Tuesday, January 1, 2019

सन् २०१८ लाई सरसर्ती नियाल्दा


-यमबहादुर दुरा

समय निरन्तर गतिवान् छ । समयको गतिशीलतासँगै क्यालेण्डरका पानाहरू पल्टिने क्रम जारी छ । यही क्रममा सन् २०१८ का सम्पूर्ण पाना पल्टिसके । अब सन् २०१८ का लागि निर्मित क्यालेण्डरको हैसियत ऐतिहासिक दस्ताबेजभन्दा बढी रहने छैन । यस लेखमा हामीमाझबाट अलग्गिएर भर्खरैमात्र अतीत बनेको सन् २०१८ लाई सरसर्ती नियाल्ने प्रयास गरिएको छ ।

विश्व राजनीतिक रङगमञ्चमा घटित विभिन्न घटनाक्रमका बीचमा नेपालले पनि आफ्नो स्थान सुरक्षित राख्यो । संघीयता लागू हुने चरणमा रहेको अवस्थामा भएको निर्वाचनमा नेपालमा कम्युनिष्ट घटकले  दुई-तिहाइ बहुमत प्राप्त गरे । नयाँ वर्षको पूर्वार्द्ध(फेब्रुवरी १५) मा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिष्टको एकमना सरकार बन्यो ।

सन् २०१८ भरि नै दक्षिण अमेरिकाको कम्युनिष्ट मुलुक भेनेजुएला चर्चामा रह्यो । आर्थिक मन्दी झेलिरहेका भेनेजुयाली नागरिकले हैरानी खेपिरहे । हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेपछि त्यहाँका नागरिक देश छाडेर छिमेकी मुलुकमा जाने क्रम चलिरह्यो । टेलिभिजनका पर्दा र अखबारका पानाहरू त्यहाँका नागरिकले झेल्नुपरेको अर्थतन्त्रसँग सम्बन्धित पीडाका अनन्त र अवर्णनीय कथाबाट रङ्गिरहे ।


भेनेजुएला सन् २०१० देखि निरन्तर आर्थिक संकटमा फसिरहेको छ । त्यहाँको मुद्रा बोलिभार चर्को किसिमले अवमूल्यन भइरह्यो । महंगीले सर्वसाधारण नागरिकको ढाड सेकाइरह्यो । सँगसँगै बेरोजगारी पनि उर्लिएर गयो । नागरिकले भोगेका आर्थिक मारबाट मुक्ति दिलाउन सरकारले ठूलो मूल्य (एक लाख) को मुद्रा निष्काशन गर्नेलगायतका धेरै कदम चाल्यो । तर ती सबै प्रयास प्रभावहीन बने । त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनको कम्युनिष्ट सत्ता जनआक्रोशको केन्द्र बनिरहे ।


दक्षिण अमेरिकीका अर्का कम्युनिष्ट मुलुक क्युबा पनि एक मन्द तर जबरस्त राजनीतिक परिवर्तनबाट गुज्रियो । राउल क्याट्रोले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरे । उनी फिडेल क्यास्ट्रो (सन् १९२६—२०१६) का भाइ हुन् । क्रान्तिकारी छवि बनाएका फिडेल क्यास्ट्रो सन् १९५९ देखि २००८ सम्ममा निरन्तर सत्तामा रहे, जसले अमेरिकासँँग सधैँभरि टक्कर लिइरहे ।

यी कम्युनिष्ट तानाशाहका अडानलाई धेरैले पहरोसँग कुइनो जुधाएको भनेर टिप्पणी गरिरहे तर कहिल्यै हार्न नजान्ने उनको आँटप्रति विश्वसमुदाय दङ्गदास बनिरह्यो । उनै क्रान्तिकारी व्यक्तित्वका भाइ दाइको ठाउँमा आसिन रहे । अन्ततः राउल क्याट्रोले पनि पूर्वघोषित रूपमा अप्रिलमा पदत्याग गरे । यससँगै क्युबामा लगभग छ दशक लामो क्याट्रो युगको अन्त्य भयो । त्यहाँ राजनीतिक व्यवस्था नबलिए पनि वंश भने बदलियो ।

प्रेम र घृणाको सम्बन्धमा रहेका विश्व शक्तिसम्पन्न मुलुक चीन र अमेरिकाको साइनोले सन् २०१८ मा अलिक परक धार समात्यो । विगतमा चीनमा मानव अधिकारको कमजोर रेकर्ड, तिब्बत तथा ताइवानको स्वतन्त्रताजस्ता मामिलालाई अमेरिकाले जोडतोडका साथ उठाउँथ्यो । चीनले त्यसको प्रतिवाद गर्नमै समय खर्च गर्‍थ्यो ।

 मूलतः राजनीतिक मामिलामा रस्साकसी चल्ने यी शक्तिसम्पन्न मुलुकका लागि यस पटकचाहिँ अर्कै विषय शिरदर्द बन्यो । त्यो हो, व्यापारिक विषय । यद्यपि, व्यापारलाई पनि राजीतिकै हिस्सा मान्न नसकिने होइन । चीन र अमेरिका आफैंमा ठूला व्यापार साझेदार हुन् । व्यापारिक वस्तुहरूमा लगाइने करको विषयलाई लिएर दुई मुलुकबीच चर्काचर्की भइरह्यो, भनाबैरी चलिरह्यो । व्यापारिक मामिलाबाट विकसित यस घटनाक्रम ‘व्यापार युद्ध’ नामले परिचित छ ।


सूचना प्रविधिको दुनियाँ सन् २०१८ चर्चाभन्दा बाहिर रहन सकेन । बेलायतस्थित राजनीतिक परामर्शदाता संस्था 'क्याम्ब्रिज एनालिटिका' ले लाखौं प्रयोगकर्ताको प्रोफाइलबाट निजी जानकारी लिएको भेद खुल्यो । यस प्रकरणमा नितान्त राजनीतिक प्रयोजनका लागि लाखौं मानिसका व्यक्तिगत विवरण अनुमतिबिनै प्रयोग गरिएका थिए । यो घटनाले 'फेसबुक' लगायतका सामाजिक सञ्जालबाट मानिसको गोपनीयता जतिबेला पनि भङ्ग हुनसक्छ भन्ने सन्देश दिएको छ ।

बेलायती राजखानदान चर्चाबाहिर रहन सक्दैन । राजकीय जीवनमा धेरै उतारचढाव व्यहोरेको बेलायतको राजखानदानका लागि सन् २०१८ उल्लेखनीय रह्यो । कतै प्रशंसा त कतै आलोचना भोगेका राजकुमार ह्यारीले यसै वर्षको मे १९ तारिखमा घरबार जोडे । लामो प्रेम प्रसंगपछि उनले अमेरिकी अभिनेत्री मेघन मार्कललाई जीवनसाथी रोजे, जो  अगाडि नै वैवाहिक जीवन भोगिसकेकी थिइन् । उनै अभिनेत्रीसँग राजकुमार ह्यारी एक भव्य समारोहबीच विवाह बन्धनमा बाँधिए ।

