Thursday, December 26, 2019

स्मृतिमा बाँचिरहनेछन् नेपाली लोक-रकका सूत्रधार शुक गुरूङ

–यमबहादुर दुरा

नेपाली सङ्गीत र विदेशी सङ्गीतबीच कहिलेदेखि अन्तरघुलन हुन थाल्यो ? नेपाली लोकभाका र विदेशी शैलीका सङ्गीतबीच कहिलेदेखि ‘फ्युजन’ हुन थाल्यो ? दुई गोलार्धका सङ्गीतबीच ‘फ्युजन’ गर्ने काममा क–कसले र कहिले–कहिले योगदान गरे ? यसबारे कुनै स्पष्ट जवाफ पाउन सजिलो छैन ।
तस्बिर : इन्टरनेट

सङ्गीत सर्जक शुक गुरुङले सांसारिक नाता तोडेर हामीसँग बिदा भएको घटना ताजै छ । यो घडीमा ‘सङ्गीत फ्युजन’ को प्रसंग उठाएर उनीबारे केही प्रसंग झिक्नु असान्दर्भिक नहोला । सङ्गीतकार शुक गुरुङ नेपाली लोकभाका र पश्चिमी सङ्गीतलाई मिसाएर नयाँ शैली र स्वादका सङ्गीतिक परिकार पस्कने सङ्गीत सर्जकमध्ये एक पर्छन् । नेपाली लोक–रकका सूत्रधारमध्ये एक मानिन्छन् ।

यही प्रसंगमा ‘रक म्युजिक’ को कुरा गरौँ । अमेरिकामा सन् १९६० तिर ‘रक म्युजिक’ अस्तित्वमा आएको इतिहास भेटिन्छ, जुन  ‘रक एण्ड रोल’  सङ्गीतको विकसित रूप मानिन्छ । सन् १९४०—१९५० तिर ‘रक एण्ड रोल’ अस्तित्वमा आएको विश्वास गरिन्छ । यद्यपि, यसबारे कालक्रमगत मतभिन्नताहरू छन् ।

नेपालमा धेरै चर्चामा रहेको साङ्गीतिक ब्याण्ड ‘नेपथ्य समूह’ लाई धेरैले ‘रक म्युजिक’ मा आधारित साङ्गीतिक समूह मान्छन् । यसले नेपाली लोकसङ्गीतको धारलाई पनि छाडेको छैन । ‘नेपथ्य समूह’ को साङ्गीतक प्रस्तुतिमा ‘रक म्युजिक’ र नेपाली लोकसङ्गीतको मिश्रण भेटिन्छ । यही आधारमा ‘नेपथ्य समूह’ लाई नेपाली लोक–रक भनेर चित्रण गरिन्छ ।

शुक ‘नेपथ्य समूह’ बाट उदाए । यसभन्दा अघि अमृत गुरुङ, शुक गुरुङ र भीम पुनको सक्रियतामा ‘भञ्ज्याङ झङ्कार’ नामक साङ्गीतिक समूह गठन भएको र त्यसले केही साङ्गीतिक कार्यक्रम गरेको अभिलेख  भेटिन्छ । यद्यपि, यसबारे उतिसाह्रो चर्चा चलेको पाइन्न ।

‘नेपथ्य समूह’ बाट ‘छेक्यो छेक्यो देउराली डाँडा...’ बोलको गीत निस्कियो । यो गीत युवामाझ बिछट्टै लोकप्रिय बन्यो । यसले शुक गुरुङको साङ्गीतिक व्यक्तित्व ह्वात्तै बढाइदियो । यसपछि के कारण हो, शुक ‘नेपथ्य समूह’ मा बस्न रुचाएनन् । एउटा अतिशय सुन्दर सिर्जना दिएर उनी बाहिरिए । ‘नेपथ्य समूह’ मा उनको सिर्जनाले केराको जुनीजस्तै नियति भोग्यो । एकै बेतमा सारा उत्पादकत्व सकियो ।

‘नेपथ्य समूह’ बाट बाहिरिएपछि मातृसंस्थामा फर्केनन् । संस्थामा कोही आउनु र जानु सामान्य भए पनि सबै अवस्थामा सामान्य मान्न सकिँदैन । ‘नेपथ्य समूह’ बाट शुक किन बाहिरिए ? यसबारे शुक गुरुङ स्वयम् र अमृत गुरुङ दुवैजना मौन रहे, सार्वजनिक रूपमा केही बोलेनन् । सङ्गीतभित्र घुसेको राजनीति के हो, धेरैले बुझ्न  पाएका छैनन् ।

