Friday, March 15, 2019

सिम्रिकझैं सिमल फुलेको

यमबहादुर दुरा

एउटा गाउँले केटो । लोकगीतसँग साइनो गाँस्दै हुर्किए, उनी । जतिबेला तोतेबोली बोल्दै थिए, त्यतिबेला गाउँको सांस्कृतिक वातावरण उर्वर थियो । उनको जन्मस्थान मौलिक लोकभाकाहरूको खानी थियो । उनी प्रकृतिको काखमा हुर्कँदै जाँदा स्थानीय लोकभाकाहरूप्रति एकपछि अर्को गरी मोहित हुँदै गए । यससँगै उनको साङ्गीतिक चेत पनि मजबुत हुँदै थियो ।

अहिलेका दोहोरीगायक तथा लोकगीत अभियन्ता तेजबहादुर केसी लोकगीतको दुनियाँमा आउनका लागि पाइला उचाल्दै थिए । त्यतिबेला लोकबहादुर क्षेत्री (वि.सं. २०१८-२०५०), शावित्री शाहजस्ता मूर्धन्य कलाकारका सुमधुर र भावप्रधान गीतहरू रेडियोमा बज्थे । नेपाली लोकजीवनको तस्बिर झल्कने ती गीतबाट प्रेरित हुन थाले । उनीभित्र गायक बन्ने चाहना मौलाउँदै गयो ।

उनमा निहित प्रतिभा र इच्छाशक्तिले उनलाई लोकगीतको क्षेत्रमा निरन्तर अघि बढिरहने शक्ति दिइरह्यो । २०४३ आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोहोरीगीत प्रतियोगितामा उनी पहिलो पटक सामेल भए । यसपछिका दोहोरीगीत प्रतियोगिता र लोकगीतसँग सम्बन्धित जमघटहरूमा उनी निरन्तर देखा पर्न थाले । प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई ‘पछार्न’ थाले ।

यसपछि उनको साङ्गीतिक यात्रा अविश्रान्त अघि बढिरह्यो ।  त्यतिबेलाको समय नै बेग्लै थियो । कलाकारको रूपमा दरिन ‘रेडियो नेपाल’ ले लिने स्वर परीक्षामा उत्तीर्ण हुनैपर्‍थ्यो । अनिमात्र रेडियोमा गीत गाउन पाइन्थ्यो । तत्कालीन परिवेशले एउटा यस्तो मापदण्ड तयार पारेको थियो, रेडियोमा गीत नगाएसम्म कोही पनि कलाकारको श्रेणीमा पर्दैनथ्यो ।

उनी स्वरपरीक्षामा सहभागी भए । परीक्षामा उत्तीर्ण भए । लोकबहादुर क्षेत्रीसँग २०४४ सालतिर ‘रेडियो नेपाल’ मा स्वराङ्कन गर्ने अवसर पाए । क्षेत्री उनको आदर्श व्यक्ति थिए । आफ्नो आदर्शका धरोहरसँग स्वराङ्कन गर्न पाउँदाको यो घडी उनका लागि बिछट्टै खुसीको क्षण थियो । उनले त्यतिबेला गाएका गीत काम र मामको खोजीमा मुगलान पस्नुपर्ने आमनेपालीको नियतिसँग जोडिएको थियो । गीतको बोल थियो : ‘कल्लाई रहर होला र सान्दाइ गाउँघर छाडेर जानलाई’ ।

उनले २०४५ सालमा ‘रेडियो नेपाल’ मा अर्को गीत गाए । गीतको एउटा हरफ यस्तो थियो : ‘घरबासी साहूलाई बुझाउँदै, झरेँ मधेश बालबच्चा रुवाउँदै’ । एक अर्थमा यो गीत भयानक क्रान्तिकारी आवाज हो, जसमा उनको आफ्नै जीवनभोगाइ प्रतिविम्बित भएको प्रतीत हुन्छ । तत्कालीन समयमा पहाडी गाउँबस्ती  खाद्यान्न अभाव र विपन्नताले आक्रान्त थियो । यसबाट पहाडका सयौं परिवार मधेश झर्न बाध्य भए । उनको परिवारले पनि यही नियति भोग्यो ।

२०२८ सालमा उनको परिवार कुम्लो–कुटुरो बोकेर प्यूठानबाट नवलपरासीको डाण्डा  झर्‍यो । बुबा रुद्रबहादुर केसी र आमा सुमित्रा केसीको साथ लागेर मधेश झर्दा उनी नौ वर्षका थिए ।  प्रस्तुत गीतमा आन्तरिक बसाइँ सराइ र त्यसले निम्त्याएको आर्थिक तथा सामाजिक परिवेशको भुक्तभोगी अनुभव झल्कन्छ ।

