Wednesday, June 24, 2020

के हो परम्परागत ज्ञान ?

–यमबहादुर दुरा

ज्ञानको दुनियाँ व्रह्म जत्तिकै अपरम्पार र अपरिमित छ । ज्ञानको अपरिमित दुनियाँमा समयक्रमसँगै नयाँ–नयाँ ज्ञान थपिँदै गएका छन् । यो निरन्तर जारी छ । यसबाट ज्ञानको अथाह भण्डार झनै अथाह बन्दै गएको छ । हरपल नयाँ ज्ञान थपिँदै जाँदा कतिपय ज्ञान पुरानो बन्दै गएको छ । पुराना ज्ञान चल्तीको दुनियाँबाट ओझेल पर्दै गएका छन् ।

मूलधारको ज्ञानभन्दा पर रहेको र उपयोगको दृष्टिले ‘फेसन’ मा नरहेको पुरानो प्रकृतिको ज्ञानलाई सामान्यतयाः परम्परागत ज्ञान भन्ने गरिन्छ । परम्परागत ज्ञानलाई बुझाउन स्थानीय ज्ञान, सामुदायिक ज्ञान, स्वदेशी ज्ञान (नेटिभ नलेज), ‘इन्डिजिनियस नलेज’ आदि शब्दावली प्रयोग गरिएको पाइन्छ ।

यद्यपि, सन्दर्भ र प्रसंग अनुसार यी शब्दावलीले बेग्लाबेग्लै अर्थ दिन पनि सक्छन् । यस्ता शब्दावलीले परम्परागत ज्ञानलाई स्पष्ट रूपमा बुझाउँछ वा बुझाउँदैन भन्नेबारे पर्याप्त मतभिन्नता पाइन्छ । यसमा तर्क–वितर्क गर्नका लागि पर्याप्त ठाउँ छ ।

परम्परागत ज्ञानको शास्त्रीय र व्यावहारिक परिभाषा के हो ? यसबारे अनेकन् माथापिच्छी भएका छन् । यसबारे प्रसस्त जोड–घटाउ भएका छन् । परम्परागत परिवेश र सन्दर्भमा उपयोग भइआएका विधि, तरिका, अभ्यास आदिसँग जोडिएका यावत ज्ञान र सीपलाई परम्परागत ज्ञानको दायरामा राख्ने गरिएको पाइन्छ ।

विश्व बौद्धिक सम्पत्ति सङ्गठन (विपो) ले परम्परागत ज्ञानलाई यसरी परिभाषित गरेको छ, ‘ज्ञान, व्यावहारिक ज्ञान, सीप र अभ्यास नै परम्परागत ज्ञान हो, जुन समुदायभित्र विकसित–सम्वद्र्धित हुँदै एउटा पुस्ताबाट अर्को पुस्ता हस्तान्तरित हुँदै आएको छ । यसले मानिसको संस्कृति र आध्यात्मिक पहिचान पनि निर्माण गर्छ ।’

विपोले परम्परासँग जोडिएको साहित्य, कला, वैज्ञानिक आविष्कार, डिजाइन, चिह्न, नाम, प्रतीक तथा अज्ञान जानकारीसमेतलाई परम्परागत ज्ञानको दायरामा समेट्ने गरेको पाइन्छ । परम्परागत ज्ञान हजारौँ वर्ष पुरानो हुनसक्छ । तर, यो पुरानो हुनैपर्छ भन्ने पनि छैन । विपोका अनुसार परम्परागतको श्रृङ्खलाबद्ध प्रवाहमा हालसालै उत्पादित ज्ञानलाई पनि परम्परागत ज्ञान मान्न सकिन्छ ।

‘जैविक विविधतासम्बन्धी अभिसन्धि, १९९२’ को दफा ८ मा परम्परागत ज्ञानलाई यसरी अथ्र्याइएको छ, ‘ज्ञान, नमोन्मेष (नयाँ ज्ञान) तथा जैविक विविधताको दीगो उपयोग र संरक्षणका लागि आदिवासी तथा स्थानीय समुदायले अपनाएको परम्परागत जीवनशैली ।’

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार विश्वभरका आदिवासी/जनजाति र स्थानीय समुदायले प्रयोगमा ल्याएका ज्ञान, नयाँ कार्य र व्यवहार नै परम्परागत ज्ञान हो । परम्परागत ज्ञान युगौँ लामो अनुभवबाट निर्मित हुन्छ, जससँग स्थानीय संस्कृति र परिवेशले गहिरो नाता गाँस्दै आएको छ । परम्परागत ज्ञान एउटा पुस्ताबाट अर्को पुस्तामा मूलतः मौखिक रूपमा हस्तान्तरण हुन्छ ।

