Friday, March 15, 2019

गण्डकी क्षेत्रको लोकसुुसेली ठाडो भाका

–यमबहादुर दुरा

ठाडो भाका । लोकसङ्गीकको एउटा विशिष्ट विधा । मूलतः गण्डकी भेगको लोकसुसेली । गाउँघरका अपठित कर्मजीवी कलासाधकले मायाले असाध्यै सुम्सुम्याएको मोहनी भाका । एउटा विशिष्ट सांस्कृतिक निधि । जनस्तरमा बिछट्टै लोकप्रिय रहेर पनि समयक्रमसँगै विलयको संघार पुगेको अमूर्त सांस्कृतिक सम्पदा ।

कुनै समयमा ठाडो भाका गाएरै दुनियाँको मन जितेका देउबहादुर दुरा, पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७-२०३३), मनिराम दुरा, भेडीँखर्के साइँला (वि.सं. १९९१-२०७४), सकुन्धरा दुरा वि.सं. १९९१-२०७१), भक्तिमाया दुरा (वि.सं. १९८४-२०६९), ज्ञानीमाया थापाहरू अब यस दुनियाँमबाट बिदा भइसकेका छन् । समयले भाका फेर्दै जाँदा ठाडो भाकाको आवाज मधुरो हुँदै गएको छ । ठाडो भाका गाउने जान्नेहरूको अभाव दिनदिनै खट्किँदै गएको छ ।

यो समय रैथाने संस्कृतिका लागि अत्यन्त प्रतिकूल हुँदाहुँदै पनि गाउँको कुनाकन्दरामा ठाडो भाका गाउन सक्ने प्रतिभाहरू अझै पनि बचेखुचेका अवस्थामा छन् । समयको कठोर झोक्काले गाउँको रैथाने साङ्गीतिक वातावरण भत्काइदिएको छ, जसबाट कोइलाखानीमा लुकेका हीराजस्ता ती कला र गलाका धनी बेखबर हुन पुगेका छन् । समयले रैथाने गीतको लय भङ्ग पारिदिँदा ती ग्रामीण प्रतिभा आफ्नै भूगोलमा बिरानो हुन पुगेका छन् ।

समयले तीतो स्वाद चखाउँदा चखाउँदै पनि बुद्धिमान दुरा, नन्दमाया दुरा, कृष्ण गुरुङ, हरिमाया गुरुङ, शुकमाया विक, सीता दुरा, राधा भण्डारीजस्ता प्रतिभाहरूको उपस्थितिले यस क्षेत्रमा आशाको किरण थपेको छ । यसका अतिरिक्त केही क्षेत्रमा नवप्रतिभाहरूको पनि झिनो उपस्थिति छ । उनीहरू आशाका किरण हुन् ।

ठाडो भाका विशिष्ट सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा जन्मिएको विशिष्ट किसिमको साङ्गीतिक विधा हो । कलाकार भनेर नचिनिएका ग्रामीण कलासाधकहरूले जन्माएर हुर्काएको ठाडो भाका सर्वसाधारण नागरिककोे ढुकढुकी हो । यसमा समकालीन समाजको सामाजिक तथा सांस्कृतिक तस्बिर दृष्टिगोचर हुन्छ ।

हरेक मौलिक लोकगीत आञ्चलिकता–प्रधान हुन्छ, जसमा स्थानीयपन छताछुल्ल भेटिन्छ । ठाडो भाका पनि यसको अपवाद हुन सक्दैन । ठाडो भाकामा स्थानीय बोलीचालीको भाषा अधिक प्रयोग हुन्छन् । स्थानीय जीवनशैलीको झलक स्थानीयपन, आलङकारिकता र विम्बात्मक अभिव्यक्ति यसका मूलभूत विशेषता हुन् ।

