Wednesday, June 6, 2018

‘नीतिशतकम्’ का व्याख्याता


–यमबहादुर दुरा

गौतम बुद्धले जीवन र जगतबारे दिएका सन्देशप्रति कमैले असहमति जनाउलान् । उनका सन्देशहरू आज पनि उत्तिकै उद्धरणीय र मननीय छन् । यसबारे विगतदेखि वर्तमानसम्म धेरैले व्याख्या गर्दै आएका छन् । ती व्याख्याताका सूचीमा ओशो रजनिशको नाम पनि चहकिलो रूपमा देखा पर्छ । उनले गौतम बुद्धका सन्देशहरूलाई मिहिन पाराले विश्लेषण गरी जनजनसम्म विस्तार गर्न सहयोग गरे । यस दृष्टिले आशोको योगदान प्रशंसनीय छ ।


कवि तीर्थराज अधिकारी (वि.सं. १९८२–२०७२) ले पनि सानै ‘स्केल’ मा भए पनि एउटा यस्तै लोकहितैषी काम गर्नुभएको छ । उहाँले संस्कृत वाङ्मयको ‘नीतिशतकम’ लाई नेपालीमा छायाँनुवाद गर्नुभयो । हरेक दृष्टिले महत्वपूर्ण ठहरिएको संस्कृत वाङ्मय समयक्रमसँगै दुरूह बन्दै गएको छ ।

अधिकारीले यस्ता दुरूह कृतिलाई नेपालीमा अनुवाद गरी जनस्तरमा  पुर्‍याउने काम गर्नुभयो । उहाँ संस्कृत वाङ्मयको रुझानबाट साहित्यिक कर्मभूमिमा उत्रिएका व्यक्तित्व हुनुहुन्थ्यो । परिणमस्वरूप उहाँलाई ‘नीतिशतकम’ को अनुवाद गर्ने काम सहज भयो ।

जीवन र जगतको रीतलाई साहित्यिक भावधारामा प्रवाहमय बनाउन अधिकारी सक्षम व्यक्ति हुनुहुन्थ्यो । ‘भूगोल सूत्र’ (२०१६), ‘आफ्नै बाँसुरीको धुन’ (२०५२), ‘तीनतारा एक आकाश’, ‘निर्वाचन’, ‘सत्य कथा’ आदि उहाँका केही साहित्यिक विरासत हुन् । मूल रूपमा कविको छविबाट परिचित अधिकारीका काव्यकृतिमा भेटिने संस्कृत शब्दको छेलोखेलो र छन्दोबद्धताले उहाँ संस्कृत वाङ्मयबाट प्रभावित हुनुभएको प्रष्ट संकेत मिल्छ ।

लगभग साढे तीनदशक शिक्षण पेशामा संलग्न अधिकारीले नयाँ पुस्तालाई तेस्रो आँखा दिने काममात्र गर्नुभएन, अविरल रूपमा साहित्य–साधनामा पनि जुटिरहनुभयो । भारतवर्षमा सुपरिचित राजर्षि भर्तृहरिको कृति ‘नीतिशतकम’ लाई उहाँले नेपाली भाषामा छायाँनुवाद गर्नुभयो । यो काम उहाँले गर्नुभएका अनेक साहित्य कर्ममध्ये एउटा स्मरणीय योगदान हो ।

प्राचीन सन्दर्भ–ग्रन्थहरूका अनुसार भर्तृहरि उज्जैन (वर्तमान भारतको मध्यप्रदेश) का राजा थिए । उनी संस्कृत वाङ्मयका धुरन्धर रचनाकार मानिन्छन् । उनका कृति ‘नीतिशतकम्’ भारतवर्षमा प्रख्यात नीतिप्रबन्धहरूमध्ये उच्चतम् मानिन्छ । भर्तृहरिको जीवनकालको अनुमान विवादास्पद मानिन्छ । उनी राजा विक्रमादित्यका दाइ मानिन्छन् ।

भर्तृहरिले आफ्ना जीवन भोगाइका आधारमा तयार पारेका लोकव्यवहार तथा नीतिसम्बन्धी श्लोकहरूको संग्रह हो, ‘नीतिशतकम्’ । तीर्थराज अधिकारीले ‘नीतिशतकम्’ को छायाँनुवादलाई मूर्ख पद्धति, विद्वत्पद्धति, मानशौर्य पद्धति, अर्थ पद्धति, दुर्जन पद्धति, सुजन पद्धति, परोपकार पद्धति, धैर्य पद्धति, दैव पद्धति र कर्म पद्धति गरी दश खण्डमा विभक्त गर्नुभएको छ ।

भाषिक दृष्टिले धेरैका लागि दुरूह ठहरिएका संस्कृत वाङ्मयको बहुचर्चित कृति ‘नीतिशतकम्’ लाई छायाँनुवाद गरेर नेपाली पाठकमाझ पस्कने काम उहाँको साहित्यिक ‘करिअर’ र सामाजिक योगदान दुवै हिसाबले वन्दनीय छ ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य डा. टीकाराम पन्थीले कृतिको भूमिकामा कृतिबारे भन्नुभएको छ, ‘सामाजिक जीवनको संयमन, नियन्त्रण, सञ्चालन र व्यवस्थापन यस नीतिशतकका प्रत्येक श्लोक पठनीय, मननीय र धारणीय छन् ।’

डा. पन्थीले आजको अर्थमुखी (पैसामुखी) युगमा भ्रष्टाचार र गैरजिम्मेवारी बढिरहेको सामाजिक पृष्ठभूमिमा यस कृतिले सदाचारपूर्ण मानवीय व्यवहार अभिवृद्धि गर्न योगदानदिने राय दिनुभएको छ ।

कृतिलाई नेपालीमा छायाँनुवाद गर्ने क्रममा अधिकारीले जटिल ठहरिएका केही शब्दहरूको ‘फुटनोट’ दिएर थप प्रष्ट पार्ने प्रयास गर्नुभएको छ । यति हुँदाहुँदै पनि कतिपय ठाउँमा मूल पाठसँग मेल नखाएजस्तो वा अर्थान्तरण भए पाठकलाई लाग्नसक्छ ।

यस प्रसंगमा डा. पन्थीले संस्कृतका श्लोकहरू नेपालीमा अनुवाद गर्दा कतै कतै भावान्तरित भएजस्तो, अर्थ छुटेजस्तो वा अर्थ पूरा गर्न शब्द थपिएजस्तो देखिनु स्वाभाविकै हो भन्नुएको छ ।  छायाँनुवादमा देखिने यी स्वाभाविक कमजोरीबाहेक कृतिपठनीय र मननीय छ ।

मनिसमा राज गरिरहेको घमण्ड, द्वेष, रीस–राग, अप्रिय बाणीजस्ता दुर्गुणबारे कविको उद्घोष यस्तो छ (मूर्ख पद्धति, पृ.१):

ठूला बडा, घमण्डी छन् विज्ञ ईर्ष्यालु छन् सदा ।
अज्ञानी छन् अरु सारा प्रियवाक्य छ बेपता ।।

विद्याको महत्व अपम्पार छ । ‘नीतिशतकम्’ मा वर्णित विद्या–महिमाबारे उहाँको कलम बेजोड किसिमले दौडिएको छ (विदत्पद्धति, पृ.८):

विद्या सुन्दर रूप हो मनुजको विद्या ठुलो संपदा
विद्यावन्धु विदेशमा, बुझिलिएविद्या ठुलो देवता ।
विद्याभोग र कृति हो सुख दिने विद्यागुरुको गुरुं
विद्यापूज्य छ, भूपमा धन के ? विद्याविनको पशु ।।

भनिरहनु पर्दैन, जीवनमा असल संगतले धेरै महत्व राख्छ नै । यसबारे अधिकारीको कलम उज्यालो जीवन–दृष्टि छर्न सक्षम छ (विदत्पद्धति, पृ.९) :

पारी प्रसन्न मन, पाप समस्त फाली
अज्ञान हर्दछ, बहाउँछ सत्य बोली ।
पैmलाइदिन्छ यश, उन्नति, मान चैन
सत्संगले पुरुषमाभन के हुँदैन ? ।।

