Wednesday, June 10, 2020

अनलाइन मिडियाको विश्वसनीयता

–यमबहादुर दुरा

दुनियाँ गतिशील छ । त्यसमा पनि अहिले ‘इन्स्ट्यान्ट न्युज’ को अवधारणाले मूर्त रूप पाएको छ । यसले दुनियाँको गतिशीलता बढाइदिएको छ । आज मोबाइलको स्क्रिनमै ताजा समाचार तत्क्षण पढ्न पाइने अवसर उपलब्ध छ । यसले सामाजिक चेतना र व्यावहार व्यापक फेरबदल ल्याइएको छ ।

ताजा समाचार पढ्न बिहानको कुनै अखबारको ‘हार्ड कपी’ पर्खनुपर्ने बाध्यता छैन । इन्टरनेटको पहुँच भएको ठाउँमा नयाँ जानकारी पाउन रेडियो वा टेलिभिजनको आवधिक समाचार बुलेटिन पर्खनुपर्ने बाध्यता पनि विगत बनिसक्यो ।

अनलाइन न्युज पोर्टल, मोबाइल सञ्चार र सूचना प्रविधिको त्रिवेणीले तत्क्षण सूचना प्रवाह गर्ने परिपाटीलाई अभूतपूर्व बनाइदिएको छ । त्यसमा पनि सामाजिक सञ्जाल र सोसल मिडियाको दरिलो उपस्थितिले सूचनाको तीव्र प्रवाहलाई हदैसम्म सहजीकरण गरिरहेको छ ।

अहिले जतिबेला चाह्यो, त्यतिबेला नै ताजा समाचार पढ्न पाइने अवसर उपलब्ध छ । आधुनिक युगले दिएको एउटा सुन्दर उपहार हो, यो । यसले समाजलाई ‘इन्फरमेसन सुपर हाइवे’ को यात्री बनाइएको छ । जगजाहेर नै छ, सामयिक र सही सूचनाले समाजलाई प्रगतिपथमा अघि बढ्न अतुलनीय योगदान दिएको छ ।

हरेक उज्यालोको अँध्यारो पाटो पनि हुन्छ । अनलाइन मिडिया पनि यो शाश्वत नियमको अपवाद बन्ने कुरै भएन । धेरै पर नजाऔँ । दुनियाँ कोरोना महामारीको चपेटामा परिरहेको बेलामा सोसल मिडियालगायत कतिपय अनलाइन मिडियाले भ्रामक समाचार पस्किरहेका छन् । यस्ता भ्रामक जानकारीले कतिपयको जीवन समाज नराम्ररी कुसूचित हुन पुगेका छन् । धेरै अध्ययनहरूले यो तथ्यलाई औंल्याएका छन् ।

अनलाइन मिडियासँग जोडिएका समस्याका अनेक आयाम छन् । समस्याको एउटा आयाम हो, अनलाइन पत्रकारिता र अनलाइनमा हुने अन्य खालको सञ्चारलाई एउटै अर्थमा बुझिनु । वास्तवमा यी दुई फरक कुरा हुन् ।

पत्रकारिता पत्रकारले मात्र गर्छ । पत्रकारिता जहिले पनि समाचार कक्ष प्रक्रिया (न्युजरुम प्रसेस) भएर गुज्रनुपर्छ । यसको अर्थ हो, पत्रकारले पाएको कुनै पनि सूचना वा जानकारीको सहीपन पाठक–स्रोतामा पुग्नुअघि नै परीक्षण गर्नुपर्छ । त्यसो नगरी जानकारी प्रकाशन–प्रसारण गर्न मिल्दैन । अर्थात् पत्रकारितामा खास चरणहरू पार गरेरमात्रै सूचना प्रवाह गर्ने अवस्थामा पुग्छ ।

अन्य प्रकृतिको सञ्चार जोकोहीले पनि गर्न सक्छ, जुन हरेक नागरिकको नैसर्गिक अधिकार पनि हो । नेपालको संविधान, २०७२ को धारा १९ ले हरेक नागरिकलाई सञ्चारको हक दिएको छ । सञ्चारको हक प्रयोग गर्ने कुरा एउट हो, सही सूचना प्रवाह गर्ने कुरा अर्को हो । अभिव्यक्ति (सूचना प्रवाहको) स्वतन्त्रता र सूचनाको सहीपनलाई एउटै अर्थमा बुझिनुहुन्न ।

सोसल मिडियाको विष्फोटक उपस्थितिले सूचनाको हक उपभोगमा सहजता थपिएको छ । मूलधारका सञ्चार माध्यममा स्थान नपाएका कतिपय विषयले सोसल मिडियामा राम्रो स्थान पाएका छन् । सोसल मिडिया वैकल्पिक मिडियाको रूपमा पनि देखापर्दैछ । यसले व्यक्ति, समूह वा समाजका वास्तविक सरोकारलाई स्थान दिएका छन् । कतिपय व्यक्तिका लागि सोसल मिडिया प्रतिभा प्रदर्शन गर्ने डबली पनि बनेको छ ।

सोसल मिडियाका नकारात्मक पाटो पनि छ । यसमा सूचना प्रवाह गर्नुअघि पत्रकारले जस्तो परीक्षण गर्नुपर्ने बाध्यता पनि हँुदैन । सोसल मिडियामा प्रवाह गरिने सूचनाको सत्यता जाँच्ने कुरा सम्बन्धित व्यक्तिको नैतिकतामा निर्भर रहन्छ । कुनै कारणवश व्यक्तिबाट गलत जानकारी फुत्किएमा त्यो एकचोटि जनसागरमा पुग्छ । त्यसले गर्ने क्षतिको लेखाजोखा गर्न मुस्किल छ ।