विवादास्पद जीवनशैलीका कारण असीमित मिडिया कमरेज पाएकी बेलायती राजकुमारी डायनाका छोरा भएकाले पनि हुनसक्छ, ह्यारीको वैवाहिक प्रसंग निकै चर्चामा रह्यो । यद्यपि, ह्यारी स्वयं धेरै हिसाबले सेलिब्रिटी हुन् । उनको चर्चाका लागि उनको कर्म नै काफी छ ।

सधैँभरि सत्ता र शक्तिको वृत्तमा  घुमिरहने रुसी राजनीतिज्ञ भ्लादिमिर पुटिन यस वर्ष पनि चर्चामा रहे । कहिले अमेरिकासँग पौठेजोरी खेलेर त कहिले आन्तरिक राजनीतिक बाघचालमा बाजी मारेर उनी बरोबर चर्चामा आइरहन्छन् । कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति हुँदै सन् सन् १९९९ देखि निरन्तर सत्ता र शक्तिमा रहिरहेका पुटिन मार्चमा चौथो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भए । पछिल्लो घटनाक्रमले उनको राजनीतिक सौर्यको थप परिचय दिएको छ ।

उता, लामो समयदेखि एकअर्काविरुद्ध धम्कीको भाषा बोलिरहने उत्तर कोरिया र अमेरिकाको सम्बन्धले सन् २०१८ नयाँ मोड लियो । यी दुई मुलुकले दुनियाँलाई चकित तुल्याउने गरी मित्रताको हात बढाए ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुरमा जुन १२ तारिखमा भेटवार्ता गरे । एकअर्कालाई देखिनसहने यी नामुद दुस्मनहरूले अंगालो हालेका र हात मिलाएका तस्बिर र भिडियो फुटेज विश्वभर भाइरल भए ।

बर्माका रोहिज्या मुस्लिम समुदायले भोग्नुपरेका मानवीय समस्या सन् २०१८ मा पनि यथावतै रह्यो । सन् १९४८ देखि नै भुसको आगो बन्दै आएको रोहिज्या मामिला सन् २०१६ आगोको लप्काजस्तै बन्न थाल्यो । हिंसा चर्कन थाल्यो । उनीहरूमाथि हिंसाको श्रृङ्खला चलिरह्यो ।
रोहिज्या समुदायका कतिपय सदस्यलाई जिउँदै जलाइएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा आए । हिंसाको श्रृङ्खला निरन्तर चुलिँदै जाँदा उनीहरू आफ्ना देशमा बस्नै नसक्ने भएपछि देश छाड्न बाध्य भए । अहिले करिब सात लाखको संख्यामा रोहिज्या मुस्लिम छिमेकी देश बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका अभिलेख छ ।

रोहिज्या मामिलामा वर्माका नेतृ आङसाङ सुकी नराम्ररी तानिइन् । उनीमाथि रोहिज्या समुदायले भोग्नुपरका मानवीय संकट समाधानका लागि उचित प्रयास नगरेको मात्र होइन, बेवास्ता गरेको आरोपसमेत लाग्न थाल्यो । यसले उनको उज्यालो छवि धुमिल बनायो । अन्तर्राष्ट्रिय समुदायमा उनको व्यापक आलोचना शुरु भयो । उनले पाएका मानसम्मान खोस्नुपर्ने माग उठ्न थाल्यो ।

नभन्दै केही अन्तर्राष्ट्रिय संघसंस्थाले उनलाई दिएको सम्मान फिर्ता लिएको घोषणा गरे । ती संस्थाले उनलाई जसरी सम्मान गरे, त्यसरी नै अपमान पनि गरे । यसबारे उनको धारणा बाहिर आएको पाइँदैन । तर एक समयमा मानव अधिकार र लोकतन्त्रका प्रतिमूर्ति मानिएकी आङसाङ सुकी हेर्दाहेर्दै एक बदनाम पात्र बन्न पुगिन् ।

उनको बद्नामी यतिसम्म चुलियो, शान्तिका लागि सन् १९९१ मा प्राप्त गरेको नोबेल पुरस्कार समेत फिर्ता गर्नुपर्ने माग उठ्यो । तर नर्बेजियन नोबेल पुरस्कार कमिटिले स्पष्ट भाषामा भन्यो—दिइसकिएको नोबेल पुरस्कार फिर्ता लिइने छैन ।

यसले अतिकति भए पनि उनको इज्जत जोगाइदियो ।

अक्टोबर महिनामा साउदी पत्रकार जमल खसोगी (सन् १९५८—२०१८) को रहस्यमय परिस्थितिमा हत्या भयो । शुरुमा साउदी राजघरानासँग नजिकको सम्बन्ध रहेका खसोगीको पछिल्लो समयमा सम्बन्ध चिसिएको थियो । उनले राजघरानाविरुद्ध ‘वासिङटन पोष्ट’ अखबारमा लेख्दै आएका थिए ।

उनको हत्याकाण्डले आलोचना सुन्न नचाहने वर्ग र अभिव्यक्ति स्वतन्तत्राका पक्षधरबीच विद्यमान खाडललाई प्रष्ट्याउँछ । आफ्नो ज्यानलाई ताकमा राखेर भए पनि विचार राख्ने आँट गरेकोमा ‘टाइम’ म्यागजिनले खसोगीलाई  सन् २०१८ को 'वर्ष पुरुष' घोषण गर्‍यो ।

सन् २०१८ निख्रिँदै गर्दा दक्षिण एशियाली मुलुक बंगलादेश राजनीतिक सरगर्मीले तातिन पुग्यो । त्यहाँ भएको निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना वाजिद लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री क्रममा  छिन् । निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १२ जनाभन्दा  बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्ष दलले पुनः निर्वाचन माग गरे पनि निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरिदिएको छ ।

असंख्य उथुलपुथुलपूर्ण घटनाक्रमहरूलाई समयको गर्तमा  धकेलेर सन् २०१८ अतीतका पानामा समाहित भइसकेको छ । अहिले क्यालेण्डरको पाना पल्टिसकेको छ । नयाँ वर्ष २०१९ हामी समक्ष हाँजिर भइसकेको छ । यो वर्ष आशा र भरोसाको उर्वर कालखण्ड बनोस् । आशाहरू फक्रिँदै जाउन्, निराशाहरू मेटिँदै जाउन् । सबैमा शुभकामना !

