Friday, July 17, 2020

पञ्चसुब्बा गुरुङ : ठाडो भाकाका एउटा विस्मृत हस्ती

–यमबहादुर दुरा

ठाडो भाका गण्डकी भेगको मौलिक पहिचान बन्न गएको छ । त्यस भेगको ढुकढुकी बनेको ठाडो भाकालाई लोकप्रियताको शिखरमा पुर्‍याउने कलाकारहरूमा देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको नाम अग्रपक्तिमा आउँछ । स्थानीयस्तरमा यी दुई प्रतिभाको नाम श्रद्धापूर्वक लिइन्छ । उहाँहरूको योगदानले ठाडो भाकाले लोकप्रियता कमाएको लोकगीतका अध्येताहरूको निष्कर्ष छ ।

ठाडो भाकाको कुरा गर्दा कर्पुटारको नाम नलिँदा अन्याय हुन्छ । कर्पुटार बजारले ठाडो भाका मौलाउने मलिलो उर्वर जमिन दियो । यही आधारमा कतिपयले ठाडो भाकालाई कर्पुटारे भाका पनि भन्ने गर्छन् । मादी नदीको किनारमा अवस्थित कर्पुटारमा शिवरात्रि र फागुपूर्णिमा ठूलो मेला लाग्छ, जहाँ लमजुङ, गोरखा, तनहूँ, कास्कीलगायतका जिल्लाबाट जनसमुदायको घुइँचो लाग्छ । त्यही घुइँचोमा हुने जमघटमा देउबहादुर दुरा केटा र पञ्चसुब्बा गुरुङ केटी बनेर ठाडो भाका गाउन शुरु गर्नुभयो । यो कुरा वि.सं. १९७० वरिपरिको हो ।
रबैडाँडा (कास्की) स्थित पञ्चसुब्बा गुरुङको घर ।

प्रश्न उठ्न सक्छ, केटा नै केटी बनेर गीत गाउनुपर्ने अवस्था किन आयो त ? त्यसबेला देउबहादुर दुराले विकास गर्नभएको ठाडो भाका नयाँ–नयाँ थियो, जुन नवीनम् शैली (जान्र) को रूपमा भर्खर–भर्खर विकास हुँदै थियो । गाउँघरका केटीहरू यो भाका गाउन त्यति अभ्यस्त भइसकेका थिएनन् । यस्तो अवस्थामा केटा नै केटी बनेर गाउनुपर्ने अवस्था थियो ।

यसरी शुरु भएको ठाडो भाकामा देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङबीच प्रेमिल ठोलाबाजी हुन्थ्यो । एकले अर्कालाई गुलाबी क्षेण हन्थे । सुन्नेलाई निकै घत  पर्‍थ्यो । उहाँहरूले स्रोतागणलाई तीन छक पार्ने गरी गीत निकाल्नुहुन्थ्यो । यी दुईले मायामोह र शास्त्रको गीतमात्र होइन, फूलको प्रकार र माछाका प्रजातिबारे पनि अविराम गीत गाउन सक्थे भन्ने भनाइ संस्कृतिविद डा. जगमान गुरुङको छ ।

यी दुई प्रतिभाको घम्साघम्सीपूर्ण ठोलाबाजीबारे आज पनि गीत प्रचलित छ : ‘देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ, करापुरमा घमसान’ । जनजिब्रो झुण्डिएको यो बहुचर्चित गीत साङ्गीतिक इतिहासमा एउटा अध्याय बनेर गुञ्जिएको छ  ।

ठाडो भाकाको इतिहास कोट्याउँदा दुई सय वर्ष अघिसम्म पुग्नुपर्ने हुन्छ । बलेवा (पर्वत) का मनवीर खत्री र राङखानी (बाग्लुङ) का गोर्‍या श्रीस (वि.सं. १८५३-१९५०) ले वि.सं. १८७४ तिर झ्याउरे लयमा ‘सालैजो’ भाका शुरुवात गरेको र त्यसको परिमार्जित रूप ठाडो भाका भएको प्रसंग कालीभक्त पन्तले आफ्नो पुस्तक ‘हाम्रो सांस्कृतिक इतिहास’ मा उल्लेख गर्नुभएको छ । गीतकार चेतन कार्कीले आँधीखोले भाका, सालैजो भाका र कर्पुटारे भाका (ठाडो भाका) लाई भगिनी भाका मन्नुभएको छ ।

