Friday, February 21, 2020

परम्परागत ज्ञानको पहिचान

–यमबहादुर दुरा

आधुनिक समाजले प्रगतिका तमाम फेहरिस्त पेश गरिरहेकै बेलामा मानव स्वास्थ्य स्वास्थ्यमा एकपछि अर्को गरी गम्भीर समस्या देखा पर्न थालेका छन् । यस्ता स्वास्थ्यसम्बन्धी समस्या आधुनिक जीवनशैलीसँग गाँसिएका छन् । सँगसँगै वातावरणीय समस्या पनि चुनौतीको पहाड भनेर उभिइरहेको छ । यो चुनौती पनि आधुनिक जीवनशैलीकै उपज हो ।
ग्राफिक्स गुगल

यस्ता भयानक समस्याका अगाडि विश्व समुदाय एक किसिमले निरीहझैं  देखिएको छ । कतिपय विज्ञले यी गम्भीर समस्या समाधानको उपाय परम्परागत ज्ञानमा रहेको विश्वास गर्छन् । यतिबेला धेरै विज्ञले परम्परागत ज्ञानको महत्व बोध गर्न थालेका छन् । अहिले परम्परागत ज्ञान दीनहीन अवस्थामा छ । यसलाई स्थानीय ज्ञान वा सामुदायिक ज्ञान पनि भनिन्छ । ती विज्ञले परम्परागत ज्ञानलाई मानव स्वास्थ्य र वातावरणमा आएका गम्भीर समस्यासँग जुध्ने उपायको रूपमा चित्रण गर्न थालेका छन् ।

विश्व बौद्धिक सम्पत्ति  सङ्गठन (विपो) ले परम्परागत ज्ञानलाई यसरी परिभाषित गरेको छ, ‘ज्ञान, व्यावहारिक ज्ञान, सीप र अभ्यास नै परम्परागत ज्ञान हो, जुन समुदायभित्र विकसित–सम्वर्द्धित  हुँदै एउटा पुस्ताबाट अर्को पुस्ता हस्तान्तरित हुँदै आएको छ । यसले मानिसको संस्कृति र आध्यात्मिक पहिचान पनि निर्माण गर्छ ।’
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार विश्वभरका आदिवासी जनजाति र स्थानीय समुदायले प्रयोगमा ल्याएका ज्ञान, नयाँ कार्य र व्यवहार नै परम्परागत ज्ञान हो । परम्परागत ज्ञान शताब्दीऔ लामो अनुभवबाट निर्मित हुन्छ, जसलाई स्थानीय संस्कृति र परिवेशले आत्मासात गर्छ । यो एउटा पुस्ताबाट अर्को पुस्तामा मौखिक रूपमा सर्छ । यस अन्तर्गत कथा, गीत, लोकसाहित्य, उखान, सांस्कृतिक मान्यता, विश्वास, सामुदायिक कानुन, स्थानीय भाषा तथा कृषिसम्बन्धी अभ्यासहरू पर्छन् । यसमा बोट–विरुवा हुर्काउने विधि तथा पशु व्यवस्थापन पनि पर्छन् । परम्परागत ज्ञान व्यावहारिक प्रकृतिको हुन्छ, जसमा माछापालन, स्वास्थ्य, बगैचा, वन तथा वातारवरण व्यवस्थापनलगायतका ज्ञान पर्छन् ।

पुस्तौं पुस्ताको अनुभवबाट खारिएर आएको हुनाले यसलाई स्वास्थ्यमैत्री र वातावरणमैत्री ज्ञान मानिएको छ । औषधि विज्ञान, खाद्यसुरक्षा, बीउ रक्षा, वन–वातावरण संरक्षणलगायत प्राकृतिक संशाधन व्यवस्थापनजस्ता मानव जीवन र प्रकृतिसँग जोडिएका तमाम विषयमा परम्परागत ज्ञान उपयोगी मानिएको छ ।

विश्वमा देखापरेको वातावरणीय समस्याको पृष्ठभूमिमा परम्परागत ज्ञानको महत्व झल्कन पुगेको देखिन्छ । परम्परागत ज्ञानको अस्तित्वलाई पहिचान गर्ने दिशाको औपचारिक पाइला सन् १९८० को दशकदेखि शुरु भएको देखिन्छ ।

सन् १९८३ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले वातावरणीय समस्यालाई पहिचान गरी प्रस्ताव नं. ३८/१६१ पारित गर्‍यो । सोही वर्ष नर्वेजिय राजनीतिज्ञ ग्रु हार्मेल ब्रुंडल्याण्डको नेतृत्वमा ‘वातावरण र विकासका लागि विश्व आयोग’ गठन भयो ।