ठाडो भाकामा जीवन र जगतका सबै कुरा समेटिन्छन् । भाषा एकदमै शिष्ट र मर्यादित हुन्छ । लोकलाजलाई ख्याल गरिन्छ । दुनियाँलाई असहज लाग्ने कुरालाई सीधा भाषामा अभिव्यक्त गरिँदैन । लोकमर्यादालाई उच्चस्थान दिइन्छ । खासगरी मायप्रेमका कुरा र जीवनका कतिपय आयामलाई विम्बात्मक ढङ्गमा व्यक्त गरिन्छ । जस्तैः प्रेमी–प्रेमिकालाई फूल–भमरा, जीवनलाई घाम–छायाँ आदि विम्बद्वारा चित्रण गरिन्छ ।

यस्ता विम्ब नितान्त सरल, सरस र बोधगम्य हुन्छन्, जसको भाव र छनक निरक्षरजनले पनि सजिलै बुझ्न सक्छन् । गीतमा प्रयोग भएका विम्बात्मक शब्दावलीले एउटा विशिष्ट वाङ्मय र रङ्ग–रेशमको माहोल तयार पार्छ, जसले गीतको खाललाई आकर्षणको केन्द्रविन्दु बनाउन सहयोग गरेका हुन्छन् ।

विनयशीलता ठाडो भाकाको आत्मा हो । आफ्नो अभिव्यक्तिबाट गीत गाउने समकक्षीले अपमानित वा अपहेलित अनुभूत नगरुन् भन्नेमा विशेष ध्यान दिइन्छ । त्यसैले आफूलाई ‘लो प्रोफाइल’ मा राखेर शिष्ट शैलीमा कुरा राखिन्छ । यसमा सीधा घोचपेच गरिँदैन । कसैलाई व्यङ्ग्य नै गर्नुपरे पनि सोझै व्यङ्ग्य नगरी गुलाबी छेण हानिन्छ । कटु शब्दको प्रयोगलाई शिष्टाचारविहीन व्यवहार मानिन्छ ।

ठाडो भाका विशेष प्रकारको गीत भएकोले गीत गाउन विशेष सीप र सिर्जनशीलता आवश्यक पर्छ ।  ठाडो भाकामा एउटै गीत दुई चरणमा गाइन्छ । पहिलो फेद गाइन्छ भने फेदको परिपूरकको रूपमा टुप्पो गाइन्छ । फेद गीतको उठान विन्दु हो भने टुप्पो बैठान विन्दु हो । गीत गाउँदा फेद र टुप्पोको अन्त्यानुप्रास मिल्नुपर्छ । गीतको मूल सन्देश टुप्पोमा रहन्छ तर फेद र टुप्पो एकअर्काका परिपूरक हुन् । फेदले गीतको पृष्ठभूमि तयार पार्छ । फेद र टुप्पो बेग्लाबेग्लै चरणमा गाइन्छ । जस्तै :

(फेद) : हा... हा... अहिलेको खेती भनौं सुनाखरी घैया रे दशैं र तिहारीलाई
(टुप्पो) : हो...हो...रामले धनु ताक्छ धेरै माया लाग्छ बैनी मेरो पियारीलाई

गीत शुरु गर्दा सीधै मूल विषयमा प्रवेश गरिँदैन । देवीदेउता वा सिमे–भूमेको नाम पुकारेर मात्र गीत शुरु गरिन्छ । जस्तै :

(फेद) : बिहानीपख झुलकने घाम गैरीखेत छायाँलाई
(टुप्पो) : खरु घाँस गाईलाई, पहिलो चरण सरस्वती माईलाई दोस्रो चरण मायालाई

(फेद) : पानीरोमा खाई उमकाली लाग्यो रे कालिचै कुखारी
(टुप्पो) : कास्की बैदाम तालमा, बस्यो पञ्चखालमा देवीदेउता पुकारी ।

गीतमा प्रयोग हुने शब्दलाई गेयात्मक (गाउन मिल्ने) बनाउनका लागि कतिपय अवस्थामा कतिपय शब्दलाई हल्का तोडमोड गरेर गाउने गरिन्छ, जुन गायनको व्याकरणभित्रै पर्ने कुरा हो । अंग्रजीमा पोएटिक लाइसन्स (Poetic license) भनेर चिनिने यो परिपाटीले गीतलाई सुललित बनाउन सहयोग गर्छ । माथि उध्रृत गीतमा पानीलाई ‘पानीरोमा’, उकालीलाई ‘उमकाली’, लाग्योलाई ‘लाग्यो रे’, कुखरी ‘कुखारी’ भनी उच्चारण गरिएको छ । यसरी गीतमा सामान्य बोलीचालीको भाषाभन्दा बेग्लै किसिमले उच्चारण गरिन्छ । गीतको आफ्नै व्याकरण हुन्छ ।

