Sunday, December 1, 2013

बढ्दो सडक दुर्घटना

–यमबहादुर दुरा

आधुनिक जीवनशैली र सडक यातायातको गहिरो नाता छ । सडक आधुनिक जीवनशैलीको सूचकहरूमध्ये एक मानिन्छ । समयको प्रवाहसँगै देशभर सडक–सञ्जाल त्रमिक रूपमा विस्तार हुने र सडक प्रयोगकर्ताहरूको संख्या बृद्धि हुने क्रम निरन्तर रूपमा जारी छ । यससँगै सडक दुर्घटना पनि बढ्दै गएको छ । यसबाट जनधनको क्षति हुने क्रम बढ्दै गएको देखिन्छ, जुन एक गम्भीर समस्याको रूपमा देखापरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०११ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा सडक दुर्घटनाबाट प्रतिवर्ष दुई हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ, जुन कुल मृत्युको १.७० प्रतिशत हुन आउँछ । अर्को आँकडा अनुसार नेपालमा हुने कुल सवारी दुर्घटनामध्ये ५० प्रतिशत हिस्सा राजधानी शहर काठमाडौंले ओगट्छ । विश्वमा सडक दुर्घटनाबाट हुने कुल मृत्युमध्ये ७० प्रतिशत हिस्सा विकासोन्मुख मुलुकहरूले ओगट्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले सडक दुर्घटनालाई तीव्र गतिमा बढ्दै गएको महामारीको रूपमा चित्रण गरेको छ ।

‘ग्लोबल स्ट्याटस रिपोर्ट अन रोड सेफ्टी २०१३’ का अनुसार नेपालमा सडक दुर्घटनाबाट प्रति एक लाखमा १६ जनाको मृत्यु हुन्छ । सोही प्रतिवेदनका अनुसार बेलायत, स्वडेनजस्ता विकसित मुलुकमा प्रति एक लाखमा तीन जनाभन्दा कमको मृत्यु हुन्छ । यस हिसाबले सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशहरूको सूचीमा नेपाल पनि पर्छ  । मानिसलाई शारीरिक रूपमा अपाङ्ग बनाउने मूल स्रोतमध्ये सडक दुर्घटना अग्रपक्तिमा आउँछ ।

नेपालमा हवाइ यातायात तुलनात्मक रूपमा कम मानिसले प्रयोग गर्ने तथा जलयातायातको अन्वेषण र उपयोग न्यून रहेकाले सडक यातायात नै बहुसंख्यक नागरिकको आवगमनको माध्यम बनेको छ । विडम्बना नै भन्नुपर्ने हुन्छ, बहुसंख्यक नागरिकले प्रयोग गर्ने सडक यातायात नेपालमा सर्वाधिक असुरक्षित छ ।
सडकको भौतिक अवस्था अवैज्ञानिक हुनु, सडक इञ्जिनियरिङको मान्यताबमोजिम सडक नबन्नु, सडक यातायातसम्बन्धी तयार पारिएको कानुनी व्यवस्थाको कार्यान्वयमा फितलोपन देखिनु, सडक प्रयोगकर्ताहरूमा सवारी नियमको ज्ञान र त्यसको पालनाको अभाव हुनु, यातायात व्यवसायीहरूले सवारी  कानुन र मापदण्डलाई उचित किसिमले  अनुशरण नगर्नुलगायतका कारणहरूबाट सडक दुर्घटना बढेको देखिन्छ ।

सडक दुर्घटनाबाट हुने जनधनको क्षतिको विवरण सार्वजनिक भए पनि दुर्घटनामा  ज्यान गुमाउनेको परिवारजनमा पर्ने आर्थिक एवम् मनोसामाजिक असरबारे खासै अध्ययन भएका छैनन् । अदृश्य रूपमा रहेका यस्ता असरबारे अध्ययन गर्ने हो भने  सडक दुर्घटनाले निम्त्याएका हृदयविदारक दुर्दान्त कथाहरू सतहमा आउँछन् । यस्ता पीडाहरूबारे चर्चा गर्न शब्दहरू अपर्याप्त हुन्छन् । यसर्थ समाजमा दृश्य र अदृश्य किसिमले प्रभाव पार्ने सडक दुर्घटना न्यूनीकरणका लागि हरसम्भव प्रयासहरू हुनु आवश्यक छ ।

सडक यातायातलाई सुरक्षित र प्रभावकारी बनाउन सरकारीस्तरबाट प्रयास भएका नभएका होइनन् । ‘सवारी कर ऐन, २०३१’, ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’, ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’, ‘सडक बोर्ड ऐन, २०५८’ जस्ता कानुनहरूमार्फत सरकारले सडक यातायातलाई कानुनी दायरामा ल्याउने काम देखिन्छ । यसैगरी सरकारले सडक यातायातलाई सुरक्षित तुल्याउन ‘रोड सेफ्टी एक्सन प्लान, २०१३–२०२०’ अघि सारेको छ  । सरकारी कार्ययोजना जतिसुकै सुन्दर भए पनि उचित कार्यान्वयनको अभावमा कागजी बाघजस्तो मात्र देखिएको छ ।

