Saturday, April 25, 2020

कोरोना महामारीको भविष्यवाणी भएकै हो र ?

यमबहादुर दुरा

एउटा भनाइ छ, ‘बाघ लागेको समयमा वनको बुट्यान पनि बाघ हुन्छ ।’ अहिलेको माहोल पनि त्यस्तै छ । कोभिड–१९ को यो महामारीमा मानिसले जताततै कोरोना देख्न थालेका छन्—पैसा, खाद्यवस्तु, आफूजस्तै अरू मानिसमा ।

यो त्रासदीपूर्ण घडीमा नोबल कोरोना भाइरसको उत्पत्ति र फैलावटबारे धेरै अनुमान र तर्कले स्थान पाएका छन् । कोरोना महामारीबारे पहिल्यै भविष्यवाणी भइसकेको थियो भन्ने कुराले पनि राम्रै चर्चा बटुल्यो । यही प्रसङ्गमा अमेरिकी लेखक डिन कुञ्ज निकै चर्चामा रहे ।

उनको उपन्यास ‘द आइज अफ डार्कनेस’ ले धेरैको ध्यानाकर्षण गर्‍यो। सन् १९८१ मा प्रकाशित उपन्यासको एउटा प्रसङ्ग दुनियाँलाई भयभीत तुल्याइरहेको कोरोना भाइरस आगमनको भविष्यवाणीसँग सम्बन्धित छ ।

उपन्यासको यही अंशलाई कोरोनाको महामारीबारे ४० वर्ष अघि नै ‘द आइज अफ डार्कनेस’ मा भविष्यवाणी गरिएको थियो भन्ने प्रसङ्ग उठेको छ । खासगरी विदेशमा सोसल मिडिया र यु ट्युब च्यानलमा यो प्रसङ्ग निकै भाइरल भयो ।

‘द आइज अफ डार्कनेस’ मा अहिलेको कोरोना महामारीसँग केही मिल्दोजुल्दो प्रसङ्ग छ । उपन्यासमा भनिएको छ —‘वुहान ४००’ भाइरस विश्वभर फैलिनेछ  । यसको कुनै उपचार हुनेछैन ।

उपन्यासको समग्र कथावस्तु अलौकिक छ । थ्रिलर शैलीमा लेखिएको उपन्यासमा लेखिएको छ - चीनले वुहान शहर बाहिर रहेको एउटा प्रयोगशालामा गोप्य तरिकाले ‘वुहान ४००’ भाइरस उत्पादन गरेको हो । चीनले सूक्ष्म जैविक हतियारको रूपमा उत्पादन गरेको ‘वुहान ४००’ भाइरसले मानव जातिलाई मात्र आक्रमण गर्नेछ ।

उपन्यासको कथा र वर्तमान महामारीबीचको गजबको संयोग छ । डिन कुञ्जले आफ्नो उपन्यासमा काल्पनिक भाइरस ‘वुहान ४००’ राखेका थिए । वुहान त्यही शहर हो, जहाँबाट कोरोना भाइरस फैलिएको थियो ।
‘द आइज अफ डार्कनेस’ ले महामारीबारे उठाएको प्रसङ्ग एक हदसम्म मिल्न गएपछि विश्वभर तहल्का मच्चिन पुग्यो । पुस्तकको बिक्री ह्वात्तै बढ्यो ।

छिमेकी मुलुक भारतका राजनीतिक नेता नेता मनिश तिवारी (कांग्रेस आई), अमेरिकी सिनेटर टम कटनलगायका राजनीतिक वृत्तका व्यक्तिले समेत ‘वुहान ४००’ बारे प्रसङ्ग  उठाए । सधैँजसो विवादास्पद अभिव्यक्ति दिएर चर्चामा छाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ नामकरण गरेर थप चर्चामा आए ।

उपन्यासले औंल्याएको कुराबारे चर्चा चुलिन थालेपछि सत्य–तथ्य खोज्ने काम शुरु भयो । द गार्जियन, बेलायती समाचार संस्था रोयटर्स, अमेरिकी टेलिभिजन च्यानल सीएनएनको वेबसाइट, साउथ चाइन मर्निङ पोष्टजस्ता विश्वचर्चित सञ्चार माध्यमहरूमा उपन्यासमा वर्णित प्रसंगबारे थुप्रै समीक्षात्मक टिप्पणी आए । ती सञ्चार माध्यमले उपन्यासले उठाएको प्रसङ्गलाई भविष्यवाणी विभिन्न कोणबाट रौंचिरा गरेका छन् ।

उपन्यासमा वर्णित प्रसङ्ग अहिले भयावह बन्दै गएको कोरोना भाइरसको महामारीसँग केही कुरा मिल्न गए पनि यसमा नमिल्ने थुप्रै प्रसङ्ग छन् । उपन्यासमा ‘वुहान ४००’ लाई मानव निर्मित भाइरस भनिएको छ ।
नोबल कोरोना मानव निर्मित भाइरस हो भन्ने कुनै ठोस प्रमाण छैन । वैज्ञानिकहरूले कोरोना समूहकै भाइरसमा उत्परिवर्तन (म्युटेसन) भई नयाँ प्रजातिको भाइरस निस्केको निष्कर्ष निकालेका छन् ।

उपन्यासमा गरिएको वर्णनसँग नमिल्ने अर्को प्रसंग पनि छ । त्यो हो, रोगको लक्षण । यसबारे उपन्यासमा दाबी गरिएको छ — सङ्क्रमित व्यक्तिको दिमागमा विषाणु उत्पन्न भई दिमागको कोशिकामा क्षति पुग्छ, सम्बन्धित व्यक्तिले आफ्नो शरीरमाथि नियन्त्रण कायम गर्न सक्दैन । भाइरसबाट सङ्क्रमित बिरामीको २४ घण्टभित्र इहलीला समाप्त हुन्छ । धेरै त १२ घण्टाभित्रै मर्छन् ।

उपन्यासमा वर्णित लक्षण अहिलेको कोरोना भाइरसको लक्षणभन्दा नितान्त फरक छ । विभिन्न अध्ययन प्रतिवेदनका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिमा यति छिटो लक्षण देखा पर्दैन, धिमा गतिमा रोगको क्षण देखापर्दै जान्छ । दिन बित्दै जाँदा रोगले सम्बन्धित बिरामी ग्रस्त पार्दै लान्छ ।

अर्को कुरा, उपन्यासमा ‘वुहान ४००’ बाट सङ्क्रमित व्यक्तिको मृत्युदर सतप्रतिशत छ भनिएको छ । तर, कोभिड–१९ मा मृत्युदर २–३ प्रतिशतमात्र हुन्छ भन्ने अध्ययनले देखाएको छ । यो अर्को नमिल्दो कुरा हो ।

अर्को रोचक कुरा के छ भने पहिलो पटक उपन्यास निस्कँदा भाइरसको नाम ‘वुहान ४००’ राखिएको थिएन । त्यसबेला यसको नाम थियो, ‘गोर्की ४००’ । गोर्की एउटा रूसी शहर हो । साथै, गोर्की प्रसिद्ध रूसी साहित्यकार म्याक्सिम गोर्कीको छोटकरी नाम पनि हो ।

यहाँनेर, शीतयुद्धकालीन राजनीतिक प्रसङ्ग जोडिन आउँछ । ‘द आइज अफ डार्कनेस’ शीतयुद्ध कालमा लेखिएको थियो । उपन्यासमा तत्कालीन अमेरिकी समाजको मनोविज्ञान झल्किन्छ । शीतयुद्धताका विश्वको राजनीति दुई ध्रुवमा बाँएिको थियो । एक अमेरिकी ध्रुव र अर्को रूसी ध्रुव । दुवै राजनीतिक ध्रुव एक अर्काका कट्टर दुस्मन ।