[साभार: संवाद नेपाल । २०७५ साल पुस १७ गते । तस्बिर: गुगल]

Friday, November 30, 2018

तुर्लुङ भीरबारी

-यमबहादुर दुरा

कुनै समयमा गाउँघर लोकगीतको खानी नै थियो । रोदीघर, मेलापात, हाटबजार जताततै लोकभाका गुञ्जिन्थे । माटो सुगन्ध भेटिने ती गीत हाम्रै  सुखदुःखका उपज थिए । ती लोकाभाकमा हाम्रै राउरानी र रेलसाइहरूका सुखदु:खका गाथा समेटिन्थे ।

त्यतिबेलाका गीतमा धानको बिट्टा बोकेर उकाली चढ्दाको सुस्केरा प्रतिध्वनित हुन्थ्यो, माया लाएर बीचैमा पल्टन जाने लाहुरेको माया छचल्किन्थ्यो,  गाउँ छाडी मधेशतिर बसाइँ सर्ने साथीसँगीको सम्झना वर्षिन्थ्यो, घरको दुःखले मुगलान जाने मौलानीको मायामा विरह पोखिथ्यो  । गीतमा कुनै बनावटी कुरा हुन्थेन ।


समयक्रमसँगै गाउँघरमा रेडियो र टेलिभिजन भित्रिन थाले ।  यस्ता विद्युतीय सञ्चार माध्यमले गाउँका रैथाने लोकगीत जन्मने प्रक्रियालाई शिथिल बनाउँदै लगे ।  त्यसमा पनि गाउँमा भित्रिएका 'साउण्ड सिस्टम' र 'रेकर्डेड म्युजिक' ले त झन स्थानीय मौलिक लोकगीतको रचनागर्भ नै भताभुङ्ग बनाइदिए।

अहिले स्थानीयस्तरमा लोकगीत जन्मने प्रक्रिया नै बन्द भएको छ । अब माटोको सुवास मगमगाउने रैथाने लोकगीत गाउँघरमा सुन्न पाइँदैन ।

गाउँघरमा हुने सामाजिक जमघटमा व्यापारिक प्रयोजनका लागि शहरमा उत्पादन भएका गीतले ठाउँ लिएका छन् । यसको आशय शहरमा बनेका गीत, रेडियो, टेलिभिजन तथा 'यु ट्युब' प्रति नकारात्मक भावना पोख्नु होइन, रैथाने लोकगीतको कुरा गर्दा यो प्रसंग तानिएर आएको मात्र हो । आधुनिक सञ्चार माध्यम समयको उपज हुन् । यिनको खेदो खन्नुपर्ने कुनै कारण नै छैन ।

दुराडाँडा सेरोफेरोका आशुकविका गलामा गुञ्जिएका मौलिक लोकगीतका केही प्रसंगहरू :

 मकैस्वाँराको काउरे पँधेरा । बटुवा र गाउँले तिर्खा मेटाएर धर्म कमाएको पँधेरा । अहिलेको जस्तो टोल टोलमै धारा नहुँदा उबेलामा चन्डीगाउँदेखि गैरीगाउँसम्मका पधेर्नीले हुल बाँधेर पानी भने ठाउँ थियो, काउरे पँधेरा ।

दशैंमा हालिने रोटेपिङले काउरे पँधेराको रौनक अरू बढादिन्थ्यो । यति प्यारो ठाउँ हाम्रा लोककविहरूको मनमस्तिष्कबाट ओझेल कुरै थिएन । काउरे पँधेरामा रहेको दोकानलाई विम्ब बनाएर कुनै समयमा  यस्तो गीत गुञ्जिएको थियो  : ‘काउरे दोकान बन, यो माया नबोल्दा रुन्छ मेरो मन’ ।

अल्लोगाउँ पल्लोगाउँबीच आवतजावत हाम्रो पुस्तैनी परम्परा हो । एक गाउँ र अर्को गाउँको चेलीबेटी-माइतीको आउजाउले माया–ममताको पुल खडा हुन्थ्यो । जात्रा, नाचघाँटुको जमघटमा आउँदा जाँदा बाटो छेकिन्थ्यो । पाहुना बनाएर राखिन्थ्यो । मीठोपीठो जे हुन्छ, पकाएर प्रेमपूर्वक खुवाइन्थ्यो ।

माया–ममताको यस्तै नातासम्बन्धमा जेलिएर पुरानकोटका चेलीबेटीहरूले तुर्लुङकोटका माइतीको सम्झनामा गीत रचेका रहेछन् : ‘तुर्लुङकोटको अमरे-हरि, हुन्न भेट ठूल्खोला नतरी’ । ठूल्खोला भन्ने ठाउँ कुवापानी र फोस्रेबीच रहेको सानो खोला हो ।  दुई पंक्तिको गीतले नै धेरै कुरा भनिसक्यो । अरु धेरै कुरा किन भन्नु पर्‍यो र ?

यता, तुर्लुङकोटकाका चेलबेटीहरू पनि के कम ! पुरानकोटका माइतीको सम्झनामा एउटा गीत रचिहालेछन् : ‘तिँदु पाक्यो वनैको लाखुलाई, ज्यादी माया पुरानकोट ठागुलाई’ ।

कुनै समयमा गाउँपिच्छेका चेलीबेटी-माइतीका गीत अस्तित्वमा आएका थिए ।छिमेकी गाउँ र तुर्लुङकोट र भाँगुका चेलीबेटी-माइतीको रस्तीबस्ती राम्रै छ । यस्तैमा भाँगुका माइतीलाई लक्षित गरेर तुर्लुङकोटका चेलीबेटीहरूले  यस्तो गीत जोरेका रहेछन् : ‘भाँगु गाउँको ख्यालसाइ र ठूले, लाउँछु माया भन्दैमा गइभुले’ ।

एकैछिन च्यानपाटा बजारतिर लागौँ । मैले कसैको मुखबाट एउटा गीत सुनेको थिएँ : ‘भूँडी ठूलो धुल्पुरे माइलाको, बोली मीठो ढुङ्गाना साइलाको’ । यो गीत धेरैका लागि बिरानो बनिसक्यो । अहिले आएर  त सन्दर्भविहीन पनि बनिसक्यो । तर अलिकतिमात्र अतीततिर फर्कने हो भने यसबाट तत्कालीन च्यानपाटा बजारको एउटा मीठो सम्झना आँखासामु आउँछ ।

धुल्पुरे माहिला काभ्रेको धुलिखेलबाट दुराडाँडाको च्यानपाटा बजारमा व्यापार गर्न आएका व्यक्ति हुन् । उनी व्यापारमा निकै सफल भए । दीर्घराज श्रेष्ठ औपचारिक नाम भएका धुल्पुरे माहिलाको ज्यान जति बलिष्ट थियो, उनको इज्जत र प्रतिष्ठा पनि उति नै उच्च थियो । उनले २०७१ सालमै संसारसितको नाता तोडेर परलोक पुगिसकेका छन् ।