आधुनिक जीवनपद्धतिमा सडक यातायात व्यापक जनसरोकारको विषय भएकोले यसलाई सुरक्षित र प्रभावकारी बनाउन सरकारले व्यापक स्रोत र साधनको लगानी गर्नुपर्ने देखिन्छ । निर्माण भइसकेका सडकको मर्मत–सम्भार एवम् पुनः निर्माणबारे आवधिक कार्ययोजना बनाउने र सही किसिमले अनुशरण गर्ने, सडक इञ्जिनियरिङका दृष्टिले त्रुटिपूर्ण ठहरिएका सडकको ट्रयाक फेर्ने वा आवश्यक सुधार गर्ने, विद्यमान सडकको भौतिक अवस्थाबारे नियमित रूपमा अनुगमन गर्ने, अनुगमन प्रतिवेदनका आधारमा समयमै आवश्यक सुधार गर्नेजस्ता काम गरेमा सुरक्षित र प्रभावकारी बनाउन सकिन्छ ।

नयाँ सडक बनाउँदा सडक इञ्जिनियरिङको सिद्धान्तलाई अक्षरस पालना गर्ने, नयाँ ट्रयाक खोलेपछि आवश्यक मापदण्ड पूरा नभएसम्म यात्रुवहाक सवारी साधन चलाउन अनुमति नदिने, सवारीसम्बन्धी ऐन–कानुनमा सामयिक सुधार गर्ने, सवारी नियमबारे गाउँबस्तीमा समेत जनचेतना जगाउने, सवारी नियम उल्लङ्घन गर्नेहरूको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सीसी क्यामरा एवम् सवारी साधनको गतिमापन यन्त्रजस्ता अत्याधुनिक प्रविधि उपयोगलगायतका उपायहरूद्वारा सडक यातायातलाई सुरक्षित र जनमैत्री बनाउन सकिन्छ ।

सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन सडक प्रयोगकर्ताको व्यवहारगत एवम् आचरणगत पक्षहरूमा व्यापक शुद्धीकरण हुनु अत्यावश्यक छ । गाडी प्रयोगकर्ताले स्वस्फूर्त र अनिवार्य रूपमा ‘सिट बेल्ट’ बाँध्ने, साइकल वा मोटरसाइकल चालकले हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्ने, सवारी साधनको गति अनुकूलन बनाउनेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्ने, ‘लेन डिस्प्लिन’ कायम गर्नेजस्ता आचरणगत पक्षहरूमा सुधार गर्ने एवम् सवारी नियमको नियम र कानुनको पूर्ण पालना नगरेसम्म सडक यातायात सुरक्षित हुन सक्तैन । त्यसैले सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन प्रत्येक प्रयोगकर्ता ‘बर्दीबिनाको ट्राफिक’ बन्न आवश्यक छ ।

विकसित मुलुकका राजमार्गहरू मानव बस्तीभन्दा निकै पर रहन्छ । यसको मूल आशय हो,  मानिस र घरपालुवा जनवारको ‘मुभमेन्ट’ ले सवारी साधनलाई अनावश्यक अवरोध नपुर्याउन् । परिणामस्वरूप सवारी दुर्घटना कम हुन्छ । नेपालका राजमार्गहरूलाई मानव बस्तीभन्दा पर सार्नुपर्ने आवश्यकता देखिएको छ । समयले यसको आवश्यकताबोध गराएको छ । एक आँकडा अनुसार पूर्व–पश्चिम राजमार्गको इटहरी, नारायणगढ, बुटवलजस्ता घनाबस्ती भएको सडक–खण्डमा बढी दुर्घटना हुने गरेको पाइएको छ । यस्ता घनाबस्तीबाट सडकको ट्रयाक अन्तै नमोडेसम्म जनधनको क्षति हुने क्रम बढ्ने देखिन्छ । अब यस दिशामा पनि सरकारको ध्यान जानुपर्छ ।

आधुनिक जीवनशैलीको दायरा फराकिलो हुँदै जाँदा बढ्दै गएको सडक यातायातको सञ्जाल र त्यसबाट बढ्दै गएको दुर्घटना न्यूनीकरण गर्न सरकारी कार्यशैली र नागरिकको आचरणगत पक्षमा क्रान्तिकारी सुधार हुन आवश्यक छ । सुरक्षित आवगमनलाई सरकारी अजेण्डामा उच्च प्राथमिकताका साथ राख्नुपर्ने देखिन्छ ।

[साभार: गोरखापत्र (मङ्सिर १५, २०७०)]

No comments:

Post a Comment