यसैगरी, अवस्थाअनुसार गोरखालाई गोरिखा, कुन्छालाई ‘कुनिछा’, एकलाई एकु, दरबारलाई ‘दरिबार’, घरबारलाई ‘घरिबार’, राजाको धनलाई ‘राजाको रे धनमा’ नमेरसम्मलाई ‘नैत मरेसम्म’ तथा खरको घाँसलाई ‘खरुको घाँस’ भनेर उच्चारण गरिन्छ । यस किसिमको भाष्यले गीतलाई लयात्मक बनाउने भूमिकामात्र खेल्दैन,  सरिलो, भरिलो र श्रुतिमधुर बन्छ । यहाँनेर, नेपाली मानक भाषाको व्याकरण लागू हुँदैन । अपठित भएर पनि हाम्रा अघिल्ला पिँढीले गीतको अलिखित व्याकरणलाई राम्रोसँग बुझेर सोहीअनुसार पालना गरेको देखिन्छ ।

गीतलाई लयात्मक, श्रुुतिमधुर, भावप्रधान र प्रासंगिक बनाउन बीच बीचमा आवश्यकताअनुसार टुक्काप्रधान शब्दावली प्रयोग गरिन्छन् । जस्तै : आँपै काटी कोया बाँसै काटी चोया, देउबहादुर दुरा पञ्चखालको कुरा, बहर बाच्छा दाउँदा साइनोपात लाउँदा, गाईको नाम त गाजु मेरो प्यारो दाजु, दश घरी केरा अहिले यतिन्खेर । यस्ता शब्दावलीले गीतमा ज्यान भर्ने र माटो सुवास थप्ने काम गर्छन् ।

गीत गाउँदा प्रयोग गरिएका शब्दलाई चुइङगमझैं तन्काउने तथा खुम्च्याउने खुबी पनि गायक–गायिकामा हुनु उत्तिकै आवश्यक छ । यसका लागि उपयुक्त ठाउँमा स्वरको आरोह–अवरोह, स्वरघातको प्रयोग गर्ने ज्ञान र सीप वा स्वरसुधाको खाँचो पर्छ । भेँडीखर्के साइँला लोकप्रिय हुनुको एउटा कारण हो, उनले राम्रोसँग स्वरको आरोह–अवरोह गरेर गीतलाई मिठास भर्नु । गीतको आरोह–अवरोहबारे उनीबाट धेरै कुरा सिक्ने ठाउँ छ । नवप्रतिभाहरूमा यसप्रकारको विशिष्ट ज्ञान र सीपको सर्वथा अभाव देखिन्छ ।

ठाडो भाका विम्बप्रधान गीत भएकाले बढी मात्रामा विम्बहरू प्रयोग गरिन्छन् । तर अहिले विम्बको अभाव हुँदै गएको देखिन्छ । यसका पछाडि दुई मूलभूत कारण छन् । पहिलो, विगतमा प्रयोग हुँदै आएका विम्बहरू नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु । दोस्रो, समयानुकूल नयाँ विम्ब बन्न नसक्नु । यसका अतिरिक्त प्रयोग भइआएका कतिपय विम्बहरू पुराना भइसकेका छन् । तिनीहरू समयको कुनै विन्दुमा तयार पारिएका हुन् । खासगरी अपठित कृषिप्रधान समाजमा बनेका ती विम्ब अहिले आएर सन्दर्भविहीन बन्दै गएका छन् ।

