Friday, November 15, 2019

सीमामा थप पहरेदारीको आवश्यकता

-यमबहादुर दुरा

विगत एक डेढ हप्तादेखि नेपाली मनहरू उद्वेलित छ । भारतले कात्तिक १६ गते नेपाली भूभाग लिपुलेकसमेतलाई समेटेर आफ्नो नयाँ नक्शा जारी गर्‍यो । यससँगै नेपाली मनभित्रका राष्ट्रिय स्वाभिमान तरङ्गित छ ।

नयाँ नक्शा सार्वजनिक भएसँगै सांस्कृतिक र भूराजनीतिक दृष्टिले घनिष्ट सम्बन्ध भएको छिमेकी मुलुक भारतले नेपाली भूमिमाथि निरन्तर धावा बोलिरहेको प्रसंग डढेलोको आगोझैं फेरि फैलियो । नेपाली नागरिक आन्दोलित भए, भइरहेका छन् ।
तस्बिर : गुगल

यससँगै देशको राजनीतिक तथा सामाजिक वृत्तमा अनेकन् घटनाक्रम देखा परे ।

सडकमा विरोध प्रदर्शन भए । सीमा अतिक्रमणसम्बन्धी समाचार र विश्लेषणले सञ्चार माध्यम भरिन थाले । सोसल मिडियामा आफ्नै देशका राजनीतिक नेतृत्व र भारतको हेपाहा व्यावहारप्रति आक्रोशका ज्वाला ओकिलए ।

नेपालका राजनीतिक नेतृत्वले ‘ओठे भक्ति’ कै रूपमा भए पनि भारतद्वारा अतिक्रमित भूमि नेपालकै हो भन्ने अभिव्यक्ति दिन चुकेनन् । नेपालमा व्यापक विरोध भएपछि भारतीय विदेश मन्त्रालयले कात्तिक २१ गते पत्रकार सम्मेलन आयोजना गर्‍यो । पत्रकार सम्मेलनमार्फत नक्शामा कुनै फेरबदल नगरेको कूटनीतिक प्रतिक्रिया दियो । उसको प्रतिक्रिया नेपालका लागि चित्तबुझ्दो थिएन ।

यता, नेपालका सञ्चार माध्यमले भारतले सीमावर्ती क्षेत्रमा देखाएको दादागिरी र सीमावर्ती क्षेत्रका नेपाली नागरिकले भोग्नुपरेका हैरानी र सास्तीका थप प्रसंग प्रकाशन÷प्रसारण गरे, गरिरहे । यस्ता सामग्रीले नेपाली मनहरूलाई थप उद्वेलित तुल्याए ।

भारतको हेपाहा व्यवहारविरुद्ध नेपाली नागरिक आन्दोलित बनिरहेका बेला भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय गोखलेलाई कात्तिक २२ गते भेटेर समस्याबारे अवगत गराउनुभएको समाचार आयो । सीमा अतिक्रमणबारे कात्तिक २३ गते प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा सीमा–समस्या समाधानका दिशामा राष्ट्रिय सहमति जुट्यो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कात्तिक २५ गते छफलफ गरी लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्शा जारी गर्न सरकारलाई निर्देशन दियो ।

यसैबीच, नेपाल सरकारले भारततर्फ ५९ र चीनतर्फ ४ सीमा चौकी थप्ने निर्णय गरेको समाचार आयो । देशका प्रबुद्ध व्यक्ति व्यक्तिहरूको सहभागितामा नागरिकस्तरबाट ‘सीमा बचाउन राष्ट्रिय परिषद’ कात्तिक २६ गते गठन भयो ।

राष्ट्रियताका सन्दर्भमा विकसित घटनाक्रमहरू मेहरोमा भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा कात्तिक २७ गते २ वटा बेग्लाबेग्लै मुद्दा दायर भए । नेपाली सेनाले पनि सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरी सीमासुरक्षासम्बन्धी कदम अघि बढाउन लागेको खबर आएको छ ।

नेपालका लागि चिनियाँ राजदूतले कात्तिक २८ गते प्रेस नोट जारी गर्दै द्विपक्षीय वार्ताको माध्यमबाट सीमानासम्बन्धी समस्या समाधान गर्न सुझाव दिनुभएको समाचार आयो ।

छोटो समयमा राष्ट्र र राष्ट्रियताका सन्दर्भमा यति धेरै घटनाक्रम विकसित हुनुलाई एक अर्थमा चानचुने घटनाक्रम मान्न सकिँदैन ।  यी घटनाक्रम धेरै दृष्टिले अर्थपूर्ण थिए ।

यद्यपि, देशको अस्तित्व र राष्ट्रिय स्वाभिमान जोगाउने दिशामा यी घटनाक्रमका साथ अघि बढेका प्रयत्न पर्याप्त छैनन् । अझै धेरै गर्न बाँकी छ । नेपालले अझै पनि धेरै अप्ठेरा अवस्थाबाट गुज्रनुपर्ने अवस्था छ । यसका लागि तम्तयार हुनुपर्ने स्थिति आएको छ ।

राष्ट्रियताका पक्षमा नागरिकको तर्फबाट हुनुपर्ने धेरै काम भइसकेका छन् । अबको ठूलो जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा छ । सीमा–समस्याबारे नेपालले कुरा उठाउँदा भारतले विदेश सचिवस्तरीय बैठक बसेर समस्या समाधान गर्ने प्रस्ताव गरेको समाचार आएको थियो ।

यस्ता विषयमा कर्मचारीको काँधमा मात्र जिम्मेवारी थप्दा समस्याको समाधान हुँदैन, राजनीतिक तहमै कुरा हुनुपर्छ भन्ने धारणा आएको छ । यसबारे राजनीतिक नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

त्रुटि राजनीतिक नेतृत्वकै देखिन्छ । सीमा–समस्याबारे भारतले नेपाललाई २३ वर्ष अघि नै पत्राचार गरेको समाचार पनि सञ्चार माध्यममा आएका छन् । समाचार अनुसार प्रमाणका आधारमा जमिन हस्तान्तरण गर्न भारत राजी थियो । यहाँनेर, तत्कालीन सरकारले आवश्यक भूमिका निर्वाह गरेको देखिन्न । सीमाविदहरूले आफूसँग प्रमाण भएको तर त्यसलाई सरकार पेश नगरेका बताएका छन् । वास्तविकता के हो ? छिनोफानो हुन आवश्यक छ ।

राजनीतिक नेतृत्वले विगतमा आफूले गरेका यस्ता गम्भीर गल्तीको समीक्षा गर्दै भावी कार्यदिशाबारे तदारुकतापूर्वक अघि बढ्नुपर्ने बेला आएको छ । विगतबाट पाठ नसिकेका कतिपय राजनीतिक नेतृत्वले अहिलेको तरल अवस्थालाई राजनीतिक स्वार्थको भर्‍याङ बनाउन खोजेको पनि देखिन्छ ।

यतिबेला, राजनीतिक वृत्तका कतिपय व्यक्ति आफू पानीमाथिको ओबानो बन्न खोजेको पनि देखिन्छ । कैयौँ पटक देशको शासनसत्ताको बागडोर सम्हालिसकेका राजनीतिक व्यक्तित्वबाट वर्तमान सरकारले देशको सीमा बचाउन पहल नगरेको आरोप लगाउने काम भयो ।

राष्ट्रियताका सन्दर्भमा वर्तमान सरकारबाट सही तरिकाले सम्पादन हुन नसकेका कामको सूची लामै होला । तर, आफूले अरूतिर सोझ्याएका राजनीतिक अस्त्र आफूतिर नै सोझिन्छ ।

