Friday, November 29, 2019

दोहोरी ब्याटलले उब्जाएको प्रश्न

-यमबहादुर दुरा

हिप हप, र्‍याप, ब्याटल र्‍याप, दोहोरी ब्याटलजस्ता साङगीतिक शब्दाली युवा पुस्तामाझ बिछट्टै लोकप्रिय छन् । यससँगै देउडा, हक्पारे, ठाडो भाका, रोइलाजस्ता लोकपरम्परासँग गाँसिएका साङ्गीतिक शब्दावली बिरानो बन्दै गएको प्रतीत हुन्छ । यसले साङ्गीतिक वातावरणमा आएको जबरजस्त परिवर्तनलाई सङ्केत गर्छ ।
ग्राफिक्स् ; गुगल

सूक्ष्म किसिमले हेर्ने हो भने नेपालको साङ्गीतिक माहोलमा नचिताएको फेरबदल आइसकेको छ । यो क्रम निरन्तर जारी छ । दुनियाँ परिवर्तनशील छ । त्यसमा पनि सङ्गीत त झनै बढी गतिशील र परिवर्तनशील छ । अहिले परम्परागत गीतलाई पछि पार्दै ‘ब्याटल र्‍याप’, दोहोरी ब्याटलजस्ता साङ्गीतिक शैली अस्तित्वमा आइसकेका छन् ।

परिवर्तित साङ्गीतिक परिवेशका सन्दर्भमा दोहोरी ब्याटलकै कुरा गरौँ । दोहोरी ब्याटलचाहिँ पश्चिमा शैली ‘ब्याटल र्‍याप’ बाट प्रभावित देखिन्छ ।

‘ब्याटल र्‍याप’ को कुरा गर्दा यसमा प्रयुक्त ‘ब्याटल’ शब्दले नै धेरै कुरा बोलिसकेको छ । ‘ब्याटल’ को सोझो अर्थ हो, लडाइँ । मूलत : ‘ब्याटल र्‍याप’ शाब्दिक लडाइँ हो । एक अर्थमा यो शब्दको भनाभन हो । यसमा आफ्नो प्रतिस्पर्धीको सातो खाइन्छ । अमेरिकी अश्वेत समुदायमा सन् १९८० को दशकमा र्‍याप ब्याटल शुरु भएको मानिन्छ ।

‘ब्याटल र्‍याप’ मा पक्ष–विपक्षबीच भावना, अनुभूति, व्यङ्ग्य र अनुभवहरू चर्काचर्कीपूर्ण वातावरणमा साटासाट गरिन्छन् । यसमा बेलाबखतमा पक्ष–विपक्षबीच गुलाबी क्षेण हानाहान हुन्छ ।  र्‍याप ब्याटलमा शब्दको तिखो छेणखानी भए पनि  यसमा संलग्न गायक-गायिकाका बौद्धिकता, तर्क शक्ति, वाक्पटुता, भावुकता र कल्पनशीलता पनि झल्किन्छन्, जुन प्रशंसायोग्य पक्ष मानिन्छन् ।

‘ब्याटल र्‍याप’ सङ्गीतप्रधान नभई शब्दप्रधान सङ्गीतिक शैली हो । तर पनि यसले शब्दकै माध्यमबाट बेजोड पाराको रसरङपूर्ण वातावरण तयार पार्छ । ब्याटल र्‍यापमा चलेको शब्दयुद्धबाट दर्शकले भरपूर आनन्द लिन्छन् । अहिले र्‍याप ब्याटलमा संलग्न कलाकारका ‘फ्यान फलोवर’ हरूको संख्या निरन्तर बढ्दो छ ।

अमेरिकी सडकहरूबाट लगभग चार दशक अघि शुरु भएको ‘ब्याटल र्‍याप’ को लोकप्रियता संसारभर फैलिएको छ । विश्वव्यापीकरणको तीव्र प्रभावले छोपेको नेपाल यसको अपवाद हुने कुरै भएन ।

