधुनिकीकरणसँग जोडिएको छ । हामीले विकासको नाममा लहजबाजीका पछि लाग्यौँ । परम्परागत ज्ञानलाई त्याग्यौँ । रैथाने बीजबिजनलाई हेँला गर्‍यौँ। त्यसको ठाउँमा आधुनिक वर्णशंकर (हाइब्रिज) बीउबिजन ल्यायौँ । त्यसबाट पर्ने असरबारे ख्याल गरेनौँ । हाइब्रिज बीउबिजनबाट उत्पादित सागसब्जी हेर्दा सर्लक्क परेको देखिए पनि त्यसमा भनेजस्तो स्वाद छैन ।
ग्राफिक्स : गुगल

अहिले आएर हामीलाई रैथाने बीजबिजनको महत्वबोध भएको छ । तर, ती रैथाने बीजबिजन हामीबाट धेरै पर पुगिसकेका छन् । अब खोजेर पनि पाइने अवस्थामा छैन । सागसब्जीको कुरामात्र होइन, जनजीवनका अन्य आयाम आधुनिकताको अन्धानुकरणबाट संक्रमित हुन पुगेको छ ।

परम्परागत ज्ञानलाई नचिन्दा र त्यसलाई सम्मान गर्न नजान्दा रैथाने सागसब्जी हराए । अहिले हामीले चीज त पाएका छौँ तर त्यसको स्वाद र पोषण तत्व गुमाएका छौँ । परम्परागत ज्ञान, सीप र प्रविधिको कदर गर्न नजान्दा हामीले महत्वपूर्ण चीज गुमाएका छौँ र यो क्रम जारी छ ।

यस्ता प्रसंगले हामीलाई परम्परागत ज्ञानको महत्व सम्झनलाई बाध्य तुल्याएको छ । त्यसो भए के हो, परम्परागत ज्ञान ? यसले विभिन्न किसिमले परिभाषित गर्न सकिन्छ । ‘जैविक विविधतासम्बन्धी अभिसन्धि’ को सचिवालयद्वारा सञ्चालित वेबसाइटमा परम्परागत ज्ञानको परिभाषा दिएको छ । त्यस परिभाषाको भावानुवाद यसप्रकार छ :

‘विश्वभरका स्थानीय समुदायको ज्ञान, नयाँ आविष्कार, अभ्यास आदिलाई परम्परागत ज्ञान भनिन्छ । शताब्दीऔं अघिदेखिको अभ्यास र अनुभवबाट परम्परागत ज्ञान निर्माण हुन्छ, जुन मूलतः मौखिक रूपमा एका पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । परम्परागत ज्ञानको स्वामित्व सामूहिक प्रकृतिको हुन्छ । परम्परागत ज्ञान  कथा, उखान–टुक्का, सांस्कृतिक मूल्य–मान्यता, विश्वास प्रणाली, रीतभाँत, प्रथाजनित कानुन, स्थानीय भाषा, कृषि कार्य, विरुवा रोप्ने–हुर्काउने विधि र घरेलु जनवारको प्रजननसँग सम्बन्धित प्रणालीमा रहन्छ । यसमा हजारौं वर्षदेखिका अभ्यास कामय रहन्छन् । परम्परागत ज्ञान कृषि, माछा पालन, स्वास्थ्य, बगैँचा तथा वन व्यवस्थापन, वातावरण संरक्षणजस्ता विषयसँग सम्बन्धित व्यावहारिक ज्ञान हुन् ।’

परम्परागत ज्ञान युगौंको प्रयोग, अनुभव र परीक्षणमा आधारित हुन्छ । एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको परम्परागतको इतिहास लामो हुन्छ । समयको कसीमा खरो उत्रिएकाले यसको उपयोगिताको दायरा पनि निकै व्यापक हुन्छ । परम्परागत ज्ञान सांस्कृतिक दृष्टिले समृद्ध र वातावरणीय दृष्टिले हितकर मानिन्छ । यसको महत्व अपरिमित छ ।

अहिले केमिकलयुक्त ‘प्रसेस्ड फुड’ ले मानव स्वाथ्यमा पारेको असरबारे चर्चा छ । खेतीपातीमा प्रयोग हुने कीटनाशकले मानव स्वास्थ, समग्र चराचर र वातावरणमा नकारात्मक असर परेकोमा सचेत विश्व समुदाय चिन्तित छ । आधुनिक जीवनशैलीले निम्त्याएको नकारात्मक असरले परम्परागत ज्ञानको महत्व बढाएको छ । अहिले यसको महत्व बढेर गएको छ ।