च्यानपाटा बजारमा सधैँजसो भेटिने ढुङ्गाना साइला (हेम ढुङगाना) पनि अहिले त्यहाँ भेटिँदैनन् । उनी २०४४ सालतिरै नवलपरासी झरेर मधेशको तातो हावा खाइरहेका छन् । समय निष्ठुर छ । उसले हिजोको च्यानपाटा बजारको रूपरङ्ग अर्के बनाइदिएको छ । समयले धुल्पुरे माइला र ढुङ्गाना साइलालाई त्यहाँबाट तितरबितर बनाइदियो । धुल्पुरे माइला र ढुङ्गाना साइला च्यानपाटामा नभेटिए पनि यो गीतले कम्तीमा त्यतिबेलाको च्यानपाटा बजारको झझल्को भने दिइरहेको छ ।

केउरानी । तरेली परेको मनमोहक खेत । बर्खामा धान रोप्ने, हिउँदोमा गाइवस्तु चराउने ठाउँ । गोठालो जाँदा साथीसंगीसँग खेल्ने, दौडिने, उफ्रिने-पाफ्रिने ठाउँ । कुनै समयमा यो एउटा जिउँदो जाग्दो ठाउँ थियो ।  यो ठाउँसँग धेरैको सम्झना जोडिएको छ । केउरानीबारे एकताक यस्तो गीत प्रचलित थियो : 'केउरानीमा जो हिँडे पनि, लाग्छ झल्को माया हो भनी' ।

मकैस्वाँराका गैरीसरे दाइ हामीबीच छैनन् । तर उनका खाँतिर बनेको गीत कतिपयको मनमस्तिष्कबाट अझै हराएको छैन : ‘गैरीसरे दाइ, सम्झना गरेर नबिर्सनू है’ । यो गीत कसरी बन्यो, यसको आफ्नै कथा होला । यसले कम्तीमा गैरीसरे दाइको सम्झना र त्यस समयको पदचापलाई मेटिन दिएको छैन । धन्य छ, लोकगीतका आशुकविहरू ।

सबैलाई जगजाहेर भएकै कुरा हो, जिन्दगी हाँसोखुसी, सुख–दुःख र मिलन–बिछोडको संग्रह हो । यसैको जगमा हाम्रो जिन्दगी अडिएको छ । सुख र दुःखलाई जोख्ने कुनै तुलो हुन्थ्यो भने दुःख र पीरले नै पल्लाभारी बनाउने थियो होला  । पीरले जीवनभर छोड्दैन । यही वास्तविकतालाई  चित्रण गर्ने गीत गाउँमा सुनेको थिएँ : ‘तुर्लुङ भीरबारी, लाएको मायाले गयो पीर पारी’ ।

यहाँ प्रस्तुत गरिएका सबैजसो गीत थोरैमा पनि ३० वर्ष पुराना छन् ।  यी गीतमा हाम्रा लोकजिन्दगानीको कहानी लुकेका छन्, इतिहास छिपेको छन् । अब स्थानीय पात्र र ठाउँको वर्णन भएको ती स्वफूर्त गीत सितिमिति भेटिँदैन । धेरैको  स्मृतिपटलबाट यी लोकभाका बिलाइसकेका छन् ।  यस्ता आनगिन्ती गीत समयको गर्भमा हराइसके ।

सम्झनाको किरेमिरे छायाँमा यी गीत यदकदा झुल्किन आइपुग्छन् । यी गीत सुन्दा पुराना सम्झनाका बाढी उर्लिएर आउँछन्  । फेरि पनि पुरानै दुनियाँमा पुगेको अनुभूति हुन्छ । मन आधा सञ्चो, आधा बिसञ्चो हुन पुग्छ । तर पनि मनले यस्तै गीत सुन्न मन पराउँछ । यी प्रसंग सम्झँदा मनमा अलिकति भए पनि शान्ति मिल्छ ।

त्यसै भनिएको होइन रहेछ, ‘आगोले पोलेको घाउ आगोमै सेकाउँदा छिटो निको हुन्छ’ ।

Friday, October 26, 2018

Queen of folk melody


-Yam Bahadur Dura

Over four decades ago, a girl was born and raised in a rural area of Duradana, Lamjung. Her birthplace Duradanda, Lamjung, is a fertile land of folk-music. She grew up with folk songs in social gatherings such as marriage, festivals, jastras. Cultural rituals of the place were often marked with the melodious folk songs. Parma, a tradition of labor exchange among the villagers, was one of main sites where folk songs filled the air.  That girl was part of this environment, and entered the mainstream culture without knowing much what she was doing. Her childhood was heavily pollinated with different genres of folk songs. Eventually, she happened to find herself as someone to reckon in the field of folk songs.
Graphics: The Rising Nepal

This anecdote is of Bima Kurmari Dura, a note folk singer. She never had a chance to go to school. Neither did take any music or vocal classes.  However, she had a golden opportunity of entering into an informal university of folk-music, socio-cultural environment of her time. She witnessed a lot musical performances in the vast socio-cultural landscape of her locality. She also saw live and lively musical performances by her senior brothers and sisters in different gatherings in and around her birthplace. In a way, there was nothing surrounding her but folk songs.

Bima, naturally, got her attracted to folk songs, and started going with melodies. In the beginning, it was just village a ritual. The socio-cultural milieu of her locality made her sing folk songs along with her contemporaries, which unknowingly paved the way for her future career.

Slowly, she seemed to more than her colleagues were doing. She was spotted as a-would be singer, and she started joining different local musical events. Her aim grew bigger and started moving ahead towards a new direction.  She came out the winner the nation-wide folk song competition organized by Radio Nepal in 2047 VS, and she came first. This musical event shaped her identity as a folk singer among the wider circle of folk song lovers, and it boosted her morale as well.

Now in her 40s, Bima Kurmari Dura has shown her genius and gained a certain height in her career. The wall of her meeting room at her home looks like a confluence of appreciation letters from different organizations. Wordings of these letters are attractive and meaningful, which depict that what kind of space she has occupied in the hearts of thousands of folk-music lovers.

The days, she gets invitations from different groups in and outside of the country. Her presence makes every function special. Tens of thousands of people flock to see her from the close distance and to witness her musical performances. She has made hundreds of performances attracting thousand of audiences and plunging them into a sentimental world. She has given stage performances in Hong Kong, Korea, India, the UK, many other countries.

She reputation grew for two major reasons – velvet voice, and sentimental songs. Her music video Chino remained overwhelmingly among folk song lovers. 'Lamjung Turlungkot…' is one of the most popular songs in the menu of that music video. This song tells a story of a village girl who becomes nostalgic about her birthplace once she leaves her family home and birthplace and steps out far away to get married with a life-partner as a social custom. Her voice and context of the song bring rain of tears to the eyes of audiences, especially females.

