Tuesday, December 17, 2019

‘महेन्द्रीय राष्ट्रवाद’

–यमबहादुर दुरा

शाहवंशीय राजपरम्परामा पृथ्वीनारायण शाहपछि धेरैको स्मृतिमा रहेका पात्र राजा महेन्द्र नै हुन् । एकथरीले उनलाई नायकको बिल्ला भिराएर प्रशांसा गर्छन् भने अर्काथरी उनलाई खलनायकको बिल्ला लगाएर गाली गर्छन् । चाहे श्रद्धाले वा घृणाले नै किन नहोस्, उनलाई धेरैले सम्झन्छन् । राणा शासकविरुद्ध विद्रोह गरी देशमा प्रजातन्त्र ल्याउन योगदान दिएको श्रेय पाएका उनका पिता त्रिभुवनको समाकालीन नेपालमा उतिसाह्रो चर्चा भएको पाइन्न ।
ग्राफिक्स : गुगल

तर, उनको तुलनामा उनकै छोरा राजा महेन्द्रको धेरै चर्चा हुने गर्छ । महेन्द्र निधन भएको पाँच दशक पुग्नै लाग्दा उनको चर्चा जिउँदो व्यक्ति सरह भइरहेको छ । विभिन्न कोणबाट उनीमाथि टीका–टिप्पणी हुने क्रम जारी नै छ । देशको बागडोर सम्हाल्दा राजनीतिक वृत्त तथा कूटनीतिक तहमा हलचल नै ल्याउने गरी उनले कमाएको जस र अपजस नै चर्चाको जड हो ।

धेरैले राजा महेन्द्रलाई राष्ट्रवादी राजाको रूपमा चित्रण गर्छन् । उनको राष्ट्रवादलाई चित्रण गर्न आजकल ‘महेन्द्रीय राष्ट्रवाद’ भन्ने शब्दावली प्रयोगमा आएको छ । हुन पनि राजा महेन्द्रबाट राष्ट्रवादलाई प्रश्रय पुग्ने केही काम भएकै हो । उनकै नेतृत्वमा २०१२ साल मङ्सिर २९ गते नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य बन्यो । राष्ट्र र राष्ट्रियताका दृष्टिले यो दूरगामी महत्वको एउटा ऐतिहासिक कदम थियो ।

राजा महेन्द्रकै पालमा जनकपुर चुरोट कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, सिमेन्ट र कपडा कारखानाजस्ता आर्थिक तथा औधोगिक पूर्वाधारहरू स्थापना भएका हुन् । यद्यपि, ती औधोगिक पूर्वाधार विदेशीको सहयोगमा स्थापना भएका थिए ।

यसका अतिरिक्त नेपालको उत्तर भूभाग दार्चुलादेखि ओलाङचुलासम्म १८ ठाउँमा स्थापित भारतीय सैनिक चेक पोष्ट हटाउने, नेपाल राष्ट्र बैकको स्थापना गरी भारतीय मुद्रालाई विस्थापन गरी देशभरि नेपाली मुद्रा चलाउने, सीमा अतिक्रमण हुनसक्ने सम्भावना रहेको कतिपय खाली सीमावर्ती क्षेत्रमा पहाडी मूलका नागरिकलाई राख्ने, तराईका विद्यालयबाट भारतीय पाठ्यपुस्तक विस्थापन गरी नेपाली पाठ्यपुस्तक लागू गर्नेजस्ता राष्ट्रवादी देखिने काम उनको नेतृत्वमा भएको प्रसस्त अभिलेख भेटिन्छन् ।

तर, यतिबेला महेन्द्रीय ढाँचाको गरेको राष्ट्रवाद सङ्कटमा परेको देखिन्छ । दुनियाँमा विश्वबन्धुत्वको अवधारणा विकास हुँदै  गएको छ । यस्तो अवस्थामा कतिपयले राष्ट्रवादी अवधारणालाई साँगुरो मानसिकताको उपजको रूपमा लिन्छन् । प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइस्टाइन (सन् १८७९—१९५५) ले भनेका छन्, ‘राष्ट्रवाद शैशवकालीन रोग हो । यो मानव जातिको दादुरा हो ।’ प्रसिद्ध अमेरिकी विचारक नोम चोम्स्कीका दृष्टिमा राष्ट्रवाद भनेको अरूलाई दबाउने उपाय हो ।

राष्ट्रवादी विचारलाई नकारात्मक रूपमा अर्‍थ्याउने प्रवृत्तिले नेपालमा पनि राम्रै स्थान पाइसकेको छ । कतिपयले राष्ट्रवादको विरोध गर्ने खेती नै गरेको देखिन्छ । राष्ट्रवादको विरुद्धमा अनेकन् प्रयत्न हुँदाहुँदै पनि नेपालमा राष्ट्रवादी भावना मरिसकेको छैन । भूगोल र राजनीतिक नक्शाबिना कुनै पनि देशको अस्तित्व नरहने भएकाले पनि कुनै न कुनै रूपमा राष्ट्रवादी भावना जीवित रहन्छ ।

नेपालको सन्दर्भमा राष्ट्रवादको परिभाषा धेरै साँगुरो देखिन्छ । भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भन्ने देखिन्छ । भारतसँगको भूराजनीतिक सम्बन्धले पनि यसलाई बल दिएको छ । भारतले गरेको सीमा अतिक्रमण, सीमावर्ती क्षेत्रमा नेपाली नागरिकमाथि भएको ज्यादती र अन्य प्रकृतिका हेपाहा व्यवहारले नेपालमा भारतविरोधी भावना मौलाइरहेको छ ।