नेपालमा पनि प्रतिभाशाली र्‍यापरहरूको संख्या बढ्दै गएको छ । साथै, फ्यानहरूको भीड पनि भयानक दरमा बढ्दो छ । यु ट्युबमा राखिएका ‘ब्याटल र्‍याप’ का भिडियोहरूको भ्यु उल्लेखनीय रूपमा बढेको छ । ‘ब्याटल र्‍याप’ को श्रीवृद्धिमा यम बुद्ध (वि.सं.२०४४-२०७३) जस्ता र्‍यापरहरूको योगदान देखिन्छ ।

नेपाली सङ्गीत प्रयोग र परीक्षणको चरणबाट गुज्रिरहेको छ । यो विश्वव्यापी ट्रेन्ड नै हो । यस क्रममा नेपाली गीत र पश्चिमा शैलीका गीतबीच दशकौँ अघि नै अन्तरघुलन भइसकेको देखिन्छ । अन्य गीतको तुलनामा लोकगीत पश्चिमा शैलीका गीतबाट कम प्रभावित देखिन्छ । तर, अब त्यो अवस्था रहेन ।

नेपाली लोकगीतमा पनि पश्चिमा शैलीका गीतको ‘फ्युजन’ भइसकेको छ । यसको ज्वलन्त दृष्टान्त हो, दोहोरी ब्याटल । दोहोरी ब्याटल ‘ब्याटल र्‍याप’ बाट प्रभावित साङ्गीतिका शैली (जान्र) हो । यसमा दोहोरी गीत र ‘ब्याटल र्‍याप’ दुवैको विशेषताहरू भेटिन्छन् । यो वर्णशंकर गीत हो ।

एकातिर दोहोरी गीतको फ्लेबर, अर्कोतिर ‘ब्याटल र्‍याप’ फ्लेबर । दोहोरी ब्याटल युवाहरूबीच निकै लोकप्रिय छ । चुलिँदो ‘भ्युवरसिप’ ले यो तथ्यलाई प्रष्ट पार्छ । दोहोरी ब्याटल नेपाली संस्कृति र पश्चिमा संस्कृतिको दोभान बनेको छ । यु ट्युबमा राखिएको छ महिना पुग्दानपुग्दै ‘दोहोरी ब्याटल–२’ को भ्यु १३ मिलियन नाघिसकेको छ ।

यसले परम्परागत दोहोरीगीतलाई पछिल्लो बिसौनीमा छाडेर अघि बढिरहेको छ । नेपालमा लोक फ्लेबरका गीतहरूले सधैँ लोकप्रियताको शिखर चुमिरहेको छ । दोहोरी ब्याटल पनि यसको अपवाद भएन ।

दोहोरी ब्याटल प्रयोग भएका शब्द तथा शब्दावली, आधुनिक पहिरन, संवाद, सुटिङ स्थलको चकमधमकपूर्ण वातावरणले युवापुस्तालाई हदैसम्म आकर्षित तुल्याएको देखिन्छ । भिडियोलाई आकर्षक बनाउन अपनाइएको छलयोजना (म्यानिपुलेटिभ टेक्निक्स्) ले पनि धेरैको मन जितेको देखिन्छ । भिडियो निर्माताको सिर्जनशीलतालाई मान्नैपर्छ ।
ग्राफिक्स् ; गुगल

दोहोरी ब्याटलको अभूतपूर्व लोकप्रियताले नेपालको साङ्गीतिक माहोलमा केही गम्भीर प्रश्नहरू जन्मेका छन् । दोहोरी ब्याटल दोहोरीगीतको 'फ्लेबर' मा आएर पनि यसले मौलिक दोहोरीगीतको जग नै भत्काएको देखिन्छ ।

परम्परागत दोहोरी गीत विनयशीलता र शिष्टता, सार्वजनिक मर्यादाको अर्को नाम हो । मौलिक दोहोरीगीतमा आफूलाई निम्न श्रेणीमा राखेर समकक्षीलाई उच्चकोटिमा राख्ने प्रचलन छ । गीत गाउँदा समकक्षीलाई उच्च सम्मान गरिन्छ । जस्तै :

