Saturday, March 30, 2019

दोहोरीका उम्दा स्वर

-यमबहादुर दुरा

दोहोरीगीतको आयतन विस्तार भएको छ । यसको आयतन विस्तार हुने कार्यको बीजारोपण पञ्चायतकालमै भएको थियो । दोहोरीगीतलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएपछि यसले मूलधार समातेको धेरैको विश्लेषण छ । मूलतः गाउँबस्तीका सर्वसाधारण नगारिकबीच भावना आदानप्रदानको माध्यमको रूपमा रहेको दोहोरीगीत नेपाल अहिले राष्ट्रिय संस्कृतिकै एक हिस्साको रूपमा स्थापित छ ।

दोहोरीगीत मूलधारमा आएपछि गाउँबस्तीका असंख्य प्रतिभाले राष्ट्रियस्तरमै नाम कमाउन थालेका छन् । दीपक खड्का दोहोरीमा नाम कमाउँदै गरेका दा उम्दा प्रतिभा हुन् । दोहोरीगीतमा उनले आफ्नो परिचय निर्माण गरिसकेका छन् । रेडियो नेपालद्वारा २०६० सालमा आयोजित दोहोरीगीत प्रतियोगितमा प्रथम स्थान हाँसिल गर्न सफल खड्काले आफ्नो कीर्तिमानीलाई कायम गर्दै २०६१ सालमा टुबोर्ग दोहोरीगीत प्रतियोगितामा पनि प्रथम भए । यसभन्दा अघि उनी स्थानीयस्तरका थुप्रै दोहोरीगीत प्रतियोगितामा थुप्रै पटक पुरस्कृत भइसकेका थिए ।

आफू दोहोरीगीतको रङ्ग–रेशममा ‘कसरी आएँ’ भन्नेबारे कुनै खास प्रसंग उनको स्मरणमा छैन । समग्रमा भन्दा आफू जन्मेहुर्केको सांस्कृतिक परिवेशले नै दोहोरीगीतको दुनियाँमा आउन सहयोग गरेको उनको बुझाइ छ । यही प्रसंग कोट्याउँदै गर्दा उनी बाल्यकालीन सम्झनामा डुब्न पुग्छन् । उनी हजूरबाको पछि लागेर गोठालो जान्थे । हजूरबाले मीठो गरी पात बजाउँथे । गीत पनि गाउँथे । उनको जिज्ञासा चुलिन्थ्यो, पात कसरी बजाउने होला, गीत कसरी गाउने होला ? उनले जानीनजानी हजूरबाको सिको गर्थे ।

उनको घर नवलपरासीको गैंडाकोट हो । उनको घर नजिक कुमाल समुदायको बस्ती छ । उनीहरूको जीवनशैली अझैपनि रैथाने प्रकृतिको छ । कुमाल समुदायको जीवनशैली सङ्गीतमय छ । बच्चाको न्वारन गर्दा पनि गीत गाउने, छेवर गर्दा पनि गीत गाउने, हुँदा हुँदा भैंसी ब्याउँदा पनि गीतै गाउने । बडो गबजको जीवनशैली छ । यस्तो सामाजिक तथा सांस्कृतिक परिवेशमा हुर्केका उनको साङ्गीतिक चेत खुल्दै गयो । लोकगीतप्रतिको मोहभाव बढ्दै गयो ।

उनले टोल–छिमेकमा हुने सामाजिक जमघटमा जम्ने गीतको खालमा सहभागिता जनाउन थाले । विद्यालयमा हुने लोकगीत प्रतियोगितामा सहभागिता जनाउन थाले । विद्यालयमा हुने हरेक दिनको हाफ छुट्टीमा पनि साथीहरूसँग दोहोरी गाएर बस्थे । स्थानीय धार्मिक अनुष्ठानहरूमा पनि उनी गीत गाउन पुग्थे ।  सत्यनारायण कथावाचन समारोहमा दोहोरीको खाल जम्थ्यो । रातभरि गीत दोहोरी गाउँथे । कुनै बेला त एकै रात दुई तीन ठाउँमा चाहरेर गीत गाउँथे ।

एकपटक सत्यनारायण कथावाचन अनुष्ठानमा असामान्य घटना भयो । त्यहाँ रातभरि गीत गाए । भोलिपल्ट पनि गीतको खाल जम्यो ।  गीतमा स्वाभाविक रूपमा भावना साटासाट भए । घर फर्कन बेलामा फसाद प¥यो । गीत गाउने केटीले उनको पिछा गर्न थालिन् । उनले दीपकलाई जीवनसाथीको रूपमा रोजिसकेकी रहिछन् । उनी सम्झाइ बुझाइ गरेर तर्किए । त्यतिबेला उनी अविवाहित नै थिए । सच्चा हृदय भएकी ती ग्रामीण बालाको भावनाको कदर गर्न नसक्दा उनलाई कताकता ननिको लाग्छ । गीतमा व्यक्त भएको ‘चोखो माया, फुको ठट्टा’ ले जन्माएको त्यो असामान्य घटना उनी बिर्सन सक्दैनन् ।

उनी आफूले भर्खर भर्खर गीत गाउन शुरु गर्दा र अहिलेको सामाजिक परिवेशमा धेरै परिवर्तन आएको देख्छन् । त्यतिबेलाका केटीहरूले शुरुमै एकैचोटि गीत निकाल्दैनथे । गीत गाउने बेसरी मन भए पनि केटीहरू हत्तपत्त अघि नसर्ने । केटाले पाँच छ टुक्का भनेपछि बल्ल गीत निकाल्थे ।  गीत झिक्न थालेपछि गीतका शब्द धेरै मार्मिक र भावुक प्रकृतिका हुन्थे । गीतमा रन्थन्याउने खालका भावुकता र विनयशीलता हुन्थे । गीतको भाव एकदमै साङ्केतिक हुन्थे । तर, अहिले परिस्थितिमा आनका तान फरक आएको छ । अहिले केटीहरू नै पहिला गीत निकाल्छन् । गीत पनि साङ्केतिक नभई सीधै घोच्ने खालका हुन्छन् । यो उनले अवलोकनबाट बटुलेको अनुभव हो ।

