Saturday, March 2, 2019

धेरैलाई 'सेलिब्रिटी' बनाउने एउटा गुमनाम प्रतिभा

-यमबहादुर दुरा

गीत-सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा धेरै व्यक्ति 'सेलिब्रिटी' बन्छन् । सार्वजनिक जीवनमा छाउँछन्, चर्चा बटुल्छन् । त्यस्ता 'सेलिब्रिटी' को नाम घर घरमा उच्चारण गरिन्छन् । अंग्रेजी लवजमा भन्दा उनीहरू ‘हाउसहोल्ड नेम’ बन्न पुग्छन् । तर, त्यही गीत-सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा यस्ता गुमनाम व्यक्ति पनि हुन्छन्, जसको भूमिका ठूलो भएर पनि चर्चा चर्चा हुँदैन ।

सङ्गीत संयोजक एउटा यस्तै प्राणी हुन् । उसले गीतको 'मुड' सुहाउँदो सङ्गीत संयोजन गर्ने र उपयुक्त ‘म्युजिक पिस’ हरूलाई जोडेर गीतलाई सिंगारपटार गर्ने काम गर्छ । उसले गीतमा सङ्गीतिक फूलबुट्टा भर्छ । गीतमा सङ्गीतको मिठास थपेर श्रुतिमधुर बनाउँछ ।

यतिमात्र होइन, उसले गायकगायिकालाई मार्गनिर्देश गरेर गीतमा मधुरभाव थप्न सहयोग गर्छ । तर, ऊ सधैँभरि छायाँमा पर्छ । संक्षेपमा भन्ने हो भने सङ्गीत संयोजकको भूमिका नम्बरीलाई सुनलाई पिटेर आकर्षक गहना बनाउने व्यक्तिको जस्तै हुन्छ । ऊ पर्दापछाडिको नायक हो ।

यति भएर पनि सङ्गीत संयोजक (म्युजिक अरेञ्जर) हरू गुमनाम जिन्दगी बिताउँछन् । उनीहरू ‘बत्तीमुनिको अँधेरो’ बन्न पुग्छन् । गीत–सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा रहेर पनि यस्तै भोगिरहेका व्यक्तिहरूमा जुजु गुरुङको नाम पनि पर्छ । चर्चा पाउनु नपाउनु अलग कुरा हो, नेपालका चर्चित सङ्गीत संयोजकहरूमा उनको नाम आदरपूर्वक उच्चारण गरिन्छ ।

उनका बुबा कुलबहादुर गुरुङ (वि.सं. १९८५-२०५५) सङ्गीतप्रेमी थिए । उनी घरमा जोरमादल राख्थे । बाजागाजा र नाचगानमा मन दिन्थे । चुनीमाया, यानीमाया भाका गाउँथे । सोेरठी र कृष्णचरित्रको गीत पनि गाउँथे । दोस्रो विश्वयुद्ध लडेका कुलबहादुर गुरुङ गाउँका जिम्मुवाल पनि थिए । गाउँहरूले उनको घरमा नाचगान र रामरमिताका लागि भेला हुन्थे ।

यसप्रकारको साङ्गीतिक माहोललाई सूक्ष्म किसिमबाट नियालिरहेका जुजुको सङ्गीतप्रतिको रुझान बढ्दै गयो । बुबा पदचाप पछ्याउँदै अघि बढेका जुजुले वाद्ययन्त्रहरू बजाउन सिक्दै गए । थाहै नपाई उनका औंलाहरू वाद्ययन्त्रहरूमा अभ्यस्त भइसकेका थिए । सानै छँदा हरप्रकारका वाद्ययन्त्र बजाएर उनले चमत्कार देखाइसकेका थिए ।

आमासँग सुतिरहेको जुजुलाई ओछ्यानबाटै तानेर दिदीहरूले लैजान्थे र मादल बजाउन लगाउँथे । किशोरवयमा प्रवेश गर्दा नगर्दै उनी स्थानीय साङगीतिक कार्यक्रमहरूको हिस्सा बनिसकेका थिए । त्यहाँको साङगीतिक माहोललाई रौनकपूर्ण बनाउन उनको उपस्थिति अपरिहार्य मानिन्थ्यो ।

उनी सानै उमेरमा बाच्छेबाजा (माउथ हार्मोनियम), हार्मोनियम, मादल, खैंजडी आदि बजाएर दुनियाँको मन भुलाउन खप्पिस भइसकेका थिए । आठ-नौ कक्षातिर पुग्दा सारङ्गी बजाउन पनि पारङ्गत भइसकेका थिए । विद्यालयमा हुने साङगीतिक कार्यक्रममा उनले पुरस्कार थापिरहन्थे ।