कथा, गीत, लोकसाहित्य, उखान, सांस्कृतिक मान्यता, विश्वास प्रणाली, सामुदायिक कानुन, स्थानीय भाषा तथा कृषिसम्बन्धी अभ्यासहरू परम्परागत ज्ञानको दायरमा आउँछन् । यसमा बोट–विरुवा हुर्काउने विधि तथा पशुपालन तथा व्यवस्थापन पनि पर्छन् ।

परम्परागत ज्ञान व्यावहरपरक ज्ञान हो, जसमा खाद्यान्न संरक्षण, बीउबिजन भण्डारण, माछापालन, स्वास्थ्य, बगैचा, वन तथा वातावरण व्यवस्थापनलगायतका तमाम ज्ञान र सीपको श्रृङ्खला पर्छन् ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) का अनुसार परम्परागत ज्ञान अनुभव र अवलोकनबाट प्राप्त हुन्छ । यो समाजको सामूहिक सम्पत्ति हो । समयक्रममा समाजका विभिन्न सदस्यले यसको विस्तार र परिमार्जनमा गर्न सहयोग गर्छ । यो एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । यो व्यक्तिगत तथा सामूहिक पहलमा विकास र विस्तार हुन्छ ।

समग्रमा भन्दा परम्परागत ज्ञानको दायरा अथाह छ । यसमा सांस्कृतिक ज्ञान, कलासम्बन्धी ज्ञान, औषधि विज्ञानसम्बन्धी ज्ञान, जैविक विविधता तथा प्राकृतिक सम्पदासम्बन्धी ज्ञान, कृषिसम्बन्धी ज्ञान, खाद्य परिकारसम्बन्धी ज्ञान र आध्यात्मिक ज्ञान समेटिन्छन् । यसमा फेसन, नृत्य तथा सङ्गीत, हस्तकला, तन्त्रमन्त्र, पूजापाठलगायत यावत मानव सिर्जना पनि पर्छन् ।

हरेक ज्ञानको रचनागर्भ हुन्छ । परम्परागत ज्ञान कुनै औपचारिक संस्थाबाट उत्पादन हुँदैन । वनपात, खेतबारी, घर–गोठजस्ता अनौपचारिक र असङ्गठित क्षेत्रबाट परम्परागत ज्ञान उत्पादन र वितरण हुन्छ । अर्को शब्दमा भन्दा परम्परागत ज्ञानको रचनागर्भ मूलतः अनौपचारिक र असङ्गठित क्षेत्र हुन् । यसको प्रयोगशाला पनि यिनै क्षेत्र हुन् ।
[ग्राफिक्स: गुगल]

यसको विपरीत आधुनिक ज्ञान वा औपचारिक ज्ञानको उत्पादन र वितरण प्रक्रिया परम्परागत ज्ञानको भन्दा फरक छ । विद्यालय, कलेज, विश्वविद्यालयजस्ता औपचारिक संस्थाबाट औपचारिक ज्ञान उत्पादन र वितरण हुन्छ । आधुनिक ज्ञानले परम्परागत ज्ञानको महत्त्वलाई एकपछि अर्को गरी घटाउँदै लगेको देखिन्छ, जुन सिङ्गो चराचर र मानव सभ्यताका लागि नै शुभसङ्केत होइन ।

समयले परम्परागत ज्ञानलाई पछि पार्दै लगेको देखिए पनि यसको सान्दर्भिकता र औचित्य समाप्त भएको छैन । बरू, यसको महत्त्व दिनानु दिन बढ्दै गएको छ । जलवायु परिवर्तन, विषादिको प्रयोग, वर्णशङ्कर (हाइब्रिड) बीउबिजन आदिले निम्त्याएका असंख्य समस्याले परम्परागत ज्ञानको महत्त्व बढाएको छ ।

आधुनिक र सुखभोगी जीवनशैलीले निम्त्याएको वातावरणीय तथा स्वास्थ्यसम्बन्धी तमाम समस्यासँग जुध्नका लागि भरपर्दो अस्त्रको रूपमा पनि परम्परागत ज्ञानलाई नै लिन थालिएको छ । यसका अतिरिक्त यसलाई दीगो विकासको सूत्र मान्न थालिएको छ ।

परम्परागत ज्ञान सयौँ–हजारौँ वर्षको अनुभवबाट निर्मित र परीक्षित हुन्छ, जुन वातावरणमैत्री र किफायती हुन्छ । यसले जीवनशैली र संस्कृतिसँग गहिरो सम्बन्ध कायम गरेको हुन्छ । परम्परागत ज्ञानले भौतिक र आध्यात्मिक गरी दुवै दुनियाँलाई समेट्छ । यी विविध कारणले बुझक्कडहरूबीच परम्परागत ज्ञानको उच्च महत्त्व चुलिँदो छ ।