हिजो उनीहरू सत्तासीन भएका बखत तराईका विभिन्न भागमा सीमा अतिक्रमणका घटना जारी नै थियो । लिपुलेक अतिक्रमणको समस्या ज्युँका त्युँ नै थियो । यस किसिमको समस्या समाधानका लागि आफ्नो तर्पmबाट के कस्ता काम भए ? अरूलाई मात्र दोषी देख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।

यो समय आरोप प्रत्यारोपका लागि होइन । सबै मिलेर देशले भोगको साझा समस्या हल गर्ने बेला हो । अब नेपाल विशेष योजनाका साथ अघि बढ्नुपर्छ । यसका लागि राजनीतिक नेतृत्वको मन सङ्लिनुपर्छ । मति सप्रिनुपर्छ ।

सुस्तालगायतका सीमावर्ती क्षेत्रमा बस्ने नागरिकको मनोबल बढाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ । उनीहरूले भोगिरहेका असज अवस्थालाई सहज बनाउन सरकारले भरमग्दुर प्रयास गर्नुपर्छ । आवश्यक सहजीकरण गर्नुपर्छ ।

अहिले पनि राजनीतिक नेतृत्वले राष्ट्रिय स्वाभिमानका सन्दर्भमा विगतमा प्रदर्शन गरेको हलुका, फितलो र गैरजिम्मेवारपूर्ण व्यवहारका अनेकन प्रसंग पटाक्षेप भइरहेका छन् । अब पनि राजनीतिक नेतृत्वले थप फितलो वातावरण तयार पार्नुहुँदैन ।

अहिले विकसित घटनाक्रमले आफ्ना कुरा भारत समक्ष राख्ने राम्रो अवसर प्राप्त भएको छ । योे उपयुक्त अवसर हो । यसलाई उम्कन नदिन राजनीतिक नेतृत्वले भरमग्दुर प्रयास गर्नैपर्छ । सीमा अतिक्रमणको समाधानका लागि कुनै स्थायी संरचना बनाएर कारबाही अघि बढाउन आवश्यक छ भने पनि त्यस्तो संरचना खडा गर्न पनि सरकार चुक्नुहुँदैन ।

[साभार : लोकसंवाद । २०७६ साल कात्तिक २९ गते ।]

Friday, November 8, 2019

राजनीतिक नेतृत्वले बिर्सिएको राष्ट्रिय स्वाभिमान

-यमबहादुर दुरा

हाम्रा छिमेकी मुलुक भारतले नेपाली भूमि कब्जा गरेको कुरा नयाँ तथ्यझैं आएका छन् । यो कुनै नयाँ तथ्य होइन । कुरा घामजत्तिकै छर्लङ्ग छ, आधा शताब्दीभन्दा लामो भारतले नेपाली भूमिमा बुट बजार्दै आएको छ । तमाम अध्ययन र तथ्यले पुष्टि गरिसकेका छन्, विभिन्न ठाउँमा गरी ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि भारतीय कब्जामा छ । यो स्थापित तथ्य हो ।
ग्राफिक्स् : गुगल

सीमा स्तम्भ हराएका, दशगजा क्षेत्रमा भारतीय पक्षबाट सडक बनाइएका, सीमावर्ती क्षेत्रका नेपालीमाथि भारतीय सुरक्षाबलबाट भएका ज्यादतीका समाचार नियमितजसो आइरन्छन् । यो पनि कुनै नयाँ कुरा होइन । यस्तो लाग्छ, यी कुरा सुन्नका लागि हाम्रा कान अभ्यस्त भइसकेका छन् ।

सुस्तालगायतका सीमावर्ती क्षेत्रका नागरिकले भोगेका तमाम दर्दनाक कथाले स्वाभिमानी नागरिकको शिर झुक्छ । शासनसत्ताको बागडोर सम्हाल्नेहरू यस्ता गम्भीर विषयमा बेखबर देखिन्छन् । थाहा पाएर पनि थाहा नपाएझैं गर्छन् । बेवास्ता गर्छन् । यो पनि अर्को स्थापित तथ्य हो ।

राष्ट्रियताको घाउ चर्केर नागरिक जागेपछि मात्र राजनीतिक नेतृत्वले प्रतिक्रिया दिन्छन् । त्यो पनि समस्या समाधानका लागि होइन, माहोल शान्त पार्नका लागि मात्र । उनीहरूको प्रतिक्रिया 'प्रोएक्टिभ' नभई 'रिएक्टिभ' प्रकृतिको हुन्छ । समस्या समाधानका लागि 'रिएक्टिभ' प्रतिक्रियाको कुनै महत्व छैन । यस्ता विषयमा राजनीतिक नेतृत्व 'प्रोएक्टिभ' भएर अघि बढेमा मात्र राष्ट्रिय स्वाभिमानको रक्षा हुनसक्छ । तर, हाम्रो राजनीतिक नेतृत्वमा यस किसिमको अग्रसरताको अभाव छ ।

राजनीतिक नेतृत्वले एउटा 'रेटोरिक' बेलाबेलामा दोहोर्‍याउँछन्, ‘कालापानी नेपालको हो ।’ ‘पब्लिक कन्जम्सन’ का लागि मात्र दोहोर्‍याइएका 'रेटोरिक' लाई ‘लिप सर्भिस’ को श्रेणीभन्दा माथि राख्न सकिँदैन । भारतको नेतृत्व वर्गसँग आँखामा आँखा जुधाएर तिमीले कब्जा गरेको कालापानीलगायत सम्पूर्ण भूभाग नेपालको हो भन्ने चट्टानी अडान राख्ने आत्माबल राजनीतिक नेतृत्वसँग  देखिँदैन ।

नागरिकको राष्ट्रियताप्रति भावना सडकमा पोखिएपछि मात्र ‘लिप सर्भिस’ दिने राजनीतिक नेतृत्वको आनीबानीमा कुनै परिवर्तन आएको छैन । पञ्चायतकालदेखि लोकतन्त्रकालसम्मका यही परिपाटी कायम छ । यहाँनेर, यो वा त्यो दल वा सरकार भनेर औंल्याउनुको कुनै अर्थ छैन । सबै प्रवृत्ति उही हो ।  राष्ट्रियताबारे दरिलो रूपमा आवाज उठाउन सक्नेमा मनमोहन अधिकारीबारे कुनै पनि प्रधानमन्त्री हालसम्म नभएको बुझाइ बुद्धिजीवी वर्गको छ ।

हिजो सत्ता नहुँदा राष्ट्रिय स्वाभिमानको चर्को कुरा गर्ने बामपन्थी घटकले भारतसँग एक एक पाईको हिसाब चुकाउँछौँ भनेर गाउँशहर घन्काउँदै आएका हुन् । आज त्यही क्रान्तिकारी घटक सत्तासीन छ । समयक्रममा तिनको हैसियत र मनोवृत्ति उद्घाटन हुँदै गएको छ । उनीहरुको कथनी र करनीमा आकाश-जमिनको भिन्नता बढ्दै गएको छ । 

सडकमा नागरिकको रोष उम्लिएको घडीमा देशको सीमा अतिक्रमण असह्य विषय हो भनेर प्रतिक्रया दिने तर त्यसबारे अतिक्रमणकारी शक्तिसँग लेखापढी गर्ने र दाबीविरोध गर्ने दिशामा कहिल्यै अघि नसर्ने । कुरा प्रष्ट छ, उनीहरूको खोक्रो भाषणबाट देशको स्वाभिमान जोगिँदैन ।

देश राजनीतिक कुसंस्कारग्रस्त छ । देशको कर्मचारी संयन्त्र पनि यही कुसंस्कारबाट संक्रमित छ । कालापानीलाई भारतले आफ्नो नक्शामा समावेश गरेको विषयमा नागरिकको रोष उम्लिएपछि पराष्ट्र मन्त्रालयले २०७६ साल कात्तिक २० गते जारी गरेको प्रेस विज्ञप्तिमा छचल्किएको अपरिपक्कपनले यही कुरालाई पुष्टि गर्छ । विज्ञप्तिमा हस्ताक्षरकर्ताको नामै छैन । लाजमर्दो कुरा छ ।