हाम्रो सामाजिक तथा सांस्कृतिक परिदृश्यमा थुप्रै परिवर्तन आएका छन् । आजको परिवर्तित सन्दर्भमा हिजोका कतिपय विम्ब र उपमा अपर्याप्तमात्र छैनन, असान्दर्भिक पनि हुन पुगेका छन् । गीतमा प्रयोग भएका ती पुराना विम्ब ऐतिहासिक सन्दर्भमात्र हुन सक्छन्  ठाडो भाकालाई समयको कसीमा राखेर हेर्दा अहिले गीतमा प्रयोग हुने विम्बको रिक्तता देखिन्छ । यसप्रकारको खालीपनलाई समाजोपयोगी वजनदार विम्बहरूले भर्नुपर्ने अवस्था आएको छ । यसका लागि गायक–गायिकाका सिर्जनशील, विचारवान् र कल्पनाशील हुनैपर्छ ।

ठाडो भाकाका प्रसस्त स्थानीय भेद छन् । उदाहरणका लागि लमजुङे ठाडो भाका, गोर्खाली भाका । यसका अतिरिक्त लमजुङे ठाडो भाका र गोर्खाली ठाडो भाकामा पनि अझ सूक्ष्म किसिमको स्थानीय भेद पाइन्छ ।
एउटै भेगमा गाइने गीतमा पनि एउटै डाँडा वारि र पारि शैलीगत पक्षमा सूक्ष्म किसिमका स्थानीय भिन्नता भेटिन्छन् ।

 त्यही भिन्नतालाई इङ्गित गर्न लमजुङको कतिपय बेंसी तथा होचा भागका प्रचलित ठाडो भाकालाई कछारे भाका वा टरेली भाका भन्ने गरिन्छ । यप्रकारको स्थानीय भेदले ठाडो भाकाको दायरालाई फराकिलो र समृद्ध बनाउन सहयोग गरेको छ । यसलाई सम्पत्ति नै मान्नुपर्ने हुन्छ ।

ठाडो भाकाको चारित्रिक विशेषता हेर्दा यो हतारमा गाइने गीत होइन भन्ने निष्कर्षमा पुगिन्छ । यो गीत अहिलेको चटपटे शैलीको गीतभन्दा धेरै भिन्न छ । यो एकप्रकारले धिर प्रकृतिको गीत हो । एउटै गीत दुई चरणमा गाउने,  गीतको खालमा प्रवेश बसेर गीत शुरु गर्दा देवी देउता तथा सिमे–भूमेको नाम पुकार्ने, त्यसपछि सोधनी–पुछनी गरेर साइनोपात लाउने कार्य ठाडो भाकाको साङ्गीतिक संहिताभित्र पर्छ ।

गीत गाउने सिलसिलामा एउटा समकक्षीले अर्को समकक्षीको नाम, ठेगाना आदि  सोध्नुपर्दा शिष्ट शैलीमा अनुमति मागिन्छ । अर्का समकक्षीले अनुमति दिएपछिमात्र कुरा राखिन्छ । यसप्रकारको अलिखित संहिता पालना गर्दा गीत धेरै लम्बिएर जान्छ तर पनि गीत निरस भर्कोलाग्दो हुँदैन ।


ठाडो भाका गायनको क्षेत्रमा नयाँ पुस्ताका गायक–गायिकाहरूको झिनो उपस्थिति छ । उनीहरूका गीतको शैली र व्यवहार हेर्दा ठाडो भाकाको मर्म र धर्मप्रति धेरै हदसम्म अपरिचितजस्ता देखिन्छन् । नयाँ पुस्ताका कतिपय गायक–गायिकाले ठाडो भाकाका कुनै पनि स्थानीय भेदसँग मेल नखाने निकै भिन्दै किसिमले परिमार्जित शैलीमा गाउने गरेको पाइन्छ । एकतिर ती गीतमास्वरको आरोह–अवरोह मौलिकता भेटिँदैन भने अर्कोतिर शब्द उच्चारणमा ठाडो भाकाको अलिखित व्याकरण पालना भएको पाइँदैन ।

ठाडो भाका गायकमा नयाँ पुस्ताको आगमन हुनु खुसीको कुरा हो तर कतिपय अवस्थामा उनीहरूबाट असम्वेदनशील व्यवहार प्रदर्शन हुँदा चिन्ता मान्नुपर्ने अवस्था पनि छ ।