गीत-सङ्गीतको यही मेसोमा लमजुङ (बर्धान) का देउबहादुर दुरा र रबैडाँँडा (नयाँ कास्की) का पञ्चसुब्बा गुरुङबीच कर्पुटारमा भेट हुनु र यी दुईजना रौसे गायकको सत्प्रयासबाट ठाडो भाका लोकप्रियतको शिखर चढ्नु र उहाँहरूले बसालेको साङ्गीतिक परम्परा लोकगीतको एउटा विशिष्ट साङ्गीतिक शैलीको रूपमा स्थापित हुनुलाई लोकगीतको इतिहासमा एउटा अतिशय सुखद प्रसंग मान्न सकिन्छ ।

यो सुखद प्रसंग सँगसँगै दुखलाग्दो प्रसंग पनि जोडिन आउँछ । जनस्तरमा लोकप्रियताको शिखरमा पुगेर पनि यी दुई प्रतिभाको व्यक्तित्व र कृतित्वको न उचित अभिलेखीकरण हुन सक्यो, न त राष्ट्रले उनीहरूको योगदान र प्रतिभालाई राम्ररी चिन्न सक्यो । दुर्भाग्य नै भन्नुपर्छ, चर्चित भएर पनि देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ एक अर्थमा गुमनाम रहनुभयो ।

उहाँहरूका समकालीन गायक–गायिकाले राष्ट्रियस्तरमै राम्रो नाम कमाएको दृष्टान्त छ । उदाहरणका लागि मित्रसेन (वि.सं.१९५२–२००२), मेलवादेवी (वि.सं.१९५९–२०१२), उस्ताद साइलाजस्ता कलाकार देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङकै समकालीन हुनुहुन्थ्यो । उहाँहरूको चर्चा धेरै माथि छ ।

देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङबीच तुलना गर्ने हो भने पञ्चसुब्बा गुरुङको चर्चा कम सुनिन्छ । यसको अर्थ पञ्चसुब्बा गुरुङ कम प्रतिभाशाली हुनुहुन्थ्यो भन्ने होइन । ठाडो भाकाको श्रीवृद्धिमा पञ्चसुब्बा गुरुङको योगदान कम देखिन्न । यी दुई प्रतिभा जुम्ल्याहा सन्तानजस्ता देखिन्छन् । यस लेखमा मूलतः पञ्चसुब्बा गुरुङबारे केही उजागर गर्ने प्रयास गरिएको छ ।

लोकगायक कृष्ण गुरुङ र म २०७१ साल वैशाख ३ गते कास्कीको रबैडाँडा पुगेको थियौँ । हाम्रो उद्देश्य थियो, देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको साङ्गीतिक इतिहासबारे थप जानकारी सङ्कलन गर्ने । रबैडाँडास्थित पञ्चसुब्बा गुरुङको घरमा उहाँका बुहारी र नातिसँग भेट तथा वार्तालाप भयो ।
पञ्चसुब्बा गुरुङकी बुहारी कृष्णकुमारी  गुरुङ ।
 २०७६ साल चैतमा ८२ वर्षको उमरेमा उहाँको निधन भयो ।


वार्तालापका क्रममा पञ्चसुब्बा गुरुङबारे अहिलेसम्म बाहिर नआएका महत्वपूर्ण जानकारी प्राप्त भयो । पञ्चसुब्बा गुरुङको जन्म र मृत्युको तिथिमिति पत्ता लाग्यो । उहाँका नाति सोमप्रसाद गुरुङ (जन्मः वि.सं.२०२०) का अनुसार पञ्चसुब्बा गुरुङको जन्म १९४७ साल माघ २६ गते तथा मृत्यु २०३३ साल माघ १४ गते भएको हो ।