Bima Kumari Dura claims that she has given her voice to some six thousand songs, and produced more than 24 albums. One of her the well-received audio albums is Chhutyo Mayajal, that literally means break-up. This album tells the story of her own life. She had love marriage that did not last long after having a daughter, who is in the USA to pursue higher education.

A celebrity now, Bima has caveat for journalists: do not misinform, misquote, and misquoted and misinterpret her, because, she says, that bothers her a lot.

[Courtesy: The Rising Nepal, Friday Supplement, October 26, 2018]

Thursday, October 25, 2018

मिथ्या समाचारको प्रभाव

—यमबहादुर दुरा

मानिस सूचनाजीवी प्राणी हो । ऊ हरपल नयाँ नयाँ सूचनासँग अद्यावधिक हुन चाहन्छ । आफ्ना बौद्धिक र भावनात्मक आवश्यकता पूरा गर्न उसलाई सूचना आवश्यक पर्छ । ताजा र सान्दर्भिक समाचारले सचेत व्यक्तिको सूचनाको भोक शान्त गर्न सहयोग गर्छ । ताजा जानकारी र समाचारले मानिसलाई गतिवान् र सबल बन्न सघाउँछ ।

हामी डिजिटल युगमा छौंँ । डिजिटल युगमा सूचना र समाचारको प्रवाहको गति अपरिमित छ । सूचनाको तीव्रतर प्रवाहलाई बुझाउन तत्कालीन अमेरिकी उपराष्ट्रपति एल गोरले ‘इन्फमेसन सुपरहाइवे’ शब्दावली प्रयोग गरेको धेरै भइसक्यो । जगजाहेर नै छ,  डिजिटल सञ्चारले दुनियाँमा जादूमय परिवर्तन ल्याएको छ ।
एकतिर डिजिटल युगले ताजा र सान्दर्भिक समाचार (सूचना) मार्फत दुनियाँलाई हिजोको भन्दा बढी सुसूचित र शक्तिशाली बनाएको छ भने अर्कोतिर मिथ्या सूचना प्रवाह गरेर दिग्भ्रमित बनाउने काम पनि सँगसँगै गरेको छ । अहिले यसबारे सचेत हुनुपर्ने बेला आइसकेको छ किनभने  ‘इन्फमेसन सुपरहाइवे’ मार्फत मिथ्या समाचार (फेक न्युज) प्रवाह हुन थालिसकेको छ ।
ग्राफिक्स: गुगल

वर्तमानमा (फेक न्युज) को जगजगी छ । यद्यपि, मिथ्या समाचार कुनै नयाँ विषय होइन । समाचार युगको लामो कालखण्डमा कुनै न कुनै रूपमा मिथ्या समाचारले स्थान पाउँदै आएको छ । इन्टरनेटले यसलाई मलजल गरेको छ । त्यसमा पनि इन्फमेसन सुपरहाइवे र सोसल मिडियाको समागमले रक्तबीजकै काम गरेको छ । हालका दिनमा मिथ्या समाचार चुनौतीको विषय बनिसकेको छ ।

सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावदेखि मिथ्या समाचारले बढी चर्चा नै बटुलेको छ । ‘कलिन्स शब्दकोश’ ले ‘फेक न्युज’ लाई सन् २०१७ को चर्चित शब्दावली मानेको तथ्यले यसको सघनतालाई पुष्टि गर्छ । अमेरिकी राष्ट्रपतीय चुनावका बेलामा पोप फ्रान्सिसले डोनाल्ड ट्रम्पलाई समर्थन गरेको, ट्रम्पका प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले विद्रोही संस्था आइएसआइलाई हतियार बेचेको जस्ता झूटा समाचार भाइरल भएका थिए । त्यतिबेला यस्ता समाचारले ‘द वासिङ्टन पोष्ट’, ‘द न्युयोर्क टाइम्स’ जस्ता विश्वसनीय समाचारपत्रले भन्दा बढी पाठक पाएको चर्चा चलेको थियो ।

त्यस समयमा म्यासेडोनियामा सञ्चालित फेक वेबसाइटबाट यस्ता मिथ्या समाचार प्रवाह भएकोबारे बेलायती समाचारपत्र ‘द गार्जियन’ ले विस्तृत विवरण नै छापेको थियो । अमेरिकाको मूलधारका सञ्चार माध्यमले हिलारी क्लिन्टनलाई समर्थन गरिरहेका बेलामा डोनाल्ड ट्रम्पले आश्चर्यजनक किसिमले चुनाव जितेपछि मिथ्या समाचार दिने वेबसाइटप्रति अध्येताहरूको ध्यान खिचिएको थियो ।
ग्राफिक्स: गुगल


अमेरिकी राष्ट्रपतीय चुनावताक परीक्षणको रूपमा सञ्चालित यस्ता वेबसाइटले अकल्पनीय रूपमा विज्ञापन र आर्थिक सहयोग पाएपछि म्यासेडोनियामा फेक वेबसाइटले उद्योगको रूप धारण गरेको थियो । त्यस समयमा म्यासेडोनियामा सञ्चालित सयौं फेक वेबसाइटको आर्थिक स्रोतबारे धेरै तथ्य अझै पनि खुल्न सकेको छैन ।

नेपालमा पनि मिथ्या समाचारका अनेकन प्रसंगहरू छन् । केही समय अघि फोब्स् म्याजिनले नेपालका १० जना धनाढ्य व्यक्तिहरूको सूची प्रकाशन गरेको समाचार अनलाइनमा आयो । त्यसपछि त्यही समाचार अरू अनलाइनमा भाइरल भएर आउन थाल्यो । हुँदा हँदा केही अखबारमा पनि त्यो समाचार आयो । वास्तवमा त्यो समाचार झूटो थियो । फोब्स् म्याजिनले विश्वका अर्बपतिहरूका मात्र सूची प्रकाशन गर्छ । त्यसमा नेपालबाट पर्ने विनोद चौधरीमात्र हुन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विरोधी उम्मेदवारविरुद्ध सोसल मिडियामार्फत तथ्यहीन समाचार प्रवाह गरिएका धेरै घटना सार्वजनिक भएका थिए । लगभग दुई वर्ष अघि विद्रोही नेता नेत्रविक्रम चन्दले आफ्ना छोरालाई ५० लाखको मोटरसाइकल किनिदिएको समाचार एउटा वेबसाइटले प्रकाशन गरेको थियो । त्यसलाई सोसल मिडियामा सेयर गरिए, निकै भाइरल भयो, उनीप्रति आक्रोश पोखिए । वास्तवमा त्यो समाचार झूटो थियो भन्ने तथ्य विभिन्न स्रोतबाट पुष्टि भइसकेको छ ।

