Tuesday, July 7, 2020

सिकाइमा मौखिक परम्परा

-यमबहादुर दुरा

लेखेर राख्यो भने सबै कुरा सुरक्षित हुन्छ भन्ने हाम्रो बुझाइ छ । यसमा विमति जनाउने त्यति धेरै ठाउँ नभए पनि पूरापुर सहमत हुन पनि सकिँदैन । लेखिएका सबै कुरा सधैँ जीवन्त रहन्छ भन्ने मान्यता भ्रामक छ । जस्तो, संस्कृत भाषा–साहित्यलाई हेरौँ । लिपि, व्याकरण, साहित्य सबै दृष्टिले संस्कृत समृद्ध भाषा मानिन्छ । तर, त्यही समृद्ध भाषा कालान्तरमा मृतभाषा बनिसकेको छ ।

एक समय विश्वको समृद्ध भाषा संस्कृत मृतभाषामा परिणत हुनु आफैंमा गम्भीर पाठ हो । लेखेर राख्दैमा भाषा, साहित्य र ज्ञान जीवन्त रहन सक्दैन भन्ने यसको केन्द्रीय सन्देश हो । लेखिएका कुरा जनजिब्रोमा नउत्रिएसम्म पुस्तकमै सीमित रहन्छ । अर्को शब्दमा, सामान्यजनको दैनिक व्यवहारमा नआएसम्म कुनै पनि भाषा, साहित्य र ज्ञानले मूर्त रूप पाउँदैन ।
ग्राफिक्स: गुगल

प्रस्तुत दृष्टान्तले भाषा–साहित्य र ज्ञान विस्तारमा मौखिक परम्पराको महत्वबोध गराएको छ । मौखिक परम्पराको अध्ययनमा ख्याति कमाएका अमेरिकी विद्वान वाल्टर ज्याक्सन अङ (सन् १९१२–२००३) आफ्नो चर्चित पुस्तक 'ओरलिटी एण्ड लिटरेसी' मा लेख्छन्– मानव समाजको स्थापना बोलीको सहायताबाटै भएको हो । उनी साक्षरता पनि मौखिक परम्पराबाटै शुरु भएको मान्छन् ।

संसारको पुरानो लिखित दस्ताबेज मानिएको वेद पनि पहिले मौखिक रूपमै थियो । गुरु–शिष्य परम्परामा पुरानो पुस्ताबाट नयाँ पुस्तामा मुखैमुख हस्तान्तरण हुँदै आएको वेदको सुक्तिहरुलाई पछिमात्र ऋषिमुनिहरूले लिपिबद्ध गरेको मानिन्छ ।

पश्चिमी गोलार्धको पनि परम्परा यस्तै हो । युनानी संस्कृति–सभ्यताका बेजोडा व्याख्याता होमरद्वारा रचित विश्वप्रसिद्ध महाकाव्यहरू इलियड र ओडेसी पनि पछि मात्र लिपिबद्ध भएका मानिन्छन् । अर्थात्, ती पनि पहिले अलिखित अवस्थामा थिए ।

मानव समुदाय मौखिक परम्पराबाट लिखित संस्कृतिको उन्नत अवस्थामा आइपुगेकोमा द्विविधा छैन । यद्यपि, मानव सञ्चार र ज्ञानको जग अझै  पनि मौखिक परम्परा (बोली)  नै हो । पुस्तकमा रहेको ज्ञान पठितका लागि मात्र हुन्छ भने मौखिक परम्परारूपी भण्डार साक्षर, निरक्षर सबैका लागि हुन्छ ।

मौखिक परम्परा किताबको चराजस्तो गतिहीन नभई फुक्काफाल हुन्छ । मौखिक परम्परा नितान्त चलायमान र गतिशील हुन्छ । मौखिक परम्परामा वक्तासँगै कुराकानीको विषयवस्तुले सास फेर्छ । यस्तो सिर्जनशील प्रक्रियामा विषयवस्तुले पुनः संशोधन, पुनः परिभाषित र पुनः उत्पादन हुने अवसर पाउँछ । यसबाट एउटै विषयका अनेकन् संस्करण निस्कन पनि सक्छन् ।