उमेरले उहाँ देउबहादुर दुराभन्दा जेठो देखिनुहुन्छ । देउबहादुर दुरा १९५४ सालमा जन्मेको मान्ने हो भने उहाँभन्दा पञ्चसुब्बा गुरुङ लगभग सात वर्ष जेठो देखिन्छ । देउबहादुर दुराभन्दा छिटो जन्मेर उहाँभन्दा धेरै समय यस पृथ्वीमा रहने शौभाग्य उहाँले पाउनुभयो ।

पञ्चसुब्बा गुरुङको घरमा ऐतिहासिक महत्त्वको एउटा सामूहिक सादा तस्बिर भेटियो । माउण्ट गरिएको तस्बिरमाथि कम्प्युटर टाइप गरेर कागजको लेबल टाँसिएको छ, जसमा पञ्चसुब्बा गुरुङ र देउबहादुर दुराको नाम उल्लिखित छ । त्यो तस्बिर २००४ साल फागुन ८ गते खिचिएको उल्लेख छ । तर, तस्बिर लेखिएको कुरामाथि शंका गर्ने ठाउँ छ । देउबहादुर दुरा १९९४ सालतिरै बितेकाले २००४ सालमा खिचिएको भनिएको त्यस तस्बिरमा देउबहादुर दुरा हुने कुरा सम्भव छैन ।
पञ्चसुब्बा गुरुङ तथा उहाँका साथीसंगीहरू ।

महिला र पुरुष गरी ९–१० जना रहेका उक्त तस्बिर एकदमै मधुरो छ । तस्बिरका मान्छे चिन्नै कठिन पर्छ । उहाँ होचो हुनुहुन्थ्यो भन्ने सर्वत्र चर्चा छ । उहाँका नाति सोमप्रसाद गुरुङले आफ्ना बाजे होचो कदको भएको बताउनुभएको थियो । लोकसाहित्यविद सत्यमोहन जोशीले २००२ सालमा पञ्चसुब्बा गुरुङलाई कर्पुटारमा भेटेको र उहाँ होचो कद भएको  व्यक्ति हुनुहुन्थ्यो भनेर पंक्तिकारलाई सुनाउनु्भएको थियो । पञ्चसुब्बा गुरुङको उचाइ झल्काउने एउटा गीत गाउँघरमा प्रचलित छ  :

 ‘लाहुरे गल्ला, पञ्चसुब्बा डल्ला, पुगेन इँचैमा’ ।

यी तमाम प्रमाणका आधारमा तस्बिरमा रहेका होचा व्यक्ति पञ्चसुब्बा गुरुङ हुनुहुन्थ्यो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । त्यो तस्बिर कसले र कहाँ खिचेको हो भन्ने खुलेको छैन । जेहोस्, यो तस्बिरले लुकेर रहेको साङ्गीतिक इतिहास उजागर गर्न थोरै भए सहयोग गरेको छ ।

रबैडाँडा भ्रमणका क्रममा पञ्चसुब्बा गुरुङबारे अरू थप जानकारी पनि मिल्यो । पञ्चसुब्बा गुरुङको ससुराली तनहूँको ढोरफिर्दी कुरा पनि खुल्यो । उहाँको वंशवृक्षबारे आंशिक जानकारी प्राप्त भयो । प्राप्त जानकारी अनुसार उहाँको आमा चन्दा गुरुङ हुनुहुन्थ्यो भने पिता बिर्खबहादुर गुरुङ । उहाँका आफूसहित तीन दाजुभाइ हुनुहुन्थ्यो : जेठा उनी स्वयम्, माहिला सुबेदार गोलान्धार गुरुङ र कान्छा वीरजङ्ग गुरुङ ।

पञ्चसुब्बा गुरुङका एकमात्र छोरा नारायणसिंह गुरुङ राजनीतिक प्राणी हुनुहुन्थ्यो । गुरुङले दरबार हाइस्कुलबाट शिक्षा प्राप्त गर्नुभएको थियो । उहाँ के. आई. सिंहको दल खुकुरी दलमा आवद्ध हुनुहुन्थ्यो । २०१७ सालको राजनीतिक परिवर्तनपछि व्यवस्था उहाँ पञ्चायतमा सामेल हुनुभयो । उहाँ लमजुङका समाजसेवी तथा नेता श्रीकान्त अधिकारी (वि.सं. १९८४–२०६९) को समकालीन हुनुहुन्थ्यो । नारायणसिंह गुरुङको नाममा नारायण रबैडाँडामा प्रावि सञ्चालित छ ।

