Monday, November 4, 2019

सङ्गीतमाथि अङ्कुश

-यमबहादुर दुरा

ग्रीक दार्शनिक प्लेटो (इसापूर्व ४२८—३४८) ले भनेका छन्, ‘सङ्गीतले व्रह्माण्डलाई आत्मा भरिदिन्छ, दिमागमा पखेटा लगाइदिन्छ, कल्पनालाई उडान भर्न सघाउँछ र हरेक चीजलाई जीवन दिन्छ’ । उता, जर्मन दार्शनिक फ्रेडरिक नित्से (सन् १८४४—१९००) ले पनि सङ्गीतलाई उच्च महत्व दिँदै भनेका छन्, ‘सङ्गीतबिनाको जीवन भूल हुने थियो’ ।

मानव जीवनसँग घनिष्ट नाता गाँस्ने सङ्गीत धेरै हिसाबले महत्वपूर्ण छ । सङ्गीत मानव अभिव्यक्तिकोे सशक्त माध्यम बन्दै आएको छ । सङ्गीतमा निहित सही सबल पक्षका कारण सर्वसाधारणदेखि राजनीतिक शक्तिसम्मले यसलाई अभिव्यक्तिकोे भरपर्दो माध्यमको रूपमा उपयोग गर्दै आएका छन् ।

धेरैजसो अवस्थामा साङ्गीतिक अभिव्यक्ति सर्वग्रह्य भए पनि कतिपय अवस्थामा आलोच्य पनि बन्न पुग्छ— कहिले समाजका अगाडि त कहिले राजनीतिक शक्तिका अगाडि । गीत–सङ्गीतले कतिपय अवस्थामा राजनीतिक तथा सामाजिक द्वन्द्व निम्त्याउँछन् ।

धेरैजसो समयमा वाहवाही लुट्न सफल  कतिपय सङ्गीतकर्मी सार्वजनिक आलोचनाका पात्र बन्छन् । कतिपय अवस्थामा त उनीहरू राज्यको नजरमा पनि पर्छन् । यसका असंख्य दृष्टान्त छन् । तिहारको पूर्वसन्ध्यामा युवापुस्ताका केही गायकमाथि भएको धरपकडलाई यस्ता घटनाक्रमको नवीतम् श्रृङ्खलाको रूपमा लिन सकिन्छ ।

यसभन्दा अघि गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ प्रति सत्तारुढ दल निकट भ्रातृसंगठनका कार्यकर्ताहरू आक्रमक देखिए । परिमाणतः गीतको भिडियोलाई यु ट्युबबाट हटाउनु परेको थियो ।

मानव अभिव्यक्तिकोे सशक्त माध्यम मानिएको गीत–सङ्गीत आखिर किन विवादमा पर्छन् ? यसको उत्तर कुनै एउटा कोणबाट खोज्न सम्भव छैन । न त यसको उत्तर कुनै एउटामात्र विषयमा मात्र निहित छ । यसमा देशको राजनीतिक प्रणाली, सामाजिक पद्धति, संस्कृति, अभिव्यक्ति स्वतन्त्रताको स्तर, नागरिकको चेतनास्तर एवम सुझबुझलगायत तमाम विषय जोडिन आइपुग्छन् ।

नेपालमा मात्र होइन, संसारका प्राय सबै मुलुकमा कुनै न कुनै किसिमले सङ्गीत विवादमा पर्छन् । भारतजस्तो ठूलो लोकतन्त्र र अमेरिकाजस्तो उदार भनिएको देशमा पनि सङ्गीतका कतिपय मामिलाहरू विवादास्पद बनेका कैयौँ उदाहरण छन् ।