साङ्गीतिक यात्रामा अघि बढ्ने क्रममा लोकगीतका विभिन्न विधामा स्वर दिएका उनले भजन पनि गाएका छन् । ‘रेडियो नेपाल’ बाट बज्ने भजन ‘कति सुहायो कति सुहायो, नागको माला बाघको छाला कति सुहायो’ धेरै पराइएको भजन हो । देशको धार्मिक तथा सांस्कृतिक परिवेश झल्कने यो भजनमा बमबहादुर कार्की, शिवा आले र बीमाकुमारी दुराको स्वर रहेको छ ।

तेजबहादुर केसीले त्यही समयमा ‘रेडियो नेपाल’ मा श्रृङ्गारिक रसको गीत स्वराङ्कन गरे : ‘सिम्रिकझैंसिमल फुलेको, बिर्सेछेउ कि सम्झेइछेउ मायालु रनवन सँगै डुलेको’ । जीवनको प्रेमिल क्यानभासमा मायालु रङ पोखिएजस्तो लाग्ने यो श्रृगार भावधाराको यो गीतमा उनलाई तारा पुन, कमला राना र टकबहादुर आले दरिलो साथ दिएका छन् । बैंशालु मनहरूबाट निकै प्रशंसा बटुल्न यो गीत सफल रह्यो।

उनी नेपाली लोकगीतको मूलधारमा छाउँदै गर्दा अडियो अल्बमले बजार पिटेको थियो । उनले पनि अडियो अल्बममा आफ्ना भावना बिसाएका छन् । ‘छेल पर्‍यो  कदम छायाँले’, ‘सिम्रिकझैं सिमल फुलेको’, ‘बेचिएकी चेलीको कथा’, ‘औंठी हीराको’, ‘नवलपुरे दाइ’ ‘सुकुम्बासी’, ‘हारेको करिमा’ लगायत ११ वटा अल्बमको प्रतिभा पोखिएका छन् । उनले स्वर दिएका अरू कलाकारका अल्बमको समेत हिसाब गर्ने यो भने यो संख्या ५० भन्दा बढी पुग्छ । ‘रेडियो नेपाल’ मा दशवटा गीत रेकर्ड भएका छन् ।

लोकबहादुर क्षेत्री, अमरबिरही गुरुङ, कृष्णसुधा ढुङ्गाना, हरि न्यौपाने, हरिदेवी कोइराला, बमबहादुर कार्की, शिवा आले, बीमाकुमारी दुरा, शिवु गिरी, पुरुषोत्तम न्यौपानेलगायतका थुप्रै नाम चलेका प्रतिभाहरूसँग मिलेर विभिन्न अल्बममा स्वराङ्कन गरेका छन् ।

उनले स्थानीयदेखि राष्ट्रियस्तरका दोहोरीगीत प्रतियोगितामा भाग लिने क्रममा थुप्रै पटक पुरस्कृत भइसकेका छन् । २०५६ सालमा राजधानीमा आयोजित सार्क दोहोरीगीत प्रतियोगिता उनको टोली पहिलो भयो । टोलीमा शिवु गिरी र केशरबहादुर अधिकारी उनका सहयात्री थिए ।

तेजबहादुर केसी गायनबाट विस्तारै अलग्गिएर प्रतियोगितामा निर्णायकको भूमिका देखापरेका छन् । धेरै ठाउँमा धेरै पटक निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्, जुन सजिलो काम होइन । यो धेरै अपजसे काम हो । अहिले उनको परिचय दोहोरीगीत प्रतियोगिताका निर्णायकका रूपमा पनि बनेको छ ।

केसी कलाकारका शब्द संयोजन, भाव, सुर, लय, ताल, मध्यानुप्रास, अन्त्यानुप्रास, मौलिकता र प्रस्तुतीकरणको सूक्ष्मतम अवलोकन र परख गर्छन् । यही आधारमा तिनमा अन्तरनिहित प्रतिभाको मूल्याङ्कन गर्छन् ।

उनी केशरबहादुर अधिकारी, बद्री पराजुली, छवि पराजुली, रेवती पौडेल, माया गिरि, शिवु गिरि, सिर्जनाविरही थापा, रमेश बिजी, केशुमाया रामदान, बाबुराम पौडेल, श्रीराम अधिकारीजस्ता प्रतिभाका शब्द चयन र भावधाराबाट अतिशय प्रभावित छन् ।

लोकगीत अनुरागी र लोकगीत अभियन्ता भएका नाताले केसी असंख्य गायक–गायिकासँग घुलमिल भएका छन् । उनी धेरैको कला र गलाबाट प्रभावित छन् । तर, उनी पनि शावित्री शाह, लोकबहादुर क्षेत्री, नारायण रायमाझी, माया गुरुङ, हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, विष्णु माझी, विमल क्षेत्रीजस्ता कलाकारका स्वरमा एक किसिमको पृथकपन पाउँछन् ।