ती सङ्गीत–शिल्पीहरूको निजी सम्बन्धका ‘केमेष्ट्री’ को जोड–घटाउन गर्नु कसैको रहर होइन । यद्यपि, उनीहरू काँधमा काँध मिलाएर सँगै रहेका भए अरू बेजोड साङ्गीतिक कोसेली तयार हुने थिए । उनीहरूको सम्बन्धबारे यतिचाहिँ टिप्पणी गर्न सकिन्छ ।

‘नेपथ्य समूह’ बाट बाहिरिएपछि उनी २०५० को दशकको पूर्वाद्धतिरै काठमाडौँ छिरे । उनी एक्लै सङ्गीतकर्ममा लागे । ‘आँखैमा झलझली...’, ‘भाइटीकामा भेट्न आउँला...’, ‘कसैलाई दोष दिन चाहन्न...’ जस्ता दर्जनौं गीत सिर्जना गरे । उनका  यी गीत धेरैका मनमस्तिष्कमा सुमधुर झङ्कार बनेर बसिरहे । उनले चर्चा बटुलिरहे । स्रोतागणको माया र सदभाव उनीमाथि ओइरिरहे ।

सङ्गीत सिर्जनाभन्दा बाहिरको उनको व्यक्तित्वलाई हेर्ने हो भने उनी रसिला व्यक्ति थिए भन्न सकिन्छ । उनी कुराको सेलरोटी पकाउन सिपालु थिए । उनी हास्यचेतले भरिएका व्यक्ति थिए । बोल्दा धेरै हाँसो–ठठ्ठा गर्थे । विनोदी स्वाभाका थिए । बोलीमा अनेकन् विम्ब र उपमा प्रयोग गरेर मिठासपूर्ण अभिव्यक्ति पस्कन्थे । व्यङ्ग्यात्मक अभिव्यक्तिमा निपुण थिए । उनको कुरा सुनेर धेरैले रमाइलो मान्थे ।

सबै कुरा ठीकठाक चलिरहेको बेला नियतिले एउटा कुनाबाट उनीप्रति कुदृष्टि लगाइरहेको थियो । पंक्तिकारले २०५८ सालतिर उनलाई काठमाडौंमा भेटेको थियो । त्यतिबेलै उनलाई मधुमेहले छोइसकेको थियो ।

तर, उमेरदार व्यक्ति भएकाले उनी हट्टाकट्टा र फूर्तिला  नै थिए । त्यतिबेला उनी म्हेपीमा बस्थे । उनको डेराको गमलामा मधुमेह निको पार्न सघाउने वनस्पति फक्रिरहेका–फुलिरहेका हुन्थे ।

उनी आहार विहारमा निष्फिक्रीजस्ता देखिन्थे । त्यतिबेला केही साथीभाइलाई मदिराभोगको नशाबाट छुटकारा दिलाउन प्रयत्न गरिरहेका भेटिन्थे । विडम्बनाश, उनी आफैं   भने मदिराभोगबाट टाढिन सकेका थिएनन् । यस्तो लाग्थ्यो, नशाले उनको विवेकमाथि कब्जा जमाइरहेको छ ।

पथ पहरेजलाई नै पहरेज गर्दै जाँदा उनीभित्रको रोग मौलाउँदै गयो । पछि पहरेज नियन्त्रण गर्न सकिने रोग असाध्य व्यथामा परिणत हुन थाल्यो । मधुमेहले चौतर्फी असर देखाउँदै गयो । विस्तारै आँखा कमजोर हुन थाल्यो । अन्त्यमा आँखाको ज्योति निभ्यो । त्यसपछि मिर्गौला पनि बिग्रँदै गयो । कालान्तरमा मिर्गौलाले धोका दिएरै छाड्यो ।

स्वास्थ्यका दृष्टिले उनको जीवनमा एकपछि अर्को गरी दुर्भाग्यपूर्ण घडी आइरहे । यसको दुःखदायी असर उनको साङ्गीतिक करिअरमा पनि पर्दै गयो । उनका नयाँ कृतिहरू जन्मन छाडे । साथीभाइहरू टाढिँदै गए । ख्याति कमाएर पनि उनी गुमनाम बन्ने दिशातिर उन्मुख थिए ।

जीवनको उत्तरार्धमा शुक गुरुङ साङ्गीतिक दृष्टिले एक्ला र सुस्त जस्ता भएका थिए । रोगले एकपछि अर्को गरी गिजोल्दै जाँदा उनी सङ्गीतकर्मबाट निवृत्तजस्ता भइसकेका देखिन्थे । समयको कठोर झोक्काले उनलाई पल पल कमजोर बनाइरहेको थियो । शारीरिक दृष्टिले मात्र होइन, साङ्गीतिक दृष्टिले पनि ।