आफ्नो भूमिमाथि जायज दाबी पेश गर्न पनि किन त्यस किसिमको रबैया अपनाइयो ? उदेकलाग्दो अवस्था छ । त्यो विज्ञप्ति नागरिकको आँखामा छारो हाल्नमात्र निकालिएको हो भन्न गाह्रो छैन । राजनीतिक नेतृत्वको अकर्मण्यतालाई कर्मचारीतन्त्रले पनि साथ दिएको छनक मिल्छ ।

यता, नेपालको राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले गाह्रो गरी मुख खोलिरहेको अवस्थामा भारत भने आफ्नो कुरामा टसको मस भएको छैन । प्रत्यक्ष वा परोक्ष रूपमा उसले कालापानीलाई आफ्नै अभिन्न अङ्ग मानिसकेको देखिन्छ । नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतले प्रयोग गरेको कूटनीतिक भाषालाई मनन गर्दा ऊ नेपालको कुरा सुन्ने पक्षमा छैन ।

नेपालले श्रृङ्खलाबद्ध रूपमा प्रदर्शन गर्दै आएको फितलो व्यवहारले भारतको आफ्नो ‘बिग्र ब्रदर’ मनोवृत्तिलाई बल दिएको छ । हाम्रो राजनीतिक नेतृत्व मौन छ । यस्तो अवस्थामा नेपालको कुरा नसुने पनि भएको छ । भारतले हाम्रो लागि किन टाउको दुःखाउन परेको छ र ? यहाँनेर, गणित प्रष्ट छ ।

२०७२ जेठ १ गते  भारत र चीनले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने विषयमा सहमति गरे । कुरा बाहिर आएपछि गाल टार्नका लागि राजनीतिक नेतृत्वले विरोध गरेझैं गर्‍यो । खरो रूपमा प्रस्तुत हुन सकेन । यसबाट पनि भारतको मनोबल बढेकै छ ।

यसपछि नेपाल–भारत तथा नेपाल–चीनबीच कैयौँ पटक उच्चस्तरीय भ्रमण भए । तर, भारत र चीनले  नेपालसँग कुनै परामर्श नै नगरी लिपुलेकलाई व्यापारिक नाकाका बनाउने विषयमा गरेका सहमतिबारे नेपालले आवाजै उठाएन । यसले प्रष्ट पार्छ, हाम्रो राजनीतिक नेतृत्वको गति र मति ।

नेपाली भूमि निरन्तर मिचिइरहँदा बढी बोल्नुपर्ने नेपाल नै हो । भनाइ नै छ, 'जसको ओछ्यानमा भल पस्छ, उसैले सोहोर्छ ।' यस अर्थमा भारतलाई मात्र एकोहोरो दोष दिइरहनु पनि त्यति जायज देखिँदैन । आफ्ना कुरामा हामी कत्तिको सजग र जागरुक छौँ भन्ने कुरा महत्वपूर्ण छ । आफ्नो भूमि मिचिएकोमा अलिकति पनि पीडानुभूति नगर्ने हाम्रो राजनीतिक नेतृत्व यहाँनेर बढी दोषभागी छ । राजनीतिक नेतृत्वको अकर्मण्यता सर्वथा आलोच्य छ ।

अब, हाम्रो राजनीतिक नेतृत्व सुल्टो दिशामा अघि बढ्ने हो भने सीमा अतिक्रमणको सवाललाई रणनीतिकै रुपमा निरन्तर अघि बढाइरहनुपर्छ । आफ्नो कुरा स्पष्टसँग राख्दै भारतसँग पत्राचार गर्नुपर्छ । प्रधानमन्त्रीस्तरमा सीधै कुराकानी गर्ने वातावरण तयार पार्नुपर्छ । यसका लागि नेपालले अहोरात्र कूटनीतिक अभ्यास जारी राख्नुपर्छ । कार्यप्रगतिको निरन्तर फलो अप  उत्तिकै जरुरी छ ।

 छिमेकीसँगको सबैको सम्बन्ध सुमधुर हुनुपर्छ । यसमा भारतले पनि असल छिमेकीको व्यवहार प्रदर्शन गर्नैपर्छ । भारतको बलमिचाइपूर्ण व्यवहारले नेपालमा भारतविरोधी भावना बढ्दो क्रममा देखिन्छ, जुन उसका लागि पनि राम्रो कुरा होइन ।

साभार : लोकसंवाद । २०७६ साल कात्तिक २२ गते ।

Monday, November 4, 2019

सङ्गीतमाथि अङ्कुश

-यमबहादुर दुरा

ग्रीक दार्शनिक प्लेटो (इसापूर्व ४२८—३४८) ले भनेका छन्, ‘सङ्गीतले व्रह्माण्डलाई आत्मा भरिदिन्छ, दिमागमा पखेटा लगाइदिन्छ, कल्पनालाई उडान भर्न सघाउँछ र हरेक चीजलाई जीवन दिन्छ’ । उता, जर्मन दार्शनिक फ्रेडरिक नित्से (सन् १८४४—१९००) ले पनि सङ्गीतलाई उच्च महत्व दिँदै भनेका छन्, ‘सङ्गीतबिनाको जीवन भूल हुने थियो’ ।

मानव जीवनसँग घनिष्ट नाता गाँस्ने सङ्गीत धेरै हिसाबले महत्वपूर्ण छ । सङ्गीत मानव अभिव्यक्तिकोे सशक्त माध्यम बन्दै आएको छ । सङ्गीतमा निहित सही सबल पक्षका कारण सर्वसाधारणदेखि राजनीतिक शक्तिसम्मले यसलाई अभिव्यक्तिकोे भरपर्दो माध्यमको रूपमा उपयोग गर्दै आएका छन् ।

धेरैजसो अवस्थामा साङ्गीतिक अभिव्यक्ति सर्वग्रह्य भए पनि कतिपय अवस्थामा आलोच्य पनि बन्न पुग्छ— कहिले समाजका अगाडि त कहिले राजनीतिक शक्तिका अगाडि । गीत–सङ्गीतले कतिपय अवस्थामा राजनीतिक तथा सामाजिक द्वन्द्व निम्त्याउँछन् ।

धेरैजसो समयमा वाहवाही लुट्न सफल  कतिपय सङ्गीतकर्मी सार्वजनिक आलोचनाका पात्र बन्छन् । कतिपय अवस्थामा त उनीहरू राज्यको नजरमा पनि पर्छन् । यसका असंख्य दृष्टान्त छन् । तिहारको पूर्वसन्ध्यामा युवापुस्ताका केही गायकमाथि भएको धरपकडलाई यस्ता घटनाक्रमको नवीतम् श्रृङ्खलाको रूपमा लिन सकिन्छ ।

यसभन्दा अघि गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ प्रति सत्तारुढ दल निकट भ्रातृसंगठनका कार्यकर्ताहरू आक्रमक देखिए । परिमाणतः गीतको भिडियोलाई यु ट्युबबाट हटाउनु परेको थियो ।

मानव अभिव्यक्तिकोे सशक्त माध्यम मानिएको गीत–सङ्गीत आखिर किन विवादमा पर्छन् ? यसको उत्तर कुनै एउटा कोणबाट खोज्न सम्भव छैन । न त यसको उत्तर कुनै एउटामात्र विषयमा मात्र निहित छ । यसमा देशको राजनीतिक प्रणाली, सामाजिक पद्धति, संस्कृति, अभिव्यक्ति स्वतन्त्रताको स्तर, नागरिकको चेतनास्तर एवम सुझबुझलगायत तमाम विषय जोडिन आइपुग्छन् ।

