Saturday, December 7, 2019

मौलिकता गुमाएको दोहोरीगीत

–यमबहादुर दुरा

यतिबेला लोकगीतको कुनै विधा लोकप्रिय छ भने त्यो दोहोरीगीत नै हो । यसमा कुनै विवाद छैन । शहरका दोहोरी रेष्टुराँदेखि विभिन्न मेला–महोत्सवसम्म दोहोरीगीत एउटा लोकप्रिय साङ्गीतिक परिकार बनिरहेको छ । आधुनकिताको छालले परम्परागत सांस्कृतिक विरासतलाई बढार्दै लगिरहेको यो घडीमा दोहोरीगीत त्यस्तो सांस्कृतिक निधि बनेको छ, जसले आधुनिकतासँग पौठेजोरी खेल्दै सांस्कृतिक विरासत धानिरहेको छ ।

हिजोका दिनमा विशुद्ध मनोविनोदको मात्र माध्यम बनेको दोहोरीगीत अहिले आर्थिक पक्षसँग पनि जोडिएको छ । धेरै कलाकारले दोहोरीगीतबाट रोजगारी पाएका छन् । लोकसङ्गीत उद्योगमा कति कलाकार कार्यरत छन् भन्नबारे कुनै तथ्याङ्क नभए पनि दोहोरी रेष्टुराँ र मेला–महोत्सव एउटा तप्काका कलाकारका लागि अर्थोपार्जनको माध्यम बनेको छ । एक हिसाबले यो खुसीको कुरा हो ।

तर, अर्कोतिरबाट हेर्दा त्यति धेरै खुसी मानिरहनुपर्ने ठाउँ पनि छैन । यो समय सांस्कृतिक अधपतनको युग हो । मौलिक सांस्कृतिक धरोहरहरू धमाधम ढल्दैछन् । भएका सांस्कृतिक धरोहरहरू व्यापारीको हातमा पुगेको छ । यतिबेला दोहोरीगीत पनि व्यापारीकै हातमा पुगेको छ । अब दोहोरीगीत ‘व्यापारिक वस्तु’ बनिसकेको छ ।

दोहोरीगीतमा कतिसम्म व्यापारिक हस्तक्षेप भएको छ भने कतिपय कलाकार नै मेला–महोत्सवमा गायक-गायिका सप्लाइ गर्ने 'एजेन्ट' बनेको गुनासो लोकगीतका कलाकर्मी वृत्तबाटै आवाज उठिरहेको छ । लोकगीतमा देखापरेको यस्तो प्रवृत्तिको भित्रभित्रै विरोध भइरहेको छ ।

दोहोरीगीत ‘व्यापारिक वस्तु’ बन्न थालेपछि यसको मौलिकता पनि हराउँदै गएको छ । परम्परागत  दोहोरीगीत विनशीलता, शिष्टता र मर्यादाको प्रतिरूप हो । तर, अहिले दोहोरीगीत त्यस्तो छैन । यो छाडा र मर्यादाहीन साङ्गीतिक जान्र बन्न थालेको छ । कतिपयले दोहोरीगीतलाई फोहोरीगीत भनेर टिप्पणी गर्न थालिसकेका छन् ।

दोहोरी रेष्टुराँ र मेला–महोत्सवमा चल्ने दोहोरीगीतमा अमर्यादित किसिमका रतिरागात्मक अभिव्यक्तिले खुलेआम स्थान पाइसकेको छ । दोहोरीगीतमा अशिष्ट किसिमका भनाबैरी पनि भित्रिइसकेको छ । यो कुरा दोहोरीगीतका कलाकारले नै अनौपचारिक रूपमा स्वीकारिसकेका छन् । अशिष्ट र अर्मादित अभिव्यक्ति मौलिक दोहोरीगीतको व्याकरणभित्र कहिल्यै पनि पर्दैन । दोहोरीगीत मर्यादित किसिमले भावना साटासाट गर्ने माध्यम हो । तर, अहिले त्यस्तो भइरहेको छैन ।

२०५७ साल दोहोरीगीतका कलाकारहरूको छाता सङ्गठनको रूपमा ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ गठन भयो । संस्था गठन गर्ने बेला संस्थाले लिएको उद्देश्यमध्ये एउटा उदेश्य थियो, दोहोरीगीतको मौलिकतालाई जोगाउनु । त्यही उद्देश्यलाई शिरोपर गर्दै संस्थामा थुप्रै पदाधिकारी आए । त्यसबेलादेखि समयको यो विन्दुसम्म आइपुग्दा थुप्रै पदाधिकारी फेरबदल भइसकेका छन् । तर, दोहोरीगीतको मौलिकताको भने प्रतिपल मर्दैछ ।

दोहोरीगीतको मौलिकता हराउनुमा कलाकारलाई मात्र दोषी देख्नु त्यति जायज हुँदैन । यसमा पूँजीवादी संस्कृति नै मूल रूपमा जिम्मेवार छ । कलाकारले प्रयास गरेमा २० को १९ होला । तर, मूल प्रवृत्ति फेरिएलाजस्तो देखिन्न ।