जगजाहेर नै छ, शीतयुद्ध कालमा रूसले जसरी अमेरिकालाई भयानक सत्रु ठान्थ्यो, त्यसरी नै अमेरिकाले रूसलाई भयानक सत्रु ठान्थ्यो । त्यही आधारमा भाइरसको नाम सत्रु मानिएको रूससँग मिल्ने गरी राखिएको थियो । त्यसबेला भाइरसको नाम रूसी शहर गोर्कीको नामबाट ‘गोर्की ४००’ राखिएको थियो । यसलाई खतरनाक रूसी जैविक हतियारको रूपमा चित्रण गरियो ।

तर, समयको रेखीय यात्रा सन् १९९० को दशकमा पुग्दानपुग्दै विश्व राजनीतिले कोल्टो फेर्‍यो । सन् १९८९ पछि पूर्वी युरोप र रूसबाट साम्यवादी व्यवस्था सुकेको रुखझैं  ढल्यो । दुई ध्रुवीय विश्व राजनीतिको समीकरण बदलियो । सन्दर्भ बदलियो । अमेरिका र रूसबीच मित्रता बढ्न थाल्यो ।

यसपछि उपन्यासभित्रको पूँजीवादले भाका फेर्‍यो । उसलाई नयाँ भिलेन आवश्यक पर्‍यो। उपन्यासको नयाँ संस्करण निकालियो । त्यसमा ‘गोर्की ४००’ भाइरसलाई चिनियाँ वुहानको शहरको नामबाट ‘वुहान ४००’ राखियो । अब तत्कालीन रूसी भाइरस चिनियाँ भाइरस हुन पुग्यो । यो प्रसंग ‘साउथ चाइना मर्निङ पोष्ट’ मा प्रकाशित एक लेखमा छ ।

यी तमाम ठोस प्रमाणका आधारमा निर्धक्कसँग भन्न सकिन्छ — कोरोना भाइरसको भविष्यवाणीबारे चलेका तमाम होहल्ला निराधार छ । यसबाट हतप्रभ हुनुपर्ने कुनै कारण छैन । अर्को कुरा ‘द आइज अफ डार्कनेस’ आख्यान हो । आख्यान आखिरमा आख्यान नै हो, वास्तविकता होइन । यसका कतिपय घटना र प्रसङ्ग संयोगवश वास्तविक जीवनमा मिल्न सक्छन् ।

यहाँनेर, फिल्म वा सिरियलको ‘डिस्क्लेमर’ लाई सम्झनुपर्ने हुन्छ, जसमा भनिएको हुन्छ—‘यसका पत्र वा घटना कसैको वास्तविक जीवनमन मिल्न गएमा संयोगमात्र हुनेछ ।’ ‘द आइज अफ डार्कनेस’ को प्रसंग पनि  संयोगमात्र हो । त्यो संयोग पनि आंशिक रूपमा मात्र मिल्छ ।

अब एकैछिन ‘द आइज अफ डार्कनेस’ का लेखकबारे चर्चा गरौँ । सन् १९४५ मा अमेरिकाको पेन्सिलभेनिया राज्यमा जन्मिएका उपन्यासकार डिन कुञ्जले हालसम्म १०० भन्दा बढी उपन्यास लेखेका छन् । उनका धेरैजसो पुस्तक ‘द न्यु योर्क टाइम्स बेष्ट सेलर’ सूचीमा परेका छन् । उनका कृति साइन्स फिक्सन, हरर, सस्पेन्स थ्रिलर, स्वैरकल्पना र व्यङ्ग्यको श्रेणीमा पर्छन् ।

उनी जति चर्चित छन्, त्यति नै विवादास्पद पनि । लेखन यात्राको शुरुवाती घडीमा डेबिड एक्सटन, डिना ड्योवेयर, लियोनार्ड क्रिस, केआर ड्योवेयर, ले निकोल्स, ब्रियर कफीजस्ता १० वटा जति छद्म नामबाट पुस्तक लेखेको उनी स्वयम्ले बताएका छन् । उनीमाथि कामुक प्रकृतिका सस्ता उपन्यास लेख्ने गरेको आरोप लाग्ने गर्छ ।

यिनै चर्चा र विवादको घेरामा रहँदै गर्दा ‘द आइज अफ डार्कनेस’ उपन्यासमार्फत  महामारीबारे भविष्यवाणी गरेर उनी फेरि एक पटक चर्चाको शिखरमा छन् । यद्यपि, यस्ता महामारीबारे भविष्यवाणी गर्ने उनी पहिलो व्यक्ति भने होइनन् । विगतका थुप्रै कृतिमा यस्ता प्रसङ्ग भेटिन्छन् ।

आध्यात्मिक गुरुको रूपमा समेत परिचय बनाएकी अमेरिकी लेखिका सिल्भिया ब्राउन (सन् १९३६—२०१३) ले पनि यस्तै प्रसङ्ग अघि सारेकी छिन् । उनले आफ्नो उपन्यास ‘एण्ड अफ डेज्’ मा सन् २०२० तिर निमोनियाजस्तो लक्षण देखिन रोग देखापर्ने उल्लेख गरेकी छिन् । अहिले उनको पुस्तक पनि बिक्री बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् २०११ मा सार्वजनिक भएको चलचित्र ‘कन्टेजिन’ मा पशुबाट मानव सर्ने भाइरसको प्रसङ्ग छ । त्यसमा अष्ट्रेलियाबाट अमेरिका पुगेका व्यक्तिबाट त्यहाँ महामारी फैलिएको दृश्य देखाइएको छ ।

प्राचीन सन्दर्भमा झल्कने असंख्य कृतिहमा महामारीका प्रसङ्ग पर्याप्त पाइन्छन् । ग्रिसेली कवि होमरको कृति ‘इलियड’, दार्शनिक सोफोक्लिसको रचना ‘इडिपक्स रेक्स’ भविष्यमा आउने महामारीबारे चर्चा पाइन्छन् ।

यी सबै काल्पनिक प्रसंगलाई मानिसको कल्पनशीलता र भविष्यमुखी चिन्तनको प्रतिविम्बको रूपमा लिन सकिन्छ । वास्तवमा कल्पनाशील आख्यानका प्रसंगलाई लिएर आतङ्कित हुनुपर्ने कुनै कारण छैन ।

[देखापढी । २०७७ साल वैशाख ८ गते ।]

Wednesday, April 22, 2020

अर्थतन्त्र पुनर्संरचनाको सवाल

–यमबहादुर दुरा

यो समय नेपाली ‘डायस्पोरा’ को अभूतपूर्व विश्व–विस्तारको युग हो । जसरी भारतीय र चिनियाँ नागरिक संसारको विभिन्न कुनाकप्चेरामा पुगे, त्यसरी नै नेपालीहरू पनि दुनियाँको विभिन्न भागमा पुग्न थालेका छन् । एक तथ्याङ्क अनुसार नेपालीहरू एक सय २८ मुलुकमा पुगेको देखिन्छ । ६० लाखको हाराहारीमा नेपाली नागरिक मुगलानमा रहेको वास्तविकतासँग हामी परिचित छौँ ।

मुगलान जाने कुरा नेपालीका लागि रहर र बाध्यता दुवै हो । नेपालमा मुगलान मोह बढ्दो प्रवृत्ति क्रममा छ । देश र दुनियाँको अवस्था सामान्य हुँदा नेपालबाट हरेक दिन लगभग दुई हजार जति नेपाली विदेशिने गरेको तथ्याङ्क छ । यसले मुगलान मोहको चढ्दो ग्राफलाई इङ्गित गर्छ ।


अहिले समय बदलिएको छ । नेपालबाट मुगलान जाने होइन, बरू मुगलानबाट नेपाल फर्किने  समय आएको छ । कोरोना महामारीले स्थिति बदलिदिएको छ । रोजगारदातामध्ये एक मुलुक कतारले नेपाली कामदार फिर्ता लैजान नेपाललाई दबाब दिएको छ । अन्य रोजगारदाता मुलुकले पनि कोरोनाले निम्त्याएको असहज परिस्थितिले कतिपय कम्पनीले कामदारलाई अनपेड लिभ (बेतलबी बिदा) दिन थालिसकेका छन् ।