२०४६ सालमा एसएलसी पास गरेका उनी एक वर्ष गाउँतिरै अल्मलिए । त्यो एक वर्ष गाउँको प्राथमिक विद्यालयमा ज्ञान बाँडेर बिताए । त्यसबेला पनि उनको साङ्गीतिक गतिविधि जारी नै रह्यो । शिक्षणकर्मको छोटो अनुभव सङ्गालेपछि उच्च शिक्षा अध्ययनका लागि आफ्नो घर लमजुङको भोटेओडार छाडेर राजधानीतर्फ पाइला लम्काए ।

राजधानी छिरेपछि उनले आफ्नो स्वाभाव र रुचि अनुसारको संगत मिल्दै गयो । यस्तैमा एउटा सांस्कृतिक टोलीसँग उनको सम्पर्क बढ्यो । त्यो टोली मयुर नाच, चौंरी नृत्य, शेर्पा नित्यजस्ता परम्परागत नृत्य प्रस्तुत गर्दै हिँड्थे । उनी त्यही टोलीमा सामेल भए । उनी वाद्यवादन कार्यमा संगल्न हुन्थे । त्यस सांस्कृतिक टोलीसँगको उठबसले उनमा अन्तरनिहित प्रतिभा माझिँदै गयो । देश र दुनियाँलाई हेर्ने साङ्गीतिक नजर फराकिलो हुँदै गयो ।

उनको साङ्गीतिक नातासम्बन्धको जालो विस्तार हुँदै गयो ।

२०४८ सालतिर उनलाई एकजना साथीले एउटा रोचक कुरा सुनाए । त्यो साथीले उनलाई एउटा यस्तो ठाउँबारे बताए, जहाँ हरप्रकारका बाजा उपलब्ध थिए । सङ्गीत भनेपछि हुरुक्कै हुने जुजुलाई त्यस ठाउँमा पुगौं पुगौं लाग्यो । उनी साथीको पछि लागेर त्यस ठाउँमा पुगे ।

हुन पनि साथीले जुन कुरा भनेका थिए, त्यही कुरा दुरुस्त पाए । त्यहाँ उनले जीवनमा छुन नपाएका र देख्न नपाएका हरप्रकारका बाजा थिए । उनले ती बाजालाई सूक्ष्म किसिमले अवलोकन गरे ।

त्यहाँ लिएर जाने साथीले त्यहाँको साङ्गीतिक दस्तासँग उनको परिचय गराइदियो । सँगै जाने साथीले नवआगन्तुक रूपमा पुगेका जुजुले हरप्रकारका बाजा बजाउन सक्छ भन्ने पनि बताइदियो । उनीहरूले केही बाजा बजाउन लगाए । उनले सारङ्गीलगायतका केही बाजा बजाएर आफ्नो प्रतिभाको परिचय दिए । उनको कलाकौशल देखेर साङ्गीतिक दस्ताको नेतृत्व पंक्ति प्रभावित भयो र आउँदै गर्न आग्रह गरे ।

त्यसपछि त्यस साङ्गीतिक दस्तासँग उनको आउजाउ बढ्यो । तिनीहरूले उनलाई माया मान्न थाले । तिनले पकेट खर्च दिन थाले, गाह्रोसाह्रोमा सघाउन थाले । विद्यार्थी जीवनमा यसप्रकारको सहयोगी हात पाउनु उनको लागि ठूलो कुरा थियो । वास्तवमा त्यो साङ्गीतिक दस्ता कुनै राजनीतिक दलको सांस्कृतिक विभाग थियो  । त्यस साङ्गीतिक दस्ताको सम्पर्क र समन्वयमा काम गर्दा उनले ध्रुव ज्ञवाली र धनकाजी गुरुङबाट सङ्गीतबारे धेरै ज्ञान पाए ।

उनको जीवनको भाँकी र सम्बन्धहरू फेरिँदै गए । त्यो साङ्गीतिक दस्तासँगको जम्काभेट जुजुका लागि जीवनको एउटा मोडमात्र थियो । उनी साङ्गीतिक प्राणी थिए, राजनीतिक प्राणी थिएनन् । राजनीतिसँग कुनै लेनादेना थिएन । उनको साङ्गीतिक यात्रा निरन्तर अघि बढिरह्यो ।

साङ्गीतिक कार्यक्रमहरूमा हिँड्दा २०५४ साल गायक तथा सङ्गीतकार नारायण रायमाझीसँग उनको भेट भयो । रायमाझीले एकाध भेटघाटमै जुजुको प्रतिभा पहिचान गरिहाले । यो भेटको उनको जीवनमा अर्को महत्वपूर्ण मोड थियो । नारायण रायमाझीले उनलाई आफ्नो म्युजिक कम्पनी रीमा रेकर्डिङमा वाद्यवादक बन्न आग्रह गरे । उनले त्यसलाई सहर्ष र सप्रेम स्वीकारे । त्यसपछि उनी केही वर्ष त्यही कार्यरत रहे । उनले आफूलाई खार्दै लगे ।