ठाडो भाकामा देखापरको अर्को विकृत पक्ष हो, अहिलेको चटपटे शैलीको दोहोरी गीतको ठाडो नक्कल गरिनु । अहिलेको दोहोरीमा ‘तिमीसँग लभ गर्छु, तिमीलाई लैजान्छु’ भनेर सीधै भनिन्छ । ठाडो भाकामा यस्तो व्यवहार स्वीकार्य मानिँदैन । यो शिष्ट र विनयशील गीत भएकाले  यसमा ‘तातै खाऊँ जली मरुँ’  गरिँदैन ।

यसमा अशिष्ट व्यवहार बर्जित छ । व्यक्त गर्न खोजिएका कुरालाई शिष्टतापूर्वक क्रमबद्ध शैलीमा अघि सारिन्छ । यो वास्तविकतालाई भुलेर कतिपय गायक–गायिकाले गोली  हाने जस्तो गरी सोझै कुरा राखेको भेटिन्छ, जुन ठाडो भाकाको मूलमर्मको विरुद्धमा छ । यसलाई अशिष्ट र अमर्यादित मानिन्छ ।

कतिपय नवप्रतिभाले कुनै स्थापित गायकको शैली र शब्द सोझै नक्कल गरेको पाइन्छ । कलाकार अरूबाट प्रभावित हुने कुरा स्वाभाविक हो, तर अरूको ठाडो नक्कल गर्ने प्रवृत्ति गलत हो । यसले सम्बन्धित कलाकारको आत्मापहिचान संकटमा पर्छ ।

अरूबाट प्रभावित हुनु स्वभाविकै भए पनि आफ्नो मौलिक चिनारी हराउने गरी अरूको नक्कल गर्नुलाई कुनै पनि अर्थमा जायज भन्न सकिँदैन । अरूबाट प्रभावित हुँदै नयाँ विम्ब र भावधारा सिर्जना गर्दा मौरीले महको चाकामा फूलको रस राखेर अझ मिठास थपेजस्तै हुन्छ । तर अरूको ठाडो नक्कलले सुगा–रटाइ निम्तिन्छ, जसले कला र कलाकार दुबैलाई क्षति गर्छ ।

ठाडो भाका अपठित ग्रामीण कर्मजीवीहरूले सिर्जना गरेको गीत हो । यसमा मानक भाषाभन्दा भिन्न भाषा प्रयोग हुन्छन्, जुन स्वभाविक हो । यसमा मानक भाषा प्रयोग गरिनुपर्छ भन्ने आग्रह पनि राखिनुहुन्न । ठाडो भाका प्रतियोगितामा निर्णायक मण्डलमा बसेका कतिपय व्यक्तिहरूले यस्ता स्थानीय लवजलाई मान्यता नदिई नम्बर घटाइदिएका घटना पनि सतहमा आएका छन् ।

स्थानीयपन लोकगीतको आत्मा हो । यही स्थानीयपनले उसको पृथक पहिचान दिइरहेको हुन्छ, जुन उसको सम्पत्ति हो, मुटु हो, सबल पक्ष हो । निर्णायक मण्डलमा बसेका व्यक्ति शब्दको स्थानीयपनमा हुने तागत र लोकगीतको भाव–भङ्गितसँग परिचित हुनु आवश्यक छ । स्थानीय जीवनशैलीसँग परिचित नभई ठाडो भाकाको मर्म बुझ्न सकिँदैन ।


ठाडो भाका अमूर्त सांस्कृतिक सम्पदा हो । मानव सभ्यताको उत्थान र विकासमा यसले विशेष महत्व राख्छ । त्यसै सांस्कृतिक पक्ष हेर्ने संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले अमूर्त संस्कृतिको संरक्षणमा  जोड दिएको पाइन्छ ।  अमूर्त संस्कृतिको सबैभन्दा ठूलो र जिउँदो–जाग्दो संग्रहालय मानिसको मनमस्तिष्क नै हो । यसको सबल र दुर्बल पक्ष पनि यही नै हो । मानिस–मानिसबीचको सामाजिक अन्तरघुलन र अन्तरक्रियाका माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा अमूर्त सांस्कृतिक सम्पदा विस्तार हुनसक्छ, जुन यसको सबल पक्ष हो ।