नेपालमा मात्र होइन, संसारका प्राय सबै मुलुकमा कुनै न कुनै किसिमले सङ्गीत विवादमा पर्छन् । भारतजस्तो ठूलो लोकतन्त्र र अमेरिकाजस्तो उदार भनिएको देशमा पनि सङ्गीतका कतिपय मामिलाहरू विवादास्पद बनेका कैयौँ उदाहरण छन् ।

बलिउडका थुप्रै गीत भारतीय राष्ट्रिय प्रसारण संस्था अल इन्डिया रेडियोबाट प्रसारण गर्न अनुमति दिइएका छैनन् । अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती मानिने अमेरिकाका कतिपय टेलिभिजन च्यानलले म्युजिक भिडियोलाई प्रतिबन्ध लगाएका दृष्टान्त छन् । दुनियाँको उदार साझा प्ल्याटपर्म मानिएको यु ट्युबले पनि थुप्रै म्युजिक भिडियोलाई हटाएको अनेकन् दृष्टान्त छन् । यसबारे अदालतमा थुप्रै मुद्दा छन् ।

हिंसा र घृणा फैलाउने किसिमका गीत–सङ्गीत सामान्यतया सबैतिर आलोच्य पाइन्छ । साथै, व्यवस्था तथा सत्ताविरोधी गीत–सङ्गीत पनि राज्यको राज्यको दृष्टिमा आलोच्य श्रेणीमा पर्छन् । गीत–सङ्गीतमार्फत प्रवाह हुने हिंसा र घृणा कुनै पनि समाजमा स्वीकार्य हुँदैन ।

गीत–सङ्गीत विवादमा पर्ने अर्को कारण अश्लीलता । यो प्रसंगचाहिँ धेरै हदसम्म विवादस्पद छ । श्लीलता र अश्लीलताबीच लक्ष्मणरेखा कोर्न कठिन छ । श्लीलता र अश्लीलताको समाजसापेक्ष र समयसापेक्ष हुन्छ ।

पूर्वीय दृष्टिले हेर्दा पश्चिमा मुलुकमा बनेका कतिपय म्युजिक भिडियो हाम्रा देशमा बन्ने म्युजिक भिडियोभन्दा कैयौँ गुना अश्लील देखिन्छन् । त्यस्ता म्युजिक भिडियोलाई त्यहाँको समाजले सजिलै पचाएको देखिन्छ । तर, परम्परावादी समाजमा तीभन्दा कम अश्लील भिडियो पनि पूरा अश्लील ठहरिन्छन्, जसले सार्वजनिक आलोचना निम्त्याउँछन् ।

नेपालमा निर्मित म्युजिक भिडियो भन्दा कैयौ गुणा अश्लील र हिंस्रक भिडियोको  एउटा दृष्टान्तको रूपमा बेलायती साङ्गीतिक ब्याण्ड 'द प्रोडिजी' को म्युजिक भिडियो ‘स्म्याक माई बिच अप’ लाई लिन सकिन्छ । यसमा महिला शरीरको अश्लीलता र हिंसाको प्रयोग उत्कर्ष देखिन्छ । १९९७ मा निस्किएको यो भिडियो एमटीभीमा प्रसारण भयो । त्यसपछि यो भिडियो विवादको घेरमा पर्‍यो । मनोरञ्जनको नाममा महिला हिंसालाई प्रश्रय दिएको भन्दै महिला अधिकारवादीहरू प्रदर्शनमा उत्रिए ।

गीत–सङ्गीत राजनीतिक सञ्चारको गतिलो माध्यम मानिन्छ । नेपालका कम्युनिष्ट पार्टीहरूले विगतमा गीत–सङ्गीतमार्पmत् आमनागरिकमा राजनीतिक सञ्चार गरे । उनीहरूले गीत–सङ्गीतको माध्यमबाट पञ्चायतको चर्को विरोधमात्र गरेनन्, आफ्ना पक्षमा जनमत पनि जुटाए ।

त्यही समयमा देशको एकमात्र प्रसारण संस्था रेडियो नेपालले प्रगतिशील तथा सत्ताविरोधी गीतलाई प्रसारणको अनुमति दिएन । गायक प्रचण्डबहादुर बुढाथोकी मगर (वि.सं. १९९९—२०७६) लगायतका थुप्रै प्रगतिशील धारका कलाकारहरूले राजनीतिक आग्रह–पूर्वाग्रहबाट आफ्ना गीत रेडियो नेपालमा अयोग्य ठहरिएको गुनासो गर्दै आएका थिए ।

नेपालजस्तो सांस्कृतिक विविधता भएको मुलुकमा कतिपय गीत सांस्कृतिक कारणले पनि विवादमा पर्छन् । खेम गुरुङ (वि.सं. २०३१—२०७३) को चर्चित गीत ‘एकादशी बजारैमा...’ रहेको एउटा हरफ ‘पोडे होला, चमार होला तिम्रै माया लाग्छ’ ले दलित समुदायलाई होच्याएको आरोप लाग्यो ।

गीतको व्यापक विरोध भयो । बदलिँदो परिस्थितिमा उचित शब्दचयन नहुँदा गीतले विवाद निम्त्याउनु स्वाभाविकै थियो । पछि त्यही गीतको परिमार्जित संस्करण निस्कियो । विवाद सामसुम भयो ।

नेपालमा विवादस्पद ठहरिएका गीत–सङ्गीत मूलतः दुईटा शक्तिको कोपभाजनमा परेको पाइन्छ । पहिलो, राजनीतिक शक्ति । दोस्रो, सामाजिक शक्ति । नेपालको साङ्गीतिक इतिहासमा यस्ता दृष्टान्त भेटिन्छन् । पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ र खेम गुरुङ ‘एकादशी बजारैमा...’ ले क्रमशः राजनीतिक शक्ति र सामाजिक शक्तिका कारण बाटो बदल्न बाध्य भएको प्रष्ट इतिहास छ ।

तर, विकसित मुलुकमा सामाजिक शक्तिसहित गैरराजनीतिक शक्तिले विवादास्पद गीत–सङ्गीत मार्गनिर्देश गरेको देखिन्छ । अमेरिकामा सरकारले सङ्गीतकर्मीमाथि सीधा हस्तक्षेप गरेको पाइँदैन । त्यहाँ सरकारले भन्दा पनि टेलिभिजन च्यानलले आफूहरूलाई आपत्तिजनक लागेका गीत वा भिडियोहरूलाई प्रतिबन्ध लगाउँछन् । अर्थात् उनीहरूले त्यस्ता सामग्रीलाई प्रसारण गर्दैनन् ।

सार्वजनिक मर्यादा सबैले पालना गर्नुपर्ने हुन्छ । गीत–सङ्गीतका सर्जकले पनि यो ख्याल गर्नुपर्ने कुरा हो । हरेक सर्जकले आफ्नो सङ्गीत सिर्जना सामाजिक मर्यादाको कसीमा सही छ भन्नेमा आफैं सहमत हुनुपर्छ । चर्चा बटुल्ने नाममा गरिने अपाच्य यत्न–प्रयत्न कतिपय अवस्थामा जायज नहुन सक्छ ।

राज्यले डण्डा लगाएर सङ्गीतकर्मीलाई तह लगाउनुभन्दा पनि सर्जक स्वयम् संयमित र सन्तुलित हुनु राम्रो हो । राज्यले सङ्गीत सर्जकलाई नियन्त्रण गर्नु अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका दृष्टिले पनि बाञ्छनीय ठहरिँदैन ।

यद्यपि, राज्य नियन्त्रणकारी शक्ति भएकाले बेलाबखतमा उसको सही चरित्र उदघाटन भइरहन्छ । राज्यले आफ्नो नियन्त्रणकारी धर्म निर्वाह गर्नुलाई कतिपय अवस्थामा नाजाजय भन्न पनि कठिन छ ।

