Sunday, November 14, 2010

तुर्लुङकोटको लाँकुरी बोट


- यमबहादुर दुरा

मेरा जीवनका आयामहरुसँग मितेरी गाँस्ने थुप्रै अनुभूतिहरुका महासागरमा एउटा पक्ष  छाल बनेर मनको अन्तरकुन्तरलाई छुन सधैँजसो आउँछ । त्यो हो, मेरो बाल्यकाल र हाम्रो सामाजिक परिवेशसँग नाता गास्ने तुर्लुङकोटको लाँकुरी बोट । कुरा यहीनेरबाट शुरु गरौं । लमजुङ दुराडाँडाको सिरानतिर ऐतिहासिक महत्व बोकेको एउटा लाँकुरीको बोट छ । परैबाट सजिलै देखिने, फिरिक्क परेको । शाहवंशीय राज्य स्थापनाको सुदूर इतिहासदेखि हलो क्रान्ति र शैक्षिक क्रान्तिको निकटतम् इतिहासलाई काखीमा च्यापेर सर्लक्क बसेको दुराडाँडामा त्यो लाँकुरीको बोट स्थानीय जीवनशैलीको विम्ब बनेको छ । त्यो लाँकुरीको बोट वनपात गर्ने र बाटोघाटो हिँड्नेहरूले भारी बिसाउने, सुस्ताउने र मनको भारी बिसाउने   थलो हो ।

फेरि पनि त्यही लाँकुरीको बोटकै कुरा गरौं । दुराहरुको बस्ती रहेको तुर्लुङकोट गाउँको थक्क पश्चिमतिर सलल परेको चौरमा लाँकुरीको बोट छ, जुन ठाउँ स्थानीयस्तरमा 'भयँरथला' नामले परिचित छ । त्यहाँको लाँकुरी बोट गोरखा, तनहूँ र लमजुङको विभिन्न भू-भागबाट छर्लङ्गै देखिन्छ । त्यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्यहरू नितान्त मनमोहक देखिन्छन् । यसैगरी त्यस ठाउँबाट गोरखा, तनहूँ, कास्की र लमजुङकै सुन्दर भू-स्वरूपकोको दृश्यापान गर्न सकिन्छ ।

लाँकुरीको बोट नजिकबाट तलतिर हेर्दा पाउँदी खोला सर्पाकार रुपमा बग्दै मर्स्याङ्दीलाई भेट्न पूर्वतिर हान्निएको देखिन्छ । बाइसे-चौबीसे राज्यका भुरेटाकुरे राज्यका गढी र माछीकाँडे डाँडाकाँडाहरु यहाँबाट देख्न सकिन्छ । हालका दिनहरुबाट डोजरले खनेका र पहिरोको स्रोत मानिएका ग्रामीण सडकका धर्साहरू पनि त्यहाँबाट देखिन थालेका छन् । त्यहाँबाट देखिने भूदृश्यहरू मन भुलाउने खालका छन् । यस्ता दृश्यहरूले स्वदेशी र विदेशी पर्यटकको मन लोभ्याउँछन् तर यो ठाउँ पर्यटकको क्यामराबाट अभै पनि टाढा छ ।

तुर्लुङकोटको लाँकुरी बोटले स्थानीय जीवनशैलीसँग गहिरो नाता गाँसेको छ । त्यो लाँकुरीको बोट बटुवा, बेसाहा बोक्ने भरिया, वनपात गर्नेहरु एवम् खेताला-गोठाला सबैको मन-मन्दिरमा बिराजमान छ । यसले थुप्रै बटुवा र भरियाहरुलाई आश्रय र छहारी दिएको छ, धेरैका थकानका र सुस्केराहरू सुनेको छ । त्यसैले त्यो वृक्ष सबैका लागि परिचित छ, प्यारो पनि ।

त्यस लाँकुरीको बोट विगतमा धेरै बटुवाहरु एवम् भरियाहरुका लागि पानीजहाजको 'प्रकाश स्तम्भ' जस्तै बनेको थियो । त्यही लाँकुरीको बोटलाई आधार बनाएर बटुवाहरुले गन्तव्य निर्धारण गर्थे । डुम्रे-बेंसीशहर मोटरबाटो नबन्दासम्मको कुरा बेग्लै थियो । त्यतिबेला डुम्रे, भन्सार र कालीमाटीजस्ता तनहूँका व्यापारिक केन्द्रहरुबाट मालसामानको भारी बोकेर आउने भरियाहरु त्यही लाँकुरीको बोटलाई निशाना बनाएर पाइला अघि बढाउँथे । यसलाई ख्याल गरेर उनीहरु हिँडाइको गति बढाउने वा घटाउने कुरा विचार गर्थे ।