जन्म र मरणबीच अडेको मानव–चोलामा जन्मनुको सार्थकताबारे अधिकारी लेख्नुहुन्छ (मान–शौर्य पद्धति, पृ.११) :
को जन्मदैन, मर्दैन फेरिने दुनिया बिच ।
जन्मेको त्यहि हो, जसले लान्छ उन्नतिमा कुल ।।

यो भौतिकवादीदुनियाँमा धेरैको आँखा धनमाथि नै छ । धन आर्जनका लागि दुनियाँव्यग्र छ । धनको गति, दिशा र दशाबारे ‘नीतिशतकम्’ को सार यस्तो छ (अर्थ पद्धति, पृ.१५) :

दान, भोग अनि नाश यी तीन गति हुन्छन् धन तीन सदा ।
जो दिइन्न, भोगिन, उसको तृतीय गति हुन्छ सदा ।।

पठित व्यक्तिमा पनि दुष्ट व्यावहार कायमै छ । यी त्याज्य व्यावहार हुन् । यस सम्बन्धमा ‘नीतिशतकम्’ ले दिएको राय मर्मस्पर्शी छ (दुर्जन पद्धति, पृ.१८) :

पढेको नै छ त पनि त्याग्नू त्यो दुष्ट दुष्चर ।
मणिशोभित त्यो सर्प भयंकर हुँदैन र ! ।।

यी र यस्ता श्लोकहरूले कृतिलाई पठनीय बनाएका छन् । ‘नीतिशतकम्’ ले सम्प्रेषण गरेका गहकिला र गहन सन्देशहरूलाई चिन्तन–मनन गरेर छायाँनुवादमा उत्रँदा कवि तीर्थराजअधिकारीले धेरै मानसिक श्रम खर्चनुभएको प्रष्ट देखिन्छ ।  भौतिक वैभवका लागि नैतिकता गुमाउँदै गएको वर्तमान सामाजिक परिवेशमा यो कृतिको सन्देश एकदमै सान्दर्भिक ठहरिन्छ ।

उहाँले साहित्य कर्ममार्फत् समाजलाई दिनुभएको योगदान र उहाँका साहित्यिक कृतिमामार्फत् प्रवाहित जीवन–दर्शनसम्बन्धी सन्देश हाम्रा लागि एउटा गतिलो प्रेरणास्रोत बनेका छन् । अधिकारीले साहित्य साधनाको माध्यमबाट समाजलाई आलोकित तुल्याउनुभएको छ, जुन आफैंमा एउटा मीठो र प्रेरणादायी दृष्टान्त हो ।

[साभार: स्मृतिका पानामा साहिँला गुरु (तीर्थराज शर्मा अधिकारी स्मृतिग्रन्थ-२०७५) । तस्बिर: गोविन्दराज खनियाँ ।]

Saturday, February 3, 2018

चौतारीको छहारी


–यमबहादुर दुरा

कुनै समयमा ‘रेडियो नेपाल’ को चुम्वकीय आकर्षणले धेरैलाई तान्थ्यो ।  प्रसारण प्रविधिसँग अपरिचित जनसमुदायले राष्ट्रिय प्रसारण संस्था ‘रेडियो नेपाल’ लाई मिथकीय वस्तु ठान्थे । रेडियोको जादुगरी चमत्कारबाट आकर्षित हुनेमा गायक–गायिकाहरू पनि पर्थे ।

युक्त गुरुङ
एकैपटक  हजारौं स्रोतामाझ पुग्नसक्ने क्षमताले उनीहरू ‘रेडियो नेपाल’ प्रति मनमुग्ध  हुन्थे तर रेडियोमा गीत गाउन सहज थिएन । ‘एक्स्पोजर’ को अरू बाटो नभएको त्यो समयमा रेडियोमा गीत गाउन पाउनु कलाकारका लागि भाग्योदय चिठ्ठा पर्नु जत्तिकै हुन्थ्यो । त्यतिबेला स्वर परीक्षा पास गरेरमात्र रेडियोमा गीत गाउन पाउने प्रावधान थियो ।

दूरदराजमा मेलापातमा जीवनमा बिताउने कला अनुरागीहरूले राजधानी छिर्ने मौका कहिले पाउने ? छिरिहाले पनि ‘रेडियो नेपाल’ प्रवेशद्वारसम्म कसरी पुग्ने ? ‘रेडियो नेपाल’ मा पाइला हाल्ने मौका पाइहाले पनि स्वर परीक्षाको झञ्जटिलो प्रक्रिया कसरी पार गर्नेे ? यी तमाम जटिलताले कुना–कन्दराका कलाकारहरूको गीत गाउने धोको मनमै दबिएर बस्थ्यो । ‘रेडियो नेपाल’मा सहज पहुँच अभावले धेरैले आशा मार्थे ।

निराशाले राज गरेको त्यो घडीमा रेडियो नेपालको ‘चौतारी’ कार्यक्रमले कलाकारहरू गायक–गायिकाहरूमा आशा जगाउने काम गरेको थियो । ‘चौतारी’ मा गीत गाउन स्वर परीक्षा पास गर्नुपर्दैनथ्यो तर त्यहाँ गीत गाएपछि गाउँघरमा कुस्त चर्चा पनि भइहाल्थ्यो । त्यतिबेला चौतारीमार्फत धेरैको प्रतिभाले अङ्कुरित हुने मौका पायो । २०३० को दशकदेखि सञ्चालनमा आएको ‘चौतारी’ उदीयमान गायक–गायिकाहरूको आशा र भरोसाको केन्द्र बनेको थियो ।

पाण्डव सुनुवार (वि.सं. २००९–२०६३), हिरण्य भोजपुरे (जन्म : वि.सं. १९९९), युक्त गुरुङ (वि.सं. २०११–२०६४) जस्ता लोकसङ्गीतका उम्दा प्रतिभाहरूको सोचको उपज थियो, ‘चौतारी’ । शुरुमा पाण्डव सुनुवार र हिरण्य भोजपुरेले कार्यक्रम सञ्चालन गर्नुभयो । कार्यक्रममा युक्त गुरुङले सहयोगीको भूमिका गर्नुभयो । पछि, ‘चौतारी’ कार्यक्रमको जिम्मेवारी युक्त गुरुङले नै पाउनुभयो । उहाँले कार्यक्रम सञ्चालन गर्न थालेपछि कार्यक्रमको लोकप्रियताको ग्राफ झन उकालो  लाग्न थाल्यो ।

गुरुङले अग्रजहरूको पदचाप पछ्याउँदै ‘चौतारी’ लाई गायक–गायिकाहरूको साँच्चिकै साझा चौतारी बनाउनुभयो । कार्यक्रम सञ्चालन गर्दा उहाँको बोलीमा झल्कने आत्मीयता र मौलिकपनबाट प्रभावित धेरै स्वरजीवी आज पनि उहाँको सम्झना गर्छन् । त्यो भन्दा पनि महत्वपूर्ण कुरा, उहाँबाट धेरै स्वरजीवीहरूले साङ्गीतिक क्षेत्रमा अघि बढ्ने प्रेरणा पाए । चार दशक उमेर काटेका अधिकांश लोकगायक–गायिकाले आफूहरू ‘चौतारी’ बाट ‘ग्रुम’ भएको धारणा विभिन्न सन्दर्भमा व्यक्त गर्दै आएका छन् ।

युक्त गुरुङ गायन र वाद्यवादनमा पारङ्गत प्रतिभाका रूपमा हुनुहुन्थ्यो ।  कुशल सङ्गीत शिक्षक पनि । उहाँसँग लामो संगत गरेका लोकगायक कृष्ण गुरुङ उनलाई सबैखाले बाजा बजाउन जान्ने प्रतिभा र प्रेरणा–स्रोतको रूपमा चित्रण गर्नुहुन्छ । उहाँले हर्मोनियम वादन, सङ्गीतको स्केललगायत सङ्गीतको औपचारिक ज्ञान युक्त गुरुङबाटै पाउनुभएको थियो  ।

आजकल धेरैका लागि बिरानो र दुरूह विधा बनेको सोरठी नृत्यमामा कुशलतापूर्वक मादले र गायकको भूमिका निर्वाह गर्न पनि सक्षम रहेको प्रतिभा हुनुहुन्थ्यो  ।