समाज हरपल जटिल बन्दै गएको छ । यस्तो अवस्थामा गीत–सङ्गीतले कायम गर्नुपर्ने सामाजिक मर्यादा, अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक मर्यादाबीच सन्तुलन कायम गर्न सहज छैन । तर, यसका लागि सचेत प्रयत्न गर्नु सङ्गीतकर्मीलगायत हरेक व्यक्तिको अहम् जिम्मेवारी हुन आउँछ ।

[साभार: लोकसंवाद । २०७६ साल कात्तिक १५ गते ।]

Saturday, October 26, 2019

जनकपुर डायरी : ‘रामायण सर्किट’ देखि सांस्कृतिक सम्पदासम्म

-यमबहादुर दुरा

जनकपुरधाम — प्रस्तावित ‘रामायण सर्किट’ ले जोडिएको नेपालको गौरवयोग्य धार्मिक स्थल । रहस्यले भरिएको आध्यात्मिक पर्यटन केन्द्र । पुरातात्विक महत्वले भरिपूर्ण गन्तव्य । प्रदेश नं. २ को अस्थायी राजधानी ।

यस्ता थुप्रै सुन्दर विशेषताले भरिपूर्ण शहर जनकपुरधामको भ्रमण गर्ने अवसर जुरेको थियो, असोज महिना निख्रिँदै गर्दा । आध्यात्मिक ग्रन्थ ‘रामायण’ वर्णित थुप्रै प्रसंगहरूको साक्षी बन्न पाइने यो थलो आध्यात्मिक, पौराणिक तथा पुरातात्विक दृष्टिले अर्थपूर्ण छ । हस्तरेखाझैं  फैलिएका यहाँका अनगिन्ती गन्तव्य र तिनले बुनेका पौराणिक कथाले हरेक जिज्ञासु मनलाई उद्धेलित तुल्याउँछ ।

प्रसिद्ध जानकी मन्दिर, सुन्दर तलाउ, कुटीजस्ता सांस्कृतिक सम्पदामा आँखा डुलाउँदा गौरवानुभूति हुन्छ । सँगसँगै प्राचीन वैभवबारे अनेकन् जिज्ञासा मनमा तँछाडमछाड आउँछन् । गङ्गासागरमा हुने सन्ध्याकालीन आरतीले त मनमा शान्ति र सकारात्मक सोचका तरङगहरू ल्याउँछन् ।

यति हुँदाहुँदै पनि कतिपय कुराले मनलाई नमीठो पाररै छाड्छ । जस्तै : यहाँका सडक अव्यवस्थित देखिन्छन् । कतिपय सडक पूर्ववत रूपमा साँगुरा छन् । ठाउँ ठाउँमा सडक विस्तार योजना अघि बढेको देखिन्छ । कतिपय सडक विस्तारको अलपत्र अवस्थामा छन् । सडक छेउछाउमा फोहरका डङ्गुर भेटिन्छन् । ल्याण्डफिल साइटको अभावमा यस्तो अवस्था आएको स्थानीय भुक्तभोगीहरूको भनाइ छ ।

जनकपुरधाम पोखरीका दृष्टिले पनि चर्चित छ । त्यहाँका पोखरीको अवस्था पनि नाजुक छ । ऐतिहासिक अभिलेखहरूमा वर्णन भए अनुसार जनकपुरमा ऐतिहासिक तथा पौराणिक महत्वका ७२ वटा पोखरी छन् । बिहार कुण्ड, अग्नि कुण्ड, रत्नसागर, सूर्य कुण्ड, गङ्गासागर, धनुषसागर, दशरथ तलाउ, परशुराम कुण्ड, जनक सरोवर आदि जनकपुरधाममा रहेका पोखरी हुन् ।

गंगासागरलगायत केही पोखरीको सरसफाइ र जीर्णोद्धार गरिए पनि केही पोखरी फोहर फाल्ने थलो बनेको पाइन्छ । कतिपय साना पोखरीमा पुरिएर निजी घर ठडिएका प्रसंग जनकपुरधामवासीहरू सुनाउँछन् । यो क्रम बढ्दो रहेको उनीहरूको बुझाइ छ । माछा उत्पादनको स्रोत, जलवायुको अनुकूलन एवम् मनोविनोदमा महत्वपूर्ण भूमिका खेल्ने यस्ता पोखरीहरूको खोजी, सरसफाइ र जीर्णोद्धार त्यहाँको ‘टप अजेण्डा’ मा पर्नैपर्छ ।

नेपाल र भारतबीच विद्यमान भूराजीतिक अवस्था तथा सांस्कृतिक सम्बन्धबाट सिर्जित परिस्थिति जनकपुरको अर्को अजेण्डा हो । नेपाली न्यारेटिभमा जनकपुर सीताको जन्मथलो हो तर छिमेकी मुलुक भारतको न्यारेटिभमा बिहारको सीतामडी सीताको जन्मथलो हो । लामो कालखण्डा पार गरिसकेको बृहत मिथिला सभ्यतामा पौराणिक प्रसंगहरू के कसरी छिरल्लिएका छन्, यकिन गर्न गाह्रो छ ।

जसले जे भने पनि मार्केटिङको जमाना हो । वास्तविकता जे भए पनि मार्केटिङले कुरा फरक पार्छ । भारतले बिहारको सीतामडीलाई सीताको जन्मस्थानको रूपमा प्रचार–पसार गरिरहेको छ । नेपालले जनकपुरलाई साँचो अर्थमा चम्काउन चाहेको हो भने भारतीय न्यारेटिभलाई प्रतिवाद गर्ने गरी रणनीति अघि सार्नुपर्छ ।

नेपालले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थान मानिरहेकै बेला भारतले आफ्नो भूमिलाई गौतम बुद्धको जन्मस्थान भनेर प्रचार गरिरहेको तथ्य छिपेको छैन । यसबारे सङ्घीय सरकार र प्रदेश सरकारले केही सोचेकै होलान् । यहाँनेर कसको मार्केटिङले जित्ने भन्ने कुरा महत्वपूर्ण छ ।

यही मेहरोमा ‘रामायण सर्किट’ को प्रसंग उठाउनु पनि सान्दर्भिक हुन आउँछ । २०७५ साल वैशाख २५ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्त रूपमा उदघाटन भएको ‘रामायण सर्किट’ कहाँ पुग्यो ? जनकपुरको आध्यात्मिक पर्यटन चम्काउन यस किसिमको अवधारणाले राम्रो भूमिका खेल्छ । तर, यसको प्रगतिबारे प्रेसले निरन्तर खोजखबर गर्न आवश्यक देखिन्छ ।

त्रेता युगमा राम र सीताले यात्रा गरेको रुटलाई ‘रामायण सर्किट’ भन्ने गरिएको छ । स्थानीय अखबार ‘जनकपुर टुडे’ का अनुसार ६ सय ५० किलोमिटर लामो यस सर्किटले भारतको उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर, चित्रकुट, नेपालको जनकपुर, बिहारको सीतामढी, बक्सर र दरभङ्गा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलङ्गानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई जोडछ ।

जनकपुरको माछा नेपालमै प्रख्यात छ । त्यहाँ स्वादिष्ट माछा पाइन्छन् भन्ने भनाइ छ । तर, रैथाने  प्रकृतिका स्वादिष्ट माछा जनकपुरमै अभाव रहेको स्थानीयहरूको भनाइ छ । त्यहाँका तलाउ र जलस्रोतको बढ्दो अतिक्रमण र प्रदूषणले यस्तो अवस्था आएको देखिन्छ ।

