Saturday, June 20, 2020

वैकल्पिक इतिहास

–यमबहादुर दुरा

अन्य लेखनको तुलनामा इतिहास लेखन सधैँजसो शुष्क विधा रहिआएको छ । वर्तमानमा उपलब्ध अभिलेख तथा प्रमाणहरूका आधारमा विगतको पुनःनिर्माण गर्नुपर्ने भएकाले इतिहास लेखन चुनौतीपूर्ण कार्य हो । दृश्यबाट हटिसकेका प्रसंगको यथार्थ विवरण पस्कनुपर्ने भएकाले इतिहास लेख्ने व्यक्तिका अगाडि सधैँ चुनौतीको पहाड नै खडा हुन्छ ।

त्यसमा पनि मूलधारको इतिहास लेखनलाई चुनौती दिने गरी वैकल्पिक इतिहास लेख्ने कार्य त झनै चुनौतीपूर्ण कार्य हो । स्थापित भाष्य (‘न्यारेटिभ’) भन्दा पृथक ऐतिहासिक तथ्य पस्कन तम्सनु कम साहसिक र चुनौतीपूर्ण कार्य होइन । लेखक तथा अनुसन्धाता राजकुमार दिक्पालले यही चुनौतीलाई शिरोधार्य गरेका छन् ।

दिक्पालले आफ्नो कृति ‘आदिवासी विद्रोहको इतिहास’ मार्फत  वैकल्पिक इतिहासको पेटारो फुकाउने प्रयत्न गरेका छन् । उनले मूलधारको इतिहासका अगाडि वैकल्पिक इतिहास पस्केका छन् । यस क्रममा उनले वैकल्पिक ऐतिहासिक तथ्यलाई स्थापित गर्न व्यापक शोध तथा परिशीलन गरेका छन् ।

जगजाहेर नै छ, नेपालको इतिहास शासनसत्ताद्वारा स्थापित भाष्यलाई परिपुष्टि गर्ने गरी लेखिँदै आएको छ । शासक वर्गको यश र कृतिलाई मात्र केन्द्रमा राखेर इतिहास लेख्दा त्यो अपूर्णमात्र होइन, एकाङ्की हुनपुग्छ । वैकल्पिक इतिहासले यस्ता अपूर्ण र एकाङ्की ऐतिहासिक तथ्यलाई परिपूरण गर्न सहयोग गर्छ ।

यद्यपि, यस्ता वैकल्पिक ऐतिहासिक तथ्यलाई हाम्रो समाजले खुला मनले ग्रहण गर्दैन । अझ युद्धबारे लेखिएका अधिकांश इतिहास विजेताको यशोगानमै केन्द्रित पाइन्छन् ।सत्ताप्राप्तिका क्रममा उनीहरूले अपनाएका अनुमाषिक क्रियाकलापको यथोचित लेखाजोखा गरिएको पाइँदैन, जुन कार्य सच्चा इतिहास लेखनमा हुनुपर्‍थ्यो  ।

वैकल्पिक इतिहासको कुरा गर्नु भनेको राष्ट्रहरूको योगदानलाई पूरै लत्याउने र उनीहरूप्रति नकारात्मक भावना विकास गर्नु हो  भन्ने  अर्थमा मात्र बुझिनु पनि हुँदैन । विगतको यथार्थ समीक्षा हुनुपर्छ भन्ने यसको आशय हो ।

वर्णाश्रम व्यवस्थामा आधारित हिन्दू समाज आफैंमा श्रेणीकृत समाज हो । सामाजिक श्रेणीमा तल्लो स्थानमा रहेका समुदायले अनेकन् भेदभाव र वहिष्करण भोग्नुपर्‍यो, जुन अहिले पनि जारी छ । उनीहरूको आवाज हत्तपत्त सुनिँदैन  पनि । राजकुमार दिक्पालले देशका जनजाति समुदाय (वर्णाश्रम व्यवस्था अनुसार मासिन्या जाति) ले स्थापित सत्ताविरुद्ध गरेको विद्रोह र राज्यप्राप्तिका क्रममा सत्ताले रचेका अनुमाषिक क्रियाकलापको नालीबेली केलाउने प्रयास गरेका छन् ।