मैले पनि यस्तै अनुभव संगालेको छु । म सानोछँदा चामल बेसाउन बासँग सुन्दरबजार पुग्थेँ । टोपीले पसिना पुछ्दै चामलको भारी बोकेर बाको पछिपछि उकालो लाग्थें, त्यही लाँकुरीको बोटलाई निसाना बनाएर । लाँकुरीको बोटमा कतिबेला पुगिएला र थकाइ मार्न पाइएला भन्दै पसिनाले भिजेको शरीरलाई गन्तव्यतिर धकेलेको सम्झना मानसपटलमा ताजै छ । लमजुङको सुन्दरबाट चामलको भारी बोकेर घरतिर उकालो लाग्दा त्यही लाँकुरीको बोटलाई ताकिन्थ्यो ।

कसैले घर कहाँ हो भनी सोध्यो भने उत्तर हुन्थ्यो- 'उ त्यही पर, फिरिक्क परेको लाँकुरीको बोटैनेर । तुर्लुङकोट नजिक ।' अहिले गाउँ-गाउँमा धुले मोटरबाटो बनेपछि स्थिति बदलिएको छ । विगतका पलहरू विस्मृत बन्दैछन् र आफू हिँडेका पाइलाका डोबहरू मेटिँदैछन् । पुरानो पात झर्ने र नयाँ पात पलाउने क्रम जारी छ ।

विगतमा सम्झना, बिर्सना र निशाना पनि त्यही लाँकुरीको बोट बन्ने गथ्र्यो । खासगरी छुट्टी पूरा गरेर लाहुर फर्किन लागेका लाहुरेहरू अनि रोटो र भोटोका निम्ति मुग्लान पस्नेहरूका लागि । उनीहरु घरबाट बिदा भएर नेटो काट्ने बेलामा परबाट लाँकुरीको बोटलाई अन्तिम पटक आँखाभरि पिएर आँसु पुछ्दै बाटो लाग्थे । घरमा लाहुरबाट नासो पुर्‍याउन पठाइएका साथीहरुलाई दिइएका स्थान पहिचानसम्बन्धी मुख्य निशानाहरुमध्ये त्यो लाँकरीको बोट नै पर्‍थ्यो ।

 
तुर्लुङकोटको त्यो लाँकुरीको बोटको महत्व र वृतान्त यतिमा मात्र सकिन्न । चैत बैशाखको गर्मी याममा चिसो हावा खाँदै चोया-बाता गर्ने घरबारेहरुको प्यारो थलो थियो, त्यो लाँकुरीको बोट । वनपात गर्नेले दाउरा-घाँसको भारी बिसाएर सुस्ताउने र गीत गुनगुनाउने थलो पनि हो । चार-पाँच गाउँका भद्रभलाद्मीहरुबीच सभा-कहचरी गर्ने थलो पनि त्यही हो । भर्ती भएर छुट्टीमा आएका र भर्ती हुन चाहने नौजवानहरुले शारीरिक अभ्यास गर्ने ठाउँ पनि हो । गाउँमा बाघ नलागोस् भनेर प्रत्येक वर्षो फागनु महिनाको कुनै मंगलबारबाघको पूजा गरिन्छ, जुन 'भयँर पूजा' नामले परिचित छ । त्यति बेला गाउँबासीहरू भेला भएर भोज खाने थलो पनि त्यही लाँकुरीको बोट बन्ने गर्छ ।

मध्यपहाडी भागका गाउँबस्तीहरुमा लाँकुरीको बोटको विशिष्टतम् सांस्कृतिक महत्व छ । त्यसमा पनि लमजुङको दुरा बस्तीमा यसको महत्व झन उच्च देखिन्छ । गाउँबस्तीमा नचाइने घाँटु नाँचलाई लाँकुरीको बोट भएको चौतारीमा नै सेलाइन्छ । त्यतिबेला घाँटुसारे (घाँटुका नर्तकी)  हरुले लगाएका श्रीपेचलगायतका वस्तुहरू त्यही लाँकुरीको बोटलाई अर्पिने चलन छ । कतिपय अवस्थामा त घाँटु हेर्न आउने पाहुनालाई त्यही लाँकुरीको फेदमा गुन्द्री ओच्छ्याएर अतिथ्य दिइन्छ ।

