Sunday, March 22, 2020

कोरोना सङ्क्रमित अर्थतन्त्र


–यमबहादुर दुरा

दुनियाँ कोरोना भाइरस (कोभिड–१९) को आतङ्कले त्रस्त छ । विश्व स्वास्थ्य संगठनले मार्च १३ तारिखमा यसलाई विश्वव्यापी महामारी (पान्डेमिक) घोषणा गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले नै नेपाललगायत दक्षिणपूर्वी एशियामा कोरोना भाइरस फैलन  सक्नेतर्फ  सचेत तुल्याएको छ ।

कोरोना भाइरसले निम्त्याएको स्वास्थ्यसम्बन्धी समस्या स्वाभाविक रूपमा गम्भीर र दुःखदायी छ । यसको अर्को पनि दुःखदायी पाटो छ । त्यो हो, आर्थिक पाटो । कोरोना भाइरसले दुनियाँको आर्थिक पाटोमा नकारात्मक असर पारिसकेको छ । यसले विश्व अर्थतन्त्रमा थप समस्या निम्त्याउँदै गएको छ । यसले विश्व अर्थतन्त्रमा कुन हदसम्म दुरगामी दुष्प्रभाव पार्ने हो, यसै भन्न कठिन छ ।

कोरोना भाइरसको प्रकोपका ठूलै मानवीय तथा आर्थिक मूल्य चुकाउनुपरेको छ । चीनलगायतका औधोगिक गतिविधिमा कमी आएकाले विश्वबजारमा तेलको मूल्यमा ६८ प्रतिशतसम्मको उच्च गिरावट छ । विश्वको सेयरबजार निरन्तर ओरालो लागेको छ । यी आर्थिक घटनाक्रमलाई कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारको दुष्प्रभावको सूचकको रूपमा लिन सकिन्छ ।

कोरोनाको विश्व भ्रमण बढ्दै जाँदा विभिन्न देशले जमिन र हवाइ गरी दुवै किसिमका ‘कनेक्टिभिटी’ बन्द गरिसकेका छन् । खुल्ला आवाज जावतको अवधारणामा चलेका कतिपय युरोपेली मुलुकले पनि एक अर्कासँग सम्पर्क विच्छेद गरेका छन् । विश्वका आवगमनमा आउनुको अर्थ विश्व अर्थतन्त्रमा शिथिलता आउनु पनि हो ।

कोरोना भाइरसको तीव्र विस्तारसँगै आवतजावतमा लगाइएको प्रतिबन्धले विश्व अर्थतन्त्रमा गम्भीर धक्का पुग्न गएको छ । यसले विश्व अर्थतन्त्रमा गर्ने क्षति सन् २००३ मा फैलिएको  सार्स संक्रमणको समयमा भएको क्षतिभन्दा कैयौँ गुणा बढी हुने प्रक्षेपण गर्न थालिएको छ ।

कोरोना भाइरसको प्रकोपले विश्व अर्थतन्त्रमा हालसम्म कति क्षति पुर्‍यायो भन्नेबारे आँकडा आउन थालेका छन् । ‘ब्लुम्बर्ग’ मिडियाले निकालेको एक आँकडा अनुसार कोरोना भाइरसका कारण अहिलेसम्म विश्व अर्थतन्त्रमा २ं.७ खर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको छ । आउने समयमा यसको असर थप गम्भीर हुने सङ्केत देखिन्छ ।

कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा कस्तो असर पार्दैछ ? आउँदा दिनमा यसको नतिजा के हुनेछ ? यसले देशको आर्थिक स्वास्थ्यलाई कसरी संक्रमित गर्दैछ ? यसबारे पनि चर्चा हुन थालेको छ । एशियाली विकास बैंकले कोरोना भाइरसको संक्रमण बढेमा नेपालको कुल गार्हस्थ उत्पादन ०.०४ प्रतिशत (१२.१२ मिलियन अमेरिकी डलर) सम्म खुम्चिने अनुमान गरेको छ ।

जगजाहेर नै छ, नेपालको अर्थतन्त्र मूलतः पर्यटन उद्योग र वैदेशिक रोजगारीमा निर्भर हुँदै गएको छ । यी दुवै तुलनात्मक रूपमा अस्थिर र जोखिमपूर्ण मानिन्छन् । कोरोनाको विश्वव्यापी महामारीले नेपालको पर्यटन उद्योग र वैदेशिक रोजगारीमा धावा बोल्न शुरु गरिसकेको छ ।

नेपाल सरकारले वैशाख १८ गतेसम्म ‘अन अराइभर’ भिसा बन्द गरिसकेकको छ । कोरोना भाइरसको फैलावटसँगै पर्यटकको आवगमन घट्दै गएको पर्यटन व्यावसायीहरूको बुझाइ थियो । अहिलेको परिस्थितिले स्वाभाविक रूपमा पर्यटकको आवगमनलाई  मत्थर पार्दै लगेको छ  । यो प्रतिकूल अवस्थाले २० लाख पर्यटक भित्र्याउने  लक्ष्यसहित शुरु गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ त्यसै अलपत्र हुन पुगेको तथ्य सबै समक्ष छर्लङ्ग छ ।

कोरोना भाइरसले निम्त्याएको दुष्प्रभावको असर नेपालको पर्यटन उद्योगमा देखापरिसकेको छ । रोग सर्ने भयले यात्रा गर्ने क्रम घट्दो क्रममा छ ।  पर्यटन उद्योगसँग जोडिएका टुर अपरेटर, होटल–रेष्टुराँ, पथ प्रदर्शन, यातायात आदि क्षेत्रमा यसको दुष्प्रभाव पर्दै गएको समाचार आइरहेका छन् ।