यस्तो अवस्थामा कहिलेकाँही आधिकारिकतामाथि भने प्रश्न उठ्न सक्छ, जसको छिनोफानो चेतनशील समाजले गर्छ । नदीले आफ्नो प्रवाहमा मिसिन आएको फोहर परिशोधन गरेजस्तै मौखिक परम्पराले अशुद्धिहरूलाई हटाउने क्षमता राख्दछ ।

यसको विपरीत लिखित दस्ताबेजका अशुद्धि सजिलै हट्दैन । लिखित दस्ताबेजमा रहेका अशुद्धि सन्तान दरसन्तानले सही ठानेर पढिरहन्छन् । अशुद्ध जानकारी ग्रहण गरिरहन्छन् । त्यसमा पनि पुस्तकमा लेखिएका कुरा अकाट्य हुन्छ भन्ने मान्यता हामीकहाँ छँदैछ ।

अमेरिकाका इस्किमोलगायतका आदिवासी समुदायको धारणा छ– इतिहास मानिसको हृदयमा रहन्छ, पाठ्यपुस्तकमा होइन । उनीहरूसँग इतिहासका कुनै लिखित दस्ताबेज छैन, तर उनीहरू आफ्ना इतिहासबारे गहिरो जानकारी राख्छन् । हामीसँग इतिहासबारे अनेकन् कृति उपलब्ध भए पनि इतिहासबारे हाम्रो ज्ञान सापेक्षित रूपमा कमजोर छ ।

अहिले मौखिक परम्पराको अधपतन विश्वव्यापी रूपमै तीव्र छ । युरोपको औधोगिक क्रान्तिले मौखिक परम्परामा अधोगति ल्याएको मानिन्छ । अठारौँ शताब्दीको मध्यतिर शुरु भएको औधोगिक क्रान्ति आर्थिक चरित्रको भए पनि यसले समाजको सबै पक्षमा असर पार्‍यो । मौखिक परम्परा पनि त्यसबाट अछुतो रहेन ।

त्यसअघि युरोपेली समाजको अर्थव्यवस्था कृषिमा आधारित थियो । मानिस गाउँमा बस्थे । उमेरदारजति खेतीपातीमा व्यस्त रहन्थे, घरमा केटाकेटीको हेरचाह गर्ने जिम्मेवारी बाजे–बज्यैको हुन्थ्यो । केटाकेटीलाई खुशी राख्ने सजिलो र प्रभावकारी उपाय थियो– कथा । केटाकेटीलाई वोधगम्य हुनेगरी जीवन–जगतका तमाम पक्षका कथा हालिन्थ्यो ।

कथालाई रोचक बनाउन अलौकिक (सुपरनेचुरल) प्रसंगहरू घुसाइन्थ्यो । केटाकेटी ठूलो रुचिका साथ कथा सुन्थे अनि ‘केही सिक्दैछु’ भन्ने पत्तै नपाई जीवनोपयोगी ज्ञान लिन्थे । उनीहरू आफ्ना अपठित बाजेबज्यैका मुखबाट रसिला कथाहरु सुनेर ज्ञानको भण्डार बढाउँथे ।

त्यसरी बाजेबज्यै केटाकेटीका लागि विगत र वर्तमान जोड्ने पुल बन्थे । बाजेबज्यै त्यसरी मौखिक विधिबाट ज्ञान विस्तार गर्ने केन्द्रीय भूमिका रहे ।

औधोगिक क्रान्तिपछि गाउँका मानिस शहरमा बसाइँ सर्न थाले । बाजेबज्यै गाउँमै छुटे । संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्न थाल्यो । शहरमा आमाबा अर्थोपार्जनका लागि कारखानामा व्यस्त हुन थाले । बालबालिकालाई मौखिक विधिबाट बहुमूल्य ज्ञान दिने कोही भएनन् । कथा सुनाएर पुरानो पुस्ता र नयाँ पुस्तालाई जोड्ने बाजेबज्यै महत्त्वहीन बन्दै गए । त्यसरी मौखिक ज्ञान विस्तारमा धक्का लाग्नुका  साथै मौखिक संस्कृति क्षतिग्रस्त बन्न पुग्यो ।

आर्थिक–सामाजिक परिवेश फरक भएपनि मौखिक परम्परा र त्यसको अधपतनको सन्दर्भमा विश्वभरका समाजको चरित्रमा धेरै भिन्नता छैन । शहरीकरण र आधुनिकरणका कारण विश्वभर मौखिक परम्परा कमजोर हुँदै गयो । विद्युतीय सञ्चार माध्यमको विकासपछि त मौखिक परम्परा बिस्मृतिकै अँधेरोतिर धकेलिएको छ ।

अहिलेको पुस्ता रमाइरहेको श्रव्यदृश्य माध्यमलाई दुईधारे तरबारको रूपमा लिइन्छ । यसले एकातिर ज्ञान विस्तारमा अभूतपूर्व सघाउ पुर्‍याएको छ भने अर्कोतिर अन्तरपुस्ता संवादलाई पूर्णतः बिच्छेद गरिदिएको छ ।
कार्टुनमा रम्ने बालबालिकालाई बाजेबज्यै त टाढाको कुरा, आमाबाको काख समेत प्यारो लाग्नाडेको छ । यसबाट मौखिक परम्पराको माध्यमबाट हुने सिकाइ प्रक्रियामा पूर्णबिराम लागेको छ ।

हामी केटाकेटी छँदा पाका पुस्ताबाट वास्तविक जीवनका वास्तविक कथा सुन्थ्यौँ । अनेकन् कष्ट सहेर भोटका दुर्लङ्ध्य बाटो छिचोल्दै, ज्यान बचाउँदै नून बोकेर घर फर्केका, दश ठाउँमा टालेको कपडामा कैयौँ दिनको यात्रामा पहरो रसाएझैं  पसिना चुहाउँदै बेसाहा ल्याएर भोका केटाकेटीलाई खुवाएका, दोस्रो विश्वयुद्धमा आफू नजिककैको साथीलाई बमले धुजा पारेको, तर संयोगवश आफूलाई केही नभएको कथा सुन्दा हामी रोमाञ्चित र पुलकित हुन्थ्यौँ ।

यस्ता कथा सुन्न अहिले मन लालायित बन्छ । हाम्रो पुस्ताको हृदयको पानामा लेखिएका ती कथा–कहानीहरू अहिलेका थ्रिलरभन्दा कम थिएनन् ।

इतिहास तथा ज्ञान–विज्ञान शिक्षालयमा पढिने कुरा हुन् भन्ने भ्रम छ । आधुनिक शिक्षा पद्धतिले विद्यार्थीलाई कम्प्युटर र पुस्तकमा भर पर्न प्रेरित गर्छ । यसरी मौखिक परम्परामाथि परेको छायाँलाई अझ सघन बनाइन्छ । विश्वका समाजहरू आधुनिक शिक्षाप्रति आकर्षित बनेकै गतिमा मौखिक परम्परा अँध्यारो गर्तमा धकेलिदै गएको छ ।

मौखिक परम्परा नै सबथोक भने होइन, केहीचाहिँ पक्कै हो । मौखिक परम्पराको जीवन्त ज्ञान हस्तान्तरण प्रणालीलाई बचाएर उपयोग गर्नसक्दा सामाजिक समृद्धिमा ठूलो योगदान पुग्छ ।

[गोरखापत्र । २०७७ साल असार २३ गते ।]

No comments:

Post a Comment