उता, हरेक वर्षको वैशाखपूर्णिमा निश्चित लाँकुरीबोट मुनिको चौतारीमा चण्डीपूजा गरिन्छ । यसलाई स्थानीय लवजमा चन्नी पूजा भनिन्छ । चण्डीपूजा गर्ने क्रममा चौतारीको छपनी ढुङ्गामुनि कुखुराको फुल राखिन्छ । अर्को वर्ष वैशाखपूर्णिमामा खोलेर हेरिन्छ । फुलको अवस्थालाई ख्याल गरेर चालू वर्षमा सहकाल-अनिकाल वा शुभ-अशुभ के हुन्छ भनेर भविष्यवाणी गरिन्छ । हरेक वर्ष दशैं हालिने प्रायजसो पिङ लाँकुरीको बोटको छेउछाउ नै हुने गर्छ । लाँकुरीको फूलले दिने शोभा अवर्णनीय छ । पहिले पहिले लाँकुरीको पूल फुल्ने बखतमा गाउँका छोरीचेलीहरूको चुल्ठो र छोरामान्छेहरुको कान लाँकुरीको फूलले सजिन्थे र मनमनै आफूले आफूलाई नै सुन्दर सम्झन्थे । लाँकुरीको फूल कत्तिको सुन्दर हुन्छ भन्ने कुरा लोकप्रिय लोकगायक लोकबहादुर क्षेत्रीको गीतमा प्रयोग भएको विम्बले पुष्टि गर्छ :

'
कसकी छोरी होउ नानी तिमी त, लाँकुरीको फूलझैं लर्केकी'

लाँकुरीको एउटा अर्को मीठो विशेषता छ । हामी सबैलाई थाहा छ, हिउँदमा छहारीको खाँचो पर्दैन । त्यति बेला लाँकुरीले आफ्नो शरीरको सबै पात झारेर सिख्रो बन्छ । जतिबेला घाम चर्किन्छ र बटुवालाई छहारीको खाँचो पर्छ, त्यतिबेला लाँकुरीको बोटमा पात पलाउँछ । यसबाट बटुवा र आश्रय खोज्नेहरुले लाँकुरीको बोटबाट समयानुकूल र वातानुकूल लाभ पाउँछन् । लाँकुरीको यही विशेषताका कारण त्यस भेगका प्रायजसो चौतारीहरूमा बर-पीपलको सट्टामा लाँकुरीलाई सार्ने चलन छ । सम्भवतः भूगोलले निर्धारण गरेको सामाजिक एवम् सांस्कृतिक परिवेश हो, यो।

٭٭٭

दुराडाँडामा जन्मेकी लोकगायिका बीमाकुमारी दुराको पनि त्यो लाँकुरीको बोटसित गहिरो नाता छ । त्यही लाँकुरीको बोटलाई लिएर गीत गाइन् -'तुर्लुङडाँडा लाँकुरी चौतारी, छुट्यो मेरो हितैको दौंतरी ।' यही गीत गाएर उनले २०४७ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा सबै प्रतियोगीलाई उछिनेर प्रथम स्थान हाँसिल गरिन् । यहीबाट वास्तविक रुपमा उनको संगीतिक यात्रा शुरु भयो । उनी लोकसंगीतप्रेमीहरुका माझमा सुमधुर स्वरकी धनीको रुपमा परिचित भइन् । उनले थुप्रै प्रशंसक बटुलिन् । उनको सांगीतिक यात्रामा यो वा त्यो रुपमा तुर्लुङकोटको लाँकुरी बोट जोडिन आउँछ । उनको गीतमा त्यहाँको माटोको सुवास भेटिन्छ । उनको गीतले त्यहाँको सामाजिक परिवेश पनि बोल्छ ।

सांगीतिक यात्रामा ख्याति कमाउँदै जाँदा बीमाकुमारी दुराले एउटा अर्को चर्चित गीत गाइन् । त्यो गीतमा पनि उनले तुर्लुङकोट त्यही लाँकुरीको बोटलाई नै सम्झिइन् । यतिञ्जेलसम्म उनको  जिन्दगीले पनि निर्णायक मोड लिइसकेको थियो । हुनसक्छ, त्यस गीतमा उनको निजी अनुभूतिहरु समेटिएको होस्। चिनो नामको अल्बममा रहेको गीतको बोल थियो- 'लमजुङ तुर्लुङकोट, सरर हावा चल्यो लाँकुरीको बोट...'