यसबाट मुगलानीहरूको कमाइ घटेको छ । जीवनयापनको बाटो असहज बन्दै गएको छ । भविष्य असुरक्षित बन्दै गएको छ । सर्वविदितै छ,  रोजगारी गुमेपछि छिमेकी मुलुक भारतबाट अनेकन् भुक्तमान सहँदै लाखौँको संख्यामा घर फर्केका छन् । अरबलगायतका मुलुकमा रहेका मुगलानीहरू पनि घर फर्किने साइत कुरेर बसिरहेका छन् ।

मुगलानमा रहेका कतिपय नेपालीले सोसल मिडियालगायतका ‘कम्युनिकेसन प्लाटफर्म’ मा आफूहरू नेपाल फर्कने दिनको व्यग्र प्रतीक्षामा रहेको भावना व्यक्त गरिरहेका छन् । यसबारे आमसञ्चार माध्यममा समाचार आइरहेका छन् । कोरोना महामारीले पैदा गरेको सङ्कटले आफ्नो रोजीरोटी गुमेकाले आफूहरूलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याइयोस् भनेर पुकारा गरिहेका छन् । यतिबेला नेपाल र नेपाली नागरिकले वैदेशिक रोजगारीको तीतो स्वाद चाखिरहेका छन् ।

अहिले परिस्थिति नितान्त प्रतिकूल छ । ‘लकडाउन’ को समयावधि थपिएको थपियै छ । जल, थल र वायु यातायात पूरापुर अवरुद्ध छ । दुनियाँ अलगथलग छ । ‘लकडाउन’ बाट सिङ्गो विश्व नै अघोषित झ्यालखानाजस्तो भएको छ । यस्तो सङ्कटपूर्ण घडीमा ठूलो संख्यामा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन सहज छैन ।

लाखौंको संख्यामा मुगलानमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सरकारले के कस्तो रणनीति अख्तियार गर्ला, त्यो हेर्न बाँकी नै छ । मुगलानमा अलपत्र अवस्थामा रहेका नागरिकलाई ढिलो चाँडो स्वदेश नल्याई सुखै छैन । जे–जस्तो धामा सहेर भए पनि मुगलानीहरू स्वदेशी फर्कलान् । अब, उनीहरू मातृभूमि फर्किइसकेपछिको अवस्थाचाहिँ के हुने हो ? यो नितान्त गम्भीर विषय हो ।

कोरोनाले देशको अर्थतन्त्र थला परिसकेको छ । नेपालको आर्थिक वृद्धि ७.१ पुगेकोमा अब त्यो बृद्धिदर पिँधमा पुग्न सक्ने पूर्वानुमान अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एशियाली विकास बैंकले गरिसकेका छन् । मुगलानमा पसिनाले नुहाएर घरपरिवारको पालनपोषण गर्नुपर्ने जिम्मेवारी बोकेका आप्रवासी कामदार घर फर्केपछिको अवस्था के होला ? तिनको पारिवारिक अर्थतन्त्र के होला ? समग्रमा देशको अर्थतन्त्र के होला ? यसको कुनै सहज उत्तर छैन । तर, यसले देशको बिग्रँदो आर्थिक अवस्थाको कुरूप तस्बिरचाहिँ पक्कै प्रस्तुत गर्छ ।

कोरोनाको महामारीको गरुड छायाँ पर्नुभन्दा अघिको नेपालको आर्थिक वृद्धिलाई उत्साहजनक मानिएको थियो । यसो हुनुमा वैदेशिक रोजगारकै योगदान थियो । अब नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको योगदानको ग्राफ ओरालो लाग्ने अवस्थामा छ । वैदेशिक रोजगारीले धानेको अर्थतन्त्र जोखिमपूर्ण हुन्छ भन्ने राय अर्थशास्त्रीहरूले दिँदै आएका छन् । यसबारे बेलाबखतमा चर्चा पनि हुँदै आएको छ ।

वैदेशिक रोजगारले देशको अर्थतन्त्रलाई राम्रै टेवा दिए पनि आफ्नै खालको ‘साइड इफेक्ट’ छ । यसले उत्पादनमूलक कामलाई निरुत्साहित गर्नुका साथै सुखभोगी प्रवृत्तिलाई बढावा दिन्छ भन्ने गरिन्छ । कुनै कारणले वैदेशिक आय (रेमिट्यान्स) आउन छाडेमा अर्थतन्त्रमा तत्काल सङ्कटको घडी आइहाल्छ । यही आधारमा कतिले वैदेशिक अर्थतन्त्रलाई टेकोले धानेको घरजस्तै हो भन्ने गरेको पनि पाइन्छ ।

आर्थिक विश्लेषकहरूले विदेशी आयस्ताले आएको समृद्धिलाई ‘धरापमा रहेको वैभव’ को रूपमा लिने गर्छन् । वैदेशिक रोजगारीले देशमा मानव पूँजीको रूपमा रहेको जनशक्ति (श्रमशक्ति) घटाउँछ, परनिर्भरता बढाउँछ, सेवा तथा वस्तुको उपयोग बढाउँछ तर उत्पादन र निर्यात घटाउँछ । परिणामस्वरूप अप्राकृतिक रूपमा मूल्यवृद्धि हुनुका साथै विश्वबजारमा प्रतिपर्धात्मक क्षमता घट्न पुग्छ ।

यस सम्बन्धमा नेदरल्याड्सको एउटा ज्वलन्त दृष्टान्त छ । सन् १९६० तिर नेदरल्याड्समा प्राकृतिक ग्याँसको भण्डरा फेला पर्‍यो, जसले ठूलो मात्रामा विदेशी लगानी निम्त्यायो । विदेशमा व्यापक रूपमा ग्यास निर्यात भयो । शुरुका दिनमा यसबाट त्यहाँ आर्थिक वैभव बढ्न थाल्यो ।

कालान्तरमा ग्यासको भण्डार रित्तिँदै गयो । देशको अर्थतन्त्र ओरालो लाग्ने पालो आयो । विदेशी लगानी घट्न थाल्यो । विदेशीको आयस्ता घट्न थाल्यो । त्यसपछि दुर्दान्त आर्थिक अवस्थाले नेदरल्याड्सलाई लखेट्न थाल्यो ।

परिणामतः बेरोजगारी उच्चतम् विन्दुमा पुग्यो, महङ्गी बढ्न थाल्यो र विश्वबजारमा उसको प्रतिस्पर्धात्मक क्षमता घट्न गयो । यसबाट नेदरल्याड्सको अर्थतन्त्र सङ्कटमा पर्‍यो । सन् १९७७ मा विश्वविख्यात म्यागजिन ‘द इकनमिष्ट’ ले नेदरल्याड्सको दुर्दशापूर्ण आर्थिक अवस्थालाई ‘हल्याण्ड डिजिज’ नामाकरण गर्‍यो ।

वैदेशिक आयस्तामा भर पर्दा हुने आर्थिक दुर्घटना ‘हल्याण्ड डिजिज’ नामले परिचित छ । नेपालमा वैदेशिक रोजगारको ढोका एकपछि अर्को गरी बन्द क्रममा छ । यस्तो जटिलतम् अवस्थामा नेपाललाई पनि ‘हल्याण्ड डिजिज’ ले नछोला भन्न सकिन्न । निर्विकल्प रूपमा वैदेशिक रोजगारलाई अघि सार्ने परिपाटीलाई अब पुनःविचार गर्नुपर्ने बेला आइसक्यो । यसबारे समयमै सचेत हुँदै अर्थतन्त्रको पुनःसंरचनामा लाग्नुको विकल्प देखिन्न ।

अहिले विकसित घटनाक्रमले स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउने चुनौती र अवसर दुवै दिएको छ । देशको अर्थतन्त्रलाई दीगो र सबल बनाउन उत्पादनमूलक उद्योगलाई प्रश्रय दिनैपर्छ । यस क्रममा कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने अवस्था छ । विश्वलाई कोरोना महामारीले छोपेपछि भारतलगायत कतिपय मुलुकले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउने भएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ ।