सार्वजनिक जमघटका कार्यक्रम घट्न थालेका छन् । होटल बुकिङ धमाधम रद्द भएका छन् । टिकट बुकिङ र अन्य पर्यटकीय गतिविधि सुस्त हुन थालेका छन् । यससँगै भोलिका दिनमा आउने अनिष्ट सम्झेर पर्यटन उद्योगसँग जोडिएका कामदार तथा व्यावसायीहरू चिन्तामा डुब्न थालेका छन् ।

अर्कोतिर, कृषिमा निर्भर जनसंख्या क्रमिक रूपमा घट्दै गएको छ । अहिले ६५ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । यसले देशको कुल गार्हस्थ उत्पादनमा ३१.७ प्रतिशत योगदान दिएको छ । कृषिमा निर्भरता घटैसँगै ग्रामीण जनसंख्या पातलिँदै र शहरी जनसंख्या बढ्दै गएको छ ।

यसको अर्थ हो, सुखभोगी जनसंख्या बढ्दै जानु । देशको उत्पादनमूलक व्यावसाय कमजोर हुँदै गएको देखिन्छ । हामी उत्पादनमुखी भन्दा पनि उपभोगमुखी बन्दै गएको छौँ । समृद्ध अर्थतन्त्रको उचित आधार तयार नहुँदै उपभोगमुखी हुनु आर्थिक स्वास्थ्यका दृष्टिले उपयुक्त प्रवृत्ति होइन ।

देशको अर्थतन्त्रलाई मजबुत बनाउन सघाउने युवा जनशक्ति वैदेशिक रोजगारीमा प्रवृत्ति प्रवृत्ति बढ्दै गएको छ । दैनिक १५ सय जति नेपाली युवा वैदेशिक रोजगारमा जाने गरेका आँकडाले एउटा भयानक तस्बिर प्रस्तुत गर्छ । देश निर्माणमा योगदान दिन सक्ने जनशक्ति काम र मामकै लागि मुगलान पस्नुपर्ने वाध्यताले राम्रो सन्देश दिँदैन ।

जे भए पनि वैदेशिक रोजगारीमा जाने चलन परम्परा नै बनिसक्यो । नेपाली समाज वैदेशिक रोजगारीमा अभ्यस्त हुँदै गइरहेको बेलामा कोरोना भाइरसको बढ्दो विस्तारले जटिलता निम्याएको छ । कतिपय रोजगारदाता देशहरूले नेपाली कामदार लिने काम पनि बन्द गरिसकेका छन् । यसबाट विदेशी भूमिमा पसिना बगाएर स्वदेशमा रेमिटयान्स पठाएर घरपरिवार पाल्ने धेरैको बिचल्ली हुने अवस्था आउन सक्छ ।

एशियाली विकास बैंकले गरेको एक अनुमान अनुसार कोरोना भाइरसले नेपाली अर्थतन्त्रलाई संक्रमण गरेमा पाँच हजारदेखि लगभग १५ हजार व्यक्तिले रोजगारी गुमाउने देखिन्छ । यद्यपि, यो अनुमान मात्र हो । कोरोना भाइरसको प्रकोपले अर्थतन्त्रमा पार्ने तमाम दुष्प्रभावको यथार्थ विवरण अहिले नै पेश गर्न गाह्रो छ ।

यसरी रोजागारी गुमाउनेमा पर्यटन उद्योग र वैदेशिक रोजगारीमा निर्भर व्यक्तिहरू नै पहिलो पंक्तिमा हुने अनुमान गर्न कठिन छैन । तर, यसको असर यतिमा मात्र सीमित रहने छैन । नाङ्लो पसलेदेखि डिपार्टमेन्ट स्टोरसम्म, भट्टी पसलेदेखि पाँचतारे होटल व्यावसायीसम्म, सारङ्गी रेटेर हिँड्ने गन्धर्वदेखि विविधतापूर्ण मनोरञ्जन उद्योगसम्म र ट्याक्सी ड्राइभरदेखि विमान कम्पनीसम्म यसको प्रत्यक्ष वा अप्रत्यक्ष दुष्प्रभावबाट बँच्न सक्ने देखिन्न ।

अहिलेको जटिल परिस्थितिले २०७२ सालको अघोषित भारतीय नाकाबन्दीको समयमा चलेको प्रसंग पुनः स्मरण गराएको छ । त्यसबेला नेपाली अर्थतन्त्रको आन्तरिक मजबुतीकरणको प्रसंग चर्कै चलेको थियो । तर, अवस्था सहज भएपछि त्यो प्रसंग त्यसै सेलायो । सङ्कटको घडीमा मात्र आदर्शपूर्ण सोचाइ आउने रोग हामीमा छँदैछ । त्यसको पुनरावृत्ति अहिले पनि भएको छ ।

कोरोना भाइरसको महामारीले निम्त्याएको निराशाको वातावरणलाई सच्याउने र जनमनमा आशा जगाउने कार्यक्रम ल्याउन आवश्यक छ । पर्यटन उद्योग र रेमिट्यान्ससँग क्रमिक रूपमा बढी निर्भर हुँदै गएको नेपाली अर्थतन्त्रको नयाँ क्षितिज उघार्न आवश्यक छ । अहिलेको विश्वव्यापी सङ्कटका समयमा नेपाली अर्थतन्त्रको आन्तरिक मजबुतीकरणका पक्षमा सोच्ने र व्यवहारमा उतार्ने अर्को मौका हो ।

[गोरखापत्र । २०७६ साल चैत ९ गते ।]




No comments:

Post a Comment