बलिउडका थुप्रै गीत भारतीय राष्ट्रिय प्रसारण संस्था अल इन्डिया रेडियोबाट प्रसारण गर्न अनुमति दिइएका छैनन् । अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती मानिने अमेरिकाका कतिपय टेलिभिजन च्यानलले म्युजिक भिडियोलाई प्रतिबन्ध लगाएका दृष्टान्त छन् । दुनियाँको उदार साझा प्ल्याटपर्म मानिएको यु ट्युबले पनि थुप्रै म्युजिक भिडियोलाई हटाएको अनेकन् दृष्टान्त छन् । यसबारे अदालतमा थुप्रै मुद्दा छन् ।

हिंसा र घृणा फैलाउने किसिमका गीत–सङ्गीत सामान्यतया सबैतिर आलोच्य पाइन्छ । साथै, व्यवस्था तथा सत्ताविरोधी गीत–सङ्गीत पनि राज्यको राज्यको दृष्टिमा आलोच्य श्रेणीमा पर्छन् । गीत–सङ्गीतमार्फत प्रवाह हुने हिंसा र घृणा कुनै पनि समाजमा स्वीकार्य हुँदैन ।

गीत–सङ्गीत विवादमा पर्ने अर्को कारण अश्लीलता । यो प्रसंगचाहिँ धेरै हदसम्म विवादस्पद छ । श्लीलता र अश्लीलताबीच लक्ष्मणरेखा कोर्न कठिन छ । श्लीलता र अश्लीलताको समाजसापेक्ष र समयसापेक्ष हुन्छ ।

पूर्वीय दृष्टिले हेर्दा पश्चिमा मुलुकमा बनेका कतिपय म्युजिक भिडियो हाम्रा देशमा बन्ने म्युजिक भिडियोभन्दा कैयौँ गुना अश्लील देखिन्छन् । त्यस्ता म्युजिक भिडियोलाई त्यहाँको समाजले सजिलै पचाएको देखिन्छ । तर, परम्परावादी समाजमा तीभन्दा कम अश्लील भिडियो पनि पूरा अश्लील ठहरिन्छन्, जसले सार्वजनिक आलोचना निम्त्याउँछन् ।

नेपालमा निर्मित म्युजिक भिडियो भन्दा कैयौ गुणा अश्लील र हिंस्रक भिडियोको  एउटा दृष्टान्तको रूपमा बेलायती साङ्गीतिक ब्याण्ड 'द प्रोडिजी' को म्युजिक भिडियो ‘स्म्याक माई बिच अप’ लाई लिन सकिन्छ । यसमा महिला शरीरको अश्लीलता र हिंसाको प्रयोग उत्कर्ष देखिन्छ । १९९७ मा निस्किएको यो भिडियो एमटीभीमा प्रसारण भयो । त्यसपछि यो भिडियो विवादको घेरमा पर्‍यो । मनोरञ्जनको नाममा महिला हिंसालाई प्रश्रय दिएको भन्दै महिला अधिकारवादीहरू प्रदर्शनमा उत्रिए ।

गीत–सङ्गीत राजनीतिक सञ्चारको गतिलो माध्यम मानिन्छ । नेपालका कम्युनिष्ट पार्टीहरूले विगतमा गीत–सङ्गीतमार्पmत् आमनागरिकमा राजनीतिक सञ्चार गरे । उनीहरूले गीत–सङ्गीतको माध्यमबाट पञ्चायतको चर्को विरोधमात्र गरेनन्, आफ्ना पक्षमा जनमत पनि जुटाए ।

त्यही समयमा देशको एकमात्र प्रसारण संस्था रेडियो नेपालले प्रगतिशील तथा सत्ताविरोधी गीतलाई प्रसारणको अनुमति दिएन । गायक प्रचण्डबहादुर बुढाथोकी मगर (वि.सं. १९९९—२०७६) लगायतका थुप्रै प्रगतिशील धारका कलाकारहरूले राजनीतिक आग्रह–पूर्वाग्रहबाट आफ्ना गीत रेडियो नेपालमा अयोग्य ठहरिएको गुनासो गर्दै आएका थिए ।