एकातिर स्वदेशको खेतबारी बाँझो रहने अर्कोतिर विदेशबाट खाद्यान्न आयात नहुने अवस्था आयो भने के होला ? भोलि आउन सक्ने  विकराल अवस्थाबारे अहिल्यै सोचेर कृषिको समग्र विकाससम्बन्धी व्यावहारिक नीति र कार्यक्रम अविलम्ब ल्याउन आवश्यक छ । जगजाहेर नै छ, कृषि हाम्रो  आधारभूत पेशा हो । सम्भवतः सबैभन्दा पुरानो पेशा पनि हो ।

अहिले पनि देशको कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी हिस्सा अझै  पनि कृषिमा आश्रित छ । मुगलानबाट फर्केकाहरूको अन्तिम आश्रयस्थल गाउँघर नै हो । हालको स्थितिमा उनीहरूको अन्तिम विकल्प पनि गाउँघरमा गरिने कृषिकर्म नै हो । यी तमाम वास्तविकतालाई ध्यामा राखेर देशको मागलाई पूरा गर्दै निर्यातमूलक कृषि उत्पादनमा जोड दिनुपर्छ ।

कृषिमा अहिले कुल गर्हस्थ उत्पादन २७ प्रतिशत जति छ । यसलाई बढाउने प्रयत्न गर्नुपर्ने खाँचो छ । विदेशमा उच्च माग रहने अर्ग्यानिक अग्र्यानिक कृषि उत्पादनलाई प्राथमिकता यसले आयातलाई प्रतिस्थापन गर्न सक्छ । यसलाई प्रोत्साहित गर्ने सरकारी नीति पनि आउनुपर्छ । कृषिमा विगतमा भएका कमी कमजोरीको समीक्षा गरी आवश्यक नीतिगत सुधार गर्नुपर्ने खाँचो पनि उत्तिकै टडकारो देखिन्छ ।

अहिलेको सङकटले देशको परनिर्भरमुखी अर्थतन्त्रलाई पुनर्संरचना गर्ने अवसर पनि दिएको छ । यस क्रममा कृषिका अतिरिक्त अन्य सम्भावनायुक्त उद्योगहरूलाई उचित अध्ययनका आधारमा प्राथमिकता दिने र तिनको दीगोपनका आधारहरू खोजिनुपर्छ । अहिले धराशायी अवस्थामा पुगेको पर्यटन तथा सेवा उद्योगलाई पुनर्जीवन दिने र तिनलाई दीगो बनाउने गरी पुनर्संरचना गर्नुपर्ने आवश्कता छ ।

 देशको अर्थतन्त्रलाई कुन ढाँचामा पुनर्संरचना  गर्ने भन्नेबारे अर्थविद, योजनाविद, नीति–निर्माता र राजनीतिक शक्तिहरूको रचनात्मक भूमिका अपेक्षित छ । यस सिलसिलामा यी साझेदारबीच उचित समन्वय र सहकार्य पनि उत्तिकै आवश्यक छ ।

[नागरिक । २०७७ साल वैशाख १० गते । ]

Friday, April 3, 2020

कोरोनाले सम्झाएको राष्ट्रिय जिम्मेवारी

–यमबहादुर दुरा

कोरोना भाइरस (कोभिड–१९) ले जनजीवनमा  पीडादायी वास्तविकता पस्किरहेको बेला अर्को पीडादायी दृश्य हाम्रो देखापरेको छ । त्यो हो, नेपाल–भारत सीमामा अलपत्र बन्न पुगेका नेपाली । सरकारले ‘लकडाउन’ घोषणा गरेको हप्ता दिन बितिसक्दा पनि उनीहरू नेपाल–भारत सीमामै अलपत्र परेका समाचार आइरहेका छन् ।

यस क्रममा भरतको पिथौरागणबाट आएका कतिपय प्रवासी नेपाली नाका नखुलेपछि ज्यान हत्केलामा राखेर महाकाली नदीमा पौडिएर नेपाल भित्रिएको समाचार आयो । आफ्नै मातृभूमि प्रवेश गर्न पनि महाभारत झेल्नुपरेको यो दुःखदायी अवस्थाले कताकता खल्लो अनुभूति गराउँछ ।

यद्यपि, यो असाधारण परिस्थिति हो । यसलाई त्यही अनुरूप बुझ्नुपर्ने हुन्छ । तर, यही बहानामा प्रवासी नेपाली मानवीय पीडालाई नजरअन्दाज गर्न पनि मिल्दैन । उनीहरूले झेल्नुपरेका दुःखमा मानवीय सम्वेदनाका अनेकन् आयाम जोडिन आइपुग्छन् ।

प्रवासी नेपालीले हालका दिनमा भोग्नुपरेको सास्तीबारे प्रसङ्ग उठाउँदा नेपाल र भारतबीच विद्यमान ‘केमेष्ट्री’ बारे पनि कुरा गर्नैपर्ने हुन्छ । दुवै देशबीच जनस्तरको सम्बन्ध छ । नेपाल र भारतबीचको सम्बन्ध नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर लामो सीमारेखा छ ।

भौगोलिक हिसाबले तीनतिरबाट घेरिएको भारतसँग नेपालको शताब्दीऔँ लामोे छ । नेपाल र भारतबीच विद्यमान सामाजिक, सांस्कृतिक, आर्थिक र भूराजनीतिक सम्बन्धको गाथा गहिरो छ । यससँगै जोडिएको ‘रोटीबेटीको सम्बन्ध’ ले दुई देशबीचको सम्बन्धमा न्यानोपन थपिरहेको छ ।

एकातिर यी दुई देशबीच दरिलो सामाजिक तथा सांस्कृतिक सम्बन्ध छ भने अर्कोतिर खुल्ला सीमाना । त्यसमा पनि सन् १९५० मा सम्पन्न नेपाल र भारतबीच ‘शान्ति तथा मैत्री सन्धि’ ले दुई देशका नागरिकबीच एक–अर्को देशामा आवतजावत गर्नमा छेकथुन नहुने व्यवस्था गरेको छ ।

यही आधारमा नेपालमा असंख्य भारतीय नागरिक कार्यरत छन् भने भारतमा पनि असंख्य नेपाली विभिन्न पेशा र व्यावसायमा छन् । नेदरल्याण्डस्थित ‘इन्स्टिच्युट अफ सोसल स्टडिज’ ले गरेको एक अध्ययन अनुसार भारतमा मात्रै ५० देखि नेपाली ७० लाख नेपाली छन् । यो एउटा मोटो अनुमानमात्र हो ।

यसलाई अझ सूक्ष्म किसिमले हेर्ने हो भने त्यहाँ रहेका नेपालीलाई विभिन्न वर्गमा विभाजन गर्न सकिन्छ । जस्तै : प्रवासी मजदूर, चौकीदार, विद्यार्थी, गोर्खा सैनिक, व्यापारी, पारिवारिक सम्बन्ध भएका व्यक्तिका समूह आदि । भारतमा रहेका नेपालीको तप्कालाई संख्यात्मक दृष्टिले हेर्ने हो भने प्रवासी मजदूरको संख्या बढी देखिन्छ ।

प्रवासी मजदूरको झुण्डलाई अझ टुक्र्याएर  हेर्ने हो भने मौसमी (सिजनल) प्रवासी मजदूरको संख्या उल्लेखनीय हुन आउँछ । ‘सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी’ ले गरेको एक अध्ययन अनुसार भारतमा ८ लाख मौसमी प्रवासी मजदूर छन् । यस्ता मौसमी प्रवासी मजदूर मूलत : पश्चिम नेपालका नागरिक हुने गरेको तथ्याङ्कले देखाउँछ ।

पेशागत सुरक्षा र अन्य दृष्टिले मौसमी प्रवासी मजदूर सबैभन्दा नाजुक तप्का हुन् । खाने–बस्ने ठेगाना नभएको र ज्यालादारी प्रकृतिको कामबाट जीवन गुजारा गर्नुपर्ने यो तप्का असाधारण परिस्थिति पैदा हुँदा सङ्कट भोग्नेमा अग्रपङ्क्तिमा पर्छन् । अहिले कोरोना भाइरसले निम्त्याएको असाधारण परिस्थितिमा यही तप्काले बढी हैरानी खेप्नुपरेको देखिएको छ ।