युक्त गुरुङका सहकर्मी तथा लोकगीत अन्वेषक बुलु मुकारूङ उहाँलाई ‘लोकगीतको जीवित सम्पदा’ ठान्नुहुन्छ । मुकारूङले 'युक्त गुरुङ स्मृतिग्रन्थ' मा लेख्दै गण्डकी भेगका लोकभाकालाई रेडियोमार्फत आमनेपालीबीच पुर्‍याउने दिशामा गुरुङले  स्तुत्य भूमिका निर्वाह गरेको श्रेय दिनुहुन्छ ।

युक्त गुरुङको सङ्गीतप्रतिको मोहभाव र लगावबारे उहाँका आफन्तजन र साथीसँगीहरूले बेलाबखतमा रोचक प्रसंग अघि सार्छन् । यस्तै दिलचस्पीपूर्ण सम्झना उहाँकी साइँली दिदी पीपलमाया गुरुङको मनमा खोपिएर बसेको छ  । भाइले आफूलाई  मादल बनाइदिन निरन्तर कर गरेपछि  केराको थम्मको मादल बनाइदिएको, त्यसपछि त्यही मादल भिरेर कित्लीको ढकनी र सिल्बरको कचौरा बजाई नाचेको र यसबाट छरछिमेक चकित भएको स्मरण गर्नुहुन्छ । उहाँले यो बाल्यकालीन सम्झना  'युक्त गुरुङ स्मृतिग्रन्थ' मा लिपिबद्ध गर्नुभएको छ ।

युक्त गुरुङले आञ्चलिक मिठासले भरिएका धेरै गीत गाउनुभएको छ, जसमा जीवनशैली झल्किन्छन् । गण्डकी भेगमा एउटा प्रचलन छ, जसमा सामाजिक जमघटहरूमा चेलीबेटी–माइती र सोल्टी–सोल्टिनीहरू भेट हुँदा चुरोट दिएर संवाद शुरु गरिन्थ्यो । यही चलनलाई टपक्क टिपेर युक्त गुरुङले गायिका शशी गुरुङसँग मिलेर २०३६ सालमा रेडियो नेपालमा गीत स्वराङ्कन गराउनुभयो । त्यो पनि गुरुङ भाषामा ।

सोल्टी र सोल्टिनीबीचको संवादमा आधारित गीत बोल थियो, (केटा)– आशामाया चुरोट थुँबरी खोसे ङोल्स्यो (आशामारा चुरोट खान आऊ सोल्टिनी), (केटी)– तै तै ङोलो भारा लइदिमु (भयो, भयो सोल्टी भारा लाग्छ) ।पछि आशामारा चुरोट नाम दिएर गुरुङ भाषाको अल्बम निकाल्नुभयो ।

स्थानीय जनजीवनको ढुकढुकी भेटिने यो गीत गण्डकी भेगका गुरुङ समुदाय र गुरुङ भाषा बुझ्नेहरूबीच बेहद लोकप्रिय भयो । यसले युक्त गुरुङको परिचयको क्षितिज फराकिलो गरी उघार्‍यो । उहाँले असंख्य ग्रामीणजनको हृदयमा बास पाउनुभयो ।

उहाँले मुग्लानी पस्ने परम्पराले ग्रामीणजनको हृदयमा लगाएको घाउलाई विषय बनाएर अर्को गीत गाउनुभयो । सुमधुर स्वरकी धनी सावित्री शाहले यसमा उहाँलाई साथ दिनुभयो । गीतको ‘ओपनिङ लाइन’ थियो, ‘दाइ त मेरो लाहुर जाने, म बैनी त सम्झेरै रोइरहने’ । गीतमा छचल्किएको मिठास र भावुकताबाट स्रोता द्रवीभूत भइरहे । यो गीतले उनलाई लोकप्रियताको शिखरमा पुर्‍यायो ।

उहाँले स्वरबद्ध गरेका १ सय ५० जति गीतमध्ये यी दुई गीतबाट नै उहाँ बढी चिनिनुहुन्छ । जनजीवनको ढुकढुकी स्पन्दित गीत नै कालजयी हुन्छन् भन्ने तथ्य उहाँको गीतबाट पुष्टि हुन्छ ।

उहाँ ब्रिटिश गोर्खाका लप्टन दीर्घसिंह गुरुङका छोरा हुनुहुन्थ्यो । एकप्रकारले हुनेखाने परिवारकै छोरा । उहाँ केही सिंगापुरमा बस्नुभयो । ‘भाञ्जाभाञ्जी’ भनेर चिनिने विदेशी संस्कारमा हुर्केका गोर्खा सैनिकका छोराछोरी र विदेशीहरूसँग पनि दोस्ती बढ्यो । यसबाट उहाँको सोचाइको दायरा र जीवनदृष्टिको क्षितिज फराकिलो हुन पुग्यो ।

उहाँको सोचाइ औसत व्यक्तिहरूको भन्दा फरक थियो । उहाँले 'रेडियो नेपाल' मा लामो समय (वि.सं. २०३२–२०६४) काम गर्नुभयो । त्यहाँ आठौं तहको अधिकृत भएर काम गर्दा उनले कार्यस्थललाई जागिरमात्र ठान्नुभएन, त्यसलाई अनुष्ठानको रूपमा पनि लिनुभयो । पुराना गीत संकलन, संरक्षण र सम्बद्र्धनमा उहाँले खेलेको भूमिका प्रशंसनीय छ । लोपोन्मुख ठाडो भाकाको श्रीवृद्धिमा पनि उहाँको योगदान रह्यो ।

२०६४ साल मंसिर १ गते मोटरसाइकल दुर्घटनामा परेर निधन हुँदाको घडीसम्म पनि उहाँ लोकसङ्गीतको खोज–अनुसन्धानमा जुटिरहनुभएको थियो । लोकसङ्गीतसम्बन्धी पुस्तक सङ्कलन गर्ने, पढ्ने र लोकस्रष्टाहरूसँग अन्तरक्रिया गर्ने काममा जुटेर उहाँले नयाँ बाटो देखाइरहनुभएको थियो ।

यहाँनेर अर्को प्रसंग सान्दर्भिक हुन आउँछ । फिनल्याण्डका ‘युनिभर्सिटी अफ द आर्टस् हेल्सिन्की’ अन्तरगत रहेको ‘साइबेलियस अक्याडमी’ का ‘इथ्नोम्युजिकोलजी’ विषयका तत्कालीन लेक्चरर (अहिले प्राध्यापक) पिर्को मोइजालाले लमजुङको गिलुङ गाउँमा प्रचलित घाँटु नृत्यको अध्ययन गर्नुभयो ।

मोइजलाले सन् १९७५–१९७६, १९८५ र १९९० को अवधिमा घाँटु नृत्यका कसरी परिवर्तन आइरहेको छ भन्ने अध्ययन गर्नुभयो । अध्ययनको क्रममा सहयोगीको रूपमा पत्याएको व्यक्ति हुनुहुन्थ्यो, युक्त गुरुङ । त्यस अध्ययन कार्यमा उहाँको रचनात्मक भूमिका रह्यो ।

पिर्को मोइजालाले अध्ययनको निष्कर्षस्वरूप सन् १९९१ मा ‘कल्चर कग्निसन इन म्युजिक : कन्टिन्युइटी एण्ड चेञ्ज इन द गुरुङ म्युजिक अफ नेपाल’ शीर्षकमा अध्ययन प्रतिवेदन प्रकाशन गर्नुभयो ।

युक्त गुरुङ जीवनभर लोकसङ्गीत श्रीवृद्धिमा डटिरहनुभयो, थुप्रै योजना फिजाएर । उहाँको जीवनको साङ्गीतिक आयाम र योगदानलाई उहाँका अनुज, आफन्तजन र सहयात्री र लोकगीत अनुरागीहरूले स्तुत्य ठानेका छन् । उहाँको बीचैमा विधाताले उहाँलाई ५३ वर्षकै अल्पायुमै खोसेर लग्यो, धेरै योजनाहरूलाई अलपत्रै पारेर । उहाँको पीडादायी प्रस्थानले लोकसङ्गीतका अध्येताहरूको काँधमा थप जिम्मेवारी थपिदिएको छ ।