ग्रामीण भेग वा वन क्षेत्रमा बसोबास गर्ने समुदायका लागि मात्र होइन, आधुनिक उद्योग तथा परिमार्जित कृषि प्रणालीमा पनि परम्परागत ज्ञानको महत्व उत्तिकै उच्च छ । दीगो विकास, जमिन व्यवस्थापन, मेडिकल रिसर्च, जैविक विविधता संरक्षण, प्राकृतिक स्रोत–साधनको व्यवस्थापनजस्ता विषयमा पनि परम्परागत ज्ञानको खाँचो महसूस गर्न थालिएको छ । यतिमात्र होइन, जलवायु परिवर्तनले निम्त्याएका जटिल समस्यासँग जुध्नका लागि पनि परम्परागत ज्ञानलाई एउटा भरपर्दो उपायको रूपमा लिन थालिएको छ ।

संयुक्त राष्ट्रसङ्घले पनि परम्परागत ज्ञानलाई स्थान दिएको छ । आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, २००७ को धारा ३१ ले आदिवासी जनजातिहरूको परम्परागत ज्ञान संरक्षणलाई जोड दिएको छ । ‘जैविक विविधतासम्बन्धी अभिसन्धि, १९९३ को धारा ८ ले आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञानसँगको घनिष्ट नातालाई सम्मान गरेको छ । साथै, परम्परागत ज्ञानले जैविक विविधता जोगाउनका लागि दिएको योगदानलाई कदर गरेको छ ।

अनुवांशिक संशाधन संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि ‘नागोया प्रोटोकल, २०१४’ ले परम्परागत ज्ञानलाई उच्च स्थान दिएको छ । विश्व बौद्धिक सम्पत्ति संगठनले पनि परम्परागत ज्ञानलाई महत्व दिएको छ । संगठनको महासभाले सन् २००५ मा स्वेच्छिक कोष स्थापना गर्ने निर्णय गर्‍यो । यस अन्तर्गत परम्परागत ज्ञान र लोकसाहित्यलाई संरक्षण गतिविधि सञ्चालन भएका छन् । अहिले दीगो विकासका तमाम मामिलासँग परम्परागत ज्ञान जोडिन थालेका छन् ।

विश्वका सानो बौद्धिक जमातले परम्परागतलाई उच्च स्थान दिए पनि यसको अवस्था सन्तोषजनक छैन । परम्परागत अप्रकाशित ज्ञान अप्रकाशित अवस्थामा छ । यसबारे जनचेतनाको स्तर कमजोर छ । परम्परागत ज्ञान संरक्षणको इतिहास कमजोर छ । पुराना पुस्ताबाट नयाँ पुस्तामा ज्ञान हस्तान्तरण हुन सकेको छैन । परिणामस्वरूप कतिपय परम्परागत ज्ञान हराइसकेका छन् । भएका पनि  हराउने क्रममा छ । पश्चिमा विज्ञानका अगाडि ‘इथ्नोसाइन्स’ र परम्परागत ज्ञान फिकाझैं देखिएको छ ।

परम्परागत ज्ञानको कुरा गर्दा हामी पुरानो जमानातिर फर्कनुपर्छ भन्ने अर्थ लाग्न सक्छ । कुरा त्यसो होइन । परम्परागत ज्ञान कुनै बेग्लै ज्ञानपिण्ड होइन । यो पनि एउटा गतिशील ज्ञानपिण्ड नै हो । परम्परागत ज्ञानमा पनि परिमार्जन हुन सक्छ, जसमा आवश्यकता अनुसार आधुनिक ज्ञानपद्धतिलाई समेट्न सकिन्छ । कतिपय अवस्थामा परम्परागत ज्ञान र आधुनिक ज्ञानलाई सँगै अघि बढाउन सकिन्छ ।

दीगो र वातावरणमैत्री विकासका लागि परम्परागत ज्ञान अपरिहार्य छ । यसलाई पाठ्यक्रममा समावेश गरेर नयाँ पुस्तालाई यसबारे सचेत र जानकार बनाउन आवश्यक छ । परम्परागत ज्ञान संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्न आवश्यक छ । परम्परागत ज्ञानलाई संरक्षण–सम्वर्धन गर्न र यसबाट फाइदा लिन सरकार र स्थानीय समुदायको साझा प्रयास अत्यावश्यक छ  ।

[संवाद नेपाल । २०७६ साल फागुन ७ गते ।]

No comments:

Post a Comment