कोरोनाको प्रकोप बढ्दै गएपछि संसारको अन्य भागमा जस्तै भारतमा पनि उद्योग धन्दा बन्द भए, जसबाट धेरै प्रवासी मजदूरको रोजीरोजी गुम्यो । उनीहरूको खाने–बस्ने ठेगाना रहेन । भारतको विभिन्न शहरमा कार्यरत ती प्रवासी मजदूर घर फर्कन बाध्य भए । बाटोमा आउँदा आउँदै नेपाल र भारतले ‘लकडाउन’ घोषण गरे ।

‘लकडाउन’ घोषणा हुनुभन्दा अघिदेखि नै भारतको विभिन्न प्रान्तमा रहेका नेपाली लामो दूरी तय गर्दै मातृभूमि फर्किने क्रममा थिए । तर, मातृभूमि टेक्न नपाउँदै हजारौँको संख्यामा रहेका नेपाली दिल्ली र भारतका अन्य भागमा अलपत्र परे । कतिपयले लामो पैदल यात्रा तय गरेर सीमावर्ती क्षेत्रमा आइपुगे । नेपाली र भारतीय प्रशासनबीच समन्वय र संयोजनपछि ठूलो संख्यामा रहेका नेपालीले जसोतसो मातृभूमि टेक्न पाए ।

त्यसपछि पनि समस्याको श्रृङ्खला रोकिएन । उनीहरूको समस्या राष्ट्रिय सङ्कटसँग जोडिन पुग्यो । सिङ्गो विश्व कोरोना भाइरसको महामारीबाट हायलकायल भएको अवस्थामा स्वास्थ्यप्रति हरेक व्यक्ति सम्वेदनशील हुनुपर्ने अवस्था छ । यस दृष्टिले भारतबाट नेपाल छिर्ने प्रत्येक व्यक्तिको स्वास्थ्य परीक्षण हुनुपर्‍थ्यो  । तर, भारतबाट आएकाहरूको स्वास्थ्य–अवस्थाबारे उचित ‘स्क्रिनिङ’ र जाँच नभएको समाचार आयो ।

ठूलो संख्यामा आएका व्यक्तिलाई सीमित स्रोत–साधनबाट ‘स्क्रिनिङ’ गर्न त्यति सहज पनि थिएन । आवश्यकता अनुसारको पूर्वाधार तयार भइसकेको थिएन । अधिक संख्यामा रहेका व्यक्तिलाई ‘क्वारेन्टाइन स्थल’ को अभाव थियो । नियम अनुसार उनीहरूलाई १४ दिन ‘क्वारेन्टाइन’ राख्नुपर्‍थ्यो । उनीहरूलाई ‘क्वारेन्टाइन’ मा राखियो ।

विडम्बनवश, कतिपय व्यक्ति ‘क्वारेन्टाइन’ स्थलबाट गुपचुप भागेका अर्को भयानक समाचार आयो । ती व्यक्तिले कोरोना सङ्क्रमित रहेछन् भने उनीहरूले घरगाउँमा फैलाउन   सक्ने सङ्क्रमण कति खतरनाक होला ? योे अकल्पनीय स्थितिको भरपाइ कसरी होला ? एकतिर भारतबाट घर फर्कने प्रवासी मजदूरले भोग्नुपरेका हैरानी अर्कोतिर उनीहरूबाट जनस्वास्थ्यमा पार्न सक्ने गम्भीर खतरा । यी दुवै कुरा देशका लागि सुखद होइन ।

प्रवासी मजदूरको आगमनले जन्माएको यो पीडादयी अध्यायले एउटा भयानक राष्ट्रिय जिम्मेवारी सम्झाएको छ । त्यो हो—देशको अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र होइन, देशको सीमा नाकामा पनि ‘स्क्रिनिङ’ लगायतका तमाम पूर्वाधार अविलम्ब खडा गरी काम अघि बढाइनुपर्छ ।

हवाइ यात्रुको मात्र होइन, स्थलमार्गबाट आवत–जावत गर्नेहरूको पनि डिजिटल अभिलेख राख्ने व्यवस्था मिलाइनुपर्छ । यसो गर्दा आवश्यक परेको बेलामा अभिलेख हेरेर मानिसको आगमनलाई अनुगमन गरी ट्र्याक गर्न सजिलो हुन्छ ।

नेपाल र भारतबीच खुल्ला सीमाना भए पनि दुई देशका नागरिक आवत–जावत गर्ने विषयमा भारत बढी सम्वेदनशील देखिन्छ । उसले सीमा भएर आवत–जावत गर्नेहरूको कडा ‘स्क्रिनिङ’ गरेको पाइन्छ । नेपाल भारतबाट पाठ सिक्नुपर्छ ।

नेपालले पनि नागरिकलाई दुःख दिन नभई स्थलमार्गबाट आवत–जावत गर्नेहरूको यथार्थ विवरण राख्नका लागि ‘डिजिटल स्क्रिनिङ’ को व्यवस्था गर्नुपर्ने खाँचो छ । खुल्ला सीमानालाई व्यवस्थित गर्नुपर्छ । यो काम यथाशक्य छिटो र प्रभावकारी किसिमले गर्नुपर्ने अवस्था छ ।

हवाइ यात्रुको विवरण राख्न तुलनात्मक रूपमा सजिलो छ । नेपालको अध्यागमन विभागमा नेपालबाट भित्रिने वा बाहिरिने यात्रुको तस्बिर खिच्ने खिचेर राख्नेसम्मको प्रविधि छ । अब सीमा नाकामा यस्तो व्यवस्था गर्न आवश्यक छ ।

खुल्ला सीमाना भएको देशमा यस्तो व्यवस्था मिलाउन सजिलो छैन । तर, काम जति नै असजिलो भए पनि देश र नागरिकको सुरक्षाका लागि यस्तो व्यवस्था गर्नैपर्ने भएको छ । समयले यसलाई अपरिहार्य आवश्यकताको रूपमा परिभाषित गरिसक्यो । सीमा नाकामा डिजिटल अभिलेख राख्न सकिएको भए ‘क्वारेन्टाइन’ स्थलबाट गुपचुप भागेका व्यक्तिहरूलाई ट्र्याक गर्न सजिलो हुन्थ्यो ।

यसबाट नागरिकको स्वास्थ्यमा उत्पन्न हुनसक्ने खतरा टार्न सकिन्थ्यो । भारत कोरोना सङ्क्रमित व्यक्तिहरूको संख्या निरन्तर बढिरहेको छ । यसले त्रासको वातावरण पैदा गरेको छ । त्यहाँबाट आएका व्यक्तिहरूबाट फैलन  सक्ने कोरोनाको सङ्क्रमण शिरमाथिको तरबार जस्तै हुन पुगेको छ ।

यी तमाम परिस्थितिले सीमा नाकामा डिजिटल अभिलेख राख्नुपर्ने खाँचोको ग्राफ उकालो लागेको छ । यसले सीमा वारपार हुनसक्ने अपराध, सङ्क्रामक रोगको विस्तारजस्ता अहितकारी पक्षलाई नियन्त्रण गर्न सहयोग गर्छ । अहिले विकसित घटनक्रमबाट हामीले पाठ सिक्नुपर्छ । यही आधारमा भावी कदम चाल्नुपर्छ ।

[गोरखापत्र । २०७६ साल चैत २१ गते ।]

Wednesday, March 25, 2020

सूचनाको भार

–यमबहादुर दुरा

मानिस सूचनाजीवी प्राणी हो । सूचनाबिना उसको जीवन चल्दैन । सामान्य किसानदेखि विज्ञान–प्रविधिका जटितलम् कार्यसम्पादनमा संलग्न व्यक्तिलगायत सबैलाई आ–आफ्नो पेशा–व्यवसाय अनुसारका सूचना आवश्यक पर्छ । सूचनाले नै जीवनलाई गतिशील र प्रगतिशील बनाउँछ ।