जनकपुरधाममा रहँदा सङ्घीय राजधानीका र तराईका मिडियाको 'टोन' मा फरकपन भेटियो । राजधानीका मिडिया र तराई मिडियामा भारतलाई हेर्ने दृष्टिकोणमा भिन्नता पाइयो । राजधानीका मिडियाले तराईमा हरेक वर्ष हुने डुबानमा भारतलाई जिम्मेवार देख्छ । तर, तराईका कतिपय पत्रकार सीधै भारतलाई दोष दिने पक्षमा छैनन् । तराईमा कार्यरत कतिपय पत्रकारका दृष्टिमा राजधानीका मिडियाले तराइको वास्तविकता नबुझेकाले भारतलाई बढी दोष दिएका हुन् ।

एउटा संयोग के पर्‍यो भने त्यही समयमा मधेशमा आयोजित नेपाल–भारत मैत्री संघको एक कार्यक्रममा एकजना भारतीय सांसदले नेपाली समुदायले नेपालमा हुने डुबानमा भारत जिम्मेवार ठान्ने गरेको र भारतीयमा भारतमा हुने बाढीमा नेपाल जिम्मेवार रहेको परस्पर विरोधाभाषपूर्ण बुझाइ रहेको विचार व्यक्त गरेको समाचार स्थानीय अखबारमा छापिएको थियो । ती सांसदले यी दुवैथरी बुझाइलाई सच्याएर नेपाल र भारतले एकअर्काको साझा समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

पृष्ठभूमिमा यति धेरै तर्क–वितर्क चल्दाचल्दै पनि नेपालतर्फ हुने डुबानमा नेपाल नै जिम्मेवार छ भन्ने दलिलमा सहमति जनाउने ठाउँ देखिँदैन । सीमावर्ती क्षेत्रमा भारतद्वारा एकपक्षीय रूपमा निर्मित बाँध र सडकलाई हेर्दा नेपालतिर आक्षेपको सुई सोझ्याउनु तर्कसंगत देखिँदैन  ।

सङ्घीय नेपालमा भाषिक मामिलाले बेलाबखतमा स्थान पाउँछ । गएको जेठमा प्रदेश नं. २ मा भाषिक मामिला चर्किएको थियो । प्रदेश सरकारले हिन्दीलाई सम्पर्क भाषा बनाउने प्रस्ताव ल्याएपछि त्यहाँ हङ्गमा मच्चिएको थियो । यहाँनेर मुख्यमन्त्री लालबाबु राउतको प्रसंग पनि जोडिन्छ । उहाँको हिन्दीमोहलाई धेरै आश्चर्यको दृष्टिले हेर्छन् । उहाँको मातृभाषा भोजपुरी हो । तर, भोजपुरीप्रति उहाँको मोह देखिँदैन ।

त्यहाँका भाषिक परिदृश्यलाई हेर्दा पनि हिन्दी अग्रस्थानमा आउँदैन । आँकडालाई नियाल्ने हो भने  प्रदेश नं. २ मा मैथिली, भोजपुरी, बज्जिका र नेपाली क्रमशः ४५.३० प्रतिशत, १८.५८ प्रतिशत, १४.७ र ६.६७ प्रतिशत नागरिकले बोल्छन् । समग्रमा भन्दा मैथिली र भोजपुरी नै त्यहाँका मूल भाषा हुन् । भोजपुरी र मैथिली भाषीले एक अर्काले बुझ्ने भएकाले हिन्दीलाई सम्पर्क भाषा बनाउनुको तुक नरहेको विपक्षी दलको तर्क थियो । भाषिक मामिलालाई कसरी सल्टाउने भन्नेबारे जिम्मेवारीपूर्ण सुझबुझ आवश्यक छ ।

प्रदेश नं. २ मा सत्तापक्ष र प्रतिपक्षबीचको ‘केमिस्ट्री’ पनि रोचक नै देखिन्छ । जनकपुरधाममा भेटिएका पत्रकारहरूका अवलोकनमा त्यहाँ सत्तापक्ष र प्रतिपक्षबीच एकअर्कामा वैरभाव छैन । प्रदेशको चौतर्फी विकासका लागि यस्तो ‘केमिस्ट्री’ बनेको हो भने त्यो उदाहरणीय मित्रता हो । अरू विषयमा मिलभगत र एकता हो भने कुरा अर्कै हो ।

यी तमाम विषयका अतिरिक्त जनकपुरको ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धन एकदमै महत्वपूर्ण सवाल हो । जनकपुरलाई घच्चीको आध्यात्मिक केन्द्र बनाउन सकेमा सबैको हित हुने कुरा निर्विवाद छ । जनकपुरलाई चम्काउन सकेमा सङ्घीय सरकार र प्रदेश सरकारको शिर ठाडो हुन्छ । अनि हामी सबै गौरवभागी हुन्छौँ नै ।

साभार : लोकसंवाद । २०७६ साल कात्तिक ८ गते ।

Saturday, October 19, 2019

चिनौँ लोकसाहित्य

-यमबहादुर दुरा

साहित्य, कला र सङ्गीत मानव जीवनलाई रसिलो र भरिलो बनाउने अभौतिक तत्व हुन् । मानव जीवनको यिनको आवश्यकता अन्न–पानीजस्ता जत्तिकै अपरिहार्य छ । साक्षर होस् वा निरक्षर, सबैका लागि साहित्य, कला र सङ्गीत प्रिय विषय हुन् । सबैजना यिनीहरूको वशमा पर्छन् । यिनीहरूको चामत्कारिक उपस्थितिप्रति नतमस्तक हुन्छन् ।

लोकसाहित्य एउटा यस्तै विषय हो । यसमा साहित्य, कला र सङ्गीतका सबै तत्व समाविष्ट छन् । लोकसाहित्य मौखिक साहित्य हो, जुन लिखित वा परिष्कृत साहित्यको पूर्वरूप मानिन्छ । लोकसाहित्यलाई अंग्रेजीमा ‘फोकलोर’ वा ‘फोक लिटरेचर’ भन्ने गरिन्छ । यसलाई नेपालीमा लोकवार्ता पनि भन्ने गरिएको पाइन्छ ।

दुनियाँमा साक्षर परम्पराको विकाससँगै लिखित साहित्यको विकास भएको हो । लिखित साहित्यको आगमन भएको पनि हजारौं वर्ष भइसकेको छ । अहिले लिखित साहित्यको दरिलो उपस्थिति छ । यति हुँदाहुँदै पनि लोकसाहित्यको महत्व र गरिमा हराएको छैन । सुमधुर वाग्धारा र उच्चतम् कल्पनाशीलतालाई लोकसाहित्यको सबल पक्षको रूपमा लिइन्छन् ।

अनलाइन इन्साक्लोपिडिया ‘ब्रिटानिका’ का अनुसार इसापूर्व ४ हजार वर्षअघि सबै साहित्य मौखिक थिए । सोही इन्साक्लोपिडियालाई आधार मान्दा इसापूर्व ४ हजार र ३ हजारबीच इजिप्ट र मेसोपोटामियामा लेख्य परम्पराको विकास भयो । त्यस समयदेखि लिखित साहित्यको उदय भयो  । इजिप्ट र मेसोपोटामियामा शुरु भएको लेख्य परम्परा एशिया, उत्तर अफ्रिका, भूमध्यरेखीय क्षेत्र हुँदै संसारभर फैलियो । यद्यपि, लिखित साहित्य कहिलेदेखि शुरु भयो भन्नेबारे कालक्रमगत मतभिन्नताहरू छन् ।