नेपाली लोकगीतको क्षेत्रमा उनी नारायण रायमाझीबाट एकदमै प्रभावित छन् । रायमाझीलाई गीतमा माधुर्य भर्नसक्ने र गीतलाई न्याय गर्न सक्ने कुशल प्रतिभाको रूपमा चित्रण गर्छन् । उनी रायमाझीको साङगीतिक विशेषता केलाउँछन्, ‘उहाँको गीत सेलरोटी जस्तो छ । सेल रोटी शुरुमा त्यति मीठो हुँदैन तर पछि झन् मीठो झन् मीठो हुँदै जान्छ । उहाँका गीत पनि त्यस्तै छन् ।’

दीपक खड्का आफैं पनि धेरैको नजरमा राम्रो दोहोरी गायक हुन् । अग्रज दोहोरी गायक अमरविरही गुरुङका आँखामा दीपक खड्का कुशल दोहोरी गायकमात्र होइन, अग्रज र अनुज  दुवै पुस्तालाई सम्मान गर्न जान्ने व्यक्ति पनि हुन् । अर्का पुराना गायक कृष्णसुधा ढुङ्गाना उनलाई विनयशील उम्दा प्रतिभाको रूपमा लिन्छन् । उनलाई नजिकबाट नियालिरहेका समकालीन दोहोरी गायक राजु परियारका दृष्टिमा उनी दोहोरीमा निरन्तर प्रगति गरिरहेका प्रतिभा हुन् ।

देशको सामाजिक तथा राजनीतिक परिवेशसँग कलाकारहरू निरपेक्ष रहन सक्दैनन् । देशमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वबाट उनको मनोभाव पनि अप्रभावित रहेन । उनले तत्कालीन समयमा तयार भएको ‘भय र अनिश्चितताको मनोविज्ञान’ लाई लिएर गीत तयार पारे । सामाजिक मनोविज्ञानको केन्द्रीय भावलाई नै छोएर तयार पारिएको त्यो गीत निकै चर्चित रह्यो, धेरै मन पराए । गीतको थेगो थियो : ‘फेरि के के हुनी कसले जान्ने हो, यसपालिको दशैं तिहार गाउँमै मान्नी हो’ ।

उनी दोहोरी ‘स्टेज पर्फमेन्स’ मा निकै जमेका कलाकार हुन् । उनी देशका विभिन्न भागका हुने महोत्सवहरूको हिस्सा बन्छन् । दीपक खड्काले दोहोरीगीतसम्बन्धी म्युजिक भिडियो पनि निकाल्दै आएका छन् । यसै वर्ष, उनले ‘सोल्टी राजै’ शीर्षकको भिडियो ‘यु ट्युब’ मार्फत सार्वजनिक गरेका छन् ।  यसभन्दा अघि पनि उनले यस्ता म्युजिक भिडियोहरू निकालिसकेका छन् । दोहोरीगीतको पृष्ठभूमिबाट आएका कलाकार भएकाले उनका छोटा खालका लोकगीत थोरै छन् ।  ‘रेडियो नेपाल’ उनका तीनवटा गीत छन् । उनका दोहोरीको अडियो अल्बम र म्युजिक भिडियो गरी लगभग १५ वटा ‘साङ्गीतिक कोसेली’ बजारमा आएका छन् ।

आजकल उनी निर्णायकको भूमिकामा पनि देखापर्न थालेका छन् । यसका अतिरिक्त उनको संगठनकारी–संयोजनकारी भूमिका पनि प्रशंसनीय छ । दोहोरी कलाकारहरूको छाता संगठन ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ मा शुरुदेखि नै आबद्ध भई सांगठानिक गतिविधिमा सरिक छन् । अहिले उनी संस्थाको कोषाध्यक्ष पदमा कार्यरत छन् । उनी संस्थाको नवलपरासी शाखाको सहसचिव, त्यसपछि केन्द्रीय सदस्य तथा केन्द्रीय सहकोषध्यक्ष हुँदै कोषाध्यक्ष पद सम्हाल्न आइपुगेका छन् ।
निर्णायकका भूमिका दीपक खडका (बायाँबाट पहिलो) ।

दोहोरीगीत लोकगीतको मूलधार आएको र गीत गाएर कलाकार बाँच्न सक्ने वातावरण तयार भएको यो समयमा कलाकारको मनोबल उच्च नै छ । दोहोरीगीतमा भित्रिएका अशुद्धिलाई हटाउँदै यसलाई अत्यन्त मर्यादित लोकअभिव्यक्तिको माध्यम बनाउनुपर्ने खाँचो सर्वत्र अनुभत गरिएको छ । यसमा  जो–कोही कलाकारको योगदान अपेक्षित छ । दोहोरी कलाकारहरूको छाता संगठनको नेतृत्वदायी भूमिकामा रहेका ३८ वर्षीय तन्नेरी कालकार दीपक खड्काबाट पनि दोहोरीगीतका अनुरागीहरूले यही अपेक्षा गरेका छन् ।

[साभार: लोकसंवाद । २०७५ साल चैत १५ गते ।]

No comments:

Post a Comment