हवाइजहाज, रेलजस्ता यातायात प्रणाली; बैंक, फाइनान्स, सेयर कारोबारजस्ता आर्थिक क्षेत्र; युद्धग्रस्त क्षेत्रको सुरक्षा प्रणाली; अन्तरिक्ष मिसन आदि क्षेत्रमा पल–पलमा नयाँ सूचना आवश्यक पर्छ । यस्ता क्षेत्रमा ताजा सूचनाबिना एक पाइला पनि अघि बढ्न सकिँदैन । त्यसैले अहिलेको युगलाई ‘सूचनाको युग’ भनिएको हो ।
ग्राफिक्स : गुगल

विश्वमा एकातिर सूचना–प्रविधिको विकासको रफ्तार बढ्दो छ भने अर्कोतिर सूचनामा आधारित अर्थतन्त्रको आकार बढ्दो छ । विश्वविद्यालयहरू ज्ञान उत्पादन गर्ने केन्द्र हुन् । विश्वविद्याल, कलेजलगायलगायतका ज्ञान निर्माण गर्ने अर्थतन्त्र आजकल ज्ञान अर्थतन्त्र (नलेज इकोनमी) बाट परिचित छ । ज्ञान अर्थतन्त्रको आकार पनि बढ्दो छ ।

चलचित्र, ‘स्टेज सो’ लगायतका मनोरञ्जन उद्योग, डिजाइन, भाषा प्रशिक्षण, स्वास्थ्य सेवा आदिले निर्माण गरेको अर्थतन्त्र सेवा अर्थतन्त्र (सर्भिस इकोनमी) नामबाट परिचित छ ।'सेवा अर्थतन्त्र' लाई  उत्तरऔधोगिक समाजको  इञ्जिन  मानिएको छ । यसको आकार पनि निरन्तर भीमकाय बन्दै गएको छ ।

यसरी तमाम सूचनाले तय गरेको अर्थतन्त्रहरूको जालोबाट एउटा चुस्त–दुरुस्त आधुनिक समाज जन्मेको छ, जुन सूचना समाज (इनफर्मेसन सोसाइटी) ले चिनिन थालेको छ । समग्रमा भन्दा सूचनाले नै अहिलेको अर्थतन्त्रको इञ्जिनलाई चलयमान बनाइरहेको छ ।

सूचनाको अर्को पाटो पनि छ । सूचनाको प्रयोगबाट प्रगति गरिरहेको वर्तमान विश्व सूचनाकै कारण समस्यमा पर्न थालेको छ । कारण हो, सूचनाको अत्याधिक बोझ । मानिसमा पर्न गएको सूचनाको अत्याधिक बोझलाई बुझाउन अंग्रेजी शब्दावली ‘इन्फर्मेसन ओभरलोड’ प्रयोग भएको छ । मानिस आफूले दैनिक जीवनमा ‘ह्याण्डल’ गर्न सक्नेभन्दा बढी सूचनाबाट घेरिनु नै ‘इन्फर्मेसन ओभरलोड’ हो ।

‘इन्फर्मेसन ओभरलोड’ बारे उन्नाइसौँ शताब्दीतिर नै चिन्ता व्यक्त भएको पाइन्छ । जर्मनीका समाजशास्त्री जर्ज सिमल सन् (१८५८—१९१८), अमेरिकी सामाजिक मनोविद स्टान्ले मिलग्राम (१९३३—१९८४) आदि यस विषयमा चर्चा चलाएको अभिलेख देखिन्छ ।

तर, ‘इन्फर्मेसन ओभरलोड’ भन्ने शब्दावली कसले प्रयोग पहिलो पटक प्रयोग गर्नेबारे एकमत पाइन्न ।सामाजिक वैज्ञानिक बीएएम ग्रसले यो शब्दावली सबैभन्दा पहिले प्रयोगमा ल्याए र यसलाई अल्भिन टोफलरले आफ्नो विज्ञान–कथा ‘फ्युचर सक’ मार्फत  यसलाई लोकप्रिय बनाए भन्ने तर्क पनि भेटिन्छन् ।

जेहोस्, ‘इन्फर्मेसन ओभरलोड’ आधुनिक समाजमा सामान्य कुरा भएको छ । सूचनाको अत्याधिक बोझ वा भारको अवस्था बुझाउन ‘इन्फर्मेसन इक्सप्लोजन’, ‘इन्फर्मेसन एन्जाइटी’, ‘इन्फोबेसिटी’, ‘इन्फोक्सिकेसन’ जस्ता शब्दावली पनि प्रयोग भएको पाइन्छ । तर, ‘इन्फर्मेसन ओभरलोड’ बढी प्रचलित छ ।

‘इन्फर्मेसन ओभरलोड’ वर्तमान विश्वको मात्र समस्या हो भन्ने हामीलाई लाग्नसक्छ । यस्तो सोचाइ कसैले राखेको हो भने त्यो गलत हो । यो समस्या छापाखानाको विकाससँगै शुरु भएको मानिन्छ । जर्मनीका उद्यमी जोहानेस गुटेनवर्ग नामक व्यक्तिले सन् १४४० छापाखानाको विकास गरे । छापाखानाको विकास भएसँगै एउटा व्यक्तिले जीवनकालमा पढ्न सक्ने भन्दा सयौँ प्रति बढी पुस्तक छापिन थाले । यसले ‘इन्फर्मेसन ओभरलोड’ को अवस्था निम्त्यायो ।

त्यसपछि अखबार, रेडियो, टेलिभिजनजस्ता परम्परागत सञ्चारमाध्यमको विकासदेखि इन्टरनेटमा आधारित सोसल मिडिया (डिजिटल मिडिया) को युगसम्म आइपुग्दा यो समस्या चरम चुलीमा पुगेको छ । हिजोका दिनमा एउटा निश्चित वर्गमात्र प्रकाशक/प्रसारक बन्न पाइने खरेडीग्रस्त अवस्था रहेकोमा अहिलकोे डिजिटल युगले जो कोहीलाई पनि प्रकाशक र प्रसारक बन्न अवसर दिएको छ ।

यसरी अवस्थालाई विश्वप्रसिद्ध ‘टाइम’ म्यागजिनले सन् २००६ को वर्ष पुरुषको रूपमा हरेक सर्वसाधारण व्यक्ति अर्थात् तपाईँ (यु) लाई वर्ष व्यक्ति घोषण गरेको घटना अर्थपूर्ण छ । यो प्रसंग यहाँ पनि स्मरणीय हुन आउँछ ।

डिजिटल सञ्चार प्रणालीले हिजो निरीह अवस्थामा रहन विवश ठूलो समुदायलाई सबल तुल्याएको छ । साथसाथै, यसले अथाह सूचना उत्पादन गर्नमा योगदान दिएको छ । अहिले एउटा डिजिटल कपीलाई असीमित किसिमले कपी गर्न र वितरण गर्न सकिन्छ । यसले सूचनाको प्रवाह र विस्तारमा अतुलनीय योगदान दिएको छ ।

अहिले मानिस सूचनाको अथाह समुन्द्रमा डुबेको छ । एउटा व्यक्तिले सयौँ थरीका ‘लाइभ इन्फर्मेसन’ को सन्मुख भएर गुज्रन्छ । समयको सीमितता र सूचनाको भीमकाय आकारबीच तालमेल नमिल्दा उसले ती सूचनाको सही उपयोग गर्न पाउँदैन । अरू त कुरै छाडौँ, कतिपय अवस्थामा मानिस आफ्नो पेशा–व्यावसायसँग सीधा सरोकार राख्ने सूचना पनि ‘ह्याण्डल’ गर्न सक्दैन । अन्ततः ऊ ‘इन्फर्मेसन ओभरलोड’ को अवस्थामा पुग्छ ।