[साभार : गोरखापत्र शनिबार । माघ २०, २०७४ । तस्बिर सौजन्य : शासन गुरुङ ।]

Saturday, January 13, 2018

थारू साहित्यको अब्बल अनुसन्धान

–यमबहादुर दुरा

कुनै समयमा तराईमा औलोलाई भयानक स्वास्थ्यसम्बन्धी समस्याको रूपमा लिइन्थ्यो । पहाडका मनिस तराईमा एक रात बिताउन पनि डराउँथे भनेर विदेशीले लेखकहरूले लेखेका छन् । त्यही समयमा थारू समुदाय तराईमा निर्धक्कसँग बसेका थिए । त्यही सौर्यका कारण थारू समुदाय औलो पचाउने रैथाने जाति भनेर चिनिन्छ  । तर औलो पचाएका थारू समुदायका कतिपय सदस्य यतिबेला ‘सिकल सेल एनिमिया’ नामको असाध्य रोगबाट ग्रसित छन् ।


तराईका रैथाने थारू समुदायले नागरिक अधिकारदेखि स्वास्थ्य–समस्यासम्मका तमाम मामिलामा अनेक उहोपहहरू भोग्दै आएका छन् । यो समुदाय राजनीतिक तथा सामाजिक मामिलाका राप र तापमा तातिने र समयान्तरमा सेलाउने गरिरहेको छ । समयको कोखमा जन्मिएका यी अतीतदेखि वर्तमानसम्मका जनउभारसँग सम्बन्धित उच्छ्वासहरू समयका पानामा छताछुल्ल पोखिएका छन् । तिनै उच्छ्वासहरू थारू साहित्यका रूपमा देखापरेका छन्, जुन धेरै हदसम्म अव्यवस्थित र असंगठित रूपमा छरिएर रहेका छन् ।

भारोपेली भाषा परिवार अन्तर्गत पर्ने थारू भाषा नेपाली, मैथिली र भोजपुरीपछिको चौथो ठूलो जनबोली हो । २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा थारू समुदायको जनसंख्या १७ साल ३७ हजार ४ सय ७० छ, जुन नेपालको कुल जनसंख्याको ६.६ प्रतिशत हुन आउँछ । थारू जाति पूर्वी तराईदेखि पश्चिम तराईसम्म छरिएर रहेको ठूलो समुदाय  भएकाले थारू भाषामा थुप्रै स्थानीय भेद छन् ।

हरेक १० कोशमा एउटै भाषामा पनि फरकपन भेटिन्छ भन्ने भाषा विज्ञानको मान्यता थारू भाषाको हकम पनि पूरापुर लागू भएको पाइन्छ । नेपाल सरकारले जनगणनाका क्रममा थारू भाषलाई डंगौरा र राना गरी दुई समूहमा विभाजन गरेको छ । थारू भाषामा भेटिने फराकिलो विविधतालाई हेर्दा यो विभाजन तर्कसंगत देखिँदैन । मन्त्रीसमेत रहिसकेका अनुसन्धाता गोपाल दहितले थारू भाषालाई नौ भाषिकामा वर्गीकरण गरेका छन्, जुन एक हदसम्म तर्कसंगत देखिन्छ ।

थारू भाषामा विद्यमान स्थानीयपन र विविधताले मानक निर्धारणका सम्बन्धमा थारू समुदायभित्रै बेलाबखतमा मतभिन्नताहरू देखापर्छन् । धेरै विद्वान्ले थारू समुदायबारे लेख्दा ठाउँपिच्छे भेषभूषा, भाषा र जीवनशैलीे फरक पर्दै गएको जाति भनेर वर्णन गरेका छन् । यो विविधतालाई अर्को कोणबाट हेर्दा थारू भाषामा अन्तरनिहित विविधताले थारू समुदायमा इन्द्रधनुषी सौन्दर्य देख्न सकिन्छ ।

थारू समुदायको पहिचानका यो बहुरङ्गी–बहुरूपी सम्पदाको अभिलेखीकरण आवश्यक छ तर यो काम सहज छैन । यसका लागि प्रसस्त अध्ययन–अनुसन्धान र स्थलगत भ्रमण आवश्यक छ । थारू भाषा–साहित्यका छरिएका थुँगाहरूलाई बटुलेर एउटै मालामा उन्ने प्रयास गरेका छन्, लेखक कृष्णराज सर्वहारीले । उनले ‘थारू साहित्यको इतिहास’ कृतिमार्फत् थारू साहित्यको विगतदेखि वर्तमानसम्मको विकासक्रमलाई लिपिबद्ध गर्ने चेष्टा गरेका छन् ।

कृतिको एउटा सुन्दर पक्ष के हो भने लेखनमा अनुसन्धान विधि अनुशरण गरिएको छ । शोध–पद्धतिअनुसार सूचनाको स्रोत उद्धरण गर्नेदेखि सन्दर्भ–सूची राख्ने काममा लेखकले ध्यान दिएका छन् । यसले उनको अनुसन्धानमुखी प्रवृत्तिको परिचयमात्र दिँदैन, कृतिको आधिकारिकता पनि बढेको छ । समयले अनुसन्धानात्मक कृतिहरूको माग गरिरहेको घडीमा उनले समयको आवाजलाई सुनेको प्रतीत हुन्छ ।

नेपालमा पुस्तक लेखन र प्रकाशनको ग्राफ उत्साहजनक किसिमले उकालो लागे पनि अनुसन्धानात्मक कृतिहरूको ग्राफ तलै छ । विगतमा थारू भाषा र साहित्यका अरू आयामबारे पुस्तक नलेखिएका होइनन् तर थारू साहित्यबारे समष्टिगत अध्ययन गरेर पुस्तक प्रकाशन भएको पाइँदैन । हालसम्म भेटिएका प्रमाणअनुसार थारू साहित्यलाई समग्रमा विश्लेषण गरिएको यो पहिलो अनुसन्धानात्मक कृति हो ।

थारू समुदायमा प्रचलित लोकसाहित्यदेखि साक्षर समाजको परिचायक मानिने ‘पपुलर लिट्रेचर’ सम्मका यावत विषय कृतिमा समेटिएका छन् । लोकगीत, लोककथा, कविता, मुक्तक, हाइकु, महाकाव्य, कथा, उपन्यास, निबन्ध, जीवनी, हास्यव्यङ्ग्य, अनुवाद, चलचित्रजस्ता थारू साहित्यका धेरै आयाम समविष्ट छन् । विषयवस्तुको उठान र कृति लेखनमा अपनाइएका अनुसन्धान पद्धतिले कृतिको महत्व उचो भएको छ ।

लेखकले थारू साहित्यको कालविभाजन गरेका छन् । कालविभाजनसम्बन्धी विभिन्न शास्त्रीय मान्यतामा आधारित भएर थारू साहित्यको कालक्रम निर्धारण गरेका छन् । उनले २००७ साललाई उदगमविन्दु मानेर तीन खण्डमा कालविभाजन गरेका छन् । समयको निकटपूर्व समयलाई प्रस्थान विन्दु मानेर यसप्रकारको कालविभाजनमा सबैले चित्त बुझाउँछन् भन्न सकिँदैन । २००७ सालभन्दा अघि थारू साहित्य शून्यमा थियो भन्न गाह्रो छ । अभिलेख अभेटिनु अलग कुरा हो । यद्यपि, यसबारे लेखकले आफ्नो तर्फबाट स्पष्टीकरण दिइसकेका छन्, ‘थारू भाषाजस्तो लेख्य परम्परा उन्मुख भाषाको कालविभाजन वास्तवै दुरूह कार्य हो’ (पृ. २७) ।

कृष्णराज सर्वहारी आफैं पनि थारू साहित्यका हस्ती हुन् । उनले थारू साहित्यका विभिन्न आयामबारे दजनौं अनुसन्धानात्मक पुस्तक लेखेका छन् । थारू साहित्यबारे थुप्रै ‘मिनिरिसर्च’ गरेका छन् । प्रस्तुत कृति पढ्दै जाँदा ठाउँ ठाउँमा लेखक स्वयंले आफ्ना कृतित्वबारे चर्चा गरेका भेटिन्छन् । यस्तो देख्दा लेखक आत्ममोहमा रमाएका हुन् कि जस्तो पनि लाग्नसक्छ । यद्यपि, थारू साहित्यको अभिलेखीकरणका दृष्टिले यसलाई असहज मान्नुपर्ने कारण छैन ।