दिक्पालले आफ्नो पुस्तकमा लिम्बू, तामाङ, माझकिरात, भोटे, मगर, गुरुङ र आठपहरिया राईले विभिन्न समयमा गरेको विद्रोहको फेहरिस्त अघि सारेका छन् । नेपाली इतिहासकारले कतैकतै एकाध चर्चा गरेका यस्ता प्रसंगलाई उनले सविस्तार चर्चा गरेका छन्  । लेखनलाई विश्वसनीय बनाउन अनेकन् सन्दर्भ सामग्रीहरू उद्धरण गरिएका छन् ।

पुस्तकमा मूलतः दुईटावटा शासनसत्ताविरुद्ध भएका विद्रोहको नालीबेली पाइन्छन् : १, पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार गर्ने क्रममा जनजाति समुदायले गरेका अवज्ञा तथा विद्रोह । २, पृथ्वीनारायण शाहपछि भएका विद्रोह ।

पुस्तकमा पृथ्वीनारायण शाह र लिम्बुवानबीच वि.सं. १८३१ मा सम्पन्न सम्झौताको विरुद्धमा रहेका लिम्बू सुब्बाहरूले गरेको श्रृङ्खलाबद्ध विद्रोहको चर्चा गरिएको छ । १८४८ सालमा लिम्बूहरूले संखुवासभाको चैनपुरमा सिक्किम र लेप्चाहरूको साथ लिएर गोरखालीसँग गरेको विद्रोहको नालीबेली पनि यसमा समाविष्ट छ ।

त्यसैगरी, वि.सं. १८५० मा रणबहादुर शाहले तामाङको विद्रोहमाथि गरेको दमनको सन्दर्भ पनि पुस्तकमा समावेश छ । तत्कालीन सत्ताले तामाङ समुदायलाई ‘तामाङ’ लेख्नसमेत नदिएको अवस्थामा विद्रोह गरेको कुरा अघि सारिएको छ  । विद्रोहमा रणबहादुर शाहका सेनाले एक हजार तामाङको हत्या गरेको तथ्याङ्क छ ।

पुस्तकमा नेपालका प्रथम शहीद मानिएका लखन थापाले जङ्गबहादुर राणाको स्वेच्छाचारिता र निरंकुशताविरुद्ध गरेको विद्रोहको सविस्तार चर्चा गरिएको छ । जङ्गबहादुर राणाविरुद्ध धावा बोलेकै कारण वि.सं. १९३३ मा लखन थापालसहित सातजनालाई झुन्ड्याएर हत्या गरिएको इतिहास छ ।

उनीभन्दा पहिले पनि १८९७ सालतिरै तुले रोहनीले पनि  विद्रोह गरेका थिए, जसको इतिहास चर्चामा थिएन । पुस्तकले त्यो ऐतिहासिक तथ्यलाई पनि जनसमक्ष राखिदिएको छ । यसैगरी, जङ्गबहादुर राणाको शासनकालमा १९०७ सालमा अठार सय खोला क्षेत्रमा भोटेको स्वायत्त क्षेत्रमा भएको विद्रोहलाई पनि समावेश गरिएको छ ।

पुस्तकमा शासन–सत्ताले गरेको सांस्कृतिक हिंसाको पनि चर्चा गरिएको छ । अनिवार्य रूपमा दशैँ मान्नैपर्ने जङ्गबहादुर राणाकाको उर्दीविरुद्ध विद्रोह गर्ने धनकुटाका रामलिहाङ र रिदामा आठपहरिया राईको विद्रोहले पनि पुस्तकमा स्थान पाएको छ ।

लेखकले सांस्कृतिक रूपमै गोमांश ग्रहण गर्ने कतिपय आदिवासी जनजाति समुदायलाई गाईको मासु खान प्रतिबन्ध लगाइँदा उनीहरूको सांस्कृतिक कर्मकाण्डमा परेको असरबारे पनि चर्चा गरेका छन् । मुन्धुममा आधारित लिम्बू अनुष्ठानमा गाई वा गोरुको भोग अनिवार्य मानिन्छ ।