उनको चर्चाको ग्राफ उरालो झरिरहेको थियो । एकाध साथीसंगीले बाहेक उनको चर्चा गरेको भेटिँदैनथ्यो । केही गरी उनको चर्चा भइहाले पनि सङ्गीतकर्मका कारण भन्दा पनि शारीरिक अवस्थ्यताका कारणले बढी चर्चा पाएको थियो ।

यद्यपि, उनीप्रति माया र सदभाव खन्याउने साथीसंगी र शुभचिन्तकहरूले भने बिर्सिएका थिएनन् । उनको उपचारार्थ देश–विदेशमा आर्थिक सहयोग जुटाउने अभियान चलेका थिए । उनको सहयोगका लागि ठूलो सहयोग राशी जुटेको समाचार माध्यममा आएका थिए ।

शुक गुरुङ भने आफूसँग हरपल हार्दै गएका थिए । उनले बाँच्ने आशा त्यागिसकेका थिए । आफ्नो उपचारका लागि उठेको रकम आफ्नो उपचारमा खर्च गर्न चाहेनन् । पैसा हातमा परेर पनि मिर्गौला फेर्ने चाहेनन् ।

त्यो रकम आफूभन्दा लामो समय बाँच्ने उमेर भएका परिवारजनलाई टाउको लुकाउने गुँड बनाइदिन आग्रह गरे । उनले आफ्नै जीवन खण्डहर पारेर परिवारजनको भविष्य बनाउने सोच अघि सारे । उनका सहयोगीहरूले त्यो चाहना पूरा  गरिदिए ।

उनको जीवन बसाइँ सर्ने चराको जस्तो रह्यो । कहिले कता त कुनैबेला कता । पुख्र्यौली घर लमजुङ भएका शुक चितवन पुगे । त्यहाँबाट पोखरा पुगे । उनको बाल्यकाल त्यतै बित्यो । पोखरामा रहँदा नयाँ धारका सङ्गीत अनुरागीहरूसँग हिमचिम बढ्यो । त्यहीँबाट सङ्गीतलाई जीवनको लयको रूप लिए । सङ्गीतकर्ममा जुटिरहे ।

यही मेहरोमा पोखराबाट काठमाडौंँ हानिए । काठमाडौं छिरेपछि पनि सङ्गीत सिर्जनामा जुटे । रोग असाध्य बन्दै गएपछि पुनः पोखरा नै फर्किए । रोटेपिङझैं  एउटा वृत्तमा घुमेर उनको जीवनले  सदाका लागि विश्राम लियो ।

बहीखाता पल्टाउँदा उनको जीवनमा जोड–घटाउन गर्नुपर्ने थुप्रै पक्ष होलान् । जोड–घटाउनको अङ्क–गणितमा उनको जीवनमा जोडिन आएकी जीवनसंगिनी जुना गुरुङको सानो चर्चा नगरी उनको जीवनगाथा अपूरो हुन्छ ।
अनेकन् झञ्झावतसँग जुधेर जुनाले जीवनसंगी र दुई छोराका मुहारमा खुसी फक्राउन अथक प्रयत्न गरिन् ।

आफूभन्दा धेरै पाको जीवनसंगीलाई डोर्‍याएर क्लिनिक र अस्पताल पुर्‍याइरहिन् । सेवा–सुश्रुषामा जुटेर माया–ममताको वर्षा गरिरहिन् । आफ्नो कर्तव्यपथबाट कहिल्यै विचलित भइनन् । उनले शुक गुरुङलाई साँचो अर्थमा साङ्गीतिक–सामाजिक व्यक्तित्व बनाउन हरसम्भव प्रयत्न गरिन् ।

तमाम नाता–सम्बन्धको जालो तोडेर शुक अर्कै लोकमा पुगिसके । अब उनी स्मृतिमा मात्र बाँच्नेछन् । यहाँनेर, रोमन दार्शनिक सिसिरोको भनाइ सान्दर्भिक हुन आउँछ । उनले भनेका छन्, ‘दिवङ्गत व्यक्तिको जीवन जिउँदो व्यक्तिको स्मृतिमा बाँच्छ ।’ आफ्नै साङ्गीतिक विरासतको प्रतापबाट उनी धेरैको स्मृतिमा बाँचिरहनेछन् ।

साभार :  देखापढी । २०७६ साल पुस १० गते ।

No comments:

Post a Comment