२०७२ को भूकम्पपछि थुप्रै मिथ्या समाचारले ठाउँ पाए । त्यतिबेला अर्को ठूलो भूकम्प आउँदैछ भन्ने हल्ला समाचारका रूपमा सोसल मिडियामा भइरल भए । भूकम्प आउने तिथिमिति पनि तोकिए । सर्वसाधारण नागरिकले त्यसलाई विश्वास गरिरहे, आतङ्कित भइरहे र उल्लू बनिरहे ।

नेपालको भूकम्पबारे प्रवाह भएको मिथ्या समाचारबारे बीबीसीको वेबसाइटमा एउटा रोचक सामग्री भेटिन्छ । भूकम्पका कारण काठमाडौंस्थित एक होटलको स्विमिङ पुलमा भयानक किसिमले पानी छचल्एिको भनेर गलत दृश्य बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रसारण गरेको थियो । यसबारे बीबीसीले आफ्नो वेबसाइटमा स्वीकारोक्ति दिइसकेको छ । खासमा यो दृश्य सन् २०१० को अप्रिलमा मेक्सिकोमा आएको भूकम्पको दृश्य थियो । त्यही समयमा इजिष्ट ढलेको बिल्डिङको दृश्यलाई नेपालको भूकम्प भनेर देखाउने काम पनि भएको थियो ।

नेपालमा आएको भूकम्पबारे रिपोर्टिङ गर्न आएका भारतीय सञ्चार माध्यमले पनि मिथ्या समाचार प्रवाह गर्ने कार्यमा कुख्याति कमाए । त्यस समयमा भारतीय सञ्चार नेपालमा काफी अलोकप्रिय भएका थिए । त्यस पछाडि विभिन्न कारणमध्ये एक थियो, नेपालबारे मिथ्या समाचार दिनु । एउटा भारतीय टेलिभिजन च्यानलले दुईजना साना साना बालबालिकाको तस्बिर देखाएर उनीहरू भूकम्पबाट अभिभावकविहीन भएको बताएको थियो । तर त्यो तस्बिर नेपालको नभई सन् २००७ मा भियतनाममा खिचिएको खुलेको थियो ।

नेपालका ख्यातिप्राप्त स्नायुरोग विशेषज्ञ उपेन्द्र देवकोटाको २०७५ साल असार ४ गते निधन भयो । तर उनको निधन हुनुभन्दा धेरै दिन अघि नै केही न्युज पोर्टलमा निधनको खबर आइसकेको थियो । उनी ज्यूँदै छँदा कतिपयले कुनै नबुझी फेसबुकमा श्रद्धान्जलि दिएका थिए । यस्तो दुर्भाग्यपूर्ण अवस्था मिथ्या समाचारले पैदा गरेको थियो ।

मिथ्या समाचारले पार्ने प्रभाव धेरै गहिरो छ । मानिस ज्यूँदै छँदा मृत्युको खबर आउँदा सम्बन्धित व्यक्ति र उनका परिवारजनमा पर्ने असर अवर्णनीय छ । मिथ्या समाचारबाट भड्कन सक्ने दंगा–फसादले गर्ने जनधनको क्षति, मानिसको प्रतिष्ठामा लाग्ने दागको कुनै भरपाइ हुन सक्दैन । २०७४ साल जेठ १७ गते छिमेकी मुलुक भारतको झारखण्डमा उत्तेजित भीडले कुटीकुटी सातजनाको ज्यान लिएकोे थियो । यसको कारण थियो, ह्वाट्सएपमा फरवार्ड गरिएको झूटो मेसेज । भीडमा मारिएका व्यक्तिहरूलाई बालबच्चा अपहरण गर्ने गिरोहको रूपमा चित्रण गरिएको थियो ।

मिथ्या समाचार के हो ? यसलाई विभिन्न किसिमले परिभाषित गर्न सकिन्छ । मिडिया अनुसन्धानसम्बन्धी संस्था ‘सेन्टर फर मिडिया रिसर्च, नेपाल’ का अनुसार भूटो वा गलत वा भ्रमपूर्ण रूपमा प्रस्तुत गरिएका आमसञ्चार व इन्टरनेटका सामग्री मिथ्या समाचार (वा सूचना) हुन् । ‘कलिन्स शब्दकोश’ ले ‘समाचारका रूपमा प्रस्तुत गरिएका गलत र अक्सर सनसनीपूर्ण सूचना’ लाई मिथ्या समाचार भनेको छ ।

अमेरिकाबाट सञ्चालित वेबसाइट ‘फष्ट ड्राफ्ट न्युज’ ले सूचनाको विश्वसनीयता परीक्षण गर्ने काम गर्छ । यसका अनुसार मिथ्या समाचार सात प्रकार हुन्छन् : १. कसैको नोक्सान गर्ने उद्देश्य नभएको तर रमाइलोका लागि तयार पारिएका व्यङ्ग्यात्मक विषयवस्तु, २. शीर्षक, दृश्य वा तस्बिरको मूलभावसँग मेल नखाने सामग्री, ३. अर्थको अनर्थ हुने गरी तयार पारिएका भ्रामक सामग्री, ४. जानकारी यथार्थ भए पनि त्यसलाई गलत सन्दर्भमा प्रयोग गरिएका सामग्री, ५. कुनै विश्वसनीय व्यक्तिको नाम अघि सारेर प्रस्तुत गरिएका झूटो अभिव्यक्ति, ६.कुनै तथ्य वा तस्बिरलाई तोडमोड गरेर तयार पारिएका सामग्री, र ७. अरूलाई दिग्भ्रमित तुल्याउन तयार पारिएका सत प्रतिशत झूटो सामग्री ।

मिथ्या समाचार चिन्नका लागि हामीसँग ‘स्वस्थ्य आशंका’ को भाव हुनु आवश्यक छ । हरेक व्यक्तिसँग समाचारप्रति आलोचनात्मक दृष्टिकोण पनि हुनुपर्छ । समाचारमा सनसनीखेज प्रसंग तथा आश्चर्यजनक वा अस्वाभाविक शीर्षक राखिएको छ भने त्यसप्रति बढी ‘स्वस्थ्य आशंका’ गर्नुपर्ने हुन्छ । यस्ता समाचारलाई सोसल मिडियामा सेयर गर्नुअघि समाचारको सत्यता र यसले पार्न सक्ने प्रभावबारे सोच्न आवश्यक छ ।