अर्कोतिर, सम्बन्धित कलाकारको मृत्युपछि ऊसँगै यस्ता सांस्कृतिक सम्पदा हराउने खतरा रहन्छ, जुन यसको दुर्बल पक्ष हो । त्यसमा पनि अहिले बाहिरी दुनियाँसँगको तीव्रतर समागमले पुरानो पिँढीबाट नयाँ पिँढीमा परम्परागत सांस्कृतिक सम्पदा हस्तान्तरण हुने प्रक्रिया व्यापकस्तरमा कमजोर हुँदै गएको छ । ठाडो भाकाले पनि यही नियति भोग्दै आएको छ । अमूर्त सांस्कृतिक सम्पदा एकपटक हराएपछि पुनप्र्राप्तिको सम्भावना लगभग शून्य रहन्छ । यो चिन्ताको विषय हो ।

ठाडो भाकाको शैलीगत विशेषता हेर्दा रोदीघरमा लामो रात कटाउन, मेलापर्मलगायत श्रमप्रधान कामकोे झर्कोलाग्दो समय मनोरञ्जन गरेर कटाउन यो गीत अस्तित्वमा आएको अनुमान गर्न सकिन्छ । तर अहिले समयको हावा बेग्लै दिशामा बगेको छ । समयको बदलिँदो घडीमा पल पलको मूल्य नगदमा मापन हुने बेला आएको छ । यतिबेला रेडिमेड र छिटो–छरितो चीजको उच्च माग छ । यस्तो अवस्थामा लम्बेतान शैलीको गीतले आफ्नो अस्तित्व कुन हदसम्म बचाउन सक्ला ? प्रश्न गम्भीर छ ।

एकतिर परम्परा पनि बचाउनुपर्ने र अर्कोतिर समयले ल्याएको परिवर्तनलाई पनि आत्मासात गर्नुपर्ने । यो काम निकै जटिल र चुनौतीपूर्ण छ । समयले निम्त्याएको जटिलतालई चिर्न सरोकारवालाहरूसँग गहन विचार–विमर्श गरी व्यवहारिक समाधान निकाल्न आवश्यक छ । यसका लागि राज्यस्तर र समुदायस्तरको संयुक्त प्रयास हुन आवश्यक छ ।

ठाडो भाकाको आत्मालाई बचाउँदै समयले ल्याएको परिवर्तनलाई उचित किसिमले आत्मसात गनुर्को विकल्प छैन । संस्कृति संरक्षण सरोकारवालाहरूकोे सहभागिता र राज्यको रचनात्मक सहयोगसबिना सम्भव छैन । जनस्तकार नागरिकको सांस्कृतिक निधिको रूपमा रहेको ठाडो भाकाको संरक्षण तथा सम्वर्धन गर्ने जिम्मा कुनै अमुक व्यक्ति वा समुदायलाई थोपर्नु न्यायोचित हुँदैन । अब ठाडो भाकालाई माया गर्ने कवि, लेखक, गायक–गायिका तथा संस्कृतिकर्मीहरूबीच सहकार्य आवश्यक छ । यस राज्य संरक्षक र सरोकारवाला जनसमुदाय हर्ताकर्ता बन्नुपर्छ ।

[साभार : मधुपर्क । चैत, २०७५  ।]

यस लेखमा प्रयोग भएको जानकारीलाई अन्यत्र प्रयोग गर्न सकिन्छ । तर, जानकारी प्रयोग गर्दा स्रोत पनि खुलाइदिनुहोला । कृपया, अरुको बौद्धिक श्रमको सम्मान गर्न सिकौँ ।

[अद्यावधिक: २०७६।०१।३०, २०७६।०५।२९, २०७७।०४।१८, २०७९।०३।३१]

No comments:

Post a Comment