पछि आएर आएर त्यो आयोग ब्रुंडल्याण्ड कमिसन  नामबाट परिचित हुन पुग्यो  । विश्वको बिग्रँदो वातावरणीय समस्याबाट आदिवासी जनजातिलगायत स्थानीय समुदायमा परेको आर्थिक तथा सामाजिक अध्ययन गर्नु नै त्यस कमिसनको काम थियो ।

आदिवासी जनजातिलगायत स्थानीय समुदायको सामूहिक मानव अधिकार, स्थानीय अधिकार र आकाङ्क्षालाई स्वीकार गर्दै ब्रुंडल्याण्ड कमिसनले सन् १९८७ मा ‘हाम्रो साझा भविष्य’ शीर्षकमा प्रतिवेदन पेश गर्‍यो ।

‘ब्रुंडल्याण्डका रिपोर्ट’ यो प्रतिवेदन निकै चर्चित रह्यो । ‘दीगो विकास’ भन्ने शब्दावली पनि पहिलो पटक त्यही प्रतिवेदनमा प्रयोग भएको थियो । प्रतिवेदनले आदिवासी जनजातिबारे कार्यदल गठन गर्न पनि सिफारिस पनि गर्‍यो ।

सोही प्रतिवेदनको भावना अनुरूप सन् १९८९ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले आदिवासी जनजातिहरूको सामूहिक अधिकार (आइएलओ १६९) पारित गर्‍यो। अहिले नेपाल पनि यो अभिसन्धिको पक्षराष्ट्र बनिसकेको छ ।

यी सबै चरण र प्रक्रियामा कुनै न कुनै रूपमा परम्परागत ज्ञानलाई स्थान दिइएको छ ।
सन् १९९२ मा ब्राजिलको राजधानी रियो जेनेरियोमा सम्पन्न अन्तर्राष्ट्रिय वातावरण सम्मेलनले सामूहिक अधिकारको महत्वलाई आत्मासात गर्‍यो । सोही वर्ष सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनले विभिन्न प्रजाति, इकोसिस्टम र भूस्वरूप बचाउन परम्परागत ज्ञानको महत्वलाई आत्मासात गर्‍यो ।

सन् १९९६ मा ब्युनस आयर्समा सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनले स्थानीय ज्ञानको सान्दर्भिकतालाई जोड दियो । यसले स्थानीय समुदाय र आदिवासी जनजातिलाई आफ्नो क्षेत्रको जैविक विविधताको देखभाल गर्न दिन सम्बन्धित सरकारहरूलाई आग्रह गर्‍यो ।

सन् १९९९ मा विश्व व्यापार सङ्गठनले व्यापारसँग जोडिएको बौद्धिक सम्पदाको सम्मान गर्न जोड दियो । त्यही वर्ष विश्व बौद्धिक सम्पत्ति सङ्गठनले सङ्गीत र परम्परागत डिजाइनबारे ‘फ्याक्ट फाइन्डिङ मिसन’ गठन गर्‍यो । यसैगरी, यसले बौद्धिक सम्पत्ति, आनुवांशिक संशाधन, जैविक विविधता, लोकसाहित्य र परम्परागत ज्ञानको अन्तरसम्बन्ध विभिन्न समयमा अध्ययन–अनुसन्धान अघि बढायो ।

यसैगरी, सन् २००७ मा संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र जारी गर्‍यो । सन् २०१४ मा अनुवांशिक संशाधन संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि ‘नागोया प्रोटोकल’ सम्पन्न भयो ।

यी तमाम अन्तर्राष्ट्रिय सम्मलेन तथा अभिसन्धिका कागजातले परम्परागत ज्ञानको महत्वलाई उच्च स्थान दिएको पाइन्छ । आधुनिक रूप–रङ्गले भरिपूर्ण पश्चिमा विज्ञानले प्रभुत्व जमाउनु अघि विश्वका विभिन्न समुदायबीच परम्परागत ज्ञान  जीवन जिउने ज्ञान थियो । कतिपय ठाउँमा आज पनि प्रचलनमा छ । अहिले यसको अस्तित्व स्वतन्त्र सङ्कटमा छ ।

आधुनिक जीवनशैलीको चमकधमकले पूरै ओझेलमा परेजस्तो देखिए पनि परम्परागत ज्ञान सान्दर्भिकता र औचित्य मरिसकेको छैन । यसको संरक्षण र सम्वर्द्धन  गरी यसलाई जीवन चलाउने सफ्टवेयरका रूपमा गर्न आवश्यक छ । यसले हामी सबैको लागि समझदारी र सुझबुझ अपेक्षा गरेको छ ।

[लोकसंवाद । २०७६ साल फागुन ९ गते ।]

No comments:

Post a Comment