मिथ्या समाचार प्रवाह गर्ने फेक वेबसाइट मूलतः पैसा कमाउने अभिप्रायले सञ्चालित हुन्छन् । उनीहरू भड्किलो शीर्षक वा तस्बिर दिएर पाठकलाई आकर्षित गर्न चाहन्छन् । कतिपय अवस्थामा उनीहरू पाठकलाई ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ (मनोवैज्ञानिक व्यापार) गर्न पनि पछि पर्दैनन् । कतिले मूलधारका चर्चित सञ्चार माध्यमका वेबसाइटसँग मिल्ने गरी वेबसाइटका नाम राखेका हुन्छन् । वेबसाइटको नामबारे आलोचनात्मक दृष्टिकोण नराख्दा पाठक सोझै जालमा पर्छन् ।

नेपालमा तथ्य—परीक्षण गर्ने गतिलो परिपाटी नहुँदा सर्वसाधारणमात्र नभई कहलिएका सञ्चार माध्यमहरू पनि मिथ्या सञ्चारको माकुरी जालमा परेको देखिन्छ । अर्कोतिर हामीकहाँ स्रोत–साधनको पनि अभाव छ । नेपालका ग्रामीण भेगमा धेरै एफएम रेडियोहरूले संवाददाता राख्न नसक्दा अनलाइनको समाचारमा पर्छन् । कुनै कारणवश अनलाइनमा गलत समाचार पोष्ट भएमा रेडियोमार्फत जन–जनसम्म मिथ्या समाचार फैलिने खतरा छ ।

‘इन्फमेसन सुपरहाइवे’ ले दुनियाँलाई जीवनदायिनी गुण लगाए पनि यसले फैलाउन सक्ने भ्रामक समाचारबारे पनि सोच्नु उत्तिकै आवश्यक भइसकेको छ ।

[साभार: गोरखापत्र (२०७५ साल कात्तिक ८ गते)]

Thursday, September 27, 2018

सस्तिएको मान पदवी

-यमबहादुर दुरा

व्यवस्था बदलियो तर शासकको संस्कार बदलिएन । पञ्चायतकालीन शैलीमा वितरण गरिएका विभूषण पाउनेहरूको लर्कोले यस्तै अनुभूत गर्न बाध्य तुल्याउँछ । पञ्चायतकालमा दलविहीन पञ्चायती व्यवस्थाका पृष्ठपोषक, रानी र राजका भाइ-छोरालाई निर्लज्ज किसिमले विभूषण दिइन्थ्यो । त्यो अर्कै युग थियो । तर देश लोकतान्त्रिक युगमा प्रवेश गरिसक्दा समेत पुरानै परिपाटी कायम हुनुलाई भने कुनै पनि अर्थमा जायज मान्न सकिन्न ।

राज्यले दिने विभूषण न चानचुने हुन्छ, न त चानचुने योगदान दिने व्यक्तिलाई नै दिइन्छ । जो पायो उही विभूषणको भागिदार बन्न सक्दैन, बन्नु पनि हुँदैन । ‘विभूषण ऐन, २०२६४’ ले नेपाल सरकारले राष्ट्रिय जीवनमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणात्मकलगायतका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने नेपाली नागरिकलाई विभूषण प्रदान गर्न सकिनेछ भन्ने उल्लिखित छ ।

ऐनमा प्रयोग भएको ‘विशिष्ट योगदान’ शब्दावलीले विभूषण पाउने व्यक्तिको योगदान चानचुने हुनुहुँदैन, उच्चस्तरको हुनुपर्छ भन्ने स्पष्ट पार्छ । तर विभूषण पाउनेको सूचीमा रहेका कतिपय व्यक्तिको योगदान र पृष्ठभूमि त्यस्तो देखिन्न । देशका लागि ‘विशिष्ट योगदान’ दिनेले भन्दा पनि पहुँचवाला नेताको अघिपछि भएर रिझाउन सक्नेले विभूषण पाएको जनगुनासो अखबार र सोसल मिडियामा छताछुल्ल छन् ।

सरकारले लोकतन्त्रको मर्मविपरीत मान पदवी वितरण गरेकोमा असहमति जनाउँदै राजनीतिक विश्लेषक झलक सुवेदी लेख्छन्, 'सरकारले गणतन्त्र दिवसका दिन वितरण गरेका केही उच्च मान पदवी पाउने गणतन्त्र, संघीयता र धर्म निरपेक्षताप्रति विमति राख्ने पञ्चायती विचारका पक्षपोषकको नाम देख्दा यो सरकार वैचारिक धरातल ठम्याउन मुस्किल पर्छ' (नयाँ पत्रिका, असोज ११, २०७५, पृ.४) ।

विभूषण पाउने व्यक्तिको नाम सुन्दा श्रद्धाले शिर निहुरिने किसिमको हुनुपर्छ । यो सामान्य सामाजिक मनोविज्ञान हो । तर यसविपरीत कुकृत्यमा चुर्लुम्म डुबेका कतिपय व्यक्तिले समेत विभूषण पाएका कयौं दृष्टान्त छन् । विभूषण पाउनेको सूचीमा त्यस्ता व्यक्तिको नाम पनि परेको छ, जसको कुकृत्य सञ्चार माध्यममा सार्वजनिक भइरहेका छन् । राज्यले ‘चोरलाई चौतारो’ दिएको तथ्य ‘खुला रहस्य’ नै बनिसकेको छ । यसबाट लोकतन्त्रको उपहास भइरहेको छ ।

अझ रमाइलो पक्ष त के छ भने उपयुक्त पात्र नभेटिएकाले ‘राष्ट्रगौरव पदक’ बाट यस वर्ष कसैलाई पनि सम्मान नगरिने खबर आयो । यसले देशका स्वाभिमानी नागरिकलाई हदैसम्म अपमान गरेको छ । ‘लो प्रोफाइल’ मा बसेर लोकहितैषी काम गर्ने स्वाभिमानी र कर्तव्यपरायण नागरिक पनि यो देशमा छन् । यो कुराको हेक्का राज्यलाई हुनुपर्ने हो । देशको सेवामा जुटेका त्यस्ता नागरिकलाई देख्न राज्यले तेस्रो आँखा प्रयोग गर्नुपर्छ, शासकीय विवेक प्रयोग गर्नुपर्छ । दूरदराज बसेका र मिडियामा नआएका त्यस्ता राष्ट्रसेवक सजिलै सतहमा देखा पर्दैनन् ।

आत्मस्वाभिमानको भएको कुनै पनि व्यक्तिले ‘मलाई विभूषण देऊ’ भन्न जाँदैन, न त कुनै नेता सामु झुकेर सिफारिसका लागि अनुनय–विनय नै गर्छ । त्यस्ता व्यक्तिलाई विभूषण दिइहाले पनि सजिलै ग्रहण गरिहाल्छ भन्ने पनि छैन । विभूषण पाउनलायक दुर्लभ प्रकृतिका कर्तव्यपरायण व्यक्ति पहिचान गर्ने र त्यस्ता व्यक्तिको अभिलेख राख्ने काम राज्यको हो । यसका लागि राज्यको संयन्त्र पूर्ण विवेकका साथ परिचालित हुनुपर्छ ।