लेखकले कृति जन्माउने क्रममा धेरै विषयमा सूक्ष्म किसिमले अनुसन्धान गरेको देखिन्छ । केन्द्रीय विषयवस्तुका अतिरिक्त थारू भाषामा प्रकाशित पुस्तक, स्मारिका र पत्रपत्रिकाको सूचीबाट पुस्तक सजिएको छ । थारू भाषामा प्रसारण हुने रेडियो कार्यक्रम र गीति अल्बम पनि सूचीबद्ध गरिएको छ । थारू पहिचान र वाङ्मयसम्बन्धी महत्वपूर्ण ऐतिहासिक घटनाका सूचीले पनि पुस्तकमा स्थान पाएको छ, जसले कृतिलाई अर्थपूर्ण बन्न सघाएको छ ।

कृतिमा स्याबासी पाउनलायक थुपै विषय भए पनि केही खड्किने पक्ष पनि छन् ।

गहन विश्लेषणको अभाव कृतिको मूल कमजोरी हो । धेरै ठाउँमा साहित्यिक घटनाक्रमको विवरण छ तर धित मरुञ्जेलको विश्लेषण छैन । थारू साहित्यलाई अन्य साहित्यसँग तुलना गर्न सकेको भए धेरै कृति उज्यालिने थियो । मैथिली, भोजपुरी, अवधी, लिम्बूजस्ता केही चुनिन्दा राष्ट्रिय भाषाका साहित्यसँग थारू साहित्यको ग्राफ भिडाएर तुलनात्मक अध्ययनको सानो झलक प्रस्तुत गर्न सकेको भए थारू साहित्यको क्षितिज अरू उघ्रिने थियो, कृति थप दृश्यमय हुने थियो । यो काम अनुसन्धानका दृष्टिले कष्टसाध्य भए पनि यसो गर्न सकेको भए पाठकले देशको साहित्यिक नक्शामा थारू साहित्यको अवस्थिति थाहा पाउने थिए ।

थारू साहित्यकारका रचनामा भेटिने रैथानेपन, ‘एक भाषा एक भेष’ को पञ्चयातकालीन नीतिबाट थारू साहित्यमा परेको प्रभाव, थारू साहित्यमा सांस्कृतिक संक्रमण (अकल्चरेशन) को असर, थारू साहित्यमा ‘पपुलर लिट्रेचर’ को संक्रमणजस्ता विषयमा व्यापक विचार–विमर्श हुन जरुरी थियो । यस्ता विषयलाई जरैबाट उधिन्न नसके पनि छेउछाउबाट भए पनि उधिन्नुपर्‍थ्यो । यसमा लेखक धेरै हदसम्म चुकेका छन् ।

कृति लेखनमा अनुसन्धान–पद्धतिलाई शिरोपर गरे पनि उद्धरण गरिएका कतिपय सूचनाको स्रोत सन्दर्भ–सूचीमा फेला पर्दैनन् । पुस्तक सम्पादन र डिजाइनका दृष्टिले पनि कृतिमा बिझाउने किसिमका कमजोरी देखिन्छन् । कृतिमा दिइएको अनुसूचीलाई अझ व्यवस्थित किसिमले राख्न सकिने ठाउँ छ । भाषिक अशुद्धिले कतिपय ठाउँमा दाँतमा ढुङ्गा लागेजस्तो अनुभूति हुन्छ ।

यति हुँदाहुँदै पनि कृष्णराज सर्वहारीले थारू साहित्यको अभिलेखीकरणमा उठाएको कष्टलाई प्रशंसा गर्नैपर्छ । यहाँनेर, अमेरिकी विकास मनोविश्लेषक इरिक इरिक्सन (सन् १९०२–१९९४) को भनाइ उद्धरणीय हुन आउँछ । उनले भनेका छन्, ‘मानव अस्तित्वको सामाजिक जङ्गलमा पहिचानको अनुभूति नहुने हो भने बाँच्नुको कुनै सार हुन्न ।’

लेखकले कृतिमार्फत् थारू साहित्यको पहिचान र आफ्नो अस्तित्वको अनुभूति गराएका छन् । कृतिले बहुसांस्कृतिक नेपालको बृहत्तर राष्ट्रिय पहिचानमा पनि योगदान दिएको छ । प्रस्तुत कृतिलाई नेपाली साहित्य र संस्कृतिको खोज–अनुसन्धानमा एउटा फराकिलो प्रवेशद्वार मान्न सकिन्छ, जहाँबाट छिरेर भविष्यका जनकलाल  शर्मा र डोरबहादुर विष्टहरूले विविधतापूर्ण नेपाली समाजसम्बन्धी माधुर्यपूर्ण कोसेली भेट्टाउन सफल हुनेछन् भन्ने आशा गर्न सकिन्छ ।

[साभार: अन्नपूर्ण पोष्ट 'फुर्सद' । पुस २९, २०७४ ।]

कर्खा युगका स्वरजीवी


–यमबहादुर दुरा

जनस्तरमा सारङ्गीको लोकप्रियताको ग्राफ पत्याइनसक्नुको उच्च छ । सारङ्गीको धूनले नेपाली मन र मुटुहरूलाई जोड्ने काम गरिरहेको छ, निरन्तर । सारङ्गीवादकहरूले नेपालीपनको विस्तारमा योगदान दिइरहेका छन् । तीर्थबहादुर गन्धर्व (वि.सं.२०१०–२०७०) तिनै सारङ्गीवादक स्वरजीवीमध्ये एक हुन्, जो जीवनभर सारङ्गीको धूनमिश्रित लोकगीतमार्फत् नेपालीत्व जोगाउने र नेपाली मनहरूलाई झङ्कृत तुल्याउने कार्यमा सरिक भइरहे । 

नेपालमा छापा तथा विद्युतीय सञ्चार माध्यमहरूको विष्फोटक उपस्थिति हुनुभन्दा अघि नेपाली समाजमा सार्वजनिक सूचना प्रवाहकोे अवस्था नाजुक थियो । एकतिर लोकतान्त्रिक परिपाटीको अभाव, अर्कोतिर ‘सूचना संस्कृति’ को खरेडी । सही सूचनाको अभावमा अफवाहले राज गर्‍थ्यो ।

गन्धर्वहरू सारङ्गी भिरेर गाउँ–गाउँ डुल्थे । सूचना र मर्मले भरिएका कर्खा (घटनाप्रधान गीत) गाएर जीविकोपार्जनको प्रयासमा जुट्थे । समाजमा विद्यमान सूचनाको ‘भ्याकुम’ हटाउने काम गर्थे । कर्खामार्फत समाजका नवीनतम् घटनाक्रमहरू उजागर हुन्थे । यसरी गन्धर्व समुदायले सञ्चारकर्मको अनौपचारिक ‘कमाण्ड’ सम्हालेको थियो । त्यतिबेला यो समुदायले ‘जिउँदो समाचारपत्र’ र ‘जिउँदो रेडियो’ को रूपमा सूचना प्रवाह गर्‍थ्यो । यसबाट समसामयिक सूचनाको प्यास मेटाउन भरथेग सहयोग पुग्थ्यो । 

तीर्थबहादुर गन्धर्व रेडियो नेपालमा जागिरे हुनुभन्दा अघि यही प्रकृतिको सञ्चारकर्ममा संलग्न थिए । उनी आफ्नो घर दूधेकुना (तनहूँ) बाट सारङ्गी भिरेर तनहूँ तथा लमजुङका गाउँबस्तीहरू डुल्थे । सानै उमेरदेखि कर्खा गाउँथे । मायामोह र विरह–व्यथाका गीत पनि गाउँथे । उनको गीतमा गाउँबस्ती झङ्कृत र तरङ्गित हुन्थ्यो । गीत सुन्दासुन्दै कतिको आँखामा आँसु टल्पलाउँथ्यो त कतिको ओठमा मुस्कान फक्रन्थ्यो ।