लोकसाहित्यलाई कसरी परिभाषित गर्ने ? संक्षेपमा भन्ने हो भने एउटा पुस्ताबाट अर्को पुस्तामा मुखैमुख सर्दै आएको मौखिक साहित्यिक परम्परा नै लोकसाहित्य हो । डा. रामनाथ ओझा र मसूधन गिरीद्वारा लिखित पुस्तक ‘लोकसाहित्य, पूर्वआधुनिक नेपाली साहित्य र आधुनिक नेपाली निबन्ध’ नामक पुस्तकमा लोकसाहित्यलाई यसरी परिभाषित गरिएको छ : ‘मानव सभ्यताको इतिहासमा अभिव्यक्तिको प्रथम सोपानका रूपमा जन्मेका जेठो साहित्य नै लोकसाहित्य हो । आदिम अपठित मानवको सहज, स्वाभाविक र अकृत्रिम साहित्य नै लोकसाहित्य हो’ (पृ.१) ।

यसैगरी, डा. मोलीलाल पराजुलीले  आफ्नो कृति ‘सोरठी नृत्यनाटिका सैद्धान्तिक अध्ययन’ मा लोकसाहित्यलाई यसरी अथ्र्‍याउनुभएको छ : ‘लोकजीवनका अस्था, विश्वास, व्यवहार, चिन्तन र अनुभूतिलाई कल्पनाको आवरण दिएर रोमाञ्चक तत्वहरूको मिश्रण गरी लोकसमुदायद्वारा रचना गरिएको मौखिक साहित्य नै लोकसाहित्य हो । लोकसाहित्य समुदायद्वारा रचना गरिन्छ र लोकसमुदायमै प्रचलनमा रहेको हुन्छ’ (पृ.४०) ।

कतै कतै लोकसाहित्य र जनसाहित्य पनि भन्ने गरिएको पाइन्छ । दुवैलाई एउटै अर्थमा लिने गरिएको पाइन्छ । तर, विशेषज्ञहरू यी दुई शब्दमा भिन्नता देख्छन् । यस सन्दर्भमा ‘नेपाली साहित्य र संस्कृतिका केही पाटाहरू’ नामक पुस्तकमा डा. रविलाल अधिकारीको भनाइलाई उध्रृत गर्दै मनोहर लामिछाने लेख्नुहुन्छ : जनसाहित्य र लोकसाहित्यका बीचमा स्पष्ट रेखा खिच्न कठिन भए पनि यति कुरा स्पष्ट भन्न सकिन्छ – जनसाहित्य औधोगिक क्रान्तिबाट उत्पन्न समाजव्यवस्थाका भूमिमा प्रवेश गरेका सामान्य जनको साहित्य हो र यो व्यक्तिविशेषको रचना हो तर लोकसाहित्य जनताका निमित्त जनताद्वारा नै रचित साहित्य हो (पृ.४) ।


लोकसाहित्यका अनेकन् आयाम र पक्षहरू छन्, जुन आफैंमा एउटा विशाल संसार हो । उखान–टुक्का, गाउँखाने कथा, तन्त्रमन्त्र, श्लोक, लोकगीत, लोकपद्य, सवाई, मिथक, लोककथा (आहान), लोकनाटक, लोकगाथा, विश्वास प्रणाली आदि लोकसाहित्यमा पर्छन् । लोकसाहित्यको लोकसंस्कृतिसँग बलियो नाता हुन्छ । लोकसाहित्य र लोकसंस्कृति शरीर जोडिएका सन्तानजस्तै हुन् ।

हेर्दा स्वच्छन्दझैं लागे पनि लोकसाहित्यका आफ्नै किसिमका विधिविधान छन् । उदाहरणका लागि आहान (कथा) सुत्ने बेलामा भनिन्छ, दिनमा भनिँदैन । बेलुकीको खाना खाइसकेपछि अगेनाको वरिपरि भेला भइन्छ । सामान्यतया घरका बृद्ध व्यक्तिले आहान भन्ने गर्छन् । दिनमा आहान भन्न हुँदैन भन्ने मान्यता छ । जानकारहरूका अनुसार यस मान्यतामा लुकेको रहस्य के हो भने दिनमा आहान भनिदिँदा मानिसले कामकाज छाडेर आहान सुन्न थाल्छन् । यसबाट कामकाजमा बाधा पुग्छ । यही मान्यता अनुुुुसार दिनमा आहान भन्न हुँदैन भनिएको हो ।

लोकसाहित्यका अरू पनि यस्ता अलिखित विधिविधान छन् ।  कतिपय मन्त्र वा श्लोक निश्चित समयमा मात्र उच्चारण गरिन्छ । दुवाली छेक्ने बेलामा उच्चारण गरिने श्लोक अरू बेला भनिँदैन । कुनै गीत निश्चित ऋतुमा मात्र गाइन्छ । मालसिरी गीत दशैंँमा मात्र गाइन्छ । मूलतः गण्डकी भेगमा प्रचलित सती घाटु वैशाख कृष्णपक्षदेखि शुक्लपक्षको अवधिमा मात्र नचाइन्छ ।

लोकसाहित्य मूलतः अपठितहरूको साहित्य हो । यसो भन्दैमा यसका विषयवस्तु सामान्य र हल्काफुल्का भन्ने कदापि होइन । लोकसाहित्यमा अभिव्यक्त जीवन–दर्शन, लोकभावना र मर्महरू भयानक गहिरा र गहन् हुन्छन् । यसमा सत्यम्, शिवम्, सुन्दरम् छचल्किएका हुन्छन्, जसप्रति पठित र सुसंस्कृत भनिएका मानिसहरू पनि चकित हुन्छन् ।

 यिनै गहतम् पक्षको रहस्योद्घाटनका लागि कहलिएका विद्वानहरूले लोकसाहित्य अध्ययनको विशाल फाँटको विचरणमा सिङ्गो जीवन अर्पिएका हुन्छन् । तर पनि उनीहरूले लोकसाहित्यको पूरापुर विचरण गर्न भ्याएका हुँदैनन् । यो गहन र व्यापक विषय हो ।

लोकसाहित्य ज्ञान र विवेकको भण्डार हो, जसले बालबालिकाको शिक्षादीक्षामा रचनात्मक भूमिका खेल्छ । यसले बालबालिकामा विद्यमान कल्पनाशीलताको दायरा अझ फराकिलो पारिदिन्छ । मानिस जति कल्पनाशील हुन्छ, त्यति नै नयाँ नयाँ विषयवस्तुको खोजअनुसन्धान गर्ने र आविष्कार गर्ने काम गर्छ । बालबालिकामा कल्पनाशीलता विकास हुँदा उसले जीवनमा धेरै प्रगति गर्न सक्छ ।

दन्त्यकथाले बालबालिकालाई नैतिक र आध्यात्मिक चेतना दिन्छ । यसले बौद्धिकस्तर उकास्न पनि सहयोग गर्छ । यहाँनेर, सापेक्षतावाद सिद्धान्तका प्रतिपादक विख्यात भौतिकशास्त्री अल्वर्ट आइन्सटाइनको भनाइ सान्दर्भिक हुन आउँछ । उनले एक प्रसंगमा भनेका छन्, ‘यदि तिमी तिम्रो बच्चालाई बुद्धिमान बनाउन चाहन्छौ भने उनलाई परीकथा पढ्न देऊ । उनलाई अझ बुद्धिमान बनाउन चाहन्छौ भने अझ बढी परिकथा पढ्न देऊ ।’

लोकसाहित्यले बालबालिकालाई कल्पनाशील बन्नमात्र सघाउँदैन, मौलिक संस्कृतिसँग परिचित पनि बनाउँछ । केटाकेटीले बाजे–बज्यैको काखमा बसेर लोकजीवनसँग गाँसिएका पुराना प्रसंग सुन्न पाउँदा उनीहरू लोकसाहित्य र लोसंस्कृतिका आयामहरूसँग परिचित हुन्छन् । नयाँ पुस्ताले यस्ता कुरा सुन्न पाउनु भनेको लोकसाहित्य र लोसंस्कृतिले प्रत्यक्ष वा परोक्ष रूपमा निरन्तरता पाउनु पनि हो ।