दुर्भाग्यवश, राज्य यस्तो काममा विवेकपूर्ण ढङ्गले जुटेको पाइएन । आसेपासे र नजिकका हितैषीहरूको गणेशवृत्तमै राज्य-संयन्त्र रमाएको देखियो । वस्तुगत आधार र कारणबिनै आफ्ना गुटका व्यक्तिहरूलाई आभूषण दिने रोगले राष्ट्रिय स्वाभिमानलाई निल्दैछ ।

यसबाट पहुँचवाला नेताका बफादार कार्यकर्ता सम्मानित हुने र असल, योग्य र कर्तव्यपरायण व्यक्तिहरू घेराबाहिर पर्ने अवस्था पैदा भइरहेको छ । विभूषण पाउने कतिपयले आफ्नो कुनचाहिँ योगदानका लागि राज्यले सम्मान गरेको हो, त्यसबारे आफैं अनभिज्ञ हुने अवस्था छ । यसबाट राज्यको विवेकहीन र अराजक चरित्र चहकिलो बन्दै गएको छ ।

विभूषणकोको विकृत तस्बिर कोर्नमा राजनीतिक वृत्तको मात्र होइन, कर्मचारी वृत्तको पनि भयानक ठूलो हात छ । विगतमा कर्मचारीतन्त्रको माथिल्लो सोपानमा रहेका विशिष्ट व्यक्तिहरूले आफू स्वयं र आफ्ना नातागोतालाई सम्मान दिलाएका विवरण सप्रमाण आमसञ्चार माध्यममा आएका थिए । यसपटक पनि त्यही प्रवृत्ति दोहोरियो । यहाँनेर, त्यस्ता व्यक्तिको कार्य-व्यवहारप्रति गम्भीर किसिमको नैतिक र कानुनी प्रश्न उठ्छ । तर आफ्नो दुनो सोझ्याउनतिर लागेकाहरूको हुल ठूलो भएको बेलामा यस्ता इमान-जमानको कुरामा कसको ध्यान जाने ?

विभूषण पाउनेमा उच्च तहका कर्मचारीहरूको संख्या बढी देखिन्छ । पदीय हैसियतले उनीहरू आफ्नै हात जगन्नाथ गर्न समक्ष छन् । त्यही कर्मचारी वृत्तमा पनि तल्ला तहका कर्मचारी विभूषण पाउनबाट बञ्चित भएको अवस्था छ । सधैँभरि तल्ला तहका कर्मचारीको कामबाट प्रगति विवरण देखाउने उच्च तहका कर्मचारीहरू तल्ला तहका सहकर्मीलाई विभूषणको सिफारिस गर्न सानो मन गर्ने प्रवृत्ति छ । सिफारिस गरिहाले पनि आफ्नालाई मात्र गर्ने प्रवृत्ति कायमै छ । लोकतान्त्रिक परिपाटीमा पनि आफूभन्दा सानालाई सम्मान गर्ने परिपाटी हामीकहाँ बस्नै सकेन ।

अर्को कुरा, नागरिकले तिरेको तिरोबाट तलब खाने राष्ट्रसेवकले आफ्नो कामका लागि विभूषण पाउनुपर्छ भन्ने मनस्थिति लिएर बस्नु सधैँभरि जायज हुँदैन । यहाँनेर, तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी (सन् १९१७ - १९८४) का नजिकका सहयोगी मानिने पी एन हक्सर (सन् १९१३ - १९९८) को किस्सा सान्दर्भिक हुन आउँछ । इन्दिरा गान्धीको प्रधानमन्त्रीत्वको एक कालखण्डमा पी एन हक्सर प्रमुख सचिव (सन् १९७१ - १९७३) थिए ।

हक्सर आफ्नो कार्यकाल सकिएर सेवाबाट बाहिरने घडीमा इन्दिरा गान्धीले उनलाई भारतीय उच्च आभूषण ‘पदम विभूषण’ दिने मनाशय व्यक्ति गरिन् । हक्सरले त्यसको तत्कालै प्रतिवाद गरे । काम गर्नु आफ्नो जिम्मेवारी भएको, राज्यकोषबाट तलब खाएर काम गर्दा आफूलाई कुनै मानपद्वी आवश्यक नपर्ने र मानपद्वी दिएमा आफूलाई नितान्त असहज हुने उनले जवाफ दिएको प्रसंग भारतीय पत्रकार सौरभ द्विवेदी कोट्याएका छन् । कतिलाई यो किस्सा अति आदर्शवादी लाग्नसक्छ तर निष्ठावान् र नीतिपरायण व्यक्तिहरूका लागि यो नै गतिलो मार्गदर्शक सिद्धान्त बन्नसक्छ ।

राज्यले नागरिकलाई विभूषण दिनुको उद्देश्य हो, देशमा असल चरित्र निर्माणमा सघाउनु  । विडम्बनावश, विभूषण नै विकृतिको मुहान बन्न पुगेको छ । यही प्रसंगमा भूगोलविद डा. हर्क गुरुङ  (वि.सं. १९९५ - २०६३) को किस्सा पनि उत्तिकै ज्वलन्त छ । डा. गुरुङ विभूषणका विपक्षमा थिए । देशमा विभूषण पाउनेहरूको सूची हेर्ने हो भने नेपाल रामराज्य बनिसक्थ्यो भनेर उनले टिप्पणी गरेको प्रसंग बौद्धिक वृत्तमा चर्चित छ । डा. गुरुङ स्वयं विडम्बनाको शिकार भए । लोकतन्त्रको आगमनपछि उनलाई २०६९ सालमा ‘महाउज्जल राष्ट्रद्वीप’ मरणोपरान्त प्रदान गरियो ।

लोकधन खर्चेर दिइने विभूषणलाई व्यवस्थित र मर्यादित बनाउनै पर्छ । विभूषणका लागि नाजायज सिफारिसलाई दुरुत्साहन गरिनुपर्छ ।समाजमा उदाहरणीय काम गर्ने व्यक्तिहरूलाई खोजीखोजी विभूषण दिइनुपर्छ । यस्ता व्यक्ति राज्य-संयन्त्रको राडारमा नदेखिन सक्छन् । राज्यले देशका उदाहरणीय योगदान दिने व्यक्ति खोज्न शासकीय न्याय र विवेक प्रयोग गर्न सक्नुपर्छ । जो पायो उहीलाई विभूषण दिएर लोकधनको दुरुपयोग गर्ने र राष्ट्रिय लज्जा बढाउने काम तत्काल बन्द गर्नुपर्छ ।

अब राष्ट्रिय विभूषणको इज्जत बचाउनुपर्ने बेला आएको छ ।