त्रिभुवन राजा भएको बेलामा पञ्चसुब्बा गुरुङ दरबारमा पुगेर गीत गाउनुभएको र प्रतिभा देखाएबापत उनले तक्मा र पुरस्कार पाउनुभएको सुनियो । तर, उहाँले प्राप्त गर्नुभएको त्यस्ता तक्मा र पुरस्कारे कुनै पनि त्यस्ता सामग्री भेटिएनन् । शायद, अभिलेखीकरणको अभावमा ती सामग्रीहरू हराएका हुन सक्छन् ।

पञ्चसुब्बा गुरुङको पहिलेको घर साबिकको मिजुरे गाविस–१, नागीधार हो । उहाँका परिवार उहाँ नौ वर्षको उमेरमा नागीधारबाट रबैडाँडा झरेको थियो । त्यसपछि उहाँ गाउँघरको साङ्गीतिक माहोलमा रमाउन थाल्नुभयो । उहाँका बुहारी कृष्णकुमारी गुरुङका अनुसार पञ्चसुब्बा गुरुङ कुनै बेला त १८ दिन जति गीतमा भुलेर घर आउनुहुन्थ्यो । घरमा आएपछि पनि निन्द्रा लागेन भनेर फेरि पनि गीतको खालको खोजीमा हिँड्नुहुन्थ्यो ।
पञ्चसुब्बा गुरुङका नाति सोमप्रसाद गुरुङ ।

कालीभक्त पन्तलाई उध्रृत गर्दै साहित्यकार कृष्णप्रसाद पराजुली (वि.सं.१९९२-२०७०) ले देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको साङ्गीतिक योगदान र भाव–भङ्गीबारे यस्तो वर्णन गर्नुभएको छ :

‘द्यौबहादुर (देउबहादुर) दुरा र पञ्चसुब्बा (गुरुङ)...दुइटै गालामा दुई हात टाँसी कर्कदै–मर्कदै गीत झिक्थे अनि गालाबाट हात झिकी थपडी बजाउँदै कुखुरे चालमा फन्को मारेर बस्तै–उस्तै नाच्थे । त्यो चुड्किलो रमाइलो नाचगान हेरेर जोकोही दर्शक लठ्ठिन्थे । झ्याउरे गीत– नृत्यको यस रमझमले नेपाली युवायुवतीहरूलाई यसरी छोयो उनीहरू मादल, मुर्चुङ्ग आदि बाजाका तालमा गीत गाएर नाच्न–झुम्न थाले । यस क्रममा झ्याउरे गीतका पच्चीसवटा भन्दा बढी भाकामा गीत गाइएको र एघारवटा भन्दा बढी अभिनय गरिएको थियो’ (नेपाली लोकगीतको आलोक, २०५७, पृ. ११४) ।

पञ्चसुब्बा गुरुङको अन्त्यकाल अलिकता पीडादायी रह्यो । उहाँ लगभग १०–१२ वर्ष दृष्टिविहीन हुनुभयो । जीवनको अन्त्यकालमा पुग्दा संसारलाई चर्मचक्षुले चियाउन पाउनुभएन । पञ्चसुब्बा गुरुङका विषयमा धेरै कुरा विस्मृत भइसकेका छन् । उहाँको साङ्गीतिक योगदानबारे अझै  पनि धेरै पक्ष उजागर हुन बाँकी नै छ ।

[लोकसंवाद । २०७७ साल साउन २ गते । तस्बिर: लोकगायक कृष्ण गुरुङ । ]

कृपया, यस लेखमा भएका जानकारी अन्त प्रयोग गर्दा इमान्दारितापूर्वक स्रोत खुलाइदिनुहोला ।शोधसंस्कृति र विद्तपरम्पराको सम्मान गरौँ ।

[अद्यावधिक: २०७७।०४।०३]

2 comments: