Sunday, July 17, 2022

इन्टरनेटको पुस्ता

 -यमबहादुर दुरा

महान् वैज्ञानिक स्टेफेन हकिङ (सन् १९४२–२०१८) ले इन्टरनेटबारे एउटा घतलाग्दो विचार अघि सारेका छन् । हकिङको कथन छ, ‘हाम्रो दिमागमा स्नायुकोश (न्युरोन) हरू जोडिएझैँ  हामी पनि इन्टरनेटबाट जोडिएका छौँ ।’ हुन पनि, दिमाग र स्नायुकोश जोडिएर मानव जीवनले सार्थकता पाएजस्तै आधुनिक जीवनशैलीमा इन्टरनेट जोडिन आइपुग्दा हाम्रो जनजीवन जादुमय किसिमले सहज र सार्थक हुन पुगेको छ ।

जसरी स्नायुकोशले मानव शरीर दिमाग र शरीरको अन्य भागबीच सञ्चार सेतुको रूपमा काम गर्छ, त्यसरी नै इन्टरनेटले समाजका सबै तह र तप्कालाई जोड्ने काम गरिरहेको छ । त्यसैले, एक्काइसौँ शताब्दीमा इन्टरनेट मानव जातिका लागि प्राणवायु नै बनेको छ । यस्तो लाग्छ, इन्टरनेटबिना आधुनिक जीवन निष्प्राण बन्नपुग्छ ।

मानव समाज आधुनिकतामार्फत्  लम्कँदै गर्दा इन्टरनेट प्रयोगकर्ताको संख्या दिनानु दिन बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको एक आँकडाअनुसार नेपालका ९१ प्रतिशत नागरिक इन्टरनेट प्रयोग गर्छन् । बजार सर्वेक्षणसम्बन्धी संस्था ‘स्टाटिस्टा’ का अनुसार विश्वका करिब ६० प्रतिशत नागरिकको इन्टरनेटमा पहुँच छ । विश्व समुदायको इन्टरनेटसँग साइनो गाँसिने क्रम निरन्तर जारी छ ।

मानव सञ्चारको विकास–यात्रा निकै लामो छ । बोलीको उद्भव, लेखनकलाको विकास हुँदै सञ्चारको विद्युतीय यात्रामा फड्को मार्दासम्म हजारौँ वर्ष व्यतीत भइसकेको छ । मानव सञ्चारको विद्युतीय यात्रा मोर्स कोडबाट शुरु भएर टेलिग्राफ, टेलिफोन, रेडियो, टेलिभिजन हुँदै इन्टरनेटको युगमा आइपुगेको हो । 


मोर्स कोडदेखि इन्टरनेटको युगसम्म आइपुग्दा लगभग १ सय ६० वर्षको लामो कालखण्ड बितेको छ । सयौँ आविष्कारक तथा वैज्ञानिकहरूका अथक तथा बुद्धिमत्तापूर्ण शोध एवम् परीक्षणले विद्युतीय सञ्चारलाई सम्भव तुल्याएका हुन् ।

मानव सञ्चारको विद्युतीय यात्रामा इन्टरनेट नवीनतम् विकासक्रम हो । इन्टरनेटले सबै पूर्ववर्ती आविष्कारहरूलाई उछिनिसकेको छ । मोर्स कोडको जमानामा अक्षर वा आवाज केही पनि सम्प्रेषण हुँदैनथ्यो । केवल सङ्केत सम्प्रेषण हुन्थ्यो । त्यसबेलाको सञ्चार अहिलेको जस्तो ताररहित (wireless) थिएन । 

अहिले आएर सूचनाको उच्चराजमार्ग (information superhighway)  मार्फत्  श्रव्य, श्रव्य–दृश्य र लिखित सामग्री (टेक्ट) क्षणभरमै संसारको जुनसुकै कुनामा सम्प्रेषण हुन्छन् । त्यो पनि ताररहित सञ्चार प्रणालीमार्फत्  । 

सूचना प्रवाहमा भएको यसप्रकारको जादुमय प्रगतिले इन्टरनेटलाई महत्त्वपूर्ण र अपरिहार्य सञ्चार प्रणालीको रूपमा स्थापित गरिदिएको छ । इन्टरनेटले नै एक्काइसौँ शताब्दीलाई साँचो अर्थमा ‘सूचना क्रान्तिको युग’ बनाइदिएको छ । इन्टरनेटले मानव सञ्चारलाई छिटो–छरितो र बहुआयमिक बनाइदिएको छ, जुन जादुमय र स्फूर्तिदार पनि छ ।

इन्टरनेटको रचनागर्भ 

सन् १९६० को दशकसम्म अमेरिकामा कम्प्युटरहरू अतिशय ठूला र हलचल नहुने किसिमका थिए । यसका अतिरिक्त कम्प्युटरहरूबीच ‘डेटा’ आदानप्रदान गर्ने कुनै छिटो–छरितो विधि पनि थिएन । यसबाट भौगोलिक दृष्टिले टाढा–टाढा रहेका कम्प्युटरहरूबीच ‘डेटा’ आदानप्रदान गर्ने दिशामा भयानक समस्या आएको थियो । 

त्यस समयमा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा ‘डेटा’ पठाउने कार्य पटक्कै सहज थिएन । यसका लागि म्याग्नेटिक टेपमा डेटा राखेर लामो यात्रा गर्नुप¥थ्यो । डेटा लिएर यात्रा गर्न नचाहनेका लागि अर्को विकल्प थियो । त्यो हो, सम्बन्धित ‘डेटा’ लाई हुलाकमार्पmत् सम्बन्धित ठाउँमा पठाउने । यस्तो विधि झन्झटिलो त छँदैथियो, धेरै समय लाग्ने खर्च हुन्थ्यो । 

यसप्रकारको झञ्झटबाट मुक्ति पाउने उपाय खोज्न थालियो । यस क्रममा अनेकन् वैज्ञानिक शोधहरू भए, जसमध्ये अमेरिकी रक्षा विभागले सन् १९६९ मा शुरु गरेको एडभान्स रिसर्च प्रोजेक्ट एजेन्सी नेटवर्क (अर्पानेट) विशेष उल्लेखनीय छ । अर्पानेटले शुरुमा युनिभर्सिटी अब् क्यारिलोना (लस एन्जेलस), युनिभर्सिटी अब क्यालिफोर्निया, स्ट्यानफोर्ड रिसर्च इन्टिच्युट र युनिभर्सिटी अब् युटा गरी चार ठाउँका कम्युटरहरूलाई एउटै नेटवर्कमा जोडेको थियो । यसपछि अमेरिका र युरोपमा अरू यस्ता नेटवर्कहरू विस्तार हुँदै गए । 

यस्तैमा, सन् १९८९ ब्रिटिश कम्प्युटर वैज्ञानिक टिम बर्नस् लि (जन्मः सन् १९५५) ले वल्र्ड वाइड वेब (डब्लूडब्लूडब्लू) आविष्कार गरे । यसबाट इन्टरनेट विकास र बिस्तारमा जादुयम प्रगति भयो । डब्लूडब्लूडब्लूले विश्वभरका कम्प्युटरहरूलाई एकआपसमा जोड्ने योजकको रूपमा काम गर्न थाल्यो । यसबाट सन् १९९० पछि विश्वभरका वेबपेजहरूलाई एउटै नेटवर्कमा जोड्ने र ‘डेटा ट्रान्सफर’ गर्ने वातावरण तयार भयो । यहीँबाट वास्तविक अर्थमा इन्टरनेटको उदय भएको मानिन्छ ।

इन्टरनेटको पुस्ता 

इन्टरनेट नयाँ माध्यम भए पनि यसको पुस्ता छिटो छिटो व्यतीत भइरहेको छ । समयको वर्तमान विन्दुसम्म आइपुग्दा इन्टनेटको तेस्रो पुस्ता सकिएर भई चौथो पुस्तामा यात्रारत छ । इन्टनेटको पाँचौँ पुस्ता आउन बाँकी छ । तर पनि, भविष्यको अथाह गर्भमा रहेको इन्टरनेटको भावी पुस्ताको चरित्र र प्रकृति कस्तो हुनेछ भन्नेबारे अग्रिम चर्चा हुन थालिसकेको छ । इन्टनेटको पुस्तासम्बन्धी सङ्क्षिप्त विवरण :

वेब ०.० : इन्टरनेटको रचनागर्भ तयार हुँदै गर्दाको अल्पविकसित र अपरिस्कृत संस्करणलाई ‘वेब ०.०’ भनिन्छ । यस अवधिमा इन्टरनेटको विकासका लागि खोजअनुसन्धान, पूर्वाधार निर्माणलगायतका आधारभूमि तयार हुने क्रम शुरु भएको मानिन्छ  । यसको समयावधि सन् १९८० देखि १९९० लाई मानिन्छ । यद्यपि, कसै कसैले सन् १९६० दशकदेखि १९९० को समयलाई यसको कालखण्ड मान्ने गरेको पनि पाइन्छ ।

वेब १.० : यो इन्टरनेटको पहिलो पुस्ता हो, जसअन्तर्गत गतिहीन ९क्तबतष्अ० प्रकृतिका वेबसाइटहरू पर्छन् । यसलाई ‘इन्फर्मेसन वेब’ भनिन्छ । यसप्रकारले वेबसाइट एकतर्फी सवारीजस्तै हो । यस्ता वेबसाइटमा रहेका सामग्री पाठक (प्रयोगकर्ता) ले पढन सक्थे । तर, प्रयोगकर्ता प्रतिक्रिया दिने वा टिप्पणी लेख्ने कुनै अवसर हुँदैनथ्यो । सामन्यतया, यसको समयावधि सन् १९९०–२००० मानिएको छ । 

वेब २.० : यो इन्टरनेटको दोस्रो पुस्ता हो । यसअन्तरगत अन्तरक्रियात्मक बेवसाइटहरू पर्छन् । यस्ता साइटमा रहेका सामग्री प्रयोगकर्ताले पढ्ने र त्यसबारे प्रतिक्रिया व्यक्त गर्न पाउने अवसर पाउँछन् । त्यसैले यसलाई दुईतर्फी सञ्चारयुक्त वेबसाइट मानिन्छ । 

तत्कालीन समयमा माइस्पेस, विकिपिडिया, फेसबुक, ब्लगिङ साइट आदिलाई वेब २.० को संस्करण मानिन्थ्यो । अडियो तथा गेमिङ साइटलाई पनि यसै अन्तरगत राखिन्छ । अहिले, साहित्यिक वृत्तमा पनि वेब २.० लाई विम्बात्मक रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ । दोहोरो सञ्चारलाई इङ्गित गर्छ । यसको समयावधि सन् २०००–२०१० लाई मानिन्छ ।

वेब ३.० : यो इन्टरनेटको तेस्रो पुस्ता हो, जुन  बेव २.० को विकसित तथा परिमार्जित संस्करण हो । यसप्रकारका वेबसाइट कृत्रिम बौद्धिकी ९ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ०, यन्त्र–उपकरणको माध्यमबाट सिक्ने सुविधा (machine learning), भर्चुअल रियालिटी तथा आगमेन्टेड रियालिटीको गठजोठ मानिन्छ । यी तमाम सुविधाले तीव्र गतिमा सूचना प्राप्त गर्ने, पढ्ने तथा प्रतिक्रिया लेख्ने सुविधाका अतिरिक्त भिडियो कल गर्ने, गेम खेल्नेजस्ता उच्चस्तरीय अवसर उपलब्ध हुन्छन् । यसले प्रयोगकर्तालाई त्रिआयमिक वातावरण (three-dimensional environment) दिन्छ । यसको समयावधि सन् २०१०–२०२० मानिएको छ ।

वेब ४.० : इन्टरनेटको चौथो पुस्ता हो, जुन बेव ३.० भन्दा स्वाभाविक रूपमा विकसित र परिस्कृत संस्करण हो । यसले कुनै व्यक्ति घर तथा अफिसभन्दा बाहिर रहेर पनि अत्याधुनिक यन्त्र–उपकरणको माध्यमबाट त्यहाँका गतिविधि उपर नजर राख्ने अवसर दिन्छ । वेब ४.० मा कृत्रिम बौद्धिकीको उच्चस्तरीय प्रयोग हुन्छ, जसबाट मानिस र मेसिनबीच उच्चस्तरको अन्तरक्रिया सम्भव छ । 

यही आधारमा यसलाई सिम्बियोटिक वेब (symbiotic web) पनि भन्ने गरिन्छ । कृत्रिम बौद्धिकीको परिष्कृत संस्करण, साइबर दुनियाँमा नयाँ सम्भावनाको अन्वेषणका लागि सहज वातावरण, उच्चस्तरको भिडियो गुणनस्तर (एचडी भिडियो), भरोसायोग्य सञ्चार वातावरण, तीव्रतर सूचना प्रवाह आदि वेब ४.० का विशेषताहरू हुन् । यसको समयावधि सन् २०२०–२०३० मानिएको छ ।

वेब ५.० : यो इन्टरनेटको पाँचौँ पुस्ता हो, जो आउन बाँकी नै छ । वेब ५.० मा कृत्रिम बौद्धिकीको नितान्त परिष्कृत संस्करण उपयोग गरिन्छ, जसले बुद्धिमत्तापूर्ण व्यवहारलाई निर्देशन गर्छ । यस आधारमा वेब ५.० लाई बुद्धिमत्तापूर्ण वेब (intelligence web) पनि भनिन्छ । यसले जटिल प्रकृतिका बहुआयमिक मानवीय आवश्यकतालाई पूरा गर्न सघाउन अपेक्षा गरिएको छ । 

वेब ५.० ले मानिसका भावनात्मक उतारचढावलाई समेत व्यवस्थापन गर्न सहयोग गर्ने पनि अपेक्षा गरिएको छ । त्यसैले, यसलाई भावनात्मक बुद्धियुक्त (emotional intelligence web)  नाम पनि दिइएको छ । वेब ५.० मानिसले जस्तै सोच्ने र सोहीअनुसार व्यवहार गर्ने उच्चस्तरीय कृत्रिम बौद्धिकीयुक्त इन्टरनेट हो । यसको समयवाधि सन् २०३०–२०४० मानिएको छ ।

पुछारमा

इन्टरनेटको पाँचौँ पुस्ता आउन बाँकी नै छ । तर पनि, भविष्यको गर्भमा रहेको नवीतम् पुस्ताबारे अहिले नै व्यापक चर्चा–परिचर्चा भइसकेको छ । समयक्रम एक दिन पाँचौ पुस्ताको समेत आगमन भई त्यसको युग अन्त्य पनि हुनेछ । त्यसपछि इन्टरको अर्को पुस्ता आउनेछ । तर, त्यसको रूप, रङ्ग र जादुमय चरित्र कसरी प्रकट होलान त ? यसै भन्न सकिन्न । यसको उत्तर समयले मात्र दिन सक्नेछ ।

[युवामञ्च । जेठ २०७९ । सामान्य परिमार्जनसहित ।]

Thursday, July 7, 2022

सामाजिक सञ्जाल : सम्भावना र चुनौती

 -यमबहादुर दुरा

इन्टरनेटले विश्व समुदायलाई जादुमय तरिकाले बदलिदिएको छ । भौगोलिक रूपमा विविध कारण अलग–थलग भएका आफन्तजन तथा मित्रगणसँग आमुन्ने–सामुन्ने बसेर कुराकानी गरेजस्तै गरी ‘रियल टाइम’ मा वार्तालाप गर्ने अवसर इन्टरनेटले नै जुटाइदिएको छ, जुन मानव जातिका लागि एउटा सुन्दर अवसर हो । 

विश्वको एउटा कुनाबाट अर्को कुनामा अडियो, भिडियो तथा टेक्ट आदानप्रदान गर्ने अवसर पाइनु इन्टरनेटकै देन हो । इन्टरनेटले दुनियाँ समक्ष यस्तै तिलस्मी करामत देखाएको छ । यही आधारमा कतिपयले इन्टरनेटको आगमनलाई औद्योगिक क्रान्तिपछिको सबैभन्दा ठूलो तथा युगान्तकारी मानव फड्को मान्ने गर्छन्, जुन बहुधा अर्थपूर्ण छ । 

सोसल मिडिया इन्टरनेटको आगमनले जन्माएको एउटा लोकप्रिय शब्दावली हो, जुन मानव जीवनको अभिन्न हिस्सा बन्न पुगेको छ । विश्वविख्यात फोब्स म्यागजिनको वेबसाइट (डिसेम्बर ९, २०१०) मा प्रकाशित लेखका अनुसार डराल बेरीले सन् १९९४ मा पहिलो पटक ‘सोसल मिडिया’ भन्ने शब्दावली प्रयोगमा ल्याएका थिए । 

हाम्रो मनमा जिज्ञासा उठ्छ, विश्व क्षितिजमा उदाएको नयाँ प्रकृतिको सञ्चार प्रणालीलाई किन सोसल मिडिया भनियो त ? यसका पछाडि निश्चित कारणहरू छन् । परम्परागत सञ्चार माध्यम (अखबार, रेडियो तथा टेलिभिजन) मूलतः एकतर्फी सञ्चार प्रणाली हो, जसमा धेरै हदसम्म दोहोरो सञ्चार हुँदैन । 

यसको विपरीत सोसल मिडियामा प्रयोगकर्ताहरूबीच दोहोरो सञ्चार सम्भव छ । प्रयोगकर्ताहरूबीच हुने दोहोरो सञ्चार नै सोसल मिडियाको एउटा मूलभूत विशेषता हो । यसबाट प्रयोगकर्ताहरूबीच पर्याप्त अन्तरक्रिया र सामाजिक गतिविधि हुन्छ । 

हामीलाई थाहा छ, मैत्रीपूर्ण सम्बन्धमा जोडिएका समाजका सदस्यहरूबीच निरन्तरजसो दोहोरो सञ्चार हुन्छ, जसले पर्याप्त अन्तरक्रिया जन्माउँछ । सोसल मिडियाले पनि यही काम गर्छ । यसबाट समाज चलयमान् बन्छ । सोसल मिडियाले सामाजिक चरित्र बोकेकाले यसलाई सोसल मिडिया भनिएको हो भन्ने तर्क छ, जुन दमदार छ ।  

के हो सोसल मिडिया ?

सोसल मिडिया हाम्रो मुखमा झुण्डिएको प्रिय शब्दावली भए पनि यसको परिभाषाबारे पर्याप्त अलमल पाइन्छ । सूचना प्रविधिमा कलम चलाउने अमेरिकी लेखक बेन लुकभिखका अनुसार सोसल मिडिया वेबसाइट तथा एपहरूलाई जनाउने समूहवाचक शब्दावली हो, जसले आपसी सञ्चार, समुदायिक  गतिविधि, अन्तरक्रिया, सामग्री सेयरिङ (content sharing) तथा सहकार्यलाई जोड दिन्छ ।

अक्सफोर्ड अनलाइन डिक्सनरीको परिभाषा पनि लगभग उस्तै छ । अक्सफोर्ड डिक्सनरीका अनुसार सोसल मिडिया ती वेबसाइट तथा एपहरू हुन्, जसले प्रयोगकर्तालाई सामग्री उत्पादन र सेयर गर्ने अवसर दिन्छ । साथै, यसले सामाजिक सञ्जालमा जोडिने अवसर पनि दिन्छ । 


समग्रमा सोसल मिडिया इन्टरनेटमा आधारित भर्चुअल नेटवर्क तथा समुदाय हो । यसबाट प्रयोगकर्ताहरूबीच अडियो, भिडियो, फोटो तथा टेक्ट आदानप्रदान गर्न सकिन्छ । आवश्यकताअनुसार प्रयोगकर्ताहरूबीच व्यक्तिगत तथा सामूहिक प्रकृतिका सूचना सेयर गर्न सकिन्छ । डेक्सटप, ल्यापटप, ट्याबलेड तथा स्मार्टफोनमार्फत् गरी सोसल मिडिया प्रयोग गर्न सकिन्छ ।

अमेरिकी नागरिक अन्ड्रु वाइनराइकलाई सोसल मिडियाका अग्रणी मानिन्छन् । उनले सन् १९९७ मा पहिलो पटक ‘सिक्स डिग्रीज्’ नामक सोसल नेटवर्किङ साइट सञ्चालनमा ल्याएका थिए, जसमा प्रयोगकर्ताले आफ्नो प्रोफाइल खडा गर्ने, साथी बनाउने तथा इन्ट्यान्ट मेसेजिङ गर्ने सुविधा थियो । 

बिजनिससम्बन्धी अमेरिकी वेबसाइट इन्भेष्टोपिडियाका अनुसार विश्वभर ३.८ अर्ब मानिसले सोसल मिडिया प्रयोग गर्छन् । विभिन्न तथ्याङ्कहरूलाई विश्लेषण गर्दा नेपालमा ९१ प्रतिशत नागरिकको इन्टरनेटमा पहुँच पुगेको देखिन्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्यामध्ये १ करोड ३० लाख नागरिक सोसल मिडिया प्रयोगकर्ता छन् ।

वेब ट्राफिक विश्लेषण गर्ने वेबसाइट स्ट्याटकाउन्टरका नेपालमा सोसल मिडिया प्रयोगकर्तामध्ये फेसबुक प्रयोगकर्ता ९०.१२ प्रतिशत, ट्विटर प्रयोगकर्ता ४.२३ प्रतिशत, इन्टाग्राम प्रयोगकर्ता ०.९ प्रतिशत, पिन्ट्रेस्ट प्रयोगकर्ता ०.७९ प्रतिशत तथा लिङ्कडइन प्रयोगकर्ता ०.६१ प्रतिशत छन् । सोसल मिडिया प्रयोगकर्ताको संख्या बढ्दो छ ।

धेरैको दृष्टिमा फेसबुक, ट्विटर, लिङ्कडइनजस्ता सोसल नेटवर्किङ साइट नै सोसल मिडिया हुन् । वास्तविकता त्यस्तो होइन । सोसल मिडियाको दायरा निकै फराकिलो छ, जसमा सोसल मिडिया भनेर हत्तपत्त नसोचिएका धेरै साइट र एपहरू पर्छन् । समयक्रममा यस्ता साइट र एपहरूको संख्या बढेर जाने देखिन्छ । 

गेमिङ साइट, ब्लग (वर्डप्रेस, ब्लगर आदि), माइक्रोब्लग (ट्विटर, टम्बलर आदि), भिडियो सेयरिङ साइट (यु ट्युब, मेटाक्याफे, डेलीमोसन आदि), फोटो सेयरिङ साइट (फ्लिकर, पिन्टे«ष्ट, एक्सपोजर आदि), सपिङ साइट (अमेजन, इबे आदि), सञ्चार एप (भाइबर, स्काइप आदि), ट्राभल एप (पठाओ, टुटल आदि), न्युज एग्रिगेटर (न्युज ३६०, गुगल न्युज आदि) पनि सोसल मिडियाको दायराभित्रै पर्छन् ।

अवसर

आजकल हरेक व्यक्तिले आफूसँग छापाखाना नभए पनि प्रकाशक बन्ने मौका पाएको छ । यसैगरी, आफ्नो स्वामित्वमा रेडियो र टेलिभिजन नभए पनि प्रसारक हुने अवसर मिलेको छ । हिजोका दिनमा मुठ्ठीभर व्यक्तिले मात्र पाउने यस्तो अवसर अहिले प्रत्येक व्यक्ति पाएको छ । यसमा सोसल मिडियाको निर्णायक भूमिका छ ।

सोसल मिडियाले सर्वसाधारण नागरिक शक्तिशाली बनाएको छ । अमेरिकी टेलिभिजन कार्यक्रम निर्माता मार्क म्याकिननको भनाइमा प्रविधि र सोसल मिडियाबाट नागरिकले शक्ति प्राप्त गरेका छन् । 

विगतमा बहुसंख्यक सर्वसाधारणले आफ्ना दबिएका विचार वा भावना व्यक्त गर्ने उपयुक्त सार्वजनिक ‘प्ल्याटफर्म’ पाएका थिएनन् । परिणामस्वरूप उनीहरूका आवाज व्रह्माण्डमा त्यसै बिलाएर गए ।

भनाइ नै थियो, ‘बसेर बोले कसैले सुन्दैन, उठेर बोले हावाले उडाउँछ ।’ आज त्यस्तो छैन । हरेक व्यक्तिले आफ्नो भनाइ वा पीरमर्का सबैले सुन्ने  गरी राख्ने वातावरण तयार भएको छ, जुन सोसल मिडियाले दिएको सुन्दर अवसर हो ।

आवाजविहीन मानिएका निमुखा, गरिब तथा विकासको दौडमा पछि परेका नागरिकका पक्षमा सोसल मिडिया आवाज बनेर प्रस्तुत भएको अवस्थालाई चित्रण गर्दै अमेरिकी पत्रकार तथा वृत्तचित्र निर्माता जोन रोन्सन (जन्मः सन् १९६७) ले मीठो टिप्पणी गरेका छन् । उनको टिप्पणी छ—सोसल मिडियाको महान् पक्ष के भने यसलाई आवाजविहीनहरूलाई आवाज दिएको छ । 

हुन पनि सोसल मिडियाले नागरिकका लागि दरिलो आवाज दिएको छ । कसैले फेसबुकमा लेखेको एक हरफको स्ट्याटसले सार्वजनिक ओहोदाधारी अधिकारीको मुटुमा ढ्याङ्ग्रो ठोक्छ । सोसल मिडियामा आएको सूचनाका आधारमा अपराधी कानुनी कठाघरामा उभिन बाध्य हुन्छ । यसका अतिरिक्त सोसल मिडियाले अभिव्यक्ति स्वतन्त्रता र नागरिक दायरा  (public sphere) लाई फराकिलो बनाउँदै लगेको छ, जुन लोकतन्त्रको श्रीवृद्धिका लागि पनि हितकर छ ।

सोसल मिडियाले दुनियाँसामु सूचना र ज्ञानको अथाह भण्डार राखिदिएको छ । स्टारी डट कम (जुलाई २९, २०१९) मा प्रकाशित लेखअनुसार गुगल, अमेजन, माइक्रोसफ्ट तथा फेसबुकको बेग्लाबेग्ल सूचना भण्डारणमा रहेको सूचनालाई एउटै ठाउमा भण्डारण गर्ने हो भने एक हजार २ सय पेटाबाइट्स हुन्छ, जुन सूचनाको अथाह सागर हो । 

चौबीसै घण्टा चालू रहने सोसल मिडियाले सूचना र ज्ञानको प्रवाहमा अतुलनीय योगदान दिएको छ । यसबाट प्रयोगकर्ताले जीवनोपयोगी र जीवनदायिनी सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । सोसल मिडियाले समाजमा सूचनाको खाडल (information gap) घटाउने दिशामा योगदान दिइरहेको छ ।

सोसल मिडियाको उपस्थितिले सूचना र ज्ञानको बहुआयमिक उपयोग गर्ने बाटो खुलेको छ । सामान्य जीवनयापन गरिरहेकी गृहिणीदेखि विश्वविद्यालयका प्राध्यापकसम्मले सोसल मिडियामा उपलब्ध असंख्य टेक्ट, फोटो, अडियो तथा भिडियोबाट आफूलाई आवश्यक पर्ने सामयिक सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । सोसल मिडियामा आएका सूचना र ज्ञानलाई उपयोग गरेर सर्वसाधारण नागरिकदेखि सेलिब्रिटीसम्मले फाइदा उठारहेका छन् ।

सोसल मिडियामार्फत्  लोककल्याणकारी काम पनि भइरहेको छ । बाढीपहिरोजस्ता प्राकृतिक बिपत्तिमा परेका व्यक्ति तथा विभिन्न रोगबाट ग्रसित असाहय बिरामीलाई सहयोग जुटाउने काममा सोसल मिडियाको भरपूर उपयोग हुँदै आएको छ । बिपत्तिले घेरा हालेको पीडादायी घडीमा आहातग्रस्त मनिसहरूलाई भावनात्मक तथा आर्थिक रूपमा ढाडस दिने कार्यमा सोसल मिडिया सहयोगी बन्दै आएको छ । 

यस्ता कार्य स्थानीयस्तर, राष्ट्रियस्तर तथा अन्तर्राष्ट्रियस्तर गरी तीनै तहमा हुँदै आएका छन् । नेपालमा २०७२ सालमा आएको भूकम्पले निम्त्याएको बिपत्तिका समयमा उद्धार र राहतसम्बन्धी गतिविधिमा सोसल मिडियाको अतुलनीय भूमिका रह्यो । 

भूकम्पका समयमा सोसल मिडिया प्रयोगकर्तामात्र होइन, सोसल मिडिया कम्पनी पनि अघि सरे । त्यस समयमा फेसबुकले भूकम्पबाट सुरक्षित रहनका लागि नेपालका लागि ‘अर्थक्वेक अलर्ट’ मात्र जारी गरेन, नेपाल सरकारको राहत कोषमा दुई करोड अमेरिकी डलर पठाएर उदारमना व्यवहार प्रदर्शन गर्‍यो  । 

अर्कोतिर, सोसल मिडियाले विश्वको विभिन्न कुनामा छिरल्लिएर रहेका मानव समुदायलाई एकै ठाउँमा ल्याउने काम पनि गरेको छ । विविध कारण वर्षौँदेखि बिछोडिएका परिवारजनलाई भेट गराइदिएको छ । बिरक्तिपूर्ण किसिमले एक्लो जीवन बिताउन बाध्य सयौँ व्यक्तिलाई जीवनसाथी भेटाइदिएर सोसल मिडियाले निराश मनहरूमा खुसीको बहार ल्याइदिएको कैयौँ दृष्टान्त छन् ।

सोसल मिडिया जागिरदाता र जागिरापेक्षीबीच पुल बनेको छ । यसले प्रडक्ट उत्पादक र उपभोक्तबीच पनि मध्यस्थता गरिरहेको छ । सोसल मिडिया नै कतिपय प्रडक्टको ‘सोरूम’ बन्न पुगेको छ । यहीबाट व्यापारको सिलसिला शुरु भएको छ । आजकल सोसल मिडियामार्फत् हुने व्यापारलाई बुझाउन नयाँ शब्दावली ‘सोसल कमर्स’ प्रयोग गर्न थालिएको छ ।

यसबाहेक सोसल मिडियाले अलनाइन सिकाइ, अनलाइन रोजगार, टेलिमेडिसिन, अनलाइन बैंकिङलगायत अनगिन्ती अवसर दिएको छ ।समाजको चौतर्फी उन्नतिका लागि सोसल मिडियाले निरन्तर ठूलो योगदान दिइरहेको छ । समाजको प्रवाहसँगै यसले समाजलाई दिने योगदानको सूची पनि निरन्तर लम्बिँदै गएको छ । समग्रमा भन्दा सोसल मिडियाले समाजलाई दिने योगदान अपरिमित छ ।

चुनौती

हरेक वस्तुको सकारात्मक र नकारात्मक पाटो हुन्छ नै । सोसल मिडिया यसको अपवाद बन्न कुरै भएन । कतिपय अवस्थामा सोसल मिडिया मिथ्या (भ्रामक) जानकारी, जालसाजीसँग जोडिएका अपराध, निजी जीवनमाथि हमला, साइबर बुलिङ, ट्रोलिङ, पोर्नोग्राफी, फिसिङ स्क्याम, बौद्धिक चोरी, हत्या–हिंसाजस्ता तमाम अपराधको स्रोत बन्न पुगेको छ ।

कतिपय अवस्थामा सोसल मिडिया भ्रामक जानकारीको स्रोत हुन पुगेको छ । सोसल मिडियामार्पmत प्रवाहित भ्रामक सूचनाबाट समाजमा घातक असर पर्न थालिसकेको छ । सोसल मिडियामा प्रवाहित भ्रामक सूचनाको भरमा परेर जनधनको क्षति हुने क्रम शुरु भइसकेको छ । नयाँ आध्ययनका अनुसार मिथ्या सामग्री सही समाचारभन्दा छ गुना बढी छिटो फैलन्छ । यसबाट हुने क्षतिको दर पनि उच्च रहन्छ ।

'साउथ चाइन मर्निङ पोष्ट' को अनलाइन संस्करण (फेब्रवरी २५, २०१९) मा प्रकाशित समाचारअनुसार छिमेकी मुलुक भारतमा ह्वाट्सएपमार्फत्  जारी भएको भ्रामक जानकारीलाई वास्तविक ठान्दा भीडले कुटीकुटी हालसम्म ३० जना निर्दोष व्यक्तिको ज्यानसमेत गइरहेको छ । यस घटनाले सोसल मिडियाबाट प्रवाहित गलत जानकारीको नतिजा कति घातक हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

साइबर बुलिङ सोसल मिडिया ‘प्ल्याटफर्म’ मा देखापरेको अर्को खतरनाक पक्ष हो । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का अनुसार इन्टरनेटमार्फत्  धम्क्याउनु, रिस उठाउनु वा लज्जित तुल्याउनु नै साइबर बुलिङ हो । कसैको सामाजिक दृष्टिले अस्वीकार्य तस्बिर सोसल मिडियामा राखिदिनु, कसैलाई धम्कीपूर्ण वा चोट पार्ने सन्देश प्रवाह गर्नेजस्ता कार्य साइबर बुलिङअन्तर्गत पर्छन् ।

एक तथ्याङ्कअनुसार विश्वमा हरेक सात मिनेटमा एउटा किशोर वा किशोरीमाथि साइबर बुलिङ हुन्छ । यसका ८५ प्रतिशत मामिला समाधान हुँदैन । साइबर बुलिङकै कतिपय किशोर–किशोरी आत्महत्या गर्न विवश भइरहेका तथ्याङ्क पनि आउन थालेका छन, जुन सभ्य समाजका लागि एउटा गम्भीर चुनौती हो ।

अर्कोतिर, संसारभर नै आत्माहत्याको दर बढिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रतिवर्ष सात लाख मानिसले आत्माहत्या गर्छन् । नेपाली टाइम्स (अगष्ट ७, २०२१) मा प्रकाशित एक प्रतिवेदनअनुसार नेपालमा पनि आत्माहत्याको दर बढिरहेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१६/०१७ मा पाँच हजारले आत्माहत्या गरेका थिए भने सन् २०२०/०२१ मा यो संख्या बढेर आठ हजार पुग्यो । 

सोसल मिडियामा आउने कतिपय निराशाजनक स्ट्याटस तथा बैराग्यपूर्ण पोष्टहरूले प्रत्यक्ष वा परोक्ष रूपमा आत्माहत्या गर्ने प्रवृत्तिलाई सहयोग गरिरहेको छ । अझ सोसल मिडियामा उपस्थित भएर लाइभ आत्माहत्या गर्ने घटना नेपालमा पनि देखापरिसकेको छ, जुन सोसल मिडियासँग जोडिएको एउटा खतरनाक पक्ष हो ।

आर्थिक स्वार्थ दुनियाँको एउटा जटिल मामिला बन्दै आएको छ । यस्तैमा द्रव्यमोहको चक्रव्युहमा परेर सोसल मिडियाले प्रयोगकर्तामाथि छलकपटपूर्ण व्यवहार गरिरहेको आरोप लाग्दैछ । यही पृष्ठभूमिा २०२० सेप्टेम्बर ९ मा नेटफ्ल्क्सिमा ‘द सोसल डिलेमा’ नामक वृत्तचित्र प्रसारण भयो ।

फेसबुक, गुगल, ट्विटर, मोजिल्ला तथा यु ट्युब कम्पनीमा उच्च तहमा रहेर काम गरेका पूर्वकर्मचारीलाई समेत प्रस्तुत गरिएको त्यस वृत्तचित्रमा सोसल मिडिया कम्पनीले कृत्रिम बौद्धिकी (artificial intelligence) मार्फत् प्रयोगकर्ताको मनोविज्ञान कसरी मापन गर्छ र महजाल (honey-trap) मा फसाएर आर्थिक स्वार्थ पूरा गर्छ भन्ने देखाइएको छ । 

प्रयोगकर्तालाई आफ्नैबारेमा त्यति थाहा हुँदैन, जति सोसल मिडिया कम्पनीलाई थाहा हुन्छ भन्ने गम्भीर वास्तविकता वृत्तचित्रमा चित्रण गरिएको छ । सोसल मिडियाले व्यक्तिका स्वभाव र मनोविज्ञानअनुसारका सामग्री पस्किदिएर त्यसमा भुलाउँछ र प्रयोगकर्तालाई नै ‘प्रडक्ट’ को रूपमा प्रयोग भन्ने पनि दर्साइएको छ । त्यस वृत्तचित्रले सोसल मिडियाले अपनाउने हत्कण्डाप्रति प्रयोगकर्ता सचेत हुनुपर्छ भन्ने पाठ सिकाएको छ ।

सोसल मिडिया अप्राकृतिक जीवनशैलीको स्रोत बन्न पुगेको छ । कतिपय प्रयोगकर्ता रातभरि सोसल मिडियाका विभिन्न एप्लिकेसनहरूमा भुल्ने, बिहान समयमा नउठ्ने र दिउँसो सुत्ने गरेको पाइन्छ, जुन स्वाभाविक जीवनशैलीको विरुद्धमा छ । यसबाट सम्बन्धित सोसल मिडिया प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पर्छ । प्रकारान्तरले सोसल मिडिया अनिन्द्रा, चिन्ता, मानसिक अवसाद, एक्लोपनको कारक तत्व बन्न पुगेको छ ।

सोसल मिडिया प्रयोग गरेर बैकिङ तथा अन्य आर्थिक अपराध गर्ने, फिसिङ स्क्याम गर्ने, हत्या–हिंसा–हुलदङ्गा मच्चाउने, कसैको फेक प्रोफाइल बनाई लज्जास्पद सामग्री राखिदिएर चरित्रहत्या गर्नेजस्ता डरलाग्दा अपराध भएका छन् । त्यसैले कतिपयले सोसल मिडियालाई ‘अपराधकर्मको प्रवेशद्वार’ मान्ने गरेका छन् । नेपालमा पनि साइबर अपराधसँग जोडिएका उजुरीहरूको ग्राफ उकालो लागिरहेको छ, जुन गम्भीर चिन्ताको विषय हो ।

अबको बाटो

सोसल मिडिया आफैँमा असल वा खराब केही होइन । यसलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले यसको असल वा खराब पक्षको निर्धारण गर्छ । यसका सकारात्मक तथा नकारात्मक सम्भावनाहरू अनन्त छन् । एक अर्थमा सोसल मिडिया मूलधारको मिडिया भन्दा पनि शक्तिशाली छ । अब, यसलाई लत्याउन सकिने अवस्था छैन । 

अबको मूल सवाल सोसल मिडियालाई बृहत्तर हितका लागि कसरी रचनात्मक तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने नै हो । हाम्रो सामु चुनौती छ, सोसल मिडिया सोसल मिडियाको प्रयोग प्रयोग पनि गर्नुछ, त्यसलाई तल बन्नबाट पनि जोगाउनु छ ।

हरेक प्रयोगकर्ता सोसल मिडियालाई लत बन्न नदिन हुनुपर्ने अवस्था छ । यसका लागि वैकल्पिक उपाय रच्न सकिन्छ । जस्तै  : अनावश्यक रूपमा सोसल मिडिया प्रयोग गर्नुको सट्टा सङ्गीत सुन्ने, बाद्ययन्त्र बजाउने, खेल खेल्नेजस्ता रचनात्मक काम गर्न सकिन्छ । 

अमेरिकास्थित टफ्टस् विश्वविद्यालयको वेबसाइटमा सोसल मिडियालाई कसरी  सिद्धान्तनिष्ठ तरिकाले प्रयोग गर्नेबारे बुँदागत रूपमा सुझाव दिइएको छ, जुन यसप्रकार छ : १, सोसल मिडियालाई संवाद, सम्बन्ध विस्तार तथा समुदाय निर्माणको थलो रूपमा प्रयोग गर्नुहोस्, २, आधिकारिक जानकारी प्रवाह गर्नुहोस्, इमान्दारिता प्रदर्शन गर्नुहोस् तथा खुल्ला संवादलाई प्राथमिकता दिनुहोस्, ३, पहिला सुन्नुहोस, त्यसपछिमात्र बोल्नुहोस् ।

सोसल मिडिया प्रयोगकर्ताको मूलभूत जिम्मेवारी भनेको आपूm पनि सुसूचित हुने र समाजलाई पनि सुसूचित तुल्याउने नै हो । यसका लागि समाजका लागि उपयोगी र सान्दर्भिक सामग्रीहरू पोष्ट गर्नु नै हरेक प्रयोगकर्ताको दायित्व हुन आउँछ । यसैगरी, सोसल मिडियामा आएका भ्रामक जानकारीबाट बँच्नका लागि हरेक सामग्रीप्रति स्वस्थ्य किसिमको आशंका गर्नुपर्ने हुन्छ ।

सोसल मिडिया अभिव्यक्तिको सुन्दर ‘प्ल्याटफर्म’ हो । तर, अभिव्यक्तिको नाममा तीक्ततापूर्ण, अपमानजनक तथा घृणास्पद अभिव्यक्ति दिनुहुँदैन । यसले नजानिँदो किसिमले समाजमा बैरभाव पैदा गर्छ । 

यसबाट समाज विभाजित हुने खतरा पनि रहन्छ । त्यसकारण, सोसल मिडियामा यस्ता अभिव्यक्तिले कुनै स्थान पाउन हुँदैन । आफ्ना असहमति र असन्तोषलाई शिष्ट भाषामा व्यक्त गर्नु श्रेयस्कर हुन्छ ।

यी र यस्ता पक्षहरूलाई मनमा राखेर रचनात्मक एवम् विवेकपूर्ण ढङ्गाबाट सोसल मिडियाको प्रयोग गरेमा त्यसले कसैको अहित गर्दैन । बरू, यसले समाजको गुरुत्तर प्रगतिमा एकपछि अर्को गरी योगदान दिँदै जान्छ ।

अतिरिक्त सामग्री

टिप्स्ः सोसल मिडियाको बुद्धिमत्तापूर्ण प्रयोग कसरी गर्ने ? 

  • आफू सुसूचित हुने र समाजलाई पनि सुसूचित तुल्याउने कार्यलाई मूलभूत उद्देश्य राख्नुहोस् ।
  • आलोचनात्मक चेतका साथ सोसल मिडिया प्रयोग गर्नुहोस् ।
  • सोसल मिडियामा आएका सामग्रीप्रति स्वस्थ्य किसिमको आशंकाको भाव( a healthy sense of doubt ) राख्नुहोस् ।
  • अतिरञ्जनापूर्ण अभिव्यक्तिलाई ठाउँ नदिनुहोस् ।
  • सोसल मिडियाको प्रयोगलाई लत बन्न नदिनुहोस् । 
  • घृणास्पद अभिव्यक्ति र गाली–गलौजबाट परै रहनुहोस् ।
  • अनैतिक तथा गैरकानुनी सामग्री उत्पादन र सेयर गर्ने कार्यबाट पूरै बच्नुहोस् ।

के हो फिसिङ ?

प्रतिष्ठित व्यक्ति वा संस्थाको नामबाट इमेल वा टेक्ट मेसेज पठाएर कसैको क्रेडिट कार्ड नम्बर, बैंक खाता नम्बर, पासवर्डजस्ता महत्त्वपूर्ण व्यक्तिगत सूचना हत्याउने दुष्कर्मलाई नै फिसिङ (phishing) भनिन्छ । यसअन्तर्गत कुनै विशिष्ट प्रयोजनका लागि भन्दै मागिएका गोप्य सूचनाको प्रयोग गरेर बैंक खाता वा क्रेडिट कार्डबाट पैसा चोर्ने तथा व्यक्तिगत सूचनाहरू लिक गर्ने वा अनधिकृत प्रयोग गर्ने गरिन्छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टनको इमेल अकाउण्ट ह्याक गरी उनका निजी सूचनाहरू सार्वजनिक गरिएको घटनालाई यसको एउटा गतिलो दृष्टान्त मान्न सकिन्छ ।

[युवामञ्च । मंसिर २०७८ । 'सामाजिक सञ्जाल : सम्भावना र जाल' शीर्षकमा प्रकाशित । ब्लगमा भएका सामग्री  प्रयोग गर्न सकिन्छ । प्रयोग गर्दा स्रोत खुलाइदिनुहोला ।]


Monday, February 28, 2022

ठाडो भाकाको उत्खनन

- यमबहादुर दुरा 

अहिलेको साइबर युगमा विदेशका हरेक चीज हाम्रो कोठाचोटामा निर्बाध पसिरहेका छन्। आयातीत संस्कृतिको अन्धानुकरणमा हामी मस्त रहँदा हाम्रा मौलिक चिनारी भने सङ्कटमा छन् । रैथाने संस्कृति ह्रास हुँदै गएको छ। आधुनिकताको रापमा पिल्सिएको त्यही रैथाने संस्कृतिलाई सुमसुम्याउँदै लालबहादुर भुजेलले लोकजीवनको मौलिक लयबारे पुस्तक प्रकाशन गरेका छन्, ठाडो भाकाको लोकसांस्कृतिक इतिहास


गण्डकी भेकमा एक समय निकै लोकप्रिय साङ्गीतिक शैली हो, ठाडो भाका । जुन भाका गाउन खास कला र सीप चाहिन्छ। समयसँगै अहिले हराउँदै र बहुसङ्ख्यकले लत्याउँदै गएको यति विशिष्ट लोकभाकालाई इन्जिनियरिङ पेशाका भुजेलले पुस्तकाकार कृतिमा बुन्नुलाई समयको कसीमा विपरीत धारा जस्तै भइदिएको छ।


ठाडो भाकालाई नै मूल विषय बनाएर पुस्तक लेखिएको जानकारी हालसम्म छैन। भुजेलले कालातीत भइसकेका कलाकारहरूको मौलिक थातथलोमै पुगी स्थलगत अध्ययन गरेर पुस्तक तयार पारेका हुन् । पुस्तकमा ठाडो भाकाको उत्पत्ति र विकासक्रम, गायकहरूको व्यक्तिवृत्त, घतलाग्दा प्रसङ्ग, वंशवृक्षलगायत विषय समेटिएका छन्।



पुस्तकमा कृतिकार भुजेलले प्रशस्त मिहिनेत गरेको देखिन्छ। विसर्जनोन्मुख साङ्गीतिक परम्परा जोगाउन उनको यो प्रयत्न प्रशंसनीय पनि छ।

 विसर्जनोन्मुख साङ्गीतिक परम्परा जोगाउन उनको यो प्रयत्न प्रशंसनीय पनि छ। यति हुँदाहुँदै पुस्तकमा केही खट्किने पक्ष छन्। विषयवस्तुअनुसार ठाडो भाकाको साङ्गीतिक इतिहासलाई जसरी उधिन्नुपर्ने थियो, त्यसरी उधिन्न नसकेको प्रतीत हुन्छ। शोधविधि तथा सूचना व्यवस्थापनका दृष्टिले पनि कृतिमा धेरै कमजोरी छन्।


ठाडो भाकाको उत्पत्ति र विकासक्रमबारे चर्चा गर्दा विषयवस्तुलाई सामान्य उठान मात्र गरिएको छ। लेखकले उत्पत्ति र विकासक्रमको समयरेखा (टाइमलाइन), साङ्गीतिक खलक (ट्युन फेमिली) जस्ता पक्षलाई राम्रोसँग पर्गेल्न सकेका छैनन्। ठाडो भाकाका आधारभूत पक्षबारे पनि प्रकाश पार्न सकेका छैनन्।


पुस्तकमा ठाडो भाकाका दिवङ्गत गायकहरू बौद्धसिङ गुरुङ, देउबहादुुर दुरा, पञ्चसुब्बा गुरुङ, मोतीलाल गुरुङ, बखतबहादुर गुरुङ, मनिराम दुरा र भेडीखर्के साइँला ९दीर्घराज अधिकारी० बारे मुक्तकण्ठले चर्चा गर्दा तत्कालीन प्रतिभाशाली गायिकाबारे भने नितान्त झिनो किसिमले चर्चा गरिएको   छ। एक समय ख्याति कमाएका पेचेरे दुरा, भक्तिमाया दुरा, धनमाया तामाङ, ज्ञानीमाया थापा आदि गायिकाको कला र गलाबारे चर्चै भएको छैन। गौरवमय इतिहास बनाएका गायिकाहरूको नाम मात्र लिएर छाडिएको छ।


लेखकले तत्कालीन समयका गायिकाबारे चर्चा गर्दा बहुचर्चित गायक देउबहादुुर दुरासँग गीतमा ठोलाबाजी गर्न सक्ने आफली घर्तिनीबारे केही हरफमै कुरो टुङ्ग्याएका छन्। जब कि, पञ्चसुब्बा गुरुङबारे १६ पृष्ठको बखाननामा पेश गरेका छन्। यसबाट कृतिमा समान हैसियत भएका कलाकारको खोजी तथा चिनारी सन्तुलित नभएको देखाउँछ।


कृतिकार भुजेलले पुस्तकको एक अध्यायमा आफूले रचना गरेको ठाडो भाका गीत पस्केका छन्। लोकजीवनका लागि यो अनौठो प्रसङ्ग हो। सामान्यतया, ठाडो भाका कुनै रचनाकारले रच्नेभन्दा पनि लोककण्ठबाट तत्क्षण प्रकट हुने मौखिक साहित्य हो। लोकसाहित्य मौखिक परम्परामा आधारित भएकाले यसमा लिखित परम्पराको उस्तो स्थान हुँदैन। लेखकलाई ठाडो भाकाको गीत राख्नै मन भए आफूले रचेको गीत नभई गाउँबेसी वा हाटबजारमा सुनिएका रोचक गीत पस्किएको भए पुस्तकको सान्दर्भिकता बढ्ने थियो।


कतिपय ठाउँमा मूल विषयबाट बहकिएर लेखक अन्यत्रै पुगेका छन्। पुस्तक कतै यात्रा संस्मरण जस्तो, कतै अनुभूति जस्तो त कतै स्थान परिचय जस्तो देखिन्छ।


पुस्तकले निर्धारण गरेको विषयवस्तु अनुसार यो कृति ठाडो भाका र यसको सांस्कृतिक इतिहासलाई मियो मानेर लेखिनुपर्थ्यो। तर, कतिपय ठाउँमा मूल विषयबाट बहकिएर लेखक अन्यत्रै पुगेका छन्। पुस्तक कतै यात्रा संस्मरण जस्तो, कतै अनुभूति जस्तो त कतै स्थान परिचय जस्तो देखिन्छ।


भुजेलले एउटा परिशिष्टमा आफ्नो जन्मस्थान दुराडाँडाबारे चर्चा गरेका छन्, जुन पुस्तकमा सान्दर्भिक देखिंँदैन। सङ्कलित सूचनाको व्यवस्थापनमा पनि लेखक धेरै चुकेका छन्। सूचना बटुल्न धेरै शारीरिक तथा मानसिक श्रम गरे पनि त्यसको सही व्यवस्थापन नहुँदा लेखाइ खजमजिएको प्रतीत हुन्छ।


कुनै पनि शोधमूलक कृति अध्ययन गर्दा पाठकले शोधशास्त्रसम्बन्धी धेरै प्रश्न मनमा राखेर पढ्छन्। पुस्तक शोधविधि अनुरूप लेखिएको छ या छैनरु शोधविधि अनुसार सूचनाको व्यवस्थापन भएको छ या छैनरु उचित ठाउँमा र सही किसिमले सूचनाको स्रोत खुलाइएको छ कि छैनरु सन्दर्भ सामग्री दिइएको छ कि छैनरु जसका उत्तर नभेटिए कृतिको उच्च मूल्याङ्कन नहुन सक्छ।


सन्दर्भ सामग्री उल्लेख भए पनि शोधशास्त्रको विभिन्न कसीमा यो पुस्तक कमजोर लाग्छ। पुस्तकमा स्थाननाम तथा व्यक्तिका नाम लेख्दा केही छपाइ अशुद्धि पनि छन्, जुन तथ्यगत गल्ती बनेका छन्। जस्तै, हजुर दुरा हुनुपर्नेमा हचुर दुरा (पृ.४३०), छेलाती (स्थाननाम) हुनुपर्नेमा छ्यालाती (पृ.४४०) हुन पुगेको छ।


केही कमी(कमजोरी रहे पनि समग्रमा पुस्तक पठनीय र लोकसंस्कृतिको उत्थानको दृष्टिले प्रशंसनीय छ। ठाडो भाकाबारे चिन्तन(मनन गर्ने सांस्कृतिक विधाका लेखक, अध्येता तथा संस्कृतिकर्मीहरूका लागि पुस्तक राम्रो खुराक हुन सक्छ।


पुस्तक: ठाडो भाकाको लोकसांस्कृतिक इतिहास             लेखक: लालबहादुर भुजेल

प्रकाशक: चाँगुनारायण सांस्कृतिक समाज                      मूल्य: रु.५००      पृष्ठ: २४४

[हिमालखबर । २०७८ साल फागुन १४ गते]

Sunday, February 13, 2022

नेपाली गाउँबस्तीका डोबहरू


–यमबहादुर दुरा

भ्रमणबारे एउटा कथन छ—कुनै कुराबारे हजारपटक सुन्नुभन्दा एकपटक देख्नु उत्तम  । ईश्वीको पाँचौँ शताब्दीतिर धर्मशास्त्री सेन्ट अगस्टिनल यही कथनलाई बल पुग्ने गरीे एउटा अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । उनको विश्वचर्चित भनाइ छ, ‘विश्व एउटा पुस्तक हो, भ्रमण नगर्नेले दुनियाँरूपी पुस्तकको एउटा पानामात्र पढ्छ ।’ 

यी भनाइले भ्रमण कति महत्त्वपूर्ण छ भन्ने तथ्य प्रष्ट्याउँछन् । 

नेपाल पनि प्राचीन कालदेखि नै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य रहँदै आएको तथ्य छिपेको छैन । हालका दिनमा नेपालमा आन्तरिक पर्यटनकर्मको ग्राफ बढ्दो छ । 

यससँगै देशमा भ्रमण संस्कृति फस्टाउँदै गएको देखिन्छ । ‘वल्र्ड ट्राभल एण्ड टुरिजम’ का अनुसार नेपालको पर्यटन उद्योगमा हुने आम्दानीको कुल हिस्सामध्ये ५६ प्रतिशत हिस्सा आन्तरिक पर्यटनले ओगट्छ, जुन अर्थतन्त्र र स्वदेश चिन्ने दृष्टिले चानचुने विषय होइन ।

नयाँ नयाँ ठाउँ घुम्ने र ती ठाउँमा सङ्गालिएका यात्रानुभूतिहरूलाई शब्दचित्र, तस्बिर र भिडियोमार्पmत जनसमक्ष पस्कने प्रवृत्ति नेपालमा पनि बढदो छ । यसलाई यात्रावृत्तान्तकै एक हिस्सा मान्न सकिएला । त्यसो त, यात्रावृत्तान्त नेपाली साहित्यिक वृत्तमा कुनै अपरिचित विधा होइन । नेपाली साहित्यमा नियात्रा विधा समृद्ध नै देखिन्छ ।

यायावर अनुभूतिहरूलाई शब्दचित्रमा उतार्ने शब्दशिल्पीहरू नेपालमा बाक्लै भेटिन्छन् । आधुनिक समयमा पूर्णप्रकाश नेपाल ‘यात्री’, घनश्याम राजकर्णिकार, डा. हर्क गुरुङ, डा. तारानाथ शर्मा, तेजप्रकाश श्रेष्ठ, गोविन्द वर्तमानजस्ता प्रतिभाहरूले यात्रावृत्तान्तलाई उर्वर बनाएका छन् ।



यिनै यात्रावृत्तान्तकारहरूका पदचाप पछ्याउँदै प्रतीक ढकाल, दामोदर पुडासैनी ‘किशोर’, जय छाङ्छा, युवराज नयाँघरेलगायत थुप्रै शब्दशिल्पीहरूले यात्रावृत्तान्तलाई उर्वर बनाउन प्रयत्नशील छन् । यही लहरमा पोखरालाई कार्यक्षेत्र बनाएर लेखनकर्ममा जुटिरहेका सर्जक तिलकप्रसाद पुन ‘पुर्जा’ पनि मिसिन पुगेका छन् । उनी यात्रावृत्तान्तसम्बन्धी दुईटा कोसेली ‘साइनो’ र ‘बस्तीभित्र’ एकैचोटि सार्वजनिक गरेर पाठकसमक्ष आइपुगेका हुन् ।

बाल्यकालको तोतेबोलीयुक्त पलहरू पर्वतको ओख्रेनीमा बिताएका तिलकप्रसाद पुन ‘पुर्जा’ सात वर्षकै उमेरमा आमा–बासँग नवलपरासी बसाइँ सरे । बाल्यकालमै उनका पाइलाहरू पहाडका गौँडा–गल्छेडा र मधेशका समथर जमिनमा चलयमान भए । बसाइँ सराइबाट शुरु भएको उनको भ्रमणशीलता कायमै छ । हाल आएर भ्रमणशील सर्जकका रूपमा दएिका छन् ।  

लोकसंस्कृतिप्रति अनुरागयुक्त रुझान भएका ‘पुर्जा’ को लेखाइमा लोकजीवन छ्याङ्ग गरी उघ्रिन्छ । उनले यसअघि लोकजीवनका आयामहरूलाई समेटेर ‘लोक संस्कृतिका सुसेलीहरू’ (२०६७) कृति पाठकसमक्ष ल्याइसकेका छन् । ‘पुर्जा’ को कृतिमा विचरण गरिरहँदा लोकजीवनका रैथाने अनुभूतिहरू बयली खेल्न आइपुग्छन् ।

विगतमा फुटकर रूपमा मात्र यात्रावृत्तान्तलाई लिपिबद्ध गरेका तिलकप्रसाद पुन ‘पुर्जा’ ले यसपटक भने यात्रानुभूतिहरूलाई पुस्तककार कृतिको रूप दिएका छन् । उनको नवीनतम् पुस्तककार कृति ‘साइनो’ मा स्वदेश भ्रमणका रैथाने अनुभूतिहरू सल्बलाउँछन् अनि लोकजीवनका सुवासहरू केबराको फूलझैं  मगमगाउँछन् । 

कृतिको केन्द्रीय विषयवस्तुले नेपालको नयाँ पर्यटकीय गन्तव्यको रूपमा स्थापित होमस्टे, रैथाने जीवनशैली र लोकसंस्कृतिको सेरोफेरोमा फन्को मार्छ । भूगोलको कुरा गर्दा कृतिमा पूर्वमा धनकुटा–सुनसरीदेखि पश्चिम कैलालीसम्मका पहाड तथा तराईका होमस्टे तथा पर्यटकीय गन्तव्यहरूको चर्चा छ । नेपालका होमस्टेसँग जोडिएका अनुभूतिहरूलाई समेटेर लेखिएको यो पहिलो कृति हुनसक्छ । 

कृतिकार चित्रकारितामा पनि हात बसेका प्रतिभा पनि हुन् । उनका चित्रकलामा गाउँबस्तीको झझल्को आउने चमत्कारपूर्ण कलाकारिता भेटिन्छ । आँखै अगाडि गाउँबस्ती उभिँदा गाउँले जीवनमा अभ्यस्त जो–कोही पनि अतीतमोहको मृगमरीचिकातिर धकेलिदिन्छ । यस कृतिमा चाहिँ उनले गाउँबस्तीको रेखाचित्र नभई शब्दचित्र तयार पारेका छन् । 

प्रस्तुत कृतिमा ३७ वटा लेखहरू सङ्ग्रहीत छन्, जसमध्ये आधा जति लेख पोखराका स्थानीय अखबार तथा म्यागजिनमा पूर्वप्रकाशित सामग्री हुन् । कृतिले दरै, पहरी, बोटे, थारू, मुसहरजस्ता जनजातिका जीवनशैलीसँग मितेरी गाँस्छ । कृतिमा लोकजीवनका विविध झाँकीहरूका अतिरिक्त भक्तपुरको जुजुधौ अनि टोखाको चाकु र च्युराको बखान पनि भेटिन्छ ।


कृतिकारले विभिन्न कालखण्डमा आफूले चाहरेका पर्यटकीय गन्तव्यहरूका मनोरम भूदृश्य, स्थानीय जीवनशैली, होमस्टे सञ्चालकहरूले दिएका न्यायो आतिथ्य र तिनै होमस्टेमा भेटिने सुस्वादु परिकारको सहस्र वर्णन गरेका छन् । गाउँठाउँ डुल्दा आफू  र आफ्ना टोलीसमक्ष टक्र्याइएका घरेलु ‘रौसी’ को मादकतापूर्ण सुस्वादुपनको चर्चा पनि कृतिमा छुटाएका छैनन् ।

माथि नै भनियो, ‘पुर्जा’ लोकसंस्कृतिको रुझान भएका सर्जक हुन् । उनको कृतिमा स्थानीय मोहनी लोकभाका र लोकनृत्यको चर्चा भएन भने त्यो अनौठो विषय हुनपुग्छ । उनले लोकभाका र लोकनृत्यले सजिएको स्थानीय जनजातीय लोकसंस्कृतिको भरपूर रसास्वादन गरेका छन्, जुन कुरा उनले कृतिका विभिन्न पृष्ठहरूमा रिठ्ठो नबिराई चर्चा गरेका छन् ।

कृतिमा नजर दौडाइरहँदा कृतिकारले स्थानीय भूगोल, लोकसंस्कृति र लोकमनोविज्ञानलाई हृदयको कुनामा सजाएर राखेको अनुभूति हुन्छ, जुन यात्रावृत्तान्तको आधारभूत व्याकरण पनि हो । पुस्तकको भाषा सहज र सरल छ । कृतिमा एक किसिमको सहज लालित्य पनि छ । पुस्तकमा ठाउँ ठाउँमा उखान–टुक्काहरू प्रयोग भएका छन्, जसले लेखाइलाई स्वादिलो बनाएको छ । 

यति हुँदाहुँदै पनि कृतिमा सुधार गर्नुपर्ने ठाउँ पर्याप्त छ । कृतिको शैलीगत पक्षमा सुधार अपेक्षित छ । पूर्वप्रकाशित कृति साभार गर्ने तरिकामा एकरूपता छैन । कृतिमा प्रयोग गरिएका कतिपय फोटो–क्याप्सन भद्दामात्र होइन, लयविहीन पनि देखिन्छन् । ठाउँठाउँमा भाषिक अशुद्धि भेटिँदा सम्पादकीय कैची हुनुपर्ने जति निर्मम बन्न नसकेको प्रतीत हुन्छ ।

कतिकारले पुस्तकमा लोकगीतको नाममा बजारू गीतका हरफहरू उद्धरण गरेका छन् । लोकगुञ्जनको नाममा व्यापारिक प्रयोजनका लागि रचिएका अल्लारे पाराका सस्तो गीतलाई पनि उद्धरण गरेको देख्दा कताकता खल्लो लाग्छ । 

लोकजीवनको प्राङ्गारिक विषयवस्तु पस्किरहँदा बीचबीचमा यस्ता ‘व्यापारिक आइटम’ भेटिँदा दाँतमा ढुङ्गा लागेजस्तो अनुभव हुन्छ । कृतिकारले मौलिक शब्दले सजिएका तथा रचनाकार अज्ञात रहेका लोकभाका र वस्तुकरण गरिएका गीतबीच भिन्नता छुट्याउन नसकेका हुन् कि भन्ने भान हुन्छ । 

कृतिको भाषाशैली मूलतः वर्णनात्मक छ, जसमा विश्लेषणात्मक पक्षको अभाव छ । उदाहरणका लागि कृतिकार ठाउँठाउँमा घरेलु ‘रौसी’ स्वादबारे चर्चा गरेका छन् । तर, यसको अर्को लुकेको पक्षको उदघाटन गरेका छैनन् । प्रहरी प्रशासनले बहुराष्ट्रिय कम्पनीको मदिराजन्य उत्पादनलाई खुल्ला छाडेर घरेलु ‘रौसी’ निर्मम तरिकाले घोप्ट्याइदिने घटना कुनै नयाँ होइन । प्रहरी प्रशासनको यस्तो रबैयाबाट स्थानीयस्तरमा भएका सांस्कृतिक हिंसा र स्थानीय अर्थतन्त्रमा परेको नकारात्मक असरबारे विश्लेषणात्मक धारणा राख्ने गजबको अवसर कृतिकारलाई थियो, जुन उनले राम्रैसँग गुमाएका छन् ।

हरेक कृतिमा सुधारको गुञ्जायस रहिरहन्छ । तर पनि, स्थानीय संस्कृति र अर्थतन्त्र केन्द्रमा राखेर मिहिन किसिमले यात्रावृत्तान्त जनसमक्ष आउनु खुसीलाग्दो पक्ष हो । रैथाने यात्रा अनुभूतिहरूलाई पुस्तकाकार कृतिमा उतार्ने कृतिकारको प्रयास प्रशंसनीय छ । 

सगम्रमा भन्दा कृतिले नेपालका होमस्टे तथा सांस्कृतिक दृष्टिले आकर्षक पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन्छ, जुन नयाँ घुमक्कडहरूका लागि उपयोगी हुनसक्छ । नेपाल आमालाई नयाँ ढङ्गले चिन्ने र चिनाउने दिशामा कृतिकारले दिएको योगदान कुनै पनि अर्थमा कम आँक्न मिल्दैन । 

यहाँनेर, एउटा प्रसङ्ग स्मरणीय हुन आउँछ । अमेरिकी यात्रावृत्तान्तकार विलियम हिट–मुनले आधुनिक सुखसुविधाबाट बञ्जित अमेरिकी गाउँबस्तीहरूको भ्रमण गरेर सन् १९८२ मा ‘ब्लु हाइवेज’ नामक कृति तयार पारे, जसले अमेरिकी समाजमा तहल्का मच्चायो । 

 समकालीन नेपाली गाउँबस्तीका कथाव्यथा झल्किने गरी विलियम हिट–मुन पुस्तकजस्तो बेस्टसेलर यात्रावृत्तान्त लेख्ने  अवसर छ । यस अवसरले तिलकप्रसाद पुन ‘पुर्जा’ जस्ता भ्रमणशील सर्जकहरूकोबाटो हेरिरहेको पनि हुनसक्छ । 

हिमालखबर । २०७८ साल माघ २९ गते । परिमार्जनसहित ।

Saturday, January 15, 2022

आदिवासी ज्ञानको दस्तावेजीकरण

 –यमबहादुर दुरा

आधुनिकतासँगै भित्रिएको पश्चिमी विज्ञान र त्यसबाट निस्रित ज्ञानले हाम्रो जीवनशैलीलाई बहुधा सुखमय बनाएको छ । यसबाट मानव जातिको भौतिक उन्नतिको ग्राफ उकालो लागेको लाग्यै छ । तर पनि, कतिपय प्राकृतिक विपत्तिका सामु आधुनिक समाज घुँडा टेक्न विवश छ । 

बाढीपहिरो, जल–वायु–भूमि प्रदूषण, जैविक विविधतामा ह्रास आदि आधुनिक समाजले भोगिरहेका जल्दाबल्दा जब्बर समस्या हुन् । यस्ता वातारणीय समस्याहरूले आधुनिक युगको चमकधमकपूर्ण माहोललाई बिथोल्दै गएका छन् । समस्त पृथ्वीवासीसँग सीधै नाता गाँस्ने यस्ता समस्याले प्रतिपल बिरानो बन्दै गइरहेकोे परम्परागत ज्ञानलाई नवीकरण गरी व्यवहारमा उतार्नुपर्ने खाँचो अनभूत गराएको छ ।

प्राकृतिक स्रोत-साधानको अधिक दोहन तथा असन्तुलित विकासको लहरले वातावरणीय गडबडीका घटनाहरू बढ्दै गएका छन् । यसबाट आधुनिक समाजको आँखैसामु वातावरणीय समस्याको पहाड खडा हुन पुगेको छ । यसले पनि परम्परागत ज्ञानको महत्त्वबोध गराएको छ ।

परम्परागत ज्ञान मानव समुदायले हजारौँ वर्षदेखि व्यवहारमा उतार्दै ल्याएको र एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको अनुभवसिद्ध ज्ञान हो, जुन प्रकृतिमैत्री हुन्छ भन्ने आमविश्वास छ । परम्परागत ज्ञानले प्रकृति र स्थानीय संस्कृतिसँग आत्मीय सम्बन्ध कायम गरेको हुन्छ । यसो हुँदा मानव र प्रकृतिबीच अस्वाभाविक द्वन्द्व हुँदैन भन्ने विश्वास गरिन्छ ।


परम्परागत ज्ञानको यिनै गुणग्राही पक्षहरूलाई हृदयंगम गरी पत्रकार कुमार यात्रुले ‘परम्परागत आदिवासी ज्ञान’ शीर्षकमा पुस्तककार कृति सार्वजनिक गरेका छन् । नेपालका आदिवासी जनजाति समुदायले परम्परागत ज्ञानलाई कसरी व्यवहारमा उतार्दै आएका छन् ? वर्तमानमा तीव्र विलोपीकरणको नियति भोगिरहेको परम्परागत ज्ञानको संरक्षण र सम्वर्द्धन  गर्न के गरिनुपर्छ ? यी प्रश्नहरूलाई केन्द्रविन्दुमा राखेर कृतिकारले अनेकन् पठनीय विवरण पेश गरेका छन् ।

यस क्रममा कृतिकारले चेपाङ, तामाङ, शेर्पा, लिम्बू, नेवार, मगर, राई, राउटे, गुरुङ, थारू, छन्त्याल, डोल्पो, शेर्पा, माझी, ह्योल्मो, पहरी आदि समुदायमा प्रचलित परम्परागत ज्ञानसँग जोडिएका प्रथा, चालचलन र गतिविधिलाई सान्दर्भिक दृष्टान्तसहित पाठक समक्ष पस्कने प्रयत्न गरेका छन् । 

पुस्तकमा नेपालका आदिवासी जनजाति समुदायले अभ्यासमा ल्याएका खर्क तथा चरिचरण प्रणाली एवम् पानी, कुलो तथा जलाधारको व्यवस्थापनबारे चर्चा गरिएको छ । यसैगरी, कृषि प्रणाली, मेलापर्म, शिकार खेल्ने सीप, परम्परागत ग्रामीण अर्थतन्त्र, हस्तकला, झाँक्री प्रथा, जडीबुटी तथा परम्परागत उपचार–पद्धतिबारे रोचक जानकारी अघि सारेर व्याख्या–विश्लेषण गरिएको छ । 

उदाहरणका लागि आदिवासी ज्ञानले प्राकृतिक स्रोत–साधनलाई मासिने गरी उपयोग गर्न अनुमति दिँंदैन । प्राकृतिक स्रोतलाई नयाँ पुस्तका पनि साँच्न सिकाउँछ । आदिवासी समुदायले शिकार गर्दा पोथी वा माउलाई मार्दैनन् । फुल पार्ने समयमा पनि माछा मारिँदैन । यसप्रकारको प्रकृतिमैत्री अभ्यास खोलामा विषादि प्रयोग गर्ने तथा विष्फोटक पदार्थ पड्काएर जलीय पारिस्थितिक प्रणाली ध्वस्त पार्ने घातक र स्वार्थी प्रवृत्तिका लागि घुमाउरो तरिकाको युगीन पाठ हो भन्ने लाग्छ। 

पुस्तकमा आदिवासी ज्ञानसम्बन्धी सैद्धान्तिक तथा नीतिगत अवधारणालाई केलाउने प्रयत्न गरिएको छ । जलवायु परिवर्तनले आदिवासी समुदायलाई पारेको प्रभावबारे पनि चर्चा गरिएको छ । यसका अतिरिक्त परिशिष्ट खण्डमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र अभिसन्धिसँग जोडिएका दस्तावेजहरूलाई समावेश गरिएको छ । यसबाट आदिवासी ज्ञानसम्बन्धी कानुनी प्रावधानहरूबारे जान्ने अवसर मिल्छ ।

पुस्तकमा वर्णित आदिवासी समुदायमा प्रचलित परम्परागत कृषि प्रणालीबारे अध्ययन गरिरहँदा विकासे बालीनाली भित्रिनाले रैथाने बीउ मासिँदै गएको, यसबाट किसान वर्ग नजानिँदो किसिमले परनिर्भर हुँदै कङ्गाल बन्ने बाटोतिर लागेको, बढी नाफा कमाउने लालसाले आदिवासी ज्ञानलाई अपहेलना गर्दै रासयनिक मल प्रयोग गर्दा माटो र मानिसको स्वास्थ्य चौपट हुन थालेकाजस्ता वर्तमान युगले भोगिरहेको समस्यातर्फ  पनि मन दौडिन थाल्छ । 

पुस्तकको शुरुदेखि अन्त्यसम्म नजर दौडाउँदा नेपालमा आदिवासी ज्ञानको अवस्थाबारे पाठकको मस्तिष्कमा एउटा नयाँ चित्र कोरिन पुग्छ । अनि, मौखिक वृत्तान्तमा मात्र बाँचेका परम्परागत ज्ञानलाई अभिलेखीकरण गरी नयाँ पुस्तालाई रैथाने ज्ञान हस्तान्तरण गर्ने कृतिकारको सत्प्रयासलाई सलाम गर्न मन लाग्छ ।

आदिवासी ज्ञान विलोपीकरणको दिशातर्फ  उन्मुख हुनुको कारण खोतल्दै कृतिकार  टिप्पणी गर्छन्, ‘आदिवासी जनजातिप्रति सरकारको असहिष्णु नीति, विश्वव्यापीकरण, बजारमुखी अर्थतन्त्र तथा सामाजिक सांस्कृतिक औपविेशक प्रभावका कारण यसप्रकारका ज्ञानहरू लोप हुँदै गएका छन्’ (पृ.५९) ।

आदिवासी ज्ञानको गंगा प्रत्यक्ष वा परोक्ष रूपमा आध्यात्मिकता, सांस्कृतिक इतिहास र राजनीति जोडिएको हुन्छ । यस्ता एकअर्कामा अन्तरसम्बन्धित विषयमा कृतिकारले धेरथोर चर्चा गरे पनि धित् मर्ने गरी विषयवस्तुलाई उधिन्न भने नभ्याएका हुन् कि भन्ने प्रतीत हुन्छ ।


देशको कुल जनसंख्याको लगभग ३६ प्रतिशत हिस्सा ओगट्ने आदिवासी जनजाति समुदायमा प्रचलित परम्परागत ज्ञानलाई केन्द्रीय विषय बनाएर यस कृति तयार पारिएको हो । आफ्नो अध्ययन क्षेत्रको दायरा निर्धारण गर्दा आदिवासी ज्ञानलाई अन्य ज्ञानसँग झिनो रूपमा तुलनात्मक अध्ययन गरिएको भए पनि व्यापकस्तरमा ज्ञान भिडाउने काम भएको देखिन्न, जुन यस कृतिको कमजोरी मान्न सकिन्छ ।

आदिवासी ज्ञानलाई एकतिर परम्परागत ज्ञान, परम्परागत इकोलोजिकल ज्ञान, मौलिक विज्ञान (नेटिभ साइन्स), सामुदायिक ज्ञान, स्थानीय ज्ञान, लोक ज्ञान (फोक नलेज), किसानको ज्ञान, निःशब्द ज्ञान (ट्यासिट नलेज) जस्ता फरक–परक नामबाट चिन्ने गरिएको पाइन्छ भने अर्कोतिर कतिपय अवस्थामा यिनीहरूलाई बेग्लाबेग्लै ज्ञानका रूपमा बुझने र सोही अनुसार व्याख्या गर्ने चलन पनि छ । यस द्विविधापूर्ण अवस्थालाई चिर्न कृतिकारको आफ्नो मौलिक विश्लेषणात्मक दृष्टिकोण पनि आउनुपर्‍थ्यो ।

यहाँनेर, पुस्तकको प्राविधिक पक्षबारे पनि केही चर्चा गर्नु सान्दर्भिक हुन आउँछ । पुस्तकको हरेक अध्याय सन्दर्भ–सूची दिएको छ, जसबाट प्राज्ञिक पुट मिलेको छ । तर सन्दर्भ–सूची त्रुटिविहीन भने छैन । सन्दर्भ–सूचीले निश्चित शैली र व्याकरण अनुसरण नगरेकाले कताकता खल्लो अनुभव हुन्छ ।

पुस्तकमा अर्को पनि टिप्पणी गर्नलायक विषय छ । धेरै मिहेनत गरेर पुस्तक तयार पारिएको छ । सन्दर्भ–सूची दिइसकेपछि अनुक्रमणिका (इन्डेक्स) राख्न कञ्जुस्याइँ नगरेको भए यसको ओज अझ बढ्ने थियो भन्ने सचेत पाठकलाई लाग्नसक्छ । पुस्तकमा बाक्लै भेटिने भाषिक अशुद्धिले पटक पटक आँखा बिझाउँछ । 

यति हुँदाहुँदै पनि पुस्तकले आधुनिकताले रजगज गरेको युगमा पनि परम्परागत ज्ञान, सीप र अनुभव उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण हुनसक्छ भन्ने अनुभूत गराएको छ । परम्परागत ज्ञानलाई अभिलेखीकरण गर्ने, नीति निर्मातालाई झक्झक्याउने र नयाँ पुस्तालाई परम्परागत ज्ञानतिर अभिमुखीकरण गर्ने लेखकको प्रयत्न स्तुत्य छ । 

........

लेखक: कुमार यात्रु

प्रकाशकः इन्डिजिनियस मिडिया फाउण्डेसन

प्रकाशन वर्ष : २०७८

मूल्यः ३९८/- रूपैयाँ


गोरखापत्र (शनिबार) । २०७८ साल माघ १ गते ।