अघि नै भनियो, दोहोरीगीत ‘व्यापारिक वस्तु’ बनिसकेको छ । ‘व्यापारिक वस्तु’ लाई जसरी सजिलो गरी बेच्न सकिन्छ, त्यसरी नै बेच्नु सम्बन्धित व्यवसायी वा उद्योगीको धर्म हुन्छ । दुनियाँको पूँजीवादी चरित्र नै यही हो । पूँजीवादी चरित्रको आदेश अनुसार नै दोहोरीगीत पनि ‘व्यापारिक वस्तु’ जस्तै गरी बेचिन थालेको छ । यससँगै यसको मौलिकता, विनयशीलता शिष्टता र मर्यादा लोप हुँदै गएको सबैले अनुभूत गर्न थालेका छन् ।

अब दोहोरीगीत लोकसांस्कृतिक निधि नभई साँचो अर्थमा ‘पप कल्चर’ हुन पुगेको छ । ‘पप कल्चर’ मा चीजबीज कसरी व्यापारिक वस्तु बन्छन् भन्नेबारे जर्मनीका दार्शनिकद्वय थियोडोर एडोर्नो (सन् १९०३-१९६९) र म्याक्स होर्खाइमर (सन् १८९५-१९७३) ले राम्रो व्याख्या गरेका छन् ।

सन् १९४७ मा प्रकाशित कृति ‘द कल्चर इन्डष्ट्री : इन्लाइटनमेन्ट एज मास डिसेप्सन’ मा ती दार्शनिकद्वयले ‘पप कल्चर’ मा संस्कृति कसरी कारखानाका उत्पादन सरह बेखबिखन हुन्छन् भन्नेबारे मीठो व्याख्यान दिएका छन् । अहिले दोहोरीगीत पनि कारखानाका उत्पादनजस्तै बनेको छ ।

यतिबेला ‘यु ट्युब’ मा ‘दोहोरी ब्याटल’ र भनाबैरीपूर्ण दोहोरीगीतको लोकप्रियताको ग्राफ उकालो लागिरहेको छ । यसले ‘व्यापारिक वस्तु’ बनिसकेको दोहोरीगीत ‘पप कल्चर’ को एउटा हिस्सा हो भन्ने तथ्यलाई प्रत्यक्ष वा परोक्ष रूपमा पुष्टि गरेको छ ।

विगतमा स्थानीयस्तरमा सुखदुःखको भावना साटासाट गर्ने माध्यमको रूपमा रहेको दोहोरीगीतको दायरा व्यापक फराकिलो भएको छ । दोहोरीगीत स्थानीयस्तरबाट माथि उठेर राष्ट्रियस्तरमा स्तरोन्नति भएको छ । यो खुसीलाग्दो कुरा हो । तर, दोहोरीगीतको घेरा जति फराकिलो हुँदैछ, त्यति नै यसको मौलिकता र शिष्टतामाथि प्रश्न उठेको छ ।

अहिले हाम्रो सांस्कृतिक अधपतनको चरणबाट गुज्रिरहेको देखिन्छ । यस्तो भयानक घडीमा दोहोरीगीतको मौलिकपन र मिजास पूर्ववत अवस्थामा फर्किन्छ भनेर आशा गर्ने ठाउँ छैन । राज्य नै देशको मौलिकको संस्कृतिको संरक्षक बनिदिएको भए केही हदसम्म यस्तो आशा गर्न सकिन्थ्यो । राज्यले हिजोदेखि त्यस्तो भूमिका निर्वाह गर्न सकेन ।

दुर्भाग्यवश, दोहोरीगीतलाई व्यापारीको हातमा पुगिसकेको छ । अब दोहोरीगीत मौलिक संस्कृति नभई बिकाउ वस्तु बन्न पुगेकाले यसमा पाइला–पाइलामा व्यापारिक चरित्र प्रतिविम्बित भइरहेका छन् । यसबाट दोहोरीगीत प्रत्येक क्षण मौलिकताविहीन बन्दै गएको छ । अहिलेको बजारू दोहोरीगीतमा कसैले मौलिकता देख्छ भने त्यो मीठो भ्रमबाहेक केही होइन ।

तर पनि कसैले तमाम सांस्कृतिक अधपतन र व्यापारिक चरित्रलाई चिरेर दोहोरीगीतमा मौलिकताको रस र गुण भर्न सक्छ भने त्यो निश्चय नै लोकअभिनन्दनीय कार्य हुन जान्छ । परम्परागत सांस्कृतिक धरोहरसँग जरा गाँसिएको दोहोरीगीत एउटा गतिलो लोकअभिनन्दनीय कार्यको प्रतीक्षामा छ ।

[साभार : लोकसंवाद । २०७६ साल मङ्सिर २० गते ।]



No comments:

Post a Comment