बाजेबज्यैको काखमा बसेर केटाकेटीले रसिला र तिलस्मी प्रकृतिका कथा सुन्ने परम्परा पनि लोकसाहित्यकै अभिन्न हिस्सा हो । तर, अहिले टेलिभिजन र यु ट्युबमा आउने कार्टुन र अन्य मनोरञ्नात्मक कार्यक्रमले बाजेबाजैको काखबाट नातिनातिनालाई खोसिसकेको छ । यससँगै परम्परागत शैलीमा कथा भन्ने र सुन्ने परम्परा लगभग अन्त्य भइसकेको छ ।

लोकसाहित्यमा बालसाहित्यको तत्व पर्याप्त भेटिन्छन् । ‘आउ निदरी आउ...’ जस्ता लोरी तथा बालबालिका लक्षित अनेकन् प्रेरणदायी आहानलाई ज्वलन्त दृष्टान्तको रूपमा लिन सकिन्छ । अर्कोतिर, लोकसाहित्य लिखित साहित्यको माउ हो । लिखित साहित्य लोकसाहित्यबाट धेरै हदसम्म प्रभावित छन् । साहित्यिक बजारमा भेटिने थुप्रै कृति लोकसाहित्यबाट प्रेरित छन्, जसका विवरण निकै लामो छ ।

इतिहासशिरोमणि बाबुराम आचार्यको भनाइमा काठमाडौंको काँठमा रोपाइँमा रसिया गीतमा जुवारी खेल्ने ठिटाठिटीहरू नै मोतीरामका काव्यगुरु हुन्। यिनको लोकगीत सुनेपछि नै नेपाली भाषामा राम्रा गजल लेख्न सकिन्छ भन्ने चेत मोतीरामलाई खुलेको बुझिन्छ (पदमसिंह कार्की, नेपाली साहित्यका ज्योति, अन्नपूर्ण पोष्ट, भदौ १४, २०७६) ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनमदन’ लोकलयमा आधरित छ ।  साङ्गीतिक बजारमा हिट भएका कतिपय आधुनिक तथा पप गीत पनि लोकगीतबाट प्रभावित छ । हामीले अनुभूत गर्न सक्ने हो भने आधुनिक युगमा पनि लोकसाहित्यको पर्याप्त प्रभाव पाइन्छ ।

नेपालमा लोकसाहित्यप्रतिको सचेतना कमजोर लेखिन्छ । पश्चिमी गोलार्द्धमा लोकसाहित्यप्रतिको सचेतना उच्च छ । त्यहाँ लोकसाहित्यले उच्च सम्मान पाएको छ । युरोपमा लोकसाहित्यको सङ्कलन, अन्वेषण तथा अध्ययनको परम्परा दुई सय वर्षभन्दा पुरानो देखिन्छ । त्यहाँ लोकसाहित्यसम्बन्धी अनेकन् शोधग्रन्थ तथा श्रव्यदृश्य सामग्री भेटिन्छन् ।

नेपालमा लोकसाहित्यको खोज–अनुसन्धानको इतिहास त्यति लामो देखिँदैन । यसको समयरेखा किटेरै भन्न नसकिए पनि केहीले २००७ सालको राजनीतिक परिवर्तनपछि लोकसाहित्यको खोज–अध्ययन शुरु भएको पाइन्छ । तर, धेरैजसो अध्ययनचाहिँ नेपालमा विश्वविद्यालय खुलेपछि शुरु भएको देखिन्छ । अहिले कतिपय विश्वविद्यालय पूर्ण वा आंशिक पेपरको रूपमा लोकसाहित्यको अध्ययन भएका छन् । सगम्रमा भन्दा नेपालमा लोकसाहित्य अत्यन्तै कम दिलचस्पी भएको विषयको रूपमा देखापरेको छ, जुन विडम्बनाको विषय हो ।

सत्यमोहन जोशी, चूडामणि बन्धु, हंसपुरे सुवेदी, धर्मराज थापा, पूर्णप्रकाश नेपाल ‘यात्री’, तुलसी दिवस, कालीभक्त पन्त, देवीप्रसाद वनवासी, रत्नाकर देवकोटा, जीवेन्द्रदेव गिरी, कृष्णप्रसाद पराजुली, डा. मोतीलाल पराजुली, डा. रविलाल अधिकारी, डा. शम्भुप्रसाद कोइराला आदिले नेपाली लोकसाहित्यको फाँटमा अतुलनीय योगदान दिनुभएको छ ।

भारतमा पण्डित रामनरेश त्रिपाठी, राहुल सांकृत्यायन, देवेन्द्र सत्यार्थी, सत्येन्द्र, कृष्णदेव उपाध्याय, पीयुष दहिया, एके रामानुजन, विजयदान देथा, सत्यव्रत सिंह, आशुतोष भट्टाचार्यजस्ता विद्वानहरूले लोकसाहित्यको खोजअनुसन्धान गहकिलो योगदान दिएको छन् ।

विश्वमा लोकसाहित्यसम्बन्धी अनेकन् संस्थाहरू छन् । जस्तै : इन्टरनेसनल काउन्सिल अफ अर्गानाइजेसन्स् अफ फोकलोर फेस्टिभल्स् एण्ड आर्टस्, द फोरलोर सोसाइटी (बेलायत), अमेरिकन फोरलोर सोसाइटी आदि । भारतमा पनि लोकसाहित्यसम्बन्धी धेरै संस्था छन् । उदाहरणका लागि भारतीय लोककला मण्डल (उदयपुर), नेसनल फोकलोर सपोर्ट सेन्टर (चेन्नई), मैथिली लोकसाहित्य परिषद (कोलकता), लोकरंग सांस्कृतिक समिति (रायगढ), पश्चिम बंगगण सांस्कृतिक परिषद कोलकता) आदि भारत स्थापित लोकसाहित्यसम्बन्धी संस्था हुन् । नेपालमा पनि लोकवार्ता तथा संस्कृति समाज, नेपाल फोकलोर सोसाइटी जस्ता संस्था अस्तित्वमा छन् ।

हरेक वर्षको अगष्ट २२ तारिखमा विश्व लोकसाहित्य दिवस मनाइन्छ । सन् १८४६ देखि नै लोकसाहित्य दिवस मनाइएको पाइन्छ तर नेपालमा भने यो दिवस राष्ट्रियस्तरमा मनाइएको पाइँदैन । नेपालमा पनि लोकसाहित्य दिवस मनाइनुपर्छ । परम्परागत भेषभूषामा उपस्थित भएर लोकसाहित्यसम्बन्धी विविध गतिविधिमा सहभागी गरिनुपर्छ ।

यस्ता गतिविधिमा नयाँ पुस्तालाई सक्दो सहभागी गराउनुपर्छ यसो गर्न सके लोकसाहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुग्छ । लोकसाहित्यलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।  यसमा राज्य र नागरिक दुवैको ध्यान जान आवश्यक छ ।

लोकसाहित्यमा हाम्रो भाषा, परम्परागत ज्ञान, बौद्धिक परम्परा, जीवन–दर्शन, इतिहास र जीवनशैलीका तमाम आयाम र पाटाहरू समेटिन्छन्, जसमा लोकजीवन र लोकसंस्कृतिको ढुकढुकी  भेटिन्छन् । यिनीहरू हाम्रा चिनारी हुन्, जुन हाम्रो अस्तित्वसँग जोडिएको हुन्छ । यस्ता चीजलाई बेलैमा नजोगाउँदा भविष्यमा हामीसँग पछुतोबाहेक केही बाँकी रहँदैन । त्यसैले लोकसाहित्यको समयोचित संरक्षण र सम्वर्द्धन आवश्यक छ ।

[साभार: युवामञ्च । कात्तिक, २०७६ ]