‘म त हजूर डढेलोको ठूटाजस्तो,
मेरो माया पुर्नेको जूनजस्तो’ ।

यसको विपरीत दोहोरी ब्याटलको परम्परा ठ्याक्कै उल्टो छ । यसले समकक्षी सकेसम्म हेप्ने काम गर्छ । दोहोरी ब्याटलमा अपमान सूचकहरू शब्दहरू भरमार प्रयोग गरिन्छन् ।समकक्षी गायक–गायिकाले एकअर्कालाई सकेसम्म खसाल्नु नै यसको मूल ध्येय हुन्छ । दृष्टान्त :

‘आयो तेरो मिस,
चुप लाग् साला ठिस’ ।

दोहोरी ब्याटल नेपाली साङ्गीतिक परम्पराको विपरीत धारमा अघि बढेको देखिन्छ । यसले लोकगीतमा विद्यमान शिष्ट परम्परालाई पूरै भत्काएको छ । यसले अशिष्ट र अमर्यादित परम्पराको जग बसालेको छ । दोहोरी ब्याटलले निम्त्याएको अशिष्ट शब्दको रणसंग्रामले विनयशीलताको छेलोखेलो भएको दोहोरीगीत परम्परालाई क्षति पुर्‍याएको देखिन्छ ।

यद्यपि, दोहोरी ब्याटलले मात्र नेपाली दोहोरीगीतको शिष्ट परम्परालाई क्षति पुर्‍यायो भन्नु अन्यायपूर्ण हुन्छ । पछिल्लो समयमा दोहोरीगीतमा अशिष्ट र अमार्यादित  किसिमका भनाबैरी चलिसकेको छ । दोहोरी ब्याटलले यो अशिष्ट परम्परालाई थप बल दिएको भने पक्कै हो ।

दोहोरी ब्याटलले नेपालको साङ्गीतिक रङ्गमञ्चमा नयाँ ढाँचा र नयाँ शैली निम्त्याएकोमा खुसी मान्नुपर्ने हो । तर, त्यो भन्दा पनि यसले बसालेको अशिष्ट परम्पराप्रति चिन्ता मान्नुपर्ने अवस्था छ । कतिपय विश्लेषकले यसलाई सांस्कृतिक अधपतनको रूपमा हेर्ने गरेका छन् ।

अर्थशास्त्रीय दृष्टिबाट हेर्दा सङ्गीतमा घुसेको पूँजीवादले दोहोरी ब्याटललाई जन्म दिएको पाइन्छ । अर्कोतिर, कलाकारमा विद्यमान लोकप्रियता कमाउने सर्वजनीन मनोविज्ञानले पनि यसमा बल दिएको देखिन्छ ।

बदलिँदो समयमा यी दुवै पक्षलाई बेठीक भन्न सकिने अवस्था छैन । तर, यसबाट शिष्टताले ओतप्रोत मौलिक लोकगीत जोगाउन चाहनेहरूका लागि भने यक्षप्रश्न खडा भएको छ । अहिले, दोहोरी ब्याटलको यो नयाँ विकासक्रम एउटा गहन चिन्तन–मननको विषय बनेको छ ।

[लोकसंवाद । २०७६ साल मंसिर १३ गते । ]

[अद्यावधिक : २०७७।०३।२०, २०७७।०४।१०]

2 comments:

  1. Nowadays,Dohari battle is not about public feelings, its only for pleasure of eye. Herda rw sunda ramailo laagney but reality bhaney eka desh ma bhaney jasto yesto geet ko bishesta ho bhanna sakinxa. Dohori bhaney ko public feelings rw queries lai dui pakxya milerw geet ko maadhyam bata solve garney bhayeta pani.. ahile ko dohori naam ko maatrai dohori huna paugey ko xa.
    Dohari lai chuttai saile ma laaney sreya.. pashupati sharma, khuman adhikari etyadi lai gaye pani..
    Yo purai change bhaney hip hop, rap ko karan ley maann na sakinxa

    ReplyDelete