नेपालजस्तो सांस्कृतिक विविधता भएको मुलुकमा कतिपय गीत सांस्कृतिक कारणले पनि विवादमा पर्छन् । खेम गुरुङ (वि.सं. २०३१—२०७३) को चर्चित गीत ‘एकादशी बजारैमा...’ रहेको एउटा हरफ ‘पोडे होला, चमार होला तिम्रै माया लाग्छ’ ले दलित समुदायलाई होच्याएको आरोप लाग्यो ।

गीतको व्यापक विरोध भयो । बदलिँदो परिस्थितिमा उचित शब्दचयन नहुँदा गीतले विवाद निम्त्याउनु स्वाभाविकै थियो । पछि त्यही गीतको परिमार्जित संस्करण निस्कियो । विवाद सामसुम भयो ।

नेपालमा विवादस्पद ठहरिएका गीत–सङ्गीत मूलतः दुईटा शक्तिको कोपभाजनमा परेको पाइन्छ । पहिलो, राजनीतिक शक्ति । दोस्रो, सामाजिक शक्ति । नेपालको साङ्गीतिक इतिहासमा यस्ता दृष्टान्त भेटिन्छन् । पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ र खेम गुरुङ ‘एकादशी बजारैमा...’ ले क्रमशः राजनीतिक शक्ति र सामाजिक शक्तिका कारण बाटो बदल्न बाध्य भएको प्रष्ट इतिहास छ ।

तर, विकसित मुलुकमा सामाजिक शक्तिसहित गैरराजनीतिक शक्तिले विवादास्पद गीत–सङ्गीत मार्गनिर्देश गरेको देखिन्छ । अमेरिकामा सरकारले सङ्गीतकर्मीमाथि सीधा हस्तक्षेप गरेको पाइँदैन । त्यहाँ सरकारले भन्दा पनि टेलिभिजन च्यानलले आफूहरूलाई आपत्तिजनक लागेका गीत वा भिडियोहरूलाई प्रतिबन्ध लगाउँछन् । अर्थात् उनीहरूले त्यस्ता सामग्रीलाई प्रसारण गर्दैनन् ।

सार्वजनिक मर्यादा सबैले पालना गर्नुपर्ने हुन्छ । गीत–सङ्गीतका सर्जकले पनि यो ख्याल गर्नुपर्ने कुरा हो । हरेक सर्जकले आफ्नो सङ्गीत सिर्जना सामाजिक मर्यादाको कसीमा सही छ भन्नेमा आफैं सहमत हुनुपर्छ । चर्चा बटुल्ने नाममा गरिने अपाच्य यत्न–प्रयत्न कतिपय अवस्थामा जायज नहुन सक्छ ।

राज्यले डण्डा लगाएर सङ्गीतकर्मीलाई तह लगाउनुभन्दा पनि सर्जक स्वयम् संयमित र सन्तुलित हुनु राम्रो हो । राज्यले सङ्गीत सर्जकलाई नियन्त्रण गर्नु अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका दृष्टिले पनि बाञ्छनीय ठहरिँदैन ।

यद्यपि, राज्य नियन्त्रणकारी शक्ति भएकाले बेलाबखतमा उसको सही चरित्र उदघाटन भइरहन्छ । राज्यले आफ्नो नियन्त्रणकारी धर्म निर्वाह गर्नुलाई कतिपय अवस्थामा नाजाजय भन्न पनि कठिन छ ।

समाज हरपल जटिल बन्दै गएको छ । यस्तो अवस्थामा गीत–सङ्गीतले कायम गर्नुपर्ने सामाजिक मर्यादा, अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक मर्यादाबीच सन्तुलन कायम गर्न सहज छैन । तर, यसका लागि सचेत प्रयत्न गर्नु सङ्गीतकर्मीलगायत हरेक व्यक्तिको अहम् जिम्मेवारी हुन आउँछ ।

[साभार: लोकसंवाद । २०७६ साल कात्तिक १५ गते ।]

No comments:

Post a Comment