जीवनको गणित लम्बिँदै जाँदा उनको स्मृतिपटलमा अनेकौं  तीतामीठा प्रसंग र घटनाहरू सञ्चित छन् ।
एकपटक उनी एउटा लोमहर्षक नियतिबाट घेरिए । विगतमा ‘रेडियो नेपाल’ ले हरेक वर्ष अधिराज्यव्यापी लोकगीत प्रतियोगिता आयोजना गथ्र्यो । यही क्रममा २०५० सालको प्रतियोगितामा सहभागी हुने मन बनाए । मनमा उत्साह लिएर उनी राजधानी भित्रिए । प्रतियोगिताका लागि उनको पनि गीत छनोट भयो ।

त्यही समयमा भाग्यले उनीसँग क्रूर ठट्टा गर्‍यो । प्रतियोगिताको पूर्वसन्ध्यामा उनी साथीहरूसँग रत्नपार्कको सडकपेटी हिँडिरहेका थिए । त्यही समयमा विपरीत दिशाबाट आएको गाडीले उनलाई अचानक ठक्कर दियो । उनी तत्काल बेहोश भए । ब्युँझदा उनले आफूलाई वीर अस्पतालको बेडमा पाए । प्रतियोगितामा सहभागी अवसर गुम्यो । त्यही लय लिएर रेखा शाह प्रतियोगितमा सहभागी भइन्, प्रेमराजा महतको सहयोगमा । उनी प्रथम पनि भइन् । त्यसबेला उनको भाग्य रेखा शाहको तग्दिरमा सरेजस्तो पो भयो ।

वि.सं. २०५० पुस ६ गते जनस्तर निकै लोकप्रिय गायक लोकबहादुर क्षेत्रीको मोटरसाइकल दुर्घटना परे । उनको दुःखदायी निधन भयो । यसलाई उनी आफ्नो जीवनको नितान्त दुःखदायी क्षण मान्छन् । अहिले उनी लोकबहादुर क्षेत्रीको व्यक्तित्व र कृतित्वलाई लोकस्मृतिमा चिरस्थायी बनाउने अभियानमा छन् ।

उनको संयोजकत्वमा २०५२, २०५३ र २०५४ सालमा निरन्तर तीन वर्ष लोकबहादुर क्षेत्री स्मृति दोहोरीगीत प्रतियोगिता आयोजना भयो । यसका लागि उनले निकै दौडधूप गर्नुपर्‍यो । उनकै सक्रियतामा नवलपरासीको बर्दघाटमा लोकबहादुर क्षेत्रीको शालिक तयार पारी २०७४ साल भदौ २४ गते तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतबाट अनावरण भइसकेको छ  । शालिक तयार गर्ने काममा उनको भूमिका निर्णायक रह्यो ।

उनले समयको बदलिँदो प्रवाहसँगै लोककलारकारहरू संगठित रूपमा अघि बढ्नुपर्छ भन्ने सोचाइ राखे । यही सोचाइ मूर्त रूप दिँदै २०५७ साल असोज १६ गते नवलपरासीमा दोहोरी कलाकारहरूको छाता संगठन ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ स्थापना भयो । संस्था जन्माउन पनि उनको उल्लेखनीय भूमिका रह्यो ।

उनी संस्थापक सचिव (वि.सं. २०५७-२०५९) रहेर संस्थाको शैशवकाल निकै सक्रिय रहे । त्यसपछि महासचिव (वि.सं. २०५९-२०६१) भएर संस्थालाई अघि बढाउने कार्यमा सरिक भए । अहिले पनि ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ का हरेक गतिविधिमा उनी उत्तिकै सक्रिय छन् ।

जतिबेला उनी लोकगीतको क्षेत्रमा आएका थिए, त्यतिबेला लोकगीतमा व्यवसायिकताको कुनै गुञ्जायस नै थिएन । तर, तअहिले परिस्थिति बदलिएको छ । लोकगीतमा व्यवसायिकता आएको छ । कलाकारले गीत गाएरै जीवनयापन गर्न सक्ने अवस्था पैदा भएको छ । पूँजीवादले निम्त्याएको व्यापारीकरण नै सही, गाउँको दोहोरीगीत शहरका दोहोरी रेष्टुरेण्ट र महोत्सव भेटिन थालेको छ । यसलाई बुझाउन उनी राजनीतिक शब्दावली प्रयोग गर्छन्, ‘गाउँले शहर घेर्न थाल्यो ।’

लोकगीत हाम्रो परम्परा र संस्कृति हो, जुन हाम्रोे लोकजीवनको आधार पनि हो । तर, देशका शासक वर्गमात्र होइन, सचेत वर्गले पनि लोकगीतको महत्व र गरिमालाई सही किसिमले बुझ्न नसकेको उनको बुझाइ छ । हाम्रो सांस्कृतिक पहिचानका लागि लोकगीतको मर्म र भावनालाई सबैले सम्मान गर्नुपर्छ र लोकगीतको श्रीवृद्धिमा जुट्नुपर्छ भन्ने उनको सुझाव छ ।

[ साभार : लोकसंवाद । २०७५ साल चैत १ गते ।]

[अद्यावधिक: २०७५।१२।१२।१५, २०७६।१।५]


No comments:

Post a Comment