उनले आफ्नोे सांगीतिक यात्राले लाहुरे समुदायसँग जोडेको नातालाई पनि बिर्सन मिल्दैन । छुट्टीमा घर आएका लाहुरेहरूले आफ्ना टेप रेकर्डरमा गन्धर्व गीत भर्थे । तीर्थबहादुर गन्धर्वले लाहुरे ल्याएका ठूला ठूला टेप रेकर्डरमा उनका गीत घन्कन्थे । स्थानीय जात्रा तथा सामाजिक जमघटहरू गुञ्जयमान हुन्थे । ती गीत लाहुरेसँगै जहाज चढेर हङकङ, बेलायत तथा बु्रनाइसम्म पुग्थे । विदेशी छाउनीमा स्वदेशी गीत घन्कन्थे । यहाँनेर, उनीको प्रतिभा विस्तारमा लाहुरेको समुदायले अप्रत्यक्ष रूपमा लाएको गुनलाई बिर्सन मिल्दैन । 

गाउँबस्तीहरूमा नेपालीपनले ओतप्रोत भएका गीत गाउँदै हिँडदा उनको जीवनले अचानक नयाँ मोड लियो । लमजुङ घुम्न निस्केका रेडियो नेपालका एक हुल कलाकारसँग लमजुङको सुन्दरबजारमा उनको जम्काभेट भयो । त्यस हुलमा पाण्डव सुनुवार (वि.सं.२००९–२०६३), राम थापा (वि.सं.२०१५–२०६५), बमहादुर कार्कीलगायतका कलाकारहरू थिए । 

त्यो जम्काभेटले रेडियो नेपालमा लोकसङ्गीतको फाँट सम्हालेर बसेका ती कलाकारलाई तीर्थबहादुर गन्धर्वको प्रतिभासँग परिचित हुने मौका दियो । गन्धर्वको कला र गलाबाट उनीहरू प्रभावित पनि भए । यही जौमेसोमा उनी २०४२ सालमा रेडियो नेपालमा प्रवेश गरे, वाद्यवादकको रूपमा । गाउँबेंसीको सीमित दायरामा सुनिने उनका गीतहरू अबचाहिँ रेडियो नेपालबाट पनि घन्कन थाले । 

शुरुवाती चरणमा उनले पाण्डव सुनुवारले सञ्चालन गर्ने लोकगीतसम्बन्धी ‘चौतारी’ कार्यक्रममा सारङ्गी बजाउने र गीत गाउने गरेपछि उनी थप चर्चामा आए । उनको परिचयको घेरा फराकिलो हुँदै गयो । त्यस समयमा उनी साङ्गीतिक यात्राको शिखर आरोहणको क्रममा थिए ।

तीर्थबहादुर गन्धर्वको साङ्गीतिक यात्राको उभारले एउटा विरोधाभाषपूर्ण समयको प्रतिनिधित्व गर्छ । त्यस कालखण्डमा गन्धर्व सङ्गीतले विडम्बनापूर्ण नियति भोग्दै थियो । जतिबेला उनीजस्ता ‘ग्रासरूट्स’ का ‘नाङ्गेपाउ गायक’ राष्ट्रिय प्रसारण संस्थामा प्रवेश गर्दै थिए, त्यही समयमा गन्धर्व संस्कृतिको जीवन्त पाटोको रूपमा रहेको कर्खा हराउँदै थियो । शायद, समयको हावा नै त्यसरी बहेको थियो । 

यो विडम्बनालाई एकछिन बिर्सिएर उनको योगदानलाई सम्झने हो भने उनले प्रशंसायोग्य काम छन् । गाउँघरका मौलिक भाकाहरू विस्तारमा उनको उल्लेखनीय योगदान रह्यो । उनले तुकबन्दी गीतमात्र गाउँदैनथे, बीच–बीचमा भट्टयाएर गीतलाई रोचक,  घोचक र सुललित बनाउँथे । यो नै उनको गायनकलाको विशेषता थियो ।  

गीत भट्टयाउने क्रममा दुई मिनेटमा नेपालका नयाँ–पुराना सबै ब्रान्डका चुरोटको नाम लिन भ्याउँथे । उनको गीत भट्टयाइले सासू–बुहारी बीचको किचलो, श्रीमतीले लाहुरे श्रीमान्लाई पठाएको घुर्कीपूर्ण पत्र, जिन्दगीको पत्झडपनजस्ता तमाम सामाजिक परिवेशलाई समेट्थ्यो । उनको गीत बज्दा ग्रामीणजन रेडियोमा कान थापेर सुन्थे र अल्हादित हुन्थे । 

उनले गाउँबस्तीका विरह–वेदनाले भरिएका भाकाहरू सारङ्गीको झङ्कारसँगै गाए । पसिनाले पैसा साटेर ल्याउने मुगलानी, साहू–महाजनको थिचोमिचो सहन विवश सीधासाधा ग्रामीणजन, छोरीबुहारीले भोग्नुपर्ने हेँलाहोचोबारे मर्मभेदी गीत गाए, जुन गाउँबस्ती बेहद लोकप्रिय रहे । धेरैले मेलापात र वनपातमा उनको गीत गुनगुनाए र गुनगुनाइरहेका छन् ।

छोरीचेलीको कुरा गर्दा उनीहरूले दुर्भाग्यपूर्ण नियतिबारे चर्चा गर्नुपर्ने हुन्छ । कुनै जमाना यस्तो थियो – छोरीलाई केटा मन पर्न पर्दैनथ्यो, आमा–बाउलाई मन परे पुग्थ्यो । सबैलाई जगजाहेर नै छ, छोरीचेलीले कुनै सहमति र पूर्वजानकारी बिना जन्मघर छाडेर पराइघर जानुपर्‍थ्यो । यही नियतिले निर्माण गरेको छोरीचेलीको मनोविज्ञानबारे उनले गीत गाएका छन् : ‘म छोरीको हारेको कर्म, जन्मे यहाँ मर्नु छ कुन घरमा, पारि वन रुन्छ मेरो मन’ ।

मार्मिक र भावुक गीतसँगसँगै उनले ठट्यौला र व्यङ्ग्यविनोदी प्रकृतिका गीत पनि गाएका छन् । उनको चर्चित गीत ‘आइ एम सरी...’ यही श्रेणीका गीत हो । यसमा आधुनिक महिलाको चरित्र–चित्रण गरिएको छ । गीतमा प्रयुक्त कतिपय शब्द र भावप्रति महिला अधिकारका दृष्टिले आपत्ति जनाउन सकिने ठाउँ छन् । 

तीर्थबहादुर गन्धर्व कर्खा गाउने अन्तिम पुस्ता हुन् । उनीभन्दा पछिका पुस्ताले कर्खालाई निरन्तरता दिन सकेनन् । उनी बाढी–पहिरोले पुर्‍याएको जनधनको क्षति, हत्या, कुनै व्यक्ति प्रदर्शन गरेको असामान्य बहादुरी आदिलाई घट्नाप्रधान गीतका रूपमा प्रस्तुत गर्न खप्पिस थिए । तत्कालीन समयमा गाउँठाउँमा यस्ता गीतले निकै ख्याति कमाएका थिए । उनको पुस्तापछि गाउँघरमा कर्खा सुनिन छाड्यो ।  

लोकगीत आफैंमा सञ्चार हो । उनी एक अर्थमा प्रभावोत्पादक सामाजिक सञ्चारकर्ता थिए । उनले जनमनमा हासिल गरेको लोकप्रियतालाई दृष्टिगत गरी उनको स्वरमा विभिन्न विषयमा ‘जनहितकारी विज्ञापन’ (पीएसए) तयार गरिएका छन्, जुन रेडियोहरूमा अझै गुञ्जन्छन् । सङ्गीतकर्ममा संलग्न हुँदा उनले धेरै लोकगीतमा सारङ्गीको धून भरे । चलचित्रका गीतमा सारङ्गीको धून भर्ने मौका पनि पाए ।

यही सिलसिलामा उनलाई अवसरको मधुमासले पछ््यायो । एकपटक उनलाई सङ्गीतकार शम्भुजीत बास्कोटाले सारङ्गी मुम्बई लगे । त्यही सिलसिलामा उनी बलिउडका चर्चित सङ्गीतकार आरडी बर्मन (सन् १९३९–१९९४) को सम्पर्कमा आए । सङ्गीतकार बर्मनले उनको सारङ्गीवादन मन पराए । बर्मनले उनलाई आफूसँगै बसेर काम गर्न भने तर घरमा छोरी बिरामी भएकाले उनी त्यहाँ बस्न सकेन । उनले यो कुरा एउटा भिडियो अन्तरवार्तामा बताएका थिए । 