सिङ्गो विश्व समुदाय नै वातावरणीय तथा स्वास्थ्यसम्बन्धी समस्याबाट ग्रस्त भइरहेको घडीमा अनुभवको कसीमा खरो उत्रिएको परम्परागत ज्ञानलाई एकदमै उपयोगी अस्त्र मानिएको छ । अहिले दुनियाँको टाउको दुखाइको विषय बनेको डढेलो, महामारीजस्ता विकराल समस्याहरूको हल पनि परम्परागत ज्ञान मै छ भन्ने विश्वास गरिन्छ । उत्तर अमेरिकाका आदिवासी समुदायले परम्परागत ज्ञानलाई ज्ञानमात्र नठानेर ‘पवित्र ज्ञान’ मान्छन् ।

दुनियाँमा जति–जति आधुनिक ज्ञानद्वारा निर्मित प्रविधिको राइँदाइँ बढ्दै गएको छ, त्यति नै भयानक वातावरणीय तथा मानवीय समस्याले टाउको उठाउन थालेका छन् । प्राकृतिक स्रोत–साधनको दीगो उपयोग तथा व्यवस्थापन नगरेसम्म र हाम्रा आनीबानीमा आमुल सुधार नल्याएसम्म राक्षसले झैं  मुख खोलेका यस्ता समस्यासँग लड्न कठिन छ ।

यी गम्भीर समस्यासँग लड्ने सूत्र र मन्त्र आधुनिकतामा आधारित पश्चिमा विज्ञानभन्दा परम्परागत ज्ञानसँग जोडिएको ‘इथ्नोसाइन्स’ सँग छ भन्नेमा धेरै विज्ञ सहमत छन् । प्रकृतिसँग नजिकको सम्बन्ध राख्ने आदिवासी समुदाय परम्परागत ज्ञानका धनी मानिन्छन् । उनीहरू परम्परागत ज्ञानका अग्रणी मानिन्छन् ।
कृषि विकाससम्बन्धी अन्तर्राष्ट्रिय कोष (आइफाड) द्वारा प्रकाशित पुस्तक ‘द ट्रेडिसनल नलेज एडभान्टेज: इन्डिजिनियस पिपुल्स् नलेज इन क्लाइमेट चेञ्ज एडाप्टेसन एण्ड मिटिगेसन स्ट्राटेजिज्’ (२०१६) मा आदिवासी समुदायलाई वातावरण संरक्षणका अग्रदस्ताका सिपाहीको रूपमा चित्रण गरिएको छ ।

सन् १९९२ मा ब्राजिलमा सम्पन्न अन्तर्राष्ट्रय वातावरण सम्मेलन (पृथ्वी सम्मेलन) ले पनि वातावरण तथा जेनेटिक स्रोत–साधन जोगाउन आदिवासी समुदायमा विद्यमान ज्ञानले केन्द्रीय भूमिका खेलेको तथ्यलाई उच्च मूल्याङ्कन गरेको छ । यस्ता विषयमा उनीहरू विश्वगुरु बन्न सक्छन् ।
[ग्राफिक्स: गुगल]

अहिले हाइब्रिज बीउबिजनको आगमनले रैथाने बालीनाली तीव्र गतिमा लोप हुँदै गइरहेका छन् । रैथाने बालीनालीको विविधता जोगाउन आदिवासी समुदायले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । यससँगै मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा पनि उनीहरूको योगदान वन्दनीय छ ।

एक आँकडा अनुसार अहिले विश्वमा ३७० मिलियन आदिवासी समुदाय छन् । ठूला विकास परियोजना र अन्य विविध किसिमका अतिक्रमणले आदिवासी समुदायको मौलिक थालथलो मासिँदै गएका छन् । यससँगै परम्परागत ज्ञानका पारखीहरूको झुण्ड तीव्र गतिमा सानो बन्दै गएको छ ।

परम्परागत ज्ञान सङ्कटग्रस्त ज्ञान हो । जीवनका जगतका लागि परम्परागत ज्ञान अतिशय महत्त्वपूर्ण हुँदाहँदै पनि समयको प्रवाहसँगै यसको दायरा दिनदिनै खुम्चिँदै गएको छ । पश्चिमा ज्ञानको बढ्दो प्रभावले ‘इथ्नोसाइन्स’ मर्दै जानु, परम्परागत ज्ञानका धनी मानिएका पाका पुस्ताबाट नयाँ पुस्तामा ज्ञान हस्तान्तरण नहुनु, आधुनिकताले मिच्दै जानुलगायतका अनेकन् कारणले परम्परागत ज्ञान लोप हुँदै गएको छ ।  यो एउटा गम्भीर चिन्ताको विषय हो । जीवनोपयोगी परम्परागत ज्ञानलाई जोगाउन सामूहिक प्रयत्न अत्यावश्यक छ ।

[युवामञ्च (संयुक्ताङ्क) ।   वैशाख, जेठ र असार, २०७७ साल । ]

No comments:

Post a Comment