जोकोहीले सूचना प्रवाह गर्नसक्ने अवस्थामा जस्तो पायो त्यस्तै सूचना सार्वजनिक हुने सम्भावना रहन्छ नै । यस किसिमको सञ्चार प्रणालीमा व्यक्तिले उपयोगी, अनुपयोगी, हानीकारक सबै प्रकृतिका जानकारी सम्प्रेषण गर्न सक्छन् । त्यस्तो कार्य जानेर नजानेर वा गलत आशयका साथ पनि हुन सक्छ ।

कतिपय अवस्थामा बद्नियत नभए पनि सम्प्रेषणकर्तामा ज्ञानको अभाव वा असावधानीले सूचना गलत सावित हुनपुग्छ । यसलाई गलत जानकारी (मिस्इन्फरमेसन) भनिन्छ । कसैले दिएको अहितकर जानकारीलाई उपयोगी ठानेर सेयर गर्नु पनि ‘मिस्इन्फरमेसन’ नै हो । अहिले सोसल मिडियामा ‘मिस्इन्फरमेसन’ एउटा रोगकै रूपमा देखापरेको छ ।

कतिपय जानकारी गलत आशयका साथ जानाजान सम्प्रेषण गरिन्छ । यसलाई दुष्प्रचार (डिस्इन्फरमेसन) भनिन्छ । यस्ता जानकारी आफ्नो निहित स्वार्थसिद्ध गर्न सम्प्रेषण गरिन्छ । यसरी सम्प्रेषण गरिएका जानकारी अर्धसत्य वा पूरापूर असत्य वा नितान्त भ्रामक हुन सक्छन् । कसैको फेसबुक स्ट््याटस, तस्बिर, ट्वीट आदि जे पनि यसमा पर्न सक्छन् । आकर्षक स्वरूपमा देखापर्ने यस्ता सामग्रीको भ्रमजालमा जो कोही पर्छन् ।

सोसल मिडियामा यो प्रकृतिका जानकारी भरमार भेटिन्छन् । ‘डिस्इन्फरमेसन’ का अनेक उद्देश्य हुन सक्छन् । आफ्नो वस्तु तथा सेवाको बढाइ–चढाइ प्रचार गर्न, आफ्नो साइट वा च्यानलको भिजिटर बढाउन, आफ्ना विरोधीहरूलाई अरूको नजरमा गिराउने वा घृणा फैल्याउनेजस्ता अनेकन् कुत्सित नियत पूरा गर्न ‘डिस्इन्फरमेसन’ को सहारा लिइएको पाइन्छ ।

आकर्षक शीर्षक, तस्बिर तथा भिडियोको गलत प्रयोग, बिकाउ नारा, ‘सेन्टिमेन्टल ब्ल्याक  मेलिङ’ आदिको सहारा लिएर ‘डिस्इन्फरमेसन’ गर्ने क्रम बढेको छ । हाम्रो सन्दर्भमा मूलतः युट्युब भिडियोहरूले यस्तो कार्यमा कुख्याति कमाएका छन् ।

राजनीतिक, कूटनीतिक तथा राष्ट्र–राष्ट्रका सन्दर्भमा पनि ‘डिस्इन्फरमेसन’ लाई अस्त्रको रूपमा प्रयोग गरिएको पाइन्छ । महाभारतलगायत आध्यात्मिक प्रसंगमा समेत ‘डिस्इन्फरमेसन’ को प्रयोग भएको छ ।
कुनै सामाजिक उत्तरदायित्य बिना नै अर्थोपार्जन गर्ने एकमात्र अभीष्टमा खुलेका कतिपय युट्युब च्यानलले व्यक्तिको निजी जीवनमा हमला गर्ने, सामान्य घटनालाई तिलको पहाड बनाउने, अश्लीलता पस्कनेजस्ता अनेकन् कुकृत्य रचेका बग्रेल्ती दृष्टान्त छन् ।

प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन, २०७६) ले सत्य–तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नु पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य हो भनेको छ । तर, कतिपय अनलाइन मिडिया र सोसल मिडिया प्रयोगकर्ताले यसको पालना गरेको पाइँदैन ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) द्वारा जारी पत्रकार आचार संहिताको दफा ५ मा छिटो समाचार दिने नाममा तथ्यको सहीपन परीक्षण नगरी समाचार दिन नपाइने प्रावधान छ । तर, कतिपय जिम्मेवार अनलाइन मिडिया र सोसल मिडिया प्रयोगकर्ताले यसको पालना गरेको पाइँदैन । अरूलाई उछिनेर छिटो समाचार दिने नाममा कतिपय अनलाइन मिडियाले भ्रामक समाचार पस्किरहेका छन् ।

आचार संहितालाई आत्मासात नगर्ने सोसल मिडियाका कतिपय  प्रयोगकर्ताले त सामाजिक मर्यादाको धज्जी उडाएका छन् । यसले नियमनकारी निकायलाई अनलाइन मिडियाप्रति अनुदार नियम ल्याउने बाटो खोलिएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको स्वतन्त्र प्रवाहमा गम्भीर क्षति पुर्‍याउने सम्भावना छ  ।

सूचना प्रवाहमा देखापरेको यसप्रकारको आशंका र अनिष्टको बादल हटाउन आवश्यक छ । यसका लागि हरेक सोसल मिडिया प्रयोगकर्ता र अनलाइन सञ्चारकर्मीलाई कसैले नियमन गर्नुभन्दा पनि आफैं  जिम्मेवार, नैतिकवान् र विवेकशील हुनैपर्छ । यसको कुनै विकल्प छैन ।

[गोरखापत्र । २०७७ साल जेठ २८ गते ।]

No comments:

Post a Comment