‘इन्फर्मेसन ओभरलोड’ ले मानिसमा नकारात्मक असर पार्छ । सन् १९४६ मा अमेरिकी समाजशास्त्रीद्वय पाउल लाजस्फेल्ड (सन् १९०१–१९७६) र रोबर्ट मोर्टन (सन् १९१०–२००३) ले आमसञ्चारको सिद्धान्तसम्बन्धी लेखमा ‘नार्कोटाइजिङ डिस्फङ्सन’ भन्ने शब्दावली प्रयोग गरेका थिए । यो शब्दावलीले मिडियाले प्रवाह गर्ने सूचनाको बाढीले निम्त्याउने किंकर्तव्यविमुढपूर्ण अवस्थालाई दर्साउँछ ।

ती दुई समाजशास्त्रीको तर्क छ— विभिन्न आमसञ्चार माध्यमले प्रवाह गरेका अथाह सूचनाले व्यक्तिलाई अक्क न बक्क बनाइदिन्छ, उसले कुन सूचना सही हो वा कुन गलत हो भन्ने पहिचान गर्न सक्दैन र अन्त्यमा किंकर्तव्यविमुढ बन्छ । उनीहरूको तर्कमा दम छ । अहिलेको अवस्था त्यस्तै छ ।

सूचनाको बाढीले हामीलाई किंकर्तव्यविमुढ बनाएको छ । त्यसमा पनि आशय गलत नहुँदा नहुँदा नहुँदै पनि सम्प्रेषण हुन गएका गलत सूचना (मिस्इन्फर्मेसन) र नियतवश सम्प्रेषण गलत सूचना (डिस्इन्फर्मेसन) ले निम्त्याएका जटिल परिस्थिति बेग्लै विश्लेषणको विषय हुनसक्छ ।

‘हार्वड विजनिस रिभ्यु’ म्यागजिनको अनलाइन संस्करणमा प्रकाशित एक लेखका अनुसार ‘इन्फर्मेसन ओभरलोड’ ले मानिसको निर्णय प्रक्रिया कमजोर बनाउने, मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने, महत्वपूर्ण सूचनालाई पनि सामान्यीकरण गर्ने, सिक्ने क्षमतामा सुस्त हुनेजस्ता समस्या पैदा हुने उल्लिखित छ ।

ब्ल्याक बेरीजस्ता मोबाइल सेटको उपलब्धता र नेटको सहज पहुँचले मानिसको व्यावसायिक जीवन र पारिवारिक जीवनको साँध भत्काइदिएको छ । डिजिटल सञ्चारले परिवारसँग बिताउने समय खोसिदिएको छ । घरमा बस्दा पनि अफिसको काम गर्नुपर्ने बाध्यतामा धेरै मानिस फँसेका छन् ।

अमेरिकामा गरिएको एक अध्ययन अनुसार त्यहाँका ६० प्रतिशत मानिस ट्वाइलेटमा र १५ प्रतिशतले चर्चमा इमेल चेक गर्छन् । अमेरिकामै गरिएको अर्को अध्ययन अनुसार अफिसमा इमेल चेक गरेर काममा फर्कन २५ मिनट लाग्छ । अनावश्यक इमेलले कार्यालय समयको २८ प्रतिशत हिस्सा गुम्छ । यो अवस्था व्यक्ति र संस्था दुवैका लागि पक्कै पनि सुखद होइन ।

‘इन्फर्मेसन ओभरलोड’ ले नेपालमा के कस्ता असर परेको छ ? यसको असरबारे कुनै अध्ययन भएको पाइँदैन । ‘इन्फर्मेसन ओभरलोड’ ले अमेरिकी अर्थतन्त्रमा वार्षिक ९ सय बिलियन अमेरिकी डलरको भार पर्ने गरेको अनुमान छ । सूचनाको चाप र भारले पार्ने असर र त्यसबाट जोगिने उपाय सुझाउनका लागि अमेरिकामा ‘इन्फर्मेसन ओभरलोड रिसर्च ग्रुप’ नामक संस्था स्थापना भइसकेको छ ।

‘इन्फर्मेसन ओभरलोड’ बच्नका लागि कुनै बनिबनाउ सूत्र छैन । त्यस्ता सूत्र भए पनि सबै व्यक्तिलाई सबै अवस्थामा व्यावहारिक नहुन सक्छ । यद्यपि, केही विज्ञहरूले आफ्ना निजी तथा संस्थागत जीवनका महत्वपूर्ण कामलाई कार्यसूचीको अग्रपंक्तिमा राख्ने, एकैचोटि धेरै काम (मल्टिटास्किङ) नगर्ने, उपयुक्त समयमा कामबाट ब्रेक लिनेजस्ता उपाय सुझाएका छन् । आफ्नो बुद्धि–विवेक सही प्रयोग गर्नु नै ‘इन्फर्मेसन ओभरलोड’ बाट छुटकारा पाउने एकमात्र भरपर्दो उपाय हो ।

[युवामञ्च । चैत २०७६ ।]

Sunday, March 22, 2020

कोरोना सङ्क्रमित अर्थतन्त्र


–यमबहादुर दुरा

दुनियाँ कोरोना भाइरस (कोभिड–१९) को आतङ्कले त्रस्त छ । विश्व स्वास्थ्य संगठनले मार्च १३ तारिखमा यसलाई विश्वव्यापी महामारी (पान्डेमिक) घोषणा गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले नै नेपाललगायत दक्षिणपूर्वी एशियामा कोरोना भाइरस फैलन  सक्नेतर्फ  सचेत तुल्याएको छ ।

कोरोना भाइरसले निम्त्याएको स्वास्थ्यसम्बन्धी समस्या स्वाभाविक रूपमा गम्भीर र दुःखदायी छ । यसको अर्को पनि दुःखदायी पाटो छ । त्यो हो, आर्थिक पाटो । कोरोना भाइरसले दुनियाँको आर्थिक पाटोमा नकारात्मक असर पारिसकेको छ । यसले विश्व अर्थतन्त्रमा थप समस्या निम्त्याउँदै गएको छ । यसले विश्व अर्थतन्त्रमा कुन हदसम्म दुरगामी दुष्प्रभाव पार्ने हो, यसै भन्न कठिन छ ।

कोरोना भाइरसको प्रकोपका ठूलै मानवीय तथा आर्थिक मूल्य चुकाउनुपरेको छ । चीनलगायतका औधोगिक गतिविधिमा कमी आएकाले विश्वबजारमा तेलको मूल्यमा ६८ प्रतिशतसम्मको उच्च गिरावट छ । विश्वको सेयरबजार निरन्तर ओरालो लागेको छ । यी आर्थिक घटनाक्रमलाई कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारको दुष्प्रभावको सूचकको रूपमा लिन सकिन्छ ।

कोरोनाको विश्व भ्रमण बढ्दै जाँदा विभिन्न देशले जमिन र हवाइ गरी दुवै किसिमका ‘कनेक्टिभिटी’ बन्द गरिसकेका छन् । खुल्ला आवाज जावतको अवधारणामा चलेका कतिपय युरोपेली मुलुकले पनि एक अर्कासँग सम्पर्क विच्छेद गरेका छन् । विश्वका आवगमनमा आउनुको अर्थ विश्व अर्थतन्त्रमा शिथिलता आउनु पनि हो ।

कोरोना भाइरसको तीव्र विस्तारसँगै आवतजावतमा लगाइएको प्रतिबन्धले विश्व अर्थतन्त्रमा गम्भीर धक्का पुग्न गएको छ । यसले विश्व अर्थतन्त्रमा गर्ने क्षति सन् २००३ मा फैलिएको  सार्स संक्रमणको समयमा भएको क्षतिभन्दा कैयौँ गुणा बढी हुने प्रक्षेपण गर्न थालिएको छ ।

कोरोना भाइरसको प्रकोपले विश्व अर्थतन्त्रमा हालसम्म कति क्षति पुर्‍यायो भन्नेबारे आँकडा आउन थालेका छन् । ‘ब्लुम्बर्ग’ मिडियाले निकालेको एक आँकडा अनुसार कोरोना भाइरसका कारण अहिलेसम्म विश्व अर्थतन्त्रमा २ं.७ खर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको छ । आउने समयमा यसको असर थप गम्भीर हुने सङ्केत देखिन्छ ।

कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा कस्तो असर पार्दैछ ? आउँदा दिनमा यसको नतिजा के हुनेछ ? यसले देशको आर्थिक स्वास्थ्यलाई कसरी संक्रमित गर्दैछ ? यसबारे पनि चर्चा हुन थालेको छ । एशियाली विकास बैंकले कोरोना भाइरसको संक्रमण बढेमा नेपालको कुल गार्हस्थ उत्पादन ०.०४ प्रतिशत (१२.१२ मिलियन अमेरिकी डलर) सम्म खुम्चिने अनुमान गरेको छ ।

जगजाहेर नै छ, नेपालको अर्थतन्त्र मूलतः पर्यटन उद्योग र वैदेशिक रोजगारीमा निर्भर हुँदै गएको छ । यी दुवै तुलनात्मक रूपमा अस्थिर र जोखिमपूर्ण मानिन्छन् । कोरोनाको विश्वव्यापी महामारीले नेपालको पर्यटन उद्योग र वैदेशिक रोजगारीमा धावा बोल्न शुरु गरिसकेको छ ।

नेपाल सरकारले वैशाख १८ गतेसम्म ‘अन अराइभर’ भिसा बन्द गरिसकेकको छ । कोरोना भाइरसको फैलावटसँगै पर्यटकको आवगमन घट्दै गएको पर्यटन व्यावसायीहरूको बुझाइ थियो । अहिलेको परिस्थितिले स्वाभाविक रूपमा पर्यटकको आवगमनलाई  मत्थर पार्दै लगेको छ  । यो प्रतिकूल अवस्थाले २० लाख पर्यटक भित्र्याउने  लक्ष्यसहित शुरु गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ त्यसै अलपत्र हुन पुगेको तथ्य सबै समक्ष छर्लङ्ग छ ।

कोरोना भाइरसले निम्त्याएको दुष्प्रभावको असर नेपालको पर्यटन उद्योगमा देखापरिसकेको छ । रोग सर्ने भयले यात्रा गर्ने क्रम घट्दो क्रममा छ ।  पर्यटन उद्योगसँग जोडिएका टुर अपरेटर, होटल–रेष्टुराँ, पथ प्रदर्शन, यातायात आदि क्षेत्रमा यसको दुष्प्रभाव पर्दै गएको समाचार आइरहेका छन् ।

सार्वजनिक जमघटका कार्यक्रम घट्न थालेका छन् । होटल बुकिङ धमाधम रद्द भएका छन् । टिकट बुकिङ र अन्य पर्यटकीय गतिविधि सुस्त हुन थालेका छन् । यससँगै भोलिका दिनमा आउने अनिष्ट सम्झेर पर्यटन उद्योगसँग जोडिएका कामदार तथा व्यावसायीहरू चिन्तामा डुब्न थालेका छन् ।

अर्कोतिर, कृषिमा निर्भर जनसंख्या क्रमिक रूपमा घट्दै गएको छ । अहिले ६५ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । यसले देशको कुल गार्हस्थ उत्पादनमा ३१.७ प्रतिशत योगदान दिएको छ । कृषिमा निर्भरता घटैसँगै ग्रामीण जनसंख्या पातलिँदै र शहरी जनसंख्या बढ्दै गएको छ ।

यसको अर्थ हो, सुखभोगी जनसंख्या बढ्दै जानु । देशको उत्पादनमूलक व्यावसाय कमजोर हुँदै गएको देखिन्छ । हामी उत्पादनमुखी भन्दा पनि उपभोगमुखी बन्दै गएको छौँ । समृद्ध अर्थतन्त्रको उचित आधार तयार नहुँदै उपभोगमुखी हुनु आर्थिक स्वास्थ्यका दृष्टिले उपयुक्त प्रवृत्ति होइन ।

देशको अर्थतन्त्रलाई मजबुत बनाउन सघाउने युवा जनशक्ति वैदेशिक रोजगारीमा प्रवृत्ति प्रवृत्ति बढ्दै गएको छ । दैनिक १५ सय जति नेपाली युवा वैदेशिक रोजगारमा जाने गरेका आँकडाले एउटा भयानक तस्बिर प्रस्तुत गर्छ । देश निर्माणमा योगदान दिन सक्ने जनशक्ति काम र मामकै लागि मुगलान पस्नुपर्ने वाध्यताले राम्रो सन्देश दिँदैन ।

जे भए पनि वैदेशिक रोजगारीमा जाने चलन परम्परा नै बनिसक्यो । नेपाली समाज वैदेशिक रोजगारीमा अभ्यस्त हुँदै गइरहेको बेलामा कोरोना भाइरसको बढ्दो विस्तारले जटिलता निम्याएको छ । कतिपय रोजगारदाता देशहरूले नेपाली कामदार लिने काम पनि बन्द गरिसकेका छन् । यसबाट विदेशी भूमिमा पसिना बगाएर स्वदेशमा रेमिटयान्स पठाएर घरपरिवार पाल्ने धेरैको बिचल्ली हुने अवस्था आउन सक्छ ।

एशियाली विकास बैंकले गरेको एक अनुमान अनुसार कोरोना भाइरसले नेपाली अर्थतन्त्रलाई संक्रमण गरेमा पाँच हजारदेखि लगभग १५ हजार व्यक्तिले रोजगारी गुमाउने देखिन्छ । यद्यपि, यो अनुमान मात्र हो । कोरोना भाइरसको प्रकोपले अर्थतन्त्रमा पार्ने तमाम दुष्प्रभावको यथार्थ विवरण अहिले नै पेश गर्न गाह्रो छ ।

यसरी रोजागारी गुमाउनेमा पर्यटन उद्योग र वैदेशिक रोजगारीमा निर्भर व्यक्तिहरू नै पहिलो पंक्तिमा हुने अनुमान गर्न कठिन छैन । तर, यसको असर यतिमा मात्र सीमित रहने छैन । नाङ्लो पसलेदेखि डिपार्टमेन्ट स्टोरसम्म, भट्टी पसलेदेखि पाँचतारे होटल व्यावसायीसम्म, सारङ्गी रेटेर हिँड्ने गन्धर्वदेखि विविधतापूर्ण मनोरञ्जन उद्योगसम्म र ट्याक्सी ड्राइभरदेखि विमान कम्पनीसम्म यसको प्रत्यक्ष वा अप्रत्यक्ष दुष्प्रभावबाट बँच्न सक्ने देखिन्न ।

अहिलेको जटिल परिस्थितिले २०७२ सालको अघोषित भारतीय नाकाबन्दीको समयमा चलेको प्रसंग पुनः स्मरण गराएको छ । त्यसबेला नेपाली अर्थतन्त्रको आन्तरिक मजबुतीकरणको प्रसंग चर्कै चलेको थियो । तर, अवस्था सहज भएपछि त्यो प्रसंग त्यसै सेलायो । सङ्कटको घडीमा मात्र आदर्शपूर्ण सोचाइ आउने रोग हामीमा छँदैछ । त्यसको पुनरावृत्ति अहिले पनि भएको छ ।

कोरोना भाइरसको महामारीले निम्त्याएको निराशाको वातावरणलाई सच्याउने र जनमनमा आशा जगाउने कार्यक्रम ल्याउन आवश्यक छ । पर्यटन उद्योग र रेमिट्यान्ससँग क्रमिक रूपमा बढी निर्भर हुँदै गएको नेपाली अर्थतन्त्रको नयाँ क्षितिज उघार्न आवश्यक छ । अहिलेको विश्वव्यापी सङ्कटका समयमा नेपाली अर्थतन्त्रको आन्तरिक मजबुतीकरणका पक्षमा सोच्ने र व्यवहारमा उतार्ने अर्को मौका हो ।

[गोरखापत्र । २०७६ साल चैत ९ गते ।]