लिम्बू समुदायमा विवाह गरी जाने महिलाले घरबाट जाँदा मेफ्रमा वा देवाता लिएर जाने चलन छ । यस अनुष्ठानमा पनि गाईगोरुको मासु अनिवार्य मानिन्छ । रणबहादुर शाहले गोवधमा प्रतिबन्ध लगाए । त्यसपछि वि.सं. १८६६ मा गोवध गर्नेलाई ज्यान सजायको व्यवस्था गरियो ।

मूलधारको इतिहासमा हत्तपत्त नभेटिने यस्ता फेहरिस्तले हामी पढिरहेको इतिहास कतै एकाङ्की त छैन भन्ने जिज्ञासा पाठकको मनमा उठ्न सक्छ । ‘भविष्यलाई परिभाषित गर्न चाहन्छौ भने विगतको अध्ययन गर ।’ भन्ने चिनियाँ दार्शनिक कन्फ्युसियसको भनाइ यहाँनेर सान्दर्भिक हुन आउँछ ।यो भनाइलाई एउटा महत्त्वपूर्ण पक्षसँग जोडेर हेर्न सकिन्छ । त्यो हो, आलोचनात्मक चेतका साथ विगतको अध्ययन हुनुपर्छ । यसले विगतको पुनरावलोकन गरेर अघि बढ्न सघाउँछ ।

आलोचनात्मक चेतका साथ राजकुमार दिक्पालको कृति ‘आदिवासी विद्रोहको इतिहास’ पढ्दा पाठकको मनमा केही जिज्ञासा उठ्न सक्छन् । आदिवासी विद्रोह किन भएका थिए ? केहीको प्रष्ट कारण देखिए पनि कतिको कारण खोतलिएका छैनन् । पुस्तकमा ती विद्रोहको ऐतिहासिक आवश्यकता र औचित्यबारे कम चर्चा भएका छन् । यसबाट विद्रोहका उपादेयताबारे प्रश्न उठ्छ ।

अर्को कुरा, लेखाइलाई बढी विश्वसनीय बनाउन नै होला, लेखक बढी मात्रमा लिखित स्रोतमा भर परेका छन् । लिखित दस्ताबेजलाई मात्र इतिहासको आधार बनाउँदा इतिहास लेखनको दायरा सीमित हुनपुग्छ । हाम्रो इतिहास लेखनको एउटा कमजोरी यो पनि हो । लेख्य परम्परा समृद्ध नभएको त्यो समयमा इतिहासका धेरै अध्यायहरू मौखिक परम्परामा बाँचेका हुन सक्छन् ।

हाम्रो समाज मुखैमुख सर्दै आएको मौखिक इतिहासलाई लेखकले पनि लिपिबद्ध गर्नुपर्‍थ्यो । पुस्तक पढ्दा उनले यो सुन्दर मौकालाई धेरै हदसम्म चुकाएको प्रतीत हुन्छ । केही यी र यस्ता कमजोरी देखिए पनि एउटा गजबको वैकल्पिक इतिहास आएको छ । यसले  इतिहास–चिन्तनमा नयाँ आयाम थपेको छ ।

कतिपय दृष्टिले विवादास्पद ठहरिन सक्ने यो पुस्तकले बौद्धिक वृत्तमा वादविवाद पैदा गर्न सक्छ । यस प्रकारका वादप्रतिवादले इतिहासबारे हाम्रा चिन्तन, मनन र परिशीलतको दायरालाई थप फराकिलो बनाउँदै लान्छ, जुन आवश्यक पनि छ ।

अन्ततः यसले हाम्रो इतिहास–विमर्शमा योगदान दिन्छ । यस दृष्टिले इतिहासको अध्ययन, समीक्षा र पुनरावलोकन गर्ने दिशामा महत्त्वपूर्ण ‘आदिवासी विद्रोहको इतिहास’ एउटा महत्त्वपूर्ण खुराक हो भन्न सकिन्छ । पुस्तकले इतिहासमा लुकाइएको वा लुकाउन खोजिएको तथ्यलाई उत्खनन गरी नयाँ सिराबाट विश्लेषण गर्ने प्रयास गरेको छ । मञ्जरी पब्लिकेशनले २०७६ सालमा छापेको यो पुस्तकको मोल ३५० रूपैयाँ छ ।

[अन्नपूर्ण पोष्ट (फुर्सद) । २०७७ साल असार ६ गते । सामान्य परिमार्जनसहित ।]

No comments:

Post a Comment