‘ग्रासरूट्स’ बाट उठेर लोकगीतको क्षेत्रमा ख्याति कमाएका तीर्थबहादुर गन्धर्वको गलाबाट ‘कपालु कोरेर...’, ‘चरी बस्यो बरको डालीमा...’, ‘आइ एम सरी...’, ‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा’ गुञ्जिए, जुन बिछट्टै हिट भए । उनले ‘छड्के सलाम’, ‘चरी बस्यो’, ‘सानु’ जस्ता दर्जनौं अल्बममार्फत् लोकभाकाहरूको श्रीवृद्धि गरे । 

लोकगीतलाई जीवनधारा सम्झने उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । यस्तैमा २०७० साल भदौ २७ साँझमा उनलाई हृदयघात भयो । भोलिपल्ट सूर्यको पहिलो किरण धर्तीमा पर्नुभन्दा धेरै अघि नै उनी दुनियाँबाट अस्ताए ।

उनको निधनबाट नेपाली समाजले मौलिक स्वरका धनीलाई मात्र गुमाएन, कुशल सारङ्गीवादक पनि गुमायो । उनले नेपाली लोकसङगीतलाई अझै गुन लाउन बाँकी नै थियो तर यो आग्रह विधातालाई मञ्जुर भएन । उनले सिर्जना गरेका सारङ्गीका धुन र स्वराङकन गरेका गीतहरू नै उनले हामीलाई छाडेर गएका सम्झना कोसेली हुन् ।

[साभार : गोरखापत्र 'शनिबार' । पुस २९, २०७४ । सामान्य परिमार्जनसहित । तस्बिर : गुगल]

Friday, November 24, 2017

चुनावमा दुस्प्रचार

–यमबहादुर दुरा

युनिभर्सिटी अफ म्यासाच्युसेटस्का राजनीतिशास्त्रका असोसिएट प्रोफेसर मेरिडिथ रोल्फले नागरिकको राजनीतिक सहभागिताबारे दिलचस्पीपूर्ण पुस्तक लेखिन् । ‘भोटर टर्नआउट’ शीर्षक दिएर सन् २०१२ मा प्रकाशित पुस्तकमा रोल्फले अमेरिकाको राजनीतिक तथा ऐतिहासिक न्यारेटिभमा मताधिकार र अमेरिकी नागरिकबीचको अन्तरसम्बन्धबारे चर्चा गरेकी छिन् । उनले पुस्तकमा लेखेकी छिन्, ‘स्कुलमा पढ्ने अमेरिकी बालबालिकाहरूलाई अमेरिकाको जन्म मताधिकारको लडाइँबाट भएको हो भनेर पढाइन्छ ।’

हुन पनि मताधिकार नागरिकको भविष्य निर्धारण गर्ने राजनीतिक अस्त्र हो । मताधिकारको अवसर निम्त्याउने निर्वाचन जनसाधारणको सबैभन्दा ठूलो राजनीतिक घटनाक्रम हो, जुन नागरिक तथा राजनीतिक अधिकारका दृष्टिले सर्वाधिक महत्वूर्ण ‘राजनीतिक चाड’ पनि हो । नागरिकले अधिकतम् ध्यान पुर्‍याउनुपर्ने राजनीतिक ‘इभेन्ट’ पनि निर्वाचन नै हो ।

बुद्धि र विवेकको सही उपयोग गरेर जनप्रतिनिधि चुन्ने उपयुक्त घडी पनि यही हो । निर्वाचनका समयमा नागरिक सर्वाधिक शक्तिशाली मानिन्छन् । ‘जनता जनर्दन’ भनिने अमूर्त मान्यता यही समयमा मूर्त बन्न खोज्छ । अघिपछि जे जस्तो भए पनि निर्वाचनको समय जनता ढोगिन्छन् र देउतासरी पुजिञ्छन् ।

निर्वाचन नागरिकले सही निर्णय लिनुपर्ने जटिल समय हो । चुनावमा नागरिकका अगाडि अनेकथरी राजनीतिक शक्तिहरू मतका लागि हारगुहार गर्न आउँछन्, आश्वासन बाँड्छन् र आफ्नो पक्षमा पार्ने हरसम्भव प्रयास गर्छन् । चुनावी माहोलमा राजनीतिक शक्तिले रचेका तमाम प्रपञ्चका अगाडि नागरिक रनभुल्लमा पर्ने अवस्था आउन सक्छ ।

यस्तो अन्यमनस्क अवस्थामा आमसञ्चार माध्यम (खासगरी पत्रकारिता जगत) ले सही बाटो देखाइदिने काम गर्नुपर्ने हुन्छ । निर्वाचनको समयमा पत्रकार अघिपछि  भन्दा पनि बढी रचनात्मक र विवेकशील हुनुपर्छ भन्नेका कुरा पत्रकारिता आचार संहितासम्बन्धी धेरैजसो अन्तर्राष्ट्रिय दस्ताबेजहरूमा उल्लिखित छ । आपूmले चाहेका राजनीतिक दललाई मतदान गर्ने अधिकार पूरापुर नागरिकमै छाड्दै परिस्थितिको स्पष्ट तस्बिर उनीहरू समक्ष राखिदिनु पत्रकारिताको धर्म हो ।

निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्ने बेलमा फलानो नेताले फलानो आमसभाका यस्तो भन्नुभयो, उस्तो भन्नुभयो भन्ने खालका सादा समाचार (प्लेन रिपोर्टिङ) ले मात्र पुग्दैन, साथमा प्रसस्त मात्रामा विश्लेषणात्मक समाचार दिनुपर्ने हुन्छ । प्लेन रिपोर्टिङले कतिपय अवस्थामा राजनीतिक दलका कुत्सित नियतलाई जनजनसम्म विस्तार गरी नागरिकमा प्रसस्त भ्रम छर्ने काम गर्नसक्छ । सही किसिमले तयार पारिएको विश्लेषणात्मक समाचारले यस्ता भ्रमलाई चिर्ने काम गर्छ ।

सम्बन्धित राजनीतिक दलका घोषणापत्रको सबल र दुर्बल पक्ष, दलले चुनावमा गरेका खर्चको स्रोत, त्यसबाट आउनसक्ने नीतिगत अनाचार एवम् उम्मेदवारले विगतमा प्रदर्शन गरेका सार्वजनिक व्यवहारको वस्तुनिष्ठ लेखाजोखा गरी समाचार दिन आवश्यक हुन्छ । विश्लेषणात्मक समाचारले राजनीतिक दलका नेताद्वारा अभिव्यक्त विचारभित्र लुकेको वास्तविकता बुझ्न सहज बनाइदिन्छ, जसले मतदातालाई सही निर्णय लिन सहयोग पुग्छ । तर विश्लेषणको नाम मनोगत विचार सम्प्रेषण हुनसक्ने खतराप्रति पनि उत्तिकै सचेत हुनुपर्छ ।

पत्रकारिताको मूल धर्म नागरिकलाई सुसूचित गर्ने र समाजलाई सहजीकरण गर्ने नै हो । निर्वाचनको समयका पत्रकारिताको यो भूमिका झन व्यापक भएर आउँछ । धेरै खालका अलमल, राजनीतिक चलखेल र व्यापारिक स्वार्थबाट प्रदूषित सूचनाको अथाह समुद्रबाट सही सूचना कपडछान गरेर जनसमक्ष प्रवाह गर्नु आफैंमा एउटा भयानक चुनौतीपूर्ण काम हो ।

यस घडीमा असीम परिश्रम र सीपका साथमा ‘वस्तुनिष्ठ व्यवहार’ शिरोपर गर्नुपर्ने हुन्छ । यस्तो चुनौती जोकोहीले सामना गर्न सक्दैन । खासगरी, राजनीतिक दलसँगको निकटतालाई आफ्नो सौर्य ठान्ने, परिश्रम नगर्ने र शोधकार्य (रिसर्च) मा अभ्यस्त नभएका पत्रकारलाई यस्तो भूमिका निर्वाह गर्न सहज हुँदैन । परिश्रमी र विचारशील पत्रकारले सम्प्रेषण गर्ने सही सूचनाले मतदाताको भविष्य निर्माणमा योगदान दिन्छ ।