भारतको हेपाहा व्यावहार यतिमा मात्र सीमित छैन । भारतले विभिन्न वहानामा विभिन्न समयमा नेपालमाथि नाकाबन्दी लगाउँदै आएको छ । निकटपूर्व इतिहासतिर फर्कने हो भने भारतले २०२७, २०४६ र २०७२ सालमा नेपालमाथि नाकाबन्दी लगाइसकेको छ । यसबाट हरेक नयाँ पुस्तामा भारतविरोधी भावनाको बीजारोपण भइरहेको देखिन्छ ।

राष्ट्रिय जीवनमा राष्ट्रवादी भावना आवश्यक पनि छ । अघि नै भनियो, कुनै न कुनै रूपमा राष्ट्रवादी भावना जीवित रहन्छ । महेन्द्रभन्दा अघि पनि राष्ट्रवाद थियो र पछि पनि रहन्छ ।  राष्ट्रवादको मात्राको घटी–बढीको कुरामात्रै हो । हरेक देशका नागरिकमा राष्ट्रवादी भावना हुन्छर हुनुपर्छ पनि । तर,  अति राष्ट्रवादी सोच (Ultra-nationalist thought) चाहिँ पक्कै पनि त्याज्य विषय हो ।

यद्यपि, ‘महेन्द्रीय राष्ट्रवाद’ ले धेरै चर्चा पाउनका पछाडि केही निश्चित कारण छन् । एक अर्थमा राष्ट्रवादी धारणा सही हुँदाहुँदै पनि महेन्द्रले ल्याएको राष्ट्रवादका आलोचना गर्नलायक पक्षहरू छन् ।

 राजा महेन्द्रले २०१७ साल पुस १ गते तत्कालीन जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारलाई अपदस्त गरेर शासन–सत्ताको बागडोर आफ्नो हातमा लिए । त्यतिञ्जेलसम्म विश्वमा स्वाधीनता र प्रजातन्त्रको लहर चलिरहेकै थियो ।

यद्यपि, त्यही समयमा एशिया र अफ्रिकाका कतिपय तानाशाहहरूले  पनि ‘कु’ गरेर शासन सत्ता हत्याएका थिए । यिनै राजनीतिक घटनाक्रमबाट उनी प्रत्यक्ष शासनमा प्रेरित भएको देखिन्छ । तर, उनको यो ‘अप्रोच’ गलत थियो । उनले सत्ता हातमा लिएपछि राजनीतिक दलमाथि प्रतिबन्ध लाग्यो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुष्ठित हुन पुग्यो । यो कदम समयको विपरीत प्रवाहमा थियो ।

प्रजातन्त्रलाई अपहरण गरेर राष्ट्रवादको कार्ड प्रयोग गर्नु सर्वथा गलत थियो । यही कारण राष्ट्र र राष्ट्रियताका सन्दर्भमा उनले चालेका कदम युगान्तकारी हुँदहुँदै पनि आलोच्य हुन पुग्यो । राष्ट्रवादको कार्डले प्रजातन्त्रको भरपाइ गर्न सक्दैनथ्यो ।

अर्को कुरा, ‘महेन्द्रीय राष्ट्रवाद’ ले विविधतापूर्ण नेपाली समाजको सांस्कृतिक विविधतालाई सम्मान गर्न सकेन । ‘एक भाषा एक भेष’ को घोषित वा अघोषित नीतिले सांस्कृतिक विविधतामा रमेको नेपाली समाजले उकुसमुकुसको वातारण तयार पार्‍यो । यो ‘महेन्द्रीय राष्ट्रवाद’ अर्को आलोच्य पक्ष हो ।

देशको सीमा रक्षा गर्ने विषयमा ख्याति कमाएका राजा महेन्द्रले देशकै भूगोललाई घात गरेको प्रसंग पनि समय समयमा उठ्ने गर्छ । देशको उत्तरी भेगका अन्य चौकीबाट भारतीय सेना हटाइसक्दा पनि भारत–चीन युद्धताका सन् १९६२ मा कालापानी क्षेत्रमा भारतीय सेनालाई यथावत रहन दिनुमा कतिपयले राजा महेन्द्रलाई नै जिम्मेवार ठानेका छन् ।

कालापानीको विवाद उठ्दा एउटा नेपालभित्रकै एउटा तप्काले यही ‘न्यारेटिभ’ दोहोर्‍याइरहेका छन् । नेपाली भूमिमा रजगज गरेर बसेको भारतीय पक्षले पनि स्वाभाविक रूपमा यही ‘न्यारेटिभ’ प्रयोग गरेको पाइन्छ । तर, यसबारे कसैले पनि सप्रमाण बोल्न सकेका छैनन् । त्यसैले यो नसुल्झिएको गुत्थीकै रूपमा रहेको देखिन्छ ।

जेहोस्, राजा महेन्द्र र उनको ‘महेन्द्रीय राष्ट्रवाद’ ले आज पनि राष्ट्र र राष्ट्रियताका सन्दर्भमा झिल्को पारिरहेको छ । यसले विचार माझ्न र वैचार मन्थन गर्न सहयोग पुर्‍याइरहेको छ । यो एउटा आफैंमा एउटा सकारात्मक पक्ष हो ।

[साभार : संवाद नेपाल । २०७६ साल पुस १ गते ।]

No comments:

Post a Comment