 २०५० को दशकको मध्यदेखि वाद्यवादन छाडेर सङगीत संयोजनमा लागे । उनले विभिन्न रेकर्डिङ स्टुडियोमा सङगीत संयोजनको काम गरे । उनले राम्रो 'पर्फमेन्स' देखाउँदै गए । यसपछि उनले निरन्तर प्रगति गर्दै गए । उनलाई सङगीतिक क्षेत्रका धेरै मानिसहरूले खोज्न थाले । काम ह्वारह्वाहर्ती आउन थाल्यो । उनलाई सङगीत संयोजनमा धेरै काम आउन थाल्यो । उनको प्रसिद्धि बढ्दै गयो ।

पहिले उनी दिनमा पाँच छवटा अडियो अल्बममा सङ्गीत संयोजन गर्थे । उनी दिनभर व्यस्त रहन्थे । उनले ‘मिर्मिरेमा भाले बासेको...’, ‘छिनको छिनैमा...’, ‘यो मायाको संसार विचित्र...’, ‘ससुरालीमा...’, ‘खैरेनीमा गेट...’, ‘हङकङ आइडीले...’, ‘फूलमा भमरा...’, ‘वनको काफल वनको चरीलाई...’, ‘जम्मू-कास्मिरमा...’, ‘भरिया दाइले बिसाउने भारी...’, ‘...माया बढ्यो झन’ जस्ता असंख्य चर्चित गीतको सङ्गीत संयोजन गरिसकेका छन् ।

उनले सङ्गीत संयोजन गरेको गीतका कारण धेरैले चर्चा बटुले । उनीहरू सेलिब्रिटी बने । यही भएर होला, बजारमा चर्चा बटुलेका कतिपय कलकारहरू ठूला ठूला साङ्गीतिक जमघटमा उनलाई देखेर नतमस्तक हुन पुग्छन् ।

उनले असंख्य गीतमा सङ्गीत संयोजन गरेका छन् । तर अहिलेसम्म आफूले सङ्गीत संयोजन गरेको गीतको यथार्थ अभिलेख छैन । उनी आफूले हालसम्म २० हजार जति गीतमा सङ्गीत संयोजन गरेको अनुमान गर्छन् । यतिबेला महिनामा २०/२२ वटासम्म गीतको सङ्गीत संयोजन गर्छन् ।

सङ्गीत संयोजकबाहेक उनको अर्को परिचय पनि छ । उनी गायक पनि हुन् । ‘काठेपुलैमा...’, ‘धादिङ सल्यानटार...’, ‘दुवाली थुनेको...’ आदि उनले स्वर दिएका गीत हुन् ।

उनले इन्दिरा कलानिधि विद्यालयबाट सङ्गीतसम्बन्धी शिक्षा लिएका छन् ।सङ्गीत अनुरागी र सङ्गीतिक वृत्तमा रहेकाहरूका दृष्टिमा जुजु गहिरो सङ्गीत चेत भएका प्रतिभाशाली व्यक्ति हुन् । तर, उनी आफैं भने आफूलाई कम आँक्छन् । सङ्गीतको अथाह दुनियाँमा आफूले धेरै सिक्न बाँकी भएको बताउँछन् । शिलाबहादुर मोक्तान, पूर्ण गुरुङ, भूपेन्द्र रायमाझी, सचिन सिंह, जुगल डंगोललाई आफ्नो प्रेरणास्रोतका रूपमा लिने गर्छन् ।

उनी चुपचाप आफ्नो कर्मक्षेत्रमा होम्मिन रुचाउने कर्मजीवी हुन् । उनी विज्ञापन गर्न रुचाउँदैनन् । आफूले अङ्गालेको पेशाका कारण पनि उनी ओझेलमा छन् । उनको स्वाभाव पनि हाइफाइ जीवनभन्दा परै रहन मन पराउने किसिमको छ । अभिनन्दन, सम्मान, पुरस्कार आदि उनलाई झर्को लाग्ने विषय हुन् । समय-समयमा उनको नाममा पनि पुरस्कार र सम्मान उदघोष भइरन्छन् ।

उनी यस्ता कार्यक्रमहरू सकेसम्म छल्न खोज्छन् । उनी धेरैजसो पुरस्कार वितरण समारोहमा उपस्थित हुँदैनन् । आफ्नो घोषणा गरिएको पुरस्कारको थुप्रो उठाउनै बाँकी छ । उनी भने सब कुरा छाडेर सङ्गीत साधनामा एकोहोरो तल्लीन रहन मन पराउँछन् । पेशा र स्वाभाव दुवैले उनी चमकधमकपूर्ण दुनियाँबाट पर छन् ।

[साभार : लोकसंवाद । २०७५ साल फागुन १७ गते । ]

No comments:

Post a Comment