यो गीत धेरैका लागि प्रिय छ । यसले जन्मस्थान छाडेर एउटा बेग्लै परिवेशमा घरजम गर्न जाने छोरीचेलीको अनुभूतिलाई समेटेको छ । उनले 'स्टेज' मा उभिएर त्यो गीत गाउँदा गाउँ छाडेर आएकाहरुका मनमा गाउँको सम्झनाको ज्वारभाटा चल्न थाल्छ । धेरैको मनभित्र भूइँचालो जान थाल्छ । उनीहरू द्रविभूत हुन्छन् । गीतमा गीत सुन्दा कतिपयको परेली निथ्रुक्कै भिज्न थाल्छ  । यसो हुनुमा कुनै न कुनै रुपमा तुर्लुङकोटको लाँकरी बोट र त्यसले समेटेको सामाजिक एवम् सांस्कृतिक परिवेश जिम्मेवार छ भन्न करै लाग्छ ।
٭٭٭
अहिले समयमले कोल्टो फेरिसकेको छ । गाउँबस्तीकौ स्वरुप हिजोको जस्तो छैन । बाहुनले हलो जोत्न हुन्छ भनेर हलो क्रान्ति गर्ने, जनताका छोराछोरीले तेस्रो आँखा पाउनुपर्छ भनेर शैक्षिक जागरण ल्याएर बेग्लै इतिहास रच्ने दुराडाँडा अहिले निरन्तर रित्तो बन्दैछ । जनसांख्यिक एवम् बौद्धिक- दुबै हिसाबले । हिजोका वैभवशाली दिनहरूलाई वर्तमानले  पछ्याउन छाडेको छ । आधुनिकताको छालले गाउँबस्तीलाई छ्याप्दै गर्दा गाउँको जनसंख्या निरन्तर घट्दो छ । हुन त यस्तो अवस्था विकासोन्मुख मुलुकका गाउँबस्तीहरुको साझा कथा नै हो ।

पढेलेखेका र पाखुरीमा तागत भएका युवाहरु गाउँमा भेटिँदैनन् । आँखा देख्ने र खुट्टा टेक्नेजति सबैले गाउँ छाड्ने क्रममा तीव्रता आएको छ । स्थानीय चुनाव हुँदा वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरू नभेटिने खतरा बढेको छ । युवाहरू रहर र वाध्यता दुवै कारणले स्वदेशकै शहर र मुग्लान पसेका छन्। पेन्सन पकाएर शहरबजारतिरै रोकिएका लाहुरे परिवारहरु देशै छाडेर देश बेलायततिर पुगिसकेका छन् । तर उनीहरूले गाउँ छाडे पनि गाउँको माया चटक्कै मार्न भने सकेका छैनन् ।

गाउँघरको मायालाई मुटुभरि सजाउने युवाहरूले सोसल नेटवर्किङ साइट 'फेसबुक' अन्य सामुदायिक साइटहरूमा गाउँका मनमोहक तस्बिरहरु पोष्ट गर्छन् । त्यसमा हृदय नै टाँसेर भावुक 'कमेन्ट' गर्छन्  तर उनीहरु गाउँतिर फर्कने सम्भावना न्यून छ । उनीहरुको हविगत सात समुन्द्रपारि अलग-थलग अवस्थामा रहेका अनलाइन प्रेमी-प्रेमिकाको जस्तो छ । मानौं , उनीहरूबीच एकआपसमा माया बिछट्टै छ, मन र मुटु पनि साटिएको छ तर सशरीर भेटघाट हुने मौका भने कहिल्यै जुट्दैन ।

गाउँघर र उनीहरूको सम्बन्ध पनि त्यस्तै भएको छ । इन्टरनेटको 'भर्चुअल' दुनियाँमा जतिसुकै माया पोखे पनि गाउँ अवस्था शून्यको शून्य नै छ । गाउँको दयनीय अवस्था देखेर एकजना बृद्धाले गरेको टिप्पणीको सम्झना आउँछ । उनले स्थानीय लवजमा भनेकी थिइन्, 'हाइँ मोरेपछि यो धाराको पानी कोले खाला !'