एक्काईसौं शताब्दीमा सूचनालाई सम्पत्ति मानिएको छ । सूचना–सम्पत्तिको प्रसंग कोट्याउँदा मानिस सूचनाजीवी प्राणी हो भन्ने तथ्यलाई समयले प्रमाणित गर्दै लगेको छ । मानिसलाई सही समयमा सही सूचना आवश्यक पर्छ । सही सूचनाबाट निर्देशित पाइलाले नै उसको जीवनमा सही गन्तव्य निर्धारण गर्छ ।

अहिले भइरहेको सूचना क्रान्तिले सचेत किसिमले पाइला अघि सार्न सहयोग गरिरहेको छ । सँगसँगै, चुनौती पनि थपिएको छ । इन्टरनेटले दुनियाँलाई अद्वितीय गुन लाउँदालाउँदै पनि कतिपय न्युज पोर्टल र सामाजिक सञ्जालहरू दुस्प्रचार यन्त्र बन्न थालेका छन् । त्यसमा पनि दुस्प्रचारयन्त्रको प्रयोगमा राजनीतिक शक्ति पछाडि छैनन् ।

नेपालजस्तो विकासोन्मुख मुलुकमात्र होइन, अमेरिकाजस्तो विकसित मुलुक पनि दुस्प्रचारबाट प्रभावित छन् । ‘अमेरिकन इकनमिक असोसिएसन’ द्वारा प्रकाशित ‘जर्नल अफ इकनमिक्स पर्सपेक्टिभ्स्’ मा छापिएको एक अनुसन्धानात्मक लेखमा सन् २०१६ को राष्ट्रपतीय चुनावमा लगभग १७ प्रतिशत वयस्क अमेरिकीहरूले ‘फेक न्युज पोर्टल’ ले प्रवाह गरेको समाचारमा भर परेको उल्लेख गरेको छ । नेपालमा त्यस्तो झुटो समाचारको प्रभाव अमेरिकामा भन्दा निकै बढी हुनुपर्छ ।

पहिलो झलकमै झुटो र बेतुक लाग्ने समाचार र अन्य सामग्रीलाई धेरैले सत्य ठानी सामाजिक सञ्जालमा सेयर गरेका, कमेन्ट गरेका र साथीसंगी एवं घरपरिवारमा ‘हट केक’ शैलीमा कुराकानीको विषय बनाएका दृष्टान्त नेपाली समाजमा छेलोखेलो छ । यसबाट गलत सूचनाले नेपाली समाज धेरै हदसम्म सङ्क्रमित छ भन्न गाह्रो छैन । सही सूचनाको बलले सही जनप्रतिनिधि चुन्नुपर्ने बेलामा गलत सूचनाले मतदातालाई निश्चय नै दिग्भ्रमित तुल्याउँछ ।

लोकतन्त्रको दृष्टिले निर्वाचन लोकतान्त्रिक प्रक्रियाको एउट महत्वपूर्ण हिस्सा हो भने राजनीतिक शक्तिको आँखामा निर्वाचन शक्ति हत्याउने खेल हो । निर्वाचनका बेला राजनीतिक शक्तिले एकअर्काविरुद्ध सक्दो दुस्प्रचार गर्छन् । दुस्प्रचार राजनीतिक दलका लागि शक्ति हत्याउने शक्तिशाली अस्त्र हो । निर्वाचनको समयमा हुने आमसभा, राजनीतिक दलको प्रचार सामग्रीबाट प्रवाहित सूचना, राजनीतिक दलले सञ्चालन गरेका घोषित तथा अघोषित सञ्चार आउटलेट तथा तिनका भ्रातृसंगठनहरूले जारी गरेका सन्देश धेरै हदसम्म दुस्प्रचारले भरिएका हुन्छन् ।

सबै प्रकारका दुस्प्रचारलाई चिर्दै नागरिकका पक्षमा सही सूचना कसरी दिने ? यस्तो अवस्थामा मिडियाले बहुआयमिक चुनौती सामना गर्नुपर्ने हुन्छ । त्यसो त, सत्य खोज्ने र त्यसलाई सम्प्रेषण गर्ने काम कहिल्यै पनि सहज छैन । त्यसमा पनि सञ्चार माध्यममा आएका कुरा सही हुन्छन् भन्ने मान्यताका पक्षपातीहरू कम नभएको हाम्रोजस्तो समाजमा सही सूचनाले स्थान पाउनुभन्दा धेरै अघि नै भ्रामक सूचनाले स्थान ओगटिसकेको हुनसक्छ ।
सत्य खोज्ने र सम्प्रेषण गर्ने काममा इन्टरनेटले जति सहज बनाएको छ, त्यति नै असहज स्थिति पनि निम्त्याएको छ । इन्टरनेटको बढ्दो पहुँचले हरेक व्यक्तिले आफ्नै मिडिया सञ्चालन गर्न सक्ने अवस्था बनिरहेको छ । अहिले मनोगत विचार र भ्रामक सूचनाले भरिएका ‘फेक न्युज’ र अन्य ‘फेक कन्टेन्ट’ को बिगबिगी बढेको छ ।

भ्रामक सूचना प्रवाह गर्ने यस्ता प्रचारयन्त्रको कर्तुतबारे बुझ्न बाँकी रहेका जनसमुदायले भ्रामक जानकारीलाई सही ठानेर सोही बमोजिम मनस्थिति बनाउन सक्ने खतरालाई नकार्न सकिन्न । जगजाहेर नै छ, गलत जानकारीले कहिल्यै पनि सही गन्तव्यमा पुर्‍याउँदैन ।

सही सूचना सम्प्रेषणमा समस्या राजनीतिक दलमात्र बाधक छैन, यसमा समाजको पहरेदार ठानिएका पत्रकारहरूको व्यवहार पनि उत्तिकै जिम्मेवार देखिएको छ । राजनीतिक दलको प्रचारयन्त्रमा पत्रकारहरूको संलग्नता रहनुले स्थिति झन जटिल बनेको छ । पत्रकार आचार संहिताले यस्तो व्यवहारलाई स्वीकार्य ठान्दैन । युनेस्कोको सहयोगमा सन् १९९१ मा नामिबियामा सम्पन्न अफ्रिकी अखबारका पत्रकारहरूको भेलामा जारी आचार संहितामा स्वतन्त्र  प्रेसको अर्थ सरकार, राजनीतिक दल वा आर्थिक शक्तिको प्रभावबाट टाढा रहनु हो भनिएको छ ।

यसो भनिरहँदा पत्रकार राजनीतिक दल र तिनका उम्मेदवारसँग पानी बाराबारको सम्बन्ध रहनुपर्छ भन्ने अर्थ नलागोस् ।  बरू, उम्मेदवार र मतदाताबीच सेतु बन्नुपर्छ, पत्रकार । अन्तर्राष्ट्रिय पत्रकार महासंघद्वारा प्रकाशित ‘इलेक्सन रिपोर्टिङ ह्यान्डबुक’ मा पत्रकारले मतदाताका अपेक्षा र उम्मेदवारका आशयलाई विवेकशील ढङ्गबाट जोडिदिनुपर्छ भन्ने उल्लिखित छ ।

नागरिकको ‘राजनीतिक चाड’ मानिने निर्वाचनलाई फलदायी र अर्थपूर्ण बनाउन पत्रकारले खेल्नुपर्ने भूमिका ज्यादै गहन छ । उसको वस्तुनिष्ठ, विचारशील, सिर्जनशील र विवेकशील व्यवहारबाट मात्र यस्तो भूमिका सही अर्थमा निर्वाह हुनसक्छ । यसका लागि आफ्ना निजी आकांक्षाहरूलाई गौण ठान्नुपर्ने हुन्छ । तबमात्र, निर्वाचनमार्फत् नागरिकको राजनीतिक अधिकार रक्षा गर्ने कार्यमा पत्रकारको हिस्सेदारी कायम हुन्छ ।

साभार: अन्नपूर्ण पोष्ट । (मङ्सिर ८, २०७४) ।]