अहिले रित्तिँदै गएको गाउँबस्तीको दुर्दशाको साक्षी बनेको छ, तुर्लुङकोटको लाँकुरीको बोट । लाँकुरीको फेदमा बसेर  लोकलयमा मनको बह  पोख्ने पारखीहरु आजकल भेटिँदैनन् । गोधुली साँझमा लाँकुरीबोट भेला हुने युवाहरू आजकल गाउँमा छैनन् । वनपाखा शून्य छ । बच्चा हुर्किएपछिको चराको गुँणजस्तै भएको छ, त्यो लाँकुरीको बोट । लाँकुरीको फेदमा हुने सभा-कहचरी र दगलफसल हुन छाडेको छ । लाँकुरीको फेदमा दाउरा-घाँसको भारी बिसाउने क्रम मत्थरिँदै गएको छ । लाँकरीको बोट नजिकको भिरालो चौरमा केटाकेटीले चिप्लेटी खेल्न छाडेका छन् । बटुवाहरू भेटिन छाडेका छन् ।

अहिले लाँकरीको बोट एक्लो छ । लाकुरीको बोटलाई हृदयको एउटा कुनामा सजाएर गीत गाउने बीमाकुमारी दुराले गाउँ छाडेको वर्षौं बितिसक्यो । लाँकुरीको बोट सारेर इतिहास रच्ने खलाघरे जेठाले २०२२ सालतिरै सुखको खोजीमा चितवन झरेका हुन् । दुई वर्ष अघि उनी संसारबाट बिदा पनि भइसकेका छन् । दुराडाँडामा २००६ सालमा हलो क्रान्तिसँगै सामाजिक क्रान्ति र शैक्षिक क्रान्तिको शंखघोष गरेर गाउँबस्तीलाई ब्युँझाउने श्रीकान्त अधिकारीले पनि दुराडाँडा छाडिसकेका छन् । उनी पनि राजधानीमा नै सुस्ताउँदैछन् ।

वि.सं. २००९ सालमा स्थापना भएको सर्वोदय माविको भवन जीर्ण अवस्थामा पुगेकोले दुर्घटना निम्तिने डरले विद्यालय भवन भत्काइएको छ । भत्किएको अवस्थामा रहेको विद्यालय भवनले यसका उपजहरुसितसहयोगका लागि हात फैलाइरहेको छ । कुनै बेला सामाजिक चेतना र शैक्षिक उन्नतिका दृष्टिले गुल्जार ठहरिएको दुराडाँडा अहिले शून्यतातिर लम्कँदैछ । स्थानीय जीवनशैली र संस्कृतिको अमूल्य निधिको रुपमा लाँकुरीको बोट र त्यसले समेटेको हराभरा परिवेश क्रमिक रुपमा उजाडिँदै छ ।

यस्तो लाग्छ, लाँकुरीको बोटमा सधैँभरि जाल बुनेर बस्ने माकुरी पनि आजकाल त्यहाँ भेटिँदैन । शून्यतातिर लम्किँदै गएको त्यहाँको समग्र परिस्थितिको शब्दचित्र तयार पार्न गाह्रो छ । वर्तमानमा तुर्लुङकोटको लाँकुरी बोट र दुराडाँडाको समग्र परिवेशमा छाएको शून्यतालाई व्याख्या गर्ने शब्द मेरो शब्दकोशमा छैन । कुनैबेला रेडियो नेपालबाट गुञ्जने लोकगीतका यी हरफले त्यो शून्यतालाई चित्रण गर्न सक्छन् कि ?

कहाँ गयो जाल बुन्ने माकुरी
एक्लो भयो डाँडैको लाँकुरी


[साभार: नेपाली पोष्ट  (अगष्ट १५, २०१०  ।

[अद्यावधिक : २०६८।०६।१३, ०६८।०७।०५, ०६८।०७।२०, ०६८।०७।२८, ०६८१०१८, ०६८।११।०९, २०६९।०९।१८, २०७०।०४।२१, २०७१।०३।०७, २०७२।०७।०८, २०७२।०७।१०]


No comments:

Post a Comment